Monday, 3 February 2020

भन्सारका नायब सुब्बा डेढ लाख घुससहित पक्राउ

२१ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम भन्सार कार्यालयबाट एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आएको टोलीले उनलाई जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833536

विद्यालयको योजना छनोट राष्ट्रपतिबाट

२१ माघ, काठमाडौं ।  आजका पत्रिकाहरुमा फरक-फरक विषय प्रमुख समाचारको रुपमा प्रकाशित भएका छन् । चीनबाट नेपालीहरुलाई स्वदेश फर्काएपछि १४ दिनसम्म निगरानीमा राखिने मुख्य समाचार छापेको कान्तिपुर दैनिकले ‘विद्यालयको योजना छनोट राष्ट्रपतिबाट !’ शीर्षकको अर्को समाचारलाई दोस्रो प्राथमिकता दिएको छ ।

समाचारमा लेखिएअनुसार सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय गराउने भएको छ । विद्यालयको आवश्यकता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनामा बजेट पठाउने गरी राष्ट्रपति शैक्षिक सुधार कार्यान्वयन कार्यविधि बनाइएको हो ।

संविधानले विद्यालय तहको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइसकेको छ तर, विद्यालय सुधार गर्न छानिने योजनाको अन्तिम निर्णय संघीय सरकारले गरेर योजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै स्थानीय तहलाई दिने गरी माघ ६ को मन्त्रिपरिषद बैठकले कार्यविधि पारित गरेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

चिनियाँ टोलीको निष्कर्ष : टोखा-नुवाकोट सुरुङमार्ग सम्भव

गोरखापत्र दैनिकले टोखा-नुवाकोट सुरुङमार्ग सम्भव रहेको निष्कर्ष चिनियाँ प्राविधिक टोलीले निकालेको मुख्य समाचार छापेको छ । टोखा-नुवाकोट सुुरुङमार्ग काठमाडौंलाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्ताव गरिएको हो ।

‘चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन प्राविधिक रुपमा सम्भव देखिएको छ,’ गोरखापत्रको समाचारमा लेखिएको छ, ‘चिनियाँ टोलीले एक महिनासम्म स्थलगतरुपमा बसेर अध्ययन गरेको थियो ।’

समाचारमा लेखिएअनुसार अब चिनियाँ टोलीले आगामी मार्चको अन्तिम साता अध्ययन प्रतिवेदन चीन सरकारलाई बुझाउने छ । त्यसपछि चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

एमसीसीमा संशोधन !

अन्नपूर्ण पोष्ट दैनिकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन -एमसीसी) संशोधन गरिने समाचार छापेको छ । एमसीसीबारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलका संयोजक झलनाथ खनालले अन्नपूर्णसँग संक्षिप्त एमसीसीमा कुरा गर्दै केही न केही परिमार्जन हुनैपर्ने बताएका छन् । खनालले भनेका छन्, ‘हामी जस्ताको तस्तै स्वीकार गर्नुपर्छ भन्ने पक्षमा छैनौं । केही न केही परिमार्जनचाहिँ हुनैपर्छ ।’

एमसीसीका नेपाल प्रमुख खड्कबहादुर विष्टले भने सम्झौता संशोधन गर्न खोज्दा एमसीसीकै भविष्य अन्योलमा पर्न सक्ने बताएका छन् ।

हायात होटलमा सरकारको सेयर ९ प्रतिशतमा सीमित

नयाँ पत्रिका दैनिकले सरकारको ३०४ रोपनी जग्गामा फैलिएको हायात होटलमा सरकारको सेयर ३९.७७ प्रतिशतबाट घटेर जम्मा ९.०१ प्रतिशतमा सीमित भएको मुख्य समाचार छापेको छ । यो कुराको खुलासा एक वर्षअघि नै भए पनि सरकार मौन बसिरहेको समाचारमा उल्लेख छ । बौद्धस्थित होटल हायातको जग्गा विवादमा हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्न संसदीय समितिले एक वर्षअघि दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि नदेखाएको नयाँ पत्रिकाले लेखेको छ ।

यसबारे सोधिएको प्रश्नमा पर्यटनमन्त्री योगेश भट्टराईले ‘सरकारले गम्भीरताका साथ काम गरिरहेको’ बताएका छन् ।



source https://www.onlinekhabar.com/2020/02/833527

Sunday, 2 February 2020

मौन बसेकी वर्षाले साइन गरिन् २ फिल्म

नायिका वर्षा राउत करिब ८ महिना मौन बसिन् । चलचित्रमा भन्दा उनको व्यस्तता म्यूजिक भिडियोमा नै देखियो । चलचित्र ‘जात्रै जात्रा’ रिलिज भएपछि वर्षाले अब आफू असफल चलचित्र सहन नसक्ने भन्दै नयाँ चलचित्र साइन गर्न समय लगाइन् ।

तर, करिब ८ महिना मौन बसेकी वर्षाले अब भने २ चलचित्र लगातार साइन गरेकी छिन् । वर्षाले अभिनय गर्न लागेको चलचित्र ‘२ नम्बरी’को छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ । यो चलचित्रमा नायिका पल शाहले वर्षासँग रोमान्स गर्दैछन् ।

उनै, वर्षाले निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘के घर के डेरा’ पनि साइन गरेकी छिन् । उनी यो चलचित्रमा नायकद्धय दयाहाङ राई र विपिन कार्कीको साथमा देखिदैछिन् ।

अब, अर्को बर्ष वर्षाका २ चलचित्र रिलिज हुने पक्का भएको छ । यो बर्ष पनि उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज भएका थिए ।

चलचित्र ‘जात्रै जात्रा’ हिट भएपछि असफल चलचित्र सहन नसक्ने भन्दै ८ महिना कुरेर नयाँ चलचित्रमा काम गर्न लागेकी वर्षाका लागि यो निर्णय सही होला या गलत, यसका लागि चलचित्र रिलिजसम्म कुर्नैपर्छ ।



source https://www.onlinekhabar.com/2020/02/833343

बोल कुलमान, एक वचन बोल !

