Thursday, 10 March 2022

मेरो अमूल्य भोटले सधैं उल्टो काम मात्र गर्छ किन ?

मेरो पनि मतदाता नामावलीमा नाम समावेश भयो होला । कुन पार्टीलाई भोट दिने भनी दोधारमा छु । मेरो आजसम्मको यस्तो दोधारेपनले चुनाव भएपछि विकासको सपना पूरा हुनसकिरहेको छैन । हरेक निर्वाचनपछि देश अझै पाँच वर्ष पछाडि धकेलिएको महसुस हुन्छ ।

हामी जनताको आवश्यकता पूरा गर्न योग्य उम्मेदवार छान्न कठिन हुन्छ । मूलतः अहिलेसम्म सबै उस्तै लाग्छन् । काम एकैनाशको छ । देशलाई समृद्धिको बाटो हिंडाउन राम्रो नेता चाहिन्छ । यसको लागि तपाईं हाम्रो भोट सधैं निर्णायक हुन्छ ।

तर, मैले दिएको भोटले सधैं उल्टो काम गर्छ, किन ? माननीयहरूको काम गर्ने ढङ्ग हेर्दा कसैको पनि राम्रो लाग्दैन । प्रश्न उठ्छ– अयोग्य मानिस निर्वाचित हुनुमा हाम्रो छनोट गर्ने क्षमता पनि त जिम्मेवार छ । हामी कतै असल नेता चुन्न योग्य मतदाता होइनौं कि ?

मासु–भात खुवाउने, गाडीमा पेट्रोल हालिदिने, चिल्लाचाप्ला कुरा गर्नेकै पछाडि हामी दौडिरहेका छौं । सामाजिक कार्यभन्दा व्यक्तिगत काममा बढी प्राथमिकता दिनेलाई मत दिने हाम्रै अभ्यास पो त्रुटिपूर्ण छ कि ?

चुनावमा उठ्ने उम्मेदवारहरूले पालैसँग जस्तो जितिरहेका छन् तर अपेक्षाकृत परिवर्तन हुनसकिरहेको छैन । मतदाताले उम्मेदवार फेरेर जाँचेका पनि छन् । तर जनताको दिनचर्यामा प्रगति छैन ।

अघिल्लो चुनाव मतदानपछि लगाइएको मसी भर्खरै मेटिएको छ । चुनाव नजिकिंदा मन दोधारे बनेको छ । कतै मतदान नै नगर्ने कि भन्ने पनि लाग्छ । होइन, मतदान दिनैपर्छ भन्दा दिन उपयुक्त पात्र नै भेटिंदैनन् । म दोधारमा छु, अब कसलाई भोट दिऊँ ?

मेरा यी मत कांग्रेसका लागि खसे । सत्ता कांग्रेसलाई दिएँ म उस्तै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सत्ता दिएँ म उस्तै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई सत्ता दिएँ फेरि म उस्तै ।

मेरो हालत उस्तै । माननीयज्यूहरू हाम्रो आँगनमा पहिलो चोटि भिख जस्तै गरी भोट माग्न आउँदा हजुरआमाका गाला पुक्क र पुष्ट थिए । अनि म तोते बालक थिएँ । अहिले हजुरआमाका गालामा चाउरी परेर छाला झुन्डिएको छ । हजुरबुवाको स्वर्गमा बास भयो । म जवान भएँ तर माननीयज्यूको भोट माग्ने तरिका उस्तै छ । हजुरआमाको भोट दिने तरिका उस्तै छ । माननीयज्यूलाई जिताउने तरिका उस्तै छ ।

तल्लाघरे काका विदेशमा हुनुहुन्थ्यो । उहाँले भोट दिन पाउनुभएन । अहिले काकाको छोरा विदेशमा छ उसले पनि भोट दिन पाउँदैन तर देश धान्न रेमिट्यान्स पठाउँछ । काकाको छोरा जस्तै हजारौं मानिसका लाखौं छोराछारी विदेश पलायन भइसकेका छन् । एकातिर विदेश पलायन हुनेको सङ्ख्या झन् बेसी हुन थाल्यो । अर्कोतिर माननीयज्यूको रेमिट्यान्सले देश धान्ने सपना साकार हुँदै गयो ।

