तपाईं प्रज्ञा भवन कमलादीको मूल ढोकाबाट भित्र छिर्नेबित्तिकै एउटा स्ट्याचुले स्वागत गर्छ, तर गजधम्म परेर । त्यसपछि दायाँ या बायाँ जता लागे पनि तपाईंले पछ्याउने स्ट्याचुमै देखिएको अनुहार हो, ‘सुप्रीम कमाण्डर’ पुष्पकमल दाहाल (प्रचण्ड)लाई नै हो । तर तस्विरको छेउमा कुँदिएका नारामा भने खुब मीठास भेटिन्छ । नाराले त तपाईं हामीलाई पनि समाजवादको यात्रामा डोर्याएजस्तो लाग्छ, मनको पीडा छिनभरमै निको भएजस्तो देखिन्छ, शिक्षा, स्वास्थ्य र गाँसबासका आवश्यकता पूरा हुनै लागेको महसुस हुन्छ । छिनभरका लागि भए पनि ।
ध्वजापतका, ब्यानरहरुमा, ठाउँठाउँमा कोरिएका नारामा जताततै प्रचण्डलाई हेरेपछि कार्यक्रम स्थलतर्फ अगाडि बढौं । फेरि भित्तामा देखिन्छन्, कलाकारहरुले कुँदेका उनै प्रचण्डका मुहार, अहिले प्रज्ञाभवनमा प्रचण्डबाहेकका अरु चिज भेट्न बहुतै मुस्किल छ । यी सब छिचोर कार्यक्रम स्थल (जहाँ, आइतबार उद्घाटनशत्र भएको थियो, सोमबारदेखि बन्दशत्र चल्छ) पनि प्रचण्डकै भक्तिगानले भरिभराउ छ । माओवादी केन्द्रले आठौं महाधिवेशनका लागि भनेर बनाएको गीतकै सुरुवात छ, ‘…नेतृत्वको केन्द्रीकरण, विचारको केन्द्रीकरण…।’
भूमिगतकालीन सशस्त्र युद्धका कुरा छोडौं शान्ति प्रक्रियामा आउँदा माओवादी एकात्मक केन्द्रित शासन व्यवस्था अन्त्य गरेर राज्यको शासकीय स्वरुप विकेन्द्रित गर्ने नीति लिएको थियो । समयले त्यही नीतिलाई संघीयताका रुपमा शिलान्यास गर्यो । तर शान्तिप्रक्रियामा आएको १५ वर्ष नाघिसक्दा पनि चेन अफ कमान्डको पुरानो धङधङी माओवादीले विर्सिनै सकेनन्, जसले त्यस प्रथाका विरुद्धमा बोले, पार्टीको बहिष्करणमा बोले, पार्टीबाट निकालिए ।
त्यसैले अहिले प्रचण्डले नेतृत्व गरेको पार्टी ३४ वर्ष र माओवादी नामकै पार्टी २६ वर्षको भइसक्दा पनि प्रचण्डको विकल्प केबल प्रचण्ड देखिएका छन् । यही भावना कहिले नारा बनेर त कहिले पोष्टर बनेर सतहमा आउँछन्, पछिल्लो उदाहरण माओवादी केन्द्रको आठौं महाधिवेशनमा देखिएको दृष्य, कार्यकर्ताहरुको भक्तिभाव र नेताहरुको भक्तिगान हो ।
स्थायी कमिटी सदस्य मातृका यादवको अभिव्यक्ति त्यसैको एउटा अंशमात्रै हो । उद्घाटनशत्रलाई संबोधन गर्दै नेता यादवले प्रचण्डलाई अहिले पार्टीमा विश्राम लिने छुट नभएको बताए ।‘अध्यक्षज्यूलाई पत्रकारले सोधेपछि, उहाँ पनि भन्नुहुन्छ मलाई त छोड्न मन थियो, आत्मकथा लेख्न मन थियो’ प्रचण्डले क्रान्तिलाई बीचैमा छाडेर हिँड्न नमिल्ने टिप्पणी गर्दै नेता यादवले भने, ‘यसो भनेर धर पाइन्छ ? पाइँदैन । क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र ? अवसरवादी मात्र जान्छ ।’
महाधिवेशनको मौसम छ, यादवले संभवत प्रचण्डलाई नै खुसी पार्न यसरी बोलेका होलान्, तर जसरी बोले पनि उनको भाषण अस्वाभाविक सुनिन्थ्यो, प्रचण्ड प्रति पनि अतिरिक्त अनुराग देखिन्थ्यो । ‘यो त पुँजीवादी शैली हो, स्थापित लिडरलाई पाखा लगाइदिने, केही नजान्नेलाई नेता बनाइदिने’ नेता यादवको तर्क थियो ।
