Friday, 30 August 2019

रमेश शायनको ‘छुटेको अनुहार’

लेखक रमेश शायन कोरियाली भाषामा लेखपढ गर्न सक्छन् । तर, यी कवि (अब निबन्धकार पनि)ले कोरियन साहित्य पढ्न त्यो भाषा सिकेका होइनन्, आम नेपाली झैँ विभिन्न बाध्यताका कारण ‘मुग्लान’ भासिन दुई वर्षको मेहेनतमा कोरियन भाषा सिकेका हुन् ।

श्रमिकका रुपमा कोरिया जानुअघि नै कविको पहिचान बनाएका रमेशले तीन वर्ष विदेशमा श्रमदान गरी कमाएको पैसाले इटहरीमा कफीसप खोले । साथमा नेपाली निबन्ध साहित्यमा फरक शैलीमा आम मान्छेको कथा भन्ने पुस्तक निकाले- ‘छुटेका अनुहार’।

पुस्तक निस्कनेवित्तिकै युवा पुस्तामाझ यो लोकप्रिय भयो । अझ यसो भनौं, उनको पुस्तक प्रकाशन हुने खबर सामाजिक सञ्जाल छायो । धेरै स्थापित लेखकले नाम पनि नसुनेका यी लेखकले ब्लगमार्फत हजारौं पाठक कमाएको कुरा त्यो बेला थाहा भयो, जब उनको पुस्तक बिमोचन समारोहमा युवा पुस्ताको मेला नै लाग्यो ।

विमोचन समारोहमा लाइन लागेर पुस्तकमा उनको हस्ताक्षर गराउन बेचैन अनुहारहरुमध्ये धेरै पुस्तकमा उल्लेखित अनाम पात्रहरु ज्ास्तै छुटेका नचिनिएका गाउँ र शहरका अनुहारहरु थिए ।

यही पुस्तकले वर्ष ०७५ को पद्मश्री पुरस्कार प्राप्त गरेको छ । बिक्रीमा एउटा मानक बनाएको यो पुस्तक र यसका लेखक अब नेपाली साहित्यका स्थापित लेखकमध्ये एक मानिन थालेका छन् । स्वर्णपत्रमा उल्लेखित सास्तीसहित उनले प्राप्त गर्ने दुई लाखको थैलीले उनलाई नेपाली साहित्यमा थप गम्भीर हुनुपर्ने दायित्व पनि थपिदिएको छ ।

पुस्तक किन भयो पुरस्कृत ?

‘छुटेको अनुहार’ वर्ष २०७५ मा युवा पुस्ताले धेरै रुचाएको पुस्तक भए पनि मदन पुरस्कारको उत्कृष्ट सूचीमा परेको थिएन । कतिपयले सामान्य विषयवस्तु भएका कारण मदन पुरस्कारको सुचीमा नपरेको टिप्पणी पाठकहरुबाट आएको थियो ।

नेपालीको परिचय के हो ? लेखक भन्छन्, जसले चोकमा बसेर ठूलो श्वरमा राजनीतिक गफ गर्न सक्छ, ऊ नेपाली हो

यद्यपि यसका पाठकहरुले भने त्यसको विरोध गरेका थिए । पुस्तकले अति सामान्य लाग्ने विषयलाई हास्यब्यङ्ग्यमार्फत गम्भीररुपमा प्रस्तुत गरेको उनीहरुको दावी थियो । समीक्षकहरुले पनि पुस्तकको यही शैलीलाई मनपराएका थिए ।

पुस्तकमा १९ वटा संस्मरणात्मक निबन्धहरु छन् । पुस्तकले डटपेन जस्तै हराएका बालसखा विर्खेहरु कसरी विद्यालयबाट हराए, आफूलाई जीवन सिकाउने हेडमास्टरले जीवन बुझ्न नसकेर किन आत्महत्या गरे ?

यौन कर्म गरिरहेका युगल जोडीमध्ये किन प्रहरीले युवतीलाई मात्र पक्रेर थाना लग्यो होला भन्ने बाल प्रश्नहरुले उनको निबन्ध सामान्य तर खोज्नै पर्ने उत्तरहरुको बोध गराउँछन् । नोस्टाल्जिक शैलीमा लेखिएका बालापन सम्झेर यिनी अरु लेखकहरु जस्तो रमाउँदैनन्, बरु त्यस्तो बेथितिहरुका बीचमा पनि आफू कसरी सग्लो उम्किएर यहाँसम्म आएँ होला भनेर छक्क पर्छन् । पढिरहँदा पाठकलाई पनि ती प्रश्नहरुले आफ्ना बालापनका त्यस्तै घटनाहरुको सम्झना गराइदिन्छ ।

कफी खानु आधुनिक हुने प्रयास गर्नु हो भन्ने भ्रम छ । लेखकले पहिलोपटक कफी खाँदा मुख पोलेको थियो । त्योबेला उनलाई लागेको थियो, आधुनिक हुन खोज्दा यस्ता सानातिना समस्या आउँछन् । तर आज उनी आफैँ कफी बेच्छन् ।

तर, आधुनिक हुन सकिरहेका छैनन् । धेरैपछि बोध हुन्छ, आधुनिक हुनु भनेको पैसा कमाउनु पो रहेछ । पैसा कमाउँदै गएपछि उसले जे कुरा सिक्दै जान्छ,  गर्दै जान्छ, त्यो आधुनिक हुन्छ, चाहे त्यो जतिसुकै कुकृत्य नै किन नहोस् ।

