Wednesday, 1 April 2020

कोरोनाविरुद्ध तीन तहको सरकारबीच समन्वय खै ?

२० चैत, काठमाडौं । सामान आयात-निर्यात गर्नभन्दै सरकारले चीनतर्फको तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गर्‍यो । तर, सरकारको निर्णयप्रति आपत्ति जनाउँदै रसुवाको गोसाइँकुण्ड गाउँपालिका दुई नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयललाई पत्र लेखेर सरकार कोरोना भाइरस रोकथाममा नभई फैलाउनका लागिपरेको गम्भीर आरोप लगायो ।

नाका खोल्दा रोग भित्रिन सक्नेभन्दै वडावासी डराउन थालेको वडाअध्यक्ष दावा दिण्डुप तामाङले अनलाइनखबरलाई बताए । जबरजस्ती नाका सञ्चालन गर्न खोजिए गाउँलेले अवरोध गर्ने चेतावनी पनि उनले दिए । ‘महामारीका बेला सरकारले स्थानीयको सुरक्षा हेर्नु पर्दैन ?’, उनको प्रश्न छ, ‘नाका खोलेर आवतजावत बढ्दा यहाँका बासिन्दालाई मात्र खतरा हुने हो र ?’

कोरोना महामारी नरोकिएसम्म रसुवागढी नाका खोल्नै नहुने उनले बताए । कोरोनाविरुद्धको युद्धमा तीन तह (संघ, प्रदेश र स्थानीय) सरकारबीच समन्वयको अभाव रहेको यो एउटा उदाहरण हो । यस्ता अनेक विषय छन्, जसमा केन्द्र सरकारले बिना समन्वय निर्णयहरु गरेर कार्यान्वयनमा अप्ठ्यारो परेको छ ।

जस्तो, केन्द्र सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको चैत महिनाको घरभाडा छुट गर्न घरबेटीहरुलाई आग्रह गर्‍यो । तर यो निर्णय घरबहाल कर लिने स्थानीय तहले कार्यान्वयन गराउने हो । संघीय सरकारले कोहीसँग समन्वय नगरी गरेको यो निर्णय कार्यान्वन्वय हुनेमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीको शंका छ । यो निर्णयबारे स्थानीय तहलाई औपचारिक जानकारीसमेत नभएको उनले बताइन् ।

‘नेपाल सरकारबाट निर्देशन आएको छैन र महानगरपालिकामा अहिलेसम्म घरभाडा छुट गराउने विषयमा कुनै छलफल भएको छैन’ उपमेयर खड्कीले भनिन्, ‘यसबारे सरकारले समन्वय गरेको पनि मेरो जानकारीमा छैन ।’ कोरोना भाइरसको महामारी रोकिएपछि भने घरभाडा छुट गराउने विषयमा छलफल हुनसक्ने उनले बताइन् ।

समन्वयको विधि चाहिन्छ : गाउँपालिका महासंघ

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ अहिले स्थानीय तहले स्वविवेकले काम गरिरहेको बताउँछन् । उनका अनुसार, कुन अवस्थामा कुन काम कुन तहले के गर्ने ? भन्ने विधि छैन ।

‘रसुवागढी नाका खोल्न नदिने सम्बन्धित वडाअध्यक्षको पत्र यसैको परिणाम हो’, उनले भने, ‘संघीय सरकारले स्थानीय तहसँग समन्वय गर्न आवश्यक नठान्दाको परिणाम हो यो ।’

संघले गरेका कतिपय आपतकालीन निर्णयको विरोध गरिहाल्नु पनि उचित नहुने उनले बताए ।

संघले कोरोनाविरुद्ध लड्न समन्वय आवश्यक रहेको महसुस गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) खडा गरेको छ । सीसीएमसीले कोरोनाविरुद्ध प्रतिकार्य गर्न गठित उच्चस्तरीय निर्देशक समितिको मातहतमा काम गर्छ । निर्देशक समितिको संयोजक पनि पोखरेलले नै हुन् ।

