Friday, 24 January 2020

अनेसास सम्मेलन : भूमि जापानको, चिन्ता नेपाली साहित्य र माटोको

स्वागतमा हात मिलाउनु्भन्दा बिदाईको अँगालो बढी गह्रुङ्गो हुन्छ, सायद । साथी तिनै थिए, एयरपोर्ट त्यही थियो, आत्मीयता उस्तै थियो । अभियान, उद्देश्य र समर्पणमा पनि परिवर्तन भएको थिएन । फरक थियो, हात मिलाउने काइदा र अँगालो मार्ने शैली ।

त्यही व्यक्तिलाई एयरपोर्टमा स्वागत गर्दा हात उत्साहित भएर अघि बढ्छ । हात मिलाउँदा दुवै हातले आत्मीयताको स्वागत गरिरहन्छन् । ओठको मुस्कानले मधुर मिलनको सङ्केत गरिरहेको हुन्छ । यो बेला मन प्रफुल्ल हुने रहेछ । त्यही व्यक्तिलाई एयरपोर्टमा बिदाई गरिरहँदा हात केही लुलो हुँदारहेछन् र अनजानमै भावुक अँगालो मारिदोरहेछ । सायद, स्वागतमा हात मिलाउनु भन्दा बिदाईमा अँगालो मार्नु निकै नै गह्रुङ्गो काम हो ।

कुरा त्यहीँबाट सुरु गर्न मन लाग्यो, जब हामी पाहुनालाई बिदाई गर्दै जहाज चढाउँदै थियौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समितिका अध्यक्ष राधेश्याम लेकाली, ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्माले बिदाईका बेला भन्नुभयो — ‘कार्यक्रमले उत्साहित भयौँ । संस्थाको इतिहास, गरिमा र मर्मअनुसारको काम गर्नुभयो ।’

यस्तै भनाइ थियो, उपाध्यक्ष त्रय भीमसेन सापकोटा, शान्तिराम ढकाल र निशा आर्यालको । साथै पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलालाई सबैभन्दा अन्तिममा बिदाई गर्न
म आफै हानेदा एयरपोर्ट गएको थिएँ । उहाँले भन्नुभयो — ‘साहित्यले जोडेको नाता कति गहिरो । यो भेटघाटले अरू दुई वर्ष ऊर्जा थपिदियो । यो व्यवस्थापन र कार्यकौशलताका लागि जापानी मनहरूलाई सलाम, विशेष गरी प्रकाश, दीप र गिरिजालाई अनि यहाँको जल्दोबल्दो टिमलाई ।

संस्थाका महासचिव गणेश घिमिरेलाई नेपालको चर्चित नाट्य संस्था सर्वनाम पुगेर ‘हामी कविता’ मा भाग लिनु थियो । उनका साथमा जापानबाटै रबिन शर्मा जाँदै थिए, त्यही पनि उनी एयरपोर्टबाट फर्की–फर्की हामीलाई धन्यवाद भनिरहनु भएको थियो । संस्थाका सचिव लालगोपाल सुवेदी, पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौला, पूर्व महासचिव गोवर्धन पूजा, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक महेश पौडेल लगायतका पाहुनाहरूलाई बिदाई गरिरहँदा सबैको एउटै स्वर थियो — ‘जापानले राम्रो सन्देश दिएको छ । जापानमा भएको ‘तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन’ ले डायस्पोरिक नेपाली साहित्यलाई अघि बढाउन ठूलो मद्दत गर्नेछ । संस्थालाई संस्थागत रूपमा अग्रगामी बाटोमा हिँडाउन ठूलो मद्दत गर्नेछ । लामो समयसम्म यो सम्मेलनको चर्चा हुनेछ ।’

व्यस्त समयमा लगातार भएको सेसनहरूमा गल्तीहरू कयौँ भए होलान्, तर सबै पाहुनाहरूले एकै खालको भावना व्यक्त गरिहँदा महिना दिनभन्दा बढी खटेर गरेको दुःख सार्थक भएझैँ लाग्यो ।

