Sunday, 2 February 2020

पूर्वएमाले सांसदले तिर्ने लेबी १ हजार घट्यो, यतीबारे स्पष्ट पार्ने जिम्मा ईश्वर पोखरेललाई

२० माघ, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अहिलेसम्म पार्टीलाई दुईथरी लेबी तिर्दै आएका थिए । पूर्वएमालेतर्फका सांसदले मासिक १३ हजार रुपैयाँ पार्टीलाई बुझाउँदै आएका थिए भने पूर्वमाओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ बझाउँदै आएका थिए । अब सांसदको लेबीले एकरुपता पाएको छ ।

माघ १५ देखि १९ सम्म काठमाडौंमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा केन्द्रका मन्त्री, सांसद एवं प्रदेशमा मन्त्री र सांसदहरुको लेबीबारे प्रश्न उठेपछि आइतबार यसबारे नेकपा सचिवालयमा छलफल भयो ।

सचिवालयको छलफलमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुको लेबी १२ हजार कायम गरेर एकरुप बनाउन प्रस्ताव गरेपछि सर्वसम्मतिमा लेबी मासिक १२ हजार रुपैयाँ कायम भएको अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई जानकारी दिएका छन् ।

नेकपाका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, अब पूर्वएमालेका सांसदहरुको लेबी पनि मासिकरुमा १२ हजार नै कायम भएको छ ।

त्यसैगरी नेकपाले लिँदै आएको पार्टी सदस्यहरुले तिर्दै आएको मासिक लेबी पनि घट्ने भएको छ । हाल नेकपाका सदस्यले मासिक ५० रुपैयाँ सदस्यता शुल्क तिर्दै आएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा सदस्यता शुल्क घटाउनुपर्ने र महिलालाई निशुल्क गराउनुपर्ने माग उठेपछि यसबारेमा पनि आइतबारको सचिलावय बैठकमा छलफल भएको स्रोतले बतायो । केही नेताहरुले सदस्यहरुको लेबी मासिक २५ रुपैयाँमात्रै राख्न प्रस्ताव गरे पनि यसबारे अर्को बैटकमा निर्णय लिइने तर सदस्यता शुल्क घट्ने जवाफ आएको केन्द्रीय सदस्यले बताए ।

नेकपाका केन्द्रीय नेताहरुको सम्पत्ति छानविन हुनुपर्छ भन्ने केन्द्रीय सदस्यहरुको मागका सम्बन्धमा पनि सचिवलायका नेताहरुले हललाई जवाफ दिएका छन् । हलमा सचिवालयका तर्फबाट जवाफ दिँदै प्रचण्डले विधान अनुशार पार्टीको अनुशासन आयोगलाई नेतहरुको सम्पत्ति विवरण लिने र अनियमितता भएको आशंका हुनेमाथि छानविन गर्न अधिकार दिइएको बताए ।

त्यसैगरी नेकपाको बैठकमा यती होल्डिङका सम्बन्धमा श्वेतपत्र जारी गरिनुपर्ने माग उठेको सम्बन्धमा नेपाल ट्रष्टको जग्गासम्बन्धी विषय रक्षामन्त्री ईश्वर पोखरेलले हेरिरहेको हुनाले पोखरेलेल नै यसबारे श्वेतपत्र जारी गर्ने जवाफ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई दिएका छन् ।

साथै, मन्त्री सांसद र कुनै राजनीतिक नियुक्तिहरुमा नरहेका होलटाइमर केन्द्रीय नेताहरुलाई मासिक पारिश्रमिकको व्यवस्था समेत नेकपा सचिवालयको आगामी बैठकले गर्ने निर्णय आश्वासन प्राप्त भएको केन्द्रीय नेताले सुनाए ।



source https://www.onlinekhabar.com/2020/02/833302

छाउगोठमा प्रशासन–स्थानीय दोहोरी, भत्काउन खोज्दा हवल्दार कुटिए

२० माघ, डोटी । अछाम बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन गाउँमा शनिबार छाउगोठ भत्काउने अभियान थियो । छाउगोठ भत्काउन जयगढबाट प्रहरी हबल्दार धनबहादुर कैलासहितको टोली पुग्यो ।

प्रहरी सहितको टोलीले छाउगोठ भत्काउन लाग्दा स्थानीय एक महिलाले बिरोध गरिन् । तर टोलीले उनको कुरा सुन्दै नसुनी भत्काउन थाल्यो । आक्रोशित महिलाले दाउराले प्रहरी हबल्दार कैलामाथी प्रहार गरिन् । कैला घाइते भए । उनको कम्मरमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

हवल्दार कैलामाथी आक्रमण गर्ने स्थानीय ५४ वर्षीया धना साउँदलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

०००

करिब एक महिनाअघि अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्भा थापाको छाउगोठ प्रहरी, जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए । उनको परिवारले फेरि छाउगोठ बनाएको छ । ‘छाउगोठ भत्काएपछि सर्प आयो,’ रम्भा भन्छिन्, ‘अचेल घर नजिकै फराकिलो गोठ बनाएका छौं ।’ पहिलेको भन्दा अहिलेको छाउगोठ सुरक्षित भएको उनको दाबी छ ।

०००

बझाङ, खप्तडछान्ना गाउँपालिका–७ गडराय गोर्खाली गाउँका वंश खड्काको घरमा रहेको छाउगोठ पनि गोठ भत्काउने अभियानअन्तरगत नै भत्काइयो । भत्काएको केही दिनमै खड्काले नयाँ गोठ बनाइहाले । ‘बुहारी सुत्केरी हुने समय नजिकिएकाले गोठ बनाउनु पर्‍यो,’ उनले भने, ‘परिवारका महिला सदस्यहरु सुत्केरी र महिनाबारी हुँदा बस्ने छाउगोठ त चाहियो नि !’

