Sunday, 2 February 2020

राष्ट्र बैंकको एक सञ्चालक पद रिक्त हुँदै, खनालको औपचारिक बिदाइ आज 

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको एक सदस्य पद आजबाट रिक्त हुने भएको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव डा. राजन खनाल अवकाश हुने भएसँगै एक सञ्चालक समिति पद आजबाट रिक्त हुने भएको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार खनाल राष्ट्र बैंकको सञ्चालक थिए ।

अनिवार्य अवकाश पाएर खनाल आगामी २२ गते सरकारी सेवाबाट बिदा हुँदैछन् । अवकाश पाउन २ दिन बाँकी नै रहे पनि राष्ट्र बैंकले भने सोमबार नै बिदाइको तयारी गरेको छ ।

सोमबार बस्ने सञ्चालक समिति बैठकले खनालको बिदाइ गर्न लागेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘वहाँको कार्यकाल २ दिन बाँकी नै छ, तर बोर्ड बैठक सोमबारपछि अर्को सातामात्रै बस्ने भएकाले बिदाइ गर्न लागिएको हो,’ उनले भने ।

ती अधिकारीका अनुसार खनालका लागि सोमबार नै राष्ट्र बैंकले बिदाइ भोजसमेत आयोजना गरेको छ ।



source https://www.onlinekhabar.com/2020/02/833273

६० सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

२० माघ, काठमाडौं । सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) पनि परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

त्यस्तै, आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् । भुसाल प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखा र प्रवक्ताको भूमिकामा थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई पनि अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पनि परिवर्तन भएको छ । संघीय मामिलाले विभागको महानिर्देशकको भूमिकामा रहेका विष्णुकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो ।

हेर्नुहोस् सीडीओ सरुवाको सूची



source https://www.onlinekhabar.com/2020/02/833270

छापामा : आज नेकपाले ब्युँतायो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा

२० माघ, काठमाडौं । नेकपाको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकमाथि आजका सबैजसो दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । त्यस्तै, चीनबाट नेपाली विद्यार्थी फर्काउन भइरहेको तयारीबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् ।

‘प्रत्यक्ष निर्वाचित राष्टपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहस सुरु’ शीर्षकमा नयाँ पत्रिकाले आज मुख्य समाचार लेखेको छ । जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको हो ।

नयाँ पत्रिकाका अनुसार, नेकपाको केन्द्रीय समिति बैठकबाट उपाध्यक्षको जिम्मेवारी पाएका वामदेव गौतमले अहिलेको शासकीय स्वरूपमा परिमार्जन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने विषयमा पार्टी सचिवालय बैठकमै छलफल भएको बताएका छन् । उनले भनेका छन्– प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको शासकीय प्रणालीमा जानेबारेमा गहन छलफल गरेका छौं । प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने धेरै राम्रो हुन्छ । त्यो भएन भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्छन् । यो स्थितिमा अब सांसदहरूको भूमिका फरक हुन्छ ।

नेकपाले नेताका सम्पत्ति छानबिन गर्ने भएको खबर अन्नपूर्णमा छापिएको छ । त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय नेकपालले गरेको छ ।

यसअघि पनि नेकपाले पटकपटक नेताको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । तर, त्यो कार्यान्वयनमा आएको थियो ।

‘विमति राख्ने खनालकै काँधमा एमसीसी’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार लेखेको छ । समाचार अनुसार, एमसीसी आईपीएसअन्तर्गत नै हो र कुनै हालतमा अनुमोदन गर्न हुन्न भनेर यसअघि मत राख्ने वरिष्ठ नेता झलनाथ खनाललाई नै कार्यदलको संयोजक बनाइएको छ । एमसीसीका विषयमा सबैभन्दा चर्का आलोचक स्थायी कमिटी सदस्य भीम रावल र पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यदलको सदस्य बनाइएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833262

Saturday, 1 February 2020

भरपेट खाइसकेपछि पनि भोक लागेको महसुष हुन्छ ?

भरपेट खाना खानुभयो । तर, केही क्षणमै भोक लागेको महसुष भयो । किन यस्तो हुन्छ ?

पेट त भरिएको छ । केही समयअघि पेट चर्किनेगरी खाना खानुभएको थियो । यस्तो अवस्थामा भोक लागेको महसुष हुन्छ भने त्यसले शरीरमा केही गडबडी छ भन्ने संकेत गर्छ ।

१.  न्यून रक्तचाप

बारम्बार भोक लाग्नुको एउटा ठूलो कारण हुन सक्छ । आवश्यकताभन्दा बढि व्यायाम, आवश्यक कार्बोहाइड्रेट नलिनु, र लामो समयसम्म भोकै बस्नुले न्यून रक्तचापको समस्या हुन्छ । जो व्यक्तिहरु न्यून रक्तचापका रोगी छन्, उनीहरुलाई भोक बढि लाग्छ । र, उनीहरुलाई रिस पनि धेरै उठ्छ ।

अन्य समस्याहरु

थकान, टाउको दुख्ने, अत्यधिक पसीना, चक्कर लाग्नु

के गर्ने ?

पौष्टिक खानेकुराका खानुका अलावा पैदल हिँड्ने, साइक्लिङ र स्वीमिङ जस्ता व्यायाम गर्नुस

२.  मधुमेह

टाइप  र टाइप २ मधुमेहका रोगीहरुलाई पनि बारम्बार भोक लाग्छ । मधुमेहका रोगीहरुको उच्च रक्तचाप हुन्छ जसले गर्दा खाएको बेला पनि भोक लागेको महसुस हुन्छ । मधुमेहका रोगीहरुको शरीरको हरेक कोष इन्सुलिनमा निर्भर हुन्छ ।

यदि इन्सुलिन पर्याप्त मात्रामा भएन वा यसले राम्ररी काम गरेन भने सुगर ब्लडमा मिल्छ र ती कोषहरुसम्म पुग्न सक्दैन जहाँ यसको आवश्यकता हुन्छ । त्यसले गर्दा कोषले मस्तिष्कलाई सन्देश पठाउँछ कि उसलाई अत्यधिक खानुपर्ने छ र यसका कारण धेरै भोक लाग्छ ।

अन्य समस्याहरु

अत्यधिक तिर्खा, बारम्बार पिशाब आउनु, वजन कम हुनु, आँखाले धमिलो देख्नु र थकान महसुस हुनु

के गर्ने ?