च्याप्टर अध्यक्षहरू निजानन्द मल्ल (फ्लोरिडा), डन कार्की (लस एन्जलस), प्रमोद सारंग (कोरिया), हरिमाया अधिकारी (न्यु ह्याम्पसायर), उर्मिला निर्दोषी (मिजौरी) मात्रै होइन पदाधिकारी तथा प्रतिनिधिहरू माया केसी, प्रकाशचन्द्र घिमिरे, कृशबाबु गुल्मेली, रमेश दाहाल, गोविन्द कँडेल ‘आँसु’, ईश्वरी भट्ट, शारदा भट्ट, प्रतिभा भट्ट, प्रतीक भट्ट, शेखर ढुङ्गेल, नन्दीकेशर भट्टराई, विशनसिंह थापा, कल्याण पन्त, ममता तिवारी, मीना सुब्बा, रत्न सुब्बा, रुद्रप्रसाद पौड्याल, गीतादेवी शर्मा, लोकराज न्यौपाने, निर्वाण मल्ल सहितका पाहुनाहरूलाई बिदाई गरिरहँदा हामीले सामान्य बिदाई गरिरहेका छैनौँ भन्ने कुरा हामीलाई महसुस भइरहेको थियो । एकजना दुईजना होइन, सबैले नै बिदाईको हात हल्लाउँदा अन्य साथीहरूले जस्तै ऐतिहासिक काम गरेको भन्दै बधाई दिइरहनु भएको थियो । उहाँहरूको मुहारमा खुसी भाव प्रस्ट देखिन्थ्यो ।

बाहिरबाट आउनुभएका सबैजसो पाहुनाहरूले कार्यक्रमको जस–अपजस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मलाई दिए पनि म भने निवर्तमान अध्यक्ष तथा सम्मेलन संयोजक दीप पाठक तथा नवनिर्वाचित अध्यक्ष गिरिजा गैह्रे नेतृत्वको जापान च्याप्टर र निरन्तर खट्ने यहाँका सम्पूर्ण साथीहरूलाई बाँड्न हतारिन्थेँ । हामीसँग केन्द्रीय अध्यक्ष समेत भइसक्नु भएका संस्थापक अध्यक्ष डा. कुमार बस्नेत मात्रै होइन, पूर्व अध्यक्षहरू बेलुकाजी थापा, दिनेशराज ज्ञवाली, आलोक चालिसे र विष्णुप्रसाद घिमिरेहरू बलियो स्तम्भ र आडको रूपमा खडा हुनुहुन्थ्यो । त्यसका अतिरिक्त जापानका साथीहरू अरुण पौडेल, हेमन्त गिरी, सुमित गिरी, श्रवण सत्याल, शेखर विकल्प, धीषण निरौला, सरिता ढकाल, रबिन शर्मा, सविना रेग्मी, धु्रब बञ्जाडे, आनन्द अधिकारीहरूले यो कार्यक्रम फत्ते नगरुञ्जेल विश्राम लिनुहुन्न भन्ने विश्वास लिएको थिएँ । नभन्दै बिदाईका बेला पाहुनाहरूले जसरी कार्यक्रमका विषयमा प्रतिक्रिया दिनुभयो, त्यसको जस तुरुन्तै उहाँहरूलाई फर्काएँ । किनभने यसको हकदार उहाँहरू नै हुनुहुन्थ्यो ।

केही महिना लामो हाम्रो तयारीलाई पृथ्वीका फरक–फरक कुनाबाट आएका साथीहरूले प्रशंसा गरिदिँदा खुसी नलाग्ने कुरा थिएन । यी ती नेपाली थिए, जसले परदेशमा पनि आफ्नो भाषा, साहित्य र संस्कृतिलाई बचाएर राखेका छन् र साहित्यका लागि मरिमेट्न तयार छन् । आफ्ना सबै किसिमका व्यस्तता अनि बाध्यताहरूलाई स्थगित गरेर व्यक्तिगत खर्च र समयलाई खोकिलामा च्यापेर साथीहरू जापान आएका थिए । उद्देश्य केवल एउटै थियो, नेपाली साहित्यलाई कसरी माथि उठाउन सकिन्छ ? संस्थालाई दरिलो, बलियो र उचो कदको कसरी बनाउन सकिन्छ ? कसरी विश्वभरि छरिएर रहेक साहित्यकारहरूलाई गोलबद्ध गर्न सकिन्छ ?

