Saturday, 24 August 2019

बीआरआईविरुद्धका अभियानसँग लड्न नेपाल तयार छ : खनाल

७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई सफल हुन नदिन दक्षिण एसियामा सञ्चालित बिभिन्न अभियानविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको बताएका छन् ।

चारदिने चीन भ्रमणको क्रममा ‘गुआंग्डोंग २१ औं शताब्दी म्यारी टाइम सिल्करोड अन्तराष्ट्रिय एक्स्पो’लाई सम्बोधनको क्रममा खनालले सो धारणा राखेका हुन् । उनले बीआरआईविरुद्ध कस्ता गतिविधि भइरहेका छन् भन्ने कुरा भने खुलाएनन् । यद्यपि बीआरआईलाई सफल हुन नदिन अमेरिकाले ‘इन्डो प्यासिफिक’ योजना अघि सारेको चर्चा हुँदै आएको छ ।

नेता खनालले छिमेकी मुलुक चीनसँग नेपालले अब सांस्कृतिक र व्यापारिक आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै नेपाल-चीन इकोनोमिक करिडोरको विकास गर्न सकिने पनि बताए । नेपाल-चीन सम्बन्ध १६ सय वर्ष पुरानो रहेको स्मरण गर्दै खनालले भने, ‘अब सांस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गर्नुपर्छ । बीआरआई कार्यान्वयनका लागि नेपाल-चीन इकोनोमिक करिडोरको विकास गर्न सकिन्छ ।’

खनालले नेपाल पर्यटन वर्ष २०२० को बारेमा चीन सरकारले सरकारीस्तरबाट नै जानकारीमुलक कार्यक्रम लागु गरोस् भन्ने चाहना पनि प्रकट गरेका थिए

साथै ट्रान्स हिमालयन इकोनोमिक करिडोरको स्थापना र नेपाल चीनबीचको रेल नेटवर्कको सम्बन्धले सिल्क रोडको ल्हासा-काठमाडौं-भारत खण्डलाई पुनजिर्वित पार्ने बताउँदै उनले यसबाट नेपालले पनि लाभ लिन सक्ने बताए ।

नेता खनालले सन् २०१७ मा बेल्ट एण्ड रोड इनिसियटिभ -बीआरआई) मा नेपालले हस्ताक्षर गर्नुपूर्व बिभिन्न समयमा द्वीपक्षीय समझदारी भएको र ती समझदारीपत्रहरु बीआरआईको आधारपत्र तयार गर्न सहायक भएको बताए ।

नेपालले चाहेको आर्थिक समृद्धि दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुन सक्ने खनालले बताए । अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरुमा दुई देशले सँगै काम गर्न सकिने उनले बताए । त्यसका लागि कर नीति, कानुन, नीति नियम, मुद्राको आदानप्रदानको सीधा प्रणालीलगायतलाई सहज बनाउने र अन्य गतिविधिहरूमा दुई देशबीच एक समझदारी हुनु आवश्यक रहेकोमा खनालले जोड दिए ।

खनालले नेपाल पर्यटन वर्ष २०२० को बारेमा चीन सरकारले सरकारीस्तरबाट नै जानकारीमुलक कार्यक्रम लागु गरोस् भन्ने चाहना पनि प्रकट गरेका थिए ।

नेता खनाल चारदिने चीन भ्रमण सम्पन्न गरी शनिबार राति साढे ९ बजे काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2019/08/790543

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More