१६ कात्तिक, पोखरा । साइकलबाटै प्रदेश १ लाई फन्को लगाउने विचार देश संघीय संरचनामा गइसकेपछि नै बनिसकेको थियो । तर, आफ्नै व्यस्तताको खै कुन जालमा हो फसेर पूरा हुन पाइरहेको थिएन । साइकलबाटै कास्कीबाट प्रदेश १ पुग्न सबैभन्दा पहिले पर्याप्त समयको खाँचो थियो मलाई । त्यसका लागि उत्तम उपाय भनेकै दसैं तिहारको थियो । जसलाई मैले मौकामा बदलेर समाइहाल्नुपर्ने आवश्यकता थियो । र, अन्त्यमा त्यो दिन आयो पनि ।
यो अघिल्लो वर्षकै दसैंको कथा हो । जतिबेला मैले साइकलबाटै पूर्वलाई फन्को लगाउने मौका पाएको थिएँ । दशैंमा पूर्वका मानिसहरु घुम्न पोखरा आउँछन् तर, मैले प्रदेश १ लाई रोजें ।
दशैंको माहोलमा पोखरा घरआँगन तात्न थालेको थियो । तर, म त्यही तातेको मौसममा घरबाट एउटा साइकल निकालेर बाहिर निस्किएँ । ‘दिगो विकासका लागि साइकल अभियान–देश घुमौं, देश बुझौं’ यही थियो मेरो यात्राको नारा ।
यसै पनि दसैं आउन लाग्यो भन्ने खबर पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखलाले दिन्छन् । अँधेरिएका हिमाल खुल्न थाल्छन् । म घरबाट निस्किँदै गर्दा पनि मौसम मुस्कुराइरहेकै थियो । म तिनै मुस्कुराइरहेका सेता हिमाललाई साक्षी राखेर निस्किएको थिएँ– ३० दिने पूर्वी साइकल यात्रामा ।
०००
मेरो अभियानको समय तालिका उदयपुरबाट सुरु भयो ।
सुुन्दर सहर उदयपुर । सुन्दर सहरमा उस्तै आथित्यतासँगै आत्मीय स्वागत गर्यो–उदयपुर जिल्ला साइकल संघले । उदयपुर सिमेन्ट फ्याक्ट्री अवलोकनसँगै सालले बनेको घना जंगल छिचोल्दै पुगें माटोको आकृतिले बनेको ताजमहल (स्थानीय भाषामा) ।
बन्दै गरेको उदयपुर–धरान राजमार्ग पूरा भएपछि ‘धरान–धनकुटा–कोसीटप्पु’ साइकल क्रेज बढ्छ भन्ने कुरामा दुई मत छैन जस्तो लाग्यो । चुरेको पहाड कटेपछि समथर बाटो पछ्याउँदै तराई झरें । तराई झर्दै गर्दा सप्तरीसम्म पुग्ने रहर पलायो ।
महेन्द्र राजर्मागको बाटा छेउमा भेटिने मानिसहरुसँग मिठो चियागफ र पारिलो घामको स्पर्शसँगै सप्तरी सदरमुकाम राजविराज पुगें । त्यहाँ मलाई स्थानीय युवाले मैथिली संस्कृति अनुसारकै धोती, गम्छा र पागले स्वागत गरे ।
ती सक्रिय मैथिली युवाले उनीहरुकै संस्कृति अनुसार स्वागत गरेपछि त मन त्यसै प्रफुल्ल ।
सप्तरीमा भगवती मन्दिर, कंकालिनी मन्दिर र छिन्नामस्ता अवलोकन गरी कोसी पुल तरेर अबेर कोसी टप्पु वन्यजन्त आरक्षमा बास बसें । त्यहाँका १ जना भाइले मलाई साइकलमै कोशी टप्पु घुमाइदिनुभयो ।
दसैंको दिन म कोशी किनारमा रमाइरहेका अर्नाका बथान, लम्किरहेका बडेमानका हात्ती, भर्खरै उद्धार गरिएको अजिंगर, जंगलमा संगीत भरिरहेका चराचुरुंगीको आवाजसँग थिएँ ।
०००
‘धरानको बजारैमा
माया बस्यो एकै नजरमा…’
