१८ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७४ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने एक हजार सात सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४३२ जना मानिसको मृत्यु भइसकेको छ ।
त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण देखिँदा १९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा पनि दुई हजार ५०० भन्दा बढीमा यसको संक्रमण देखिँदा एक सय २९ जनाको मृत्यु भइसकेको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ३९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि ७५८ जनामा भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा ३९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा आठ हजार ३२५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु भएको छ ।
बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उद्धार सुरु गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए । ‘हिजो छलफल गरेका थियौँ । केन्द्रमा पनि समन्वय गरेर आजबाट उद्धार सुरु गरिएको हो,’ उनले भने ।
भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।
उद्धार गरेकालाई १४ दिन क्वारेन्टाइनमा राखिने
उद्धार गरेर स्वदेश फर्काउन लागिएका भारतीय क्वाेन्टाइनमा बसेका नेपालीहरु हुन् । क्वारेन्टाइनमा नबसेकाहरुलाई पनि यसैपटक स्वदेश फर्काउन लागिएको छ ।
भारतीय भूमिबाट स्वेदेश फर्किने उनीहरु सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यसपछि आरडीटी गरिने बताइएको छ।
महाकालीपारि करिब २ हजार नेपाली उद्धारको पर्खाइमा छन् । दार्चुलापारि मात्रै एक हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । यताकैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपालीअलपत्र परेका छन् ।
क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो ।
केहि दिन पहिलेदेखि बैतडी र बझाङका स्थानीय तहका जनप्रतिनिधिहरु नै आफ्ना नागरिकहरुको उद्धार गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै दबाब दिइरहेका थिए ।
स्थानीय तहले आवश्यक व्यवस्था गर्ने बताएपछि उनीहरुको उद्धार गरिएको हो ।
१८ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएको एक हजार ६ सय ९० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार दुई सय १३ वटा अस्थायी पोष्ट स्थापना गरेको छ । यसअघि नेपाल-भारत सीमामा १ सय २० वटा बोर्डर आउट पोष्ट थिए ।
कोभिड-१९ को महामारी अघि ७ देखि १० किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहे पनि अहिले एकदेखि ३ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठ बताउँछन् ।
तर, बैतडी, दार्चुला जस्ता पहाडी क्षेत्रमा महाकाली नदी पार गरेर नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । तराईका सीमावर्ती क्षेत्रमा पनि चोर बाटो प्रयोग गरेर सर्वसाधारणले नेपाल प्रवेश गर्न छाडेका छैनन् । प्रवक्ता श्रेष्ठ भने भारतबाट नेपाल आउने कार्यलाई पूर्णतः निषेध गरिएको दाबी गर्छन् ।
दार्चुलाबाट १६ जना नेपाल छिरे
भारतमा अड्किएका १६ जना नेपाली मजदुरले मंगलबार राति महाकाली नदीमा हाम फाले । सुखद् पक्ष, महाकालीको भेलमा पौडिएका सबै जना सकुशल आफ्नो मुलुकमा आउन सफल भए ।