नेपालीको परिचय के हो ? लेखक भन्छन्, जसले चोकमा बसेर ठूलो श्वरमा राजनीतिक गफ गर्न सक्छ, ऊ नेपाली हो । अझ नेपाली त्यो हो, जो देशमा बसेर गफ मात्र गर्छ र विदेश बसेर हाड घोटुन्जेल मेहेनत गर्छ । एउटै मानिस विदशमा अर्कै र स्वदेशमा अर्कै देखिन्छ भने त्यो पुरापूर नेपाली हो ।

रमेश शायनको निबन्ध शक्तिशाली हुनुमा बिरोधाभाषी घटनाहरुले मलजल गरेका छन् । जुन पिताजीलाई छोरो चुरोटको नाम पनि लिन चाहदैन भन्ने लाग्छ, त्यही छोरोले गाँजा खाएको भेट्नु, जुन शिक्षकले आफ्नो विषयमा यो विद्यार्थीले राम्रो गर्छ भनेर सार्वजनिक घोषणा गरेको हुन्छ, त्यही विषयमा लेखक अनुत्तीर्ण हुनु, जसले देशभक्तको कविता लेख्छ, उही कमाउन विदेश जानुपर्छ भन्दै लाचार व्यक्त गर्नुजस्ता प्रसङ्गले पाठकलाई एकैपटक आफ्ना कोरा आदर्शहरुको सम्झना गराउँदछ ।

तर ‘कन्फेसन’ रमेश शायनको शक्तिशाली औजार हो । आफ्ना भएभरका गल्ती देखाउँदै आफू कहाँ कहाँ चुकेँ र आज मजदुर हुन बाध्य भएँ भन्ने कुरालाई शायनले निकै गहन तरिकाले प्रस्तुत गरेका छन् । पाठकले पुस्तक मनपराउनु र यसले राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्ने कारण पनि यही हो भन्ने भान हुन्छ ।

आफूलाई ब्यङ्ग्य गर्ने निहुँमा नेपालका सबै बेथिति र त्यसमा रुमल्लिरहेका युवाहरु र त्यसलाई डोर्‍याइरहेको समाजको यथार्थ चित्रण देखाउन सक्नु नै पुस्तकको सफलता हो

लेखनशैलीलाई नयाँ बनाउन उनले सुरु, मध्य र अन्त्यमा ब्रेकर राख्ने जुन प्रयास गरेका छन्,  कतिपय अवस्थामा त्यो उति राम्रो देखिदैन । तर पुस्तकहरुको भिडमा यसले केही नयाँपनको छनक भने दिन्छ ।

नेपाली आख्यान अझै पनि नेपाली भाषाको पहिलो आधुनिक उपन्यास ‘रुपमति’ शैलीमा अड्किएको छ । गैरआख्यानको क्षेत्रमा शंकर लामिछाने नै अन्तिम मानक भए झैँ लाग्छन् । यस्तो  अवस्थामा शायनले आफ्नो गैरआख्यानलाई आत्मकथात्मक र आख्यानात्मक बनाएका छन् ।

पुस्तक पढिरहँदा लेखक आफ्नो जीवनका नाङ्गा सत्यहरु ओकलिरहेका हुन्छन्, त्यो पनि करुण रसमा ब्यङ्ग्य मिसाउँदै । पुस्तक हातमा लिएर पढ्न थाल्यो भने मानिस अड्कँदैन । नयाँ शैलीको खेलौना हात पर्दा जसरी बालक रमाउँछ, नयाँपन खोजिरहेका पाठकलाई पुस्तकले त्यसै गरी रमाउन बाध्य बनाउँछ ।

लेखक जुनबेला पनि यौनका विषयमा सोचिरहन्छ । लेखक पहिलो पटक एसएलसी फेल हुन्छ । प्रेमीकाले सार्वजनिक रुपमा प्रेमप्रस्ताव अस्वीकार गरिदिन्छे । लक्का जवान हुन्जेल कुनै पनि काम ध्यानपूर्वक नगरेको लेखक जब कोरिया पुग्छ र १८ घन्टा काममा लादिन्छ, अनि थाहा हुन्छ जीवन भनेको के हो ?

लेखकले आफूलाई जति नालायक भनेर पुस्तकमा लेखिरहन्छ, त्यति नै पुस्तक उत्कृष्ट हुँदै जन्छ । किनभने उसलाई नालायक बनाउने अरु पात्र र परिवेशलाई ऊ घृणा गर्दैन । बरु कलात्मक तरिकाले यथार्थ बताएर पाठकलाई तँ पनि यही अवस्थाबाट यहाँ आइपुगेको होस् भन्ने बोध गराइरहन्छ ।

आफूलाई ब्यङ्ग्य गर्ने निहुँमा नेपालका सबै बेथिति र त्यसमा रुमल्लिरहेका युवाहरु र त्यसलाई डोर्‍याइरहेको समाजको यथार्थ चित्रण देखाउन सक्नु नै पुस्तकको सफलता हो ।

यसअघि ३१ वटा कविताहरुको सङ्ग्रह ‘भागेर भूगोलभरि’ प्रकाशन गरेका कवि रमेश शायनको भाषा कवितात्मक तर मुक्त प्रकारको देखिन्छ । यही मुक्तपनले नै उनलाई अरु लेखकको भिडमा फरक बनाएको छ । तर, दुई पुस्तकबाटै एउटा उचाइ बनाउन सफल भएका यी लेखकलाई आगामी दिनमा अझ माथि उक्लन चुनौति थपिएको छ ।

अब उनले आफूलाई कसरी अघि बढाउँछन्, त्यसले उनको मात्र होइन, नेपाली साहित्यको नयाँ पुस्ताको अवस्था पनि निर्धारण गर्नेछ । किनकि पछिल्लो पुस्तामा उनको शैली पछ्याउने धेरै लेखक जन्मन थालेका छन् ।



source https://www.onlinekhabar.com/2019/08/792474

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More