Saturday, 1 February 2020

छुट्टाछुट्टै सवारी दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु

१९ माघ, सर्लाही । जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् ।

बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ का २० वर्षीय राजेन्द्र यादवको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

गएराति मोटरसाइकललाई चारपाङ्ग्रे गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सर्लाहीको लालबन्दी नगरपालिका–१६, भोर्लेनीस्थित रानीगञ्ज परवानीपुर भित्री सडकखण्डमा ना१९प २१६० नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्ध महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१६ निवासीे ७० वर्षीया जोककुमारी थापा भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ठक्करबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लालबन्दीको हेल्थ केयर प्रालिमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833021

हेटौंडाको विद्यालयभित्र २ बस जले

१९ माघ, मकवानपुर । हेटौंडामा २ स्कुल बसमाथि आगजनी भएको छ । हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो ।

ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ ।

स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833018

बीबीसी हिन्दी रेडियोको ८० वर्ष लामो यात्रामा विराम

१९ माघ, काठमाडौं । ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे भयो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’, ‘नमस्कार भारत’ लगायतका कार्यक्रम निकै लोकप्रिय थिए ।

बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । नेपालमा बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ ।

बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ । तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए । अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइक ढोगेका थिए । यो दृश्यले धेरैलाई भावुक बनाएको छ ।

हेर्नुस् भिडियो

बीबीसी हिन्दी रेडियोले अन्तिम प्रसारण फेसबुकमार्फत् भिडियो लाइभ गरेको थियो । कार्यक्रम समाप्त भइसकेपछि गरिएको कुराकानीका क्रममा रेडियोका कर्मचारीहरुको गला अवरुद्ध भएको थियो ।

१८ वर्ष बीबीसी हिन्दी रेडियोमा बिताएका जोशीले प्रसारणको दौरान स्रोताबाट पाएको माया नै आफूहरुको पुँजी भएको बताए ।

बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण ११ मे १९४० मा भएको थियो । दोस्रो विश्वयुद्धमा लड्ने भारतीय सैनिकको हालचाल उनीहरुका परिवारसम्म पुर्‍याउने उद्देश्य रेडियोको थियो । त्यतिबेला १० मिनेटको समाचार बुलेटिन प्रसारण हुन्थ्यो । सन् १९४१ बाट भने कार्यक्रमको अवधि आधा घण्टा बनाइयो ।

‘बीबीसी हिन्दुस्तानी’को नामबाट सुरु भएको यस रेडियोको पहिलो सञ्चालक जुल्फिकर अली बुखारी हुन् । उनले १९४५ सम्म काम गरे । १९४७ भारत बिभाजन भएर पाकिस्तान अलग देश बनेपछि बुखारी पाकिस्तान रेडियोको पहिलो महानिर्देशक नियुक्त भएका थिए ।

सर्टवेभ प्रसारण बन्द भए पनि बीबीसी डिजिटल माध्यमबाट विवेचना र दुनियाँ कार्यक्रम नियमित प्रसारण हुने समाचार एजेन्सीले जनाएका छन् ।



source https://www.onlinekhabar.com/2020/02/833014

नेकपा बैठक आज सकिँदै, ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

१९ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा सहभागी नभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समापनका अवसरमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने थापाले जानकारी दिए । यद्यपि, दस्तावेजमाथिको जवाफ भने प्रस्तोता अध्यक्षबाटै दिइने उनले बताए ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

यसैबीच, बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जनाएको छ ।

बैठकमा एमसीसीका सन्दर्भमा विज्ञ सम्मिलित कार्यदल गठन गरेर एकमतले पारित गर्नुपर्ने सुझाव केन्द्रीय कमिटी बैठकमा आएको छ । यसबारे पनि छलफल हुने बताइएको छ । अब कार्यदल गठन गर्ने समय नरहेकाले मुख्य नेताहरूबीचको छलफलबाट यसलाई टुंगो लगाइने सम्भावना रहेको स्रोतले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833015

नेकपा सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

१९ माघ, काठमाडौं । नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् ।

“सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ,’ किरातीले भने ।

बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा किरातीले आफूहरुले एमसीसीबारे प्रश्नको सामना गर्नु परिरहेको पनि उनले बताए ।

के भनेका थिए मन्त्री बास्कोटाले ?

