दीपक बाबु…!
सामुन्ने एक ख्याउटे अनुहार देखा पर्छ । मलाई देखेर बैसाखी टेक्दै चउरबाट हुत्तिंदै आएको थियो ऊ । परदेशीले घरदेशी मान्ठा देखेजस्तो फिस्स हाँसिरहेको । असरल्ल दाह्री, नमिलेको फुस्रो कपाल, दुईचार टाँक छिनिएको झुत्रे कमिज । त्यो पनि ठाउँ-ठाउँमा च्यात्तिएर धागै देखिने गरी सिलाएको, पहेंला तर मिलेका दाँत, समग्रमा एक भग्नावशेष जिन्दगी !
‘म प्रेम ।’
अँ यसैको कमी थियो मलाई । राधालाई सम्झिन्छु, सराप्छु । प्रेम, प्रेम भन्थी, यसलाई लगेर त्यसका हातमा थमाइदिन पाए खुशी हुँदी हो ।
‘को प्रेम ?’ म चिन्दिनँ ।
‘प्रेम धामी के ! वालीनानगर, हिरापुर स्कूल । तिमोर्लाई सामाजिक पढाउँथें नि ! प्रेम सर के त…’
अहो ! कस्तो असामाजिक प्राणी । बानेश्वरतिरबाट आइरहेको हरियो गाडीमुनि हुत्याइदिने झोंक चल्छ ।
‘अनि म के गरौं त ?’ तीन महीनादेखिको भाडा तिर्न नसके पनि हुनेखाने मान्छेको जस्तो रोग छ मलाई, उच्च रक्तचापको रोग । बढिहाल्छ । बढी त हाल्यो ।
एकछिन अवाक् उभिइरहन्छ ऊ । शायद नबोले हुन्थ्यो सोच्छ कि ! अथवा उसले खोजेको मान्छे म हैन भनेर अल्मलिन्छ ? कुन्नि !
मलाई राम्रोसँग नियालेर फेरि फिस्स हाँस्छ । शायद ऊ अब ढुक्क छ उसले खोजेको मान्छे मै हुँ । ऊ सही छ । सोध्छ, ‘दाजु बौजु बेश हुनुहुन्छ ?’
‘अँ…’ म रूखो जवाफ फर्काउँछु ।
खाइलाग्दो ज्यान टिठलाग्दो देखिएछ, बलिया पाखुरा सुकेका दाउरा भैसकेछन्, कालो कोट टाँसेर हिंड्ने गहु्रंगो छाती मैलो कमिज झुण्ड्याएर हिंड्नुपर्ने गरी दुब्लाएछ । रेखैरेखा छन् अनुहारमा । हुन त यो क्रूर मान्छे हो । तर अब ती सब क्रूरताका रेखा मेटिएका छन् । थपिएका छन् दुःख, अभाव र छट्पटीका रेखाहरू ।
योसँग रिसाइराख्नुको कुनै ओज छैन । हाकिमको रिस व्यर्थै म यो निर्धोमाथि पोख्दैछु । निर्धो त के हुन्थ्यो पापी ज्यानमारा ! तर उसको हुलिया देखेर शान्त हुन्छु ।
‘जेहोस् तपाईं महान् हुनुहुन्छ । क्रान्ति सफल पार्नुभयो, राजा फाल्नुभयो । जनताको शासन ल्याउनुभयो’, यतिबेलासम्म मैले थाहा पाइसकेको छु कि ऊ अयोग्य लडाकूका रूपमा माइतीघरमा परेड खेल्न आएको हो । यसैले पनि म जतिसक्दो उसलाई होच्याउने प्रयास गर्छु ।
‘जवानीमा तातो रगत थियो । हामी गरीबका दिन फिर्लान्, भोकै मर्न नपर्ला, हुरी र वर्षा छेक्ने छानो होला’ एकछिन मौनता साधेर ऊ भन्छ, ‘राज्य जहिल्यै ठूलाबडाकै हुँदोरहेछ, हामी त लड्न आएका, तर हाम्रो क्रान्ति…’ पछिल्लो वाक्य अधुरै छाड्छ ऊ ।
ऊ खिन्न हुन्छ । मलाई उसको खिन्नताले प्रसन्नता दिन्छ । म खुशी छु उसको यो हालत देखेर । केही दया नपलाएको होइन तर उसका दुर्दिनहरू देखेर मलाई हार्दिक सन्तुष्टि मिलेको छ । मलाई उसमाथि एक बाल्टी दया पोखिदिन मन हुन्छ । जसले अझै खिन्न बनाओस् उसलाई ।