ब्लड सुगरको स्तरलाई सँधै नियन्त्रित राखौं

३.  आन्द्रामा किरा

अत्यधिक भोक लाग्नुले कहिले काहीँ आन्द्रामा किरा परेकातर्फ संकेत गर्छ । यी किरा खासगरी टेपवर्म वा पिनवर्म हुन्छन् जुन आन्द्रामा लामो समयसम्म बस्न सक्छन् । यिनीहरुले परजीवी व्यक्तिको शरीरबाट सबै आवश्यक पोषक तत्व लिन्छन् जसले गर्दा खानापछि पनि भोकको महसुस भइरहन्छ ।

अन्य समस्याहरु

पेटको दुखाई, वजन कम हुनु, मुखबाट दुर्गन्ध, उल्टी र गुप्तांग चिलाउने

के गर्ने ?

बारम्बार भोक लाग्नुका साथै तौल पनि कम हुँदै गयो भने उपचार गर्नैपर्छ ।

४.  निन्द्रा नपुगेर

शरीरका लागि खाना र पानीको जति महत्व छ, उत्तिनै निन्द्राको पनि । अर्थात विश्रामको । स्वस्थ्य जीवनका लागि ७ देखि ८ घण्टा गहिरो निन्द्रा लिनुपर्छ । यस किसिमको निन्द्राले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । ताजा अनुभव गरिन्छ । जबकी निन्द्रा पुगेन वा खलबलियो भने, त्यसले स्वास्थ्यमा समस्या ल्याउँछ ।

खाना खाए लगत्तै खानेकुराको तलतल लाग्नुमा पनि अनिन्द्रा एउटा कारण हो । आवश्यक भन्दा कम निदाइयो भने भोक लाग्छ ।

अन्य समस्याहरु

मुडमा परिर्वन, आलस्यता, दिउसो निद्रा नलाग्नु, तौल बढनु आदि ।

के गर्ने ?

पर्याप्त निन्द्रा लिने अभ्यास गरौं । यसबाट शरीरको इनर्जी लेभल र भोक बढाउने हार्मोन्सको स्तर सन्तुलित रहनेछ ।

५.  अत्यधिक तनाव 

हामीले महसुष गरेका छौ, सामान्य चिन्ता वा तनाव भयो भने खानमा अरुची हुन्छ । तर, कतिपय अवस्थामा यसको ठिक विपरित हुन्छ । जब तनाव हुन्छ, भोक लागेको महसुष हुन्छ ।

मनमा औडाह भएपछि, मन विचलित भएपछि यस्तो अनुभव हुन्छ ।

अत्याधिक तनावग्रस्त भएको अवस्थामा शरीरमा कोर्टिसोल नामक स्ट्रेस हार्मोन रिलिज हुन्छ, जसले गर्दा बारम्बार खाने इच्छा हुन्छ । सन् २००८ मा गरिएको एक अध्ययनको रिपोर्टअनुसार जो व्यक्तिहरु तनाव वा डिप्रेसनमा हुन्छन्, उनीहरुको शरीरमा भोक बढाउने ग्रेलिन नामक हार्मानको स्तर बढेर जान्छ । यसले गर्दा बारम्बार भोक लाग्नु स्वभाविकै हो ।

अन्य समस्याहरु

रिस, थकान, टाउको दुखाई, अनिद्रा, पेटको समस्या

के गर्ने ?

तनाव हटाउनका लागि ध्यान, योग र संगीतको सहारा लिनुपर्छ

६.  थाइराइड

थाइराइडलाई प्रभावित गर्ने हाइपरथाइराइडिज्मका कारण व्यक्तिलाई अत्यधिक भोक लाग्छ । खासमा, जब शरीरमा थाइराइड हार्मोनको स्तर बढ्छ, यसले मेटाबोलिक रेट बढाउँछ जसबाट लगातार भोक लाग्ने जस्तो समस्या उत्पन्न हुन्छ ।

अन्य समस्याहरु

पल्स रेट बढ्नु, हडबडी, अत्यधिक पसीना, कमजोरी र बारम्बार तिर्खा लाग्नु

के गर्ने ?

एक्सरसाइज गर्ने,  बदाम, ओखर र मरिचको सेवन गर्ने, दुधमा बेसार हालेर पिउने, बिहान खाली पेटमा लौकाको जुस पिउने

७. पानीको कमी

जब व्यक्तिको शरीरमा पानीको कमी हुन्छ, त्यतिबेला उसलाई अत्यधिक भोकको महसुस हुन्छ । डिहाइड्रेसन हुँदा बढि मानिसहरु मस्तिष्कबाट प्राप्त हुने भोक र तिर्खाको संकेतबीचको अन्तर बुझ्न सक्दैनन् । त्यसैले उनीहरुलाई भोजनको आवश्यकता परेको जस्तो लाग्छ, जबकि उनीहरुलाई आवश्यकता हुन्छ पानीको ।

अन्य समस्याहरु

कब्जियत, छालामा रुखोपन, तागतको कमी, पिशाबको कमी र आँखामा सुख्खापन

के गर्ने ?

