Friday, 16 August 2019

हुवाजिन सिमेन्टको नयाँ जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषद् लगिँदै

३२ साउन, काठमाडौं । गाउँपालिकासँग भाडामा लिएको जग्गा सम्झौता खारेज भएपछि हुवाजिन सिमेन्टले सो जग्गा भाडामा लिन नयाँ प्रक्रिया अगाडि बढाएको छ । यसका लागि उसले बेनिघाट रोराङ गाउँपालिकामा निवेदन हालेको स्रोतले बतायो ।

बेनिघाट रोराङ गाउँपालिका-२ ताल्तिमा रहेको १८१ रोपनी ३ आना ४ पैसा ६ दाम जग्गा पहिलो चरणमा ३० वर्षका लागि भाडामा लिन हुवाजिनले निवेदन गरेको हो । आवश्यकताअनुसार भाडा समयअवधि बढाउन सकिने गरी हुवाजिनले जग्गा मागेको छ ।

हुवाजिनको निवेदनपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई जमिनको भाडादर समेत तोकेर सिफारिस गरेको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए । कृषि प्रयोजनको लागि अयोग्य रहेको मालपोत कार्यालय धादिङमा श्रेस्ता कायम जग्गा भाडामा दिन केन्द्र सरकारले निर्णय गर्ने गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस पाण्डेको अगुवाइमा चिनियाँ हुवाजिन सिमेन्टमा अवरोध

सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ (संशोधन २०७३) बमोजिम गाउँपालिकाले जग्गा भाडा सिफारिस गरेको जनाएको छ । गाउँपालिकाको सिफारिसअनुसार प्रतिरोपनी ४ लाख ८ हजार २८ रुपैयाँ ५ पैसा वार्षिक भाडामा उद्योगले जमिन पाउनेछ । गाउँपालिकाले गरेको सिफारिसमा वार्षिक रुपमा भाडा रकम ५ प्रतिशतले वृद्धि गर्न सुझाव दिइएको छ ।

गाउँपालिकाको सिफारिसका आधारमा उद्योगले माग गरेबमोजिम जमिन भाडा प्रयोजनका लागि भूमि व्यवस्था तथा अभिलेख विभागलाई सिफारिस गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए । यसअघि गाउँपालिकाले भाडामा दिन गरेको निर्णय कानुनतः खारेज भएपछि नयाँ सिफारिस गरिएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टसँगको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

उद्योगका लागि जग्गा भाडामा दिन धादिङबाट भएको सिफारिसबमोजिम फाइल आएको तर केही अधुरो भएकाले मन्त्रिपरिषदमा पेश हुन नसकेको भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले जानकारी दिए । ‘सबै प्रक्रिया पुगेपछि फाइल मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेश हुन्छ, आवश्यक थप डकुमेन्ट मागेका छौं,’ गौतमले भने ।

गत साउन २६ गते संसदको सार्वजनिक लेखा समितिले ह्वासिन सिमेन्ट नारायणी प्रालीलाई २०० रोपनी जग्गा भाडामा दिन बेनिघाट रोराङ गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । गाउँपालिकाले सो जग्गा सिमेन्ट कम्पनीलाई ५० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगमा १४ अर्ब ४० करोड चिनियाँ लगानी छ ।

यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टका उपाध्यक्षले भने- नेपालमा प्रक्रियामै धेरै ढिलाइ

source https://www.onlinekhabar.com/2019/08/788576

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More