निर्देशक समितिले नीति बनाउने र सीसीएमसीले कार्यान्वयन गर्ने, गराउने भनिएको छ । एकैजनाले नेतृत्व गर्ने भए छुट्टाछुट्टै संयन्त्र किन चाहियो ? भन्ने प्रश्न उठाउनेहरु पनि छन् । तर, यसको जवाफ दिइएको छैन । बरु स्थानीय तहमा पनि यस्तै संरचना बनाउने सरकारको योजना छ ।

प्रदेशमा मुख्यमन्त्री, जिल्लामा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहमा मेयर वा अध्यक्ष र वडास्तरमा वडा अध्यक्षको नेतृत्वमा संयन्त्र बनाउने भनिएको छ । तर, यो कहिलेसम्म बन्छ र कसरी समन्वय हुन्छ भन्ने स्पष्ट योजना वा नीति छैन । यी संयन्त्रले संघीय सरकारको निर्णय कार्यान्वयन गर्ने मात्र हो कि आफैं योजना बनाएर पनि कार्यानवयन गराउन सक्छन ? अस्पष्ट छ ।

भारतस्थित नेपालीहरुको व्यवस्थापन

संघीय सरकारले भारत र भारतीय सीमामा अलपत्र नेपालीबारे गरेका निर्णयबारे सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि जनाएका छन् ।

परराष्ट्र मन्त्रालयले भारतमा रहेका नेपालीको भारत सरकारले र नेपालमा रहेका भारतीयहरुको नेपाल सरकारले व्यवस्थापन गर्ने सहमति भएको बताएको छ । भट्टले अनलाइनखबरसँग भने, ‘तर, भनिए जसरी व्यवस्थापन भएको छैन ।’

नेपालमा रहेका भारतीय मजदुरहरुको व्यवस्थापन भइराखेको तर भारतमा नेपालीको व्यवस्थापन नभएको कुरालाई संघीय सरकारले गम्भीरतापूर्वक लिँदा राम्रो हुने उनले बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सम्पर्क गरेर भारतमा रहेका नेपालीहरुलाई ल्याएर स्थानीय तहसँग मिलेर क्यारेन्टाइनमा राख्न आफूहरु तयार रहेको बताएको मुख्यमन्त्री भट्टले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संघ र स्थानीय तहसँग समन्वयमै काम गरिरहेको बताउँछन् । कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशाला स्थापनाको विषयमा संघसँग र क्वारेन्टाइन बनाउन स्थानीय तहसँग समन्वय भएको बताउँदै उनले भने, ‘स्वास्थ्यकर्मीहरुले सुरक्षा प्रवन्ध भएन भनेर बहानाबाजी गर्ने ठाउँ अब सकिएको छ ।’

प्रधानमन्त्रीको फोनको पखाईमा राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कोरोनाविरुद्ध लड्न तीनवटै तह एकजुट हुनुपर्ने बताउँछन् । कसरी समन्वय भइरहेको छ ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीको फोन पर्खिरहेको छु, उहाँसँग कुरा भएपछि मात्र यसबारे बताउन सक्छु ।’

संक्रमण फैलिरहेको भारतसँग खुला सीमाना जोडिएको र उताबाट ठूलो संख्यामा नेपालीहरु फर्किएका कारण प्रदेश २ कोरोनाको उच्च जोखिममा छ । भारतबाहेकका देशमा रोजगारी गरेर फर्कनेहरु पनि यो प्रदेशमा धेरै छन् । प्रदेश २ आवश्यक उपकरण नहुँदा कोरोना परीक्षणमा समस्या भएको गुनासो छ ।



source https://www.onlinekhabar.com/2020/04/850241

लकडाउनमा फोनबाटै स्वास्थ्य परामर्श

२० चैत, बुटवल । कोभिड–१९ को जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत स्वास्थ्य परामर्श दिन थालेका छन् ।

सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका ९ जना चिकित्सकले फोनमार्फत परामर्श दिन थालेका हुन् ।

संघले गरेको आग्रह अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.बसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा. विनोद बरई, डा. दुर्गा खत्री र डा. अशोक धिताल तथा दन्त चिकित्सक डा.दिपेन्द्र पोख्रेलले फोनमार्फत बिरामीलाई परामर्श दिएर उपचारमा सहयोग पुर्‍याएका छन् ।

हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार ९ जना चिकित्सकको मोबाइल नम्बर संघको फेसबुक पेज (हान रुपन्देही) मा राखिएको र उनीहरुले जुनसुकै बेला बिरामीको फोन रिसिभ गरेर निःशुल्क परामर्श दिने सहमति भएको छ ।



source https://www.onlinekhabar.com/2020/04/850239

विदेशबाट फर्केकाको खोजी थाल्न प्रदेश प्रहरी कार्यालयको परिपत्र

२० चैत, कैलाली । प्रहरीले विदेशबाट सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा फर्किएका व्यक्तिहरूको खोजी थालेको छ ।

यही चैत ४ गते कतार एयरवेजबाट १ सय ५८, ६ गते एयरअरेवियाबाट १ सय ७० र चैत ७ गते भारतीय विमानबाट १ सय ३० जना यात्रु नेपाल आएका थिए । उनीहरूमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विमानमा रहेकाहरूमा पनि संक्रमणको जोखिम रहेको भन्दै प्रहरीले यात्रुको खोजी थालेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले बताए।

तीनवटा विमानमार्फत आएकाहरूलाई निगरानीमा राख्न सुदूरपश्चिमका ९ जिल्लामा परिपत्र गरिएको उनले जानकारी दिए ।

‘विदेशबाट आएका धेरै हाम्रो सम्पर्कमा आइसकेका छन्,’ उनले भने, ‘केही अझै सम्पर्कमा छैनन् । उनीहरूको खोजी भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले विदेशबाट आएकाहरूको खोजी तीव्र पारिएको बताए ।



source https://www.onlinekhabar.com/2020/04/850240

कोरोना भाइरस संक्रमित नौ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु

२० चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नाै लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १५ हजार पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि पाँच  हजार ११६ पुगेको छ ।

त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने १३ हजार १५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार ३८७ पुगेको छ ।

त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।



source https://www.onlinekhabar.com/2020/04/850225

लकडाउनले रोक्न नसकेको पशुपतिको आरती (फोटो फिचर)

२० चैत, काठमाडौं । गोधुली साँझको संकेत क्षितिजमा पुगेको घामले गरिरहेको थियो । एउटी अधबैंशे महिला पशुपतिको पूर्वीगेट पारिपट्टिको आरती हुने ठाउँ सफा गर्ने तरखरमा थिइन् ।

पहिले त उनले सफाइ सुरु गर्दा नगर्दैदेखि श्रद्धालुहरुको आरती हेर्न भिड सुरु भइसक्थ्यो । तर, बुधबारको उनको त्यो सफाइको समयमा केवल साथमा थिए त बाँदरहरुको जत्थ्था ।

एकैछिनमा आइपुग्छन् आरती गर्ने पण्डित भीम भट्टराई । बुधबार आरतीमा आउने पालो उनको परेको थियो । सबै प्रक्रिया पूरा गरेपछि शुद्ध कपडा लगाएर संकल्प गरेर बत्ती बाल्न सुरु गर्छन् । वैदिक मन्त्रका साथमा गरिएको सो आरतीमा पहिलेको जस्तो रौनक त छैन । भक्तजनको तर्फबाट गंगामा दुध चढाउन बन्द गरिएको छ । त्यसबाहेक अरु प्रक्रिया भने नरोकिएको आयोजक समितिले जनाएको ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण गत चैत ७ गते आरती रोक्ने निर्णय भएको भएपनि अहिले पनि आरती चलिरहेको छ । कोषले आरती रोक्ने निर्णय गर्‍यो । तर, समितिले रोक्न नहुने निर्णय गर्‍यो । त्यसैले विशेष सावधानी पुर्‍याएर अहिले पनि निरन्तर सन्ध्याकालीन आरती चलिरहेको पशुपतिनाथ एवं गंगा आरती सेवा समितिका कोषाध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