२० माघ, काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमएमसी) नेपालमा भित्र्याउने कि नभित्र्याउने भन्ने विवाद निकै चर्को बनेको छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म एकसे एक विज्ञ उत्पादन भएर माथापच्ची गरिरहेका छन् । एमसीसीमाथि एक टुक नहान्दासम्म कुनै पनि गफले पूर्णता प्राप्त नगर्ने स्थिति छ ।

यो चर्को कोलाहलबीच यस परियोजनासँग सीधा जोडिएका एक खास पात्र भने मौन छन् । उनी हुन् कुलमान घिसिङ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एमसीसीको विषयमा सार्वजनिकरुपमा केही बोलेका छैनन् र बोल्ने मुडमा पनि छैनन् ।

पंक्तिकारले निकै आग्रह गर्दा पनि उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

उनले यति मात्र भने, ‘अहिले केही नबोलौं । यस्तो माहोलमा सही कुरा बोल्दा पनि विवादमा परिन्छ ।’

घिसिङ आफ्नो जिम्मेवारीभन्दा बाहिरको कुरामा प्याच्च/प्याच्च प्रतिक्रिया दिइरहने व्यक्ति पनि होइनन् । तर, एमसीसी उनको जिम्मेवारीको दायराभित्रैको विषय हो । किनकी उनी यस परियोजनामा सुरुदेखि नै जोडिएका छन् ।

आज सरकारको नेतृत्वलाई भन्दा जनताले कुलमानलाई बढी पत्याउँछन् । १० जना मन्त्रीले एमसीसीको समर्थनमा बोल्नुभन्दा कुलमानले बोल्दाको प्रभाव बढी हुन सक्छ

एमएमसीको मुख्य परियोजना नेपालको विद्युत विकाससँग सम्वन्धित छ । अमेरिकाले दिने ५० करोेड डलर अनुदानको ठूलो हिस्सा खर्च हुने भनेको बुटवल-गोरखपुर प्रशारणलाइनमा हो । प्रशारण लाइन भन्नेवित्तिकै त्यसको तालुकदार निकाय विद्युत प्राधिकरण नै हो । यो आयोजनाको छनोटमा विद्युत प्राधिकरण प्रत्यक्ष संलग्न थियो । प्रशारणलाइन छनोट गर्दा, अमेरिकासँग सम्झौता गर्दादेखि अहिलेसम्म पनि कुलमान प्राधिकरणको नेतृत्वमा छन् । त्यसैले उनी यी यावत् प्रक्रियाका साक्षी र सहभागी हुन् । उनी एमसीसी नेपालको बोर्ड सदस्यसमेत छन् ।

एमसीसी नेपालका पूर्वप्रमुख तथा पूर्वयातायात सचिव तुलसी सिटौला भन्छन्, ‘एमसीसीको परियोजना छनोटदेखि सम्झौतासम्ममा उहाँको सक्रिय योगदान छ ।’

पूर्वदेखि पश्चिमसम्म प्रशारणलाइन विस्तार गर्ने प्राधिकरणको रणनीतिभित्र यो परियोजनालाई समावेश गरिएको छ । परियोजना सम्पन्न भएपछि प्राधिकरणलाई नै हस्तान्तरण हुने हो । सम्पूर्ण नेपालीलाई २४ घन्टा विजुलीको उज्यालोमा राख्ने कुलमानको अभियानमा यो परियोजना निकै महत्वपूर्ण मानिएको छ किनकी प्रशारणलाइन विद्युत विस्तारको लागि अत्यावश्यक पूर्वाधार हो । यद्यपि, विवादमा पर्ने डरले यो विषयमा अहिले उनी केही बोल्न इच्छुक छैनन् ।

अहिले जनमानसको ठूलो हिस्सा एमसीसी ठिक कि बेठिक भन्ने दोधारमै छ । नेपाल सरकार र एमसीसीबीचको सम्झौतालाई लिएर अनेकथरि अफवाहहरु पनि फैलाइएका छन् । सबैले सम्झौताको पूर्णपाठ अध्यनन गरेर विश्लेषण गर्ने क्षमता राख्दैनन् । यस्तो बेलामा काम आउँछ कुलमानजस्ता समाजले आइडल मानेका व्यक्तिको । कुलमानलाई  सम्झौताको क देखि ज्ञसम्म पक्कै थाहा छ । तर, उनी बोल्न डराइरहेका छन् ।

कुलमानको मौनताको बचाउमा एउटा तर्क अघि आउन सक्छ । उनी एक सरकारी कर्मचारी हुन् । राष्ट्रिय विवादको विषय बनेको मुद्दामा सरकारको राजनीतिक नेतृत्वले बोल्ने हो, कर्मचारीले किन बोल्ने ? मुख हुँदाहुँदै किन नाकले पानी खाने ? एक हिसाबले ठीक पनि हो । तर, अहिले राजनीतिक नेतृत्वले जनताको विश्वास गुमाइसकेको स्थिति छ । आज सरकारको नेतृत्वलाई भन्दा जनताले कुलमानलाई बढी पत्याउँछन् । १० जना मन्त्रीले एमसीसीको समर्थनमा बोल्नुभन्दा कुलमानले बोल्दाको प्रभाव बढी हुन सक्छ ।

गगन-बाबुरामको पनि मौनधारण

कांग्रेस युवा नेता गगन थापा जुनसुकै मुद्दामा तात्तातो, स्पष्ट र आक्रामक प्रतिक्रिया दिन माहिर छन् । संसदमा त कांग्रेसको प्रतिपक्षी छवि उनैले जोगाएका छन् भन्दा हुन्छ । साथै, सामाजिक सञ्जालमा पनि त्यत्तिकै सक्रिय छन् उनी ।

गगन सरकारको विरोधमा मात्र होइन, यदाकदा समर्थनमा पनि लेखिरहेका हुन्छन् । जस्तो कि नेपालमा सम्पन्न भएको साग प्रतियोगिता र पछिल्लोपटक उखु किसानसँगको सहमतिमा उनले सरकारको कामको सह्राहना गरेका थिए । तर, उनै गगनले एमसीसीको विषयमा चाहिँ अहिलेसम्म मुख खोलेका छैनन् ।

केही समयदेखि सामाजिक सञ्जालमा गगनको प्रतिक्रिया माग भइरहेको छ । ‘गगन थापा हराएको सूचना’ भन्दै व्यंग्य पनि गरिएका छन् उनीमाथि । तर, गगन कानमा तेल हालेर निदाएझैं किन गरिरहेका हुन् ? यतिबेला गगनबाट एमएमसी सम्झौताका विवादित बुँदामा स्पष्ट (ऋषि धमलाको शब्दमा भन्दा ‘क्लियर कट’) धारणा अपेक्षित छ ।

गगनको पार्टी नेपाली कांग्रेस एमसीसी कार्यान्वयन हुनुपर्ने पक्षमा स्पष्ट छ । बरु सत्तारुढ दल नेकपाभित्र एमसीसीलाई लिएर तीव्र अन्तरविरोध भइरहँदा कांग्रेस नेताहरु चाहिँ एमसीसीको पक्षमा एकढिक्का देखिएका छन् । स्वभाविक पनि हो, किनकी एमसीसीसित सम्झौता गरेकै कांग्रेस सरकारले हो ।

एमसीसीलाई लिएर गगनको पनि पार्टी नेतृत्वभन्दा फरक मत छैन भन्ने उनी निकटस्थहरु बताउने गर्छन् । उनीहरु भन्छन्, ‘पार्टीमा फरक मत भए पो बोल्नुपर्‍यो, पार्टीकै नीतिमा सहमत भइसकेपछि किन बोलिरहने ?’

