Thursday, 3 September 2020

सडकमा डमी ट्राफिक : जनशक्ति व्यवस्थापनसँगै चेतना अभिवृद्धि

१९ भदौ, काठमाडौं । अहिले काठमाडौं उपत्यका कोभिड–१९ (कोरोना भाइरस) महामारीको हटस्पट बनिरहेको छ । दैनिक चार सयको संख्यामा नयाँ सक्रमित थपिइरहेका छन् ।

उपत्यकामा ४२८ जना प्रहरीमा कोरोनाको सक्रिय संक्रमण छ । यस्तो अवस्थामा प्रहरीलाई दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन बग्गीखानाले नयाँ जुक्ति निकालेको छ ।

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले सचेतना अभिवृद्धिको लागि २२ वटा डमी ट्राफिक प्रहरी तयार गरेर विभिन्न चोकमा राखेको छ । यसले सचेतनासँगै ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई समेत कानुन अनुसार सवारी चलाउन मद्दत गर्ने ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ ।

‘टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुन्छ’, ट्राफिक प्रहरीका एसएसपी भिमप्रसाद ढकालले भने, ‘यसले महामारीका बेला जनशक्ति व्यवस्थापनमा पनि सहयोग पुग्छ ।’

डमीको हातमा ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने लेखिएको बोर्ड राखिएको छ । ढकालका अनुसार ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्छ ।

सडकमा राखिएका डमीहरू महाशाखाको पहलमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर बनाइएको हो । हाल सिंहदरबार, सातदोबाटो, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप,  भद्रकाली,  थापाथली, कालिमाटी, कलंकी, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगातीमा डमी राखिएका छन् ।



source https://www.onlinekhabar.com/2020/09/893932

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More