अहिले आरतीमा केवल दर्शनार्थीहरुलाई प्रवेश दिइँदैन । तीन जना पण्डितहरुले गर्ने गरेको काम अहिले एक जना पण्डितबाट गराउने गरिएको छ । कोषाध्यक्ष पौडेलका अनुसार कुल १२ जना कर्मचारीहरु रहेको सो समितिमा अहिले ५ जनाको दरमा आलोपालो प्रणालीमार्फत् कर्मचारी बोलाउने गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु



source https://www.onlinekhabar.com/2020/04/850226

क्वारेन्टाइन बस्नेको कथा : आफन्तले भेट्न मान्दैनन्, फोनमा हालखबर सोध्छन्

२० चैत, विराटनगर । सँगै वैदेशिक रोजगारीबाट फर्किएका साथीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर– १५ का युवक परिवारसहित क्वारेन्टाइनमा छन् ।

शनिबारयता विराटनगर– १९ मा महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका उनी कोरोना त्राससँग जुधिरहेका छन् ।

कोरोना संक्रमणको आशंकामा उनी आफैं डराएका छन् । विराटनगरमा रहेका उनका आफन्त पनि डराएका छन् । डर कै कारण आफन्त भेटघाटका लागि क्वारेन्टाइन पुगेका छैनन् ।

आफन्तले बेला बेला फोन गरेर हाल खबर सोध्छन् । ‘आफन्त यहाँ आउन गाह्रो मान्नुहुन्छ, फोनमा चाहिँ कुरा हुन्छ’ उनी भन्छन् ‘दुरी मेन्टेन गर्दा कोरोना सर्दैन, बुझ्ने मान्छेमा नै त्रासमा छन् ।’

६ वर्षकी छोरी र श्रीमतीसहित क्वारेन्टाइनमा बसेका उनी घरको जस्तो बसाइ नहुने बताउँछन् ।

अध्यक्षले सहयोग गरे, प्रहरीले चाबी लगायो

विराटनगर स्थायी घर भएका उनी वैदेशिक रोजगारीका लागि युएई पुगेका थिए । विश्वभर फैलिएको महामारीका कारण उनी कैलालीको धनगढीका साथीसँगै नेपाल फर्किए ।

६ चैतमा उनीहरु दिल्ली हुँदै काठमाडौं ओर्लिए । कोरोना महामारीको त्रासका कारण सरकारले उच्च सतर्कता अपनाएको थियो । कोरोनाकै कारण विश्व आक्रान्त भएका बेला बाटोमा सर्छ कि भन्ने त्रास पनि थियो । उनी सकेसम्म सतर्कता अपनाउँदै पनि थिए । तर सँगै आएका धनगढीका साथीलाई कोरोना पोजेटिभ भएको जानकारी पाएपछि भने डराए ।

ओल्लो सिट र पल्लो सिटमा बसेर फर्किएको साथीमा कोरोना पोजेटिभ भएको थाहा पाएपछि उनले परिवारमा सतर्कता अपनाए । आफन्तलाई सुनाएपछि उनले विराटनगर महानगरपालिका– १५ का वडाअध्यक्ष असलम आलमलाई फोन गरे ।