तर, यही एउटा तर्कले गगनलाई गगनको मौनतालाई पुष्टि गर्न सक्दैन । उनी कांगे्रेसका एकजना केन्द्रीय सदस्य मात्र होइन, धेरै जनताले आशा र भरोसा गरेका लोकप्रिय युवा नेता हुन् । उनलाई पछ्याउने र उनमाथि भरोसा गर्नेमा कांग्रेस कार्यकर्ता मात्र छैनन्, तटस्थ जनता पनि छन् । उनीजस्तो होनाहार नेताले लोकप्रियताको पछाडि मात्रै कुद्नु हुँदैन । आफ्ना समर्थकहरुलाई मार्गदृष्टि पनि दिन सक्नुपर्छ । यसै पनि गगनमाथि आरोप छ, भिड जहाँ देख्छन् उनी त्यहीँ उभिन्छन् । त्यो आरोप गलत सावित गर्ने मौका उनीसित छ ।

गगनले बोल्नु यसकारण पनि सही हुन्छ, कि उनलाई केही समयदेखि विरोधिहरुले ‘अमेरिकी एजेन्ट’ को विल्ला भिराइदिएका छन् । केही समय अगाडि विकलिक्सले नेपालस्थिति अमेरिकी दूतावासको एउटा रिपोर्ट लिक गरेको थियो, जसमा दूतावासले गगन थापा लगायत नेपालका थुप्रै नेतालाई आफ्नो ‘क्लोज कन्ट्याक्ट’ वा ‘कि कन्ट्याक्ट’ का रुपमा चित्रित गरेको छ । त्यसैलाई मसला बनाएर गगनका विरोधीहरुले उनलाई अमेरिकाको खास मान्छेका रुपमा प्रचारिक गरेका हुन् । यदि एमसीसीमा मुख खोलेनन् भने आलोचकहरुको स्वर अझै चर्को हुनेछ ।

एमसीसीको विषयमा मौनधारणमा रहेका अर्का चर्चित पात्र हुन् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । यति चर्को विवाद भइरहँदा उनको ‘लाइन’ अझैसम्म प्रष्ट भएको छैन । न त उनको समाजवादी पार्टीले नै कुनै ‘बटमलाइन’ बनाएको छ ।

डा. भट्टराईको बोलीले जनमानसमा ठूलो प्रभाव पार्ने समय त अहिले छैन । तर, कुनै पनि विषयमा बोल्न तयार हुने उनी यसमा किन मौन छन् भन्ने कौतुहलको विषय हो ।

स्मरणीय यो छ कि नेपालमा एमसीसी ल्याउने गृहकार्य सुरु भएकै डा. भट्टराईकै पालामा हो । उनी सन् २०११ को अगष्ट देखि २०१३ को मार्चसम्म नेपालको प्रधानमन्त्री थिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वणिर्म वाग्लेका अनुसार नेपालमा एमसीसीको चहलपहल २०१२ मार्चबाट सुरु भएको हो । त्यहि बेला अर्थ मन्त्रालय र एमसीसी मिलेर ‘ग्रोथ डाइगोनेस्टिक स्टडी’ गरेका थिए । सोही अध्ययनका आधारमा नेपालको आर्थिक बृद्धिको प्रक्रियामा के के बाधक छन् भनेर २०१४ मा प्रतिवेदन निकालिएको थियो ।

आफ्नो कार्यकालमै विजारोपण भएको परियोजनाको विरोध गर्न डा. भट्टराईले नचाहेको हुन् त ? अनि बाहिरको माहौलका कारण यसलाई समर्थन गर्न पनि नसकेका हुन् त ? अनुमान मात्रै गर्न सकिन्छ ।

प्रचण्डको दोहोरो भूमिका

त्यसो त एमसीसीबारे सत्तारुढ दल नेकपाका कार्यकारी अधिकारयुक्त अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)कै दृष्टिकोण अस्पष्ट देखिन्छ । उनले अहिलेसम्म सार्वजनिकरुपमा एमसीसीको समर्थन वा विरोधमा बोलेका छैनन् । जब कि उनको नेतृत्वमा रहेको पूर्वमाओवादी समूहमा रहेका धेरै नेताहरु एमसीसीको विरोधमा उभिएका छन् । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नै एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अभिव्यक्ति दिए । सरकारमा प्रतिनिधित्व गर्ने अन्य पूर्वमाओवादी नेताहरु भने प्राय मौन छन् ।

प्रचण्डले एमसीसीका सम्वन्धमा पार्टीभित्र संदिग्ध भूमिका खेलिरहेको पूर्वएमाले समुहको बुझाइ छ । आफूले केही नबोल्ने तर आफ्नो पक्षका नेताहरुलाई विरोध गर्न नरोक्ने उनको रणनीति प्रष्टै देखिएको पनि छ ।

‘जसरी हुन्छ प्रधानमन्त्री र सरकारलाई अप्ठेरोमा पार्ने रणनीति उहाँको देखिन्छ, तर यही काम खुलेर गर्न सक्नुहुन्न,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन् ।

जारी नेकपा महाधिवेसनमा पेश गरिएको अध्यक्षद्वयको प्रतिवेदनमा एमसीसीको उच्चारण नै गरिएको छैन । प्रधानमन्त्री र प्रचण्डबीच मतैक्यता हुन नसकेर नै एमसीसीबारे प्रतिवेदन मौन बसेको बुझ्न सकिन्छ । प्रतिवेदनमा अमेरिकाको इन्डो प्यासिफक रणनीतिको भने चर्को आलोचना गरिएको छ । तर, यसमा पनि प्रधानमन्त्री सन्तुष्ट नभएपछि केही शब्द संसोधन गरेर प्रतिवेदन पारित गरियो ।

बोल कुलमान !

