Friday 31 December 2021

नेपाली फिल्मका लागि ‘थ्रेट’ बन्दैछन् साउथ इण्डियन फिल्म ?

१७ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’ साउथ इण्डियन हिन्दी डब चलचित्र ‘पुष्पा’कै कारण रिलिज गरेनन् । पुस २ गतेबाट पछि सरेको चलचित्रको प्रदर्शन मिति अब पुस ३० गतेलाई तोकिएको छ ।

अर्को साता साउथकै हिन्दी डब चलचित्र ‘आरआरआर’ नेपाल भित्रिने भएपछि नेपाली निर्माताले चलचित्र रिलिजको आँट नै गरेनन् । चैत ३० गते नै साउथको हिन्दी डब चलचित्र ‘राधे श्याम’ रिलिज हुँदैछ । नेपाल भित्रियो भने यो चलचित्र ‘चपली हाइट ३’का लागि पनि थ्रेट बन्न सक्छ ।

चलचित्र ‘पुष्पा’कै कारण शुक्रबारबाट रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ले मल्टिप्लेक्समा कम शो पायो । गत साता रिलिज भएको ‘चुरीफुरी’ नामक चलचित्रले मल्टिप्लेक्समा शो नै पाएन । जबकि, तीन सातादेखि ‘पुष्पा’ले मल्टिप्लेक्समा कब्जा गरेको छ । तेस्रो सातामा पनि ‘पुष्पा’को तुलनामा फ्रेस रिलिज नेपाली चलचित्रले निक्कै कम शो पाएको छ । विदेशी चलचित्रलाई प्राइम टाइमको शो दिएका प्रदर्शकले नेपाली चलचित्रलाई झारा टार्ने काम गरेका छन् ।

लकडाउनअघि बलिउडका स्टार कलाकारसँग मात्रै भिडन्त गरेका नेपाली निर्माताले अब साउथका चलचित्रसँग पनि शो बाँड्नुपर्ने अवस्था आएको छ ।

कोरोना महामारीका कारण लकडाउन भएपछि नेपालमा चलचित्र हलको अवस्था फेरियो । लामो समय सिनेमा हल बन्द हुँदा नेपाली चलचित्रको किल्लाको रुपमा रहेका अधिकांश सिंगल हलहरु बन्द भए । गोपीकृष्ण हल भत्काइयो । काठमाडौं लगायत देशभरका अधिकांश सिंगल हलहरु बन्द भए । यी हल बन्द हुँदा नेपाली मेकरले बलिउड, हलिउडको मात्र नभएर अब साउथका चलचित्रसँग पनि प्रत्यक्ष रुपमा मल्टिप्लेक्समा भिडन्त गर्नुपर्ने हुन्छ । जसले नेपाली चलचित्रको इनिसियल व्यापारमा असर गर्ने प्रष्ट छ ।

निर्माता अर्जुन कुमारले नेपाली चलचित्र बनाउने निर्मातालाई महामूर्खको संज्ञा समेत दिए । उनले अब नेपाली चलचित्रको अस्तित्व नै सकिने तर्क समेत गरेका छन् ।

अर्जुन भन्छन्, ‘अब साउथको हिन्दी डब चलचित्र नेपाली चलचित्रका लागि काल बन्ने पक्का छ । अहिले म मात्रै बोलेको छु, भोलिको दिनमा यो समस्याबाट अधिकांश निर्माता ग्रसित हुनुपर्ने निश्चित छ ।’ चलचित्र रिलिजका लागि आँशु नै झार्दै हिँडेका अर्जुनले अब नेपाली चलचित्र क्षेत्र सकिएको घोषणा समेत गरिसकेका छन् ।

साउथकै चलचित्र ‘केजीएफ २’को प्रदर्शन मिति पक्का नहुँदा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले चलचित्रको प्रदर्शन मिति तय गर्न सकेका छैनन् । उनी ‘केजीएफ २’को रिलिजको सेड्युल अनुसार आफ्नो चलचित्रलाई रिलिज गर्ने बाटो कुरेर बसेका छन् ।

लकडाउनअघि बलिउडका स्टार कलाकारसँग मात्रै भिडन्त गरेका नेपाली निर्माताले अब साउथका चलचित्रसँग पनि शो बाँड्नुपर्ने अवस्था आएको छ ।

