बाआमालाई आश्रममा राख्छौ, घरमा कुकुर पाल्छौं
अँध्यारो तिम्रो मनमा छ, दियो मन्दिरमा बाल्छौं ।
कसैले रचेको यी पंक्ती वर्तमान समाजको यर्थाथ हो । धेरै छोराछोरीका निम्ति आफ्ना आमाबुवा ‘बोझ’ भएको छ । त्यही बोझ बिसाउन उनीहरु आमाबुवालाई बृद्धाश्रममा छाड्ने गर्छन् । हिजो छोराछोरी जुन आमाबुवा साथ खोज्थे, आज तिनै आमाबुवा निकटता पनि रुचाउँदैनन् । हिजो जुन आमाबुवाको छातीमा लपेटिएर बस्दा सुरक्षित र आनन्दित महसुष गर्थे, आज तिनै आमाबुवासँग बस्दा असहज मान्छन् । छोराछोरीले आमाबुवासँग दुरी बढाउँदैछन् ।
भनिन्छ, आमाबुवाले छोराछोरीको भविष्यका निम्ती आफ्नो वर्तमान विर्सन्छन् । आफ्नो इच्छा र आंकक्षा थाँती राखेर छोराछोरीकै खातिर कष्ट खेप्छन् । आफ्नो पीडा लुकाएर छोराछोरीको खुसी खोज्छन् । आमाबुवा यस्ता व्यक्ति हुन्, जो छोराछोरीलाई आफुभन्दा सफल, सुखी र समृद्ध भएको देख्न चाहन्छन् ।
छोराछोरीलाई आमाले संसार देखाउँछन् । बुवाले संसार चिनाउँछन् । तर, त्यही संसारमा बाँच्न सक्ने भइसकेपछि छोराछोरीले आमाबुवालाई भुल्छन् ।
हिजो आमाबुवाले छोराछोरी कसरी हुर्काएका थिए ? आफु भोको पेट बसेर छोराछोरीलाई भरपेट ख्वाएका थिए होलान् । आफ्नो स्वाद भुलेर छोराछोरीको स्वादमा रमाएका थिए होलान् । आफ्नो व्यथा भुलेर छोराछोरीको स्वास्थ्यमा ख्याल गरेका थिए होलान् ।
आमाबुवाले छोराछोरीकै आँखाबाट आफ्नो भविष्य चिहाउँछन् । छोराछोरी सवल र सक्षम भएमा आफुले पनि सुख प्राप्त गर्न सकिन्छ भनेर सोच्छन् । त्यसैले छोराछोरी सवल र सक्षम हुन्छन्, आमाबुवा उत्तिनै सन्तुष्ट हुन्छन् । तर जति-जति छोराछोरी हुर्कदै जान्छन्, उनीहरु क्रमस आफुहरुसँग टाडिदै गएको आमाबुवाले अनुभूत गर्न थाल्छन् ।
छोराछोरी जति हुर्कदै, बढ्दै, पढ्दै र जान्नेबुझ्ने हुँदै जान्छन्, उनीहरुले आफ्ना आमाबुवालाई कमजोर आँक्न थाल्छन् । आफ्नो आमाबुवा आफुभन्दा पनि नजान्ने, नबुझ्ने रहेछन् भन्ने लाग्न थाल्छ । जबकी सानो छँदा उनीहरु सोच्थे, संसारमा मेरा आमाबुवा सबैभन्दा जान्ने र बुझ्ने हुन् । मेरो आमाबुवा नै सबैभन्दा दयालु छन् । मेरा आमाबुवा सबैभन्दा राम्रा छन् । तर, छोराछोरी हुर्कदै गएपछि उनीहरुको धारणा पनि फेरिदै जान्छ । आफ्नै आमाबुवा उनीहरुलाई कमजोर र निरिह लाग्न थाल्छ ।
हुर्केबढेका छोराछोरीले आमाबुवाप्रतिको प्रेम, समर्पण र श्रद्धा भुल्न थाल्छन् । उनीहरु जतिबेला पनि हतारमा हुन्छन् । आफ्नै दुनियामा मग्न हुन्छन् । उनीहरुलाई आमाबुवासँग बोल्ने फुर्सद हुँदैन ।
अहिले आमाबुवालाई पनि विरानो ठान्न थालिएको छ । बेलाबखत भेट्ने र औपचारिकता पुरा गर्न थालिएको छ । आमाबुवासँगको सम्बन्ध कृतिम र देखावटी हुँदैछ ।
हाम्रो संस्कार अनुसार आमाबुवा ईश्वरका प्रतिरुप हुन् । आमाबुवालाई सुखी र खुसी तुल्याउनु नै सन्तानको पहिलो दायित्व हो । आमाबुवाले हिजो जसरी निस्वार्थ भावले आफ्नो लालनपालन गरेका थिए, तिनै आमाबुवा बुढाबुढी भएपछि स्यहारसुसार गर्नुपर्छ । आमाबुवालाई आदर, सम्मान र श्रद्धा दिनुपर्छ ।
आमाबुवा बुढाबुढी हुँदै गएपछि उनीहरुको शक्ति, जाँगर सेलाउँदै जान्छ । काम वा श्रम गर्न असमर्थ हुन्छन् । यहिबेला रोगले पनि च्याप्न थाल्छ । औषधी र उपचार गर्नुपर्ने हुन्छ । बुढ्यौलीमा मान्छेका रहर, इच्छाहरु पनि रहँदैन । मन लागेको गर्न सक्दैनन्, मिठो लागेको खान सक्दैनन्, जान चाहेको ठाउँमा जान सक्दैनन् । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो सन्तानको दरिलो र प्रेममय साथ चाहिन्छ ।
source https://www.onlinekhabar.com/2019/08/785009
0 comments:
Post a Comment