आयामेली त्रिमूर्तिर्मध्ये एक ईश्वरवल्लभलाई मैले ०३६ सालमा दीपज्योति मासिक पत्रिकाका लागि अन्तरवार्ता लिने सिलसिलामा पहिलोपल्ट उनकै तत्कालीन अफिस परिवार नियोजन संघको कार्यालयमा भेटेको हुँ । त्यतिवेला परिवार नियोजन संघको अफिस राष्ट्रिय नाचघरको उत्तरपटि्टको एटटा भवनमा थियो ।
ईश्वरवल्लभको कोठा भर्याङमाथि थियो । सोधखोज गर्दै म त्यहाँ पुगेको थिएँ । उनी पहिलो भेटमै आत्मीय लागे । चिया खुवाए र तत्कालै ‘एउटा शहरको किनारामा’ कविता सङ्ग्रह हस्ताक्षर गरेर उपहार पनि दिए । अनि साँझ राष्ट्रिय नाचघरको मूलगेटमा भेट्ने र कतै बसेर अन्तरवार्ता गर्ने सल्लाह भयो ।
साँझ उनी अफिस छुटेर आउँदा म राष्ट्रिय नाचघरको गेटमा कुरिरहेको थिएँ ।
उनले असन कमलाक्षीको एउटा मम दोकानमा लगे । मैले अन्तरवार्ता लिएँ । उनले दुईप्लेट मम र त्यतिखेर बजारमा पाइने उनको प्रिय ब्राण्ड “क्लियोपाट्रा” एक क्वार्टर पनि मगाए । अन्तरवार्ता सकिँदा मम र क्लियोपाट्राको क्वार्टर पनि सकिइसकेको थियो ।
त्यो अन्तरवार्ता दीपज्योति मासिकमा छापियो, ‘दालभातले अवकाश दिएका बेला लेख्ने कवि’ शीर्षकमा ।
त्यतिबेला भर्खरै बहुदलको पक्षमा सडक कविता क्रान्ति सम्पन्न भएको थियो र म त्यसमा संलग्न थिएँ । उनलाई सडक कविता क्रान्तिको विषयमा प्रश्न गर्दा उनले ‘म कवितालाई सडकभन्दा माथि उठाउन चाहन्छु’ भन्ने जवाफ दिएका थिए । त्यो जवाफ विवादास्पद भयो र त्यही जवाफका कारण उनी सडक कविता क्रान्ति विरोधीका रुपमा दर्ता भए ।
तर, हाम्रो सम्वन्ध भने त्यो अन्तरवार्तापछि प्रगाढ भयो । हामी नियमित भेटघाट गर्ने भयौं ।
मैले उनको ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ कविता सङ्ग्रह पढिसकेको थिएँ । उनले उपहारमा दिएको ‘एउटा शहरको किनारामा’ पनि पढिसकेको थिएँ । उनका कविता कठोर हुन्थे, बुझ्नै कठिन । तर पनि त्यो पढ्दा बेग्लैखालको मज्जा आउँथ्यो ।
दार्जीलिङमा शुरु भएको तेश्रो आयाम अर्थात् आयामेली आन्दोलनका त्रिमूर्तिमध्ये ईश्वरवल्लभ एक भए पनि उनी अब आयामेली आन्दोलनको आयु सकिएको कुरा गर्थे । बैरागी काईंला धुलाबारीमा चूपचाप बसेका थिए । दार्जीलिङबाट ईन्द्रबहादुर राई भने लीला लेखनको जोरजाम गर्दै थिए । त्यही छेकोमा ईश्वर वल्लभले काठमाडौंवाट ‘आठौं दशक’ भन्ने साहित्यिक आन्दोलन गर्ने कुरा उठाएका थिए । तर, उनी एक्लै थिए, सहयात्री थिएनन् र उनलाई पछ्याउनेहरु पनि थिएनन् । त्यसैले उनको त्यो ‘आठौं दशक’ को परिकल्पनाले सफलिभूत हुने अवसर पाएन ।