नेपाल प्रवेश गरे पनि उनीहरुलाई स्थानीय प्रशासनले खोजी गरिरहेको छ । दार्चुलाका प्रहरी प्रमुख एसपी दिपेन्द्र शाहीले अनलाइनखबरसँग भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका छौं ।’
यसअघि पनि भारतबाट नेपाल छिर्न खोज्ने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिँदै आएको शाहीले जनाए । तर, संख्याबारे उल्लेख गरेनन् । सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतका अनुसार सरदर दैनिक ५ जना नागरिकले जोखिमपूर्ण ढंगले नदी पार गरेर नेपाल प्रवेश गरिरहेका छन् ।
‘भेलमा पनि नांगै तरेर नेपाल आउनेलाई धकेलेर उतै पठाउने कुरा पनि भएन’, उनी भन्छन्, ‘नेपाल छिरे पनि निरन्तर निगरानीमा राख्ने गरेका छौं ।’
प्रदेश ५ को रुपन्देहीका सशस्त्र प्रहरी प्रमुख एसपी तेजप्रसाद पोखरेल भारतबाट दैनिक १५ देखि २० जना व्यक्ति सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने गरेको बताउँछन्
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख उत्तमराज सुवेदी पनि ज्यानकै जोखिम मोलेर नदीमा फाल हानेर भारतबाट मानिसहरु आउन सक्ने जोखिम देखिएको बताउँछन् ।
‘नदी पार गरे पनि निश्चित पोइन्टमा एम्बुसिङ गरेर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउन खोजिरहेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले अनलाइनखबरसँग भने, ‘नेपालतिर आउनेको संख्या धेरै नभए पनि हामी सचेत छौं ।’
यो समस्या बैतडी र दार्चुलाका सीमा क्षेत्रमा देखिएका छन् । एक महिनादेखि भारतमा अलपत्र नेपाली नागरिक यसरी नेपाल प्रवेश गर्ने कोशिश गरिरहेका हुन् ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी कोही व्यक्ति लुकेर आएको पाइए, भारततिरै फर्काइने गरिएको बताउँछन् । तर, भजनी नगरपालिका-५ का वडाध्यक्ष केशव बुढाले केही दिन अघिसम्म भारतबाट सर्वसाधारण आउने गरेको बताए ।
सुदुरपश्चिम प्रदेशकै कैलाली र कञ्चनपुरको सीमा नाकाबाट पनि नेपालीसँगै भारतीय नागरिक नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । यद्यपि, सुरक्षाकर्मीको सक्रियतापछि नेपाल प्रवेश गर्न खोज्नेको संख्यामा कमी आएको स्थानीय प्रशासनको दाबी छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल पनि भारतबाट आएका ५ जनालाई उतै फर्काइएको स्मरण गर्छन् ।
प्रदेश ५ को रुपन्देहीका सशस्त्र प्रहरी प्रमुख एसपी तेजप्रसाद पोखरेल भारतबाट दैनिक १५ देखि २० जना व्यक्ति सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने गरेको बताउँछन् । यद्यपि, उनीहरुलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको उनको दाबी छ ।
रुपन्देहीमा सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी । तस्वीरः टोपराज शर्मा/अनलाइनखबर
तराईमा चोर बाटोबाट छिर्छन् मजदुर
प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार ११ चैतमा लकडाउनको घोषणा भएदेखि प्रदेशका विभिन्न सीमा क्षेत्रबाट एक हजार ६ सय २० जना सर्वसाधारण नेपाल प्रवेश गरेका छन् ।