सिन्धु मल्लले गाएको यो गीत सानोमा खुबै सुनिन्थ्यो । धरानमा पुगेको दिन पनि यो गीत खुब गुन्गुनाएको थिएँ । धरान पुगेको अर्को दिन बिहानै दन्तकाली, पिण्डेश्वरी र बुढासुब्बाको दर्शन गरें । सानो, तर चिटिक्क परेको सहर । धरान छोडिसकेपछि यात्रा मोरङ हुँदै झापासम्म सोझियो ।
१ सय १० किमी बाटो हुँदै राति झापाको धुलाबारी पुगें । त्यहाँ मलाई युवा संघ, एमनेस्टी इन्टरनेसनल, पत्रकार महासंघ लगायतले स्वागतका लागि दिउँसैदेखि पर्खेर बस्नुभएको रहेछ । बिहानै रेडियो सरगममा साइकल अभियान, भ्रमण वर्ष २०२०, अटिज्म र रक्तदानबारे कुरा गरें । झापाको बसाइ अझ विशेष र स्मरणीय बन्यो ।
सुन्दर र आकर्षक चिया बगान, काँकडभित्ता नाका, किचक बध, नेपालकै होचो भूभाग केचना कबल आदि साइकलमै घुमें । किचक बध र केचना कबल संरक्षण नपाएर बेवारिसे भएजस्तो लाग्यो ।
झापादेखि उत्तर लागें । बुधबारे हुदैँ इलामको कन्याम, उस्तै उकालो, उस्तै साँघुरो बाटो, पसिनाले चुर्लुम्म शरीर । तर, मन र आँखा थाकेका थिएनन् । आँखा उस्तै थिए – नयाँ दृश्यको पर्खाइमा । मन उस्तै थियो – नयाँ गन्तव्यको लक्ष्यमा ।
इलाम नपुग्दै बाटैमा झमक्कै साँझ पर्यो । जेनतेन बत्ती बालेरै भए पनि कन्याम पुगें । तर, आधारातमा त्यहाँ पुगे पनि अर्को समस्याले अंगालिहाल्यो । होटल भरिभराउ थिए – बासको समस्या पर्यो ।
तर, एक गाडी चालकले मलाई बास दिनुभयो । उहाँको नाम अशोक थियो । बिहानै उठेर चिया बगान नियाल्न थालें । आँखाले देखुञ्जेलसम्म चिया बगान ! अहो ! त्यसमाथि अशोकजी साथमै पाएपछि के चाहियो ? त्यहाँबाट बिदाइ हुँदै गर्दा उहाँले चिया कोशेली पनि दिनुभएको थियो ।
कन्यामपछि फिक्कल हुँदै इलाम बजार लागें । लामो यात्रामा निस्केकाले साइकलमा केही खराबी देखिन सुरु भइसकेको थियो । इलाम बजारमै मर्मत गरिसकेपछि अबेरमात्रै त्यहाँबाट निस्कें । पुग्नु त राँके बजारसम्म थियो । तर, त्यो दिन योजना विफल बन्यो । बाटोमा एकजना डेरीवाल दाइसँग बास मागें ।
एकल यात्राको आनन्द भनेकै यही हो । जहाँ मिल्यो, त्यहीँ पल्ट्यो, जे पायो त्यही खायो ।
बाटोमा गस्तीवाल प्रहरी वा अन्य सर्वसाधारणले साइकलयात्राबारे सोधपुछ गर्थे । म आरामले उनीहरुलाई सन्देश बाँड्थें । यसरी चलिरहेको थियो साइकल यात्रा ।
०००
पौवा भञ्ज्याङको चिसो सिरेटो । उकाली–ओराली बाटोलाई पछ्याउँदै पाँचथर फिदिम बजार पुगें । पाँचथर हुदैँ त्यसपछिको यात्रा ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ ।
साइकल बजारमै राखी ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शन गर्दाको आनन्द बेग्लै थियो ।हिउँले ढाकिएको मन्दिर परिसर, आँखै अगाडिको कुम्भकर्ण हिमाल अनि बाटामा भेटिएका थुप्रै दशनार्थीहरु सबै प्रिय प्रिय लागे ।
त्यहाँबाट पाचँथरको फिदिम फर्केर तमोर नदी तरी कच्ची बाटो समातेर तेह्रथुम लागें । सोचेभन्दा अप्ठेरो बाटो । उस्तै धुलाम्य । कतै ठेल्दै त कतै धकेल्दै । पसिना नुनिलो बगिरहेकै थियो । तर, आनन्द त्यसको दोब्बर ।