१४ चैतमा साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन क्वारेन्टाइनमा बस्न चाहे । तर वडा अध्यक्ष आलमले साँझ परेको बताउँदै शनिबार क्वारेन्टाइनमा राखिदिने बताए । आफ्नो रिपोर्टका बारेमा धनगढीका साथीले पनि फोन गरेर सुनाएका थिए । आलमले शनिबार विहान थ्रोट स्वाब परीक्षण गर्ने र क्वारेन्टाइनमा राखिदिने बताएका थिए ।

तर शनिबार महानगरको एम्बुलेन्स पुग्नुअघि प्रहरी पुगे । घर पुगेको प्रहरीले अभद्र व्यवहार गरेको उनले बताए । तोकिएको समय भन्दा आधा घण्टा अगाडि प्रहरी पुगेर घरमा बाहिरबाट ताला लगाइदिए । अलग्गै बस्न भन्दै रुखो बोली गरे । ‘मैले आफैं सम्पर्क गरेर क्वारेन्टाइनमा जाने खोजेको थिएँ’ उनले भने ‘ तर प्रहरीले अभद्र शैली प्रस्तुत गर्‍यो ।’

सोमबार मात्र परीक्षण

महानगरको एम्बुलेन्स पुगेपछि उनलाई थ्रोट स्वाब परीक्षणका लागि भन्दै कोशी अस्पताल पुगे । तर अस्पतालको चिकित्सकले लक्षण नदेखिएको बताउँदै आइतबार आउन भने । आइतबार महानगरले नलगेपछि उनीहरुको थ्रोट स्लाब सोमबार संकलन भयो । परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

डाक्टरले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । तर सँगै आएको साथी संक्रमिति भएपछि उनी महानगरले निर्माण गरेको क्वारेन्टाइनमा पुगे ।

विदेशबाट फर्किएपछि उनी छोरी र श्रीमतीसँग बढी नजिक भए । एक दिनमात्र बजार निस्किएको बताउने उनी त्रासका कारण आफ्नो परिवार नै क्वारेन्टाइनमा बसेको बताए ।



source https://www.onlinekhabar.com/2020/04/850224

चट्याङ लागेर २ जनाको मृत्यु

२० चैत, काठमाडौं । धादिङ र रुकुम पश्चिममा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको हो । तीन जना घइते छन् ।

मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएकी छन् । थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए ।

दिउँसोको समयमा परेको चट्याङका कारण सोही गाउँपालिका–२ क्यूङ निवासी आसमाया तामाङ घाइते भएकी छन् । सबै घाइतेको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उता, रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको थियो ।

चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/04/850222

दुर्गममा नवागन्तुकलाई पस्न पूर्ण रोक

२० चैत, सुर्खेत । कोभिड–१९ संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन् ।

जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् । गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला ८ का वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिए ।

‘यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन् । लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौं,’ वडाध्यक्ष रावतले भने, ‘प्रत्येक गाउँले नयाँ मान्छे आए गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौं ।’ गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभावकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ ।

उनका अनुसार, गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुने सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ । नयाँ मान्छे प्रवेश नगरुन् भनेर हेरालो पनि राखिएको छ । नियम तोडे कारवाही पनि गरिने छ । लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँ तथा वडापालिका, स्थानीय राजनीतक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उनले जनाए ।



source https://www.onlinekhabar.com/2020/04/850221

चीनमा अब मात्रै साढे २ हजार कोरोनाको एक्टिभ केस बाँकी

२० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा यसबाट संक्रमित हुने एक्टिभ बिरामीको संख्या २ हजार ६ सय ४० मा झरेको छ । ।

