Saturday, 4 July 2020

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

२१ असार, काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषदलगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुवा सरह सम्मान गर्ने प्रचलन छ ।

गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवम् संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।



source https://www.onlinekhabar.com/2020/07/878915

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More