अनेसासको यो च्याप्टर सम्मेलनले नेपाली साहित्यलाई के कति योगदान दिन सक्यो ? भविष्यमा देखिएला । तर भेलामा सहभागीहरूले नेपाली साहित्यले बेहोरिरहेका सबै किसिमका चिन्ता र चासोलाई नलुकाई राखेका थिए । विधानको विषयमा दफाबार बहस भएको थियो । साहित्यको नाममा हुने विभिन्न किसिमका खिचातानी र स्वार्थलाई रोक्ने प्रतिबद्धता व्यक्त भएका थिए । हामी सबै कुरामा खुल्ला थियौँ किनभने हामीलाई कुनै स्वार्थले होइन, पवित्र साहित्यले जोडेको थियो । संस्थाको मायाँले यहाँसम्म डोर्‍याएको थियो । हामी त्यो ब्यानरको मुन्तिर थियौँ, जहाँ भानुभक्त, लेखनाथ, देवकोटा, सिद्धिचरण, मोतीराम, पारिजातजस्ता स्रष्टाहरू मुस्कुराइरहेका थिए ।

९ देश र १७ च्याप्टरका झण्डै दुईसय जना पाहुना टोकियोको मध्य सहरमा भेला भएर गरिएको अनेसासको च्याप्टर सम्मेलनले यसअघि खड्किएका कतिपय सन्दर्भ र विषयलाई पनि निकै चनाखोपूर्वक ध्यान दिएको थियो । विद्वानहरूले भनेका छन्, सबै समस्याको जड संवादविहिनता हो । जहाँ संवाद हुन्छ, त्यहाँ समाधानको बाटो निस्कन्छ । जापान च्याप्टर सम्मेलनपछि साहित्यिक संस्थामा हुने समस्यालाई कसरी सहज र सरल समाधान गर्न सकिने रहेछ भन्ने कुराको पनि सूत्र फेला परेको अनुभव भएको छ ।

परदेशमा दर्जनौँ मानिस बोलाएर एउटा कार्यक्रम गर्नु धेरै समस्यासँग पौठेजोरी खेल्ने तयारी गर्नु हो । जापानजस्तो श्रमलाई महत्त्व दिने मुलुकमा श्रम गरेर परिवार पालिरहेका दर्जनौँ साथीहरूलाई हप्तौँसम्म कार्यक्रमको तयारी गर्न लगाउनु जागिर खोसिने अवस्थामा पुर्‍याउनु सरह पनि हो । श्रम गरेर दुई–चार पैसा जोड्नकै लागि विदेश आएपछि कमाउन छाडेर साहित्य सेवा जस्तो क्षेत्रमा समय दिनु आफैमा महानता हो । साहित्यको नशा लागेका जापान च्याप्टरका साथीहरूले यी सबै खतरा मोल्ने सङ्केत उति बेलै गरेका थिए । यही आधारमा वरिष्ठ उपाध्यक्षको हैसियतले मैले हिम्मत गरेको हुँ । बाँकी कार्यक्रमको तयारीदेखि पाहुनालाई बिदाई गर्ने सम्मको जिम्मेवारी साथीहरूले लिइदिए । कार्यक्रमलाई दीपा घिमिरे, प्रकृति फुयाल, मीनराज बास्तोला, सङ्गीता कुँवर, रमेश लामिछानेलगायतका जुझारु साथीहरूले पनि सम्पूर्ण समय यही कार्यक्रमलाई दिए । बेलाबेलामा के.बी. पारखी, मन्जु गिरी, प्रतिबिम्ब सुमन, अनिलकुमार निर्दोष, राजेन्द्र पौडेल, बैकुण्ठ भट्ट, सजिना मोक्तान, रमेशबाबु भण्डारी, सुजन जोशी, राजु लक्षित, भक्त हमाल लगायतका साथीहरूले समय मिलाई–मिलाई कार्यक्रमका लागि दौडिए । जब–जब पाहुनाहरूले मलाई कार्यक्रम राम्रो भएकोमा बधाई दिन्थे, म भने माथि उल्लिखित सबै साथीहरूलाई सम्झन्थेँ ।