माननीयज्यू पहिलो चोटि भोट माग्न आउँदा हामी चप्पल विना खाली खुट्टा हिंड्थ्यौं । सत्तावाला रातो कार्पेट बिछ्याएर हिंड्थे । माननीयको कार्पेटको ब्राण्ड फेरिंदै गयो । मेरा खुट्टा हिंड्दा हिंड्दै झन् बलिया र गठिला हुन थाले । अब त खाली खुट्टा हिंड्ने बानी भयो । काँडा पनि बिज्दैन ।

उतिबेला गाउँमा सुत्केरी सेवा नभएका कारण हाम्रा कतिपय आमाहरूले ज्यानसँगै पहिलो सन्तान गुमाउनुपरेको थियो रे ! अहिले पनि सुत्केरीलाई अस्पताल लैजान एम्बुलेन्स नभएका कारण कैयौं भाउजूहरूले बाटोमै ज्यान गुमाएका समाचार सुनिन्छन् तर दुःख लाग्छ माननीयज्यूहरूको निवासकै अगाडि सयौं गाडी खिया लागेर जीर्ण अवस्थामा छन् ।

हजुरबुवा र हजुरआमा बालबच्चाहरूलाई लिएर नदी किनारामा बालुवा चाल्न जानुहुन्थ्यो रे ! पल्लो गाउँका सबै बालबालिका गोठालोतिर जान्थे । घरका ठूलाबडा व्यक्तिहरू ज्याला मजदुरीमा व्यस्त हुन्थे । माननीयज्यूहरू चुनावी गीत गाउँदै बाजा बजाउँदै तिनीहरूको कार्यस्थलमा पुग्थे । अहिले पनि देशका कुना–कन्दरादेखि लिएर काठमाडौं उपत्यकासम्मका कतिपय ठाउँमा बालबालिकादेखि वृद्धवृद्धासम्म गरिबीको रेखामुनि छन् । उनीहरू सडक किनारमा गिट्टी कुट्ने, नदी किनारातिर बालुवा चाल्ने गरिरहेका छन् ।

म पार्टी हेर्दिनँ । व्यक्तित्व हेर्छु । उसको क्षमता हेर्छु । पार्टी भनेको जाति होइन भनेर पुष्टि गर्छु । हाम्रो एक एक भोटमा शक्ति छ भनेर देखाइदिन्छु । यसपालि म भोट हाल्न दोधार गर्दिनँ ।

विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा बालबालिकाको श्रमशोषण भइराखेका समाचार पढ्दा र सुन्दा लाग्छ– देश र जनताको हालत उस्तै छ । प्रमुख दल मानिएका दलका नेताहरू हामी भएको ठाउँमा आएर सोही तरिका अपनाई भोट माग्दैछन् । हामी पनि अब भोट कसलाई दिने भनी निकै दोधारमा छौं ।

हजुरबुवाको पालामा घ्यू बेचेर भारतबाट डोकोमा लत्ताकपडा अनि नुन बोकेर गुजारा चलाइन्थ्यो रे ! हाम्रो पालामा नुन डोकोमा बोक्नुको समस्या धेरैजसो ठाउँमा छैन तर हामी पनि भारतको नुन विना तरकारी खान सक्दैनौं । वैदेशिक रोजगारी विना हाम्रो चुलो बल्न असम्भव छ ।

जब म सानो थिएँ, मेरी गाउँकी एउटी फुपूलाई दलालहरूले विदेशमा लगेर बेचेका थिए रे ! उनकै दुईजना बहिनीहरूलाई बलात्कार गरी घाँटी निमोठी बीभत्स हत्या भएको थियो । अहिले जवान हुँदा म आफैं सुरक्षित छैन । गाउँका कतिपय बहिनीहरू बलात्कारको सिकार भइसकेका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड आक्रमण भइरहेको छ । माननीयका छोरीहरू पूर्ण सुरक्षाका साथ विदेशमा रजाइँ गर्दैछन् । हाम्रो नेपालको कानुन यस्ता घटनालाई न्यूनीकरण गर्नमा पहिले जस्तै अहिले पनि कमजोर छ । मेरो बाबालाई शिक्षा लिने मन थियो तर उतिबेला गाउँमा विद्यालय थिएन । अहिले गाउँमा विद्यालय त छ तर गाउँँका भाइबहिनीलाई कापी, कलम किन्न आर्थिक स्थितिले भ्याउँदैन भने कतिपय गाउँलेलाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना छैन ।

