Thursday 14 September 2023

बालबालिकालाई प्राथमिकता दिएर सुनौं, मुस्कुराएर कुरा गरौं 

मानव जीवनको सुरुआती चरण हो, बाल्यावस्था । मुलुकी देवानी संहिता ऐन २०७४ अनुसार १८ वर्ष मुनिका कलिला मनहरूलाई बालबालिका भनेर परिभाषित गरेको छ । बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ ।

यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन् भावी जीवन उस्तै हुन्छ । शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हुन्छ ।

अभिभावक भन्नाले आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् । बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी, आमाबुबा नै अभिभावक हुन् । बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर र पहिलो शिक्षक उनीहरूका अभिभावक हुन् ।

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु महत्वपूर्ण कुरा हो । जन्म दिने भन्दा संस्कार दिने अभिभावक महत्वपूर्ण हुन्छन् । छोराछोरीले राम्ररी पढून्, असल, आज्ञाकारी र अनुशासित बनून् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । बालबालिकाले कलम रोज्छन् या हतियार भन्नेमा उनीहरूले पाउने शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । सन्तानलाई असल र आज्ञाकारी बनाउने शिक्षा घरमै दिने हो ।

अभिभावकले बच्चाहरूलाई स्कुल पठाएपछि सबै शिक्षाको जिम्मेवारी स्कुलले लिइदिओस् भन्ने ठान्छन् । कतिपय अभिभावकले स्कुललाई सुधार केन्द्रको रूपमा समेत लिएको पाइन्छ जबकि बालबालिकाकोे भावनात्मक बुझाइ र सोही अनुसारको सिकाइ स्कुलमा भन्दा घरमा प्रभावकारी हुने गर्दछ ।

कतिपय अभिभावक रहर त कतिपय बाध्यताले रोजगारीका निम्ति टाढिएका छन् । फलतः बालबालिका परिवारको माया–ममता लगायत पारिवारिक शिक्षाबाट वञ्चित बनेका छन् भने पारिवारिक बेमेल, विखण्डन, अभिभावकको अस्तव्यस्त जीवनशैली, समयको व्यवस्थापन गर्न नसक्नु तथा सन्तानप्रतिको दायित्वबोध कम गर्ने र बच्चाहरूलाई बोझको रूपमा लिई आफ्नो स्वतन्त्रतामा बाधक सम्झिने अभिभावकहरू पनि यदाकदा भेटिने गर्दछन् । यसले कतिपय बालबालिका अभिभावक भएर पनि अभिभावकत्व गुमाएका छन् ।

बालबालिकाको कुरा सधैं प्राथमिकता दिएर सुन्ने अनि मुस्कुराएर उनीहरूको भाव अनुरूप कुराकानी गर्ने गर्नुपर्दछ । बालबालिकाको इच्छा, रहर, आवश्यकता बुझेर आफूले पूरा गर्न सकिने र नसकिने कुरा बताइदिनुपर्छ । घरमा विभिन्न नियम बनाई पहिले आफूले पालन गर्ने र बालबालिकालार्ई पनि पालन गर्न उत्प्रेरित गर्नुपर्दछ । बालबालिकालाई सजाय भन्दा पनि सकारात्मक अनुशासनमा राख्नुपर्छ ।

बालबालिकाको आत्मबल बलियो हुने खालका कथाहरू भन्ने र उनीहरूलाई विस्तारै आफूले सक्ने कुराको समस्या समाधान गर्न सिकाउँदै जानुपर्छ । बालबालिकासँगै खेल्ने, रमाउने, दौडने, उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, लडीबुडी गर्दै उनीहरू जस्तै बनिदिने गर्नुपर्दछ । यसले बालबालिका लगायत आफ्नो पनि तनाव कम हुन्छ र बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बढ्छ ।

आफ्ना भावी सन्ततिको उज्ज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको छ । यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित गरिएको थियो ।

बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरू बीचको एक साझा कानुन हो ।

यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । अनुमोदन गरेको दिनलाई नै बाल दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । इतिहासलाई फर्केर हेर्दा रानी रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने गरेको देखी भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्मदिन पारी ४ भदौ २०२१ मा नेपाल बाल संगठन स्थापना गरी सोही दिनलाई नै बाल दिवसको घोषणा गरी नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।

यसरी सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरियो । यो वर्ष पनि भदौ २९ कै दिन ‘बाल मैत्री शासन बालअधिकारको सम्मान’ भन्ने नाराका साथ ५९औं बाल दिवस मनाइँदैछ । बाल दिवस आफैंमा एउटा महत्वपूर्ण दिवस हो । औपचारिक रूपमा बाल दिवस मनाउन थालेको यतिका वर्ष भइसक्दा पनि बालबालिकाको हकअधिकारका क्षेत्रमा उल्लेख्य प्रगति भएको देखिंदैन ।

हुनेखाने परिवारका बालबालिकाको लागि प्रत्येक दिन बाल दिवस हुने गरेको छ भने हुँदा खाने परिवारका बालबालिकाको समस्या ज्यूँका त्यूँ छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ ले अठार वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ । बालअधिकार बालबालिकाको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो । सामाजिक सुरक्षा, शिक्षा–दीक्षा, माया, स्नेह, शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान आदि बालबालिकाको नैसर्गिक अधिकार हो ।