‘प्रेम दाइ, म यतै नजिकै बबरमहलमा बस्छु । तपाईंलाई सँगै लैजान हुन्थ्यो, मसँग शंकर छ । भोलि म यतै आउँछु भेट होला नि है ?’ म केही नरम बनिदिन्छु ।
‘शंकर ? कहाँ थिए त्यसका माँछोरा ? कस्तो छ उसको परिवारलाई ?’ केही मूल्यवान धातु भेटेजस्तो चम्किला बन्छन् उसका आँखा । बच्चाका जस्ता निर्दोष आँखा, राधा मसँग रिसाउँदा यस्तै आँखा बनाएर हेर्थी । म केही मुस्कुराएर हेरिदिन्छु उसलाई, ऊ आँसु झारौंला जस्तो गरेर रामशाहपथको दायाँतर्फको एक ठूलो पर्खालतिर हेर्छ ।
‘अहिले जान्छु है’, यति भनेर म बबरमहलको उकालो चढ्छु । वर ओरालोनेर पुगेर फर्की हेर्छु, मलाई पछ्याइरहेका छन् उसका आँखा । नफर्किए हुन्थ्यो । पीडादायी हुन्छ आफूले पछ्याइरहँदा जानेहरूले फर्की नहेर्दाको क्षण । त्यसले पो पोलिरहन्छ पछिसम्म । फर्किएर हेरेकोमा चुकचुक लाग्छ । जानेहरूले फर्केर नहेरिदिंदाको पीडा सम्झन्छु म । त्यति गरिदिए कम्तीमा उसको हृदय अझ बढी चिरिंदो हो । उसलाई थप दुखाउन नपाएकोमा दुःख लाग्छ । चुक पोखिए जस्तो अमिलो हुन्छ मन ।
०००
जनयुद्ध उत्सर्गमा थियो । माओवादीले प्रहरी चौकी फोडिसकेको थियो ।
पट्पट्…भुटुटुटु….ऐया….। बिहानसम्म चलेको थियो गोली, मर्नेहरूका चीत्कार । गोली उछिटि्टएर घरसम्म आउँछ कि भन्ने भय थियो । त्यो रात खाटमुनि लुकेर कटाएका थियौं हामीले ।
घरभन्दा तीन-चार किलोमिटर टाढा छ स्कूल, स्कूल नजिकै छ चौकी । हाम्रो त अड्डा बनेको थियो त्यो घाइते चौकी । मुना मिसको गणित कक्षाबाट छुट्कारा पाउन लुक्ने सुरक्षित अड्डा थियो त्यो । म र शंकर त्यहीं लुक्न जान्थ्यौं । मिसले कसैलाई खोज्न पठाए कक्षाकोठाको पछाडि, रहर बारी, सिमलको रूखमुनि यताउता खोज्न जान्थे साथीहरू । ठूलो कक्षाका दाइहरू चौकीमा आए पनि हाम्रा साथीहरू भने डरपोक थिए, चौकीको छायाँसम्म देखेर तर्सिन्थे । त्यसैले पनि कक्षाबाट भागेर सेल्टर लिनका लागि सबैभन्दा सुरक्षित अड्डा थियो त्यो ।
भित्तामा ठूल्ठूला प्वाल थिए । झ्यालभन्दा ठूला गोलाकार प्वाल । तोप लागेर ती प्वाल परेका भन्नुहुन्थ्यो दाइहरू । खै कुन्नि ! कुन हलिउड फिल्मको नाम लिंदै, ‘त्यो फिल्म हेरेको छैनस् त्यस्तै लडाइँ भा’को पुलिस र माओवादीको’- उहाँहरू भन्नुहुन्थ्यो । सानो गोलीको एक छर्रा उछिट्टिएर हाम्रो स्कूलसम्म पुगेको थियो । राष्ट्रियको ‘ष्’ को बीचमा पछिसम्म स्पष्ट छर्राको दाग देख्न सकिन्थ्योे । पुलिसका लुगाका टुक्राटाक्री, सिमेन्ट र चुनाको धूलो, फुटेका काँच आदि थिए चौकीमा । टेलिफोनको पोल छतसँगै जोडिएको थियो, त्यो चिप्लेटी खेलेर तल र्झन काम लाग्थ्यो ।
