१९ कात्तिक, काठमाडौं । बेलायतमा ३९ जनाको शव भेटिएको घटना अझै रहस्यकै गर्भमा रहेको छ । यद्यपि, भियतनामी प्रहरीले घटनामा संलग्नको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ ।
मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनामा संलग्नको आशंकामा ती व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
भियतनामी सञ्चार माध्यमले घटनाबारे अनुसन्धानका लागि ८ जना पक्राउ परेको जनाएका छन् । यसअघि शव फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई बेलायती प्रहरीले पक्राउ गरेको थियो ।
बेलायतको राजधानी लण्डनदेखि पूर्व ग्रेज एसेक्सको औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र गत अक्टोबर २३ मा ३९ शव फेला परेका थिए । ती शव कुन देशका नागरिकको हो भन्ने अझै खुलेको छैन । सुरुमा सबै चिनियाँ नागरिक भएको बेलायतले हाल आएर ती व्यक्ति भियतनामी हुनसक्ने अनुमान गरेको छ ।
भेटिएका शवमध्ये ३१ पुरूष र ८ महिला छन् । मृत्युको कारण पत्ता लगाउन हाल शव परीक्षण भइरहेको जनाइएको छ ।
source https://www.onlinekhabar.com/2019/11/808674
0 comments:
Post a Comment