Thursday, 30 January 2020

फ्रेस रिलिजमा परमिता र नीताको ‘दि कर्मा’

लामो समयदेखि सुनसान रहेको नेपाली चलचित्र यो सातादेखि भने केही चलायमान हुने अपेक्षा गरिएको छ । आज शुक्रबारदेखि नयाँ चलचित्र ‘दि कर्मा’ रिलिज भएको छ । योसँगै अब हरेक हप्ता नयाँ चलचित्र रिलिज हुनेछन् ।

आजबाट देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘दि कर्मा’ रिलिज भएको छ । यो चलचित्रमा परमिता आरएल राणा, नीता ढुंगाना, करण वर्मा, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा परमिता र वुद्दि खलपात्रको भूमिकामा देखिएका छन् । नीता र करण वर्माको एक्सनले दर्शकलाई उत्साहित बनाउन सक्छ । चलचित्र ‘दि कर्मा’ले नेपाल र भारतको सिमानामा हुने अपराधको घटनालाई प्रस्तुत गरेको छ । चलचित्रको बिहानी शोको व्यापार औषत छ ।



source https://www.onlinekhabar.com/2020/01/832704

मेरो बिहे फागुणमा पक्काः प्रियंका

नायिका प्रियंका कार्कीले आफ्नो बिबाह फागुण महिनामा पक्का भएको जानकारी दिएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले भनिन्–‘फागुणमै बिहे हुने पक्का भएको छ । हामी तयारीमा पनि जुटिसकेका छौ । तर, मिति फाइनल भैसकेको छैन । फागुण १७ गते राम्रो दिन छ, सायद यही दिनमा नै हुन सक्छ ।’

नायिका कार्कीले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै यो बर्ष बिहे नगर्ने बताएकी थिइन् । यस बिषयमा कार्कीले भनिन्–‘सधै काम भनेर बिहे पछि सार्दा सार्दै बिहे नै नहुने अवस्था आयो । काम त सधै नै हुँदोरहेछ । यसैले, फागुणमै समय निकालेर बिहे गर्न लागेका हौं ।’

उनले, आफ्नो भाइको नेपाल आउने टिकट पक्का भएसँगै बिहेको दिन फाइनल गर्ने बताइन् ।

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भएको एक बर्ष बढी भैसकेको छ । समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए । नायिका कार्की केही दिन अगाडि एक साता लामो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् ।



source https://www.onlinekhabar.com/2020/01/832703

मौद्रिक नीतिको समीक्षा हुँदै, पुरा होला बैंकर्सको माग ?

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा गर्न गृहकार्य शुरु गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षाका लागि राष्ट्र बैंकमा अर्को सातादेखि छलफल शुरु हुने भएको छ ।

राष्ट्र बैंकको एक उच्च अधिकारीले भने, ‘हामीले मौद्रिक नीतिका लागि आगामी सातादेखि छलफल शुरु गर्दैछौं, धेरै विषयहरुमा छलफल हुनेछ ।’

राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षालाई बैंक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायीहरुले समेत निकै चासो दिएका छन् । नेपाल बैंकर्स संघले त केहि दिन अघि बुँदागत रुपमा केहि व्यवस्थाहरु संशोधनको माग गर्दै लिखित पत्राचार नै गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गरी संघले आफ्ना मागहरु राष्ट्र बैंकसमक्ष प्रस्तुत गरेको थियो । यसकारण पनि बैंकहरुलाई आफ्ना माग पुरा होलान् कि नहोलान् भन्ने विषयमा निकै चासो छ ।

उता अटो व्यवसायीहरुको ध्यान मौद्रिक नीतिमा जानुको कारण चाहिँ सवारी साधनका लागि बैंकहरुले उपलब्ध गराउने कर्जाको हो । हाल सवारी साधन खरिदका लागि ५० प्रतिशत मूल्य नगद मै बुझाउनस पर्छ भने बाँकी ५० प्रतिशत रकम खरिदकर्तालाई बैंकले कर्जा उपलब्ध गराउन सक्छ ।

केहि वर्ष अघिसम्म ९० प्रतिशतसम्म डाउनपमेन्टमा पाइने गाडी राष्ट्र बैंकले कडाई गर्दै ५० प्रतिशत पुर्‍याएपछि व्यापार सुस्ताएको अटो व्यवसायीहरुले बताउँदै आएका छन् ।

गत महिना व्यवसायीहरुले अर्थमन्त्रीलाई नै भेटेर अटो कर्जाको विषयमा पुनर्विचार हुनुपर्ने धारणा राखेका थिए । सवारी साधन कर्जा धेरै दिए गाडि धेरै बिक्री हुने र भन्सार राजस्व पनि बढ्ने भएकाले अर्थमन्त्रीसमेत ‘कन्भिन्स’ भइसकेका छन् ।

यद्यपि, राष्ट्र बैंक स्वायत्त संस्था भएका कारण के-कस्तो व्यवस्था आउने हो भनेर व्यवसायीहरु मौद्रिक नीतिको समीक्षाको पर्खाइमा छन् ।

के छ बैंकर्सको माग ?

राष्ट्र बैंकलाई पत्राचार गर्दै संघले सहुलियत कर्जामा सरलता खोजेको छ । संघले चालु आर्थिक वर्षदेखि अनिवार्य गरिएको ऋणपत्र निष्काशनलाई बाध्यकारी नबनाउनु समेत आग्रह गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत कर्जामा आधारदरको बढीमा २ प्रतिशतसम्म जोडेर ब्याज लिन पाउँछन् । तर बैंकहरुको आधार दर धेरै नै फरक छ । राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत हारहारीमा आधारदर छ भने केही बैंकहरुको ११ प्रतिशतभन्दा माथि रहेको छ ।

यसकारण राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा लगानी गर्दा ८ प्रतिशत ब्याजमात्रै दिनसक्छ । तर कतिपय बैंकहरुको सहुलियत कर्जा नै १३ प्रतिशतसम्म ब्याज पुग्न आउँछ । यस्तो कम आधारदर भएको बैंकको मात्रै कर्जा लगानी हुने भन्दै संघले धेरै आधार दर भएको बैंकले कम आधारदर भएको बैंकसँग सहुलियत कर्जा किनेर लगानी गर्नुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

यसैगरी संघले ऋणपत्र (डिबेन्चर) निष्काशनलाई अनिवार्य नगर्न समेत आग्रह गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ चालु आर्थिक वर्षदेखि पुँजीको २५ प्रतिशत अनिवार्य डिबेन्चर निश्काषन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यसलाई बाध्यकारी नबनाउन संघले माग गरेको हो ।