०००

गैरसरकारी संस्थाहरुको समेत सहभागीतामा प्रहरी र जनप्रतिनिधिहरुले छाउगोठ भत्काइए पनि स्थानीयले पुनः बनाउन थालेका छन् । छाउगोठ पुनः बनाउँदा स्थानीयले ४०/५० हजार रुपैयाँसम्म खर्च गरिरहेको पाइएको छ । अछाम साँफेबगर–१४ कि मोतीकला थापाले भनिन्, ‘छाउगोठ फेरि बनाउँदा ४० हजारजति खर्च भयो । घर सानो भएकाले सुत्ने ठाउँ नपुग्दा नयाँ छाउगोठ बनाउनुपर्‍यो ।’

छाउगोठ भत्काउने अभियानले समुदायमा विवाद सिर्जना गरेको अछामका पत्रकार विष्णु भण्डारी बताउँछन् । ‘भत्किएका छाउगोठहरु पनि फेरि बनाइँदैछन्, फेरि भत्काइँदै छन्,’ उनले भने, ‘कसैले भत्काऔं भन्छन्, कसैले भत्काउन पाइँदैन भन्छन् । विवाद बढ्दै गएको छ ।’ केही दिनअघि जुम्लाबाट निर्वाचित सांसद गजेन्द्रबहादुर महतले छाउगोठ भत्काइएको विरोध संसद बैठकमै गरेका थिए ।

अछाम प्रहरी प्रमुख भारती भने भत्काइएका छाउगोठहरु पुनः बनाइँदै गरेको जानकारी आफूहरुलाई नभएको दाबी गर्दछन् । उनले नयाँ गोठहरु बन्न लागेको कुरा आएपछि प्रहरीले अनुगमन गरिरहेको बताए । अछाम प्रहरी प्रमुख भारतीले भने, ‘हामीले अनुगमन गरिरहेका छौं, अहिलेसम्म त्यस्तो (नयाँ बनाउन लागेको) भेटिएको छैन ।’

पाँच हजार गोठ भत्काइए

गत पुस ९ गते संघीय सरकारको गृह मन्त्रालयले छाउगोठ भत्काउन निर्देशन दिएपछि अहिले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा गोठ भत्काउने अभियान जारी छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका अनुसार शनिबारसम्म पाँच हजार आठ सय ८० छाउगोठहरु भत्काइएका छन् । अछाममा सबैभन्दा बढी चार हजार सात सय ३३ गोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

यस्तै बाजुरामा तीन सय ३५, कैलालीमा दुई सय ७३ र डोटीमा दुई सय १७ छाउगोठहरु भत्काइएको कार्यालयले जानकारी दियो । कञ्चनपुरमा एक सय ९१, बझाङमा एक सय आठ र डडेल्धुरामा २३ छाउगोठ भत्काइएको उक्त कार्यालयसँग तथ्यांक छ ।

बैतडी र दार्चुलामा भने छाउगोठ नभएको स्थानीय प्रशासनको दावी छ । ‘हामीले प्रहरी र स्थानीय तहमार्फत खोजी गर्‍याैं,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल भन्छन्, ‘एउटा पनि छाउगोठ नभेटिएको भन्ने रिपोर्ट हामीलाई आएको छ ।’



source https://www.onlinekhabar.com/2020/02/833299

कोराेना र दुर्घटनाले धर्मरायो भ्रमण वर्ष

२० माघ, काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ खडा गरिदिएको छ ।

सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १ सय ५० जना (जहाजबाट आएका मात्र) ले नेपाल भ्रमण गर्दा चीनबाट भने १ लाख ६८ हजार ५ सय ४३ जना पर्यटक आएका थिए ।

नेपालको झण्डै एक तिहाइ पर्यटक छिमेकी दुई मुलुकमा निर्भर छ । तर, कोरोना भाइरसका कारण चीनबाट नेपाल आउने चिनियाँ पर्यटकको आगमन २०२० मा केही खस्किनसक्ने प्रष्टै दृश्य देख्न थालिएको छ ।

सुरुवातमै घटेका घटना तथा चीनमा फैलिएको कोरोना भाइरसले भ्रमण वर्ष धर्मराएको छ

हुन त चीनले भ्रमण वर्षका लागि सरकारीतवरबाटै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा समेत चीन नेपाल भ्रमण वर्ष सफल बनाउन प्रतिबद्ध रहेको उल्लेख छ । तर, पनि रोगको महामारी फैलिएर विश्वव्यापी जोखिम निम्तिरहेका बेला यस्ता प्रतिबद्धता व्यवहारमा लागू गर्न सहज अवस्था हुने छैन ।

जनवरी महिनामा कति पर्यटक नेपाल भित्रिए भन्नेबारे अध्यागमन विभागले आधिकारिक तथ्यांक सार्वजनिक गरिसकेको छैन । विभाग स्रोतका अनुसार, जनवरीमा भने चिनियाँ नागरिकको संख्या सामान्यमात्रै वृद्धि भएको छ ।

यो महिनामा कूल १३ हजार ९ सय ५८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को जनवरीमा १३ हजार ६ सय ८८ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । यो वर्ष झण्डै पोहोरभन्दा साढे ८ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालका लागि चिनियाँ पर्यटकको यस्तो आगमनदर निराशाजनक हो ।

कोरोनाको असरले आगामी दिनमा चिनियाँ नागरिकको आवागमन खस्कने र त्यसले समग्र भ्रमण वर्ष अभियानमा भने प्रभाव पर्ने निष्कर्षमा सरकार पनि पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक समारोहमा पर्यटन वर्षलाई कारोनाजस्ता प्राकृतिक धक्का लागेको बताइसकेका छन् । चीनसहित विश्वका सबैजसो मुलुक कोरोना संक्रमणबाट बच्नका लागि दौडधुपमा रहँदा घुम्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्ला भनेर अनुमान लगाउन पनि गाह्रो छ । अब तत्काल चिनियाँ नागरिकहरू विगतजस्तै उत्साहमा विदेश भ्रमणमा निस्कने छैनन् ।

त्यसमाथि चिनियाँ नयाँ वर्ष र उनीहरूको लामो बिदा पर्ने समयमै कोरोना भाइरसको प्रभाव परेको छ ।

डर अफवाहको

पर्यटन क्षेत्रका सरोकारवालालाई अहिले सबैभन्दा ठूलो डर नै सामाजिक सञ्जालमार्फत हुने अफवाहको छ । व्यवसायीसमेत यसमा चिन्तित छन् । ‘नेपाल कोरोनाको संक्रमणबाट सुरक्षित छ, नेपालले पर्याप्त सचेतना अपनाएको छ भन्नेबारे सूचना प्रवाह नै नहुँदा अन्य मुलुकबाट आउने पर्यटकको संख्यामा असर पर्ने हो कि भन्ने चिन्ता छ,’ होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ।

अहिलेसम्म नेपालमा एक जनामा मात्र संक्रमण देखिएको र उनी पनि उपचारपछि घर फर्किसकेको अवस्थामा नेपाल सुरक्षित गन्तव्य हो भन्नेबारे सुसूचित गराउन पहल भइरहेको उनले जानकारी दिए ।

