विकास र समृद्धि नेपालले किन हासिल गर्न सकेन ? जसरी कैयौं देशहरुमा राष्ट्रिय सुरक्षा र कूटनीतिको विषय पार्टीगत स्वार्थभन्दा माथि रहन्छ, त्यसैगरी अब नेपालको परिप्रेक्ष्यमा पनि विकास र समृद्धिको मुद्दा पार्टीगत हित र सीमाभन्दा माथि रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
नेपालको परिप्रेक्ष्यमा हामीले विकास र समृद्धिको कुरा गर्दाखेरि राणाकाललाई छाड्ने हो भने पञ्चायतले विकासको मूल फुटाउने कुरा गर्यो र ३० वर्ष बितायो । तर, विकास र समृद्धि हासिल भएन । पञ्चायतको सुरुका वर्षहरुमा नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशत भन्दा माथि जाँदै गएन । त्यसपछि अलिकति बढ्यो । र, पञ्चायत जाने बेलातिर, सम्भवतः सन् १९८५ को समयतिर आएर हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । त्यसपछि फेरि द्वन्द्व सुरु भयो, फेरि झर्यो ।
त्यससता आएर सन् २०१५ मा भूकम्प र नाकाबन्दीपछि नेपालको आर्थिकवृद्धि दर एकदमै झरेको थियो । कुनै पनि ठाउँमा स्वाट्ट आर्थिक वृद्धिदर उठ्ने गर्छ । नेपालमा पनि त्यसपछि ६ प्रतिशत भन्दा माथि गयो । र, सन् १९९६ पछि अहिले लगातार तीन वर्ष ६ प्रतिशतको वृद्धिदरमा छ । पहिलो वर्षलाई गन्ने कि नगन्ने त्यो छुट्टै कुरा हो, किनभने त्यो विशेष परिस्थितिले सिर्जना गरेको थियो ।
तर, ६ प्रतिशतकै आर्थिक वृद्धिदरलाई मान्ने हो भने पनि सामान्य अर्थशास्त्रको विद्यार्थीले पनि भन्ने कुरा के हो भने त्यो म्याजिक ७ प्रतिशतको वृद्धिले ७० वर्षको ग्राफमा हिसाब गरेर भन्दाखेरि ६ प्रतिशतकै हामीले मान्न थाल्ने हो भने पनि हाम्रो अर्थतन्त्रको साइज अब दोब्बर हुनका लागि अर्को १४/१५ वर्ष लाग्छ । र, हामीले हासिल गर्न खोजेको आर्थिक विकासलाई ७ प्रतिशत भन्दा माथि डबल डिजिटमा पार्ने हो भने अर्थतन्त्र द्रुत गतिमा अगाडि बढ्नैपर्छ ।
तर, यो किन भइरहेको छैन ?
पञ्चायतकालमा, कतिपय साथीहरुले भनेको हामी बारम्बार सुन्छौं, राजा वीरेन्द्र एकदम असल राजा थिए । उनी असल थिए कि थिएनन्, आ–आफ्नो विश्लेषण होला । तर, राजा वीरेन्द्रका पालामा १८ वर्षसम्म, जबकि त्यतिबेला नेपालमा कहीँ पनि ठूलो विरोध हुँदैनथ्यो, त्यो समयमा १८ वर्षसम्म एकछत्र शासन गर्दा पनि नेपालमा विकासको मूल फुटेन ।
त्यो समयमा संसारका अन्य देशहरुमा हेर्ने हो भने अलिहकति नरम तानाशाह भएका देशहरु भन्दा अनुदार लोकतन्त्र भएका देशहरुमै पनि तीव्ररुपमा आर्थिक विकास भएको देखिन्छ ।
त्यसपछि ०४६ सालपछिको ३० वर्षमा पनि कारण त राजनीतिक अस्थिरता भयो भनेर कारण त जे पनि दिन सकिएला । तर, राजनीतिक अस्थिरता भएका देशहरुले पनि आर्थिक विकास गर्न थालेका छन् ।
हाम्रो छिमेकमा बंगलादेश छ । त्यहाँ पनि राजनीतिक अस्थिरता छ । तर, बंगलादेशको ढाकामा जानुभयो भने त्यहाँ बनेको बाटोघाटो अन्तरराष्ट्रिय स्तरको छ भन्दा फरक पर्दैन । तर, हामीले गर्नै सकेनौं । किन गर्न सकेनौं ? यसबारेमा बहस होला ।
यदि हामीले विकास चाहने हो भने अहिले दुई तिहाईको समर्थन प्राप्त सरकारले गर्न सक्ने कैयौं कामहरु पनि नगरेको हामीलाई महसुस भइरहेको छ । र, ७ प्रतिशतको आर्थिक वृद्धिदरमात्रै छुने हो भने पनि १० वर्षमा हाम्रो अर्थतन्त्रको साइज दोब्बर हुन्छ । १० प्रतिशतलाई टार्गेट गर्ने हो भने त छिटै वृद्धि भइहाल्छ । यस्तो अवस्थामा हामीले के गर्न सक्छौं त ? कसरी र के कारणले गर्दा विकास र समृद्धि भएन ? हामीले चाहेको के हो र यो कसरी आउँछ भन्ने विषयलाई हामीले बहसमा लैजान आवश्यक छ ।
सबै पार्टीका नेताहरुमा, सबै पार्टीका समर्थकहरुमा एउटा सहमति के हुनुपर्यो भने यो देशको साँच्चिकै रुपान्तरण गर्ने हो भने हामी विकास र समृद्धिको विषयमा एक ठाउँमा उभिनैपर्छ । विकास र समृद्धिलाई अवरुद्ध पार्ने गरेर हामीले कुनै पनि काम गर्नुहुँदैन ।
नेपाल यति धेरै स्रोत साधनले सम्पन्न देश हो, यसको कुरा गरेर साध्य छैन । काठमाडौं उपत्यकामा मात्रै ७ वटा हेरिटेज साइडहरु छन् । यदि वौद्ध स्तुपाजस्तो संसारकै सबैभन्दा ठूलो स्तुपा कुनै युरोपियन देशहरुमा हुँदो हो भने त्यसले आइफल टावरको जस्तो राजस्व सिर्जना गर्ने क्षमता त्यसले राख्ने थियो ।
त्यस्तै पाटनमा जुन किसिमको कला छ, यसलाई हामीले मार्केटिङ नै गर्न सकेनौं । यी कामहरुमा कसरी काम हुन सक्छ ? यी कामहरुमा पार्टीहरुवीच सहमति के कारमा हुन सक्छ ? अरु धेरै देशहरुले २०/२५ वर्षमा देशको मुहार फेरेका धेरै उदाहरणहरु छन् ।
हामीभन्दा धेरै तन्नम देशहरुले पनि प्रगति गरेका धेरै उदाहरणहरु छन् । त्यसैले हामीले पनि गर्न सक्छौं । तर, सक्नका लागि हामीवीच आपसमा सहमति पनि चाहियो, इमान्दारिता पनि चाहियो र क्षमता पनि चाहियो ।
त्यसैले हामीले यसबारेमा बहस गर्न चाहेका छौं ।
(मन्तव्यमा आधारित)
source https://www.onlinekhabar.com/2019/09/792644
0 comments:
Post a Comment