१२ माघ, काठमाडौं । नेपालमा राम्रो प्रदर्शन गर्ने खेलाडी प्रदेशमा टिकाउनै मुश्किल छ । धेरै खेलाडीको सपना विभागीय टोलीबाट खेल्ने हुन्छ । विभागले पनि प्रदेशबाट राम्रो गर्ने खलाडी टपक्क टिपेर लैजान्छन् । विभागमा पाउने सानोतिनो केही आर्थिक सुविधाको कारण खेलाडीहरु प्रदेश बस्न चाहँदैनन् । बसुन् पनि किन ? जब प्रदेशले जति राम्रो गर्दा पनि केही दिन नै सक्दैन ।
तर विभागमा जाँदा स्टार खेलाडीको छायाँमा वा पर्याप्त खेल्ने मौका नपाएर आफ्नो करिअर नै धरापमा पार्ने जोखिम पनि हुन्छ । प्रदेशमा सेवा सुविधा शून्य हुँदा त्यो जोखिम लिन कहरमा फस्छन् ।
नेपालका युवा विकेट किपर अनिलकुमार साहले २०२१ मा नेपाल पुलिस क्लब छाडेर मधेश फर्किने निर्णय लिए । धेरैका लागि त्यो आश्चर्यजनक भए पनि अनिल आफ्नो निर्णय सही हुनेमा पूर्ण विश्वस्त थिए । त्यसको मुख्य कारण स्वतन्त्र भएर खेल्ने उनको चाहना थियो ।
गत वर्षदेखि पवन सरार्फले पनि पुलिस छाडेर मधेश गए । यी दुबै खेलाडीले यस पटकको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा शानदार प्रदर्शन गरेका छन् ।
नेपालको पहिलो रोजाइका खेलाडी कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, कुशल मल्ल लगायत अधिकांश विभागमा भएका खेलाडी रन बनाउन संघर्ष गरेका छन् । तर अनिल यस प्रतियोगितामा बिहीबारसम्म सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् ।
बिहीबार टियु मैदानमा अनिलले गण्डकीविरुद्ध १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको एक शानदार शतकीय इनिङ खेले । यो शतकका साथ अनिल ८ खेलमा १ शतक र २ अर्धशतकका साथ ३७० रनका साथ शीर्ष स्थानमा छन् ।
‘मैले आफूलाई जुन हिसाबले तयार परेको छु त्यसले शतक नबनेको खण्डमा पनि म सकारात्मक हुन्थें । शतक आएर केही फाइदा होला । यो शतक नआएको भए पनि म मेरो माइन्ड सेट परिवर्तन गर्ने थिएन । शतक त कुनै न कुनै बेला लाग्ने नै थियो’, अनिलले भने ।
‘रन अरु दिन पनि लागेको थियो । सुरुवात पाएर पनि ठूलो इनिङ खेल्न सकेको थिएन । आज ठूलो इनिङमा परिणत हुँदा खुसी छु । भित्रबाट खुसी नै थिएँ । तर त्यहाँ धेरै ओभर बाँकी हुँदा छोडर आउन मन थिएन । त्यो भन्दा ठूलो स्कोर खेल्ने सोच र ध्यान बनाएको थिएँ’, शतकको समयबारे उनले भने ।
२०१८ मा एपीएफले जित्दा अनिल टोलीका सदस्य थिए । त्यसपछि उनी पुलिस गएका थिए । तर पुलिसमा सिनियर टोलीका खेलाडी धेरै हुँदा माथिल्लो क्रममा आएर खेल्न पाएनन् । मध्यक्रम वा तल्लोक्रममा खेल्नुपर्यो । जसको कारण अनिलको ब्याट अपेक्षाअनुसार चल्न सकेन ।
त्यसैले २०२१ को पीएम कपपछि उनी पुलिस छाड्ने निर्णयमा पुगे । पीएम कप मधेशबाट खेल्दै २०२२ मा पहिलो पटक सेमिफाइनलमा पुर्याउन होस् वा दुई महिनाअघि भएको केपी ओली कप टि-२० प्रतियोगिता जित्न, अनिलको प्रदर्शन महत्वपूर्ण रह्यो । यस पटक पीएम कपमा पनि खुलेर रन बनाएका छन् उनले । त्यसको मुख्य कारण पुलिस छाडेर प्रदेश गएपछि स्वतन्त्र भएर खेल्न पाएको अनिल बताउँछन् ।
‘राष्ट्रिय प्रतियोगितामा पहिला त्यस्तो स्वतन्त्रतामा खेलिने थिएन । सिनियर टोलीबाट बाहिर भएपछि दिमागमा नकारात्मक सोच आउँथ्यो । प्रदेशबाट स्वतन्त्र भएर खेल्न पाएको छु’, उनले भने ।
त्यसमा उनले थपे, ‘विभागबाट खेल्दा सिधैं राष्ट्रिय प्रतियोगिता खेल्नुपर्छ । प्रदेशबाट क्लबदेखि नै छनोटको दबाब हुन्छ । त्यहिँदेखि नै दबाब हुँदा प्रदर्शन गरेर टोलीमा पर्नुपर्छ भन्ने सोच आउँछ । जिल्ला र प्रदेशका छनोटका खेलहरु हामी सिनियरहरुलाई अभ्यास खेल जस्तो हुन्छ । धेरैभन्दा धेरै खेल खेल्न पाइन्छ । त्यसैले गर्दा नै अहिले प्रदर्शन देखिएको छ ।’