जसअनुसार सप्तरीमा १५०, सिरहामा १७९, धनुषामा १०१, महोत्तरीमा १५९, सर्लाहीमा ३३८, रौतहटमा २५७, बारामा ९३ र पर्सामा ३४३ जना भित्रिएको तथ्यांक मन्त्रालयसँग छ । प्रदेश २ को आठ वटै जिल्लामा गरेर ४५२ किलोमिटर क्षेत्रमा भारतसँग सीमा जोडिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी दुई/चार दिनको फरकमा एकाध व्यक्तिहरु नेपाल प्रवेश गर्ने गरेको बताउँछन् । ‘अहिले त स्थानीय नै सचेत भइसक्नु भएको छ, कोही गाउँमा नयाँ मान्छे देख्ने वित्तिकै प्रहरी, प्रशासनलाई खबर आइसक्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि हामी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिन्छौं ।’
हालसम्म नेपाल प्रवेश गर्नेको संख्या ‘म्यानेजएवल’ नै भएको उनले जनाए । यद्यपि, ती व्यक्तिलाई पनि कसरी पूर्ण रुपमा रोक्न सकिन्छ भनेर छलफल भइरहेको जिसीले अनलाइनखबरलाई बताए ।
हाल जिल्लाको विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाइनमा १०५ जना रहेको जिसीले बताए ।
भारतसँग ५१ किलोमिटर सीमा जोडिएको सर्लाहीमा रातको समयमा ‘चोर बाटो’को प्रयोग गरेर नेपाल प्रवेशको प्रयास हुने गरेको जिल्लाका एक सुरक्षा अधिकृतले अनलाइनखबरलाई बताए । उनले भने, ‘गलत नियतले होइन कि भारतमा लामो समय अड्किएपछि आफ्नै गाउँ फर्किन चाहनेहरु नै यसरी आउन खोज्ने हुन् ।’
प्रदेशका सुरक्षा अधिकृतहरु विगतमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले नै सर्वसाधारणलाई नेपालतिर पठाइदिने गरेको दाबी गर्छन् । दुई साताअघि सर्लाहीको सीमा नाकाबाट ४० बढी सर्वसाधारण नेपाल प्रवेश गरेको स्रोत बताउँछ ।
यही प्रकरणलाई लिएर सर्लाहीका सशस्त्र प्रहरी प्रमुख विनोदराज श्रेष्ठ जिम्मेवारीबाट हटाइएका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक स्रोतका अनुसार ‘कमाण्ड कन्ट्रोल’मा प्रश्न उठेपछि उनलाई हटाएर गंगाराम श्रेष्ठलाई नयाँ प्रमुखको रुपमा पठाइएको छ ।
सशस्त्र प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘अहिलेको अफ्ठ्यारो पस्थितिमा सुरक्षामा कुनै सम्झौता गर्ने अवस्था छैन । त्यसैले जिल्लाको नेतृत्व फेरिएको हो ।’
सप्तरीका सशस्त्र प्रहरी प्रमुख (एसपी) उद्धव न्यौपाने रातको समयमा मौका छोपेर भारतबाट विभिन्न व्यक्ति आउन सक्ने सम्भावना रहेको बताउँछन् । यद्यपि, रातको गस्तीलाई पनि बढाइएको उनले जनाए ।
‘राती खटिने टोलीलाई टर्च लाइटको पनि व्यवस्था गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘मोटरसाइकल र गाडीबाट पनि नियमित गस्ती भइरहेको छ ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला कतिपय अवस्थामा व्यवहारिक समस्याका कारण पनि भारततिरबाट सर्वसाधारण नेपाल प्रवेश गर्ने गरेको बताए ।
‘खुला सीमा छ, कोही खेतमा गहुँ काटेको जस्तै गर्दागर्दै नेपाल प्रवेश गर्दा रहेछन्’, उनले अनलाइनखबरसँग सुनाए, ‘नेपाली क्षेत्रमा प्रवेश गरिसके फेरि फर्काउने कुरा पनि भएन । त्यसरी छिटपुट रुपमा प्रवेश गर्नेलाई हामीले क्वारेन्टाइनमा राख्ने गरेका छौं ।’
उनका अनुसार २४ चैतमा जनकनन्दनी गाउँपालिका-२ का वडाध्यक्ष पनि भारतबाट नेपाल प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएका थिए । नेपाल र सीमापारि पनि घर भएका वडाध्यक्ष भोगेन्द्र पाठक भारतको मधुवनीबाट फर्किएपछि स्थानीयले उनलाई क्वारेन्टाइनमा राख्न माग गरेका थिए ।
त्यसपछि प्रहरीले उनलाई जनकनन्दनी गाउँपालिका-४ मा रहेको विद्यालयको क्वारेन्टाइनमा भर्ना गरेको थियो । हाल जिल्लाको क्वारेन्टाइनमा १०१ जना रहेको निरौलाले अनलाइनखबरलाई बताए ।