जापानमा पाहुनालाई देवता समान मानिन्छ । सम्मेलनमा आउनु हुने सबै व्यक्ति र व्यक्तित्वहरूलाई हामीले सोहीबमोजिम स्वागत र सत्कारको जमर्को गरेका थियौँ । नेपाल, भारत, कोरिया, कतार, युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत सबैतिरका साथीहरूले भन्दै हुनुहुन्थ्यो — ‘कार्यक्रम साँच्चै नै भव्य र सभ्य भयो, हामीले आयोजना, व्यवस्थापन र स्वागत–सम्मानबारे जापान च्याप्टरबाट धेरै कुरा सिक्ने अवसर पायौँ ।’

जो–जो व्यक्तिहरूले हामीलाई प्रशंसा गर्नुहुन्थ्यो, अँगालोबाट छुट्टिएर हामीले उहाँहरूको अनुहारमा हेरेका थियौँ, कसैले पनि झुटो बोलेजस्तो लागिरहेको थिएन । एक प्रकारको आत्मीयता, सद्भाव र आफ्नोपन उहाँहरूको आँखामा छचल्किरहेको थियो । हाम्रा साथीहरूमा पनि खुसी र सन्तुष्टिको आँसु पटकपटक टल्किएको थियो ।

कार्यक्रमका कुनै कमजोरी नहोस् भनेर सचेत थियौँ, म स्वयम् विगतका वर्षहरूमा विभिन्न मुलुकमा भएका सम्मेलनमा भाग लिइसकेको थिएँ र विगतको अनुभवलाई उपयोग गर्दै कार्यक्रमलाई भरसक व्यवस्थित बनाउने भित्री चाहना थियो । यति ठूलो सम्मेलनमा कोसिस गर्दागर्दै पनि केही कमजोरी नभएका भने होइनन् तर ती सबैमा अतिथिहरूले आँखा चिम्लिदिनु भयो र खुलेर प्रशंसा गरिदिनु भयो । यसले उहाँहरूप्रति हाम्रो प्रेम अझ प्रगाढ बनाइदियो । भोलीका दिनमा थप सुधार गरेर अगाडि बढ्ने प्रण गर्न हामीलाई झनै सजिलो भयो र ऊर्जा पनि मिल्यो ।

कार्यक्रमको महत्त्व

झण्डै तीन दशक पुरानो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यो तेस्रो च्याप्टर सम्मेलन थियो । यसले संसारभरि छरिएका नेपाली साहित्यकारहरूलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा केही ठोस काम गर्ने उद्देश्य थियो । त्यसका लागि योजनाबद्ध कार्यक्रम गर्नुपर्ने चुनौती थियो । आफू संस्थाको वरिष्ठ उपाध्यक्ष भएका कारण पनि संस्था सिर्जनात्मक हुन नसकेको आरोपबाट मुक्त हुनुपर्ने बाध्यता पनि थियो । संस्था स्थापना भएको यत्तिका वर्ष भए पनि गुणात्मक काम गर्न नसकेको आरोपलाई चिर्नुपर्ने बाध्यता थियो । जसलाई एक हदसम्म पूरा गरियो पनि ।

कार्यक्रमले अनेसासमा नसमेटिएका साहित्यकारहरूलाई पनि समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूत गतिले अघि बढाउने निर्णय गर्‍याे । हुन त यसअघि पनि यस किसिमको काम नभएको होइन तर व्यवस्थित गर्ने जिम्मेवारी यसपटक अझ बढेको छ । तीन दिनसम्म चलेको सम्मेलनले पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाको नेतृत्वमा छ बुँदे घोषणापत्र जारी गर्दै आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु पनि रोचक रह्यो । जुन समितिको सदस्यमा उर्मिला निर्दोषी, गिरिजा गैह्रे, डन कार्की, प्रमोद सारंग, निजानन्द मल्ल, प्रकाशचन्द्र घिमिरे, ममता तिवारी, माया के.सी., रुद्रप्रसाद पौड्याल र हरिमाया अधिकारी हुनुहुन्थ्यो ।

सम्मेलन टोकियोको मुटु सिन्जुकुस्थित जापान ग्लास इन्डस्ट्रीको सभा हलमा सम्पन्न भएको थियो । यसले नेपाली साहित्यकारहरू पनि उच्चस्तरको सम्मेलन गर्न सक्छन् भन्ने सन्देश पनि दिएको छ । केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमी–कमजोरीहरूलाई पनि यस च्याप्टर सम्मेलनले उजागर गर्दै अगाडिको बाटो तय गरेको छ ।