डिहाइड्रेसन हुँद्या खानाभन्दा अगाडि एक वा दुई गिलास पानी पिउने



source https://www.onlinekhabar.com/2020/02/833049

‘कमेडी च्याम्पियन’मा ‘दि हिमालय रोडिज’को प्रचार

अहिले नेपालका विभिन्न टेलिभिजनबाट रियालिटी शोहरु प्रशारण भइरेहका छन् । कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन’, हिमालयन टेलिभिजनमा ‘हिमालय रोडिज’ र एपीवान टेलिभिजनमा ‘नेपाल आइडल’ प्रशारण भइरहेको छ ।

अझ, कमेडी च्याम्पियन र हिमालय रोडिज त एकै दिन प्रशारण हुन्छ । सोमबार बेलुका यी दुई रियालिटी शोहरु प्रशारण हुन्छन् । कतिपयले एकै दिन प्रशारण हुने भएकाले यी दुई रियालिटी शोलाई प्रतिष्पर्धी हुन् भन्ने अड्कल काटेका छन् ।

तर, यो कुरालाई दुई शोका निर्माताले गलत सावित गरिदिएका छन् । आगामी सोमबार प्रशारण हुने एपिसोडमा कमेडी च्याम्पियन टिमले हिमालय रोडिजको टिमलाई अतिथी बनाएको छ । कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीको निमन्त्रणामा हिमालय रोडिज निर्देशक अमनप्रताप अधिकारी र ग्याङ्ग लिडर दिया मास्के च्याम्पियनको सेटमा पुगेका छन् ।

एक–अर्काको क्रस प्रोमोशनको लागि यस्तो नीति अपनाइएको च्याम्पियन निर्देशक विशालले बताए । उनले भने–‘यो रियालिटी शोमा विल्कुलै फरक अभ्यास हो । हामीले एक–अर्काको प्रचारको लागि यो नीति बनाएका हौँ ।’

यी दुई रियालिटी शोको दर्शक पनि भिन्न–भिन्नै भएकाले दुई बीच कुनै प्रतिष्पर्धा नभएको विशालले बताए । उनले भने–‘रोडिज हेर्ने दर्शक र हाम्रो शो हेर्ने दर्शक फरक हुनुहुन्छ । त्यसैले एक–अर्कासँग कुनै प्रतिष्पर्धा नै छैन । सँगै हातेमालो गरेर अघि बढ्ने सोचले हामीले उहाँहरुलाई अतिथी बनाएका हौँ । उहाँहरुले पनि कुनै संकोच नमानी आइदिनु भयो ।’



source https://www.onlinekhabar.com/2020/02/833047

खाना पकाउँदा गरिने यस्ता गल्ती, जो क्यान्सरको कारण बन्न सक्छ

खाना किन खाइन्छ ? अघाउनका लागि ? पेट भर्नका लागि ? बाँच्नका लागि ? स्वस्थ्य र तन्दुरुस्त हुनका लागि ?

हाम्रो प्रवृत्ति हेर्दा यसको जवाफ हुनसक्छ, जिब्रोको तलतल मेट्नका लागि । अर्थात स्वाद फेर्नका लागि ।

अक्सर खानेकुरा तयार गर्दा, खाँदा हामी स्वादलाई प्राथमिकता दिन्छौं । कुन खानेकुरा कति स्वस्थ्यवर्द्धक भन्ने कुरामा ध्यान दिदैनौं । कुन खानामा कति पोषक तत्व छ ? त्यस्ता पोषक तत्व कसरी ग्रहण गर्ने ? यसमा हामी बेखबर छौं । बस् हामीलाई त जिब्रोको स्वाद मेट्न पाए पुग्छ ।

त्यही कारण खानेकुरा पकाइरहँदा हामी हेक्का राख्दैनौ कि उक्त खानेकुराको पोषकतत्व कसरी सुरक्षित रहन्छ ? यो प्रश्न किनपनि उठ्छ भने खानेकुरा पकाउने क्रममा त्यसको पोषक तत्व नष्ट हुन सक्छ । यदि मिठो बनाउने चक्करमा लागियो भने । त्यती मात्र कहाँ हो र ? खानेकुरा पकाउने क्रममा गरिने कतिपय गल्तीले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ ।

अर्थात खानेकुराको नाममा हामी बिष सेवन गर्न पुग्छौं ।

यस्तो अवस्था त त्यो बेला बढी हुन्छ, जब पटक पटक एकै तेल प्रयोग गरिन्छ ।

हामीकहाँ के चलन छ भने, धेरै तेल हालेर खानेकुरा पकाउने । तेल बाँकी रह्यो भने, त्यसलाई पुन प्रयोग गर्ने । बजारको खानेकुरामा त यस्तो अधिक हुनेगर्छ । यद्यपी घरमा पनि हामी त्यही गल्ती गरिरहेका हुन्छौं । किनभने एक पटक प्रयोग गरिएको बाँकी तेल फ्याक्न हामीलाई लोभ लाग्छ । त्यसलाई पुन प्रयोग गर्छौ, तर त्यसले स्वास्थ्यलाई भने गंभिर असर गरिरहेको हुनछ ।

चाडपर्व, बिहे भोजमा तेलको अत्याधिक प्रयोग गर्छौ । मिठाई वा अन्य खानेकुरा पकाएर बाँकी रहेको तेल राख्छौं । त्यसलाई पुन प्रयोग गर्छौं ।

एक पटक प्रयोग गरिसकेको तेल दोस्रो वा तेस्रो वा चौथो पटकसम्म पुन प्रयोग गर्छौं । एक पटक कुनै खानेकुरा पकाएर बाँकी रहेको तेललाई पुन तताउँदा त्यो विषाक्त बन्छ । आहार विशेषज्ञका अनुसार ‘त्यसरी तताउँदा मुक्त कण बन्छ । यो मुक्त कण स्वस्थ्य कोशिकासँग जोडिन्छ र त्यसले केहि रोग पैदा गर्छ ।’

