Thursday, 7 September 2023

क्रिकेटमा मिसन ८४ को छद्म रिहर्सल

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाह एशिया कपको नेपाल–भारत प्रतिस्पर्धा हेर्न श्रीलंका पुग्नु, बाँकी नेताहरूले काठमाडौंबाट आफू क्रिकेटसँग जोडिएको छु भनेर फेसबुकमा फोटो हाल्नुको सन्देश सामान्य छैन । आजको दिनमा बुझे पनि नबुझे पनि क्रिकेट हेर्नु नेपालका नेताहरूको लागि सबैभन्दा ठूलो राजनीतिक क्रियाकलाप हो । क्रिकेट रन होइन, भोट हो । विकेट होइन, सिट हो  ।

हामीले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म, प्रमुख प्रतिपक्षी दलका नेतादेखि भावी नेतृत्वका आकांक्षीसम्मलाई विभिन्न पोजमा क्रिकेट लाइभको टिभी मनिटर अगाडि बसिरहेको देख्यौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नी पत्नी सवितासँग शीतलनिवासमा बसेर स्टार स्पोर्टस् नेटवर्क हेरे । सम्भवतः यो उनले विरलै खोल्ने च्यानल होला । उनलाई मात्रै के दोष, हाम्रा अधिकांश नेता नेपाली च्यानलमा आफैैंलाई देख्न चाहन्छन् ।

प्रधानमन्त्री प्रचण्डले लाइभ भिडियो च्याटमार्फत क्रिकेटरहरूसँग हौसलाका शब्दहरू साटे । सरकारले क्रिकेटका लागि आवश्यक काम गर्ने आश्वासन दिए । सरकारका प्रमुखले दिएको भरोसा पक्कै सराहनीय कुरा हो, जसलाई जनताले ‘सराहना’ का थप शब्दहरू व्यक्त गरिराख्नुपर्दैन ।

यो किन आवश्यक छैन भने खासमा नेपाली टोलीले दिलाएका सफलतामध्ये सन् २०१४ को विश्वकप, २०१८ को ओडीआई स्टाटस, गत वर्षयता पाएका महत्वपूर्ण सफलतासँगै ओडीआई स्टाटसको पुनः प्राप्ति, यसपल्ट एशिया कपमा क्रिकेटका महाशक्ति भारत र पाकिस्तानसँगको सम्मानजनक स्पर्धा जस्ता उपलब्धि पहिल्यै प्राप्त छन् । तर त्यसयताका १० वर्षमा राज्यको तर्फबाट उनीहरूको वृत्ति–विकास, करिअरको निर्वाध निरन्तरता तथा आउँदै गरेको नयाँ खेलाडी पुस्ताका लागि के गरियो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षअघि नेपालको संसदमा उभिएर नेपालका क्रिकेटरहरूको प्रशंसा गरिसक्दा पनि हाम्रो नेतृत्वको चेत खुलिसकेको कतै देखिएन । त्यसैले यो प्रश्न प्रचण्डलाई मात्रै होइन, त्यसयता दुई–दुई पल्ट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा र केपी ओलीलाई पनि जान्छ ।

ओलीले क्रिकेटरहरूलाई शुभेच्छा साट्दै खिचाएका तस्बिर उनको फेसबुक पेजबाट सार्वजनिक भयो । ‘नयाँ पुस्तासँगै छु’ भन्ने भावना व्यक्त गर्न उनी कहिले रिमा विश्वकर्मासँग टेनिस कोर्टमा भेटिन्छन् । सुविन भट्टराईको ‘इजोरिया’ पढेको तस्बिर हाल्छन् । कहिले साना नानीहरूसँग टिकटकदेखि कार्यक्रमका माइकसम्मै आमोदप्रमोद गर्छन् । एमाले बागमती प्रदेशको कार्यक्रममा ओली बोल्दाबोल्दै मञ्चमा चढेकी सानी बच्चीलाई नै माइक दिन पाउँदा ओली मख्ख थिए । नेताहरूसँग मानवीय संवेदना प्रचुर हुनु उचित हो, त्यसको प्रदर्शन हुनु पनि अनुचित होइन । तर नीति निर्माणको निर्णायक ठाउँमा आफू हुँदा उनीहरूले ठोस रूपमा गरे चैं के भन्ने प्रश्न प्राथमिक हो ।

क्रिकेट खेल हेर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

यस्तै प्रश्न गगन थापा, योगेश भट्टराईहरूलाई पनि गर्न सकिन्छ, जो अरू वेला पनि खेलाडी, कलाकार आदिसँग प्रकट भइरहन्छन् । अरू नेताहरूको हकमा पनि यही कुरा लागु हुन्छ । खेल भएका दिन मात्रै खेलभावना देखाएर पुग्दैन । नेतृत्वले आफ्नो जिम्मेवारी पूरा गर्न पनि जान्नुपर्छ ।

हर क्षेत्रसँग चिढिंदै गएको निराश नेपाली नयाँ पुस्ताका लागि पाकिस्तान र भारतसँगको नेपाली क्रिकेट प्रदर्शन सम्मानजनक हारका बीच पनि आशाको झिल्को हो । क्रिकेटरले आशा, उत्साह जगाउने बाहेक कुनै भौतिक डेलिभरी नदिने भए पनि नयाँ पुस्तालाई तिनले यसरी जोडिदिएका छन् कि अब उनीहरूसँग ढिलैगरी भए पनि नेपालका नेताहरू जोडिन चाहेको प्रष्ट छ । यो नयाँ पुस्ता खेल अवधिभरिको ‘फ्यान’ मात्रै होइन, नेपाली समाजभित्र सुषुप्त उकुसमुकुसलाई कुनै पनि वेला मत वा आन्दोलन मार्फत विस्फोट गर्न सक्ने ल्याकत राख्छ । चलाखमध्येका चलाख नेताहरूले यस्ता कुरा सबैभन्दा पहिले बुझ्छन् ।

