अनार स्वास्थ्य र स्वाद दुवै दृष्टिबाट महत्वपूर्ण फलफूल हो । मानिसको रोजाइमा सजिलै पर्ने अनारमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन-बी र भिटामिन-सी पाइन्छ । इरानमा उत्पत्ति भएको मानिएको अनार नेपालमा सबै क्षेत्रमा पाइन्छ । नेपालमै उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि अनार खेतीलाई व्यवस्थित गर्न नसक्दा ठूलो आयात हुने फलफूलमा यो पनि पर्दछ ।
तर पछिल्ला वर्षहरूमा सानो सङ्ख्या नै भए पनि केही किसान अनार खेतीतिर आकर्षित हुँदै गएका छन् । तिनैमध्ये एक हुन् सल्यानका पुरभान पुन । आफ्नै पौरखले उद्यमी बनेका काकाको अनार यात्रा रोचक मात्र छैन, कृषिमै केही गरौं भन्नेहरूको लागि प्रेरणादायी पनि छ । यो लेख उनीसँगको कुराकानीमा आधारित छ ।
सल्यानको कपुरकोट गाउँपालिकाको केन्द्र र कपुरकोट बजार हुँदै अलि तल सोलावाङबाट ८ किमी भित्र गएपछि रिम गाउँ पुगिन्छ । यही गाउँमा छ अनार काकाको घर । घरमाथिको सडक छाडेर बारीमा पुग्दा नै अनार काकाको कृषि प्रेम देखिन्छ ।
आँगनमा पुगेर हेर्दा लटरम्म फलेको अनार, अंगुर, सुन्तला, कागती लगायत फलफूल देखिन्छन् । उनले यीसँगै विभिन्न जडीबुटी र अन्य बालीहरू पनि लगाएका छन् । घरमै जोडिएको गोठमा भैंसी र बाख्राहरू छन् । हामी पुग्दा साँझ पर्दैथियो तर उनी भने बारीमा व्यस्त थिए । हामीलाई देखेर उनी हाँस्दै हाँस्दै आएर नमस्कार गरे र भने– ‘रहर त धेरै छ तर गर्न सकिएको छैन ।’ यो बारीतिर हेरिरहेका हाम्रो आँखा देखेर उनले जिज्ञासा मेटाएका रहेछन् ।
उमेरका हिसाबले ६ दशक छुन लागेका पुरभान पुन २०५४ सालमा गाविस अध्यक्ष भए । स्थानीय विकास तथा सामाजिक काम गरे । उ बेलामा उनको मनमा कृषिकर्ममा केही गर्नुपर्छ भन्ने थिएन तर सहज अवस्थामा राजनीति, समाजसेवा, सामान्य खेतीपाती र जिन्दगी चल्दै थियो ।
देशमा द्वन्द्व बढेसँगै उनको गाउँ पनि अछुतो रहेन । यसबाट उनी पनि जोगिएनन् । उनी पनि आफ्नो थातथलो रिम छाडेर हिंड्नु पर्यो । करीब ८ वर्ष गाउँबाट पर रहेर गुजारा चलाएको बेला भने उनलाई गाउँ फर्की कृषिमै केही नयाँ गर्ने रहर पलाउन थाल्यो । के गर्न सकिन्छ ? के फलाउन सकिन्छ ? भन्ने हुटहुटी चलिरहँदा उनलाई एकदिन सधैं बाहिरबाट आउने अनारको खेती गरे कसो होला भन्ने विचार आयो ।
अनार नै किन त ? उनको जवाफ छ– ‘धनी मानिस पनि अनार खाने, गरीबलाई पनि डाक्टरले अनारै खाउ भन्ने, तर अनारको मूल्य पनि धेरै हुने । अनि मैले सोचें किन अनार खेती नगर्ने ? नेपालको माटोमा पक्कै अनार फल्ला ।’
यसरी अनार खेती गरेर बेच्ने सपना उनको मनमा आएपछि चलिरहेको व्यवसाय २०६६ सालमा छाडेर लागे आफ्नै गाउँ रिम जहाँ उनले २०६७ सालदेखि अनार खेती शुरू गरे ।