फेरि पनि फर्किउँ कुलमानमै । एमसीसीको विषयमा अरुभन्दा पनि कुलमान घिसिङले बोल्नैपर्छ । विवादको डर पालेर उनले मौनधारण जारी राख्ने हो भने यसको क्षति भोलि राष्ट्रले भोग्नुपर्ने हुन सक्छ ।

यदि सम्झौता खराब हो र पनि अघि बढाइयो भने त्यसले नेपालको राष्ट्रियतामा आँच आउने खतरा छ । यदि सम्झौता सही हो तर पारित गरिएन भने त्यसले अमेरिकासँग नेपालको सम्वन्ध बिग्रिने खतरा छ । यसले अमेरिकाबाट आउने नियमित सहयोगहरु पनि प्रभावित बन्नेछन् ।

कुलमानले बोल्दैमा सबै सामसुम भइहाल्छ भन्ने त होइन, तर यस प्रकरणमा नयाँ टि्वस्ट आउन सक्छ ।



source https://www.onlinekhabar.com/2020/02/833329

१ महिनामै २ पटक सुत्केरी, युवतीले जन्माइन् ३ बच्चा

प्रकृतिको चमत्कारका अगाडि विज्ञानले फेल खान्छ । हालै बंगलादेशमा एकजना महिलाले यो कुरालाई पुष्टि गरिदिएकी छन् ।

ती महिला एक महिनाभित्रैमा तीन पटक आमा बनेकी छन् । कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीनवटा बच्चा जन्माएको घटना विश्वमै पहिलो पटक भएको बताइएको छ ।

ती ्कीर्तिमानी महिलाको नाम आरिफा सुल्तान हो । उनको उमेर २० वर्षको छ । आरिफाले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माइन् । छोरा जन्माएर अस्पतालबाट घर फर्किएको २६ औं दिनमा उनको पेट अचानक दुख्न थाल्यो । त्यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगियो । जब डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरे सबैजना तीनछक परे । किनकि, उनको पेटमा थप दुईवटा बच्चा थिए ।

उनको तत्कालै शल्यक्रिया गरी गर्भमा रहेका जुम्ल्याहा बच्चा बाहिर निकालियो ।

पेटमा तीनवटा बच्चा हुँदाहुँदै पनि डाक्टरहरुले किन सुरुमै पत्ता लगाएनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । डाक्टरहरूका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय छन् । पहिलो बच्चा र पछिल्लो पटक जन्मिएका जुम्ल्याहा छुट्टाछुट्टै गर्भाशयमा रहेका थिए ।

समाचार अनुसार, आरिफा र उनका तीनवटै बच्चा पूर्ण रूपमा स्वस्थ छन् ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/02/833333

मुम्बइबाटै कमायो ‘तान्हाजी’ले ११८ करोड

नायक अजय देवगण र नायिका काजोलले अभिनय गरेको चलचित्र ‘तान्हाजी’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरेको छ । रिलिजको चौथो हप्तामा पनि यो चलचित्रको व्यापारिक रफ्तार रोकिएको छैन ।

यसैविच, यो चलचित्रले भारतको मुम्बई सर्किटमा नयाँ रेकर्ड कायम गरेको छ । यो चलचित्रले मुम्बई एरियामा मात्र ११८ करोडको व्यापार गरेको छ । चलचित्रले मुम्बई सर्किटमा ‘टाइगर जिन्दा हे’ले बनाएको रेकर्ड तोडेको हो । चलचित्र ‘बाहुवली २’ले मुम्बई सर्किटमा १९१ करोड कमाएको थियो ।

यस्तै, चलचित्र ‘पीके’ले १०५ करोड, ‘दंगल’ले १०४ करोड तथा ‘सञ्जु’ले १०२ करोड कमाएको थियो ।

यस्तै, चलचित्र ‘टाइगर जिन्दा हे’ले १०९ करोडको नेट कलेक्शन मुम्बइबाट मात्र गरेको थियो । अब, यो रेकर्डलाई तोड्दै मुम्बईबाट मात्र सर्वाधिक धेरै कमाई गर्ने चलचित्रमा ‘तान्हाजी’को नाम आएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833334

ठेला व्यापारीको घिनलाग्दो काम, कुखुराको भन्दै बेचियो कौवाको मासु

कतिपय व्यापारीहरुले उपभोक्तामाथि कतिसम्मको ठगी गर्दछन् भन्ने कुराको उदाहरण हालै भारतमा फेला परेको छ । भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ ।

तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारीका क्रममा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।

सरकारको खाद्य विभागले उक्त छापा मारेको थियो । त्यसक्रममा दुईजना व्यापारीलाई पक्राउ गरिएको थियो उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ ।

हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा छापा मार्दा यस्तो खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अनुसन्धानका क्रममा अर्को डरलाग्दो तथ्य पनि फेला परेको छ । सिकारीहरुले विषालु चामल खुवाएर काग मार्ने र त्यसरी मरेका कागहरूठेला व्यापारीहरुलाई बेच्ने गरेका रहेछन् । कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका थिए । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने गरिएका समाचार सार्वजनिक भएका थिए ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/02/833328

कसरी हुन्छ स्तन क्यान्सर ?

शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण हुन्छ । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन,  तर जब यीनीहरु लगातार वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् ।

यस प्रकार स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धि नै स्तन क्यान्सरको प्रमुख कारण हो । कोशिकाहरुमा हुने लगातार वृद्धिहरु एकत्रित भएर गाँठोको रुप लिन्छ, जसलाई क्यान्सर ट्यूमर भनिन्छ ।

स्तन क्यान्सर हुँदा पहिलो र दोस्रो चरणमा नै यसको बारेमा थाहा भयो भने सही समयमा यसको उपचार सम्भव हुन सक्छ । तर यसको बारेमा थाहा पाउनु पनि तपाईंको जागरुकतामा निर्भर हुन्छ । यदि तपाईं स्तन क्यान्सर प्रति जागरुक हुनुहुन्छ भने यसको लक्षणहरुलाई चिनेर तपाईंले सही समयमा यसको उपचार गराउन सक्नु हुन्छ ।

स्तन क्यान्सरको सामान्य कारणहरु

विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका निम्न लिखित कारणहरु हुन्छ्न :

-बच्चा नजन्मनाका कारण ।

-उमेर भैसके पछि बच्चा जन्मनु ।

-स्तनपान नगराउनु ।

-वजनमा अत्याधिक वद्धि ।

-धेरै मदिरा सेवन गर्नाले ।

-नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो ।

-यसबाहेक अनुवांशिक रुपमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।

-स्तन क्यान्सरको लक्षण

-स्तनको आकारमा परिर्वतन महसुस हुनु

-स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु ।

-स्तन थिच्दा दुख्नु ।

-कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु ।

-निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु ।

-स्तन सुनिनु ।

महिलाहरुमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर प्रमुख हो, जसको महसुस भएपछि सतर्क भएर यसबाट बच्ने उपाय गर्नु आवश्यक छ ।