विज्ञका अनुसार त्यस्ता कणले क्यान्सर समेत पैदा गर्न सक्छ । रक्त धमनीमा खराब कोलेस्ट्रोरको स्टर बढाउँछ । धमनीमा अवरोध आउँछ ।

जति पटक ततायो, उत्तिनै विषाक्त

तेल जब पटक पटक तताइन्छ, त्यो विषाक्त बन्छ । जति धेरै पटक तताइन्छ, त्यो उत्तिनै क्यान्सरको कारक बन्न सक्छ ।

पेटको क्यान्सर हुनसक्छ

तेललाई पटक पटक तताएर प्रयोग गर्दा त्यसले पेटको क्यान्सर हुने संभावना रहन्छ ।

यसरी तेल प्रयोग गर्दा त्यसमा विस्तारै विस्तारै पि|m रेडिकल्स बन्न थाल्छ । यस रेडिकल्स श्राव भएपछि तेलको एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । यसरी बाँकी रहेको तेल क्यान्सरको कारण बन्न सक्छ ।

कोलेस्टोर बढाउँछ

तेल तताउँदा कराहीमा कालो बोसो तत्व जम्मा हुन्छ । यो बोसो जब शरीरभित्र प्रवेश गर्छ, त्यसले कोलेस्ट्रोल बढाइदिन्छ । यसले मोटोपन पनि बढाइदिनसक्छ । एसिडिटी र मुटुको समस्या निम्त्याउन सक्छ ।

डिप फ्राइ खानेकुरा कति हानिकार ?

हामी स्वादको लागि डिप फ्राइ गरेर खानेकुरा सेवन गर्छौ । तर, यो एकदमै हानिकारक हुन्छ । डिप फ्राइ गर्दा त्यसको भाँडामा रहेको केमिकल खानेकुरामा मिसिन्छ । खानेकुरामा रहेको पोषक तत्व नष्ट हुन्छ । अत्याधिक तताइएको तेल पनि विषाक्त बन्छ । त्यसैले संभव भएसम्म डिप फ्राइ खानेकुरा सेवन गर्नु हुँदैन ।



source https://www.onlinekhabar.com/2020/02/833043

उपत्यकाका सांस्कृतिक गुठी सञ्चालनको जिम्मा स्थानीय तहलाई दिऊँ : मन्त्री मानन्धर

१९ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक गुठी संरक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन् ।

सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् ।

काठमाडौंमा कायम रहेको गुठी यहाँको जनजीवनसँग सम्बन्धित रहेको र जन्मदेखि मृत्युसम्मका संस्कारहरु गुठीकै माध्यमबाट हुने भएकाले स्थानीय सरकारकै निगरानीमा रहने गरी व्यवस्थापन गर्न आफूले पहल गरिरहेको मन्त्री मानन्धरको भनाइ छ ।

सरकारले देशभरका सांस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई वैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको समेत मानन्धरले बताए ।

उपत्यकाका गुठीहरुमा जग्गाको विवाद नरहेको उल्लेख गर्दै मन्त्री मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रूपले हेर्नुपर्ने बताए ।

फरक प्रसंगमा उनले सरकार समृद्धिको दिशामा अघि बढिरहे पनि केही तत्व त्यसलाई रोक्न लागिपरेको आरोप उनले लगाए । मन्त्री मानन्धरले एमसीसी र डन्डोप्यासिफिक रणनीति फरक भएकाले देशको विकासका लागि अनुदान स्विकार्नुपर्ने बताए ।



source https://www.onlinekhabar.com/2020/02/833037

दाँत बलियो र चम्किलो कसरी बनाउने ?

दाँतको मूख्य काम खानेकुरा चपाउनु हो । यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ । किनभने जब दाँतले राम्ररी चपाएर खाइन्छ, तब पाचन प्रक्रिया सहज रुपले हुन्छ ।

राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्छ । पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन । यसरी खानेकुरालाई टुक्रा-टुक्रा गर्नका लागि बलियो दाँत चाहिन्छ । बलियो दाँत मात्र भएर पनि पुग्दैन, सफा र स्वस्थ्य पनि हुनुपर्छ । किनभने दाँत फोहोर भयो भने हामीले जे-जति खानेकुरा खान्छौं, त्यो सबै दुषित हुन्छ । मुखमा खानेकुरा चपाउन थालेपछि त्यो सफा हुनुपर्छ । यसका लागि मुख तथा दाँत पनि सफा हुनुपर्छ ।

कवि, कलाकारले सौन्दर्यको वर्णन गर्दा दाँतको प्रसंग पनि उल्लेख गर्ने गर्छन् । कुनै युवती वा युवक राम्रो छ भनेर पुष्टि गर्नका लागि उनीहरुको दाँतको पनि व्याख्या गरिन्छ । ‘मिलेका दाँतका पंक्ति’, ‘अनारदाना जस्तै मिलेका दाँत’ यस्तै-यस्तै ।

दोहोर्‍याइरहनु परेन, दाँत सौन्दर्यकै एउटा हिस्सा हो । समग्र अनुहारकै सौन्दर्यमा दाँतको अहंम् भूमिका हुन्छ । नमिलेका, फोहोर, दुर्गन्धित दाँतले सौन्दर्य नै बिगारिदिन्छ ।

दाँतलाई आकर्षक राख्नुपर्छ । बलियो पनि । दुबैको लागि अरु केही गर्नुपर्दैन, केवल सरसफाईमा ध्यान दिए हुन्छ ।

दाँत त्यसबेला खराब हुन्छ, जब त्यसको सरसफाईमा ख्याल गरिदैन । खानेकुरा खाएपछि त्यसको टुक्रा दाँतमा रहन्छ । खानेकुराको लेउ दाँतमा टाँसिएर बस्छ । यस्ता टुक्रा तथा लेउलाई हटाउनुपर्छ । त्यसको लागि सजिलो र प्रचलित उपाय हो, दाँत ब्रस गर्नु ।