बेलाबेला जादू देखाउन केही जादूगरहरू आउँथे र चौकीको चउरमा उभिएर जादू देखाउँथे । जादूवाल आउँदा सबै जान्थे, भीडले डर भगाउँछ । त्यतिबेला आउँथे जो आउँथे । ती बाहेकका दिन हामी केही ब्ााहेक चौकीमा खेल्न कोही आउँथेनन् । मसान लाग्छ भन्थे । एकदिन शंकरले छतमा घडी भेट्यो, पहेंलो चम्किलो बुट्टेदार घडी । त्यसपछि के थियो र लागी त हाल्यो मसान । अनि कालो कुखुरो लिएर गुरुवासँग मसानको भाग छुट्टाउन खोला पुग्नु परिगो ।
अर्को दिनदेखि शंकर चौकीमा खेल्न आएन । हामीले लुकीचोर खेल्ने अड्डा बनायौं । चौकीकै कृपाले विस्तारै पोस्टकार्ड खेल्न सिक्यौं । सलमान खान अरूभन्दा बलियो थियो, उसको सिक्सप्याक बडी थियो । अमिताभभन्दा पनि शक्तिशाली थियो सलमान, उसलाई पाँच पोस्टकार्डमा मात्रै किन्न सकिन्थ्यो । धूमपछि भने सलमान खानलाई जोन अब्राहमले उछिन्यो ।
चौकी छेउछाउको जमीन चरन क्षेत्र थियो । मसुरो उखेलिसकेपछि जग्गा खाली हुन्थ्यो, हामी गाईबाख्रा लिएर चराउन जान्थ्यौं । एकदिन खेतमा बूट भेटियो । बुटमा जमेको रगतको टाटो देख्न सकिन्थ्यो, तर पनि हामी त बूटसँग खेल्यौं, रमायौं । शंकरलाई भने फेरि मसानले समातिहाल्यो । अनि त के थियो र गुरुवाकहाँ लिएर फेरि एक कालो कुखुरो भाग लगाउन परिहाल्यो ।
दोस्रो पटक शंकरलाई मसान लाग्दा अंकल घर फर्किनुभएको थियो । बम्बैमा अंकल र बुबाको डण्डा हान्ने ठाउँ नजिकै हो । बुवाले अंकललाई स्कूल भर्ना पनि गरिदिएका थिए बीचमै भागेर बम्बै गएका रे ! उहाँ हामीलाई पनि बम्बै जानुपर्ने प्रेरणा दिइराख्नुहुन्थ्यो । ‘पढेर पनि जानुपर्ने देशै हो । देश त जवानीमै देखेको बेस हो छोरा’, अंकल भन्नुहुन्थ्यो ।
मसानलाई खोलामा भाग छुट्याएर आएको साँझ गाउँमा सेना पस्यो । मुना मिस माओवादी रै’छ उनलाई सेनाले लग्यो । म खुशी भएँ, अब गणित नजानेर मुर्गा बन्न नपर्ने भो । म मुर्गा बन्दा पर उसको कोठाबाट राधाले हेरिराख्थी, पछि जिस्काउँथी । मलाई सरम लाग्थ्यो । अब राधाले जिस्काउन नपाउने भई, मैले सरम मान्नु नपर्ने भयो ।
बिहान उठेपछि थाहा पाएँ सेनाले मुना मिस मात्र होइन अंकलसहित हृवाइलेठुवा दाइ र पल्ला गाउँका पनि केहीलाई लिएर गएछ । आमा राति नै अंकलकोमा जानुभएछ । दिदीले भनेपछि दौडिंदै म पनि अंकलकोमा गएँ । अंकलको आँगनमा भीड थियो, भीड देखेर मलाई खुशी लाग्यो ।
मुख्यबाजे र गाउँका भलाद्मी ब्यारेक गएका रहेछन् । आमा काकीलाई सम्झाउँदै हुनुहुन्थ्यो- ‘किन रुनिछ हेर् यो ? मुख्यबाजे गयाकै छन्, सेनाले नराइकन लियो, कैकी थाहा छैन ? लैयौछन् ।’
नभन्दै मुख्यबाजेहरूले अंकललाई लिएर आए । रिक्सामा दुईजनाले समातिरहेका छन् अंकललाई, टाउकोमा सेतो पट्टी छ, मुख सुन्निएको छ, आँखामा नीलडाम छ । ढाडमा पनि थियो रे घाउ, बन्दूकले कुटेका रे !
