Wednesday 29 December 2021

गुल्मीको रेसुङ्गामा हिउँ परेपछि स्थानीय हर्षित

१५ पुस, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पनि हिमपात भएको छ । मंगलबार रातिबाट पानीसँगै हिउँपरेपछि स्थानीय हर्षित भएका छन् ।

बिहीबार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा हिउँ खेल्न जानेहरुको घुइँचो लागेको छ । धेरैले सामाजिक सन्जालमा रेसुङ्गाको हिउँ सहितका तस्विर राख्दै खुसी साटेका छन् । आज सार्वजनिक बिदा भएकाले पनि रेसुङ्गाको हिउँ परेको हेर्न र खेल्न जानेहरुको घुइँचो लागेको छ ।

रेसुङ्गागामा परेको हिमपात सदरमुकाम तम्घास बजारबाट पनि देख्न सकिन्छ । जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे, थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको देखिन्छ । वर्षा र हिमपातले हिउँदेबालीलाई फाइदा पुग्ने हुँदा कृषकहरु खुसी छन् ।

रेसुङ्गालगायतका जिल्लाका उच्च स्थानमा बर्सेनि हिमपात हुने गरेको छ । समुद्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पनि हो । यहाँ बिभिन्न अवसरहरुमा मेला लाग्ने गर्दछ । रेसुङ्गाबाट अन्य समयमा पनि धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

हिमपातले जिल्ला सदरमुकाम तम्घास बजारमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण बजारमा चहलपहल समेत घटेको छ ।



source https://www.onlinekhabar.com/2021/12/1059285

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More