आयोजना केन्द्रको भए पनि व्यवस्थापनको सम्पूर्ण जिम्मा जापान च्याप्टरकै काँधमा थियो । जापान च्याप्टरका निवर्तमान अध्यक्ष समेत रहेका संयोजक दीप पाठकले कुशल नेतृत्व प्रदान गरे । वेदप्रसाद उत्कृष्ट नेतृत्व पुरस्कार पाउँदा उनले मन थम्न नसकेको कुरा अनुहारबाट पढ्न सकिन्थ्यो । सर्वोत्कृष्ट जापान च्याप्टरको सँगसँगै दोस्रो र तेस्रोको रूपमा कोरिया र कतार च्याप्टर पनि पुरस्कृत भए ।

त्यसैगरी यसअघि क्रमशः पहिलो र दोस्रो च्याप्टर सम्मेलनको संयोजन गर्ने शान्तिराम ढकाल र कृष्ण गिरीलाई पनि सम्मान गरिएको थियो । अघिल्लो सम्मेलनको संयोजकहरूलाई सम्मान गर्ने परिपाटीको सुरुवात बेलायतमा भएको छैटौँ सम्मेलनबाट प्रारम्भ भएको थियो । जसले आगामी सम्मेलन आयोजन गर्न सर्बत्र ऊर्जा सञ्चार गर्ने अपेक्षा केन्द्रले गरेको हुनुपर्छ ।

भेलामा सहभागी हुन आएका साहित्यकारलाई जापानस्थित राजदूतावासले औपचारिक उद्घाटनको अघिल्लो दिन १० तारिक शुक्रबार स्वागत रात्रीभोजको कार्यक्रम राखेको थियो । अनेसासले जुन देशमा सम्मेलनहरू आयोजना गरे पनि उक्त देशस्थित नेपाली दूतावासले स्वागत डिनरको आयोजना गर्नु एक किसिमको संस्कार जस्तै बसिसकेको अवस्था छ ।

गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष एवं व्यवसायी भवन भट्ट, आइसिसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ समेतको सहभागिता हेर्दा एनआरएनले विगतदेखि नै अनेसासलाई गरेको मायामा कत्ति पनि कमी नआएको भान हुन्थ्यो । भवनजी केन्द्रको महिला पुरस्कार प्रायोजक हुनुहुन्छ भने श्रेष्ठ जापान च्याप्टरबाट दिइने प्रतियोगितात्मक पुरस्कारको प्रायोजक हुनुहुन्छ । गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष देवीलाल भण्डारी, आइसिसी एसिया संयोजक गोविन्द श्रेष्ठ, आइसिसी एसिया युवा संयोजक दीपक कँडेल र व्यवसायी दीपक सुवेदी, लोकनाथ वस्ती, विपीन घिमिरे, हरि सापकोटाले पनि सदाबहार शैलीमा साथ दिनुभयो ।

प्रमुख अतिथि महामहिम राजदूत प्रतिभा राणाको उपस्थितिले माहोलमा बेग्लै रौनकता देखिन्थ्यो । त्यसो त अनेसास जापान च्याप्टरको धेरैजसो कार्यक्रममा दूतावासबाट सहभागिता भइ नै रहेको छ । उपनियोग प्रमुख कृष्णचन्द्र अर्याललाई पनि हामीले साहित्य शृङ्खलामा पटक–पटक प्रमुख अतिथिको रूपमा स्वागत गरिसकेका थियौँ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्याल केन्द्रमा रहन सफल हुनुभयो । व्यक्तिगत रूपमा उहाँको लेखन, प्रस्तुति र वाचाल शैली मलाई औधी मन पर्छ । ग्लोबमा नेपाली पहिचानको खोजी : एक सैद्धान्तिक विमर्श विषयक कार्यपत्रले आगामी दिनमा गर्नुपर्ने कामको फेहरिस्त तयार गरेको छ । अबको नेतृत्वले त्यही कार्यपत्रले उठाएका विषय मात्रै सम्बोधन गर्‍याे भने मात्रै पनि संस्थाको उचाइ र डायस्पोरामा नेपाली साहित्यको अवस्था निकै माथि पुग्ने विश्वास गर्न सकिन्छ । कार्यपत्रमाथि भूषण घिमिरे र हारुहितो नोजुको सटिक टिप्पणी सुन्न लायक थियो ।

