Thursday 7 September 2023

युरो छनोटमा फ्रान्स, नेदरल्याण्ड्स, डेनमार्क विजयी

२२ भदौ, काठमाडौं । युरोकप २०२४ अन्तर्गत छनोट खेलमा फ्रान्स, नेदरल्याण्ड्स र डेनमार्क विजयी भएका छन् ।

समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई २–० ले हरायो । फ्रान्सका लागि अउरेलियन चुवामेनीले १९औं र मार्कुस थुरामले ४८औं मिनेटमा गोल गरे । लगातार पाँच खेल जित्दै शतप्रतिशत नतिजा निकालेको फ्रान्स १५ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा नेदरल्याण्ड्सले ग्रीसलाई ३–० ले हरायो । नेदरल्याण्ड्सका लागि मार्टिन डे रुनले १७औं, कोडी गाक्पोले ३१औं र वाउट वेघोस्टले ३९औं मिनेटमा गोल गरे । ३ खेलबाट ६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा उक्लेको छ । चार खेलबाट ६ अंक रहेको ग्रीस तेस्रो स्थानमा छ ।

डेनमार्कको चार गोल

समूह ‘एच’को खेलमा डेनमार्कले सानमारिनोलाई ४–० ले हरायो । डेनमार्कका लागि पिएरे एमिल होएवर्गले २६औं, ज्याकिम माहेलेले २८औं, जोनास विन्डले ४०औं र युसुफ पाउलसेनले इन्जुरी टाइममा गोल गरे । ५ खेलबाट १० अंक जोडेको डेनमार्क समूह ‘एच’को दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्लोभेनियाले नर्दन आयरल्याण्डलाई ४–२ ले पराजित गरेको छ । ५ खेलबाट १० अंक नै जोडेको स्लोभेनिया तेस्रो स्थानमा छ । फिनल्याण्ड ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

लेवान्डोस्कीको दुई गोल

रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’ मा पोल्याण्डले फारो आइल्याण्डलाई २–० ले पराजित गरेको छ । लेवान्डोस्कीले ७३औं र ८३औं मिनेटमा गोल गरेका थिए । छनोटमा दोस्रो जित निकालेको पोल्याण्ड चार खेलबाट ६ अंकसहित समूह ‘ई’ मा तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा चेक रिपब्लिक र अल्वानियाले १–१ को बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि चेक रिपब्लिक ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमै छ भने समान खेलबाट ७ अंक रहेको अल्वानिया दोस्रो स्थानमा छ ।

हंगेरीको पुनरागमन जित

समूह ‘जी’ अन्तर्गतको खेलमा हंगेरीले एक गोलले पछि परेको अवस्था उल्टाउदै सर्बियामाथि २–१ को पुनरागमन जित निकाल्यो ।

हंगेरीकै अतिला सलाईले १०औं मिनेटमा आत्मघाती गोल गरेपछि सर्वियाले सुरुवाती अग्रता बनाएको थियो तर कायम रख्न सकेन ।

हंगेरीका लागि बर्नाबास भर्गाले ३४औं मिनेटमा बराबरी गोल गरे भने विली ओर्बानले ३६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै हंगेरीले खेल जित्यो ।

जितपछि चार खेलबाट १० अंक जोडेको हंगेरी सर्वियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ७ अंकसहित सर्विया दोस्रो स्थानमा झरेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1362707

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More