स्तन क्यान्सरलाई रोक्ने उपाय

-सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।

-नुनको  अत्याधिक सेवन नगर्ने ।

-रातो मासुको सेवन धेरै नगर्ने ।

-धेरै मदिरा सेवन र धुम्रपान नगर्ने ।

-गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने ।

-एक्सरसाइज र योगा नियमित रुपमा गर्नु पर्छ ।

महिलाहरु जागरुक हुनुको साथै नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ । महिलाहरु आफ्नो स्तन परीक्षण, मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाइ पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ ।

मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती तौरमा नै पत्ता लगाउनु हो ।



source https://www.onlinekhabar.com/2020/02/833326

माटोको ढिस्कोले पुरिएर मोरङमा एक जनाको मृत्यु

२० माघ, काठमाडौं । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बुढिगंगा गाउँपालिका-६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आइतबार राति एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ।



source https://www.onlinekhabar.com/2020/02/833317

नोकियाले ल्याउँदैछ फोर जी फिचर फोन, एन्ड्रोइड एपहरू चलाउन सकिने

नोकिया ब्राण्डलाई फिचर फोनको बादशाह नै मानिन्छ । हाल नोकिया ब्राण्डको स्वामित्व फिनल्याण्डको मोबाइल फोन निर्माता कम्पनी एचएमडी ग्लोबलसँग रहेको छ ।

एचएमडी ग्लोबलले निकट भविष्यमै एक नयाँ फिचर फोन ल्याउँदैछ । नोकियाको उक्त नयाँ फिचर फोनको एउटा खास विशेषता छ । उक्त फिचर फोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ ।

प्रविधिसम्बन्धी समाचार प्रकाशित गर्ने वेबसाइट लभ नोकियाले हालै आफ्नो वेबसाइटमा नोकियाले ल्याउन थालेको नयाँ फोनको तस्वीर प्रकाशित गरेको थियो । नोकिया ४०० फोरजी नामबाट नोकियाले आफ्नो नयाँ फिचर फोन ल्याउन लागेको दाबी उक्त समाचारमा गरिएको छ ।

उक्त फोनमा ब्लुटुथ तथा वाइफाई सर्टिफिकेसन प्राप्त भइसकेको बताइएको छ । ब्लुटुथ भर्सनका आधारमा उक्त फोन एक सस्तो मूल्यको फोन हुने अनुमान गरिएको छ ।

यसमा वाइफाई सपोर्ट भएता पनि यो स्मार्टफोन भने हैन । यो फोनमा एन्ड्रोइडको ८.१ भर्सन अपरेटिङ सिस्टम हुनेछ । स्मार्टफोनमा हुने टचस्क्रिनको साटो यसमा फिजिकल बटनयुक्त किप्याड हुनेछ । त्यसमा गुगल असिस्टेन्ट, गुगल क्रोम था युट्युब जस्ता एन्ड्रोइड एपहरूउपलब्ध हुने बताइएको छ ।

स्मरणरहोस् नोकिया ब्राण्डको स्वामित्व खरीद गरेसँगै एचएमडी ग्लोबलले नोकिया ब्राण्डका स्मार्टफोनसँगै फिचर फोन पनि बजारमा ल्याइरहेको छ । यसअघि कम्पनीले नोकिया २०५, नोकिया ३३१० तथा नोकिया ८११० लगायतका फिचर फोन ल्याइसकेको छ ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/02/833322

जमुनाहामा नाकामा ‘कोरोना हेल्थ डेस्क’

२० माघ, बाँके । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा आइतबारदेखि ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

सो सीमानाका हुँदै नेपाल भित्रिनेहरू कोरोना संक्रमित रहे नरहेको जाँच गर्न हेल्थ डेस्क स्थापना गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।

डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शंकास्पदको स्वास्थ्य परीक्षण गर्ने छ । यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ ।



source https://www.onlinekhabar.com/2020/02/833318

कोरोना भाइरस : इन्फेक्सनबाट बच्न के गर्ने ?

सास फेर्न गाह्रो हुने कोरोना भाइरसको पहिचान वुहान शहरबाट पहिलो पटक भएको हो । तीव्र गतिमा फैलने यस संक्रमणले निमोनियाको जस्तो लक्षण देखाउँछ ।

चिनियाँ अधिकारीहरुले संक्रमण बढ्नबाट रोक्नाका लागि केही शहरहरुलाई देशको बाँकी भागहरुसंग अलग गरेको छ । अहिले चीनमा नयाँ बर्षको उल्लास मनाउने समय हो तर परिवर्तित परिस्थितिहरुमा विभिन्न प्रमुख कार्यक्रमहरु रद्द गरिएका छन् ।

चीनमा देखिएका घटनाहरु

चीनमा कोरोना भाइरसका कारण सैयौं मानिस संक्रमित भएका छन् । चीनको लगभग बीचमा पर्ने हुबेई प्रान्त कोरोना भाइरसको सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणका केशहरु अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

चीनियाँ अधिकारिहरुले पनि कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि विभिन्न किसिमको कदम उठाएका छन् । हुबेई प्रान्तका विभिन्न शहरहरुको यात्रामा प्रतिबन्ध लगाएको छ र मानिसहरुलाई सार्वजनिक स्थानहरुमा मास्क लगाएर मात्र जान निर्देशन दिएको छ ।

चीन सरकारले शांघाईको फरबिडेन सिटी र ग्रेट वाल अफ चीनको केही भागहरु, यहाँ सम्म कि विभिन्न बौद्ध मन्दिरहरु पनि बन्द गरिदिएको छ । अहिले चीनमा नयाँ बर्षको उल्लासको मनाउने समय हो । हप्ता दिनको छुट्ट िशुरु भैसकेको छ । लाखांै मानिसहरु घर जानका लागि तयारी गर्छन् । तर अहिलेको स्थितिमा प्रतिबन्धहरुको लिस्ट लामो हँुदै गएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय आपतकालीन घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडहानोम ग्रब्रेएसुस भन्छन्-‘कुनै गल्ति नगर्नुहोस् । यो कठिन समय हो । चीनमा आपतकाल जस्तो स्थिति छ ।’