त्यहीबीच जीवन आचार्यको सम्पादन र रामेश्वर मानन्धरको प्रकाशनमा ‘आकुञ्चन’ नामक साहित्यिक पत्रिकाको शुरुवात भयो २०३६ सालमा ।
रामेश्वर मानन्धर काठमाडौंमा तत्कालीन समयमा निकै लोकप्रिय ममचा रेष्टुरेण्ट ‘ओके ममचा रेष्टुँरा’ का सञ्चालक थिए । एक दिन ईश्वरबल्लभले मलाई त्यस रेष्टुँरामा लगे । म कहिले काहीँ त्यहाँ ममचा खान जाने हुनाले परिचित रेष्टुँरा नै थियो । रामेश्वरले खाजा र ममचा अनि क्लियोपेट्राको क्वार्टरले स्वागत गरे ।
हामी त्यहाँबाट फर्कियौं । म कालिमाटीमा बस्थें, ईश्वरबल्लभ थापाथली कुरिया गाउँमा । हामी हिँड्दै त्रिपुरेश्वर आयौं । त्यतिबेला म त्रिपुरेश्वरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा काम गर्थें र त्रिपुरेश्वरको ट्रलीबस अफिसको छेउमा रहेको राम दाइको होटलमा बिहानको चिया, दिउँसो खाजा र साँझको खाना खाने गर्थें । त्यहाँ उधारो चल्थ्यो । मैले ईश्वरबल्लभलाई भनें, ‘दाइ, म त यहाँ भात खाने गर्छु, तपाईं पनि खाउँ ?’
‘हुन्छ भाइ ।’ उनले भने ।
हामीले खाना खायौं र छुट्टियौं ।
त्यो दिन शुरु भएको ओके ममचा रेष्टुँरामा उनले रामेश्वरको सौजन्यमा ममचा र रक्सी खुवाउने अनि मैले राम दाइको होटलमा भात खुवाउने क्रम झण्डै ६ महिनाभन्दा बढी चल्यो । मलाई छक्क लाग्थ्यो, घर परिवार भएका ईश्वरबल्लभले त्यसरी मसँग किन भात खाइरहे ? न मैले सोधें, न उनले बताए । यो रहस्य रहस्यकै गर्भमा रहृयो सदासदाका लागि ।
छक्क त रामेश्वर मानन्धरदेखि पो मान्नुपर्ने थियो, ‘आकुञ्चन’ पत्रिकाको संरक्षक भइदिएवापत हरेक दिन त्यसरी आतिथ्य गरेर ऋणमोचन गरिरहे उनले ।
एक दिन ईश्वरवल्लभलाई हृदयाघात भयो । उनी केही दिन वीर अस्पतालमा भर्ना हुनुपर्यो । त्यसको केही समयपछि उनलाई परिवार नियोजन संघको जागिरबाट अवकाश दिइयो । यो बडो दुःखदायी अवस्था थियो । पछि राष्ट्रिय योजना आयोगमा उनले जागिर पाए । तर, साहित्यकार लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकै केही दिनमा उनको जागिर त्यहाँबाट पनि गयो । उनी सँगसँगै जीवन आचार्यको पनि जागिर गयो । यो कुरा लोकेन्द्रवहादुर चन्दलाई सिर्जनशील साहित्य समाजले गरेको स्वागत समारोहमा जानकारी गराइएको थियो । तर, मिष्टर क्लिन उपनाम पाएका प्रधानमन्त्री चन्दले उनीहरुको जागिर थमौती गर्न सकेनन् ।
ईश्वरबल्लभले रुपरेखा मासिकमा ‘बल्लभ र नयाँ प्रतिभा’ नामक एक स्तम्भ शुरु गरेका थिए । उनले नयाँ पुस्ताका कविको परिचयसहित तिनका केही कविता सो स्तम्भमा प्रस्तुत गर्थे । त्यो युवा पुस्तामा आकर्षण र चर्चाको विषय भएको थियो । धेरै युवा पुस्ताका कविहरु त्यस स्तम्भमा देखा पर्न लालायित थिए । तर, केही कविहरुलाई प्रस्तुत गरेपछि सो स्तम्भ निरन्तर हुन सकेन ।