खाना खाएपछि ब्रस गर्नुपर्छ । सामान्यतः हामी दिनमा दुई पटक भात खान्छौं । बिहान र बेलुकी । खाना खाइसकेपछि दुई पटक नै दाँत ब्रस गर्नुपर्छ । दिनभर खाजा, नास्ता गरेपछि ब्रस गरिरहने अनुकुलता नमिल्न सक्छ । त्यसैले कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।

हामी धेरैजसो बिहान उठ्नसाथ ब्रस गर्छौं । हामीलाई लाग्छ, उठेपछि मुखको गन्ध हटाउन ब्रस गर्नुपर्छ । तर, यतिबेलासम्म राती खाएको खानाको टुक्रा सड्ने, गल्ने, कुहिने प्रक्रिया सुरु भइसकेको हुन्छ । दाँतमा जिवाणुहरु फैलिइसकेको हुन्छ । त्यसैले बिहान दाँत ब्रस गर्नुको खास अर्थ छैन ।

खाना खाइसकेपछि ब्रस गर्नु सबैभन्दा उपयोगी तरिका हो । खाना खाएपछि दाँतमा अल्झिएको खानेकुराको टुक्रा, लेउ आदि हटाउनका लागि ब्रस गर्नुपर्छ । ब्रस गर्ने पनि विधी छ । समयसीमा छ । पेस्टको गुणस्तर, ब्रसको गुणस्तरले पनि यसमा भूमिका खेल्छ ।

जुनसुकै किसिमको ब्रसले दाँतको सफाई प्रभावकारी ढंगले गर्दैन । खासमा दाँतमा रहेको फोहोर सफा गर्नका लागि मुलायम ब्रस चाहिन्छ । खासमा नाइलनको रेशा भएको ब्रस ठिक हुन्छ । यसले गिजालाई असर नगरी दाँतमा चेपिएर रहेको खानेकुरा पखाल्न सहयोग गर्छ ।

हामी एउटै ब्रस त्यसबेलासम्म प्रयोग गर्छौ, जतिबेलासम्म त्यो काम नलाग्ने हुन्छ । तर, यस किसिमको हेलचेक्राइले हाम्रो दाँत नै काम नलाग्ने बनाइदिन्छ । त्यसैले टुथ ब्रस निश्चित अवधीपछि बदल्नुपर्छ । दुई वा तीन महिनामा ब्रस बदल्नै पर्छ ।

अहिले दाँतको सुरक्षा, सफाई आदिको लागि विभिन्न प्रविधि र विधी प्रयोगमा छन् । यद्यपी कृतिम तरिकाले दाँतलाई बलियो बनाउने भन्दा प्राकृतिक रुपमै स्वस्थ्य बनाउनु राम्रो हो । दाँतलाई बलियो, स्वस्थ्य र सफा बनाउनका लागि सही समयमा सही ढंगले सफाई गर्नुपर्छ । अर्थात ब्रस गर्नुपर्छ ।

कतिपय खानेकुराले दाँतलाई कमजोर बनाउँछ । जस्तो कि, गुट्खा, पराग, पान, सुपारी, चुरोट आदिले दाँतलाई कुरुप र कमजोर बनाउँछ ।

धेरै तातो खानेकुरा वा धेरै चिसो खानेकुरा पनि दाँतको लागि अनुकुल मानिदैन । मध्यम तापमानको खानेकुरा उपयोगी हुन्छ । भिटामिन डि युक्त खानेकुराले दाँतलाई बलियो बनाउँछ ।

दाँतको सफाईसँगै गिजाको मसाज गर्ने विधी पनि निकै प्रभावकारी हुन्छ । अतः दाँतलाई केहि घरेलु विधीबाट पनि सफा गर्न सकिन्छ । यस सम्बन्धमा थप सामाग्री हामीले पेश गरिसकेका छौं ।



source https://www.onlinekhabar.com/2020/02/833038

एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्छ : शेखर कोइराला

१९ माघ, बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने बताएका छन् । एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुंग्याउन पनि उनले सरकारसँग माग गरे ।

‘अहिले बजार हल्ला एकातिर र एमसीसी अर्कोतिर छ,’ नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुंग्याउनु पर्छ । तर अनुदान भने लिनुपर्छ ।’

एमसीसी अनुदानमा सैन्य रणनीति जोडिएको कतिपयले बताइरहेका बेला कोइरालाले भने चर्चा गरिएजस्तो सैन्य रणनीति नरहेको बताए ।

प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा नेपाल बीआरआईमा गएको र एमसीसी सम्झौता पनि पनि कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुँदा भएको उनले प्रष्ट पारे । ‘पढौं,ं सच्याऊ । अमेरिका सरकारसँग छलफल गरौं र अनुदान लिऔं,’उनले दोहोर्याए ।

एमसीसी विवादमा अमेरिकी दूतावासको भूमिकाले पनि केही हदसम्म काम गरेको उनले बताए । उनले भने, ‘पहिले इन्डोप्यासिफिक भाग जस्तै भन्यो, अहिले होइन भन्यो । यसले केही विवाद पक्कै सिर्जना गरेको छ ।’

एमसीसीमा केही स्वार्थ भए पनि यसलाई नेपालको हितमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले कार्यकर्ताको भावनाअनुसार आगामी महाधिवेशनमा आफू अघि बढ्ने बताए । त्यसका लागि जिल्ला जिल्ललामा राय सुझाव संकलन गरिरहेको उनले जानकारी दिए । ‘कोइराला परिवारले मात्रै कांग्रेस धान्ने होइन होला । कार्यकर्ताको भावनाअनुरूप अगाडि बढ्ने सोचमा छु,’ उनले भने ।

