आदरणीय कामरेडद्वय,
म कहाँबाट शुरू गरूँ, यतिखेर मलाई नै थाहा छैन । शायद मेरो शुरूआत तपाईंहरूलाई तीतो लाग्ला, तर यदि हामीले यथार्थको धरातलमा उभिने प्रयास गर्यौं भने तीतो नलाग्न पनि सक्छ । कमरेडहरू एकपटक हामी धेरै अगाडि नगए पनि २०३५ सालको पुस ११ गते र त्यसपछिका दिनहरूलाई नियाल्नु आवश्यक हुनेछ । कमरेडहरू हाम्रा उद्देश्यहरू के थिए र किन दुई अढाइ दशक लुकीछिपी हिंड्यौं ? केका लागि र कसका लागि ?
२०३६ सालमा पाकिस्तानका पूर्व राष्ट्रपति जुल्पिmकर अली भुट्टोको हत्यापछि ६ जना अखिलका विद्यार्थीबाट शुरू गरेको आन्दोलनले जनमत संग्रह ल्याएको शायद तपाईंहरूले बिर्सनुभएको छैन । जनमतसंग्रह हामीले बहिष्कार गर्यौं । धाँधली गरेर होस् वा नगरिकन अन्ततः सुधारिएको पञ्चायतको पक्षमा धेरै मत आएको घोषणा गरियो ।
हाम्रो लडाईंले निरन्तरता पायो । नेपाल कम्युनिष्ट पार्टी गठनदेखि आजसम्म हाम्रा कति मित्र कमरेडहरूको सहादत भयो, कतिपय पञ्चायती निरंकुश तन्त्रले मार्यो भने कतिपय पछिल्ला समयमा माओवादका नाममा प्रचण्डहरूको हिंसाका कारणले मारिए ।
आदरणीय कामरेडद्वय माधव नेपाल एवम् जेएन खनाल तपाईंहरू र मेरो भेट पार्टीको कामको सिलसिलामा २०३९ सालतिर भएको हो । तपाईंहरूलाई थाहा छ- मैले बुटवलमा पार्टीको सेल्टरको जिम्मेवारी लिएको थिएँ । त्यो जिम्मेवारी मैले २०४३ सालसम्म निभाएँ । तपाईंहरूको आउने, जाने, खाने, सुत्ने सबै व्यवस्थाको जिम्मेवारी थियो ।
तपाईंहरूलाई थाहै छ- २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन ताका नेकपा मालेभित्र दुई लाइन देखापर्यो । प्रथम राजनैतिक स्वतन्त्रता, द्वितीय पार्टी स्वतन्त्रता । संस्थापन पक्ष अर्थात् चन्द्रप्रकाश मैनाली पार्टी स्वतन्त्रताको पक्षमा उभिए भने जीवराज आश्रति, मोदनाथ प्रश्रति -उनी त्यतिबेला जेलमा थिए) झलनाथ खनाल राजनैतिक स्वतन्त्रताको पक्षमा उभिए ।
दुई लाइन संघर्ष यतिसम्म चल्यो कि २०४० सालमा चौथो महाधिवेशन तय भयो र भदौमा भएको अधिवेशनमा चन्द्रप्रकाश मैनाली अल्पमतमा परे । अधिवेशनले झलनाथ खनाललाईर् महासचिव पदमा निर्वाचित गर्यो ।
तपाईं माधव कमरेड फेरि पनि पार्टीको दोस्रो शक्तिशाली पदमा रहनुभयो । यसबीच डीबी सिंहको नेतृत्वको सर्वहारा श्रमिक संगठन पार्टीमा सम्मिलित हुन आयो । एक वर्षभित्र डीबी सिंहले ट्राटस्कीपन्थ पार्टीभित्र ल्याएको भनेर उनलाईर् पार्टीबाट अलग गरियो ।
लगभग ९ वर्षसम्म झलनाथ खनालको नेतृत्वमा पार्टी ७५ वटै जिल्लामा पुग्न सफल भयो । २०४६ सालको राष्ट्रिय उपलब्धि संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय शासन व्यवस्थाको स्थापनापछि मनमोहनको पार्टीसँग एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी नामकरण गरियो ।
२०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीलाईर् महासचिव चुन्यो । भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरे । यसैताका संयुक्त राज्य अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक ‘न्यूज विक’ ले मदन भण्डारीलाईर् आधुनिक युगको माक्र्सको उपमा दिएर अन्तर्वार्ता प्रकाशित गर्यो ।
मदन भण्डारीमा भएको राजनैतिक प्रतिबद्धता, सिद्धान्तको गहन अध्ययन, दृढ विश्वास, चिन्तनमा स्थायित्व, परिपक्व विचार, चतुर्याई र करिष्माका कारण उनी हृवात्तै माथि उक्ले । अनि झलनाथ खनाल र चन्द्रप्रकाश मैनाली उनको छायाँमा परे । त्यतिबेला चन्द्रप्रकाश मैनाली अल्पमतमा परे ।