खासगरी, निजी क्षेत्र र नेपाल पर्यटन बोर्डले अब अफवाह चिर्ने गरी अभियान चलाउने योजना छ ।

टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीसमेत नेपालमा आवश्यकताभन्दा बढी अफवाह फैलिँदा अन्य मुलुकबाट आउने पर्यटकमा समेत असर पर्ने हो कि भन्ने चिन्तमा छन् । त्यो चिर्न सरकारीतवरबाटै पहल हुनुपर्ने उनको सुझाव छ ।

साना होटेलमा घट्दैछन् पाहुना, ठूला होटेलमा प्रभाव छैन

कोरोना फैलिन थालेपछि चीनमा अपनाइएको उच्च स्वास्थ्य सतर्कताका कारण चिनियाँ पर्यटकको बढी रोजाइमा पर्ने साना होटेलहरुमा क्रमशः पाहुना घट्दै गएका छन् । होटेल क्राउन प्लाजाका अध्यक्ष युवराज श्रेष्ठका अनुसार सन् २०२० को प्रारम्भबाटै चिनियाँ पर्यटकमा उत्साहजनक आवागमन देखिएको छैन । त्यसमाथि अग्रिम बुकिङ रद्द गर्ने क्रमसमेत सुरु भइसकेको छ ।

ठूला होटेलमा भने अग्रिम बुकिङ र अक्कुपेन्सी अघिल्ला वर्षहरुमा जस्तै रहेको हानका प्रथम उपाध्यक्ष शाहको भनाइ छ ।

‘हामी कम विकसित मुलुक भएका कारण भाइरसको संक्रमणबाट सुरक्षित हुँदाहुँदै पनि विदेशीले कम विश्वास गर्छन्,’ उनी भन्छन्, ‘त्यसकारण सचेतना र सुरक्षित रहेका खबर बढीभन्दा बढी पठाउने प्रयासमा हामी छौं ।’

त्यसो गर्न नसक्ने हो भने समग्र होटल र पर्यटन व्यवसायमै यसले नकारात्मक असर पार्ने उनको भनाइ छ ।

नयाँ विकल्प खोज्दै सरकार

चीनका पर्यटक भित्र्याउन यो वर्ष गाह्रो रहेको विश्लेषण गर्दै अब सरकारले पर्यटक आवागमन बढाउन वैकल्पिक बजार खोज्ने तरखर भइरहेको बताएको छ । खासगरी नेपालको हवाई सम्पर्क बढी रहेको क्षेत्रबाट बढी भन्दा बढी पर्यटक ल्याएर चीनबाट हुने पर्यटकको कम आगमन परिपूर्ति गर्ने योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको छ । सोही प्रयोजनका लागि मन्त्रालयले अध्ययन गर्न एक समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव धनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी सम्मिलित समितिले चीनको विकल्पका रूपमा विकास गर्न सकिने सम्भाव्य गन्तव्यबारे सरकारलाई सुझाव दिनेछ ।

मन्त्रालयले शनिबार कोरोना भाइरस र यसले पारेको प्रभावबारे सरोकारवालाको बैठक आयोजना गरी यस्तो समिति बनाएको थियो । पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल आउने पर्यटकको संख्यामा कमी हुन नदिन नयाँ रणनीतिमा जान लागेको जानकारी दिएका छन् ।

नफापेको जनवरी २०२०

त्यसो त भ्रमण वर्ष २०२० का पहिलो महिना ‘जनवरी’को नेपालको पर्यटनबजारका लागि अफाप रह्यो । यो महिनाको प्रारम्भमै अन्नपूर्ण क्षेत्रमा हिउँपहिरो गयो । यस दूर्घटनामा ४ कोरियालीसहित ७ जना अझै हराइरहेका छन् । यसै महिनामा दामनस्थित एक रिसोर्टमा ८ जना भारतीय पर्यटकको निसास्सिएर ज्यान गयो । नेपालको पहिलो स्रोत बजार भारतमा यसले नकारात्मक असर पार्ने हो कि भन्ने चिन्ता भइरहेका बेला लगत्तै एक जना बंगलादेशी नागरिकको काठमाडौंस्थित होटेलमा हत्या भयो ।
यस्ता दूर्घटनाले समग्रमा नकारात्मक खबर फैलिएको भए पनि बुकिङ नै रद्द हुनेगरी पर्यटनमा प्रभाव भने नपरिसकेको निजी क्षेत्रको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/02/833298

जलविद्युतमा लगानी : साँवा जोगाउनै मुस्किल

२० माघ, काठमाडौं । जलविद्युत् कम्पनीको सेयर खरिद गर्न कुनै बेला दिनभर लाइन लाग्नुपर्थ्यो । कति कित्ता पर्ने अत्तोपत्तो थिएन, तर पनि सेयर किन्न चाहने सर्वसाधारणहरुको बैंकमा घुइँचो नै लाग्थ्यो । नलागोस् पनि कसरी त्यसबेला जलविद्युत् कम्पनीमा निकै आकर्षण थियो । एक जलविद्युत् कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो ।

अहिले सेयर भर्न लाइन लाग्ने युगको अन्त्य भइसकेको छ । त्योसँगै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर धेरै हुन्छ भन्ने अहिले एकादेशको कथा जस्तै भएको छ । जलविद्युत् कम्पनीहरुको किनेको सेयर मूल्य बढेर धेरै नाफा कमाउनु त परै जाओस् साँवा जोगाउन पनि मुस्किल छ । पछिल्ला केही समय यता सेयर बजार सुधार हुने क्रममा छ, तर जलविद्यत् कम्पनीहरुको सेयर मूल्य हेर्ने हो भने पुरै बजारप्रति नै निराश हुने स्थिति बनाउँछ ।

प्रतिकित्ता १ सय रुपैयाँमा गोलाप्रथाबाट पाएको परेको कतिपय जलविद्युत् कम्पनीको सेयर अहिले ५० प्रतिशतसम्म तल झरेको छ । नाफा कमाउने आश होइन साँवामात्रै जोगिए पनि हुने थियो भनेर लगानीकर्ताहरुले अपेक्षा गर्नुपर्ने अवस्था छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका दुई दर्जन जलविद्युत् कम्पनीहरुमध्ये डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य आईपीओको भन्दा कम अर्थात एक सयभन्दा तल झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो साताको अन्तिम कारोबार हेर्ने हो भने कुनै बेला २८ सय प्रतिकित्ता सेयर मूल्य पुगेको चिलिमे हाइड्रोपावर अहिले पनि धेरै मूल्य भएको कम्पनीमा पर्छ, तर यसको मूल्य घटेर प्रतिकित्ता ४२३ रुपैयाँमा आइपुगेको छ ।

