Friday, 9 August 2019

पार्टी कार्यक्रममा सहभागी नहुने तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरुको निर्णय

२५ साउन, दाङ । नेपाली कांग्रेससँग पार्टी एकता भएको दुई वर्ष बितिसक्दा पनि आफ्ना नेता कार्यकर्ताहरुको समायोजन पूरा नगरिएको भन्दै तत्कालीन फोरम लोकतान्त्रिक दाङका नेताहरुले पार्टीको कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेका छन् ।

उनीहरुले दाङका तत्कालीन फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीलाई पनि आम नेता कार्यकर्ताहरु सबैको समायोजनले पूर्णता नपाएसम्म पार्टी गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् । उनीहरुले समायोजनले पूर्णता नपाए अर्को विकल्पमा पनि छलफल चलाउन नेता योगेन्द्र चौधरीलाई आग्रह गरेका छन् ।

एक दर्जन बढी नेताहरुले संयुक्त विज्ञप्ति निकालेर दाङका तत्कालीन फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीलाई पनि आम नेता कार्यकर्ताहरु सबैको समायोजनले पूर्णता नपाएसम्म पार्टी गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् । योगेन्द्र तत्कालीन फोरम लोकतान्त्रिकका पूर्वप्रमुख सचेतकसमेत हुन् र दाङका प्रभावशाली नेता पनि हुन् । दाङमा तत्कालीन फोरम लोकतान्त्रिकभित्रको असन्तुष्टिले योगेन्द्र दबावमा परेका छन् । योगेन्द्र आफैं पनि पार्टीमा भूमिकाविहीन छन् ।

स्थानीय नेता-कार्यकर्ताहरूले पार्टी समायोजनले पूर्णता नपाउँदा भूमिकाविहीन र राजनीतिक रुपले अपहेलित भएर बस्नु परिरहेको गुनासोसमेत गरेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘तत्कालीन फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताहरु भूमिकाविहीन र राजनीतिक रुपले अपहेलित भएर बस्नु परेको परिस्थिति कम पीडादायक छैन । कुनै पनि राजनीतिक गर्ने व्यक्तिको लागि यो परिस्थिति अत्यन्त कष्टपूर्ण पीडाबाहेक के हुन सक्छ ? न कुनै गन्तव्य, न स्पष्ट दिशावोध भएको परिदृष्य कल्पनासमेत नगरेको अन्योलता र निराशाको क्षण कुनै पनि मानिसको लागि दुई वर्षको कार्यकाल कति लामो लाग्दो होला !’

दाङका तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरुले समायोजनलाई पूर्णता नदिनुलाई कांग्रेस बन्न खोज्दा कांग्रेस बन्न नदिने नेताहरुको सोच हो कि भन्ने प्रश्नसमेत उठाएका छन् ।

संयुक्त विज्ञप्तिमा तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यद्वय विन्तिराम यादव र धनिराम चौधरी, महिला लोकतान्त्रिक संघको केन्द्रीय उपाध्यक्ष शारदा चौधरी, लोकतान्त्रिक मजदुर संघका जिल्ला अध्यक्ष दिलबहादुर चौधरी, तत्कालीन युवा फोरम दाङ जिल्ला अध्यक्ष धरमविर चौधरीको हस्ताक्षर छ ।

यसैगरी तत्कालीन लोकतान्त्रिक किसान संघका जिल्ला अध्यक्ष खेमलाल चौधरी, दाङ क्षेत्रनम्बर १ का कार्यवाहक क्षेत्रीय सभापति रामवरण यादव, क्षेत्र नम्बर २ का सभापति गोरखनाथ कशौधन, क्षेत्रनम्बर ३ का सभापति दोर्णबहादुर बस्नेत, क्षेत्र नम्बर ४ का सभापति रामशरण वैश्य र गढवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हिरालाल चौधरीले पनि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा थरुहट तराई पार्टी नेपालबाट समायोजन भई तत्कालीन फोरम लोकतान्त्रिकमा आबद्ध भएका जिल्ला सभापति शनिराम चौधरी र लमही नगरपालिका इकाई सभापति जगनारायण चौधरीको नाम भए पनि हस्ताक्षर छैन ।

हेर्नुहोस् विज्ञप्ति

२०७४ असोज ३० गते नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकता घोषणा भएको थियो । एकताको सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले हस्ताक्षर गरेका थिए ।

एकताको क्रममा गच्छदारले आफ्नो पद सुरक्षित गरे पनि अन्य नेता कार्यकर्ताहरुलाई अन्योलमै राखेको आरोप लाग्दै आएको छ ।



source https://www.onlinekhabar.com/2019/08/786990

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More