Tuesday 28 December 2021

कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

१४ पुस, जाजरकोट । मंगलबार रातिदेखि हिमपात सहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापात भइरहेको छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन् तर हिमपातले जनजीवन भने प्रभावित भएको छ ।  वर्षाका कारण गहुँ र तरकारीलाई राहत भएको छ ।

उच्च भागमा भने लगातारको हिमपातका कारण जनजीवन कष्टकर भएको डोल्पा कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । बिहानै घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायालाई खुवाउने आहारामै समस्या भएको छ ।

चिसो अत्यधिक बढेको ठाउँमा विद्यालय खुल्न मुश्किल हुने पालिकास्तरीय शिक्षा इकाइले बताएका छन् । नियमित पानी परेका कारण यातायात सेवा समेत प्रभावित भएको छ।



source https://www.onlinekhabar.com/2021/12/1058694

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More