गाउँका कतिपय दाइ–दिदीहरूले जेनतेन शिक्षा आर्जन गरे तर रोजगारी छैन । माननीयहरू बदलिए तर आम मानिसको अवस्था बदलिएन । शिक्षा उस्तै, स्वास्थ्यमा पहुँच उस्तै । रोग र भोकको अवस्था उस्तै । धनीहरूले अतिरिक्त लुट मच्चाइरहेकै छन् । लुटिनेहरूसँग अब हाड–छाला बाहेक केही बाँकी छैन ।

राष्ट्रसेवक भनिने कर्मचारीलाई पनि असार मसान्तको चटारो उस्तै छ । सेवाभन्दा लुट बढी छ । कर तिर्न पनि लाइन बस्नुपर्ने जनताको हालत उस्तै छ । शिक्षक राजनीति गरिरहेका छन् । डाक्टर क्लिनिकतिर छन् । नेताहरू ठेकेदारी गरिरहेका छन् ।

बाढीपीडितदेखि भूकम्पपीडितसम्मलाई आउने अनुदानमा पनि लुटतन्त्र मच्चाइन्छ ।

भोट माग्ने बेला माननीयज्यूको घर पनि मेरो घर जस्तै झुपडी थियो । उहाँको छोरी मसँगै सामुदायिक विद्यालयमा पढ्ने गर्थिन् । एउटै खाजा बाँडेर खान्थ्यौं । अहिले उहाँको काठमाडौंमा ठूलै महल छ । मेरो झुपडी झन् चुहिने भएर घरमा बस्न गाह्रो छ । उहाँकी छोरी अमेरिकामा रमाउँदैछिन् । म गाई गोठालोतिर रमाउँदैछु ।

केही वर्ष अगाडि चिल्ला र चौडा सडक र बाटाहरू बनाइदिने सपना देखाउनुभयो । घरघरमा पानीको धारा, बिजुली बत्ती, भोको पेट कतै सुन्न समेत नपाइने, गरिबीको व्यवस्थापान हुने, नेपाललाई स्विट्जरल्यान्ड बनाउने, नेपाली युवा विदेश धाउनुनपर्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने जस्ता चकाचौध सपना देखाइयो ।

हाम्रो देश उर्वर भएका कारण खाद्यान्नको कहिल्यै अभाव नहुने भाषण गर्नुभयो । तर विडम्बना चिल्ला र चौडा हुनुपर्ने सडकहरूमा चक्काजाम र बन्दको लहर छ ।

सबै दलको घोषणापत्र गज्जब आउँछ । निबन्ध प्रतियोगिताका सहभागी जस्तै । काल्पनिक कुरा गरेर जनता भुलाइन्छ । भाषण त्यस्तै लाग्छन् । तर काम केही पनि छैन । नारा उत्कृष्ट, घोषणापत्र उत्कृष्ट, संविधान थप उत्कृष्ट । तर नतिजा अत्यासलाग्दो ।

अब यी अक्षम नेताहरूलाई मत नहाल्ने निर्णय गरेको छु । दोधारे हुन्न । म पार्टी हेर्दिनँ । व्यक्तित्व हेर्छु । उसको क्षमता हेर्छु । पार्टी भनेको जाति होइन भनेर पुष्टि गर्छु । हाम्रो एक एक भोटमा शक्ति छ भनेर देखाइदिन्छु । यसपालि म भोट हाल्न दोधार गर्दिनँ । निर्मम भएर निर्णय गर्छु । राम्रालाई सघाउँछु । के थाहा, तपाईं हामी सबैले यसै गर्न सक्यौं भने नागरिकको मतले पनि देश बदल्न सक्छ कि ?



source https://www.onlinekhabar.com/2022/03/1091960

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More