Sunday 14 January 2024

योगबाट कसरी यसबाट पूर्ण लाभ लिन सकिन्छ ?

मानव जीवनमा तीन प्रकारका पीडा छन् ।

एक, अध्यात्मिक ।

दुई, भौतिक ।

तीन, दैविक ।

यी दुःखबाट कसरी छुटकारा पाउने ? यसमा थुप्रै दर्शन छन्, जसले उन्मुक्तिको माध्याम वा तरिका बताएको छ । त्यसैमध्ये एक हो, योग दर्शन ।

हाम्रो मनमा दुई कार्य हुन्छन् । एउटा दुखद् र अर्को सुखद् । मनमा हुने जति पनि क्रियाक्रलाप छ, त्यसले हामीलाई या त आनन्द दिन्छ, या त पीडा । यो दुबै खालको मनको गतिविधिलाई रोक्ने क्रियाकलाप योग हो । पूर्विय दर्शनले योगलाई चित्तवृत्ति निरोध भनी व्याख्या गरेको छ । यसको अर्थ जसले मनको कार्य वा मनको विचारलाई रोक्छ त्यो योग हो ।

सहज रुपमा बुझ्दा योग भनेको जस्तोसुकै दुःखबाट बाहिर आउने मुक्तीको बाटो हो ।

शरीरभित्र के छ ?

हामीले सरसर्ती हेर्दा जे देख्छौं, त्यो मात्र शरीर होइन । शरीर भित्र सात तहले बनउको हुन्छ, सास, चित्त, बृद्धि, मन, अहंकार, समाधि र आत्मा । यी सात तह नै जबसम्म शुद्ध र स्वस्थ हुन्न तबसम्म हामी दुःखमै डुबिरहन्छौं ।

दुःख, कष्ट, रोगव्याधिमा हुन्छौं । यी सम्पूर्ण तहमा खुसी र आनन्दित हुने माध्याम नै योग हो ।

योगको आयम

आम बुझाई के छ भने योग भनेको व्यायाम वा आसन हो । शरीरलाई तन्काउनु, उफ्रिनु, बंगाउनु योग हो । व्यायाम गर्नु, विभिन्न आसनमा रहनु चाहिँ योगको एउटा अंग मात्र हो ।

तर, यो आफैमा सम्पूर्ण होइन ।

योग दर्शनलाई मान्ने हो भने त्यहाँ अष्टङ्ग योगको अवधारणा छ । यस अन्र्तगत यम, नियम, आसन, प्राणायम, प्रत्याहार, ध्यान, धारणा, समाधि पर्छ । यी योगका आठ अंग हुन्, जुन पुरा भएपछि मात्र योग पूर्ण हुन्छ ।

मन, आत्मा, शरीर सबैलाई यसमा समाहित गराउनु पर्छ । यसरी हरक्षण सचेतपूर्वक शरीर र मस्तिष्कलाई एउटै लयमा जोड्नु नै योग हो ।

शरीरलाई श्रम, मनलाई विश्राम

शरीरको सिद्धान्त भिन्न तरिकाले चल्छ । शरीर स्वस्थ राख्न परेमा शरीरलाई काम दिनुपर्छ । कामले शरीरलाई सक्रिय राख्छ ।

किनभने केही नगरी सुतिरहने र आराममात्र गरिरहँदा शरीरमा रक्तसंचारको कमी हुन्छ । अंग चलायमान हुन नपाउँदा शरीर विग्रन सुरु गर्छ । शरीरलाई स्वस्थ रहन केही न केही काम गर्नैपर्छ ।

यता, मनको सन्दर्भमा ठयाक्कै उल्टो छ । मनलाई आराम चाहिन्छ । विश्राम चाहिन्छ । तर, हाम्रो दैनिकी विपरित दिसामा लागिरहेको छ । मन वा दिमागलाई सक्रिय राख्छौं । मनमा हजार कुरा खेलाउँछौं । मनलाई एकछिन पनि सुस्ताउन वा आरमले बस्न दिदैनौं । केही न केही सोचिरहन्छौं, कल्पिरहन्छौं, तर्क वितर्क गरिरहन्छौं ।

यसरी हरबखत चञ्चल भइरहने मनलाई विचारसून्य स्थितीमा ल्याउनु योग हो ।

मनको विज्ञान

मन सुक्ष्म छ । मनलाई हामी अनुभव गर्न सक्छौं । तर, देख्न सक्दैनौं । नदेखेको मनलाई सोझै नियन्त्रण गर्न सकिन्न ।

यसलाई नियन्त्रण कसरी गर्ने त ?

यसको सर्वोत्तम माध्याम हो, श्वासप्रश्वास । श्वास नै शरीर र मनलाई जोड्ने माध्यम हो ।

जस्तो मन अस्थिर भइरहेमा, अनेक कुरा खेल्न थालेमा गहिरो श्वास लिनुपर्छ । यो क्रम केही समय दोहो¥याएपछि तपाईं स्वयम्ले अनुभव गर्नुहुनेछ । कपालभाती, भास्त्रिका जस्ता प्राणायाम लाभदायक हुन्छ ।

के गर्छ योगले ?