उनले भने, ‘हामीले छिटपुट रुपमा आउनलाई पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेका छौं । एक जना क्यान्सरका रोगी पनि उपचारपछि फर्किनु भएकाले क्वारेन्टाइनमा हुनुहुन्छ ।’ निरौलाका अनुसार भारतबाट आउने व्यक्तिको अनिवार्य कोभिड-१९ को पीसीआर परीक्षण पनि हुने गरेको छ ।
कतिपय अवस्थामा स्थानीय नागरिकले नै नयाँ व्यक्ति देखेर खबर गर्ने गरे पनि नाता सम्बन्ध देखिएका अवस्थामा खबर नआउने गरेको निरौलाले सुनाए । ‘वारिपारि नाता, कुटुम्ब छन् त्यसैले व्यवहारिक रुपमा केही कठिनाइ छन्’, उनले भने, ‘यद्यपि, हामी समस्याको सामधान गर्ने प्रयत्नमै छौं ।’
सीमामा निगरानीका लागि भने सय मिटरको दूरीमा ७७० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका छन् । केही स्थानमा नेपाल प्रहरीका अधिकारीहरु पनि खटिएका छन् ।
प्रदेश नं २ का प्रहरी प्रमुख धिरजप्रताप सिंह भारतबाट आएका ५ जना जमातीमा संक्रमण देखिएपछि सीमामा कडाइ गरिएको बताउँछन् । ‘अहिले एसएसबीले पनि हामीलाई सहयोग गरिरहेको छ, पारिका सर्वसाधारण उतै रोकिएका छन्’, डीआईजी सिंहले अनलाइनखबरसँग भने, ‘नेपालमा रोकिएका भारतीय मजदुरलाई पनि भारत छिर्न दिएका छैनौं ।’
पाल टाँगेर टहरोमा बसेका छौं, वर्षातमा कठिन हुन्छ : एसपी सुवेदी
पर्सामा १०७ र बारामा ६० किलोमिटर भारतसँग जोडिएको खुला सीमा छ । दुवै जिल्लामा एकले अर्कोलाई देख्ने गरिको दुरीमा सुरक्षाकर्मी परिचालन गरेको सशस्त्र प्रहरीको दाबी छ ।
नेपालबाट भारत जान खोज्नेलाई नेपालतिरै रोकिँदै आएको र भारतबाट नेपाल छिर्न खोज्नेलाई पनि एसएसबीले पारि नै रोक्ने गरेको सशस्त्र प्रहरीका अधिकृतहरु बताउँछन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने, ‘हामीले आई टु आई कन्ट्याक्ट रहने गरी सुरक्षाकर्मी परिचालन गरेका छौं ।’ पर्सामा ९ वटा बोर्डर आउट पोष्ट रहेकोमा लकडाउनपछि ५२ वटा फरवार्ड पोष्ट स्थापना गरिएको छ भने ६ सय भन्दा बढी सशस्त्र प्रहरीका जवान सीमामा खटिएका छन् ।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले कोभिड-१९ को जोखिमलाई मध्यनजर गरेर सीमामा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।
उनले भने, ‘एसएसबीसँग पनि समन्वय गरेर सीमामा सर्वसाधारणको आवागमन पूर्ण रुपमा रोकेका छौं । दशगजामा मुभमेन्ट देखियो भने तुरुन्तै एक्सनमा आइहाल्छौं ।’
बारामा सीमा क्षेत्रमा हुन सक्ने गतिविधिलाई रोक्न सीमा क्षेत्रका २० वटा वडामा वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय निगरानी समिति समेत गठन भएका छन् । त्यसबाहेक ७ वटा बोर्डर आउटपोष्टको मातहतमा १७ वटा फरवार्ड आउटपोष्ट थपिएको छ । ९१ स्थानमा ड्युटी पोष्ट स्थापना गरिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सीमा क्षेत्रमा लकडाउनपछि सशस्त्र प्रहरीको संख्या दोब्बर गरिएको बताउँछन् ।
उनका अनुसार नेपाल छिर्न खोज्ने २६ जनालाई भारततर्फ नै फर्काइएको छ । भारतमा १३ जना नेपाली र बारामा ९१ जना भारतीय नागरिक क्वारेन्टाइनमा राखिएका छन् ।
बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी मौसम प्रतिकुल हुँदा समस्या आउन सक्ने बताउँछन् । उनले भने, ‘अहिले पाल टाँगेर, टिनको टहरा बनाएर हामी खटिइरहेका छौं, वर्षातको समयमा यसरी कठिन हुन्छ ।’
– सुरेश विडारी
बिहारतिरबाट नेपाल आउन खोज्ने कम
