१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।
करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोस् : बंकरमा बम हान्ने पाइलटले प्रचण्डलाई उडाए
८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।
प्रधानमन्त्री ओलीले राप्ती पुलको उदघाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रधानमन्त्री ओली विहान ११ बजे देउखुरी पुग्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि केही ढिला हुन सक्ने सुरक्षा स्रोतले बतायो ।
source https://www.onlinekhabar.com/2021/01/926220
0 comments:
Post a Comment