त्यस अर्थमा आजको दिनमा क्रिकेट मैदानका तस्बिर या टिभी स्क्रिनका अघिल्तिर खिचाएका तस्बिरको जति अर्थ छ, त्यति अर्थ त अगुवा कार्यकर्ता प्रशिक्षणका तस्बिरको पनि छैन । किनभने ‘मिसन ग्रासरुट्स’, मेचीकाली अभियान, राष्ट्रव्यापी जनपरिचालन आदिमा त नयाँ पुस्ता उल्लेख्य रूपमा आउनेवाला छैन । पछिल्ला केही सातायताका सार्वजनिक समारोहहरूमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा आदि उपस्थित हुँदा निक्खर कार्यकर्ता बाहेक कति संख्यामा युवा उपस्थित थिए भनी मोटामोटी ग्राफ अध्ययन गरियो भने पनि यस्तो निष्कर्ष लगाउन सकिन्छ ।

त्यसैले राजनीतिक दौडको बदलिंदो मैदानमा रवि लामिछाने यति वेला प्रचण्ड, ओली, देउवासँग होइन, बालेनसँग प्रतिस्पर्धा गरिरहेका छन् । पहिला दलाल, प्रतिगामीसम्म भने पुग्थ्यो, अब त राजनीतिक बोलीचाली ‘चोर, डाका’ मै झरिसकेको (कतिपयका लागि चढिसकेको) छ । उता हर्क साम्पाङ आफैंले सिर्जना गरेका झमेलाहरूसँग भिडिरहेका छन् । संसदको सिट संख्यामा ठूला दलहरूलाई अब एकअर्काको मात्रै चासो राखेर नपुग्ने भएको छ । संसदको सिट संख्यामा हाललाई साना, अनि कति त संसदमै नभएका शक्ति उनीहरूलाई तर्साउन पर्याप्त छन् ।

नेपाल र भारतबीचको क्रिकेट खेल हेर्न श्रीलंका पुगेका रास्वपा सभापति रवि लामिछाने

र, तीमध्ये रवि लामिछाने र बालेन शाह श्रीलंका उड्दै गर्दा काठमाडौंका नेताहरूको आँखामा भारत–नेपाल क्रिकेट होइन, मिसन ८४ को अभ्यास खेल नाचिरहेको छ । अत्यन्तै सीमित स्रोत–साधन र एक्स्पोजरका बीच नेपाली क्रिकेटरहरूले दिइरहेको उपलब्धि, (जसमा यो पंक्तिकार बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई गणना गर्न बिल्कुलै अनिच्छुक छ) सँग नेपाली जनमानस एकाकार भएको वेला हो यो ।

खेल भावना हो, राजनीति विचार । नेपालमा हालका लागि क्रिकेट ‘विचार’ नै हुने सम्भावना देखिएको छ । सफल नेता ती हुन्, जसले विचारलाई भावनात्मक रूपमा जनताको बहुसंख्यासामु पेश गर्न सक्छन् । रवि, बालेनहरू त आफ्ना भावनाहरूलाई नै विचार मानेर फेसबुकमा लेख्छन्, मेट्छन् । विचार भए पो रहिरहन्छ, भावना मेटिन कति बेर ! तर मुख्य प्रश्न रवि, बालेनहरूलाई होइन, जसले स्टेडियममै गएर भाषण दिनेदेखि काठमाडौंमा आफैंले ‘चोर’ करार गरेको सरकारले जग्गा दान दिए रंगशाला बनाइदिनेसम्मका आकर्षक बाचा गरे । मुख्य प्रश्न उनीहरूलाई हो, जसले यति धेरै असुविधाहरूका बीच पनि खेलाडीहरूले विराट कोहलीदेखि आईसीसी एकदिवसीय वरीयताको पहिलो नम्बरमा रहेका ब्याट्सम्यान बाबर आजमसम्म आफूलाई उभ्याउन सफल हुँदा पनि त्यो सफलताको घनत्व र महत्व बुझ्नै सकेनन् ।

उनीहरूले बुझेका हुन्थे भने संसारले हाम्रो खेलभावनाका झरीमय तस्बिर सेयर गरिसक्दा पनि पारापिट समेत नभएका अपर्याप्त भौतिक पूर्वाधारमा हाम्रा खेलाडी र दर्शकले चित्त बुझाउनुपर्ने थिएन । रूख चढेर भए पनि क्रिकेट हेर्न नछाड्ने दर्शकको बहादुरीका कथा लेखिए, बाध्यताका कथा लेखिन बाँकी नै छन् ।

उनीहरूले फोटो टाँस गरिसक्दा रवि, बालेन लंका उडानमा थिए । टाइम जत्तिकै महत्वपूर्ण छ टाइमिङ, जसमा मूलधार भनिएका पार्टीका नेताहरू पछि परे । जबकि उनीहरूलाई प्रष्टै थाहा भइसक्यो, यो क्रिकेटको ‘डल्ला फाल्ने खेल’ मात्रै होइन, मिसन ८४ को छद्म रिहर्सल पनि हो । सत्ता–प्रतिपक्षका नेताहरु, यो रिहर्सललाई रमाइलो मानेर बस्नेमा सीमित हुने कि बाध्यताले विदेशिँदै गरेको, अनि परदेशिने सोच बनाउँदै गरेको पुस्तासँग बेला छँदै संवाद गर्ने ?



source https://www.onlinekhabar.com/2023/09/1362702

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More