अर्को राम्रै कम्पनी मानिएको बुटवल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रहेको छ । अपर तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ छ भने सानिमा माई हाइड्रो पावरको प्रतिकित्ता २०० रुपैयाँ छ । यीनै सबैभन्दा धेरै राम्रो सेयर मूल्य भएका जलविद्युत् कम्पनीहरु । अन्यको हालत त दर्दनाक छ ।

निजी क्षेत्रले बनाएका साना जलविद्युत आयोजनाहरु भूकम्प पछाडि समस्यामा छन् । खोलामा पानीको सतह घटेको र आयोजना रुग्ण अवस्थामा पुगेको भन्दै उनीहरुले आफूहरु वित्तिय जोखिममा परेको बताउने गरेका छन् । ऊर्जा मन्त्रालय भने निर्माणको क्रममा हाइड्रो इन्जिनियरिङको पक्षमा बेवास्ता गर्दा यस्तो अवस्था आएको बताउँछ ।

क्र.सं. एक सयभन्दा कम मूल्य भएकाहरु कम्पनी दुई सयभन्दा कम मूल्य भएका कम्पनीहरु
१. दिव्येश्वरी हाइड्रोपावर कम्पनी- रु. ५१ युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड- रु. १०४
२. नेशनल हाइड्रोपावर कम्पनी- रु. ५३ सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड- रु. १०६
३. आाखुखोला जलविद्युत्- रु. ५५ हिमालयन ऊर्जा विकास कम्पनी- रु. १०६
४. खानीखोला हाइड्रोपावर- रु. ५६ ङादी ग्रुप पावर लिमिटेड- रु. ११८
५. युनियन हाइड्रोपावर- रु. ५८ अपी पावर कम्पनी- रु. ११९
६. जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी- रु. ६३ नेपाल हाइड्रो डेभलपर्स लिमिटेड- रु. १२३
७. युनिभर्सल पावर कम्पनी- रु. ७३ पााचथर पावर कम्पनी- रु. १२३
८. रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी- रु. ७९ अरुण काबेली पावर कम्पनी- रु. १२५
९. पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड- रु. ८६ हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट- रु. १३७
१०. छ्याङ्गदी हाइड्रोपावर- रु. ८८ राधी विद्युत् कम्पनी- रु. १४६
११. कालिका पावर कम्पनी- रु. ८८ हिमालयन पावर पार्टनर लिमिटेड- रु. १५०
१२. बरुण हाइड्रोपावर- रु. ९४ रसुवागढी हाइड्रोपावर- रु. १६४
१३. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट- रु. ९६ साञ्जेन जलविद्युत्- रु. १५७

के भन्छन् जलविद्युत क्षेत्रका जानकार ?

सेयर बजारसम्बन्धी जानकारहरु जलविद्युत् क्षेत्र लगानीका लागि राम्रो भए पनि केही खराब कम्पनीका कारण बदनाम भएको बताउँछन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेल शुरुमा थोरै लागत लाग्ने देखाउने र पछि लागत खर्च धेरै बढ्दा जलविद्युत् क्षेत्रको सेयर मूल्यको यो हालत पुगेको बताउँछन् । तर ढिलै भए पनि सुधार हुने उनको अपेक्षा छ ।

पूर्बबैंकर अनलराज भट्टराई ब्याजदर बढेका कारण पनि जलविद्युत् क्षेत्रमा असर परेको बताउँछन् । विद्युत्को बिक्री मूल्य निश्चित हुने, तर ब्याजदर भने बढिरहने भएका कारण मुनाफा कम हुने भएकाले त्यसको असर सेयर बजारमा देखिएको उनले बताए ।

बैंकको ब्याजदरले प्रभाव पारेको छ : अनलराज भट्टराई, पूर्बबैंकर

हाइड्रोपावर भनेको लामो अवधिका लागि गरिने लगानीको क्षेत्र हो । हाइड्रोपावरमा रिटर्न आउन समय लाग्छ । आयोजना बनाउने समय, निर्माण सम्पन्न भएपछि सञ्चालनको लागि पनि समय लाग्छ । यसकारण तत्कालै प्रतिफल आउने क्षेत्र यो होइन ।

यो कुरा नबुझेर हतारिएका कारण पनि त्यसको नकारात्मक असर परेको छ । प्रतिफल आउन ढिला भयो, अर्को क्षेत्रमा लगानी गर्छु भनेर १ सय रुपैयाँको शेयर ७० रुपैयाँमै बिक्री गरिएको पनि हुनसक्छ । होल्ड गर्न नसकेका कारण यस्तो भएको हो ।

अर्को मुख्य कुरा विद्युतको बिक्री मूल्य फिक्स्ड हुन्छ । नेपाल विद्युत् प्राधिकरण पावर पर्चेज सम्झौता गर्दा नै फिक्स रेट तोकेको हुन्छ । आयोजनामा ऋण ल्याएर लगानी गरिएको हुन्छ ।

ऋणको ब्याजदर त बढ्छ । ब्याज बढ्दाखेरि मुनाफा घट्ने भयो । सञ्चालन खर्च घटाएर केही नाफा बढाउन सक्लान् । नत्र ब्याजदर बढ्यो भनेर बिक्री मूल्य त बढ्दैन ।

सेलिङ प्राइस कन्स्ट्यान्ट हुने र ब्याजदर बढ्ने भएकाले आयोजनाले राम्रो प्रतिफल दिन सकेनन् । यसबाट रेस्क्यू गर्नका लागि यो क्षेत्रमा जाने कर्जाको ब्याजदरमा सहुलियत दिनुपर्छ ।

अहिले हामीले २० अर्बको विजुली आयात गरिररहेका छौं । ६ महिनाको तथ्यांक हेर्ने हो भने सय अर्बको त हामी खाना पकाउने ग्यास तथा इन्धन १ सय अर्ब बराबरको आयात गरेका छौं ।

हामीले यहाँ विद्युत् उत्पादन राम्रो गर्न सक्ने हो भने यो आयात गर्ने ठूलो रकम हामीले जोगाउन सक्छौं । यसले हाम्रो विदेशी मुद्राको संचिति बढाउँछ । यसकारण यो क्षेत्रमा जाने कर्जामा सहुलियत दिनु पर्छ ।