शंकर झोक्कियो, ‘ठूलो भएपछि म माओवादी बन्छु सब आर्मीलाई मार्दिन्छु ।’ अंकलको नजिकै गएर दुईपटक यही कुरा दोहोर्यायो उसले । शायद अंकलले स्याबासी दिनुहुन्छ सोचेको थियो । तर अंकलले त्यो कुरालाई महत्त्व दिनुभएन ।
केही दिनको आरामपछि अंकल तंगि्रनुभयो । उहाँ फेरि बम्बै फर्किनुभयो ।
त्यसको केही दिनपछि न हो, मुना मिसको लास भेटियो खोलामा । भैंसीलाई आहाल लैजाँदा दिदीहरूले बेसनबारीमा भेटे मुना मिसको लास । सर्वाङ्ग नांगै, च्यात्तिएको कुर्था बेसनमा अल्भिmएर स्कूलको राष्ट्रिय झण्डा फर्फराए जस्तै हल्लिरहेको । मुखभरी खत, कीराले छाला टोकेर ससाना खाल्डा बनाएको । आर्मी आयो र माथि कतै जंगलमा लगेर गाडिदियो । बरू लठ्ठी पनि खान्थें, मुर्गा पनि बनिदिन्थें, राधाले जिस्काउँदा पनि सहिदिन्थें । मलाई लामो समयसम्म मुना मिस फर्किएर आइदिए हुन्थ्यो जस्तो लागिरहृयो ।
बम्बैमा दशैंको क्रेज छैन, दीपावलीचाहिं उधुम हुन्छ । सेठहरूले बोनस पनि दिन्छन्, छुट्टी पनि । गाउँ रमाइलो बन्दै गएको थियो । बम्बैबाट ठूल्ठूला झोलाहरू, रेडियो बोकेर गाउँ फर्किरहेका थिए । गाउँबाट जाँदा दुब्लाएर जाने झोलाहरू फर्किंदा पेट फुट्ला जस्तो मोटाएका हुन्थे । त्यस्ता झोलाले हामीलाई सन्तोष दिन्थ्यो । अंकल पनि आउनुभयो, बुवा चाहिं आउनुभएन । शंकर आफ्नो बुवा आएको र मेरो नआएकोमा खुच्चिङ भनिरहेको छ । बुवा नआएकाले दुखी थिएँ म ।
काग तिहारको दिन हो क्यार । प्रेम, गणेश र माधवले अंकललाई रिक्सामा बाँधेर गाउँ डुलाउँदै थिए । ‘यो साला सेनाको हुलाकी ल खा…’ गणेशले लात हानिरहेको छ, प्रेम र माधव अंकलको छाती जुत्ताले कुल्चिबसेका छन्, टाउको बाहिर लत्रिने गरी अंकललाई रिक्सामा राखिएको छ, कपाल आधा खौरिएको छ, घाँटीमा चप्पलको माला झुण्ड्याइएको छ, कालोमोसो दलिएको मुखबाट र्याल भरिएको रगत बगिरहेको छ । उहाँ बोलेको चाहिं सुनिएको छैन, आमाले एक लोटा पानी लगिदिनुभयो, शायद उहाँ पानी मागिरहनुभएको हुनुपर्छ । प्रेमले पानी पिलाउन दिएन, गणेशले आमाको हातबाट लोटा खोसेर घुटुघुटु पानी पियो र कुल्ला गरेर थुकिदियो अंकलको मुखमा ।
‘यसलाई पानी ? यसको मुखमा त मुतिदिनुपर्छ’, प्रेम जोस्सियो ।
आमाको रोइकराई व्यर्थ भयो । रिक्सामा अप्ठ्यारोसँग राखेर कतै लिएर गए अंकललाई उनीहरूले । गाउँलाई रमिता भयो । पार्वती हाँसी ‘हिहि….’, शंकरले मेरो बुबा नआएकोमा खुच्चिङ भनेको थियो । मलाई लाग्यो उसलाई खुच्चिङ भन्ने सही समय यही हो । मैले उसको मुखैनेर दुई मुठ्ठी जोडेर भनें, ‘खुच्चिङ….!’