प्रदेश १ मा दक्षिणी सीमा भारतको बिहारसँग जोडिएको छ ।
‘हालसम्मको तथ्यांक हेर्दा बिहारबाट नेपाल आउने संख्या अत्यन्त न्यून छ’, प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्की भन्छन्, ‘त्यसैले दक्षिणी क्षेत्रबाट छिर्न खोज्ने व्यक्ति नगन्य छन् ।’
भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीमा एक हजार ५०० प्रहरी परिचालन गरिएको छ । रातको समयमा भारतबाट मजदुर प्रवेश गर्न सक्ने भएकाले अस्थायी चेक पोष्टमा २४ घण्टे ड्युटी कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ
प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्की झापाको केही भाग पश्चिम बंगालसँग जोडिए पनि मेची नदीका कारण त्यताबाट पनि सर्वसाधारण प्रवेश गर्न खोज्ने क्रम नदेखिएको बताउँछन् । ‘पश्चिममा जस्तो यहाँ नदीमा हाम फालिहाल्ने स्थिति पनि छैन’, उनले भने ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणा पनि ५ सय मिटरको फरकमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर भारतबाट आउने नागरिकलाई प्रवेश निषेध गरिएको बताउँछन् । ‘अहिले स्थानीय पनि आफैं सीमामा स्वयम्सेवकका रुपमा खटिनु भएको छ’, राणाले अनलाइनखबरसँग भने, ‘यसले झनै सजिलो भएको छ ।’
भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीमा एक हजार ५०० प्रहरी परिचालन गरिएको छ । रातको समयमा भारतबाट मजदुर प्रवेश गर्न सक्ने भएकाले अस्थायी चेक पोष्टमा २४ घण्टे ड्युटी कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार भारतसँगको करिब ६२ किलोमिटर सीमा क्षेत्रमा सशस्त्रका स्थानीय र अस्थायी गरी ७९ बोर्डर आउट पोष्ट (बीओपी) छन् ।
जसमा २३१ सुरक्षाकर्मी सीमा निगरानीमा खटिएका छन् । लकडाउन सुरु भएदेखि हालसम्म भारतबाट नेपाल प्रवेश गर्न खोज्ने १७ जनालाई क्वारेन्टाइनमा राखिएको पौडेलले जनाए । जिल्लामा रहेका ७४ वटा मस्जिदमा पनि निगरानी बढाइएको उनले बताए ।
त्यस्तै, ६३ किलोमिटर सीमा भारतसँग जोडिएको मोरङमा ८ सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दशगजा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १०७ स्थानमा अस्थायी चेक पोष्ट खडा गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘सीमामा सुरक्षाकर्मीले २४ घन्टै निरन्तर गस्ती गरेर मानिसहरुको आवतजावतलाई पूर्णतः निषेध गर्नुभएको छ ।’
मोरङका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्रबहादुर कार्की पनि सशस्त्र प्रहरीको सम्पूर्ण जनशक्तिलाई दशगजा क्षेत्रमा केन्द्रीत गरिएको बताउँछन् । उनले भने, ‘गाडी, मोटरसाइकल, साइकल र पैदल समेत गरेर हामी दैनिक गस्तीमा खटिइरहेका छौं ।’
नेपाल प्रहरीका एसपी विश्व अधिकारी पनि सीमा क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा तीन सय बढी प्रहरी अधिकृत खटाइएको बताउँछन् । लकडाउनपछि भारतबाट नेपाल प्रवेश गरेका १६ जना मोरङको सीमाबाट नियन्त्रणमा परेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
हालसम्म प्रदेश १ का ३१ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ भने प्रदेशभरि दुई हजार एक सय ९७ जना क्वारेन्टाइनमा छन् ।
हल्चोकबाट देशभरको निगरानी