यसैगरी संघले प्राथमिकता प्राप्त कर्जामा समेत सहजता खोजेको छ । अहिले राष्ट्र बैंकले कृषि, पर्यटन, ऊर्जा लगायतका प्राथमिकताप्राप्त क्षेत्रहरुमा २५ प्रतिशत अनिवार्य कर्जा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसमा कृषिमामात्रै १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्छ ।

संघले यसमा पनि सहजता खोजेको हो । कुनै बैंकको कर्जामा बढी हुने, कुनैको पर्यटनमा त कुनैको कृषिमा बढीमा लगानी हुने भन्दै संघले जसरी भए पनि कुल कर्जाको २५ प्रतिशत प्राथमिकता क्षेत्रमा लगानी गर्न पाउनुपर्ने माग अघि सारेको छ ।

बैंकर्स संघ भन्छ- असजिला माग छैनन्

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आफूहरुले पुरा गर्न नहुने खालको कुनै पनि माग नराखेको बताए । संघले अघि सारेका मागहरु पुरा भए बैंकिङ क्षेत्रलाई राम्रो हुने भन्दै राष्ट्र बैंकले पुरा गर्नुपर्ने बताए ।

राष्ट्र बैंकको नीति निर्देशन पालना गर्दै आएको र भएका नीति सुधार भए राम्रो हुने भएकाले सुझाव दिइएको अध्यक्ष दाहालले बताए ।

‘राष्ट्र बैंक हाम्रो अभिभावक हो, हामीले राष्ट्र बैंकका सबै नीति निर्देशन मान्छौं नै’ उनले भने, ‘तर केहि व्यवस्थाहरु सुधार भए सबैलाई राम्रो हुने भएकाले आग्रह गरिएको हो, पुरा गर्न नपर्ने कुनै माग छैन ।’

ऋणपत्र अनिवार्य हुनु आवश्यक नभएको उनले बताए । आवश्यक पर्नेले ऋण पत्र निकाल्ने र आवश्यक नपर्नेले आफ्नो इच्छा अनुसार निष्काशन नगरे पनि हुने भएकाले ऋण पत्र निष्काशन गर्नै पर्ने व्यवस्था संशोधन गर्न आग्रह गरिएको बताए ।

राष्ट्र बैंक भन्छ- आंशिक मात्रै संशोधन

बैंकर्सहरुको मागमा राष्ट्र बेंकले भने आंशिक मात्रै सम्बोधन हुन सक्ने बताएको छ । राष्ट्र बैंक श्रोतका अनुसार डिबेन्चर तथा कर्जा तथा निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड रेट) का विषयमा विद्यमान व्यवस्था संशोधन हुनेछैन ।

डिबेन्चर अनिवार्यबाट ब्याक हट्ने सम्भावना नरहेको राष्ट्र बैंकका एक अधिकारीले अनलाइनखबरलाई बताए । ‘चालु आर्थिक वर्षदेखि शुरु भएको व्यवस्था हो, कार्यान्वयन नै नभई पुनः संशोधन गर्नु उचित हुँदैन’ ति अधिकारीले भने, ‘डिबेन्चर अनिवार्य गर्ने व्यवस्था कायम नै रहनेछ ।’

राष्ट्र बैंकले आगामी असार मसान्तसम्म स्प्रेड ४.५ प्रतिशतमा झार्न निर्देशन दिएको छ । यो पनि कम भएको संघले बताएको । तर यसमा पनि राष्ट्र बैंक पछाडि नहड्ने भएको छ ।

अटो व्यवसायीहरुको माग भने राष्ट्र बैंकले संवोधनको तयारी गरेको छ । सवारी साधन कर्जा ५० प्रतिशतमात्रै पाउने व्यवस्था संशोधन गर्न व्यवसायीहरुले माग गरेका थिए । यसलाई ६५ प्रतिशत बनाउने गरी राष्ट्र बैंकमा छलफल भइरहेको राष्ट्र बैंक श्रोतले बतायो ।



source https://www.onlinekhabar.com/2020/01/832698

प्रअदेखि पियनसम्म महिला : हेड सरभन्दा दंग परेर हेर्दछन्

महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ ।

घोराही उपमहानगरपालिका–११ मा अवस्थित बालकल्याण मावि, खैराले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला छन् ।

प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहेकी छन् । विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो समय विद्यालय नमूना बनेको छ । ‘शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो, भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ,’ प्रधानाध्यापक रावत भन्छिन्, ‘विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेड सरभन्दा दङ्ग परेर हेर्ने गर्छन् ।’

यस विद्यालयमा सबै प्रअदेखि पियनसम्म सबै कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ । नयाँ भौतिक संरचना बन्ने क्रममा छन् । ‘हाल विद्यालयमा प्रअसहित १६ शिक्षका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौं,” उनले भनिन्, ‘विद्यार्थी धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।’

महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्, बालबालिका स्वतन्त्र रूपमा अध्ययन गर्न पाएका छन् । कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षक नआएर पनि कक्षा खाली हुन पाउँदैन । विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा छ ।

सहायक प्रधानाध्यापक विमला अधिकारी प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दाबी गर्छिन् । ‘सबै शिक्षकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ,’ उनले भनिन् ।

‘हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन,’ सहायक प्रअ अधिकारीले भनिन्, ‘एउटा खाका बनाएर अफिस कोठामा टाँस्छौं त्यसैका आधारमा काम गर्छौं ।’



source https://www.onlinekhabar.com/2020/01/832694

सौन्दर्यमा नयाँ प्रयोग : फेस मिस्ट

फेस मिस्टको चलन केही वर्षअघि देखि प्रारम्भ भएको हो । महिलाहरुले मेकअप गर्नु भन्दअघि छालालाई तयार गर्नका लागि क्लिन्जर र मोइस्चराइजरपछि मिस्टको प्रयोग गर्नु अति नै उपयोगी हुन्छ ।

वास्तवमा यसलाई प्रि -प्राइमर पनि भर्न सकिन्छ । किनभने यसले छालाको हाइड्रेसनलाई बढाएर त्यसलाई भित्रबाटै चम्किलो बनाउँछ । मेकअप गर्नु अगाडि फेस मिस्टको प्रयोग गर्दा मेकअप लामो समयसम्म सुन्दर र टिकाउ हुन्छ । यसलाई बढि प्राकृतिक र हर्बल प्रोडक्टले बनाइने भएकाले छालामा यसको प्रभाव पनि प्राकृतिक नै हुन्छ ।