उनी गाउँ त आए तर सोचे जस्तो अनार खेती सजिलो थिएन । न कतै सहुलियत, न तालिम, न हौसला, न प्रोत्साहन । अझ कतिले यस्तो खेती गरेर पनि पार लाग्छ भन्दै उनलाई उडाए । मनमा अठोट भने थियो तर सोचे जस्तै अनार फल्छ कि फल्दैन, द्विविधा नै थियो ।
त्यसैले शुरुमा उनले अनार, कागती, सुन्तला लगायतका विभिन्न १०-१२ प्रकारका फलफूल लगाएर सबैको प्रयोग गरे । त्यतिबेला हरेक फलफूलको ८-९ वटा बिरुवा लगाएर परीक्षण गर्न शुरु गरे । उनको बारीमा अझै पनि विभिन्न नयाँ पुराना फलफूल प्रयोगका लागि रोपिएका छन् ।
उनी भन्छन्– ‘किसान भनेको आफैंमा खोजी तथा अनुसन्धान गरिरहने हुनुपर्छ । आफ्नो माटोमा के हुन्छ, के हुँदैन उसैले सजिलै पत्ता लगाउन सक्छ ।’ चलिरहेको व्यवसाय छाडेर आएका उनी र उनको परिवारसँग माटोमै भविष्य खोज्नुको अर्को विकल्प पनि थिएन ।
नेपालमै व्यावसायिक अनार खेती गरेको र फलेको कतै नदेखेका उनले बिरुवा भने दाङ, नेपालगञ्जबाट ल्याएर लगाए र केही स्थानीय जातको अनारको हाँगा काटेर सारे । शुरुका दुई वर्षबाट फल प्राप्त गर्न थालेका उनले ५-७ वर्षबाट राम्रो आम्दानी सहित सफलता प्राप्त गरे । यसैबीचमा उनको अनार खेती र उत्पादनको यति चर्चा भयो कि उनलाई मानिसहरूले पुरभानबाट अनार काका भनेर चिन्न थाले ।
अनार काका गाउँ फर्किएपछि खेतीपातीमा मात्र लागेनन् । पहिलै राजनीतिककर्मी भएको हुँदा समाजसेवामा पनि उनको रुचि र चासो छँदै थियो । ‘पानी, बत्ती, सडक, शिक्षा, स्वास्थ्य लगायत स्थानीय विकासका सबै काममा म पुगेको छु’, उनी भन्छन् ।
अनार खेती सँगसँगै अनार काकाले यसबीचमा एउटा विद्यालयको नेतृत्व सम्हाले । २०६४ साल मंसीरबाट चन्दा संकलन गरेर १५ लाख ६० हजार ८८२ उठाए । २०६५ सालमा उच्च मावि स्वीकृत गराउन सफल भए । अहिले उनले विद्यालय छाडेको धेरै भयो तर त्यही विद्यालयले स्थानीय समुदायमै कृषि प्राविधिक पनि उत्पादन गरेको कुराले उनको अनुहारमा खुशीको सूर्य उदाएको प्रष्टै देख्न सकिन्छ । आफ्नै छोरालाई पनि कृषि प्राविधिक बन्न उत्प्रेरित गरेका उनी भन्छन्, ‘अबको कृषि युवाहरूले हाँक्ने हो । यसमा प्रशस्तै सम्भावना छ ।’
राम्रो फल हुन थालेपछि शुरुमा अनार बेच्न अनार काका दाङसम्म झर्नुपर्यो । तर, त्यसपछि अनार बेच्न कपुरकोट कटेर उनलाई तल जानै परेको छैन । घरैबाट अनार, कागती, सुन्तला लगायत उत्पादन बेचिरहेका छन् । उनले गत वर्ष अनार प्रतिकेजी रु.१५० र अन्य फलफूल चलनचल्तीकै मूल्यमा बिक्री गरे ।
गत वर्ष मात्र उनले अनार र अन्य फलफूलबाट डेढ-दुई लाख, अदुवाबाट एक लाख, लसुनबाट तीस-चालीस हजार, बाख्राबाट चालीस हजार तथा कागती, अनार, सुन्तलाको बिरुवा बेचेर लगभग ६ लाख भन्दा धेरै आम्दानी गरे ।
अहिले उनको बारीमा करीब ६ प्रकारका २५० वटा वयस्क अनारका बोटहरू छन् । कागतीका ४० र सुन्तलाका २० बोट छन् । अन्य धेरै फलफूल पनि छन् भने ११ रोपनी जग्गामा तेजपात, रिट्ठो लगायतका जडीबुटी पनि हुर्किंदैछन् । यो साल अनार काकाको तेजपत्ता पनि बेच्ने योजना रहेको छ ।