कार्यक्रमका बीचमा चार दर्जन कविका रचना वाचन भए । यीमध्ये धेरै यस्ता कवि थिए, जसमध्ये यस्तो अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक आफ्नो सिर्जना वाचन गर्दै थिए । तर सबका सब दमदार थिए, शब्दमा दमदार अनि प्रस्तुतिमा धुवाँधार । साहित्यको पारो यति माथि उठेको थियो कि सहभागीहरू हलचल नगरी झण्डै सात घन्टा एउटै हलमा स्थिर भएर बसेका थिए । लन्च र चियाको व्यवस्था यथास्थानमै गरिएको थियो ।

कार्यक्रममा महेश पौड्याल, राधेश्याम लेकाली, प्रमोद सारंग, रत्न सुब्बा, लालगोपाल सुवेदी, ईश्वरी भट्ट, लवकुमार बुढाथोकी लगायतका लेखकहरूको पुस्तक विमोचन गरिएको थियो । प्रवासमा रहेर पनि साहित्यिक रचना गर्नु, आफ्नो खर्चमा जापान पुग्नु र त्यसलाई सार्वजनिक गर्नुले पनि सहभागी स्रष्टाहरूको साहित्यप्रतिको रुझान प्रकट हुन्थ्यो । खट्केको एउटै कुरा थियो, विमोचित कृतिहरूका स्रष्टालाई कृतिका विषयमा बोल्ने समय मिलाउन सकिएन । यसले एउटा नयाँ ज्ञान के दियो भने ठूला सम्मेलनहरूमा कृति विमोचन गर्दा स्रष्टामाथि अन्याय हुने रहेछ ।

कार्यक्रमको दोस्रो दिनको सेसन आन्तरिक बहस र छलफलमा केन्द्रित थिए । संस्थाको विधि र विधानका बारे धेरै साथीहरूले खुलेर आफ्नै संस्कार र शैलीमा कुराहरू राखेका थिए । यस अर्थमा प्रजातान्त्रिक प्रक्रियाबाट संस्थाभित्र कुरा राख्ने काम भयो । सहजीकरणको काम केन्द्रीय कार्य समितिका महासचिव गणेश घिमिरे र जापान च्याप्टर महासचिव रविन शर्माले गरेका कारण पनि हुनसक्छ, लामो अवधिको कार्यक्रम पनि आकर्षक ढङ्गले अघि बढ्यो ।

विभिन्न सत्रमा विभक्त गरिएको कार्यक्रम सञ्चालनमा शान्तिराम ढकाल, निशा अर्याल, भीमसेन सापकोटा, लालगोपाल सुवेदी र हेमन्त गिरीले सहयोग गर्नुभएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य रामकृष्ण बम मल्ल, प्रतिष्ठानका जापान शाखा अध्यक्ष सूर्य खड्का र समुद्रराज पौडेलले बीच–बीचमा साङ्गीतिक माहोल सिर्जना गरेका थिए ।

कार्यक्रममा केन्द्रीय समिति तर्फबाट दिइने विभिन्न पुरस्कार प्रायोजन गर्ने भवन भट्ट, पदम विश्वकर्मा एवं दुर्गा दाहाललाई पनि सम्मान गरिएको थियो यद्यपि कोरिया च्याप्टरले म स्वयम्लाई गरेको अभिनन्दन मेरा निम्ति सप्र्राइज सम्मान थियो ।

अन्तिम सत्रमा च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो च्याप्टरको २ वर्षे कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा कतार च्याप्टर, कोरिया च्याप्टर, इजरायल च्याप्टर, पर्थ च्याप्टर, सिड्नी च्याप्टर, बेलायत च्याप्टर, लस एन्जलस च्याप्टर, कोलोराडो च्याप्टर, बोस्टन च्याप्टर, न्यु ह्याम्पसायर च्याप्टर, फ्लोरिडा च्याप्टर, सिक्किम च्याप्टर, मिजौरी च्याप्टर, नेपाल च्याप्टर लगायतका च्याप्टरको सहभागिता थियो । यसैगरी संस्थापक अध्यक्ष होमनाथ सुवेदी र बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाएका शुभकामना मन्तव्य पढेर सुनाइदा हल तालीले गुञ्जायमान भएको थियो ।