तर, उनी नयाँ पुस्ताका धेरै कविहरुलाई त्यसमा प्रस्तुत गर्न चाहन्थे । त्यतिबेला प्रस्तुत गर्न चाहेका कविहरुलाई दशकौंपछि दुबसु क्षेत्रीको सम्पादनमा निस्कन थालेको ‘समकालीन नेपाली साहित्य’ पत्रिकामा निरन्तरता दिइएको थियो । त्यो क्रम उनको जीवनकालमा चलिरहेको थियो ।
त्यस्तै उनले अमेरिकाबाट प्रकाशित हुने ‘विश्व परिक्रमा’ पाक्षिक अखबारमा पनि स्तम्भ लेखन गर्दै थिए । विधान आचार्य र ईश्वरबल्लभ एक ताक एउटा साप्ताहिक अखबारमा स्तम्भ लेखकका रुपमा पनि काम गर्थे ।
वास्तवमा ईश्वरबल्लभको जीवन वाल्यकालदेखि नै विसङ्गतिपूर्ण रह्यो ।
उनी सानो छँदा नै उनकी आमाले कालिमाटीस्थित निवासमा सेरिएर आत्महत्या गरेकी थिइन् । उनले आमाको रगतको फाल्सा हातले सोहोरेको दुर्दान्त कथा बताउने गर्थे । त्यही दृश्यको शब्दीकरण थियो उनको ‘मेरी आमाले आत्महत्या गरेको देश’ कविता ।
त्यो कविता ईश्वरबल्लभको जीवनसँग गाँसिएको थियो । आमाको आत्महत्यासँग गाँसिएको थियो । एउटा असहनीय पीडाको प्रकटीकरण थियो ।
ईश्वरबल्लभका पिता खाँटी ब्राह्मण पण्डित मुरलिधर भट्टराई थिए भने आमा नेवारनी थिइन् राममाया ।
साहित्य समूह बिराटनगरले २०३८ साल शनिबार आयोजना गरेको ‘विराट साहित्य सम्मेलन’ मा आयामेली आन्दोलनका तीनैजना साहित्यकार ईन्द्रवहादुर राई, वैरागी काईंला र ईश्वरवल्लभ एकसाथ उपस्थित भएका थिए । तर, ईश्वरवल्लभ किन हो कुन्नि अरु दुईसँग नजिक हुन वा आत्मीय रुपमा रहन चाहेनन् । जबकि ईन्द्रबहादुर राई र बैरागी काईंलावीच भने सहोदर दाइभाइको जस्तो सम्वन्ध थियो ।
धुलाबारी झापामा आयामेली आन्दोलनको २५ वर्ष अर्थात् रजत जयन्ती धुमधामका साथ मनाइएको थियो । बैरागी काईंला झापामै थिए । ईन्द्रबहादुर राई दार्जीलिङबाट समारोहमा सरिक हुन आए । तर, ईश्वरवल्लभ सञ्चो नभएको भन्दै त्यस कार्यक्रममा भाग लिन गएनन् । उनको आफ्नै प्रकारको स्वाभाव थियो ।
काठमाडौंमा एउटा गतिलो साहित्यिक संस्थाको जरुरी महसुस गरियो र त्यसको स्थापनाका लागि जुटे तुलसी दिवस, क्षेत्रप्रताप अधिकारी, नगेन्द्रराज शर्मा, हेम हमाल आदि । त्यसका अनेकन बैठकहरु भए । धेरैजसो तुलसी दिवसको निवास चाकुपाटमा । लामो र निकै गहन छलफल पछि ‘सिर्जनशील साहित्यिक समाज’ नामाकरण गरियो ।
वास्तवमा त्यो संस्थाको निर्माणका लागि तुलसी दिवसको रुचि प्रवल देखिन्थ्यो । पछि साहित्यिक पत्रकार संघको काउण्टरमा जन्मेको भन्ने आरोप लागे पनि त्यसमा सत्यता थिएन । विधान बनिसकेपछि क्षेत्रप्रतापको अध्यक्षमा रुचि देखियो । तर, तुलसी दिवस आफैं अध्यक्षका लागि पूर्वतयारीमा थिए ।