नेता कोइरालाले सरकारमा बहुमतको दम्भ देखिएको र संघीयताकै मर्मविपरीत अघि बढेको आरोप पनि उनले लगाए ।

‘सरकारले सुशासन दिन सकेन, भ्रष्टाचार पनि बढ्दै गएको छ,’, उनले भने, ‘संघीयताको पक्षमा पनि सरकार देखिएन । केन्द्रले नै सबै कुरा लिने भए संघीयता कसका लागि ?’



source https://www.onlinekhabar.com/2020/02/833035

नेपाल बंगलादेश बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

१९ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५/७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बेंकले गर्ने गरेको छ । सोहि अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो ।

यसपाली जरिवाना तिर्नु पर्दैनः एनबी बैंक

एनबी बैंकले गत आर्थिक वर्षमा कृषिमा मात्रै थोरै रकम नपुगेको जानकारी दिएको छ । अन्य प्राथमिकताप्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बैंकले बतायो । यसपाली भने कृषिमा पनि तोकिएको लगानी पुग्ने बैंकका सुरेश देबकोटाले दाबी गरे ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा नै तोकिएको लगानी पुरा भएको प्रवक्ता देबकोटाले बताए । ‘गत वर्ष थोरै नपुगेको हो, यसपाली सबै क्षेत्रमा तोकिएको लगानी पुग्छ’ उनले भने, ‘यस वर्षको ५ महिनामा नै हामीले कृषिमा १० प्रतिशत पुर्याइसकेका छौं ।’



source https://www.onlinekhabar.com/2020/02/833034

उनले आफु चिकित्सक भएको कुरा पितालाई सुनाउनै पाएनन्

राजेन्द्र कोजु खासमा ‘मुटुका डाक्टर’ । उनी सेवाग्राहीको मुटु हेर्छन्, छाम्छन्, सुम्सुम्याउँछन् । मुटुको कार्यसम्पादनमा अवरोध पुर्‍याउने तत्व भए त्यसलाई हटाउने, उखेल्ने, मिल्काउने विधी अपनाउँछन् । डा. कोजुको सदीक्षा छ, ‘हरेकको मुटुले स्वभाविक ढंगले काम गर्न सकोस् ।’

यही अनुसार उनले अनगिन्ती मुटु खोतलेका छन्, शल्यक्रिया गरेका छन् ।

अक्सर अरुको मुटु सुम्सुम्याउने डा. कोजुको ‘मुटु’ चाँहि कस्तो होला ?

उनको स्पन्दन छाम्न धुलिखेल अस्पताल चाहनुपर्छ, जहाँ उनी यन्त्रवत् रोगीको उपचार र उपकारमा खटिएका हुन्छन् । दिनभर उनी बिरामीको मुटु जाँच्छन्, साँझ-बिहान आफ्नो मुटुको ढुकढुकी सुन्छन् । त्यो ढुकढुकी कहिले गीत बनेर गुञ्जन्छ, कहिले चित्रमा प्रकट हुन्छ ।

‘बुई मात्र होइन

काँध, काख, पिठ्युँ, पेट

जहाँ नि चढ्थे, बुवा सानोमा

हजुरको न्यानो स्पर्श, संसारकै सबभन्दा प्यारो थियो

आज हजुरलाई यो अवस्थामा बोक्न पाउँदा

संसारै हलुको महसुष हुन्छ बुबा ।’

कसैले आफ्ना पाको बुवालाई पिँठ्युमा बोकेको देखेपछि डा. कोजुको मनमा स्वतस्फूर्त यी हरफहरु फुर्छन् । संभवत उक्त दृश्यले डा. कोजुको हृदय यसरी स्पर्श गरे होलान्, जसले उनलाई बाल्यकालको स्मृति ताजा गराइदियो ।

उनै पिताजी, जसले कान्छो छोरोलाई भन्ने गर्थे, ‘बाबु, तिमी स्वास्थ्यकर्मी बन्नु ।’

अरु छोराछोरीले आ-आफ्नै मेलोमेसो मिलाइसकेका थिए । कान्छो छोरो राजेन्द्र कोजु भने स्वास्थ्य साहयक भएको हेर्ने पिताजीको रहर थियो । यो रहर भन्दा बढी विवशता थियो । किनभने पिताजी रोगी थिए । उनलाई मिर्गौलाको रोगले प्रतिदिन गलाउँदै लगेको थियो ।

त्यसबेला मिर्गौला रोगको उपचार संभव थिएन । एउटै मात्र अस्पताल ‘बीर अस्पताल’मा पनि मिर्गौला रोगको उपचार गर्ने पद्धती, प्रणाली एवं जनशक्ति तयार भइसकेको थिएन । त्यस्तो विषम अवस्थामा पिताजी मिर्गौलाको रोगसँग जुध्दै थिए ।

रोगले थलिएपछि पिताजीले स्वास्थ्य-उपचारको खोजी गरे होलान्, जुन त्यस बखत सहज र सुलभ थिएन । धामी-झांक्रीको भर पर्नुपर्ने । उपचार अभावकै कारण मर्नुपर्ने त्यो बाध्यतामा पिताजीलाई लागेको हुनसक्छ, ‘मेरो छोरो स्वास्थ्यकर्मी बनोस् । म जस्ता थलिएकालाई रोगमुक्त गरोस् ।’

छोरो के बन्न चाहन्छन् ? उनले सोधीखोजी गरेनन् । वा गर्न आवश्यक ठानेनन् । बरु, छोरो स्वास्थ्य साहयकसम्म भइदियोस् भन्ने चाहे ।

पिताजीकै रुचीलाई राजेन्द्र कोजुले आफ्नो लक्ष्य बनाए । भइदियो के भने, राजेन्द्र कोजु ‘स्वास्थ्य साहयक’ मात्र भएनन् । चिकित्सक भए । मुटु रोग विशेषज्ञ ।