सशस्त्र प्रहरी बलको हल्चोकमा रहेको कार्य तथा सीमा सुरक्षा विभागले देशभरको सीमा सुरक्षा स्थितिबारे निरीक्षण गरिरहेको छ । एपीएफले कतिपय सीमा क्षेत्रमा क्लोज सर्किट (सीसी) क्यामरा पनि राखेको छ । जसको निरीक्षण हल्चोकबाट पनि भइरहेको हो ।
यसका अलावा हरेक प्रदेशका कमाण्डरसँग नियमित रुपमा सुरक्षा स्थितिबारे बि्रफिङ लिने काम भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरुले आफ्नो क्षेत्रको स्थितिबारे नियमित रुपमा प्रतिवेदन पनि बुझाइरहेको स्रोतले बतायो ।
सशस्त्र प्रहरीको उद्देश्य भारतबाट आउने व्यक्तिको पूर्णतः निषेध गर्नु नै भएको बताउँदै एक अधिकृतले अनलाइनखबरसँग भने, ‘तर, अझै करिब दुई हजार नेपाली मजदुर सीमा क्षेत्रमा अड्किएको पाइएको छ, उनीहरु हाम्रा लागि जोखिम बन्न सक्छन् ।’
(विराटनगरबाट ध्रुव भट्टराई, धनुषाबाट श्रवण देव, पर्साबाट सुरेश बिडारी, बुटवलबाट टोपराज शर्मा र कैलालीबाट भानुभक्त आचार्यको सहयोगमा)
१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।
ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए ।
उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।
प्रायः सामाजिक सन्जालमा सक्रिय हुने उनले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताएका थिए ।
१८ वैशाख, भक्तपुर । काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण संकलन कार्य शुरु भएको छ ।
भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।
स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु भएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताए ।
यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी संघले संयुक्तरूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी संघ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
१८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । उनले अहिले चीनले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए ।
ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि लगातार चीनलाई आरोप लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म यो महामारीको कारण ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसका साथै अर्थतन्त्रमा पनि ठूलो गिरावट आएको छ भने बेरोजगारी पनि ऐतिहासिक रुपमा बढेको छ ।
ट्रम्पमाथि कोरोना भाइरसको महामारीलाई गम्भीररुपमा नलिएको आरोप लागेको छ । समयमा नै आवश्यक कदम नचालेकाले अहिले अमेरिकामा यो भाइरसको महामारी फैलिएको विशेषज्ञहरुले बताउँदै आएका छन् । तर, ट्रम्पले भने विश्वले छिटै यसलाई गम्भीरताको रुपमा लिन चीन सक्रिय बन्नुपर्ने बताएका छन् ।
अमेरिकाले यो विषयलाई लिएर चीनमाथि अतिरिक्त कर लगाउँछ त ? भन्ने पश्नमा ट्रम्पले भने, ‘म धेरै काम गर्न सक्छु ।’
पछिल्लो समय अमेरिका र चीनको बीचमा महामारीको विषयलाई लिएर द्वन्द्व बढेको छ । यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस बताउँदै आएका थिए भने चीनले यो विषयलाई लिएर आपत्ति जनाएको थियो ।
आगामी नाभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धीको रुपमा डेमोक्रेटिक पार्टीका जोन बाइडन रहनेछन् । स्रोत : बीबीसी
अभिनेता इरफान खान लामो समय दुर्लभ किसिमको रोगसँग लडे । आखिरमा उनले रोगलाई जित्न सकेनन् । कस्तो रोग हो त्यो, जसको अगाडि चिकित्सा विज्ञानको पनि कुनै जोर चल्दैन ?
