Wednesday, 6 September 2023

तिमीलाई छाड्दैछु प्रिय काठमाडौं !

प्रिय काठमाडौं ! मेरा पखेटा फर्फराउन पुगे। भविष्यको सम्भावना, करिअर, धरातल र अध्ययनको लालसाले काखबाट पाखा लाग्ने बाध्यता आइलाग्यो। बोझिलो बनेको थिएँ। अब तिमीले चैनले सास फेर्छौ होला !

मैले हिंडिरहेको बाटो पनि अब साँघुरो हुँदैन होला ! मानिसहरूले भरिने ती बाटाहरू पनि थोरै फराकिलो देखिन्छ होला !

प्रिय काठमाडौं ! समयले मलाई अवसर दियो वा तिमीबाट छुटकारा, म भन्न सक्दिनँ। तर अब तिमीले थोरै भए पनि केही समय मेरो बोझ बोक्नुपर्ने छैन। भत्भती छाती पोल्दै पीर र चिन्ता बोकेर निस्केका मेरो सुस्केरा श्वासलाई अब तिमीले स्पर्श गर्नुपर्ने छैन। अब तिमीलाई हलुङ्गो हुन्छ होला ! तर मेरा मन आमासरी तिमीलाई छोड्दा कति रुन्छ होला ?

म तिमीप्रति धन्य छु। कृतज्ञ छु। तिमीले मलाई एक–दुई गर्दै १२ वर्षसम्म हुर्कायौ। थाहा छैन, यो अवधिमा मैले तिमीलाई कति दुःख दिएँ वा सुख। सुख त के दिएँ होला र ? तिमी जति अस्तव्यस्त छौ त्योभन्दा धेरै गुणा म पनि अस्तव्यस्त भएँ।

यो कोलाहलमा जसरी पट्यारलाग्दो सडक जाम भएको छ त्यसरी नै मैले मेरा भविष्यका बाटाहरू जाम भएको महसुस गरें। म उकुस–मुकुस भएर हाँडीभित्र भुटेको मकै झैं भएँ।

मैले यसो भनेर भएभरको दोष तिमीलाई लगाउन खोजेको नसोच्नु है ! दोष त मेरै हो, मैले तिमीसँग लिन नसक्नु। लिन सक्नेले यो शहरमा सुखैसुखको वर्षा र सुनामी लिएका छन्। सक्नेले देशभन्दा व्यक्ति धनी हुने गरी लिएका छन् तर मैले त बिहान–बेलुकाको छाक टार्न पुग्ने पनि लिन सकिनँ।

मनमा रहरको पोको बोकेर शहर छिरेका म जस्ता लाखौंले यस शहरमा आफ्ना सपनाहरू हुर्काएका छन्। बढाएका छन्। सपना पूरा गर्न सर्टिफिकेटका भारी बोकेका छन्। तिनै सर्टिफिकेट मूल्यहीन भएपछि देश नै छोड्न बाध्य भएका छन्।

प्रिय काठमाडौं ! निराशाको भावमा गुनासोको पोकोलाई फोको नसम्झनु है ! आमा समान तिमीसँग सुदूर यात्रापूर्व वियोगको छट्पटाहट शान्त पारेको हुँ। नेपाली छोराछोरीहरू कर्म गर्न आमाको काख छोड्नुपर्ने विवशतालाई बोध गरेको मात्र हुँ

गाउँ छोडेर शहर अनि शहरै छोडेर परदेश जाने परिस्थिति र बाध्यताले लखेटेपछि कसको के लाग्दो रहेछ र ? स्नातक र स्नातकोत्तर सकेपछि जिन्दगीको यात्रा तय गर्न एउटा बाटो लगभग निश्चित हुनेगर्छ।

पढाइ अनुसारको कर्मले त्यो यात्रालाई डोर्याउँदै लैजाने गर्दछ तर देशको अवस्थाले मजस्ता हजारौंलाई परदेश डोर्याउँदैछ। आखिर कहिलेसम्म ? कसले दिन्छ उसको जवाफ ?

एकातिर रोजगारी छैन। अर्कातिर थोरै पारिश्रमिकमा धेरै आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ। त्यसमाथि पनि सागसम्म किन्न नसकिने महँगी छ। उफ् ! मेरा बा कृषि कर्म गर्नुहुन्छ। कर्म कृषिको तर न बेलामा बीउ छ न भनेको बेला मल पाइन्छ। न त उत्पादनले बजार पाउँछ।

सायद त्यसकै चपेटामा परेर होला, सीमित आम्दानी भित्र विशाल आवश्यकता पूरा गर्नुपर्ने मेरा बाको बाध्यताले होला, मैले मेरा बालाई कहिल्यै निर्धक्क हाँसेको देखिनँ।

अभावमा बाँचेको छु भन्ने सत्य लुकाएर सम्पन्नताको अभिनय गर्ने मेरा बाको मनभित्रको अभावको राँको सल्किएको विवश अनुहार र लामो सुस्केरा हाल्दै खुईखुई गर्दै गरेका मेरा बालाई सम्झिंदा मैले आँसु झार्न बाहेक केही गर्न सकिनँ।

कर्म नगरेको पनि होइन, प्राइभेट स्कुलमा शिक्षण गरेर आठ वर्ष बिताएँ। यो आठ वर्षमा मैले सास फेर्न भन्दा बाहेक केही गर्न सकिनँ।

हामी जस्ता भुईं मान्छेहरूलाई निराशाको बादलले चौतर्फी बाटो घेरेपछि त्यसको एउटै मात्र उपाय निस्कँदो रहेछ, त्यो निराशाको घेराबाट बाहिर निस्किने र त्यसको अन्तिम विकल्प नै परदेश बन्दो रहेछ। खाई–नखाई गरेर हुर्काएको सन्तान आफ्नो बुढेसकालको उमेरमा साथमै भइदियोस् भन्ने कसकी आमालाई नहुँदो हो ? कसलाई आफ्नो सन्तान टाढा बनाउन मन होला र ? अवश्य पनि, चाहेका सबै कुरा पुग्दैन। चाहनासँग सम्झौता गरेर चाहेकै कुरा पाउने प्रयास गर्नु नै कर्मको नियति रहेछ।

प्रिय काठमाडौं ! निराशाको भावमा गुनासोको पोकोलाई फोको नसम्झनु है ! आमा समान तिमीसँग सुदूर यात्रापूर्व वियोगको छट्पटाहट शान्त पारेको हुँ। नेपाली छोराछोरीहरू कर्म गर्न आमाको काख छोड्नुपर्ने विवशतालाई बोध गरेको मात्र हुँ।

म आफूलाई ज्ञानमा फराकिलो पारेर तिम्रो सामु स्वाभिमान लिएर आउनेछु। अध्ययनबाट परिष्कृत भएर आउनेछु। तिम्रो मझेरीमा कर्मका टुसाहरू उमार्न आउनेछु। तिमीप्रतिका कर्तव्यहरू पूरा गर्न आउनेछु। मलाई आफ्नो ममता र अपनत्व दिइरहनू है।

तिम्रो यादमा प्रेमका चाङहरू उचाल्दै तिम्रो आशीर्वादको साथमा आफूलाई आत्मविश्वासी र दरिलो बनाएर भरिलो मनले फेरि भेट्ने बाचा गर्दछु। धन्यवाद !



source https://www.onlinekhabar.com/2023/09/1362166

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More