आमा र काकीले गाउँका मर्दहरूलाई पुकारे । ज्यान बचाइदेऊ भनी काकीले मुख्य मान्नेलाई पनि पुकारिन्, मुख्यबाजेले म हेरौंला भने, गाउँलेले ज्यान प्यारो भए सुराकी गर्दै हिंड्थ्यो भनेर दुत्कारे । आमा र काकीको कुरा कसैले सुनेन ।
गाउँ गुल्जार बनिरहृयो, हरियो गोबरले आँगन लिपिदिन भैलिनीहरू आए, दियो बालेर घरका अट्टालीहरू मुस्कुराए, दिदीहरूले ओखरमा फोडिदिए भाइहरूका बाधा । फुपूले ओखर फोड्न पाइनन्, उनले उनेको मालाले कसैको गला पाएन । आमा र काकीलाई दिवाली आएन । मुख्य मान्ने, प्रहरी चौकी यताउता गर्दै बित्यो उनीहरूको दिवाली । अन्ततः थाकेर घरमै विलौना गरेर बसे काका र आमाहरू ।
घसारीहरूले अंकलको लास भेटेे जंगलमा । आमा र काकीहरू ज्ाानुभयो । गाउँ गयो । हामी पनि गयौं । आमा र काकीले रुनुबाहेक केही गर्न सकेनन्, गाउँलेले बिचरा भने, आर्मी आयो र शव लिएर गयो, हामीलाई एकछिन रमाइलो भयो ।
किरियाकर्म चलिरहेको थियो । बुवा घर नै नआई सेतो लगाएर अंकलको घरमा कसैलाई नछोई बस्नुभएको छ । काकीको होश आयो । कुरुवाहरू आँगनमा तास खेलिरहेका छन् । आमाले भन्नुभयो शंकर र काकी त छैनन् । कहाँ गए ? गाउँका सबै मान्छेहरू मिलेर खोजे, उनीहरू भेटिएनन् । बुवाले रेडियो र पत्रिकामा मान्छे हराएको सूचना पठाएर खोज्नुभयो । तर अहँ त्यसपछि कहिल्यै शंकर र काकी भेटिएनन्….।
०००
पर परसम्म कुकुर भुकिरहेको सुन्न सकिन्छ । भित्तामा घडीको टिकटिक चलिरहेको छ । रात हर्लक्कै बढेर हुर्किसकेको छ । म झलझली विगतका दिन सम्झिरहेछु । गाउँ सम्भिmरहेछु । माओवादी र सेनाको आतंक सम्भिmएर मन गह्रुंगो भएको छ । प्रेमको यो दुरवस्था देखेर भने कता कता अलिकति खुशी लागेको छ मनमा ।
असरल्ल दाह्री, नमिलेको फुस्रो कपाल, दुई चार टाँक छिनिएको झुत्रे कमिज त्यो पनि ठाउँ-ठाउँमा च्यात्तिएर धागै देखिने गरी सिलाएको, पहेंला तर मिलेका दाँत, समग्रमा एक भत्किएको मान्छे हो प्रेम । कुनै बिरानो मुलुकमा परदेशीले घरदेशी मान्ठा देखे जस्तो फिस्स हाँसिरहेको । हिंस्रक छाप छाडेको प्रेमको निरीह हुलिया आँखामा झल्झली नाचिरहेको छ । कति मुश्किलसँग हाँसेको, कत्रो अपेक्षासहित मलाई देख्नेबित्तिकै हुत्तिंदै आएको । समयले चपाएर थुकेको जिन्दगी । अहो ! मलाई पनि मित्र ठान्नुपर्ने, यो कस्तो दुर्दिन ?
तर के बितेका कुरा सम्झिएर उसमाथि म यतिसम्म अमानवीय बन्न हुन्छ ? जे थियो त्यो मेरो विगत थियो, जे छ त्यो प्रेमको वर्तमान हो । भूत स्वप्न हो, वर्तमान सत्य हो । आ…होस् यो त भगवानले दिएको सजाय हो उसलाई । भगवान ? भगवानप्रति वितृष्णा जाग्छ । भित्ताको भगवानको तस्वीर च्यातेर फेरि खाटमै ल्याएर फ्याँक्छु आफूलाई । घडीले १२ बजाउन लागेको छ, निद्रादेवी रिसाएकी छिन् । कोल्टे पर्छु । भुइँमा एक हल्लिरहेको मानवाकृत छायाँ देखिन्छ । कंकाल जस्तो देखिने छायाँको गर्धनमाथि विस्तारै एउटा सानो टाउको बन्छ, टाउकोले एउटा अनुहार बनाउँछ, त्यो अनुहार हो राधाको । म झस्किएर उठ्छु । भित्तामा टाँगिएको एउटा कोट छ, जुन राधाले मलाई उपहार दिएकी हो । त्यसैको छायाँ भुइँमा झरेको रहेछ । राधा गएपछि भने मैले यसलाई लगाएको छैन ।
म कोट झिकेर शरीरमा झुण्ड्याउँछु र ढोका बन्द गरेर निस्किन्छु डेराबाट…!
source https://www.onlinekhabar.com/2021/08/1005309
0 comments:
Post a Comment