नेपाल सरकारले बालबालिकाको लागि थुप्रै हकको प्रत्याभूति गरे पनि कार्यान्वयनको पाटो फितलो भइदिंदा कैयौं बालबालिका आफ्ना अधिकारबाट वञ्चित छन् ।

नेपालको सविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा निम्नानुसार बालबालिकाको हकअधिकारको व्यवस्था गरिएको छ –

१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।

२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।

३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।

४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी व यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।

५) कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।

६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारले शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।

७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।

८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।

९) असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।

१०) उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

बालअधिकारका कुरा दस्तावेज र नारामा सीमित देखिएका छन् । नीति कहिल्यै खराब हुँदैनन् तर कार्यान्वयनकर्ताका खराब नियतिका कारण बनेका नीतिहरू कार्यान्वयन हुन सक्दैनन् । नेपाल सरकारले बालबालिकाको लागि थुप्रै हकको प्रत्याभूति गरे पनि कार्यान्वयनको पाटो फितलो भइदिंदा कैयौं बालबालिका आफ्ना अधिकारबाट वञ्चित छन् । अझै पनि सवारी साधन, होटल तथा रेस्टुरेन्ट, उद्योग, व्यापार व्यवसायहरू तथा घरायसी कामकाजमा बालबालिकाले सस्तो मूल्यमा श्रम बेच्न तथा दुव्र्यवहार भोग्न बाध्य छन् । कतिपय बालबालिकाले सडकमै दिनरात बिताएका छन् । कति बालबालिका सामाजिक अपराधका पीडित र पीडक बन्न पुगेका छन् ।

अझै पनि बालबालिकाको एजेन्डा दिनहुँ खतरामा परिरहेका छन् । उनीहरूले उचित शिक्षा, स्वास्थ्य सेवा, पोषण र हिंसाबाट सुरक्षा पाउन सकेका छैनन् । शिक्षित बालबालिकाको मनोबल उच्च रहन्छ भने हिंसा तथा शोषणबाट जोगिने सम्भावना पनि उच्च रहन्छ । यसका अतिरिक्त एक शिक्षित आमाले आफ्ना छोराछोरीलाई व्यावहारिक र अधिकारका विषयमा सिकाउने सम्भावना बढी हुन्छ ।

तसर्थ आमा र बच्चा दुवैलाई उत्तिकै शिक्षाको खाँचो छ । जब सरकार समाज र नागरिकले बालअधिकार सम्बन्धी आफ्ना कर्तव्यको पालना गर्दछन् र प्रत्येक बालबालिकाले ती अधिकार दाबी गर्न सक्छन् तब मात्र बालअधिकार पूर्ण रूपमा सुरक्षित हुनेछ ।

फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मँदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै ऊ दायित्वको डोरीले बाधिंदै जान्छ भनेका थिए साँच्चै नै संसारमा बालबालिका बाहेक अरू कोही स्वतन्त्र छैन । निर्दोष र स्वतन्त्र त्यो बालापन नै सिकाइको महत्वपूर्ण समय हो । बालापनमा प्रशस्त माया पाएका बालबालिकाले मात्र अरूलाई माया र विश्वास गर्न सकेका हुन्छन् । बालबालिका जहिले पनि नयाँ कुरा सिक्न सक्षम र उत्सुक हुन्छन् । तसर्थ यो समयमा बालबालिकालाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाउन जरूरी छ ।

पछिल्लो समय हाम्रा बालबालिकामा संस्कारको कमी आइरहेको छ । उनीहरू हाम्रो मौलिकपनलाई छोडेर पश्चिमी र विदेशी संस्कृतिमा रमाउन थालेका छन् । सूचनाप्रविधिमा आएको क्रान्तिले गर्दा बालबालिका भर्चुअल दुनियाँमा रमाउन थालेका छन् । यसकै लतमा जीवन बर्बादीतर्फ धकेल्ने जोखिम बढेको छ । इन्टरनेटलाई प्राविधिक ज्ञानका लागि सिकाइको माध्यम बनाउन प्रेरित गर्नु आवश्यक छ । बालबालिकालाई सकारात्मक बन्न प्रेरित गर्नुपर्छ, मान्छेलाई पहिरनले होइन विचारले चिन्ने बनाउनु छ । असल र सरल मान्छे नै राम्रा मान्छेहरू हुन् भनी सिकाउनु जरूरी छ ।

आजको दिन बाल दिवस मनाइरहँदा हरेक बुबाआमाले आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्ध, उनीहरूले पछ्याएको बाटो र आफूले दिएको समयको बारेमा सोच्न जरूरी छ । उनीहरूका लागि पर्याप्त समय र माया ममता दिनु जरूरी छ । हाम्रा सम्पूर्ण बालबालिका असल भएको देख्न, सुन्न र अनुभव गर्न पाइयोस् । सबैलाई शुभकामना !



source https://www.onlinekhabar.com/2023/09/1366008

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More