अहिले अनार काका अनार खेतीको धेरै अनुभवका धनी भएका छन् । उनी भन्छन्, ‘माटोमा काम गर्न सजिलो छैन । अनारकै कुरा गर्दा पनि रोग लाग्छ, काट्नु, छाँट्नुपर्छ । हेरिरहनुपर्छ । बाँदर, दुम्सी लगायतका जङ्गली जनावरले पनि दुःख दिन्छन् । बल्ल बल्ल फल्छ । फेरि धेरै वर्षाको कारण अनार धेरै फुटेर नाश हुन्छ । काम गर्ने मानिस चाहिन्छ, मल औषधि मिलाएर लगाउनुपर्छ ।’
उनी अनार खेतीमा धेरै प्राङ्गारिक मल प्रयोग गर्छन् भने अलिअलि युरिया, डीएपी जस्ता रासायनिक मल पनि प्रयोग गर्छन् । अनार काकाले बुझेका छन् कि उत्पादन गर्न सजिलो भएतापनि रासायनिक मल र विषादि प्रयोग गर्दा लागत धेरै हुनुका साथै मानवीय स्वास्थ्य र माटो पनि बिग्रिन्छ । त्यसैले उनी अहिले प्राङ्गारिक रूपमै खेतीपाती अगाडि बढाउने सोचमा छन् ।
अनार काका एकसाथ गुनासो र प्रश्न मिसाएर भन्छन्, ‘यस्तो खेती गर्न सिकाउने प्राविधिक र प्रविधि भए त किन हाल्थें र रसायन र विषादि ?’ फेरिएको राजनीतिसँगै नफेरिएको खेती किसानीप्रति उनका आफ्नै गुनासा पनि छन् । यो भन्न उनलाई धेरै रमाइलो भने लाग्दैन । तर एउटा उदाहरण सहित काकाले आफ्नो तीतो पोखे ।
‘कुखुराले गाउँ नै थर्काउने गरी क्यारक्यार कुरकुर गर्छ र एउटा फूल पार्छ तर माछा चुपचाप बस्छ र सयौं फूल पार्छ । हाम्रा सरकारहरूको कृषि नीति, कार्यक्रम र अनुदान हल्लाखल्ला गर्ने तर एउटा अण्डा दिने कुखुराको जस्तै स्वर मात्र ठूलो छ ।’
उनी थप्छन्, ‘नेताहरूले कृषिमा काम गरेका छैनन् । वास्तविक किसानले सरकारको तर्फबाट सहयोग, अनुदान केही पाउँदैनन् । यस्तो सुविधा तिनैले पाउँछन् जसले कागजको खेती र नेताको चाकरी गर्छन् ।’
तपाईं नेता भए के गर्नुहुन्थ्यो ? भन्ने प्रश्नमा काकाले भने, ‘मेरा धेरै योजना छन् तर गोजीमा सत्ता नहुनेको हातमा योजना भएर के गर्नु ?’
विना कुनै सहयोग, विना कुनै प्रोत्साहन, विना तालिम आफ्नै रहर, स्व–खोज र प्रयत्नबाट पुरभान पुन अनार काका भए । पुरभानलाई अनार काका हुन उनको भन्दा धेरै भूमिका अनार काकीको थियो ।
माटो, माटोमा बिरुवा, बिरुवामा कर्म देख्ने अनार काकाको जीवन त्यतिबेला अन्धकारमा बदलियो, जब जीवनभर उनलाई साथ दिंदै आएकी उनकी श्रीमतीलाई कोभिडले लग्यो । अनार काकीले कोभिडकै कारण वैशाख २९ गते यो धर्ती छाडिन् । अनार काकाको लागि त्यो कालो दिन थियो ।
जीवनको लामो यात्रा एकसाथ हिंडेकी अनार काकी आज साथै छैनन् । ‘उसले रोपेका बिरुवा जति हुर्किंदै छन्, मेरो मन उति रुन्छ तर जिन्दगी त फेरि पनि धान्नु नै छ ।’
अनार काका दुःखद अनुभव सुनाएर गोठतिर लागे । हामी पनि काकीलाई हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै भारी मन लिएर बिदा भयौं ।
source https://www.onlinekhabar.com/2021/09/1006788
0 comments:
Post a Comment