गत बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले एमसीसीका बारेमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने बताएका थिए । कतिपयले एमसीसी पारित भयो भने नेपालमा अमेरिकी सेनाले बेस क्याम्प राख्छ भन्नेसम्मका भ्रम फैलाइएको भन्दै बास्कोटाले अमेरिकाको शक्तिको कुरा गरेका थिए ।

उनको भनाइ थियो–अमेरिकाले सेना ल्याएर राख्छ भन्नेसम्मका भ्रम फैलाइयो । अन्तर महादेशीय क्षेप्यास्त्र शक्ति भएको अमेरिकाले संसारको एउटा कुनामा ल्याइएर क्याम्प राख्नुपर्छ ? अस्ति देख्नुभएन इरानको कसलाई हानेको ? गलत हल्ला चलाएर हुन्छ ? हामी कुनै सैन्य गठबन्धन स्वीकार गर्दैनौं ।



source https://www.onlinekhabar.com/2020/02/833011

सुनजस्तै लसुन : किलोको ५६०, दुई हप्तामा दोब्बरले मूल्य बढ्दा नयाँ रेकर्ड

१९ माघ, काठमाडौं । १५ दिनअघिसम्म बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । दिन-दिनै लसुन महंगिँदैछ । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ ।

बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए ।

‘लसुन त सुनजस्तो भयो,’ उनले भने,’इतिहासमा लसुनको मूल्य यति माथि गएको थिएन ।’ बढीमा प्रतिकिलो २८५ देखि ३०० रुपैयाँभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ५६० रुपैयाँमा पुगेको छ ।

लसुनको मूल्य बढ्नुको कारण हो, आयातमा निर्भर बजार व्यवस्था । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने समभावना रहेको घिमिरेले बताए ।

‘रसुवागढीबाट आयात रोकिएपछि लसुनको बजारमा अभाव छ,’ उनले भने,’अभावले गर्दा लसुन यसरी महंगिएको छ कि बजारमा मूल्यले उछाल हानिरहेको छ ।’  भारी हिमपहिरोले चीनतर्फको सडक बिग्रिएपछि दुई हप्ताअघि चीनबाट हुने आयात रोकिएको थियो ।

अब चीनबाट आउने सुकेको लसुनले भान्छा धान्न गाह्रो हुने अवस्था आएको छ । हरियो लसुसन उपभोक्ताको विकल्पमा छ ।

हरियो लसुन अहिले औसत १४५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । तर, सुकेको लसुन महंगिएपछि हरियोको माग बढ्दा यसको मूल्य पनि बढ्ने क्रममा छ । १५ दिनमा हरियो लसुनको मूल्य पनि १६ प्रतिशतले बढेको कालीमाटी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833007

कोरोना भाइरसबाट चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु

१९ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ ।

समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ ।

ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनकाे परिचय भने खुलाइएकाे छैन ।

फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको सीएनएनले जनाएको छ ।

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ । विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो ।



source https://www.onlinekhabar.com/2020/02/833006

चीनबाट फर्किएका पर्यटकलाई अमेरिका र अस्ट्रेलियामा पनि प्रतिबन्ध

१९ माघ, काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् ।

अमेरिका र अस्ट्रेलियाले चीनमा भर्खरै गएर आफ्ना देश आउने विदेशीको प्रवेशलाई रोक लगाइएको जनाएका छन् ।

योसँगै चीनबाट फर्केका विदेशीको यात्रामा प्रतिबन्ध लगाउने देशको संख्या ६ पुगेको छ । यसअघि रसिया, जापान, पाकिस्तान र इटालीले पनि यस्तै प्रतिबन्धको घोषणा गरेका थिए ।

भाइरसको जोखिमप्रति सतर्क देखिएका दुवै देशले चीनबाट आफ्ना नागरिकलाई उद्धार गरेर निगरानीमा राखेका छन् ।

डब्लूएचओ बेखुस

चीनबाट फर्किएका विदेशीमाथि यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने असन्तुष्टि जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले भनेका छन्, ‘यात्रा प्रतिबन्धको निर्णयले फाइदाभन्दा पनि बढी नोक्सानी हुनेछ ।’

यो कदमले सूचना आदानप्रदानसँगै मेडिकल सप्लाइ र अर्थतन्त्रमै नोक्सानी पुग्ने ठहर डब्लूएचओको छ । यात्रा प्रतिबन्धको साटो सीमा वारपार गर्नेहरूको स्वास्थ्य परीक्षण गर्न डब्लूएचओले सुझाएको छ । सीमा बन्द गरेपछि अनधिकृत रूपमा मानिसहरू प्रवेश गर्न सक्ने र त्यसले झन् भयावह अवस्था सिर्जना हुनसक्ने डब्लूएचओको भनाइ छ ।

यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयबाट चीन पनि सन्तुष्ट छैन । आधिकारिक निर्णय बेवास्ता गरेर गलत कदम चालिएको चीनको ठम्याइ छ । ‘डब्लूएचओले यात्रा प्रतिबन्धविरुद्ध सिफारिस गरेलगत्तै अमेरिका उल्टो दिशातर्फ जान हतारिएको छ । यो सदभावनाको संकेत होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल चीनका सबै प्रान्तमा फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो भाइरसका कारण हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ भने कैयन बिरामी परेका छन् । विश्वका अन्य २२ देशमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।



source https://www.onlinekhabar.com/2020/02/833003

नयाँ बसपार्क क्षेत्रमा प्रहरीको छापा, ७३ पक्राउ

१९ माघ, काठमाडौं । अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/832999

पाकिस्तानी प्रधानमन्त्रीको आरोप- भाजपा नरसंहार मच्चाउने योजनामा छ

१९ माघ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारमा जस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन् ।