प्रचण्डका बिरुद्धमा बोल्ने र यदि उनले गलत गरेका छन् भने पनि खरो प्रश्न गर्ने नेता माओवादी केन्द्रमा अहिले छैनन् । जति थिए ती अर्कै पार्टीको नेताका रुपमा अस्तित्वमा छन् । आइतबार माओवादीको आठौं महाधिवेशन उद्घाटन हुँदै गर्दा अधिकांश पूर्वसहकर्मीहरु नै माओवादीको मञ्चमा वक्ताका रुपमा उपस्थित थिए ।
उनी आबद्ध पार्टीमा प्रचण्ड ३४ वर्षदेखि नेतृत्वमा छन् । भूमिगतकालीन नेकपा मशालको महामन्त्री रहेका प्रचण्डले ०४७ सालको राजनीतिक परिवर्तनपछि पार्टीलाई संयुक्त जनमोर्चाको नाममा अघि बढाए । जनमोर्चा ०४८ को चुनावमार्फत् संसदीय राजनीतिमा पनि जोडियो । तर ०४९ सालमा चितवनमा भएको एकताको महाधिवेशनले मुलुकमा सशस्त्र संघर्ष गर्ने प्रस्ताव पारित गरेपछि प्रचण्ड र उनको समूह संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’को रुपमा व्याख्या गर्दै फेरि भूमिगतकालीन आन्दोलनमा होमिए ।
भन्नलाई एकताको महाधिवेशन भनिए पनि त्यसबेला एकता केन्द्र विभाजित भएको थियो । गाउँले शहर घेर्ने जनयुद्ध र जनआन्दोलनका विषयमा मतभेद रह्यो । ०५१ सालमा माओवादीले चितवन माडीको शितलपुरबाट पारित गरेको कार्यदिशा आत्मसात गरेर जनयुद्धको घोषणा गर्यो । जनयुद्धसँग विमति राख्ने अर्काे समूह एकताकेन्द्र मसालकै रुपमा चल्यो । एकताको नाम दिइए पनि विचारका आधारमा पार्टीहरु विभाजित भएको यही महाधिवेशनबाट पुष्पकमल दाहालले आफ्नो नाम ‘प्रचण्ड’ राखे । त्यसअघि उनलाई भूमिगतकालीन कमरेडहरु ‘निर्माण’का रुपमा चिन्दथे ।
उनै कमरेड निर्माणले एकताको महाधिवेशनबाट पार्टी भत्काएपछि ०५१ सालमा नयाँ पार्टीको जन्म भयो, नेकपा माओवादी । त्यस पार्टीका अध्यक्ष पनि अध्यक्ष प्रचण्ड नै भए । प्रचण्डकै नेतृत्वमा माओवादीले १० वर्ष सशस्त्र संघर्ष गर्यो । युद्धकालमै पनि माओवादी पार्टीभित्र विभिन्न खाले उतारचढाव नआउने होइनन् । बैचारिक संघर्ष तीव्र हुन्थे, माओवादी ती संघर्षहरुलाई दुुई लाइन संघर्षका रुपमा जारी राख्थे । शान्ति प्रक्रियामा आएको दुई वर्षपछि प्रचण्डले नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग पार्टी एकता गरे, एकता केन्द्र त्यही नै थियो, जुन गाउँले शहर घेर्ने सशस्त्र संघर्षमा जान तयार नभएपछि प्रचण्डहरुमात्रै युद्धमा गएका थिए ।
शान्ति प्रक्रियापछि प्रचण्डपछिको बरियतामा रहेका मोहन वैद्य र बाबुराम भट्टराईका बीचमा विचारमा कुरा त मिल्दैनथ्यो तर कहिलेकाही कार्यगत एकता भने हुन्थ्यो । वैद्य र भट्टराईहरुको डरका कारण प्रचण्डले एकता केन्द्रसँग हतार–हतार एकता गरेर प्रचण्डपथ स्थगन गरे, पार्टीको संघर्षको स्वरुपबारेको अन्यौल कायम राखे । त्यसले प्रचण्डलाई त बलियो बनायो नै, तर पार्टीको सिद्धान्त र व्यवहार फरक हुँदा कार्यकर्तामा भने हमेशा द्विविधा देखियो, त्यसको असर संसद र संविधानसभासम्मै पर्यो ।