जनताको बहुदलीय जनवाद राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तनसँग मेल खाने ढङ्गले मदन भण्डारीले प्रस्तुत गर्न सके । तर दुर्भाग्य त्यसको केही समयपछि मदन भण्डारी एवम् जीवराज आश्रतिको हत्या भयो ।
पार्टी स्वयम् शासनमा पुग्दा पनि यसको यथेष्ट अनुसन्धान गर्न सकेन । अब त घटनाको एउटा मात्र साक्षी अमर लामाको पार्थिव शरीर पनि सेलाइसक्यो । अनुसन्धान गर्न कसले बन्देज लगायो भन्ने कुरा पनि इतिहासको गर्भमा विलाउने भयो ।
शायद सैद्धान्तिक विचारमा बेमेल भएर हो वा नेतृत्वको सवालले हो चन्द्रप्रकाश मैनाली छैटौं महाधिवेशन २०५४ सालदेखि पार्टीबाट अलग्गिए । उनीसँगै वामदेव गौतम पनि गएका थिए । वामदेव भने पछि फर्के ।
मदन भण्डारीको हत्यापछि पार्टीको अभिभारा तपाईं माधव नेपालमाथि आयो । छैटौं र सातौं अधिवेशनले तपाईंलाईर् महासचिव बनायो । तर संविधानसभाको निर्वाचनमा दुई ठाउँबाट उम्मेदवार दिएका पार्टी महासचिव तपाईं माधव नेपाल कुनै पनि ठाउँबाट निर्वाचित हुन नसकेपछि महासचिव पदबाट राजीनामा दिनुभयो । माधव नेपालले राजनीतिको बागडोर समातेपछि छायाँमा परेका झलनाथ खनालले माधव नेपालको राजीनामापछि पार्टीको लगाम हातमा लिए ।
अब म तपाईंहरूलाई २०४२ सालमा फर्काउन चाहन्छु । २०४२ सालमा नेकपा मालेले राष्ट्रिय पञ्चायतको निर्वाचनमा उपयोग गर्ने नीति लियो र हामी चुनावमा होमियौं । पाल्पाबाट बस्याल कमरेड र रुपन्देहीबाट चौधरी कमरेडलाई उम्मेदवार बनाइयो । उनीहरूको चुनाव प्रचार सामग्री छाप्ने जिम्मा मेरो थियो ।
मैले जिम्मेवारी पूरा गरें तर पार्टीको जिम्मेवारी छपाइबापत प्रेसमा तिर्नुपर्ने बिल पार्टीले तिर्नुपर्ने हो तर त्यो त्यतिबेला सम्भव छैन भनियो र मैले मेरो भान्जाको घडेरी धितो राखेर नेपाल बैंक भैरहवाबाट ऋण लिएर बाबुराम अर्यालको प्रेसको बिल चुक्ता गरें । तर यसमा मेरो कुनै गुनासो छैन ।
नेपाल कम्युनिष्ट पार्टीलाई जीवित राख्न मोदनाथ प्रश्रतिको नेतृत्वमा २०३३ ताका मुक्ति मोर्चा गठन भएपछि हामी जस्ता सयौं युवा गाउँगाउँमा गई एक-एक अण्डा, एक-एक माना मकै, कोदो चामल जम्मा गरेर पार्टी बचायौं र हुर्कायौं ।
२००६ सालमा कम्युनिष्ट पार्टीको घोषणा-पत्र प्रस्तुत गरी पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, दुर्गादेवी र नरबहादुर कर्माचार्यको पहलमा कम्युनिष्ट पार्टी गठन भएको थियो । सो पार्टीले २००८ सालको असोजमा प्रथम राष्ट्रिय सम्मेलन गरी पुष्पलाललाईर् महासचिव पदमा निर्वाचित गरेको थियो ।
पार्टी गठन भएको २७/२८ वर्षभित्र नेपाल कम्युनिष्ट पार्टी झण्डै डेढ दर्जन पटक विभाजन हुन पुग्यो । समय र परिस्थितिको मागअनुसार एकतापछि विभाजन र विभाजनपछि एकता स्वाभाविक गति रहेछ । यही स्वाभाविक गति अनुरूप २०३४ सालबाट नेपाली कम्युनिष्ट आन्दोलनले एकतातर्फ पहल गर्न थाल्यो ।
यही अनुरूप २०३४ भदौमा मुक्ति मोर्चा समूह, २०३५ भदौमा क्रान्तिकारी संगठन समिति पूर्वको रातो झण्डा समूह, २०३५ मंसीरमा दाङ सन्देश परिवार र अखिल नेपाल क्रान्तिकारी को-अर्डिनेशन कमिटीबीच २०३५ साल पुस ११ गते एक राष्ट्रिय सम्मेलन गरी नेपाल कम्युनिष्ट पार्टी मालेको गठन भयो । यसको प्रथम महासचिव चन्द्रप्रकाश मैनाली रहे । पार्टीभित्र दोस्रो शक्तिशाली व्यक्ति तपाईं माधव कमरेड हुनुभयो ।