सबैभन्दा धेरै प्रभावित क्षेत्र हुबेई

हुबेई प्रान्त महामारी केन्द्र जस्तै भएको छ । त्यहाँ हालसम्म कोरोना भाइरसका  कारण हजारौं मानिसहरु प्रभावित भैसकेका छन् । यो प्रान्तको दशवटा शहरहरुका करिव दुई करोड मानिसहरु यात्राका लागि प्रतिबन्धित भएका छन् । जसका कारण उनीहरुको जनजीवनै प्रभावित भएको छ । यी शहरहरु मध्ये वुहान शहर जहाँ सबैभन्दा पहिला कोरोना भाइरसको पहिचान भएको थियो ।

वुहान हुबेई प्रान्तको राजधानी पनि हो । कोरोना भाइरसको शुरुवात शहरको सीफूड मार्केटबाट भएको मानिन्छ । वुहानको जनसंख्या करीब एक करोड दस लाख रहेको छ ।

चीनियाँ सरकारले यो शहर बन्द गरिदिएको छ । विमान सेवाहरु र शहरबाट बाहिर र शहरमा प्रवेश हुने रेल सेवाहरु पनि स्थगित गरिदिएको छ ।

वुहान युनिभर्सिटी अफ टेक्नोलजीको एक भारतीय छात्र चन्गथान पेपे विफहोवजितले बीबीसीलाई भने-‘मेरो यूनिभर्सिटीमा हरेक छात्रको शरीरको तापक्रम हरेक दिन जाँचिन्छ । सबैलाई लगाउनका लागि मास्क दिइएको छ । यूनिभर्सिटीको आफ्नै अस्पताल र एम्बुलेन्स सेवा छ ।’

सामाजिक सञ्जालमा वुहानका भिडियोहरु शेयर भैइरहेका छन् । जसमा स्थानीय अस्पतालहरुको बाहिर लामो लाइन देखिन्छ ।

मेडिकल सेवाहरुको बढ्दो आवश्यकता पूरा गर्नका लागि प्रशासनले शहरमा हजार बेड भएको एउटा नयाँ अस्पताल निर्माण गरेको छ । हुबेईको सरकारी पत्रिका अनुसार चाङ्जीआङ डेलीमा अस्पताल प|mेरवरी ३ सम्म तयार हुन्छ ।

कोरोना भाइरसको को सन्त्रास

चीन बाहेक थाइल्यान्ड, भियतनाम, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, अमेरीका, अस्ट्रोलिया, फ्रान्स र हाम्रो देश नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइन्छ । अन्य देशहरु जस्तै बेलायत र क्यानडामा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर जाच भैरहेको छ । विभिन्न देशहरुले चीनबाट आउने यात्रुहरुलाई जाँच्नका लागि एयरपोर्टमा कडा सुरक्षाको व्यवस्था गरेको छ ।

ताइवानले वुहानबाट आउने मानिस माथि प्रतिबन्ध लगाइदिएको छ र अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई अतिरिक्त सावधानी अपनाउने सल्लाह दिएको छ ।

कोरोना भाइरसको लक्षणहरु

कोरोना भाइसर अति नै सामान्य हुुन्छ । यसको शुरुवाती लक्षणहरु सजिलै थाहा पाउन सकिन्छ । सास फेर्न गाह्रो हुनु, रुघाखोकी र नाकबाट पानी बगिरहनु ।

वुहानबाट शुरु भएको यो महामारीका लागि जिम्मेवार यस विषाणुलाई नोवल कोरोना भाइरस नाम दिइएको छ । यो कोरोना परिवारको एउटा नयाँ प्रजाती भएको थाहा भएको छ, जसको पहिचान अहिलेसम्म मानिसहरुमा भएको छैन ।

कोरोना भाइरसबाट संक्रमण हुँदा यसको शुरुवात ज्वारोबाट हुन्छ । त्यसपछि सुख्खा खोकि लाग्न थाल्छ । हप्ता दिनसम्म त्यस्तो समस्या रहनाले सास फेर्न गाह्रो हुने समस्या उत्पन्न हुन्छ ।

तर यसले गम्भिर रुप लियो भने निमोनिया अथवा सार्स हुन सक्ने र किड्नी पनि फेल हुने स्थिति आउने र बिरामीको मृत्यु समेत हुन सक्छ । कोरोनाका प्रायः बिरामीहरु वयस्कहरु रहेका छन्, जो पहिला बाट नै डायबिटिज जस्तो रोगहरुको सामना गरिरहेका हुन्छन् ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसीनका डाइरेक्टर प्रोफेसर पीटर पियोट भन्छन्-‘कोरोना भाइरस सार्स विषाणुको तुलनामा कम घातक हुन्छ । अतीतको तुलनामा पनि विश्व स्तरमा सूचनाको धेरै र राम्रो आदनप्रदान भएको छ । यस्तो हुनु महत्वपूर्ण पनि छ,एउटा सम्भावित महामारीबाट कुनै पनि देश एक्लै लड्न सक्दैन ।’

यो संक्रमणबाट मुक्ति पाउनका लागि त्यस्तो खासै कुनै उपचार फेला परेको छैन । अहिले डाक्टरहरुले संक्रमित बिरामीहरुको उपचार उनीहरुको लक्षणको आधारमा नै गरिरहेका छन् ।

बच्नका लागि के गर्न सकिन्छ ?

विश्व स्वास्थ्य संगठनले प्रभावित स्थानहरुका मानिसहरुलाई शुरुबाट नै निर्धारित सामान्य सावधानीका उपायहरु अपनाउने सल्लाह दिएको छ जसले संक्रमणको खतरालाई क मगर्न सकिन्छ । ती उपायहरु हात सफा राख्ने, मास्क लगाउने र खानपानमा ध्यान दिने जस्ता सल्लाहहरु समावेश छन् ।

साससंग सम्बन्धित समस्याहरुबाट संक्रमित बिरामीहरुको नजिक जानबाट बच्ने सल्लाह दिइएको छ । विशेष गरेर कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आए लगत्तै नियमित रुपले हात सफा गर्ने, घर पलुवा  अथवा जंगली जनावरहरुबाट टाढा रहने सल्लाह पनि दिइएको छ । काँचो अथवा आधा पाकेको मासु नखाने सल्लाह दिएको छ ।

कोरोना भाइरसबाट संक्रमित मानिसहरुले खोक्दा अथवा हाक्छ्यँ गर्दा पनि रोग सर्न सक्ने भएकाले यसबाट पनि बच्ने सल्लाह दिइएको छ । त्यसका लागि नाकमा कपडा अथवा टिस्यू राख्ने, बिरामीसंग एउटा दूरीमा रहने, नियमित रुपले सरसफाइ गर्ने जस्ता सावधानी अपनाउने सल्लाह दिइएको छ ।