अहिले भइरहेकै अवस्था रहने हो भने जलविद्युत्मा गरेको लगानी बालुवामा पानी झैं हुने सम्भावना छ जुन हुन दिनु भएन । यो क्षेत्र भनेको निरुत्साहित हुन दिन नहुने क्षेत्र हो । २००७ देखि हाम्रो देशमा जलविद्युत्मा लगानी हुन शुरु भएको हो । त्यसबेला ब्याजदर ६ प्रतिशत थियो ।

अहिले दोब्बरभन्दा पनि बढेर १३/१४ प्रतिशत पुगेको छ । ब्याज बढ्ने, बिक्री हुने वस्तुको मूल्य नबढ्ने । यो हाम्रो मुलुकका लागि महत्वपूर्ण क्षेत्र हो । हामीले २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्यौं भने देश नै ट्याक्स फ्री मुलुक बन्न सक्छ । अरु देशले जमिनबाट तेल निकालेजस्तो हामी बगेको पानीबाट विद्युत् निकाल्न सक्छौं । यसकारण पनि हामीले यो क्षेत्रलाई ध्यान दिएर मुलुक समृद्ध बनाउनु पर्छ ।

खराब कम्पनीका कारण वितृष्णा पैदा भयो : अम्बिका पौडेल, पूर्व अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

जलविद्युत्को सेयरमा गरिएको लगानी बालुवामा पानी होइन । केही खराब कम्पनीका कारण यो क्षेत्र नै नराम्रो जस्तो देखियो । सबै नराम्रा कम्पनी छैनन्, केही नराम्रा कम्पनीहरु आए जसका कारण समग्र जलविद्यत् क्षेत्रमा नै वितृष्णा पैदा भएको छ ।

हिँजो चिमिले हाइड्रोपावरको सेयर प्रतिकित्ता २ हजार ८ सयसम्म पुगेको थियो । हिजो २८ सय रुपैयाँमा सेयर किनबेच भएको थियो चिलिमेले पि्रमियममा सेयर निश्कासन गरेको थियो । आजका मितिमा केही जलविद्युत् आयोजनाहरु धेरै राम्रा छन् ।

लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन सक्ने कम्पनीहरु पनि छन् । एकदमै धेरै लागतका आयोजनाहरुको सेयर मूल्य ठीकै छन् । माथिल्लो तामाकोशी आयोजनाकै उदाहरण हेर्न सकिन्छ । अहिले पनि सय रुपैयाँ तल झरेको छैन । १५/१६ करोडका आयोजनाहरुको हालत खराब छ । मुख्य वितृष्णा आउनुको कारण केही खराब कम्पनीहरु हुन् ।

जसले शुरुमा आयोजनाको लागत थोरै भनेपछि धेरै भयो । शुरुमा थोरै भनिएको लागत खर्चपछि धेरै बढ्दै जाँदा खर्च रिकभर हुन सकेन । जसका कारण ती कम्पनीहरु खराब देखिए, तिनै कम्पनीहरुका कारण जलविद्युत् सेक्टरमा नै वितृष्णा देखिएको हो ।

हाइड्रोपावर क्षेत्रलाई नराम्रो भन्न मिल्दैन । लगानीका लागि यो राम्रै क्षेत्र हो । भोलिका दिनमा नेपालमा अवश्यक पनि सुधार हुन्छ । अहिले जुन अवस्था यो लामो समयका लागि होइन । लगानीकर्ताको सोच यो क्षेत्रमा सकारात्मक हुँदै जानेछ ।

यो सत्य कुरा हो, भोलिका दिनमा राम्रा कम्पनीहरु सेयर मूल्य राम्रो हुन्छ । समग्र क्षेत्र नै खराब होइन, यसकारण पछि राम्रा कम्पनीहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ । साधारण उदाहरणको रुपमा हामीले बीमालाई हेर्न सक्छौं । हिँजो अधिकांशको सेयर मूल्य दुई/अढाई सय थियो, अहिले अधिकांशको ५ सय माथि छ ।



source https://www.onlinekhabar.com/2020/02/833284

अंशु फाटीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी

काठमाडौं । युवा खेलाडी अंशु फाटीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी बनेको छ ।

अंशु फाटीले २ मिनेटको अन्तरमा २ कीर्तिमानी गोल गर्दै लेभान्टेलाई पराजित गरेको हो । योसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी छोट्याएको छ।

फाटी ला लिगाको एकै खेलमा २ गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १ मिनेटको अन्तरमा यो कीर्तिमान बनाएका हुन् । दुवै गोलका लागि कप्तान लिओनल मेस्सीले ‘असिस्ट’ गरेका थिए । फाटीले ३० औं र ३१ औं मिनेटमा गोल गरेका थिए । लेभान्टेका लागि इन्जुरी टाइममा रुबेन रोचिनाले गरे ।

जितपछि बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ । समान खेलबाट ४९ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/02/833288

टोटनह्यामसँग म्यानचेष्टर सिटी पराजित

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी टोटनह्याम हट्सपरसँग पराजित भएपछि लिग लिडर लिभरपुललाई प्रिमियर लिगको उपाधि होडमा अझै फाइदा पुगेको छ ।

आइतबार भएको खेलमा १० खेलाडीमा रहेको सिटी टोटनह्यामसँग २–० ले पराजित भयो । टोटनह्यामका लागि स्टेभन बर्जविन र हेउन मिन सनले दोस्रो हाफमा गोल गरे । पहिलो हाफमा सिटीले पेनाल्टी पाए पनि इकाए गुन्डागोनको पेनाल्टी प्रहार टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले बचाएका थिए ।

३९ औं मिनेटमा भीएआरको सहयोगमा सिटीले पेनाल्टी पाएको थियो । तर, गुन्डागोनको प्रहार लोरिसले बचाए । त्यसलगत्तै लोरिसले बल बचाउ सिटीका खेलाडीलाई लडाएपछि सिटीले पेनाल्टीको अपिल गरेको थियो । तर भीएआरले पेनाल्टी दिएन ।

दोस्रो हाफमा टोटनह्यामले २ गोल गर्दा सिटीले एक खेलाडी गुमायो । ६० औं मिनेटमा ओलेक्जन्डर जिनचेन्को रातो (दोहोरो पहेँलो) कार्ड पाएपछि सिटी १० खेलाडीमा झर्‍यो । त्यसैको फाइदा उठाउँदै टोटनह्यामले दुई गोल गर्‍यो ।