टर्कीको समाचार एजेन्सीलाई अन्तर्वार्ता दिँदै खानले भनेका छन् भारतले मुस्लिम समुदायलाई समाप्त पार्न खोजेको बताए । उनले नागरिकता सम्बन्धी विवादास्पद कानुन ल्याउनुको कारण त्यही नै रहेको दाबी गरे ।

राजधानी इस्लामावादमा दिइएको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भनेका छन्, ‘ठीक यस्तै म्यानमारमा भएको थियो, जहाँ पहिले रजिष्ट्रेशन ऐन ल्याइयो । त्यसबाट मुसलमानहरुलाई विभेद गरियो र त्यसपछि नरसंहार भयो । मलाई भारतको अवस्था पनि यस्तै दिशामा जाँदैछ भन्ने डर छ ।’

के भारतमा आशंकित घटनाक्रमका कारण पाकिस्तान र बंगलादेशमा शरणार्थीहरको समस्या बढ्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री खानले भनेका छन्, ‘आसाममा जजसलाई नागरिकताबाट बन्चित बनाइएको छ, बंगलादेशले पहिले नै तीमध्ये कसैलाई पनि स्वीकार गरेको छैन । मलाई लाग्छ आसाममा नागरिकताबाट बन्चित गराइएका करिब २० लाख जनाको कारण बंगलादेश पहिलेदेखि नै चिन्तित छ । मलाई थाहा छैन, उनीहरुको अवस्था कस्तो होला ।’



source https://www.onlinekhabar.com/2020/02/832998

इनरुवामा बस र माइक्रोबस ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु

१९ माघ, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रदेश नम्बर १ का ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिए ।

एकजना महिला, दुईजना पुरुषको मृत्यु भएको तर उनीहरुको परिचय नखुलेको एसपी दाहालले जानकारी दिए । मृतक र घाइतेहरु सबै माइक्रो बसका हुन् ।

घटनास्थलमा प्रहरीले उद्धार कार्य जारी राखेको छ ।



source https://www.onlinekhabar.com/2020/02/832994

मड्रिड डर्बीमा रियल विजयी, बेन्जिमाको गोल निर्णायक

१९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत शनिवार भएको मड्रिड डर्बी भिडन्तमा रियलले एट्लेटिकोलाई पराजित गर्दै बार्सिलोनासँग अंक दूरी बढाएको छ । करिम बेन्जिमाले गरेको एकमात्र गोल मद्दतमा रियलले एट्लेटिकोलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा गोल गरेको हो । बेन्जिमाले ५६औ मिनेटमा फरलान्ड मेन्डीको पासमा गोल गरेका थिए । त्यही गोल निर्णायक बन्दा रियलले ३ अंक जोडेको हो ।

जितपछि रियलले चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनमाथि ४ अंकको स्पष्ट अग्रता बनाएको छ । २२ खेलबाट ४९ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ४३ अंकसहित दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/02/832996

लिभरपुललाई २२ अंकको अग्रता, उपाधि जित्न २० अंक आवश्यक

१९ माघ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीमाथि २२ अंकको अंग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। लिगअन्तर्गत शनिवार साउथह्याम्पटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले २२ अंकको फराकिलो अग्रता बनाएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा एलेक्स च्याम्बरलाइन र कप्तान जोर्डन हेन्डरसनले एक-एक गोल गरे । रोवर्टो फिर्मिनोले असिस्टको ह्याट्रिक गरे ।

पहिलो हाफमा साउथह्याम्पटनले लिभरपुललाई गोलरहित बराबरीमा रोकेको थियो। तर लिभरपुले दोस्रो हाफमा गोल गर्यो । ४७औं मिनेटमा रोवर्टो फिर्मिनोको पासमा च्याम्बरलाइनले गोल गर्दै अग्रता दिलाए । ६०औं मिनेटमा फिर्मिनोकै पासमा हेन्डरसनले अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा हेन्डरसनको पासमा सलाहले गोल गर्दै अग्रतालाई ३-० बनाए । ९० मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए । यस पटक पनि फिर्मिनोले नै असिस्ट गरेका थिए ।

जितपछि २५ खेलबाट लिभरपुलले ७३ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५१ अंकसहित दोस्रो स्थानमा छ। लिभरपुलले अब १३ खेल खेल्न बाँकी छ। यस्तोमा लिभरपुलले २० अंक जोडेपनि उपाधि जित्नेछ ।

प्रिमियर लिगमै शनिवार भएको खेलमा दुई पूर्व विजेता चेल्सी र लेस्टर सिटीले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि लेस्टरको २५ खेलबाट ४९  र चेल्सीको उति नै खेलबाट ४२ अंक छ । लेस्टर तेस्रो र चेल्सी चौथो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/02/832992

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More