Tuesday, 20 August 2019

राष्ट्र बैंकले दिएको ‘स्प्रेड रेट’ को सीमा बाहिर ७ बैंक

४ भदौ, काठमाडौं । देशका २८ वाणिज्य बैंकहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यसअनुसार उनीहरुको एकमुष्ट मुनाफा ६५ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको देखिएको छ, जुन अघिल्लो वर्षको भन्दा २५ प्रतिशत बढी हो ।

बैंकहरुले आर्जन गर्ने मुनाफामा स्प्रेड रेट (कर्जा तथा निक्षेपको ब्याजदरबीचको अन्तर) को ठूलो हात हुन्छ । स्प्रेड रेट कम भयो भने बैंकहरुको मुनाफा घट्छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म (स्प्रेड रेट) ५ बाट घटाएर ४.५ मा झार्न निर्देशन दिएको थियो । यसका बाबजुद पनि मुनाफामा उल्लेख्य बढोत्तरी कसरी सम्भव भयो त ?

औसतमा बढ्यो स्प्रेड रेट

धेरै बैंकहरुले राष्ट्र बैंकले दिएको सीमाभित्र आफूलाई राखे पनि केही बैंकहरु अझै सीमा बाहिर छन् । जसले गर्दा बैंकहरुको औसत स्प्रेड रेट घटेको होइन अघिल्लो वर्षभन्दा बढेको देखिएको छ ।

मुुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको आर्थिक वर्ष ०७४/७५ मा औसत स्प्रेड रेट ४.१७ थियो । गत आर्थिक वर्ष ०७५/७६ मा आएर स्प्रेड रेट ४.३९ प्रतिशतमा पुगेको छ ।

आव ०७४/७५ को प्रथम त्रैयमासमा औसत स्प्रेड रेट जम्मा ४ प्रतिशत मात्रै थियो । त्यसपछि क्रमशः बढ्दै गएको देखिन्छ । पहिलो त्रैयमासमा ४ प्रतिशत रहेको स्प्रेड दोस्रो त्रैयमास अर्थात ६ महिनापछि बढेर ४.०५ पुग्यो । यस्तै, तेस्रो त्रैयमास अर्थात् ९ महिनामा ४.१३ र चौथो त्रैयमासमा ४.५० प्रतिशतमा उक्लियो । यसरी एक वर्षको औसत स्प्रेड रेट ४.१७ देखियो ।

त्यसपछि राष्ट्र बैंकले आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्म ४.५ प्रतिशत स्प्रेड रेटमा काम गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दियो । गत आर्थिक वर्षको पहिलो त्रैयमासमा बैंकहरु औसत ४.४३ मा थिए, दोस्रो त्रैयसमासमा थोरै घटाएर ४.४२ प्रतिशत पुर्‍याए ।

तेस्रो त्रैयमासमा भने ४.४१ प्रतिशतमा बैंकहरुले काम गरे । चौथो त्रैयसमासम्म आइपुग्दा भने बेंकको स्प्रेड रेट ४.३३ प्रतिशतमा झर्यो । जसअनुसार एक वर्षको औसतमा ४.३९ प्रतिशत स्प्रेड रेट कायम भयो ।

थ्रेसहोल्डभन्दा बाहिर ७ बैंक

सात वटा वाणिज्य बैंकले राष्ट्र बैंकले दिएको ४.५ प्रतिशतको थ्रेसहोल्ड पालना गरेका छैनन् । यसमा एउटा सरकारी बै‌ंकसमेत छ ।

मुलुककै जेठो बैंक नेपाल बैंकको स्प्रेड रेट ४.९९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष पनि यो बैंकको स्प्रेड रेट ४.९९ प्रतिशत नै थियो । राष्ट्र बैंकको निर्देशन पालना गर्न नसक्ने दोस्रो नम्बरमा बैंक अफ काठमाण्डू छ । यो बैंकको स्प्रेड रेट ४.९८ प्रतिशत रह्यो । अघिल्लो आर्थिक वर्षमा बरु ४.४३ रहेकोमा झन् बढाएको हो ।

मेगा बैंकको स्प्रेड रेट पनि तोकिएको भन्दा बढी छ । अघिल्लो आर्थिक वर्षमा ३.९१ प्रतिशत मात्रै रहेको मेगाको स्प्रेड बढेर ४.७३ प्रतिशत पुगेको छ । यसैगरी प्रभु बैंक पनि तोकिएका सीमाभन्दा बाहिर छ । तर प्रभुले घटाउने प्रयास भने गरेको छ । अघिल्लो वर्ष ४.७२ प्रतिशत रहेको स्प्रेड घटाएर प्रभुले ४.७० प्रतिशतमा झारेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंक र कृषि विकास बैंकको स्प्रेड रेड पनि उच्च छ । एनसीसी बैंकको अघिल्लो वर्ष ४.१२ थियो । यसलाई बढाएर बेंकले ४.७० पुर्‍याएको छ । कृषि विकास बैंकले स्प्रेड रेट घटाए पनि राष्ट्र बैंकको सिमाभित्र ल्याउन सकेन ।

कृषि विकास बैंकको स्प्रेड रेट अघिल्लो वर्ष ५.४६ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ४.६८ प्रतिशत रहेको छ । अर्को नेपाल बंगलादेश बैंकको अघिल्लो आर्थिक वर्ष ३.६७ प्रतिशत रहेको स्प्रेड बढेर ४.६४ प्रतिशत पुगेको छ ।

कुन बैंकको स्प्रेड रेट कति ?

बैंक                                              स्प्रेड रेट

नेपाल बैंक                                        ४.९९
बैंक अफ काठमाण्डू                          ४.९८
मेगा बैंक                                          ४.७३
प्रभु बैंक                                           ४.७०
एनसीसी बैंक                                   ४.७०
कृषि विकास बैंक                             ४.६८
नेपाल बंगलादेश बैंक                       ४.६४
ग्लोबल आइएमई बैंक                     ४.४७
हिमालयन बैंक                                ४.४७
राष्ट्रिय वाणिज्य बैंक                      ४.४६
स्टाण्डर्ड चार्टर्ड बैंक                         ४.४५
सनराइज बैंक                                 ४.४४
नेपाल एसबीआई बैंक                     ४.४३
नविल बैंक                                     ४.४३
जनता बैंक                                     ४.४२
एनआइसी एशयि बैंक                    ४.४१
नेपाल इन्भेष्टमेन्ट बैंक                 ४.३८
लक्ष्मी बैंक                                     ४.३७
सानिमा बैंक                                  ४.३५
प्राइम कमर्शीयल बैंक                    ४.३२
एभरेष्ट बैंक                                  ४.२९
माछापुच्छ्रे बैंक                             ४.२७
एनएमबि बैंक                               ४.२६
सेञ्चुरी कमर्शीयल बैंक                 ४.२०
सिद्धार्थ बैंक                                  ४.०७
सिभिल बैंक                                 ३.७६
कुमारी बैंक                                   ३.५४
सिटिजन्स बैंक इन्टरनेसनल       ३.१५



source https://www.onlinekhabar.com/2019/08/789418

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More