Tuesday 23 January 2024

शक्ति गौचन भन्छन् – नेपालले पाकिस्तानलाई हराउनु त्यो विश्वकपकै सबैभन्दा ठूलो उथलपुथल थियो

१० माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचनले आईसीसी यू–१९ विश्वकप २००२ मा न्युजिल्यान्डामा नेपालले पाकिस्तानलाई हराउनु प्रतियोगिताकै सबैभन्दा ठूलो अपसेट (उथलपुथल) भएको बताएका छन् ।

अनलाइनखबरसँग शक्तिले उक्त ऐतिहासिक विश्वकप जितको क्षण बताएका छन् । ‘त्यो यू-१९ विश्वकपको सबैभन्दा ठूलो अपसेट थियो । त्यो अहिले सम्झदा एकदमै ऐतिहासिक क्षण लाग्छ । हाम्रो लागि एकदमै अविश्वसनीय दिन थियो’, शक्तिले उक्त जित सम्झदै भने ।

ब्याटिङमा नेपाल १५१ रनमै अल आउट भएको थियो । नेपालका बरदान चालिसले सर्वाधिक ४२ रन बनाएका थिए । पाकिस्तानलाई नेपालले १२१ रनमा अल आउट गर्दै ३० रनको जित हात पारेको थियो ।

विश्वकपमा र अन्य प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको त्यो नै एकमात्रै खेल हो ।

नेपाललाई जिताउन शक्ति गौचनले १० ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

त्यस्तै अर्का स्पिनर सन्जम रेग्मीले ३, विनोद दास, बरदान चालिसे र लाक्पा लामाले १-१ विकेट लिएका थिए ।

 ‘त्यो अनएक्सपेट विन थियो । त्यो समय सलमान बट, उमर गुल, अजर अली, खालिद मकसुद जतिपनि थिए ती सबै टप लेभलका खेलाडी थिएँ । आगामी दिनमा पाकिस्तानका सुपरस्टार पनि भनेर चर्चा भएको थियो । हामी उनीहरु नजिक नजिक थियौं । त्यो समय उनको पेश बलिङ खेल्ने क्षमता हामीमा एकदमै गाह्रो थियो’, शक्तिले भने ।

न्युजिल्यान्डको विकेटमा झनै गाह्रो भएको उनी बताउँछन् । ‘उनीहरुको पेश खेल्ने क्षमता हाम्रो ब्याटरमा एकदमै गाह्रो थियो । त्यसमा पनि न्युजिल्यान्डको कन्डिसन र हरियो विकेटमा खेल्न मलाई पनि धेरै गाह्रो भएको थियो । बरदानले एकदमै राम्रो इनिङ खेलेको थियो । हामीले कसोकसो गरेर १५० माथिको स्कोर बनायौं’, शक्तिले भने ।

त्यसैमा शक्तिले थपे, ‘त्यो समय रोय डायस सर हुनुन्थ्यो । उहाँले हामीलाई बेस्ट क्रिकेट खेल्न भन्नु भएको थियो । हामीले राम्रो सुरुवात गयौं र फिल्डिङ बलियो पक्ष हुँदा केहि गर्न सक्छौं भनेर त्यो कन्फिडेन्स दिनु भयो । त्यसपछि हामीले सुरुवात गयौं । सुरुवातमै हामीले दुई विकेट लियौं । त्यसपछि स्पिन आक्रामण आयो ।’

शक्तिले आफूले एक उत्कृष्ट क्रिकेट त्यो समय खेलेको बताउँछन् ।

‘त्यो मलाई लाग्छ मेरो वन अफ द बेस्ट फममा बलिङ स्पेल गरे । १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । त्यसले गर्दा प्रमुख ब्याटरलाई आउट गरे । त्यसपछि सन्जम, लाक्पा र बरदानले पनि विकेट निकाले’, उनले भने ।

उक्त खेल जित्नुमा फिल्डिङमा मिराकल गर्दा सफल भएको उनी बताउँछन् । ‘त्यो खेलमा हामीले तीनवटा एक्स्ट्रानोरी क्याच लियौं । एउटा सञ्जम, अर्को लाक्पा र प्रेम चौधरीले लिएका थिए । त्यो तीन क्याचले एउटा मिराकल थियो’, उनले भने ।



source https://www.onlinekhabar.com/2024/01/1423959

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More