यति ठूलो कुम्भमेलामा हामीले अनेसासका धेरै हस्तिहरूको अनुपस्थिति खड्किएको महसुस गरेका थियौँ । पूर्व केन्द्रीय अध्यक्षहरू, ट्रस्टी अध्यक्ष र पदाधिकारीहरू, सल्लाहकारहरू, थुप्रै च्याप्टरका अध्यक्ष तथा पदाधिकारीहरूको अभाव पनि प्रस्ट झल्किन्थ्यो । यस सम्मेलनमा बेल्जियम च्याप्टरको अभाव टड्कारो रूपमा महसुस थियो । साथमा युरोपका च्याप्टरहरू पोर्चुगल, बेलायत, इटली र डेनमार्क मात्रै होइन, अमेरिकाभित्रका दर्जन च्याप्टरका साथीहरू सम्झनामा निरन्तर आइरहनु भयो । यद्यपि टेलिफोन र सामाजिक सञ्जालले विश्वभरिका आजीवन सदस्य साथीहरूलाई जोड्ने काम गरेको थियो । पलपलको अपडेट सम्भव भएको थियो ।

कार्यक्रमको अन्त्यमा जापान च्याप्टरका नवनिर्वाचित अध्यक्ष गिरिजा गैह्रेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको समापन मन्तव्यसँगै तीन दिने च्याप्टर सम्मेलनको औपचारिक समापन भएको थियो । उक्त कार्यक्रमले केन्द्र र च्याप्टरबीचको सम्बन्ध मजबुत बनाएको र सबैजसो आन्तरिक समस्याको समाधान भएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमअघि,  कार्यक्रमपछि

झट्ट हेर्दा यसपालिको सम्मेलन साहित्यकारहरूका लागि यो भिजिट जापान २०२० जस्तो पनि देखिन सक्छ । भिजिट नेपालको प्रारम्भमा जापानका सडक, चोक र अग्ला भवनहरूमा खिचिएका तस्विर सामाजिक सञ्जालमार्फत् सार्वजनिक हुँदा यस किसिमको भ्रम पर्न सक्छ । तर त्यसो होइन । औपचारिक कार्यक्रमका आफ्नै सीमाहरू हुन्छन् । यसका पनि थिए । तर कार्यक्रम अघि र पछि भएका भेटघाट र अनौपचारिक कुराकानीले नै कार्यक्रमको स्तर निर्धारण गर्छन् । सहभागी हुन आएका कोही पनि पिकनिक शैलीमा जापान घुम्न आएका थिएनन् । सबैको चिन्ता थियो, केन्द्र र च्याप्टरबीचको सम्बन्धलाई कसरी कसिलो बनाउन सकिन्छ ? त्यसैगरी बोर्ड अफ ट्रस्टी र केन्द्रीय कार्य समितिबीचमा कसरी अझै दरिलो सम्बन्ध बनाउन सकिन्छ ? अनि नेपाली भाषामा लेखिरहेका चर्चित लेखहरूलाई कसरी अन्तर्राष्ट्रिय साहित्य समाजको छातामुनि ल्याउन सकिन्छ ? चौथो दिन स्थानीय पर्यटकीय स्थल घुम्ने क्रममा टोक्यो महानगरको ४५ औँ तलामा बसेर सहर अवलोकन गरिरहँदा पनि साथीहरूको चिन्ता यस्तै किसिमको थियो ।

समग्रमा नेपाली साहित्यको साङ्गठनिक इतिहास लेखिँदा अनेसासको तेस्रो च्याप्टर सम्मेलनको चर्चा अवश्य हुनेछ र विश्वका कुनाकुनाबाट नेपाली साहित्यको उत्थानमा कुनै योगदान गर्न सकिन्छ कि भनेर टोक्यो आइपुग्ने साथीहरूलाई समयले अवश्य सम्झने छ ।

(विगत १५ वर्षदेखि जापानमा बसोबास गरिरहरेका पौडेल अनेसास केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् )



source https://www.onlinekhabar.com/2020/01/831146

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More