‘शान्ति प्रक्रियामा आइसकेपछि पनि विद्रोह कि चुनाव भनेर दुइटा कुरा गरियो, त्यसले कन्फ्युजन पैदा भयो,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने, ‘नेतामै कन्फ्युजन, कार्यकर्तामै कन्युजन भएपछि मानिस संसदमा छ, तर दिमागमा विद्रोह हुने अवस्था बन्यो । लाष्ट सिटमा बस्नुपर्ने, अनि अर्कै सोच्ने भयो । यसले पनि पार्टी क्षयीकरण भयो ।’
शर्माले भनेझैं पार्टीमा क्षयीकरण हुँदा प्रचण्ड केन्द्रिकृत हुने सिलसिला यहाँ नै रोकिन्न । त्यसपछि पनि प्रचण्डले आफ्नो पार्टीले पारित गरेका विचार र सिद्धान्तलाई एकातिर राखे, संसदीय राजनीतिका जोडघटाउ, प्रधानमन्त्री बनाउने र सरकार भत्काउने खेलोमेलो अर्कातिर गर्न थाले ।
संसदमा आफ्नोमात्रै बहुमत नपुग्दा, कहिले एमाले, कहिले कांग्रेस, कहिले मधेसवादी र कहिलेकाहिँ त राजावादीहरुसँग पनि उनी हात मिलाउन पुगे । तर जनता र जनजीविकाका मुद्दाबाट भने प्रचण्ड विस्तारै टाढिए । कालान्तरमा उनको सरसंगत बिचौलिया र व्यापारीहरुसँग बढ्दै गयो, पार्टीका सर्वहारा कार्यकर्ताहरुका लागि प्रचण्ड आकाशका फलजस्तामात्रै भए । संभवतः त्यसैको परिणाम हुनुपर्छ उनका असली कार्यकर्ता उनकै स्ट्याचुसँग फोटो खिचाइरहेका भेटिन्छन्, उनी कार्यकर्ताका निमित्त दुर्लभजस्तै लाग्छन् ।
प्रचण्डपथलाई त्यसबेला नै स्थगन गरेको माओवादीले पछि २१ औं शताब्दीको जनवादलाई आफ्नो राजनीतिक कार्यक्रममा रुपमा अघि सार्यो । २१ औं शताब्दीको जनवादले भन्ने निरन्तर नेतृत्व परिवर्तनको कुरा प्रचण्डको हकमा लागू हुँदैन । २०७५ जेठ ३ मा एमालेसँग पार्टी एकता गर्दा प्रचण्डले २१ औं शताब्दीको जनवाद पनि स्थगन गरे । माओवाद पनि स्थगन गरे ।
एमालेसँग सुरुमा चुनावी तालमेल र त्यसपछि पार्टी एकता गर्ने भनेर प्रचण्डले प्रस्ताव राखेपछि नेता गोपाल किरातीले त्यतिखेरै सोधेका थिए– पहिचानको मुद्दा र माओवादका बारेमा के हुन्छ ? प्रचण्डले भने त्यसबारेमा छलफल गर्न सकिने जवाफ दिए । पहिचानकै मुद्दालाई मूल विषय बनाएको माओवादी अध्यक्ष प्रचण्डले पहिचानबारे नै छलफल गर्नमात्रै सकिने बताएपछि किराती, आहुतीजस्ता नेताहरुले प्रचण्ड छोडे, प्रचण्डले माओवादी ।
यसबेला पनि प्रचण्ड विभाजनहरुको चोट सहेर पार्टी सानो भएको र सानो पार्टीको अध्यक्ष भन्दा ठूलै पार्टीको अध्यक्ष बन्छु भन्ने उद्देश्यसहित एमालेसँग पार्टी एकतामा जाने निधोमा पुगेका हुन् ।
यसै पनि प्रचण्डले राजनीतिमा सबैभन्दा पहिले आफूलाई हेर्छन् र त्यसपछि बल्ल अरुलाई भूमिका दिने गर्छन् । बलियो पार्टीको पार्टीको बलियो अध्यक्ष बन्ने ध्याउन्नमा प्रचण्डले आफ्नो सिद्धान्त भुले, विचार भुले, वाद भुले । तर जसरी भए पनि राजनीतिक खिचातानीको केन्द्रमा आफैं हुनपर्छ भन्ने विचार भने कहिल्यै भुलेनन् । विश्लेषक हरि शर्मा प्रचण्डलाई अहिले आफ्नै अस्तित्व जोगाउन सकस भएकाले पनि कहिले एमालेसँग त कहिले कांग्रेससँग मिल्ने गरेका बताउँछन् ।
प्रचण्ड अहिले विल्कुल आफ्नोमात्रै अस्तित्व रक्षा गर्ने अभियानमा छन् भन्ने तर्कको पुष्टि उनकै गतिविधिहरुबाट पनि हुन्छ । ‘उहाँको अहिले दुईवटा मात्रै ध्याउन्न छ, पहिलो– आगामी चुनावमा चितवनबाट कसरी जित्ने र दोस्रो– त्यो जीतका लागि कसरी पैसा कमाउने ?’ माओवादी केन्द्रका एक उच्च नेताले भने, ‘त्यसबाहेक उहाँलाई न माओवादीको चिन्ता छ न पार्टीका अरु कमरेडहरुको ।’