इरफान खानलाई लागेको रोग थियो, न्युरोएन्डोक्राइन ट्युमर ।
दुई बर्षअघि उनलाई यो रोग लागेको थियो । रोगको पहिचान र उपचार उनले लन्डनमा गरे । उपचारपछि पूर्णत ठीक नभएपनि उनी सामान्य लयमा फर्कने जोड गरिरहेका थिए । त्यसबीचमा एउटा फिल्ममा समेत अभिनय गर्न भ्याए ।
के हो न्युरोएन्डोक्राइन ट्युमर ?
न्यूरोएन्डोक्राइन ट्युमुमर त्यस अवस्थालाई भनिन्छ, जुन अवस्थामा शरीरमा हर्मोन पैदा गर्ने न्युरोएन्डोक्राइन सेल्स सामान्य भन्दा बढी हर्मोन उत्पादन गर्न थाल्छ । एक हिसाबले यो शरीरमा अधिक हर्मोन बनाउने रोग पनि हो । त्यसैले यस ट्युमरलाई कारसिनौयड्स पनि भनिन्छ ।
अहिलेसम्म जतिलाई यो रोग लागेको छ, उनीहरुको पेनक्रियाजमा यो ट्युमर पलाएको देखिन्छ । तर, पेनक्रियाज शरीरको एक्लो ठाउँ होइन, जहाँ यो ट्युमर पलाउन सक्छ । यो ट्युमर शरीरको अन्य भगमा पनि फैलन सक्छ । जस्तो कि, फोक्सो, थाइराइड वा एड्रिनल ग्ल्यान्ड ।
सुरुवाती चरणमा यसको कुनै लक्षण देखिदैन । अन्तिम चरणमा पुगेपछि मात्र उक्त रोगबारे पहिचान गर्न सकिन्छ ।
ट्युमर तीन प्रकारको हुन्छ
गेस्ट्रोइन्टेस्टाइल न्यूरोएन्डोक्राइन ट्युमर
यो गेस्ट्रोइन्टेस्टाइनल टै््रक्टकको कुनैपनि भागमा हुनसक्छ, जसमा ठूलो आन्द्रा र एपेन्डिक्स पनि सामेल छ ।
लंग न्यूरोजएन्डोक्राइन ट्युमर –यो फोक्सामो हुने ट्युमर हो, जसले खोकेको बेला रगत आउने वा सास लिन समस्या हुन्छ ।
पेन्क्रियाटिक न्यूरोजएन्डोक्राइन ट्युमर –यो पेनक्रियाजमा हुने ट्युमर हो । हर्मोनसँग जोडिएको कारण यस ट्युमरले ब्लड शुगरलाई एकदमै प्रभावित बनाउँछ ।
अब अर्को प्रश्न, यो ट्युमर कसरी हुन्छ ?
यसको कुनै निश्चित कारण छैन । अहिलेसम्मको स्थिती हेर्दा यो वंशानुगत रुपमा सर्दै आएको पाइन्छ । आमाबुवामा यस्तो समस्या भएमा बच्चामा पनि त्यो सर्ने संभावना हुन्छ ।
यसको अर्को कारण भनेको धुमपान र ढल्कदो उमेर पनि हो । साथसाथै कमजोर प्रतिरक्षातन्त्र पनि ।
यसका साथै अल्ट्राभायोलेट किरणले पनि न्यूरोएन्डोक्राइन ट्युमर हुने खतरा बढाउँछ ।
कसरी थाहा हुन्छ ?