सौन्दर्य विशेषज्ञहरुका अनुसार ब्यूटी इन्डस्ट्रीले पछिल्लो केही समयदेखि धेरै उन्नति गरेको छ र नयाँ-नयाँ उत्पादनहरुलाई महिलाहरुबीच परिचित पनि गराएको छ ।

यही क्रममा मिस्टको पनि प्रचलन पनि बढि हुन थालेको छ । वास्तवमा मिस्ट एक प्रकारको स्किन टि्रटमेन्ट हो, जसले छालालाई पोषण, सुन्दरता र मजबुती प्रदान गर्छ । किनभने आजका महिलाहरुले तनाव, प्रदुषण, अनियमित खानपान आदि विभिन्न समस्याहरुको सामना गर्नु पर्छ, जसको प्रभाव उनीहरुको छालामा सबैभन्दा पहिला देखिन थाल्छ ।

त्यस्तो स्थितिमा मिस्टको प्रयोग गरेर छालालाई केही हदसम्म बचाउन सकिन्छ । यसको प्रयोग गर्दा विभिन्न फाइदाहरु पनि पाउन सकिन्छ ।

मेकअप भन्दा पहिला फेस मिस्ट लगाउनाले ब्यूटी प्रोडक्ट सजिलै छालामा मिल्छ, जसले छिट्टै सुन्दर देखाउने, ताजा र आकर्षक देखिन्छ । यो हरेक किसिमको छालाका लागि उपयोगी हुन्छ ।

यदि अफिसबाटै कतै बाहिर पार्टीमा जानु पर्‍यो भने यसको स्प्रेले टचअप सजिलै हुन्छ । स्प्रे गरेपछि औंलाको टुप्पोले यसलाई सबैतिर मिलाउनु पर्छ । यसो गर्दा तपाईंको थकान कम हुन्छ र त्यसको असर तपाईंको अनुहारमा पनि देखिन्छ ।

यसलाई दिनको कुनै पनि समयमा लगाउन अथवा स्प्रे गर्न सकिन्छ, यसले सजिलै परफेक्ट लुक दिन्छ ।

यसले दिउँसो पनि रफ स्किनलाई ताजा बनाउन सक्छ, किनभने लामो समयसम्म एयर कन्डिसनरमा काम गर्दा अथवा घाममा बढि समयसम्म बस्नाले छालाको नरमपना कम हुन्छ । त्यस्तो स्थितिमा फेस मिस्टले छालाको नरमपनालाई यथावत राख्न सहयोग पुर्‍याउँछ ।

जुन महिलाहरुले धेरै मेकअप गर्छन्, उनीहरुका छाला सुख्खा हुन्छ । त्यस्ता छाला भएका महिलाहरुलाई फेस मिस्ट अति नै फाइदाजनक छ ।

यसले मोइस्चराइजरपछि हाइड्रेसनको एक्स्ट्रा लेयर बनाएर उत्कृष्ट टोनरको काम गर्छ ।

यसले छालालाई पूर्ण रुपमा प्राकृतिक देखाउँछ । जसका कारण यसलाई लगाउन कसैले पनि सोच्नु पर्ने आवश्यकता छैन अर्थात हरेक प्रकारको छालाका लागि फेम मिस्ट उपयुक्त छ ।

टी ट्री फेस मिस्टमा एन्टि-माइक्रोबायल समावेश हुन्छ । यसले छालाको शुद्धिकरण गर्छ । जसका कारण मानिसहरुले पसिना र चिपचिपाहबाट राहत प्राप्त गर्छन् । यसको प्रयोगले अनुहार चम्किलो हुन्छ र चाउरीपन पनि कम हुन्छ, जसका कारण उमेर भैसकेर पनि जवान  देखिन्छ ।

मिस्टको प्रयोग महिलाहरुले मात्र होइन पूरुषहरुले पनि गर्न सक्छन् । यो पूर्ण रुपमा स्किन केयर प्रोडक्ट हो ।



source https://www.onlinekhabar.com/2020/01/832695

त्यो एन्टिना जसले टाइटानिक दुर्घटनाको खबर दिएको थियो

अहिले हामी मोबाइल फोनबाट पृथ्वीको एक कुनाबाट अर्को कुनामा कुराकानी गर्न सक्दछौं । पृथ्वीमा मात्र होइन, पृथ्वीबाट लाखौं किलोमिटर टाढा रहेको अन्तरीक्षमा समेत कुराकानी गर्न सकिन्छ । वायरलेस सञ्चारको यो प्रविधिको आविष्कारको श्रेय गुग्लेल्मो मार्कोनीलाई जान्छ । उनले नै रेडियो टेलिग्राफको आविष्कार गरेका हुन् ।

इटालीको बोलाना सहरमा जन्मिएका हुन् मार्कोनी । पहिलो पटक आन्ध्र महासागरको एक छेउबाट अर्को छेउसम्म बेतारे अर्थात् रेडियो सन्देश पठाउन उनी सफल भए ।

आजभन्दा १ सय १९ वर्षअघि अर्थात् सन् १९०१ मा उनले यसको सफल परीक्षण गरेका थिए । बेलायतको तटीय क्षेत्रस्थित पोल्ढूबाट क्यानडाको सेन्ट जोन्स नामको सहरमा उनले रेडियो सन्देश पठाएका थिए । जुन तरंग सेन्टजोन्सस्थित टावरको एन्टिनाले पक्रिन सफल भयो । बेलायतबाट पठाइएको विद्युत् चुम्बकीय तरंग आन्ध्र महासागर पार सेन्ट जोन्सस्थित मार्कोनीको सिग्नल हिलस्थित एन्टिनामा पुगेको घटना वास्तवमै सञ्चारको क्षेत्रमा चमत्कार नै सावित भयो । यहीँ आविष्कारका लागि मार्कोनीले सन् १९०९ मा नोबेल पुरस्कार प्राप्त गरे ।

मार्कोनी पहाड अर्थात् सिग्नल हिललाई विज्ञानको दुनियाँमा तीर्थस्थल नै मान्ने गरिएको छ । यही पहाडमा रहेको एन्टिनाले नै दुनियाँलाई पहिलोपटक टाइटानिक जहाज दुर्घटनामा परेको खबर दिएको थियो ।

सिग्नल हिल क्यानडामा निकै लोकप्रिय पिकनिक स्पट पनि हो । त्यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन् । तथापि, त्यहाँ घुम्ने आउने धेरै मानिसलाई मार्कोनी पहाडको उक्त एन्टिनाको पूरै इतिहास थाहा नहुन सक्दछ ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/01/832689