‘पुलिसमा हुँदा काठमाडौं बसेर धेरै खेल खेल्न पाइएन । अभ्यासको लागि स्वतन्त्रता होस् र धेरैभन्दा धेरै खेल्न पाइयोस् भनेर पुलिस छाड्ने निर्णय लिएको हुँ । मेरो घर कलैयामा हाम्रो आफ्नै क्लब छ । आफ्नै मैदान हुँदा धेरै खेलहरु खेल्न पाउँछौं । त्यसले गर्दा यो प्रदर्शन देखिएको हो’, आफ्नो प्रदर्शनबारे उनले भने ।
खेलाडीमा स्वतन्त्रता नभए पैसाको कुनै अर्थ नहुने उनी बताउँछन् । ‘घरमा बसेर आफ्नै तरिकाले अभ्यास गर्न पाइन्छ । जुन स्वतन्त्रता विभागमा अलि हुँदैन । विभागमा रहँदा आर्थिक रुपमा मान्छे केही बलियो होला । खेलाडीको जीवनमा स्वतन्त्रता भएन भने त्यो पैसाको काम छैन । त्यसैले मैले पुलिस छाड्ने निर्णय लिएँ । म आफ्नो तरिकाले खेल्न पाउँदा रन बनेको छ,’ अनिलले भने ।
दशैं–तिहारमा मानिसहरु घर फर्किन्छन् । तर अनिलले यस पटक भारतको दिल्लीमा पुगेर अभ्यास गरेका थिए । त्यो मिहिनेत र त्याग अहिले पीएम कपमा उनको ब्याटबाट देखिएको छ । ‘मैले स्वतन्त्रताको जुन कुरा गरेँ नी हो त्यहिँ नै हो दिल्लीमा अभ्यास । मैले आफ्नो हिसाबले अभ्यास गर्न पाएँ । विभागमा हुँदा बढीमा १५ दिनको बिदा हुन्छ । १५ दिनको बिदामा गएर त्यो पैसा र समयको मात्रै खर्च हो । कुनै अर्थ हुँदैन’, उनले भने ।
दिल्लीमा उनले गत वर्ष स्पोर्ट्स क्यू एकेडेमी र यो पटक एमबी (मनविन्दर बिस्ला क्रिकेट एकेडेमी) मा आफ्नै खर्चमा प्रशिक्षण गरेर फर्किएका थिए ।
‘दिल्लीको क्रिकेटिङ कल्चर (संस्कार) पनि डिफ्रेन्स (फरक) छ । जे गर्दा पनि दिमागमा क्रिकेट हुन्छ । दिल्लीमा सिनियर खेलाडी भेटिन्छन् । म कसरी प्रदर्शन गर्न सक्छु भन्ने कुरा पाइन्छ । त्यसले गर्दा भारत गएको एकदमै राम्रो प्रशिक्षण भयो । बिस्ला सर किपर पनि हुँदा धेरै फाइदा भयो । म यो पटक ब्याटिङ मात्रै नभएर किपिङको लागि पनि गएको थिएँ’, उनले भने ।
नेपालको पहिलो किपरको रुपमा आसिफ शेख छन् । दोस्रो विकेट किपरको स्थान भने खाली छ । यो प्रदर्शनले अनिल नेपाल ए मात्रै होइन सिनियर टोलीमै पर्ने सम्भावना मजबुत बनेको छ । तर अनिल यो छनोटकर्ताको निर्णय हुने बताउँछन् ।
‘मैले आफ्नो खेल्ने तरिकालाई ब्याक गरेको छु । प्रदर्शन भएपछि नेपाल ए वा सिनियर भिन्दै कुरा हो । म नेपाली टोलीमा फर्किने वा नफर्किने मेरो हातमा हुँदैन । मैले गर्न सक्ने प्रदर्शन मात्रै हो’, उनले भने ।
यू–१९ र घरेलु क्रिकेटमा शानदार प्रदर्शनपछि अनिलले २०१८ फेब्रुअरीमा डिभिजन टु मा केन्याविरुद्ध नेपालको लागि डेब्यू गर्ने अवसर पाएका थिए । नेपालले त्यसै वर्ष अगष्ट १ मा ओडिआईमा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दा उनी नेपालको प्लेइङ–११ मा थिए ।
नेदरल्यान्ड्ससँग दुई खेलपछि उनले पुनः मौका पाउन २०२२ मा पपुवा न्यु गिनीसँगको सिरिज घरेलु मैदानमा फर्किनु परेको थियो । २०१८ मा राम्रो खेल्दै गर्दा पनि उनी टोलीबाट बाहिर भएका थिए । २०२२ मा दुई खेल उनलाई प्रमाणित गर्न पर्याप्त हुन सकेन ।
२०१८ देखि २०२३ सम्म नेपाली क्रिकेट निकै अस्थिर रह्यो । लगातार खेलाडी परिवर्तन हुँदा र टोलीबाट बाहिर भएपछि प्रदर्शन देखाउने आधार नहुँदा ठूलो मर्कामा परेका क्रिकेटर मध्यका एक अनिल पनि हुन् । तर यस पटक पाएको अवसरमा चुकेका छैनन् । सिनियर टोलीमा फर्किने यात्रा सहज बनाउँदै लगेका छन् ।
source https://www.onlinekhabar.com/2024/01/1425326
0 comments:
Post a Comment