माओवादी पार्टीको नाम नै फेर्ने प्रस्तावमा उक्त पार्टीको केन्द्रीय कमिटीमा विचाराधीन छ । सोमबार प्रचण्डकै मञ्चमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुरुमा मन मिलेपछि दलका नाम, पार्टी र झण्डा पनि मिल्ने भन्दै सांकेतिक टिप्पणी गरे । तर प्रचण्ड चुनावी मैदानमा एक्लै उभिन नसक्नुको कारण पहिल्याउँदै जाने हो भने सबैभन्दा धेरै दोषी उनी नै भेटिन्छन् । सायद यसैले ०६९ मा हेटौडा महाधिवेशनपछि बसेको पहिलो बैठकमा नेता गोपाल किरातीले प्रचण्डलाई भनेका थिए, तपाईं समक्ष सुध्रिने मौका आएको छ ।
०६९ मा हेटौंडा महाधिवेशन गरेर फर्किएको तीन महिनापछि तत्कालीन एकीकृत नेकपा माओवादीले गरेको केन्द्रीय कमिटी बैठकमा नेता किरातीले भने ‘माओवादी थेगो अनुसार क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने विचार र विधि निर्माणको प्रश्नमा लेनिनले भ्याउनुभएन, स्टालिनले जान्नुभएन, माओले पनि फेरि भ्याउनुभएन । भनेपछि प्रचण्डले भ्याउनुभएन, जान्नुभएन, भन्न पाईंदैन । त्यसो हुनाले समाजवादको मार्गचित्र कोर्ने कामको थालनी भएन भने प्रचण्डले गर्नुभएन भन्ने निष्कर्ष निस्किन्छ ।’ जवाफमा प्रचण्डले आफूले एक्लै गरेर केही नहुने भन्दै सामूहिक पहल गर्नुपर्ने बताएका थिए ।
केन्द्रीय कमिटीको यो बैठक बसेको केही समयपछि किराती प्रचण्डलाई भेट्न उनको निवास पुगेर माओले लेखेको कुनै एउटा लेख उधृत गर्दै प्रचण्डलाई सुनाए । किरातीका अनुसार त्यस लेखमा माओले भनेका छन्, ‘जीवनमा गल्ती नगर्ने मानिस र गल्ती हो भनेर ठहर भइसकेपछि त्यो गल्ती दोहोर्याउने मानिस, मानिस नभएर जनावर हो ।’ किरातीले माओको यही भनाइ सम्झाउँदै प्रचण्डसित भने, ‘त्यसो भए लेनिनले भ्याउनुभएन, स्टालिनले जान्नुभएन माओले पनि भ्याउनुभएन भनेर बुझेको प्रचण्डले त्यसो गर्न हुन्छ त ? गल्ती हो भनेर थाहा पाइसकेपछि फेरि त्यही गल्ती गर्ने मान्छे त जनावर भयो नि हैन ?’
त्यसबेला प्रचण्ड केही बोलेनन् । किरातीले पनि आफूलाई त्यहीँनिर रोके । यो ०७० सालको सुरुवाती दिनतिरको कुरा हो । समयक्रममा किराती र प्रचण्ड एउटै पार्टीमा रहेनन्, प्रश्न सोध्नेहरु विस्तारै विस्तारै बाहिरिदै गर्दा प्रचण्डलाई पार्टीमा एकलौटी निर्णय गर्न सजिलो हुँदै गयो । उनको दिमाग जतिखेर जसरी चल्छ, पार्टी पनि त्यसैगरी चल्छ भन्ने चिन्तन प्रचण्डमा हावी हुँदै गयो । फरक मत राख्ने र प्रश्न उठाउनेहरु उनको पार्टीबाट बाहिरिदै गए । फलस्वरुप माओवादी पार्टीभन्दा पनि मोर्चाका रुपमा देखापरेको छ ।
खिइदै गएको यही पार्टीमा प्रचण्डले सबैभन्दा पहिले आफ्नै र त्यसपछि माओवादी केन्द्रको अस्तित्व जोगाउनुपर्नेछ, उनी आफ्नै अस्तित्व रक्षाको छटपटीमा छन् ।
source https://www.onlinekhabar.com/2021/12/1057680
0 comments:
Post a Comment