उमेरको हिसाब-किताब गर्दा अहिले डा. राजेन्द्र कोजु ५२ बर्षका भए । उनको अनुहारमा उस्तै आभा छ, पाखुरीमा उस्तै जोश छ । दैनिकी गतिशिल छ । जबकी उनका पिताजी रोगसँग हारेर ५२ बर्षको उमेरमै बिते ।

छोरो चिकित्सक भएको देख्नै पाएनन् ।

सेवाका पर्याय

डा. राजेन्द्र कोजुको पछाडि जोडिने विशेषण हो, कहलिएका मुटु रोग विशेषज्ञ । तर, आज यो चिनारी बनाइरहँदा उनी एक पेशाकर्मीको हैसियतमा मात्र सीमित छैनन् । त्यसो नहुँदो हो त, उनी आफ्नो प्रतिष्ठामा गमक्क पर्थे होलान् । धन-ऐश्वर्यका खातिर दौडधूप गर्थे होलान् । मौका मिलेसम्म अकुत सम्पति कुम्ल्याउने थिए होलान् । किनभने स्वास्थ्य क्षेत्र विकारमुक्त छैन ।

उपचार खर्च तिर्न नसकेर कति रोगीले अस्पतालको छतबाट हाम फालेर आफुलाई सिध्याएका छन् । कतिको घर-खेत रित्तिएको छ । सरकारी अस्पतालका चिकित्सकहरु निजी क्लिनिकमार्फत रोगीसँग मोलमोलाई गरिरहेका छन् । निजी अस्पताल फेक रेस्क्यु गर्नेसम्मको धन्दामा सामेल छन् ।

यो कुरुप पृष्टभूमीमा आफुलाई सग्लो र अलग राख्न सहज छैन । तर, डा. कोजुले त्यही असहज बाटो रोजेका छन् । किनभने चिकित्सक बन्नुको पछाडि उनलाई एउटै कुराले छोएको छ, सेवा-भाव । पिताजीको रहर होइन, ‘छोरोले चिकित्सक बनेर मान-प्रतिष्ठा आर्जन गरोस् । धन-दौलतले पुगीसरी होस् । ऐश-आरमको जिन्दगी बिताओस् ।’

पिताजीको इच्छा थियो, ‘छोरोले चिकित्सक बनेर म जस्ता रोगीहरुको सेवा गरुन् ।’

उनले पिताजीको इच्छा सिरोपर गरे ।

त्यसैले त सेवाग्राहीहरु उपचारपछि प्रफुल्ल हुँदै कृतज्ञता पोख्छन्, ‘डा. कोजुको साथ र मायाले पूनर्जीवन पाएँ ।’ यस्तो अवस्थामा डा. कोजुको मन सन्तोषले हराभरा हुन्छ,  पिताजीको सायद यस्तै देख्न र सुन्न चाहन्थे ।

डाक्टर बन्ने सोचेकै थिएनन्

पितापूर्खाले आर्शिवाद यसरी दिन्थे, ‘भविष्यमा डाक्टर बन्नु, इन्जिनियर बन्नु, पाइलट बन्नु ।’ डाक्टर, पाइलट, इन्जिनियर सफलताको मानक थियो ।

त्यसैले बालबच्चालाई ‘तिमी के बन्छौं’ भनेर सोधिएको प्रश्नमा रेडिमेड जवाफ आउथ्यो, ‘डाक्टर बन्छु । पाइलट बन्छु । इन्जिनियर बन्छु ।’ तर, १० कक्षामा पुग्दासम्म राजेन्द्र कोजुलाई ‘डाक्टर बन्छु’ भन्ने नै थिएन । पढेर के बन्ने ? उनीसँग कुनै लक्ष्य थिएन । पढ्नुपर्छ भन्ने मात्र थियो । वस् ।

घर नजिक सरकारी विद्यालय थियो, २००६ मा स्थापना भएको । त्यही पढे । गजब के भने, उनी शिशु कक्षा वा एकमा भर्ना भएनन् । सोझै दुई कक्षामा भर्ना भए । र, फटाफट उत्तिर्ण हुँदै गए । घरमा पढन्ते दाजु र दिदीहरुको संगतले गर्दा उनलाई एकैपटक कक्षा २ मा भर्ना गरियो ।

त्यसबेला धुलिखेल अहिलेजस्तो कहाँ थियो ?

काठमाडौंबाट ३० किलोमिटर टाढा भएपनि धुलिखेल गाउँ थियो । गोरेटो थियो । खेतै खेत थियो ।

साथीसंगीसँग लुकामारी खेल्थे, डन्डिबियो खेल्थे । खान-लाउन पुग्ने परिवार थियो । धुलो माटोमा गुच्चा खेल्थे । बारीमा गएर मुला उखेल्दै खान्थे । बर्षे झरीमा बेपर्वाह भिज्थे । बाटोमा आउने भेलमा छलाङ मार्थे । यसरी हिलो-माटोमा लडिबुडी खेलेपछि ज्वरो नआउने कुरै भएन । तर, ज्वरो आउँदा दुध र बिस्कुट खान पाइने । रमाइलो हुन्थ्यो । फल्यासब्याकमा पुगेर डा. कोजुले आफ्नो भावना यसरी नै पोखेका छन् ।

विद्यालय तह पुरा गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौं ओर्लिए ।

काठमाडौं आएपछि उनले अंग्रेजी माध्याममा पढ्नुपर्ने भयो । त्यो पनि ऐच्छिक विषय विज्ञान । किनभने पिताले भनेथे, ‘स्वास्थ्यकर्मी बन्नु ।’ यसका खातिर विज्ञान नपढी सुखै थिएन ।