चुनावका लागि चुनाव आयोग बनाउनुपर्ने भयो । यो प्रजातान्त्रिक संस्था हो भन्ने देखाउन पनि चुनाव गराउन जरुरी थियो । अत कुटनीतिक हिसाबले क्षेत्रप्रतापलाई चुनाव आयोगको प्रमुख आयुक्त बनाइयो । यसले तुलसी दिवसका लागि अध्यक्षको बाटो सफा भयो । चुनावको सूचना निस्किएपछि अचानक ईश्वरवल्लभले अध्यक्षको पदमा उम्मेदारी दिए । पिपलबोटमा जम्मा हुने, तर सिर्जनशील साहित्य समाजको निर्माणका लागि भएको पूर्वकार्य थाहा नपाउने साहित्यकारहरुले ईश्वर दाइ जस्तो कर्मठ कविले यो चुनाव नजित्ने कुरै छैन भनेर उकेरा लाइदिए ।
तुलसी दिवस पूरा प्यानलका साथ पूर्ण तयार भएर चुनावमा लागेका थिए । ईश्वरवल्लभ एक्लै ठिङ्ग अध्यक्षमा उम्मेदवार बनेका थिए, उनका अघिपछि कोही थिएनन् । अतः साह्रै थोरै, नगन्य भोट पाए र पराजित भए । उनी मनमौजी थिए, तर पनि पराजित हुनु नमज्जाकै कुरा हो । विश्वभाषा क्याम्पसमा भएको सो निर्वाचनको परिणामपछि रन्थनिँदै उनी एक्लै त्यहाँबाट निस्केका थिए ।
ईश्वरबल्लभ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञका रुपमा पुगे । तर, उनी त्यहाँ पनि सन्तुष्ट हुन सकेनन् । उनले पत्रिकाको पहिलो पृष्ठमा समाचार बन्ने बोली बोलिदिए, ‘एकेडेमी चारखाल अड्डाजस्तो छ ।’
तर विडम्वना ! त्यो उनले भनेको चारखाल अड्डामा आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । प्रज्ञा प्रतिष्ठानको नयाँ कानून आयो र पुरानो कानूनअनुसार नियुक्त भएका सबै पदमुक्त भए । त्यसपछि पुनः उनले सो पदमा जाने मौका पाएनन् ।
ईश्वरबल्लभलाई चर्काे आर्थिक सङ्कटले घेरेको थियो । उनी सुगर, उच्च रक्तचापलगायतका रोगहरुले ग्रस्त थिए । आयस्ताको बाटो थिएन । एकेडेमीका उनी आजीवन सदस्य भएवापत भत्ता त पाउँथे, तर समयमा अर्थ मन्त्रालयबाट निकासा नहुँदा आजीवन सदस्यहरुले समयमा भुक्तानी पाउँदैनथे । नियमित प्राज्ञहरु र कार्यरत कर्मचारीहरुलाई दिइसकेपछि मात्र आजीवन सदस्यको भुक्तानीको पालो आउँथ्यो । त्यो प्राथमिकतामा पर्दैनथ्यो ।
उनलाई हेमराज ज्ञवालीले स्नेहपूर्वक कान्तिपुर दैनिकमा नियमित स्तम्भ लेखनको जिम्मेवारी दिएका थिए । त्यो स्तम्भ पनि बेलाबखत विवादित हुन्थ्यो । उनी हरेक अङ्कमा एकजना कविको केही कविता उद्धरण गर्थे स्तम्भको अन्तमा । उनलाई दाइ-दाइ भनेर फोन गर्नेहरु र उनलाई निसन्देह मनपर्ने कविका कविताका हरफ हुन्थे नै, कविताका हरफ कहिल्यै नपर्ने कविहरु उनको कुरा काट्थे ।
