काठमाडौं । नम्बर एक टेलिभिजन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-२ को टप १२ का लागि तीन जना प्रतिभा छनौट भएका छन् ।
शुक्रबार साँझ हिमालय टेलिभिजनबाट प्रसारण भएको नकआउट राउण्डको पहिलो एपिसोडमा टीम दीपका प्रतिभाहरुले प्रतिस्पर्धा गरेका थिए ।
जसमध्ये विकाश लिम्बु, रजनी राई र सञ्जय महतले टप १२ का लागि स्थान पक्का गरेका छन् ।
शुक्रबारको एपिसोडमा टीम दीपका ९ जना प्रतिस्पर्धीले आफ्ना प्रस्तुती दिएका थिए । टप १२ मा स्थान सुरक्षित गरेका तीन जना प्रतिभाहरुले अब दर्शकको भोटमार्फत् आफ्नो आगामी यात्रा तय गर्नेछन् ।
निर्मला, रजनी र सुमन बाहिरिए
नकआउटको पहिलो एपिसोडमा पहिलो प्रस्तुतीमा विकाश लिम्बु, पृथवेन्द्र र अंकितले गाएका थिए । जसमध्ये विकाशले अन्य दुईलाई उछिन्दै लाइभ सोका लागि स्थान बनाए । यस्तै, दोस्रो प्रस्तुतीमा तीन जना चेलीहरु रजनी राई, सुमन परियार र निर्मला घिसिङले प्रतिस्पर्धा गरे ।
उनीहरुमध्ये सुमन र निर्मलाको भ्वाइसको यात्रा यहीँबाट टुंगिएको छ । जनवादी गायिका निर्मलाले भ्वाइसमा सहभागीता जनाएसँगै निकै भाइरल बनेकी थिइन् ।
तेस्रो प्रस्तुतीमा सञ्जय, कविराज र डम्बरले प्रतिस्पर्धा गरेका थिए । ब्याटल राउण्डमा टीम राजुबाट चोरेर आफ्नो टीममा सुरक्षित गरेका सञ्जयलाई नै दीपले लाइभ सोका लागि छनौट गरेका छन् ।
योसँगै टीम दीपका सबै प्रतिभाहरुले नकआउटको सामना गरेका छन् । आगामी तीन एपिसोडमा टीम प्रमोद, टीम राजु र टीम आस्थाका तीन-तीन जना प्रतिभा नकआउट राउण्डबाट छनौट भएर लाइभ सोमा प्रस्तुती दिनेछन् ।
लाइभ सोमा पुगेपछि कोचको निर्णय नभई दर्शकको भोटको निर्णयले यो वर्षको भ्वाइस अफ नेपालको बिजेता चयन गरिने छ । प्रभु-पे मोबाइल एप डाउनलोड गरी आफूलाई मन पर्ने प्रतिभालाई भोट दिन सकिने छ ।
source https://www.onlinekhabar.com/2019/10/806463
0 comments:
Post a Comment