पार्टीलाई यसरी हुर्कन मलजल दिने मजस्ता हजारौं चिन्तक, कार्यकर्ताले कति दुःख पाए । कति घरबारविहीन भए, कतिले त पार्टीमा आएको विचलनका कारण पार्टी कार्यालयमै झुण्डिएर आत्मदाह गरे । कतिपय त्यस्ता पार्टी क्याडरका छोराछोरी यता र उता ठक्कर खाँदै हिंडेका छन् ।
तपाईंहरूलाई लाग्छ होला मजस्ता धेरै कार्यकर्ता आˆनो खुशीले विदेशिएका हुन् ? कम्तीमा म आˆनो खुशीले विदेशिएको होइन भन्ने कुरा मैले जेएन कमरेड बेलायत आएका बेला अल्डरसटस्थित रमेश बास्तोलाको घरमा भनेको हुँ ।
म त २०४२ सालमा पार्टीका लागि चुनाव प्रचारप्रसार सामग्री छापेको बिल तिर्दा लागेको ऋण २०४६ साल अर्थात् चार वर्षसम्म तिर्न नसक्दा ऋणको ब्याज नै पाँच गुणा पुगेका कारण त्यो तिर्न विदेशिएको हुँ । मैले यहाँ ईश्वर पोखरेल अथवा प्रदीप नेपाल साक्षी राख्न चाहन्न । यद्यपि यी सबै कुराहरू उनीहरूलाई पनि थाहा छ ।
किनभने हामी पुराना कार्यकर्ताहरू जसले पार्टीका निम्ति रगत र पसिना बगाएर पनि खोलो तरेपछि बिर्सिएका लौरो भएका छौं । नेकपा एमालेका नेताहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको हकहितमा लागून् अनि पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र जनताको स्वार्थमा समग्र पार्टी लागोस् भन्ने चाहना हो ।
आदरणीय कामरेडद्वय माधव नेपाल एवम् जेएन खनाल, तपाईंहरू पार्टीको मात्र होइन मुलुककै सर्वोच्च पदमा पुगिसक्नुभयो, अब योभन्दा माथि जाने चाहना नगर्नुस् । यही अनुरोध कमरेड ओलीमा पनि लागू हुन्छ ।
मैले यहाँ अहिलेको अवस्था सिर्जना हुनुमा कामरेडद्वय माधव नेपाल एवं जेएन खनाल मात्र दोषी हुनुहुन्छ भनेर उहाँहरूलाई मात्र सम्बोधन गरेको होइन । मैले यहाँ तपाईं दुई जनालाई मात्र सम्बोधन गर्नुको कारण के हो भने मैले तपाईंहरूलाई राम्रोसँग चिन्दछु र मैले तपाईंहरूसँग एक सुकाको चना किनेर खाँदै सँगै हिंडेको छु ।
केपी कमरेडलाई मैले व्यक्तिगत रूपमा चिन्दिनँ, जुनबेला म पार्टीमा सक्रिय थिएँ त्यो बेला केपी कमरेड जेलमा हुनुहुन्थ्यो । हरेक मान्छेभित्र अरू थुप्रै मान्छे हुन्छन् । रावणको दशवटा टाउकाको किन कल्पना गरियो भने हर व्यक्तिलाई फरक फरक चिन्तनले डोर्याएको हुन्छ भन्ने दृष्टान्त दिनका लागि । त्यस्तो अवस्थामा निकै सोचविचार गरेर निर्णय लिनुपर्छ । एउटा सिक्काका दुई वटा पाटा भएजस्तै हामीभित्र पनि सबल र दुर्बल पक्ष छन् ।
आदरणीय कामरेडद्वय माधव नेपाल एवं जेएन खनाल तपाईंहरूले अहिले सबल पक्षबारे चिन्तन गर्ने बेला हो न कि प्रचण्डको साथ लिएर हिंड्ने बेला हो ? हेर्नुहोस्, तपाईंहरूको उँचाइ पुष्पकमल दाहाल उर्फ प्रचण्डको भन्दा त कति कति माथि छ । तपाईंहरूले यो पार्टीलाई हुर्काउन र यहाँसम्म ल्याइपुर्याउन गरेको मिहिनेत कता कता अतुलनीय छ ।
प्रचण्डले के गरेर यहाँसम्म आइपुगेका हुन्, त्यो हामी पुराना पार्टी कार्यकर्तालाई भन्दा बढी तपाईंहरूलाई थाहा छ । तपाईंहरूको प्रचण्डसँगको संगत पटक्कै सुहाउँदैन । के तपाईंहरू यस्तो अवस्थामा आˆनो नाम, सम्मान र उँचाइ एकैचोटि कहिल्यै उठ्न नसक्ने गरी गिराउन चाहनुहुन्छ !
आदरणीय कामरेडद्वय माधव नेपाल एवं जेएन खनाल मानिस एकपटक ठेस लागेर थचक्क बस्नु नराम्रो कुरा होइन तर थचक्क बसेपछि जुरुक्क उठ्न सक्नु नै ठूलो कुरा हो । जुरुक्क उठेपछि मात्र मानिसको जीवनले निरन्तरता पाउँछ ।
(पौडेल हाल जर्मनीमा छन् ।)
source https://www.onlinekhabar.com/2021/08/992606
0 comments:
Post a Comment