६३ औं मिनेटमा लुकास माउराको पासमा स्टेभन बर्जविनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । बर्जविनले प्रिमियर लिगमा डेब्युमै गोल गरेका हुन् ।

७१ औं मिनेटमा एनडोम्बेलेको पासमा सन हेउन मिनले टोटनहमका लागि दोस्रो गोल गरे । यस सिजन दशौं जित हात पारेको टोटनह्याम २५ खेलबाट ३७ अंक जोड्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ ।

टोटनह्यामसँग सिटी पराजित भएपछि लिग लिडर लिभरपुललाई फाइदा पुगेको छ। २५ खेलबाट ७३ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानको सिटीको समान खेलबाट ५१ अंक छ । लिगमा अब १३ खेल बाँकी रहँदा लिभरपुलले साविक विजेता सिटीमाथि २२ अंकको स्पष्ट अग्रता बनाएको छ । अब लिभरपुलले सम्भावित ३९ मध्ये १७ अंक मात्र जोडे पनि लिग उपाधि जित्नेछ । सन् १९८९–९० मा पछिल्लो पटक लिग जितेको लिभरपुलले १९९३ मा आधुनिक प्रिमियर लिग सुरु भएयता उपाधि जित्न सकेको छैन ।



source https://www.onlinekhabar.com/2020/02/833286

भारतको जामिया विश्वविद्यालय गेटबाहिर गोली चल्यो

२० माघ, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चलेको छ । गएराति मध्यरातमा स्कुटरमा सवार व्यक्तिले विश्वविद्यालयको पाँच नम्बर गेट अगाडि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली चले पनि कोही हताहती भएको छैन ।

सोही विश्वविद्यालय नजिक नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन भइरहेको थियो । गोली चलाउने व्यक्तिहरुको पहिचान भने भएको छैन । गोली कोप्रति लक्षित थियो भन्ने पनि खुलेको छैन । यद्यपि प्रहरीले प्रत्यक्षदर्शीको वयानको आधारमा एफआईआर दर्ता गरेको छ ।

पछिल्लो चार दिनमा नागरिकता संशोधन विधेयकविरुद्ध भइरहेको प्रदर्शनस्थल नजिक गोली चलेको यो तेस्रो घटना हो । यसअघि ३० जनवरीमा एक व्यक्तिले प्रहरीकै अगाडि पेस्तोलबाट गोली प्रहार गरेका थिए । त्यसपछि १ फेब्रुअरीमा पनि शाहीनबाग क्षेत्रमा एक व्यक्तिले दुई राउण्ड हवाई फायर गरेका थिए ।

आइतबार बिहान उत्तर प्रदेशको राजधानी लखनउमा गोली हानी अखिल भारतीय हिन्दु महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको हत्या भएको थियो ।

आइतबार राति करिब साढे ११ बजे गेट नम्बर ७ को तर्फबाट दुई जना व्यक्ति रातो रंगको स्कुटर चढेर आए । स्कुटर गेट नम्बर ५ अगाडि रोकियो । पछाडि बसेको व्यक्तिले स्कुटरमाथि चढेर प्रदर्शनस्थलतर्फ गोली चलायो । त्यसपछि उनीहरु फेमिली हस्पिटलतर्फ भागेका थिए ।

यो घटनापछि विश्वविद्यालयका विद्यार्थीहरुले जामिया नगर प्रहरी स्टेशन घेराउ गरेका थिए । प्रहरीले आक्रमणकारीलाई पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विद्यार्थीहरु फर्किएका थिए ।



source https://www.onlinekhabar.com/2020/02/833275

१० दिनमै चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै

२० माघ, काठमाडौं । कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल साेमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार छ ।

संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।
त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । बीबीसीका अनुसार, दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ ।

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ । तर, बीबीसी समाचारमा भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख छ ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।

चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार मात्रै फिलिपिन्समा कोराना भाइरस संक्रमितको मृत्यु भएकाे थियाे ।  ४४ वर्षीय चिनियाँको उपचारका क्रममा फिलिपिन्सको राजधानी मनिलामा मृत्यु भएको हो । वुहानका ती चिनियाँ फिलिपिन्स आउनुअघि नै संक्रमित रहेको बताइएको छ ।

कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिका, अस्ट्रेलिया इटलीसहित विभिन्न देशले चीन हुँदै आउने पर्यटकका लागि आफ्नो देशको ढोका बन्द गराएपछि विश्व नै यतिबेला कोरानाबाट त्रस्त छ ।



source https://www.onlinekhabar.com/2020/02/833277

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकन टोली

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिकन टोली नेपाल आइपुगेको छ । यही बुधबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

अमेरिकन टोली भारतको मुम्बईमा प्रशिक्षण र ३ दिन अभ्यास खेल खेलेर नेपाल आइपुगेको छ । सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछ ।

अमेरिकी क्रिकेट टिम एक दशकपछि नेपाल आएको हो । सन् २०१० मा नेपालमै भएको डिभिजन ५ मा खेल्न अमेरिका पछिल्लो पटक काठमाडौं आएको थियो। डिभिजन ५ को फाइनलमा नेपालले अमेरिकालाई हराएर उपाधि जितेको थियो । तर लिग चरणमा नेपाल र अमेरिकाबीचको खेलमा नेपाली दर्शकले अभद्र व्यवहार गर्दा आईसीसीले अनुसन्धान नै गर्नुपरेको थियो । दर्शकको खराब व्यवहारपछि नेपाल भग्यमानी बन्दै सिंगापुरलाई रनरेटमा पछि पारेर फाइनल पुगेको थियो ।

लिग चरणको अन्तिम खेल अमेरिकाले जितेमा सीधै फाइनल पुग्ने थियो । नेपाल विजयी भएमा भने नेपाल र सिंगापुर फाइनल पुग्ने थियो । तर नेपाल पराजित भएको खण्डमा अमेरिका फाइनल पुग्थ्यो भने फाइनल पुग्ने दोस्रो टिमको निर्णय रनरेटमा हुन्थ्यो। यस्तो अवस्थामा नेपाल अमेरिकासँग हार्न लागेपछि नेपाल दर्शकले ढुंगा र बोतल मैदानमा फालेर खेललाई डिस्टर्व गरेका थिए । त्यसपछि ओभर घटाइएको खेलमा अमेरिका विजयी भए पनि नेपालले सिंगापुरलाई रनरेटमा पछि पारेको थियो ।