नेपालमा साउथका चलचित्र सस्तोमा ल्याएर राम्रै रकम कमाउन सकिने अवस्था आएपछि वितरकहरुले पनि लगानी धमाधम गरिरहेका छन् । ‘पुष्पा’लाई १ करोड बढी भारतीय रुपैयाँ तिरेर नेपाल भित्र्याइएको थियो । तर, यो चलचित्रले वितरकलाई राम्रो मुनाफा दिएको छ । यसले वितरकलाई साउथ चलचित्रप्रतिको लगाव झनै बढाएको छ । अर्को साता रिलिज हुन लागेको ‘आरआरआर’का लागि वितरकले दुई करोड बढी भारतीय रुपैयाँ खर्च गरेको चर्चा छ ।

राम्रो फिल्म बनाएर मात्रै अब सुख छैन

चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमिल्सिना अब नेपाली चलचित्रका मेकरलाई राम्रो चलचित्र बनाएर मात्र सुख नहुने बताउँछन् । ‘मैले पहिले राम्रो चलचित्र बनाएरै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने तर्क गर्दै आएको थिएँ । तर, अब यो तर्कले पनि काम गर्दैन । किनकि, भारतमा राम्रो भएर पनि ८३ नामक चलचित्र नचलेको उदाहरण नेपालमा पनि लागू हुन्छ,’ उनी भन्छन् ।

उनका अनुसार दर्शकले केही चलचित्रका लागि मात्र रकम खर्च गर्न सक्छन् । यदि उनीहरुले आफ्नो बजेट विदेशी चलचित्रको लागि छुट्याए भने राम्रो भएर पनि नेपाली चलचित्र नचल्न सक्छ ।

साउथ इण्डियन चलचित्र नेपाली बजारका लागि एक दशक अगाडि नै थ्रेट बनेको उनको भनाइ छ । तिमिल्सिना भन्छन्, ‘एक दशक अगाडिदेखि नै साउथका चलचित्र र कलाकारले हाम्रो घरमा प्रवेश पाएका हुन् । त्यसैको परिणाम बल्ल हलमा देखिन थालेको हो । अब नेपाली चलचित्रका लागि दुईवटा मात्र उपाय छन् ।’

उनका अनुसार कि त नेपालमा पनि चीन र कोरियाको मोडल अपनाएर कोटा प्रणालीमा चलचित्र रिलिज गर्नुपर्छ । कि त, विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

तिमिल्सिनाले तेस्रो हप्तामा प्रदर्शन भइरहेको साउथ चलचित्र ‘पुष्पा’ले भन्दा फ्रेस रिलिज नेपाली चलचित्र ‘कठपुतली’ले कम शो पाउनुलाई दुर्भाग्यपूर्ण भने । ‘यो त अन्याय नै हो नि । तर, के गर्नु मल्टिप्लेक्समा विदेशी चलचित्रकै दबदबा छ । नेपाली चलचित्रको अन्यायको विषयमा त कोही पनि बोल्दैनन्,’ उनी भन्छन् ।

नेपाली फिल्मका लागि शो छुट्याउनुपर्छ : दीपकराज गिरी

निर्माता तथा कलाकार दीपकराज गिरी भने साउथको चलचित्र मात्र नेपाली चलचित्रका लागि थ्रेट रहेको भनेर नभन्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रा लागि सबै विदेशी चलचित्र थ्रेट हुन् । चलचित्र क्षेत्र कला र संस्कृतिभित्र पर्छ । जसले जहाँबाट जुन भाषाको चलचित्र किनेर ल्याएर पनि चलाउन त पायो । तर, देशको कला र संस्कृति जोगाउने भन्ने शब्द पनि त होला नि होइन ?’