यदि कोहि संक्रमित भएमा

चीनको सरकारले कोरोना भाइरसको महामारीलाई अतितमा सार्सको महामारीमा दिएको दर्जा दिएको छ । यसको अर्थ देशमा जो कोहिलाई पनि यसको संक्रमित भएको पुष्टि हुन्छ, उसलाई भिन्दै राखिने छ ।

विश्व स्वास्थ्य संगठनले अस्पताल, डाक्टर र स्वासथ्यकर्मीहरुका लागि विशेष सल्लाह जारी गरेको छ । संक्रमितलाई तुरुन्त जाँच गर्नु पर्छ । संक्रमण अनुसार बिरामीलाई हल्का, मध्यम अथवा गम्भिर स्थितिको वर्गमा राख्नु पर्छ भनेर इड्भाइजरीमा भनिएको छ ।

स्वस्थ्यकर्मी स्वयं संक्रमणको शिकार नहुन भनि सबैलाई सवधानी अपनाउन सल्लाह दिइएको छ । गाउन, मास्क, पन्जाहरुको प्रयोग गर्ने बाहेक अस्पतालमा संक्रमित बिरामीको गतिविधिहरुमाा पनि नियन्त्रण गर्ने सल्लाह पनि दिएको छ ।

बिबिसी हिन्दी अनलाइनबाट



source https://www.onlinekhabar.com/2020/02/833319

कोरोना भाइरसको कुनै उपचार छैन, सावधानी उपनाउनु पर्छ

नयाँ वर्षमा चीन एउटा नयाँ र ठुला चुनौतीको सामना गरिरहेको छ । यो चुनौतीको नाम कोरोना भाइरस हो ।

कोरोना भाइरस चीनको सीमाहरुबाट निस्किएर संसारका अन्य भागहरुमा पनि आफ्नो असर देखा परिसकेको छ ।

चीनको वुहान शहरबाट उत्पन्न भएको कोरोना भाइरस अन्य देशहरु थाईल्यान्ड, भियतनाम, ताइवान, दक्षिण  कोरिया, सिंगापुर, जापान, अमेरिका, अस्ट्रेलिया, फ्रान्स र हाम्रो देश नेपालमा पनि देखिएको छ ।

बि्रटेन र क्यानडा र अन्य देशहरुमा समेत यस भाइरसंग मिल्दाजुल्दा केही केशहरु देखा परेका छन् । यी केशहरु कोरोना भाइरसको हो कि होइन भन्ने कुरा पत्ता लगाइँदैछ ।

चीनबाट उडान भरेर संसारका विभिन्न देशहरुमा जाने यात्रुहरुको वैज्ञानिक तरीकाले जाँच गरिँदैछ ।

कोरोना भाइरसका कारण हिजोआज अन्य देशका मानिसहरु चीनको यात्रा गर्दैनन् ।

कोरोना भाइरसको आतंक

कोरोना भाइरस तिव्रताका साथ अन्य देशहरुमा पनि फैलँदैछ । यसको संक्रमणको कारणले निमोनिया भएको जस्तो भम्र हुन्छ । यही कारण शुरुवातमा चीनका स्वास्थ्यकर्मीे कोरोना भाइरसको संक्रमणलाई सामान्य निमोनिया सम्झेका थिए ।

तर केहि समयपछि उनीहरु यो भाइरस सामान्य संक्रमण होइन भन्ने कुरा पत्ता लगाए । यसबाट बच्नका लागि निकै कठिन हुन्छ भन्ने पनि थाहा पाए ।

कोरोना भाइरसको विकराल रुप अगाडि आउनु भन्दा पहिले नै संकटको संकेत प्राप्त हुन थालेको थियो ।

अब यो भाइरस केवल चीनको मात्र चिन्ताको बिषय रहेन । यसका कारण हरेका देशका नागरिकहरु चिन्तित छन् । नाटिघक यूनिभर्सिटीका सोफी हन्ट र जेसन नील २०१९ को डिसेम्बर महिनासम्म पनि वुहानमा नै थिए ।

सोफी भन्छिन्-‘वुहानमा हामीहरु किनमेलका लागि वालमार्ट गएका थियौं । त्यहाँ मानिसहरु किनमेलका लागि हतारिएका थिए । जो पनि खाने-पिउने सामानहरु किनेर जम्मा गर्न आतुर देखिन्थे । त्यसपछि हामी मास्क किन्न मेडिकल स्टोर पनि गयौं । तर मानिसहरुले बढि भन्दा बढि मास्क किनेकाले मास्क सकिएको थियो । वुहानको त्यस्तो स्थिति देखेर एकदम दुःख लाग्यो । तर त्यतिबेला स्थिति झन भयांनक हुन्छ भन्न थाहा थिएन ।’

घर भित्र बन्दी भएका मानिसहरु

चीनको हुबेइ प्रान्त कोरोना भाइरसको प्रकोपले नराम्रोसंग प्रभावित भयो । देश भरमा हजारौं मानिसहरु यस भाइरसबाट संक्रमण केशहरु अगाडि आए ।

ती मध्ये धेरै संक्रमण हुबेई प्रान्तमा भएको छ । एउटै ठाउँबाट यति धेरै संक्रमण भएको कुराले चीनको प्रशासनको होस उड्यो ।

भाइरसको संक्रमणलाई रोक्नका लागि चीनका अधिकारीहरुल विभिन्न उपायहरु अपनाए ।

हुबेई प्रान्तको यात्रामा प्रतिबन्ध लगाएर मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान रोक लगाइएको छ ।

वुहानको एउटा होस्टलमा बसोबास गर्ने एक छात्रले बीबीसीलाई भने-‘मानिसहरु सास थामेर कोठाको चार भित्तामा बन्द भएर बसेका छन् ।’

आफ्नो नाम गोप्य राख्ने शर्तमा ती छात्रले भने -‘यहाँ हरेक मानिस घर भित्र बन्द भएको छ, कोहि पनि बाहिर निस्कन चाहँदैन । आकस्मिक रुपमा बाहिर निस्कन परे पनि स्वीकृति लिनु पर्छ । बाहिर जानुको कारण खुलाउनु पर्छ । हामीले खानपिनको सामान लिन बाहिर जान्छौं भन्यौ भने हामी नै सबै खानेकुराको सामान यहि ल्याइदिन्छौं , तपाईंहरु बाहिर निस्कनु आवश्यक छैन भन्ने जवाफ पाउँछौं । कोहि पनि घरबाट बाहिर निस्कन नपाउँदा सडकहरु खाली छन् । यदि कुनै बिरामी भयो भने पनि अस्पताल जान पाइँदैन, त्यहाकाँ अधिकारीहरुले आफ्नै कोठामा बस्न निर्देशन दिन्छन् ।’