भान्छाको प्रदूषण, गृहणीको स्वास्थ्यमा जोखिम

घर भित्र हुनु भएकोले आफुलाई कुनै किसिमको प्रदुषण झेल्नु पर्दैन भन्ने सोच्नु हुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ ।

लण्डनको रोफिल्ड यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार भान्छामा धुवाँ बाहिर जाने उचित निकास नहुँदा तपाईंको घर बाहिर हुने प्रदुषण भन्दा तीन गुणा धेरै प्रदुषण हुन्छ । अनि यो प्रदूषण बढाउने कार्य इलेक्ट्रोनिक बर्नरबाट भैरहेको हुन्छ । त्यस्ता प्रदुषणबाट तपाईंलाई घाँटि खस्खसाउने, टाउको दुख्ने, रिँगटा लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता विभिन्न समस्याहरु देखा पर्न सक्छ ।

भान्छामा प्रयोग हुने मसलाले केवल खानाको स्वाद बढाउने मात्र नभएर स्वास्थका लागि पनि फाइदाजनक हुन्छ । तर त्यस्ता मसलाले खानाको स्वाद त बढाउँछ नै, साथ-साथै ती  तेल मसला भएका खाना बनाउँदा धुवाँ पनि धेरै नै  उत्पन्न हुन्छ, जुन स्वास्थका लागि हानिकारक हुन्छ ।

महिलाहरुको बढि समय भान्छामा नै बित्ने गर्छ । त्यसैले महिलाहरुको स्वास्थका लागि एउटा त्यस्तो उपकरण पनि बजारमा उपलब्ध छ, जुन भान्छामा उत्पन्न भएका धुवाँलाई सजिलै र तुरुन्तै बाहिर निकालेर भान्छालाई प्रदुषणमुक्त गर्छ, त्यो हो चिम्नी ।

केही वर्ष अगाडिसम्म पनि हाम्रो घर ठुलो हुन्थ्यो । सामान्यतयाः भान्छा खुल्ला स्थानमा नै बनाइथ्यो । त्यस्ता भान्छामा धुवाँ घर भित्र फैलन पाउँदैन थियो । तर, अहिले बढ्दो जनसंख्याका कारण परिवारहरु फ्ल्याटमा सिमित हुन थालेका छन्, जसमा हावा र प्रकाशको कमी हुन्छ । मानिसहरुमा स्वास्थ सम्बन्धित विभिन्न समस्याहरु उत्पन्न हुन्छ । त्यसबाट बच्नका लागि राम्रो भेन्टिलेसनका साथै सही ढंगको इलेक्टि्रकल उपकारणहरुलाई बेला बेलामा सरसफाइ गर्न पनि उत्तिकै आवश्यक छ, जसले घर भित्र प्रदुषण हुन दिँदैन ।

भान्सामा प्रदूषणको कारण

अहिले आएर भान्सा केवल ग्याँससम्ममात्र सिमित छैन । अहिले पुरानो भान्सा मोड्यूलर किचेनमा परिवर्तन हुँदै गैरहेको छ, जसमा टोस्टर, माइक्रोवेव ओभनसहित अन्य धेरै सामानहरु अटाउन सक्छन् । तर, जहाँ यी इलेक्ट्रोनिक उपकरणहरुले समयको वचन गरिरहेका छन्, त्यहीं यीनले प्रदूषण समेत फैलाइरहेका छन् । जुन बाहिरको प्रदूषणभन्दा कैयौं गुणा बढि हानिकारक हुन्छ । ती उपकरणले कति सम्म हानी पुर्‍याँछन् ?

टोस्टर

सबै इलेक्ट्रोनिक बर्नरहरुले वाफबाट पैदा हुने डस्टका सूक्ष्मकणहरु उत्पन्न गर्दछन्, जुन प्रदूषणका लागि जिम्मेवार हुन्छन् । जब हामी लामो समयसम्म टोस्टरको प्रयोग गर्दैनौं र जब पुनः त्यसलाई प्रयोग गर्छौं, त्यो बेला त्यसमा जम्मा भएको फोहोर वाफको रुपमा सूक्ष्मकणहरुमा परिवर्तन भएर प्रदूषणको कारण बन्न पुग्दछन् । जसले स्वास्थ सम्बन्धि समस्याहरुको सामना गर्नु पर्ने हुन्छ ।

माइक्रोवेव

बेलायतको यूनिभर्सिटी अफ मेनचेस्टरका अनुसन्धानहरुका अनुसार माइक्रोवेव ओभनले कार्बन डाई अक्साइडलाई अत्यधिक मात्रामा उत्सर्जन गर्छ, जसले कारले भन्दा बढि खतरनाक प्रदूषण फैलाउनले काम गर्छ ।

रोटी मेकर 

त्यसो त रोटी मेकेरले छोटो समयमै तात्तातो रोटीहरु बनाइदिन्छ, तर के तपाईंलाई थाहा छ यसले पनि तपाईंको घरलाई प्रदुषित गरिरहेको हुन्छ भन्ने कुरा ? यदि तपाईंको घरमा यसबाट निस्कने धुवाँलाई बाहिर निकाल्ने प्रसस्त व्यवस्था छैन भने यसको प्रयोग निकै सावधानिपूर्वक गर्नु होला ।

हानिबाट बच्न के गर्ने ?

-धुवाँ तथा फोहोरलाई भान्साबाट बाहिर निकाल्नका लागि घरमा उचित भेन्टिलेसनका साथसाथै चिम्नीको पनि व्यवस्था गर्नु पर्छ, ताकि घरमा प्रदूषण नफैलियोस् ।

-चिम्नीमा समेत फोहोर जम्ने समस्या हुन्छ । त्यसैले चिम्नीमा जमेको फोहोरलाई हटाउनका लागि त्यसमा जडित फिल्टरहरु तथा त्यसको फ्रेमहरुलाई छोटो-छोटो समयमा सफा गरिरहनु पर्दछ ।

-जब-जब टोस्टर, माइक्रोवेवपछि कफी अथवा टि मेकर प्रयोग गर्नु हुन्छ भने त्यसको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । किनभने ती उपकरणहरुमा फोहोर जम्मा भयो भने प्रदूषणको खतरा अझै बढेर जान्छ ।



source https://www.onlinekhabar.com/2020/01/832686

गुगलले ल्यायो आफ्नै ‘टिकटक’

छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक अहिले विश्वभर निकै लोकप्रिय बनिरहेको छ । खासगरी पछिल्लो पुस्ता यसमा झुम्मिने गरेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको टिकटकको लोकप्रियताबाट अमेरिकी कम्पनी गुगल नलोभिने कुरै भएन । दुनियाँको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले पनि आफ्नै ‘टिकटक’ ल्याएको छ । गुगलले ल्याएको उक्त भिडियो मेकिंग तथा सेयरिङ एपको नाम Tangi हो । गुगलको Area १२० टिमले उक्त एपको निर्माण गरेको हो ।

गुगलका अनुसार यो एक सोशल भिडियो शेयरिंग एप हो जसमा छोटो आकारका भिडियोह शेयर गर्न सकिन्छ । खासगरी हाउ टु अर्थात् कुनैपनि जटिल कामलाई घरमै कसरी सजिलो सँग गर्न सकिन्छ ? भन्ने विषयका जानकारीमूलक भिडियोहरु तयार गरी यो एपमा सेयर गर्न सकिने कम्पनीले जनाएको छ ।

टिकटकमा जस्तै ट्यांगीमा पनि प्रयोगकर्ताहले एक मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सक्दछन् । टिकटकको उपयोग खासगरी मनोरञ्जनका लागि हुने गरेकोमा आफ्नो एपलाई चाहिँ ज्ञानमूलक उद्देश्यका लागि तयार गरिएको दाबी गुगलको छ ।

यो एपमा भिडियोका लागि पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्यलगायतका विभिन्न विधा रहेका छन् ।

अहिलेका लागि यो एप एप्पलको एप स्टोर तथा वेब भर्सनमा डाउनलोडका लागि उपलब्ध छ । युरोपेली युनियन सम्बद्ध देशबाहेक विश्वभरका प्रयोगकर्ताका लागि यो एप उपलब्ध रहेको छ । यद्यपि गुगलको आफ्नै प्ले स्टोरमा चाहिँ यो एप उपलब्ध भएको छैन ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि यो कहिलेबाट उपलब्ध हुनेछ भन्ने बारेमा कुनै जानकारी गराइएको छैन । गुगलका अनुसार अहिलेका लागि सीमित प्रयोगकर्ताहले मात्र यो एपमा भिडियो अपलोड गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताहले वेटलिस्टमा आबद्ध हुनुपर्नेछ ।
एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/01/832685

संयुक्त परिवार कति रमाइलो ?

कुनैबेला एउटै छानोमुनी आमाबुवा, हजुरबा-हजुरआमा, काकाकाकी, दाजुभाई, भाउजु-बुहारी, भाई बहिनी, छोराछोरी, नाता-नातिनी सबै अटाउँथे ।

हजुरबा-हजुरआमा आस्थाका धरोहर थिए । श्रद्धाका प्रतिमूर्ति थिए । उनीहरुले नै परिवारलाई सही निर्देशन र संस्कारमा डोहोर्‍याउँथे । भाउजु-बुहारी परिवारको मियो थिए । उनीहरुकै कारण घर उज्यालो हुन्थ्यो । साना लालाबाला घरका सौन्दर्य थिए । उनीहरुको चकचक, नोकझोंक, उत्साहले घरको माहौल रमाइलो बनाउँथ्यो । दाजु-भाईहरु घरका भर थिए । उनीहरुकै आड-भरोसमा परिवारले सुरक्षित अनुभव गथ्र्यों ।

संयुक्त परिवारको आफ्नै शक्ति हुन्छ । संयुक्त परिवारमा एकअर्काको आडभरोसा रहन्छ । खुसीमा रमाउन र दुःखमा साथ दिने परिवारका सदस्यहरु हुन्छन् । हजुरआमा-हजुरबाको दैनिकी पनि पट्यारलाग्दो हुँदैन । उनीहरुले आफ्ना सन्ततीसँग घुलमिल भएर रमाइलो दिनहरु बिताउन पाउँछन् । यसैगरी साना बालबालिकाले पनि आफ्ना दौतरी पाउँछन् । आफुजस्तै साथीसंगीसँग खेल्दै हुर्कने वातावरण पाउँछन् । अर्कोतिर हजुरआमा-हजुरबाको स्नेहमा रमाउन पाउँछन् ।

संयुक्त परिवारमा बस्नुको अनेक फाइदा छन् । संयुक्त परिवारमा बस्दा सुरक्षाको अनुभूति हुन्छ । आफ्नो समस्या हल गर्नका लागि अरु सदस्यको साथ रहन्छ । एकअर्कासँग दुःख र सुख साटेर बाँच्न सकिन्छ ।

संयुक्त परिवारको खास सौन्दर्य भनेको त हजुरबा-हजुरआमादेखि नाता-नातिनासम्म एकै छानोमुनी रमाउन पाउनु हो । एकै भान्सामा पाकेको खान पाउनु हो ।

हरेक परिवारको आफ्नै रीतिथीति हुन्छ, चालचलन हुन्छ, परम्परा हुन्छ । यीनै कुराले परिवारलाई एकढिक्का बनाई सौहार्द्धपूर्ण ढंगले अगाडि बढाइरहेको हुन्छ । यसरी संयुक्त परिवारमा बस्दा पारिवारिक संस्कार पनि एक पुस्ता देखि अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ ।

पारिवारिक संस्कारले आफ्ना सन्ततीलाई सही मार्गमा डोहोर्‍याउने भएकाले यसलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ । यद्यपि अहिले धेरैजसोले आफ्नो पारिवारिक संस्कारलाई उपेक्षा गर्दै गएको पाइन्छ । त्यही कारण नयाँ पुस्ता पथभ्रष्ट बन्दै गएका छन् ।

खुम्चदैछ परिवार

अहिले परिवारको आकार खुम्चदैछ । संयुक्त परिवार टुक्रदैछ । परिवारका सदस्यहरु आपसमा अलग हुँदैछन् । एउटा दम्पतीको एउटा परिवार बन्दैछ । एकअर्काबीचको सम्बन्ध, संवाद, सरसहयोग धरापमा पर्दैछ ।

अहिले आमाबुवा अलग छन्, छोराछोरी अलग । हजुरबा, हजुरआमा एक्लो छन् । बालबच्चा पनि एक्लो । आफन्त, इष्टमित्र, नातेदारबीच हार्दिकतापूर्वक सम्बन्ध छैन । केवल औपचारिकतामा सीमित छ ।