यद्यपि काठमाडौंको बसाई उनको लागि निकै रंगिन भइदियो । कहिले अंग्रेजी सिनेमा हेर्ने, कहिले अंग्रेजी गीत सुन्ने, कहिले अंग्रेजी उपन्यास पढ्ने । आफुलाई अंग्रेजीमा अभ्यस्त जो गर्नुथियो ।

पिताले औंल्याएको लक्ष्य पहिल्याउँदै उनी स्वास्थ्य साहयक भए । तर, यतिबेला बुवा बितिसकेका थिए ।

स्वास्थ्य साहयक भइसकेपछि राजेन्द्र कोजुको पहिलो कर्मथलो थियो, बाग्लुङ । काठमाडौं-धुलिखेलको परिधी नकाटेका नेवारको छोरो बाग्लुङको गाउँ-गाउँ चाहर्न थाले । त्यहाँको समाज, परिवेश अध्ययन गरे । गरिबी, अभाव, दुःख, समस्याको भूँमरीमा कसरी ग्रामिण जीवन रुमल्लिएको छ ? उनले नजिकबाट नियाले ।

बाग्लुङबाट फर्केपछि उनले स्वास्थ्य साहयकमै चित्त बुझाएनन् । चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट थप अध्ययन सुरु गरे, एमबिबिएसको ।

यता उनले आफ्नो स्तरबृद्धि गर्दै थिए । उता आफ्नो गाउँ धुलिखेलको कायकल्प पनि बद्लिदै थियो । बाटो, पानी, बिजुली जस्ता पूर्वाधारले हराभरा हुँदै थियो ।

त्यही बखत डा. रामकण्ठ मकाजु, डा. सुरेशराज शर्माहरु धुलिखेलको स्वास्थ्य र शिक्षामा आफुलाई समर्पित गर्दै थिए । पूर्व नगरप्रमुख बेलप्रसाद श्रेष्ठले यी सबैमा काँध थापेकै थिए ।

त्यहीबेला एउटा पाखोमा काठमाडौं विश्वविद्यालय र अर्कोमा धुलिखेल अस्पताल बनाउने खाका तयार भयो । यो खाकाभित्र डा. राजेन्द्र कोजुको सपना पनि समेटियो । धुलिखेल अस्पतालकै खातिर उनले मुटु रोग विशेषज्ञता हासिल गरे । अस्पताल निर्माण भएसँगै उनी पूर्णकालिन मुटु रोगीको सेवामा अहोरात्र खटिए ।

चिहान डाँडामाथि एउटा भवनबाट सुरु भएको धुलिखेल अस्पताल अहिले २ सय रोपनीको विशाल क्षेत्रमा फैलिएको छैन । यही अस्पताल अन्र्तगत विभिन्न जिल्लामा स्वास्थ्य शाखा सञ्चालनमा छन् । यो अस्पतालले आफ्नो फैलावट भूगोलमा मात्र सीमित गरेको छैन, दूर-दराजका रोगी, सेवाग्राहीसम्म यसको सेवा फैलिएको छ । यो मुनाफारहित अस्पतालले सस्तो शुल्कमा उपचार सेवा दिइरहेको छ । अशक्त, निमुखाका लागि निशुल्क उपचारको व्यवस्था गरेको छ । साथसाथै भौतिक पूर्वाधार, उपकरण, सेवा-सुविधामा यसले आफुलाई अरु उन्नत र सहज बनाउँदै लगेको छ ।

अस्पतालको छतमाथि उक्लिएर यसको सेरोफेरो नियाल्दै गर्दा डा. राजेन्द्र कोजुको छाती अरु चौडा हुन्छ । उनी यति मात्र भन्छन्, ‘इमान्दारिताको जगमा उभिएको अस्पताल हो यो ।’

तस्वीर तथा भिडियो : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2020/02/833020

जीपी कोइराला गोल्ड कपमा धनुषाको विजयी सुरुवात

१९ माघ, वीरगञ्ज । प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा धनुषाले विजयी सुरूवात गरेको छ । जिल्ला फुटबल संघ धनुषाको टोलीले पर्सालाई ट्राईबेकरमा पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल बराबरी खेलेका थिए। त्यसपछि भएको पेनाल्टी सुट आउटमा धनुषाले ४–२ ले बाजी मारेको हो । पहिलो हाफको २७ औं मिनेटमा धनुषाका प्रमोद यादवले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ४४ औं मिनेटमा पर्साका सुधीर श्रेष्ठले खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले पटक–पटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।

गिरिजाप्रसाद फाउन्डेसन वीरगञ्जले आयोजना गरेको प्रतियोगितामा आइतबार रौतहट र महोत्तरीबीच खेल हुँदैछ । प्रतियोगितामा उपाधि विजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक जीपी कोइराला फुटबल प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष मोहम्मद शहावुद्दीनले जानकारी दिए ।

प्रतियोगिताको शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले उदघाटन गरेका थिए । उनले फुटबल खेलको विकासका लागि यस्ता प्रतियोगिता लाभदायक हुने बताए । करिब २८ लाख ८० हजारको लागतमा हुन लागेको प्रतियोगितामा प्रदेश २ का ८ वटा टिम सहभागी छन् । नकआउट फुटबल प्रतियोगिता माघ २५ गते सम्पन्न हुनेछ ।



source https://www.onlinekhabar.com/2020/02/833028

छुट्टाछुट्टै सवारी दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु

१९ माघ, सर्लाही । जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् ।

बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ का २० वर्षीय राजेन्द्र यादवको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

गएराति मोटरसाइकललाई चारपाङ्ग्रे गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सर्लाहीको लालबन्दी नगरपालिका–१६, भोर्लेनीस्थित रानीगञ्ज परवानीपुर भित्री सडकखण्डमा ना१९प २१६० नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्ध महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१६ निवासीे ७० वर्षीया जोककुमारी थापा भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ठक्करबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लालबन्दीको हेल्थ केयर प्रालिमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833021

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More