गिरी अगाडि भन्छन्, ‘चीन जस्तो ठूलो देशले पनि किन विदेशी चलचित्रलाई कोटा लगाउनु परेको होला ? चीन पनि खुल्ला व्यापारमा विश्वास गर्छ । तर, चीनमा पनि हिन्दी चलचित्र खोलिदिने हो भने त्यहाँको चलचित्रको बाह्र बज्छ । यसबाट के बुझ्नुपर्छ भने कुनै पनि देशको कला संस्कृतिलाई समाप्त पार्नका लागि यति नै कुरा काफी छ ।’

गिरीले चलचित्र विकास बोर्डको काम भनेको विदेशी चलचित्रको कर उठाएर कर्मचारी भर्ती गर्ने ठाउँ मात्र नभएको आरोप लगाए । ‘कमसेकम राज्यले स्वदेशी चलचित्रका लागि २५ प्रतिशत सिट सुरक्षित त गरिदिनुपर्‍यो नि । कला र संस्कृति भन्ने व्यापारमा मात्र पर्दैन,’ उनी भन्छन् ।

एक करोड रुपैयाँको चलचित्रलाई अर्बौं बजेटमा बनेका चलचित्रले पेल्ने उनको भनाइ छ । ‘म त लामो समयदेखि कराएर थाकेको मानिस हुँ । हाम्रो क्षेत्रमा विसंगति विरुद्ध बोल्ने मानिसको संख्या कम छ । चूप लगाएर नायक बन्न खोज्नेहरु धेरै छन्,’ उनी भन्छन्, ‘राज्यको माथिल्लो निकायसम्म यो मेरो समस्या होइन भन्ने धेरै छन् ।’

स्वदेशी चलचित्रलाई २५ प्रतिशत हल दिने नियम नलगाउने हो भने हरेक नेपाली चलचित्रको नियति ‘चपली हाइट ३’ जस्तै हुने गिरीको तर्क छ । उनी भन्छन्, ‘साउथको २ वटा, हिन्दी, अंग्रेजी चलचित्र एकसाथ रिलिज हुँदा नेपाली चलचित्र भाग्दै जाने र अन्त्यमा आफ्नै देशको चलचित्रसँग जुध्नुपर्ने नियति अब झनै देखिन्छ ।’

विदेशीलाई रोक्न हुँदैन, तर सबै फिल्म ल्याउनुपर्छ भन्ने छैन : छविराज ओझा

नेपाली चलचित्र क्षेत्रका पाका निर्माता छविराज ओझाले विदेशी चलचित्रको भेलले नेपाली चलचित्र क्षेत्रलाई बगाउने डर रहेको बताए । उनले भने, ‘कोरोनाका कारण विदेशी चलचित्र रिलिज हुन नपाएर थुप्रिए । तर, निर्माण हुने क्रम भने रोकिएन । जसले अब एकैचोटी सबै चलचित्र आउँदा नेपाली चलचित्रलाई नै बगाउने अवस्था आयो । मेरो भनाइ सबै चलचित्र नेपाल ल्याएर रिलिज गर्न आवश्यक छैन भन्ने हो ।’

उनले थपे, ‘विदेशी चलचित्रलाई राम्रो शो दिएर नेपाली चलचित्रलाई बिहानको शो दिइन्छ । यो काम प्रदर्शकले गर्नु हुँदैन । नेपाली चलचित्रलाई माया गरौं । राम्रा र आशा गरिएका विदेशी चलचित्र ल्याउनुपर्छ । तर, साउथमा वर्षमा ७ सय वटा चलचित्र बन्छन् भने सबै ल्याउनुपर्छ भन्ने होइन ।’

ओझाले अहिले सिंगल हल थोरै मात्र बाँकी रहेकाले मल्टिप्लेक्सले नेपाली निर्मातालाई पेल्न नहुने बताए । ‘अर्जुन कुमारले सधैं मल्टिप्लेक्स हलकै लागि चलचित्र बनाए । अब उनलाई नै प्रदर्शकले पेल्ने अवस्था आयो भने निर्माताले कसरी चलचित्र बनाउने ? नेपाली चलचित्रलाई माया नगर्ने हो भने विदेशीको भेलमा सबै बडारिने पक्का छ,’ उनी भन्छन् ।

राज्य स्तरबाट नै नेपाली चलचित्रलाई जोगाउनका लागि नियम नबनाउने हो भने साउथ इण्डियन मात्र नभएर हरेक भाषाका चलचित्र ‘थ्रेट’ बन्ने चलचित्रकर्मीहरुको विश्लेषण छ ।



source https://www.onlinekhabar.com/2022/01/1060098

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More