त्यस घटनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नराम्रो छवि बन्यो। साथै नेपालले आईसीसीको धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने अवसर पनि गुमाएको थियो ।

त्यसबेला खेलेको कुनै पनि खेलाडी अहिले अमेरिकन टिममा छैनन् । अहिलेको अमेरिकी टिममा भारत, वेष्ट इन्डिजदेखि दक्षिण अफ्रिका र अष्ट्रेलियाका खेलाडीहरू समेत छन् । नेपाली टिममा भने सन् २०१० मा डिभिजन खेलेका ४ खेलाडी अझै छन् । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का शरद भेषवाकर र विनोद भण्डारी छन् ।

सन् २०२३ को ओडिआई विश्वकपको रोडम्यापको रूपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालले पहिलो सिरिज खेल्न लागेको हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । अर्को टोली ओमान ८ अंकसहित चौथो स्थानमा छ । नेपालले खाता खोल्न बाँकी छ ।

यस्तै, सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको यो पहिलो पटक हो । समग्रमा भने नेपालको यो तेस्रो ओडीआई सिरिज हुनेछ ।



source https://www.onlinekhabar.com/2020/02/833292

राष्ट्र बैंकको एक सञ्चालक पद रिक्त हुँदै, खनालको औपचारिक बिदाइ आज 

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको एक सदस्य पद आजबाट रिक्त हुने भएको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव डा. राजन खनाल अवकाश हुने भएसँगै एक सञ्चालक समिति पद आजबाट रिक्त हुने भएको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार खनाल राष्ट्र बैंकको सञ्चालक थिए ।

अनिवार्य अवकाश पाएर खनाल आगामी २२ गते सरकारी सेवाबाट बिदा हुँदैछन् । अवकाश पाउन २ दिन बाँकी नै रहे पनि राष्ट्र बैंकले भने सोमबार नै बिदाइको तयारी गरेको छ ।

सोमबार बस्ने सञ्चालक समिति बैठकले खनालको बिदाइ गर्न लागेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘वहाँको कार्यकाल २ दिन बाँकी नै छ, तर बोर्ड बैठक सोमबारपछि अर्को सातामात्रै बस्ने भएकाले बिदाइ गर्न लागिएको हो,’ उनले भने ।

ती अधिकारीका अनुसार खनालका लागि सोमबार नै राष्ट्र बैंकले बिदाइ भोजसमेत आयोजना गरेको छ ।



source https://www.onlinekhabar.com/2020/02/833273

६० सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

२० माघ, काठमाडौं । सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) पनि परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

त्यस्तै, आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् । भुसाल प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखा र प्रवक्ताको भूमिकामा थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई पनि अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पनि परिवर्तन भएको छ । संघीय मामिलाले विभागको महानिर्देशकको भूमिकामा रहेका विष्णुकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो ।

हेर्नुहोस् सीडीओ सरुवाको सूची



source https://www.onlinekhabar.com/2020/02/833270

छापामा : आज नेकपाले ब्युँतायो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा

२० माघ, काठमाडौं । नेकपाको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकमाथि आजका सबैजसो दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । त्यस्तै, चीनबाट नेपाली विद्यार्थी फर्काउन भइरहेको तयारीबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् ।

‘प्रत्यक्ष निर्वाचित राष्टपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहस सुरु’ शीर्षकमा नयाँ पत्रिकाले आज मुख्य समाचार लेखेको छ । जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको हो ।

नयाँ पत्रिकाका अनुसार, नेकपाको केन्द्रीय समिति बैठकबाट उपाध्यक्षको जिम्मेवारी पाएका वामदेव गौतमले अहिलेको शासकीय स्वरूपमा परिमार्जन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने विषयमा पार्टी सचिवालय बैठकमै छलफल भएको बताएका छन् । उनले भनेका छन्– प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको शासकीय प्रणालीमा जानेबारेमा गहन छलफल गरेका छौं । प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने धेरै राम्रो हुन्छ । त्यो भएन भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्छन् । यो स्थितिमा अब सांसदहरूको भूमिका फरक हुन्छ ।

नेकपाले नेताका सम्पत्ति छानबिन गर्ने भएको खबर अन्नपूर्णमा छापिएको छ । त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय नेकपालले गरेको छ ।

यसअघि पनि नेकपाले पटकपटक नेताको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । तर, त्यो कार्यान्वयनमा आएको थियो ।

‘विमति राख्ने खनालकै काँधमा एमसीसी’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार लेखेको छ । समाचार अनुसार, एमसीसी आईपीएसअन्तर्गत नै हो र कुनै हालतमा अनुमोदन गर्न हुन्न भनेर यसअघि मत राख्ने वरिष्ठ नेता झलनाथ खनाललाई नै कार्यदलको संयोजक बनाइएको छ । एमसीसीका विषयमा सबैभन्दा चर्का आलोचक स्थायी कमिटी सदस्य भीम रावल र पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यदलको सदस्य बनाइएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833262

Saturday, 1 February 2020

भरपेट खाइसकेपछि पनि भोक लागेको महसुष हुन्छ ?

भरपेट खाना खानुभयो । तर, केही क्षणमै भोक लागेको महसुष भयो । किन यस्तो हुन्छ ?

पेट त भरिएको छ । केही समयअघि पेट चर्किनेगरी खाना खानुभएको थियो । यस्तो अवस्थामा भोक लागेको महसुष हुन्छ भने त्यसले शरीरमा केही गडबडी छ भन्ने संकेत गर्छ ।

१.  न्यून रक्तचाप

बारम्बार भोक लाग्नुको एउटा ठूलो कारण हुन सक्छ । आवश्यकताभन्दा बढि व्यायाम, आवश्यक कार्बोहाइड्रेट नलिनु, र लामो समयसम्म भोकै बस्नुले न्यून रक्तचापको समस्या हुन्छ । जो व्यक्तिहरु न्यून रक्तचापका रोगी छन्, उनीहरुलाई भोक बढि लाग्छ । र, उनीहरुलाई रिस पनि धेरै उठ्छ ।

अन्य समस्याहरु

थकान, टाउको दुख्ने, अत्यधिक पसीना, चक्कर लाग्नु

के गर्ने ?