बाटैमा पर्ने ह्यात्लुङ झरना छुट्याउने कुरै भएन । अर्गानिक होमस्टेसँगै लिम्बु नृत्यलाई पस्काउन सक्ने हो भने पनि त्यहाँ पर्यटकलाई १/२ दिन मज्जाले राख्न सकिँदो रहेछ छोटीबजारमा । जंगलको बाटो पछ्याउँदै अघि बढें ।
म्याङलुङ बजार पुग्न केही किमी तल सानो गाउँ, हली मेला । झमक्कै साँझ परेर बास त्यहीँ भयो । उहिले त्यहाँका बासिन्दा सबैले हली पेशा सम्हालेका रहेछन् । हरेक नयाँ वर्षमा हर्षोल्लासका साथ मेला लाग्दो रहेछ । त्यसैले नामै हली मेला ।
बाटैमा साइकल पञ्चर भयो । हावा भर्दै बजारसम्म जसोतसो ठेलेरै पुर्याएँ ।
तेह्रथुम सदरमुकाम म्याङलुङ बजार । चोकैमा बिरालोको ठूलो मूर्ति । देख्दै कौतुहल जाग्यो । पछि मात्र थाहा पाएँ यसको पौराणिक कहानी ।
उहिले २ जना बटुवा रात परेर त्यहीं कतै बास बसेका रहेछन् । खाना पकाउन ३ वटा ढुंगाको ओदान बनाउँदा त्यो खसेछ । पछि त्यसमा बिरालोको नंग्राको निशाना भेटेका रहेछन् । त्यसरी बनेको रहेछ म्याङलुङ । अर्थात् म्याङको अर्थ बिरालो र लुङको अर्थ ढुंगा ।
त्यहाँबाट लागें वसन्तपुर । बाटैमा रात परेकाले बत्ती बालेर अघि बढ्दै थिए । एकजना दिदीले भन्नुभयो, ‘आवाज ननिकाल्ने कस्तो बाइक रहेछ भनेको त साइकल पो रहेछ ।’
वरिपरि रहेका सबैको हाँसोको फोहोरा निस्कियो ।
वसन्तपुर । चिटिक्क परेको प्रसिद्ध लालीगुँरासको सहर, बीचैमा लालीगुराँसको ठूलो आकृति, बिहानमात्र एकटकले धीत मरुन्जेल नियालें । नेपालभरि पाइने ३२ थरीका लालीगुँरासमध्ये यहाँ २८ थरीका पाइन्छन् । पर्यटकहरु प्रसिद्ध पोखरी ताल, लालीगुरासँका लागि प्रसिद्ध तीनजुरे मिल्के डाँडा अनि कञ्चनजंघा पदयात्रा गर्न यही बाटो हुँदै लाग्दा रहेछन् ।
समय अभावले ताल पोखरी र तीनजुरे मिल्के डाँडा पुग्ने सपना भने अपुरै रह्यो । त्यहीँबाट पनि संखुवासभा पुग्न सकिन्छ । तर, मेरो योजना भने पहिला धनकुटा पुग्ने थियो ।
कतै पिङमा केटाकेटीहरु रमाउँदै थिए त कतै किसानहरु खेतमा तरकारी टिप्दै । बढ्दै गरेको चिसोले हिले बजार आएको आभास भएको थियो । चोकैमा ठूलो तुम्बाको मूर्ति । ठाउँठाउँमा आधुनिक गीतमा युवायुवती देउसीभैलोमा झुम्दै थिए । म भने आफ्नो गन्तव्य धनकुटा लागें ।
०००
तिहारको रमझम । दुलहीझैँ सजिसजावट धनकुटा ।
बिहानै भेडेटार नजिकैको नमस्ते झरना हेर्न पुगें । गर्मीयाममा तराईबाट मात्र नभई भारतीय पर्यटकहरु पनि यहाँ रमाउन आउँदा रहेछन् । केही समयअघि १ जना नेपाली त्यहाँ नुहाउँदा माथिबाट ढुंगा खसेर ज्यान गएको रहेछ । त्यसपछि त्यहाँ नुहाउन रोक लगाइएको रहेछ ।
त्यहाँबाट केही उकालो लागेपछि भेडेटार पुगिन्छ । बीचैमा इमानसिंहको ठूलो मूर्ति । सडक छेउछाउ बेच्न राखिएका स्थानीय सामाग्रीहरुले पर्यटकहरु बढी आकर्षित देखिन्थे ।