छोरा-बुहारी घरबाट अलग भएका छन् । उनीहरु सानो परिवारको मोहमा तानिएका छन् । मूल घर वा मूल परिवारबाट अलग भएर छुटै परिवारको रचना गरिरहेका छन् । त्यसैगरी एक दम्पतीले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । तीन जनाको एउटा परिवार ।

न श्रीमान्-श्रीमतीबीच भलाकुसारी गर्ने माहौल छ । न बच्चासँग कुराकानी गर्ने कोही साथी छ । उनीहरु पनि एक्ला-एक्लै छन् । न कुनै उत्सवमा खुसी साट्ने आफन्त छन्, न दुःख-बिराम, साह्रो-गाह्रोमा साथ दिने । सबै आ-आफ्नै मेलोमेसो मिलाउने चक्करमा एकलकाँटे भएका छन् ।

एकातिर दम्पतीलाई आफ्नो बच्चासँग खेल्ने, रमाउने समय छैन । धेरैजसोले बच्चालाई डे केयर सेन्टर, होस्टलमा पठाएका छन् । यसरी उनीहरु पनि एकअर्काबाट विमुख हुँदैछन् ।



source https://www.onlinekhabar.com/2020/01/832682

हिउँदे वर्षातले तरकारीमा क्षति

१७ माघ, बाँके । पटकपटकको हिउँदे वर्षाले बाँकेमा लगाइएका आलुलगायतका तरकारीबालीमा क्षति पुगेको छ ।

जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानीजस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिए । उनका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ ।

यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तीमध्ये आलु दुई हजार ८००, गोलभेँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ ।

हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभेँडा खेतीमा क्षति भएको छ । उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ । खाल्डो जग्गामा लगाएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ । उँचो ठाउँमा लगाएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले जानकारी दिए ।

किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गरे ।



source https://www.onlinekhabar.com/2020/01/832683

नेकपा बैठकमा भाग लिन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

१७ माघ, धनगढी । नेकपा केन्द्रीय समिति बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाकाे शुक्रबारका लागि बाेलाइएकाे बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो । तर आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं हिँडेपछि बैठक स्थगित गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नआउने भएपछि बैठक स्थगित गरिएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । धामीका अनुसार, अर्को बैठक आगामी आइतबारका लागि डाकिएको छ ।

बैठक स्थगित गर्ने संसद् सचिवालयको निर्णयप्रति कांग्रेसले भने असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले महत्त्वपूर्ण विषयमा छलफल चलिरहँदा  मन्त्री नै अनुपस्थित हुनु उपयुक्त नभएको बताए ।

‘यस्तो महत्त्वपूर्ण विषयमा मन्त्रीहरू नहुनु ठीक होइन,’ उनले भने, ‘सरकारले सदनलाई महत्त्व दिइरहेको छैन ।’

यसअघि पनि ‘रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री शाह नहुँदा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले दिएका थिए । कानूनमन्त्री मात्रै होइन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अनुपस्थित हुँदा बुधबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्योग, पर्यटन, वन तथा वातावरणका दुई विधेयक प्रदेशसभामा टेबल गरेका थिए ।

मन्त्री सुवेदीले विधेयकमात्रै टेबल गरेनन्, विधेयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिएका थिए । यसप्रति प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै आएका छन् ।



source https://www.onlinekhabar.com/2020/01/832674

ईयूबाट अलग्गियो बेलायत

१७ माघ, काठमाडौं । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो ।

ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘ब्रेक्जिट अन्त्य नभएर सुरुवात हो,’ बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले भनेका छन् ।

ईयूबाट बाहिरिएपछि ११ महिना संक्रमणकाल रहनेछ ।

युरोपियन कमिसनकी अध्यक्ष युर्सुला भोन डेर लियनले ईयू र यूके असल मित्र र साझेदारका रूपमा रहिरहून भन्ने आफ्नो चाहना रहेको बताएकी छन् । बेलायत ईयूबाट बाहिरिएपछि पनि टाढा नहुने र माया गरिराख्ने उनको भनाइ छ ।

बेलायत (ब्रिटेन)ले गत वर्ष २९ मार्चदेखि यूरोपेली युनियनबाट अलग्गिने प्रक्रिया (ब्रेक्जिट) सुरु गरेको थियो । त्यसपछि २३ जूनमा जनमत संग्रह गरिएको थियो जसको परिणाम यूरोपेली युनियनबाट अलग हुने पक्षमा आएको थियो । ५१.९ प्रतिशत मतदाताहरुले अलग हुने पक्षमा मतदान गरेका थिए भने ४८.१ प्रतिशतले विपक्षमा । जनमत संग्रहको फैसलापछि डेभिड क्यामरुनले पद छोड्ने घोषणा गरेपछि पूर्वगृहमन्त्री टेरिजा मे नयाँ प्रधानमन्त्री बनेकी थिइन् ।

तर, संसदबाट अनुमोदन गराउन नसकेपछि तत्कालीन प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिइन् । त्यसपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए । जोनसनले पनि ‘नो–डिल ब्रेक्जिट’ अर्थात् विना कुनै सम्झौता ईयूबाट बेलायतको बहिर्गमनलाई अघि बढाएका थिए । उनको प्रस्ताव पनि पटक–पटक अस्वीकृत भएपछि ब्रेक्जिटको समयसीमा बढाएर ३१ जनवरीसम्म कायम गरिएको थियो ।

अब ब्रिटेनले ईयूको सदस्यता परित्याग गरेर उक्त गठबन्धनबाट बाहिरिने छ । यससँगै ब्रिटेन एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट पनि अलग हुनेछ ।

त्यसैगरी औषधिदेखि ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका बिभिन्न प्रशासकीय निकायहरूको सदस्यता पनि अन्त्य हुनेछ । ईयूलाई ब्रिटेनले वार्षिक दिँदै आएको नौ अर्ब पाउन्ड बजेट पनि दिनुपर्ने छैन ।

छोटकरीमा ईयू भनिने युरोपेली युनियन २८ यूरोपेली देशहरुको एउटा संगठन हो । यसको निर्माण दोस्रो विश्वयुद्धपछि आर्थिक सहायता बढाउन गरिएको थियो । युरोपेली युनियनको आफ्नै मुद्रा छ यूरो, जुन १९ सदस्य राष्ट्रले प्रयोग गर्छन् । तर बेलायतको मुद्रा भने पाउन्ड नै छ ।

ईयूबाट अलग्गिनका लागि बेलायतले लिस्बन सन्धिको धारा ५० लागू गर्नुपर्छ । त्यसपछि दुवै पक्षले दुई वर्षभित्र अलग हुने शर्तमा सहमति जनाउनुपर्छ । सदस्यता छोड्ने शर्तमा २७ सदस्य राष्ट्रका संसदहरुको पनि सहमति लिनु जरुरी हुन्छ ।

के हो धारा ५० ?

