Saturday 31 August 2019

कश्मीर मुद्दामा सशर्त वार्ता गर्न पाकिस्तान तयार 

१५ भदौ, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले जम्मू-कश्मीर मुद्दामा भारतसँग सशर्त वार्ता गर्न तयार रहेको बताएका छन् । उनले वार्तामा तेस्रो पक्षको मध्यस्थतालाई पनि स्वागत गरिने बताए ।

बीबीसी उर्दूलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री कुरैशीले भनेका छन्- पाकिस्तान वार्ताको लागि तयार छ । तर भारतको कारण वार्ताको वातावरण अनुकुल बनेको जस्तो लाग्दैन ।

उनले वार्ताका लागि भारत प्रशासित कश्मीरमा जारी कर्फ्यू हटाउनु पर्ने, पक्राउ परेका कश्मीरी नेताहरुलाई रिहा गर्नुपर्ने, आधारभूत अधिकार बहाल हुनुपर्ने लगायतका सर्त राखे ।

उनले भने, ‘भारत यदि गम्भीर छ भने सबैभन्दा पहिले कश्मीरी नेताहरुलाई रिहा गर्नुपर्छ । उनीहरुलाई मसँग भेट्न र परामर्श गर्न अनुमति दिइयोस् । मैले उनीहरुको भावना बुझ्नुपर्छ । किनभने हामी कश्मीरी जनताको भावनालाई नरजअन्दाज गरेर वार्ताको टेबुलमा बस्न सक्दैनौं ।’

युद्ध विनाशकारी हुन्छ । त्यसैले निश्चतरुपमा यो कुनै विकल्प होइन । यद्यपि पाकिस्तानलाई युद्ध थोपरियो भने हाम्रा सशस्त्र फौज त्यसका लागि तयार छन्

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोस्नुअघि टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गराएर कश्मीरी अगुवाहरुलाई हिरासतमा लिएको थियो । त्यसको विरोध गर्नेहरुलाई भारतीय सेनाहरुले नियन्त्रणमा लिएर चरम यातना दिएको समाचारहरु पनि सार्वजनिक भइरहेका छन् ।

विदेशमन्त्री कुरैशीले पाकिस्तानले युद्धलाई कुनै विकल्पको रुपमा नलिएको, आक्रामक विदेशनीति पनि कहिल्यै नअपनाएको र सधैं शान्तिलाई प्राथमिकतामा राखेको बताए । उनले भनेका छन्, ‘पाकिस्तानको वर्तमान सरकार विगत एक वर्षदेखि सत्तामा छ । यसक्रममा भारतसँग वार्ता गर्न पटक-पटक भन्दै आएको छ ताकि दुवै देशबीचका मुद्दा खासगरी कश्मी मामला सुल्झाउन सकियोस् ।’ उनले परमाणु हतियारले सम्पन्न दुवै देशले युद्धको जोखिम लिन नसक्ने बताएका छन् ।

उनले भने, ‘युद्ध विनाशकारी हुन्छ । यसबाट विश्व नै प्रभावित हुन्छ । त्यसैले निश्चतरुपमा यो कुनै विकल्प होइन । यद्यपि पाकिस्तानलाई युद्ध थोपरियो भने पाकिस्तानका सशस्त्र फौज त्यसका लागि तयार छन् ।’

उनले भने, ‘२६ फेब्रुअरीमा भारतले आक्रामकता देखाएको थियो, हामीले उसैगरी त्यसको जवाफ दियौं । हामीले भारतका दुई जेटलाई खसालिदियौं र उसको एक पाइलटलाई पक्राउ गरेका थियौं । गजनबी ब्यालेस्टिक मिसाइलको परीक्षण गर्‍यौं । यसले हाम्रो तयारीलाई दर्शाउँछ ।’