नयाँ वर्षको रमाइलो नै फिक्का भयो

कोरोना भाइरसका कारण विभिन्न कुराहरुमा प्रतिबन्ध लगाईएको छ । जसका कारण चीनका दश शहरहरुमा बसोबास गर्ने करिव दुई करोड मानिसहरु प्रभावित भएका छन् ।

बढ्दो संक्रमणका कारण चीन सरकारले विभिन्न सार्वजनिक स्थानहरु बन्द गरिदिएका छन् । चाइनीज क्यालेन्डरको महत्वपूर्ण मितिहरु मध्ये एक लूनर न्यू इयरको उल्लास कोरोना भाइरसका कारण फिक्का भयो ।

लुनर न्यू इयरमा हुने छुट्टकिो क्रममा लाखांै मानिसहरु यात्रा गर्छन् । तर यो पटक प्रतिबन्धहरुका कारणले यी सबै कुरा बिथोलिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस तिव्रताका साथ फैलीदै गएकोमा चिन्ता प्रकट गरेको छ ।

कोरोना भाइरस किन खतरनाक छ ?

संगठनको आपतकालीन स्वास्थ्य सेवाहरुबाट सम्बद्ध डाक्टर अबदी मोहम्मदले अहिले धेरै कुरा पत्ता लगाउन बाकि रहेको कुरा बीबीसीलाई बताएका छन् ।

उनी भन्छन्- ‘बिरामीहरुमा लक्षण देखिन थालेको कुरा मात्र हाम्रा जानकारीमा छ । तर यो एउटा नयाँ रोग भएका कारण चिन्ताको बिषय बनेको छ । यसले कस्तो प्रकारको असर देखाउँछ भन्ने कुरा हामीलाई थाहा छैन । कोरोनाबाट संक्रमित करिव चार प्रतिशत बिरामीहरुको ज्यान गैसकेको छ । ज्यान गुमाउने त्यस्ता व्यक्तिहरु थिए जसको रोग प्रतिरोधी क्षमता कमजोर थियो । कोरोना भाइरस कुन हदसम्म जान घातक हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिंदैन ।’

बीबीसी हेल्थ एडिटर जेम्स गेलाघरका अनुसार कोरोना भाइरस आफैं नष्ट हुने किसिमको भाइरस होइन । संक्रमित शहरहरुमा आवत-जावतमा प्रतिबन्ध लगाएर, यसलाई फैलनबाट रोक्न सकिन्छ ।

उनका अनुसार यदि तपाईंको चीनसंग कुनै किसिमको सम्पर्क छ अथवा भर्खरै वुहानबाट र्फकनु भएको छ र तपाईंलाई ज्वरो आएको छ अथवा कफ निस्कने, सास फेर्न गाह्रो हुने समस्या छ भने तपाईं तुरुन्त डाक्टर कहाँ जानु आवश्यक छ । तर तपाईले सी-फूड खानु भएको छ भनेर चिन्ता गर्नु पर्दैन ।  यो भाइरस सार्स जस्तो खतरनाक त छैन, तर यदि यसको लक्षणलाई चिन्न सकिएन भने यसमा काबु पाउन गार्हो छ । कोरोनाको संक्रमण कसलाई भएको छ र कसैलाई भएको छैन भन्ने कुरा थाहा पाउन सजिलो छैन । यो भाइरस त्यो बेला मात्र थाहा हुन्छ जब लक्षण देखिन थाल्छ अथवा बिरामीको हालत अति नै विग्रन्छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई चीनका लागि आपतकालीन भन्दै उनले भने -यसलाई ग्लोबल हेल्थ इमरजेन्सी भन्न सकिंदैन ।

तर विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस चीनसंगसंगै अन्य देशहरुका लागि पनि अति नै गम्भीर खतरा बन्न सक्छ ।

भाइरसबारेमा विभिन्न कुराहरु

अत्याधुनिक हुँदै गएको संसारमा चीन जस्तो भारी अर्थ व्यवस्था भएको देशहरु पनि कुनै भाइरसको सामना गर्नका लागि कत्तिको तयार छ भन्ने कुरा कोरोना भाइरस बढ्दो प्रकोपले प्रश्न खडा गरिदिएको छ ।

शुरुमा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भन्ने कुराको दावी गरिएको थियो ।

तर केहि समयपछि नै यो दावी गलत प्रमाणित भयो र यस गल्तिले अत्याधुनिक चिकित्सा सुविधाहरु हुँदा-हुँदै पनि कुनै नयाँ भाइरसको पहिचान र त्यसको शक्तिलाई बुझ्न धेरै गाह्रो छ भन्ने कुरा पनि प्रमाणित गरिदिएको छ ।

कहिले चमेरा त कहिले सर्प, त्यस्तै कहिले खानाको थालमा पस्केको समुद्री जीव अर्थात सीफूडलाई कोरोना भाइरसको कारण भनियो । तर यीमध्ये कुन कारणले कोरोना भाइरस जस्तो घातक रोग उत्पन्न भयो भन्ने कुराको यकिन भएको छैन ।

बितेका केही वर्षहरुमा संसारका विभिन्न ठाउहरुमा सार्स, बर्ड फ्लू, स्वायन फ्लू, इभोला र जीका भाइरसका कारणले मानव जातिलाई विभिन्न समस्याहरुको सामना गर्नु परेको थियो ।

वैज्ञानिकहरुले यस्ता समस्याहरुको समाधानका लागि विभिन्न भ्याक्सिनहरु विकसित गरेर यीनीहरुको खतरा त कम गरिदिएका छन् । तर कोरोना भाइरसको अहिलेसम्म पनि कुनै प्रकारको औषधि अथवा भ्याक्सिन पत्ता लागेको छैन ।

कोरोना भाइरसप्रति संसार भरीका मानिसहरुको चिन्ता प्रकट गरेका छन् । यसको साथै सबैले सोधकर्ताहरुले छिट्टै यो समस्याको समाधान भेट्ने छन् भन्ने अपक्षा पनि गरेका छन् ।

अहिले कोरोना भाइरसबाट बच्नका लागि सावधानी अपनाउनु बाहेक अरु कुने उपाय नै छैन ।

बिबिसी हिन्दी अनलाइनबाट



source https://www.onlinekhabar.com/2020/02/833313

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More