धारा ५० यूरोपेली युनियन छाड्न इच्छुक देशलाई ध्यानमा राखेर बनाइएको योजना हो । यो लिस्बन सन्धिको अंग हो जसमार्फत यूरोपेली संघलाई संवैधानिक मान्यता प्राप्त छ । यो सन्धि १ डिसेम्बर २००९ मा लागू भएको थियो । यसभन्दा अगाडि कुनै देश यूरोपेली युनियनबाट अलग हुने औपचारिक प्रक्रिया निर्धारण गरिएको थिएन ।

धारा ५० निकै सानो दस्तावेज हो । यसमा केवल ५ अनुच्छेद छन् । आजसम्म यसको प्रयोग भएको थिएन ।



source https://www.onlinekhabar.com/2020/01/832672

उखुकिसानले सरकारबाटै पाएनन् १ अर्ब ११ करोड, ८८ करोड भुक्तानीमा उद्योगीको अटेरी

१७ माघ, काठमाडौं । उखु किसानहरू उद्योगीबाट त ठगिए नै सरकारबाटसमेत ठगिएका छन् । किनभने सरकारले अनुदानबापत दिने रकम उखु किसानलाई दिएकै छैन ।

तराईमा उखु खेती गरिने ८ जिल्लाका ९ उद्योगबाट किसानले पाउनु पर्ने बक्यौता रकम ८८ करोड हाराहारी छ जबकि, सरकारले किसानलाई दिनुपर्ने अनुदानबापतको रकम भने एक अर्ब ११ करोड छ ।

सरकारले अनुदानबापत ६ महिनाअघि पठाएको रकम जिल्ला सदरमुकाममै थन्किएको छ । अझ अनौठो पक्ष त के छ भने आफ्नो जिल्ला सदरमुकाममा थन्किएको सरकारी अनुदान लिने कुरासमेत किसानलाई जानकारी छैन ।

बैंकको ब्याज र छोराछोरीको विद्यालयको शुल्कसमेत तिर्ने पैसा नभएको बताउने किसानहरू उद्योगीबाट त ठगिए नै राज्यले दिनु पर्ने रकमबाट समेत बञ्चित हुँदै आएका छन् ।

मंसिर दोस्रो साता उखुको समर्थन मूल्य र किसानहरूको बक्यौताबारे सरकारसँग छलफल गर्न आएका किसान प्रतिनिधिले उद्योगी र सरकार दुवैबाट आफूहरूले रकम नपाएको गुनासो गरेका थिए ।

तर पुस पहिलो सातादेखि चरणबद्ध आन्दोलन गरेका किसानहरूले केही उद्योग र उद्योगीले मात्रै आफूहरूलाई बक्यौता नदिएको बताए । यता सरकारी तथ्यांक हेर्दा उखु उत्पादन गरेर मिललाई बिक्री गरेबापत सरकारले किसानलाई उखुखेती प्रोत्साहन अनुदानबापत उपलब्ध गराउने प्रतिक्विन्टल ६५ रुपैयाँको दरले किसानले १ अर्ब ११ करोड रुपैयाँ अनुदान अझै प्राप्त गर्न नसकेको पाइन्छ ।

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार पछिल्लो एक सातासम्म प्राप्त विवरणमा सुनसरी, सिराहा, नवलपरासी र कञ्चनपुरका किसानले २३ करोड रुपैयाँ सरकारी अनुदान लिएका छन् ।

उखु किसानलाई दिने अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुसार सरकारले किसानलाई वितरण गर्नुपर्ने १ अर्ब ३४ करोड कुल अनुदानमध्ये ९२ करोड ८० लाख रुपैयाँ ६ महिनाअघि नै अर्थ मन्त्रालयले विनियोजन गरेको थियो । उक्त रकम उखु उत्पादन हुने जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुगेको कृषि मन्त्रालयले जनाएको छ ।

किसानहरू सरकारी अनुदान नपाएर पनि पीडित बनेको समाचार पछि उद्योग मन्त्रालयले पुस २३ गते बाँकी अनुदान रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार ग¥यो । यस्तै मन्त्रालयले अनुदान वितरण प्रभावकारी बनाउन कृषि मन्त्रालयलाई पनि भन्यो । अर्थले पठाएको पहिलो किस्ता ९२ करोड ८० लाखपछि थप ४१ करोड २० लाख अनुदान पठाउन बाँकी थियो ।

उद्योगको पत्रपछि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पत्र लेख्दै पहिलो किस्ताको हिसाब मागेको थियो । दोस्रो किस्ता पठाउनुपूर्व अर्थले पहिले पठाएको ९२ करोड ८० लाखको हिसाब खोज्नु स्वाभाविक थियो । तर कृषिसँग २३ करोड रुपैयाँ मात्रै अनुदान वितरण भएको हिसाब छ । मन्त्रालयका एक अधिकारीका अनुसार भएको बाँड्न नसक्नेलाई थप रकम किन भन्ने प्रश्न अर्थको छ ? पहिलेकै रकम भुक्तानी नभएको पाइएपछि अर्थले थप रकम नपठाएको कृषि मन्त्रालयका एक अधिकारीले बताए ।

उद्योगीले पूरा गरेनन् बाचा

उद्योगीबाट रकम दिलाइदिने सरकारी आश्वासन पाएपछि काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरी गृह जिल्ला फर्किएका किसानहरूले सबै भुक्तानी अझै पाएका छैनन् । माघ ७ को भाका राखेर सरकारले उद्योगीसँग उठाइदिएको रकम उद्योग मन्त्रालयको विवरणअनुसार १७ करोडमात्रै हो ।

उद्योग मन्त्रालयले माघ ८ गते दिएको विवरणअनुसार माघ ५ गतसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्ण र इन्दिराले ४ करोड ६४ लाख रकममात्र किसानलाई वितरण गरेका छन् ।

सो अवधिसम्म महालक्ष्मीको ९ करोड ९० लाख, अन्नपूर्ण र इन्दिराको साढे ३१ करोड, एभरेष्ट सुगर मिलको ७ करोड ९३ लाख, श्रीराम सुगर मिलको २६ करोड ७७ लाख, वागमती खाँडसारीको ८ करोड ४१ र लुम्बिनी सुगर मिलको १० करोड ७४ लाख रुपैयाँभन्दा धेरै रकम किसानलाई भुक्तानी हुन बाँकी थियो ।

माघ ८ पछि के–के प्रगति भयो ?