पाकिस्तानको कूटनीतिक प्रभाव

वर्षौंदेखि बेवास्ता गरिएको कश्मीर मुद्दा अहिले विश्वभर चर्चामा आउनु, अन्तर्राष्ट्रियस्तरमा पनि विरोध प्रदर्शन हुनु र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बहस हुनुलाई विदेशमन्त्री कुरैशीले पाकिस्तानको कूटनीतिक सफलताको रुपमा ब्याख्या गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मुद्दालाई दुईपक्षीय मुद्दा भने पनि यो अन्तर्राष्ट्रिय मुद्दा भएको बताए । जम्मू-कश्मीर मुद्दासँग सम्बन्धित ११ प्रस्तावलाई सुरक्षा परिषदले पारित गरेको बताउँदे उनले ती भारतका लागि बाध्यकारी भएको जिकीर गरे ।

कश्मीर मुद्दामा खाडी देशको मौनता तथा युएई र बहराइनले भारतीय प्रधानमन्त्री मोदीलाई गरेको सम्मानबारे सोधिएको प्रश्नमा पाकिस्तानी विदेशमन्त्री कुरैशीले भारतसँग खाडी देशको व्यापारीक र द्विपक्षीय सम्बन्ध भए पनि कश्मीरमा स्पष्ट राय भएको दाबी गरे । उनले खाडी देशहरुको पाकिस्तानको साथी भएको र उनीहरुले पाकिस्तान अप्ठ्यारोमा परेको बेला सहयोग गरेको स्मरण गरे । उनले भने, ‘खासगरी जब हाम्रो अर्थ व्यवस्था संकटमा पर्दा सधैं हाम्रो मद्दत गरेका छन् । पाकिस्तान जब डिफल्टर हुने स्थितिमा थियो, संयुक्त अरब इमिरेट्स -युएई) नै हो, जो हामीलाई सहयोग गर्न आएको थियो । लाखौं पाकिस्तानी साउदी अरबमा र युएईमा काम गरिरहेका छन् । के हामीलाई उनीहरुबाट सहयोग मिलेको छैन ?’

उनले भने, ‘पाकिस्तानी जनता निराश हुनु जरुरी छैन । तथ्य जब सार्वजनिक हुन्छ, खाडी देशहरु पाकिस्तानसँग हुने छन् ।’ उनले छिट्टै युएईको विदेशमन्त्रीसँग आफूले कुरा गर्ने जानकारी पनि गराए ।

साउदी अरबको भूमिकाबारे सोधिएको प्रश्नमा उनले न्यूयोर्कमा आयोजित ‘कश्मीर ग्रुप’को बैठकमा साउदी अरब पनि सक्रिय सहभागी हुने विश्वास व्यक्त गरे ।

अमेरिकासँग अपेक्षा

पाकिस्तानले कश्मीर मुद्दा सुल्झाउनका लागि अमेरिकाको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए । उनले भने, ‘अमेरिकासँग पाकिस्तानको निकट सम्बन्ध छ जसलाई उसले सामरिक साझेदार मान्दछ । त्यसैले केबल अमेरिका मात्र हो जसले भारतलाई सहमत गराउन सक्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताको लागि तयार रहेको अभिव्यक्ति दिइसकेको बताउँदै पाकिस्तानी विदेशमन्त्री कुरैशीले भने, ‘पाकिस्तानले उनको प्रस्ताव स्वीकार गरिसकेको छ तर भारतले भने अस्वीकार गरिदियो ।’ उनले भारत सुरक्षा परिषदको प्रस्तावबाट भागिरहेको आरोप पनि लगाए ।

पाकिस्तानका पूर्व सैन्य शासक एवम् राष्ट्रपति परवेज मुशर्रफको बेला कश्मीर मुद्दाको विषयमा भारत र पाकिस्तानबीच वार्ता भएको थियो । सो वार्ता समस्या समाधानको नजिक पुगेको भनिएको थियो । तर, त्यसमा कश्मीरी जनताको आवाजलाई सामेल नगरिदिँदा सफल नभएको पाकिस्तानी विदेशमन्त्री कुरैशीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2019/09/792625

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More