अमेरिका, इटली, स्पेनलगायतका देशहरूमा संक्रमण र मृत्यु दर बढिरहेका बेला चीन त्यसलाई न्यूनीकरण गर्न सफल भएको हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, चीनका ८२ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको लक्षण देखिएको थियो । यीमध्ये ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ हजार ४०५ मानिस स्वास्थ्यलाभ गरेर घर फर्किसकेकाले अब मात्रै २ हजार ६ सय ४० कोरोना संक्रमित बिरामी चीनमा बाँकी छन् । यी सबैको हाल उपचार भइरहेको र ४०० बढीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट इटलीमा सबैभन्दा धेरै १३ हजार १ सय ५५ मानिसको ज्यान गएको छ । त्यहाँ अझै पनि हजारौं संक्रमित कोरोनासँग जुधिरहेका छन् । त्यसैगरी, स्पेन, अमेरिकालगायतका देशहरूमा पनि कोरोना महामारी फैलिरहेको छ ।



source https://www.onlinekhabar.com/2020/04/850219

Tuesday, 31 March 2020

कोभिड–१९ बाट अमेरिकामा २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्छ : ट्रम्प

१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या २ लाख ४० हजारसम्म पुग्नसक्ने बताएका छन् ।

कोरोना भाइरसका कारण अबको दुईसाता निकै संवेदनशील रहेको भन्दै उनले यसतर्फ सचेत रहन सबैलाई आग्रह समेत गरेका छन् ।

मंगलबार पत्रकारहरुसँगको कुराकानीका क्रममा ट्रम्पले अबको दुईदेखि तीन सातामा कोरोना भाइरसबाट अहिलेसम्म नदेखेको परिणाम भोग्नुपर्ने बताएको सीएनबीसीले जनाएको छ । अबको दुई सातासम्म अमेरिकामा मृत्यु हुनेको संख्या  उत्कर्षमा पुग्ने उनको भनाइ छ ।

अमेरिकामा अहिले विश्वमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा एक लाख ८४ हजार संक्रमित फेला परिसकेका छन् । अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म ७५ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् ।

यसअघि न्युयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले अबको तीन सातामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उत्कर्षमा पुग्ने बताएका थिए । उनले आफूहरुले सोचेभन्दा यो भाइरस निकै शक्ति र जोखिमपूर्ण रहेको बताएका थिए ।

ट्रम्पले मंगलबार बोल्दै आफूहरुले अहिलेसम्म देखेकोमध्ये सबैभन्दा कठिन तीन साताको सामना अमेरिकाले गर्नुपर्ने बताए । उनले आफू मृतकको संख्या सकेसम्म कममा लाग्न प्रयासरत रहेको पनि बताएका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849932

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित

१९ चैत, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए ।

संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको संक्रमण देखिने नेपालीको संख्या नौ पुगेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरे । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । यहाँस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849930

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ ।

कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारीहरूलाई यस्तो आग्रह गरेको हो ।

विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैंकले गरेका परिपत्र र सङ्क्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, सङ्क्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध गरेको बताए ।

‘सहकारीमा न्यून तथा मध्यम आय भएका व्यक्तिले थोरैथोरै गर्दै गाँस कटाएर भए पनि केही बचत गरेका हुन्छन् । उनीहरुको यो बचत भोलि आउने अप्ठ्यारोका लागि हो,’ विभागका उपनिर्देशक सुमन अधिकारीले भने, ‘अहिले शहरी गरिब तथा न्यून र मध्यम आय भएका परिवारलाई जीवन निर्वाह गर्न अप्ठ्यारो परेको छ । उनीहरुलाई खोजेर भए पनि जीवन निर्वाहका लागि सहयोग गर्नुस् ।’

उत्पादन र उपभोक्ता सहकारीले उत्पादित वस्तुको सहज वितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यलाई सम्भव भए मास्क र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ । हाल कामपामा करिब एक हजार ९०० सहकारी छन् ।



source https://www.onlinekhabar.com/2020/04/849929

लकडाउन उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए

१९ चैत, काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय ५८ जनालाई उभ्याएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याएर कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक परीक्षण दिइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय ९० जना पुरुष छन् । यो अवधिमा एक सय ५३ वटा सवारीसाधन पनि होल्ड गरिएका छन् ।



source https://www.onlinekhabar.com/2020/04/849928

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More