योगले शरीरलाई स्वस्थ, तन्दुरुस्त, फुर्तिलो बनाउँछ । तर, यसको लाभ यति मात्र छैन । मानसिक, भावनात्मक, आत्मिक र सामाजिक रुपमै योगले हामीलाई लाभान्वित गराउँछ ।

शरीरको प्रतिरोधी क्षमता बढाउँछ । मनको एकाग्रता बढाउँछ । भावनात्मक रुपमा बलियो बनाउँछ । सामाजिक सम्बन्धहरु प्रगाढ बनाउँछ ।

हामी सबैको चाहाना के हुन्छ भने थोरै प्रयासमा, थोरै समयमा, थोरै श्रममा धेरै कुरा हासिल गरौं भन्ने हुन्छ । तर, बर्तमान समयमा सुविधा धेरै छन् । नयाँ नयाँ प्रविधि छ, जसले हाम्रो काम सहज बनाएको छ । यति हुँदाहुँदै पनि हामी दुःखी छौं ।

दुःखी किन छौं ? यसको एउटै कारण छ, तनाव ।

तनावको कारक तत्व प्राय एकै हुन्छ । त्यो हो, जीवनमा धेरै गर्नु छ तर समय सीमित छ । र, काम गर्ने उर्जा पनि आवश्यक भन्दा कम छ । यो स्थितीले नै हामीलाई तनावग्रस्त बनाएको छ ।

कर्मलाई घटाउन सकिदैन । किनभने प्रतिस्पर्धात्मक जीवन छ । जस्तै भएको तलब घटाउन सोच्न सकिदैन । भएको कारोबार कम गर्न मनले दिदैन । कम पढ्छु भनेर बस्न पनि कोही चाहँदैन । समय सबैका लागि बराबर छ । २४ घण्टालाई २५ मा पु¥याउन सकिदैन । हामी भित्र गर्न सक्ने एउटा चिज छ, त्यो भनेको उर्जाको घटबढ हो ।

यदि शरीरमा भएको उर्जालाई बढाउन सक्ने हो भने हामी स्वत तनावमाथि विजय प्राप्त गर्न सक्छौं ।

शरीरको उर्जालाई कसरी बढाउने त ? यसका लागि सर्वोत्तम माध्याम हो, योग, ध्यान र साधना ।

उर्जा बढाउन चार पक्षमा ध्यान दिनुपर्छ । हामीले के खाइरहेका छौं ? हाम्रो निद्रा कस्तो छ ? हामी कुन गतिले सास फेरिरहेका छौं ? र, ज्ञानको स्रोत कति बढिरहेको छ ? यी कुरामा ध्यान दिएमा बौद्धिक र शारीरिक रुपमै उर्जावान भइन्छ ।

उर्जावान मात्र नभएर हामीले गर्ने अभ्यासले शरीरको कार्य प्रणालीमा फाइदा पुग्छ । जति पनि रोग छन्, त्यसबिरुद्ध लड्न प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । जुन नियमित रुपमा गर्ने सुदर्शन क्रिया र ध्यान जस्ता विधिहरु छन् ।

यस्ता योगले एकाग्रता बढाउने, सिर्जनशिल बनाउनेदेखि पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो बनाउँछ ।

योगलाई विधिपूर्वक गरौं, नभए हानि हुनसक्छ

स्वास्थ्यप्रति अहिले सजगता बढेको छ । यही कारण घर घरमा योग गर्नेहरु बढेका छन् । टोल टोलमा योग सिकाउने सेन्टर खुलेका छन् । योगले व्यापकता पाउनु पक्कै पनि सुखद् कुरा हो तर, योगको गुणवत्ता कस्तो छ ? ख्याल गर्नैपर्छ ।

किनभने लामो समयदेखि योग गरिरहेका कतिमा घुँडा दुख्ने, काँध दुख्ने, कम्मर दुख्ने, ढाँड दुख्ने जस्ता समस्या देखिएको छ । यसको कारणमध्ये एक हुनसक्छ योगको सही अभ्यास नगर्नु ।

योग अभ्यास गरिरहँदा जानी नजानी गरिने कतिपय गल्तीले यस्तो भएको हुनसक्छ ।

खासमा योग जथाभावी गर्नु उचित हुँदैन । योग सही ढंगले, सही समय तालिकामा गर्नुपर्छ । योग पूर्णताका साथ गर्नुपर्छ । यदि देखासेखीमा वा कसैको हेरेर योग गर्दा त्यसले आफुलाई फाइदा नगर्न सक्छ । किनभने योग आसन अनेक छन् र मान्छेको आवश्यक्ता अनुसार कुन योग गर्ने भन्ने टुंगो हुन्छ ।

मानौं सूर्य नमस्कार एकदमै राम्रो योग आसन हो । तर, यसलाई सबैले गर्नु मिल्छ त ? गर्न मिलेमा कति तिब्रताका साथ गर्ने ? इत्यादि कुरा मान्छेको अवस्था हेरेर निर्धारण गर्नुपर्ने हुन्छ । त्यसैले योग सुरु गर्नुअघि सम्बन्धित चिकित्सक, दक्ष योग प्रशिक्षकलाई परामर्श लिएर आफुले कुन कुन योग गर्न मिल्छ ? कसरी गर्न मिल्छ भनेर जान्नु जरुरी छ ।



source https://www.onlinekhabar.com/2024/01/1419901

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More