पौष्टिक खानेकुराका खानुका अलावा पैदल हिँड्ने, साइक्लिङ र स्वीमिङ जस्ता व्यायाम गर्नुस

२.  मधुमेह

टाइप  र टाइप २ मधुमेहका रोगीहरुलाई पनि बारम्बार भोक लाग्छ । मधुमेहका रोगीहरुको उच्च रक्तचाप हुन्छ जसले गर्दा खाएको बेला पनि भोक लागेको महसुस हुन्छ । मधुमेहका रोगीहरुको शरीरको हरेक कोष इन्सुलिनमा निर्भर हुन्छ ।

यदि इन्सुलिन पर्याप्त मात्रामा भएन वा यसले राम्ररी काम गरेन भने सुगर ब्लडमा मिल्छ र ती कोषहरुसम्म पुग्न सक्दैन जहाँ यसको आवश्यकता हुन्छ । त्यसले गर्दा कोषले मस्तिष्कलाई सन्देश पठाउँछ कि उसलाई अत्यधिक खानुपर्ने छ र यसका कारण धेरै भोक लाग्छ ।

अन्य समस्याहरु

अत्यधिक तिर्खा, बारम्बार पिशाब आउनु, वजन कम हुनु, आँखाले धमिलो देख्नु र थकान महसुस हुनु

के गर्ने ?

ब्लड सुगरको स्तरलाई सँधै नियन्त्रित राखौं

३.  आन्द्रामा किरा

अत्यधिक भोक लाग्नुले कहिले काहीँ आन्द्रामा किरा परेकातर्फ संकेत गर्छ । यी किरा खासगरी टेपवर्म वा पिनवर्म हुन्छन् जुन आन्द्रामा लामो समयसम्म बस्न सक्छन् । यिनीहरुले परजीवी व्यक्तिको शरीरबाट सबै आवश्यक पोषक तत्व लिन्छन् जसले गर्दा खानापछि पनि भोकको महसुस भइरहन्छ ।

अन्य समस्याहरु

पेटको दुखाई, वजन कम हुनु, मुखबाट दुर्गन्ध, उल्टी र गुप्तांग चिलाउने

के गर्ने ?

बारम्बार भोक लाग्नुका साथै तौल पनि कम हुँदै गयो भने उपचार गर्नैपर्छ ।

४.  निन्द्रा नपुगेर

शरीरका लागि खाना र पानीको जति महत्व छ, उत्तिनै निन्द्राको पनि । अर्थात विश्रामको । स्वस्थ्य जीवनका लागि ७ देखि ८ घण्टा गहिरो निन्द्रा लिनुपर्छ । यस किसिमको निन्द्राले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । ताजा अनुभव गरिन्छ । जबकी निन्द्रा पुगेन वा खलबलियो भने, त्यसले स्वास्थ्यमा समस्या ल्याउँछ ।

खाना खाए लगत्तै खानेकुराको तलतल लाग्नुमा पनि अनिन्द्रा एउटा कारण हो । आवश्यक भन्दा कम निदाइयो भने भोक लाग्छ ।

अन्य समस्याहरु

मुडमा परिर्वन, आलस्यता, दिउसो निद्रा नलाग्नु, तौल बढनु आदि ।

के गर्ने ?

पर्याप्त निन्द्रा लिने अभ्यास गरौं । यसबाट शरीरको इनर्जी लेभल र भोक बढाउने हार्मोन्सको स्तर सन्तुलित रहनेछ ।

५.  अत्यधिक तनाव 

हामीले महसुष गरेका छौ, सामान्य चिन्ता वा तनाव भयो भने खानमा अरुची हुन्छ । तर, कतिपय अवस्थामा यसको ठिक विपरित हुन्छ । जब तनाव हुन्छ, भोक लागेको महसुष हुन्छ ।

मनमा औडाह भएपछि, मन विचलित भएपछि यस्तो अनुभव हुन्छ ।

अत्याधिक तनावग्रस्त भएको अवस्थामा शरीरमा कोर्टिसोल नामक स्ट्रेस हार्मोन रिलिज हुन्छ, जसले गर्दा बारम्बार खाने इच्छा हुन्छ । सन् २००८ मा गरिएको एक अध्ययनको रिपोर्टअनुसार जो व्यक्तिहरु तनाव वा डिप्रेसनमा हुन्छन्, उनीहरुको शरीरमा भोक बढाउने ग्रेलिन नामक हार्मानको स्तर बढेर जान्छ । यसले गर्दा बारम्बार भोक लाग्नु स्वभाविकै हो ।

अन्य समस्याहरु

रिस, थकान, टाउको दुखाई, अनिद्रा, पेटको समस्या

के गर्ने ?

तनाव हटाउनका लागि ध्यान, योग र संगीतको सहारा लिनुपर्छ

६.  थाइराइड

थाइराइडलाई प्रभावित गर्ने हाइपरथाइराइडिज्मका कारण व्यक्तिलाई अत्यधिक भोक लाग्छ । खासमा, जब शरीरमा थाइराइड हार्मोनको स्तर बढ्छ, यसले मेटाबोलिक रेट बढाउँछ जसबाट लगातार भोक लाग्ने जस्तो समस्या उत्पन्न हुन्छ ।

अन्य समस्याहरु

पल्स रेट बढ्नु, हडबडी, अत्यधिक पसीना, कमजोरी र बारम्बार तिर्खा लाग्नु

के गर्ने ?

एक्सरसाइज गर्ने,  बदाम, ओखर र मरिचको सेवन गर्ने, दुधमा बेसार हालेर पिउने, बिहान खाली पेटमा लौकाको जुस पिउने

७. पानीको कमी

जब व्यक्तिको शरीरमा पानीको कमी हुन्छ, त्यतिबेला उसलाई अत्यधिक भोकको महसुस हुन्छ । डिहाइड्रेसन हुँदा बढि मानिसहरु मस्तिष्कबाट प्राप्त हुने भोक र तिर्खाको संकेतबीचको अन्तर बुझ्न सक्दैनन् । त्यसैले उनीहरुलाई भोजनको आवश्यकता परेको जस्तो लाग्छ, जबकि उनीहरुलाई आवश्यकता हुन्छ पानीको ।

अन्य समस्याहरु

कब्जियत, छालामा रुखोपन, तागतको कमी, पिशाबको कमी र आँखामा सुख्खापन

के गर्ने ?

डिहाइड्रेसन हुँद्या खानाभन्दा अगाडि एक वा दुई गिलास पानी पिउने



source https://www.onlinekhabar.com/2020/02/833049

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More