तर, उनी हरेक हप्ता केही न केही लेखिरहन्थे । त्यो नियमितताले उनलाई घर चलाउन वा औषधी खर्चका लागि भरथेक हुन्थ्यो ।
ईश्वरबल्भले मदन पुरस्कार पाए । साझा पुरस्कार पाए । मुक्ति पुरस्कार पाए । व्यथित सिन्धु पुरस्कार पाए । रत्नश्री स्वर्ण पदक पाए ।
उनले कविता लेखे । आलोचनात्मक लेखहरु लेखे । कथाहरु लेखे । उनले उपन्यास पनि शुरु गरेको बताएका थिए, एउटा अन्तरवार्तामा । त्यो उपन्यासको नाम ‘भगुवा’ राखेका थिए । तर, त्यो उपन्यास न पूरा भयो, न प्रकाशित नै भयो ।
ईश्वरबल्लभले कमै समीक्षा, समालोचना लेखे । तर, पारिजातको ‘शिरिषको फूल’ का बारेमा उनले रुपरेखामा लेखेको समीक्षा अप्रिय थियो । उनले लेखेका थिए, एउटा सानु पोयट्रीले भन्न सक्ने कुरा भनी हेर्ने उपन्यास शिरिषको फूल लेखिँदा फेसन त भयो-भयो, नजान्ने भर्खरैकी केटीले नसुहाउने गरी ‘स्लिवलेस ब्लाउज’ लाएकोमा काखीबाट चियाउने गरेका काखीका भुत्लाहरु जुगुप्सापूर्ण हुन्छ, त्यसको सुचारु ‘सेभिङ’ पनि भएन- एडिकोलनहरु लगाउन पनि बिर्सिए । सायद त्यस्तो फेसन भयो ।’
उनले त्यति मात्र होइन, पारिजातको उपन्यास पूरै असफल भएको दाबी पनि गरिदिए । उनको यो लेखनले पारिजातको अहममा चोट पुर्यायो र दुवैका वीच सम्वन्ध तिक्त भयो । कतिसम्म भने, पारिजातले मौका पाएसम्म ईश्वरवल्लभलाई शाब्दिक प्रहार गरिरहिन् आजीवन ।
कवितामा उनी कठोर देखिन्थे । उनका कविता नबुझिने कविताको कित्तामा पर्थेे । केही कविता वुझिने भए पनि ।
तर, ईश्वरबल्लभ गीतमा कोमल थिए । मायालु थिए । हृदयस्पर्शी थिए । ‘दुईटा फूल देउरालीमा..’, ‘मलाई यो जिन्दगी लाग्दछ…’, ‘हजार सपनाहरुको माया लागेर आउँछ..’ जस्ता कर्णप्रिय, सदावहार र कालजयी गीत उनकै कलमको उपहार हो ।
उनको कविताले बोल्थ्यो –
माथि आकाश हेर्नु छ
क्षितिज छुनु छ
एकजनालाई फूलको थुँगा दिनु छ ।
नजिकमा कोही छ कि छैन
यदि छ भने उसलाई बोलाउनु छ ।
तर, कसैलाई बोलाउनुअघि नै उनी आफैं अनन्त यात्रामा हिँडिदिए ।
उनले एकपल्ट मसँग भनेका थिए, ‘यदि मैले पैसा कमाएँ भने मेरी आमाले आत्महत्या गरेको त्यो कालिमाटीको घर किन्छु ।’
ईश्वरको देहावसानसँगै उनको त्यो सपना पनि सदासदाका लागि अधुरो नै रह्यो ।
गोविन्द गिरी प्रेरणाका थप लेखहरु
डिस्कोर्स : बैरागी विश्वविद्यालय
विस्मृतिमा बानिरा
घुम्ने मेचमाथि ‘अन्धो’ कवि !
ध्रुवचन्द्र गौतम : लेख्नु र सास फेर्नु उस्तै !
काँडामा फूलेका कालीप्रसाद
मोराश : एउटा धरोहरको विसर्जन
source https://www.onlinekhabar.com/2020/02/832925
0 comments:
Post a Comment