गत आइतबारसम्म महालक्ष्मी सुगर मिलले किसानहरूलाई २ करोड ५५ लाख रुपैयाँ थप बक्यौता तिरेको विवरण मन्त्रालयलाई बुझाएको छ । यस्तै, अन्नपूर्ण र इन्दिरा सुगर मिलले किसानलाई ५० लाखको चेक र थप रकमसहित डेढ करोड रुपैयाँ दिएको थियो । तर मन्त्रालयको विवरणमा नदेखिएको दाबी गरेको छ । उसले आफ्नो थप बक्यौता चुक्ता गर्न सरकारले चिनी बिक्री गर्न सहयोग नगरेको तथा भुक्तानी सरल बनाएर टुग्यांउनभन्दा पनि थप झन्झटिलो बनाएको बताएको छ ।

उता, श्रीराम सुगर मिलले २६ करोड ७७ लाख ७८ हजारभन्दा धेरै बक्यौता तिर्नका लागि जग्गा बेच्ने प्रक्रिया भूमि सुधार मन्त्रालयमार्फत उद्योग मन्त्रालयले अघि बढाएको बताएको छ । तर त्यसमा उल्लेख्य प्रगति भएको छैन । उक्त मिलको पूरै भुक्तानी किसानले पाउन बाँकी छ । बाबा बैजुनाथ र वागमती खाँडसारी चिनी मिलका सञ्चालक अझै उद्योग मन्त्रालयको सम्पर्कमा आएका छैनन् । उनीहरूको बक्यौता पनि उस्तै छ ।

यस्तै सञ्चालकको मृत्यु भए पनि महालक्ष्मी सुगर मिलका तर्फबाट एक प्रतिनिधि मन्त्रालयको सम्पर्कमा आएका छन् । मिल आफन्तको तर्फबाट मन्त्रालयमा सम्पर्क गरेका कैलाशचन्द्र गोयलले भुक्तानीका लागि पहल गर्ने बताएका छन्, तर ठोस प्रगति केही भएको छैन ।

यता, चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले किसानको बैंक खाता नभएका कारण ७ करोड ९३ लाख रुपैयाँ वितरण गर्न नसकेको बताएका छन् ।

माघ १७ गतेसम्म उद्योगीबाट किसानले पाउने पर्ने रकम महालक्ष्मीबाट ५ करोड ५० लाख, अन्नपूर्ण र इन्दिराबाट २९ करोड, एभरेष्टबाट ७ करोड ९३ लाख, श्रीरामबाट २६ करोड ७७ लाख, वागमती खाँडसारीबाट ८ करोड ४१ लाख, महाकालीबाट ६२ हजार र लुम्बिनीबाट चिनी मिलबाट १० करोड ७४ लाख रहेको उद्योग मन्त्रालयले जनाएको छ । अब किसानले उद्योगबाट लिनुपर्ने र लिने प्रक्रियामा रहेको रकम ८८ करोड २४ लाख हाराहारी छ ।

उद्योगीको जग्गा बेच्ने, सरकारको बैंक खाताको पैसा नलिने ?

सर्लाहीलगायतका जिल्लाका उखु किसानहरू अहिले पनि उद्योगी र सरकारबिरुद्ध आन्दोलनमा छन् । सरकारले बाचा गरेको माघ ७ को समय सीमामा सबै भुक्तानी नपाएको भन्दै हातमा कालोपट्टी बाँधेर खेतमा काम गरिरहेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले अनलाइनखबरलाई बताए । ‘हामीहरू माघ १८ गतेदेखि झनै सशक्त आन्दोलन गर्ने तयारी गरेका छौं,’ उनले भने ।

सरकारी अनुदान जिल्ला सदरमुकामको खातामा आएको कुरा आफूहरूलाई थाहा नभएको रायले प्रतिक्रिया दिए । ‘हामीलाई कसैले भनेकै छैन, कसरी थाहा पाउने ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘मन्त्रीजीले खातामै पैसा आउँछ भनेका छन्, तर आएको छैन ।’

सर्लाहीमा वितरण गर्नुपर्ने ३८ करोड अनुदान रकममध्ये २३ करोड रुपैयाँमात्र कोष तथा लेखा नियन्त्रणको खातामा प्राप्त भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । तर अनुदान वितरणको कार्यविधिलाई देखाएर किसानहरू प्रक्रिया पु¥याएर रकम लिन नआएको उनले बताए ।

विगतका वर्षहरूमा बिचौलियाले किसानसँग सस्तोमा उखु किनेर मिललाई महँगोमा बेच्दै अनुदान समेत खाइदिएपछि कृषि मन्त्रालयले कार्यविधि संशोधन गरेको छ । पहिले मिलमा जाने अनुदान अहिले किसानको खातामा जान्छ । ‘कार्यविधिले किसानले नै सरकारी अनुदान पाउने निश्चित गरेको छ, तर किसानहरू आएका छैनन्,’ प्रजिअ जिसीले भने ।

उनकाअनुसार किसानले आफूले उखु खेती गरेको जमिनको लालपूर्जा अथवा भाडा सम्झौता र मिलमा बेचेको उखुको स्लिप मिलबाट प्रमाणित गराएर ल्याएपछि उनीहरूकै खातामा कोलनिकाले पैसा पठाइदिन्छ, तर किसानहरू यसरी कमै आएका छन् ।

अनुदान लिन नआउनुको कारण खोजिँदै

कार्यविधिलाई सहज बनाउन स्थानीय तहले पनि किसानले खेती गरेको जमिनको प्रमाणित गरिदिन सक्ने व्यवस्था रहेको प्रजिअ जीसी बताउँछन् । सरकारी अनुदान लिन नआउने कारणबारे आफूहरूले खोजी गरिरहेको उनले बताए ।

सरकारले ६ महिनाअघि पठाएको अनुदान वितरण हुन नसकेको कारणबारे बुझ्न उद्योग मन्त्रालयले बनाएको एक टोली जिल्ला अनुगमनमा निस्किएको कृषि मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालय, कृषि मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधि रहेको उक्त टोलीले विभिन्न जिल्ला पुगेर अनुसन्धान गरिरहेको कृषि मन्त्रालयका प्रवक्ता केसीले बताए ।



source https://www.onlinekhabar.com/2020/01/832671

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More