फेरि धनुकटा फर्केर संखुवासभा लागें । साँघुरो बाटो, कतै धुलाम्य त कतै उस्तै उकालो । अबको केही दिन यस्तै यात्रालाई छिचोल्दै संखुवासभा सदरमुकाम खाँदबारी पुग्दा युद्ध जित्ने सिपाही भन्दाको कम आनन्द पक्कै थिएन ।
त्यहाँको बुधबारे हाट बजार हेर्न निस्के । यो मेरो पहिलो हाट बजार अनुभव भएकाले छुट्टै कौतुहल कायमै थियो । एक दिनको बाटो हिँडेर पनि मानिसहरु आफ्ना घरमा उत्पादित कुखुरा, बाख्रा, चामल, फलफुल, तरकारी आदि बेच्न ल्याउँदा रहेछन् ।
अर्को दिन खाँदबारीबाट तल झरें । धनकुटाको सानो लेगुवा बजार । किनारमा अरुण सुसेलिरहेको थियो । अरुणको सुमधुर धुनमा हराउदैँ भोजपुरतिर लागें । चाडबाडले होला सायद नेपाली खुकुरीका लागि प्रसिद्ध जिल्ला भोजपुरको बाटो भने सुनसान थियो ।
चकलेट, किसमिस अनि बदाम खाँदै उकालो लागें । सोचेजस्तो बाटामा होटल थिएनन् । बास पाउन र खानेकुरा पाउन एकदम मुस्किल । चिसोलाई हटाउन थर्मसको तातोपानी कफी बनाएर बाटैमा पिउथेँ । खाँदबारीबाट भोजपर आउन ३ दिन लाग्यो । भोजपुर बजारमा केही दिनको बसाइपछि खोटाङ लागें ।
भोजपुर खोटाङ सडकचाहिँ सुचारु भइनसकेको रहेछ । वर्षा यामपछि नबनेको बाटो छिचोल्न एकदमै कठिन रह्यो । कति ठाउँमा ठेल्दै त कति ठाउँमा साइकल बोक्दै जेनतेन खोटाङ दिक्तेल बजार पुगें ।
सानासाना बालबालिका साइकलको पछिपछि दर्गुथे । उनीहरु मेरो साइकल ठेल्न सहयोग गर्थे । म भने उनीहरुलाई मिठाइ अनि किसमिस दिन्थें । मान्छेहरु बाटामा उत्सुकताका साथ साइकलमा के सामन बेच्न आएको भनेर सोध्थे ।
दिक्तेल बजार । साना साना घर । कालोपत्रे पनि नगरिएको बजार क्षेत्र । ‘अझै पनि बाटो पिच नभएको रहेछ है !’ स्थानीयलाई सोधेको थिएँ । ‘यत्ति बाटो आएको त ठूलो कुरा हो,’ उनीहरुको जवाफ थियो ।
बजारबाट केही माथि बडेश्वर महादेव गुफा अनि कालिका भगवती मन्दिर अवलोकन गरी त्यहींबाट दिक्तेल बजारसँगै सूर्यास्त नियालें । थकित ज्यानलाई केही राहत मिल्यो । फुर्सद निकालेर बिहान दिक्तेल बहुमुखी क्याम्पस पनि पुगें । त्यसपछि लागें – हलेसी महादेवको मन्दिर । मन्दिर दर्शनपछि ओखलढुंगा हुँदै फेरि उदयपुर आइपुगें ३० औं दिनमा । उदयपुरमा पहिलो पटक छठ पर्व मनाउने अवसर पाएँ ।
मेरो अभियानको समय तालिका उदयपुरमै आएर सकियो ।
०००
साइकलमा एक्लै ३० दिने यात्रा । समग्रमा यात्रा उपलब्धिमूलक रह्यो । मैले सुनेको र पढेको पूर्व साँच्चिकै सुन्दर रहेछ ।
हरेक दिन, हरेक पल र हरेक यात्रामा भेटिएका हरेक मानिसहरु स्मरणीय बने । सोलुखुम्बु बाहेक प्रदेश १ का १३ जिल्ला साइकलमा घुम्दाको क्षण पक्कै शब्दमा वर्णन गर्न सक्दिनँ ।
पर्यटन क्षेत्रमा अझै धेरै सम्भावना बोकेको प्रदेश हो प्रदेश १ ।
नेपाल सुन्दर छ । जीवन एक यात्रा हो । पहिला देश, अनि मात्र विदेश !
source https://www.onlinekhabar.com/2019/11/807930
0 comments:
Post a Comment