कसरी थाहा हुन्छ कि हामीलाई यस किसिमको समस्या छ भनेर ? यसको सामान्य लक्षण भनेको उच्च रक्तचाप, थकान वा कमजोरी हो । पेटमा समस्या भइरहनु पनि हो ।
यस रोगको कारण शरीरमा ग्लुकोजको मात्र एकदमै तिब्र बढ्ने वा घट्ने गर्छ ।
के हुनसक्छ उपचार ?
उपचारको कुरा ट्युमर शरीरको कुन भागमा छ भन्ने कुुराले निर्धारण गर्छ । साथै त्यो कुन चरणमा पुगिसकेको छ ।
उपचारको केही तरिका छन् । जस्तो कि, शल्यक्रियाबाट ट्युमर निकाल्ने । कहिले काहीँ दुई पटक पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । ड्रग थेरापी पनि दिइन्छ । यसमा किमोथेरापी, टारगेटेड थेरापी र औषधि दिइन्छ ।
साथै रेडिएसन र लिभर डायरेक्टेड थेरापी पनि दिइन्छ । यो रोगबारे विश्व यति जानकार हुने थिएनन्, यदि स्टिभ जब्सलाई यो रोग नलागेको भए । अमेरिकी बहुराष्ट्रिय कम्पनीका मास्टर माइन्ड मनिने स्टिभको मृत्युको कारण पेनक्रियाटिक न्युरोजएन्डोक्राइन ट्युमर थियो ।
१८ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि कार्यान्वय गरेको लकडाउन उल्लंघनको आरोपमा बिहीबार एक हजार ५०८ जना कारबाहीमा परेका छन् ।
बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक हजार ९२ जना पुरुष र ४ सय १६ जना महिला पक्राउ परेका छन् । उनीहरुलाई बिहान तीन घन्टासम्म सकडमै उभ्याइएको छ ।
साथै, उपत्यकाको विभिन्न क्षेत्रबाट १ सय १० वटा सवारीसाधन नियन्त्रणमा परेको उनले जनाए ।
यसअघि लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कार्यान्वयनमा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
१८ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै न्यु जर्सीमा एक लाख १६ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६ हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा पनि संक्रमितको संख्या ६० हजार नाघेको छ भने तीन हजार चार सय पाँच जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म अमेरिकामा एक लाख २० हजार सात सय २० जना निको भएर घर फर्किएका छन् ।
१८ वैशाख कैलाली । बझाङको बुंगल नगरपालिका मेयर धनबहादुर बिष्ट बिगत पाँच दिनदेखि दार्चुलामा छन् । उनीसँगै हुन्छन् बैतडीको पुर्चौडी नगरपालिकाका तीन जना वडाध्यक्ष र डिलासैनी गाउँपालिकाका अध्यक्ष । उनीहरु चारै जना प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय धाउँछन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई भेट्ने र सीमापारि अलपत्र परेका नेपाली नागरिकलाई ल्याउन आग्रह गर्ने उनीहरुको दैनिकी भएको छ ।
बिगत एक महिनादेखि दार्चुलापारि भारतको धार्चुलामा हजार बढी नेपाली अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि सिडिओमार्फत संघीय सरकारलाई फकाउने प्रयासमा छन् जनप्रतिनिधिहरु । ‘हामी प्रत्येक दिन सिडिओ कार्यालय गएर महाकालीपारिका नेपालीलाई ल्याउन पहल गर्न आग्रह गर्छौं,’ मेयर विष्टले अनलाइनखबरसँग भने, ‘सीडीओ साबले पनि पहल भइरहेको छ भन्नुहुन्छ ।’
उनले बुंगल नगरपालिकाका मात्रै ४ सयको हाराहारीमा त्यहाँ अलपत्र परेको बताए । ‘हाम्रा नागरिकलाई निकै समस्या परेको छ । भएको पैसा पनि रित्तियो भनेर फोन गर्छन्,’ उनले भने, ‘उनीहरुलाई हाम्रै ठाउँको क्वारेन्टाइनमा राख्छौं भनेर सीडीओलाई आग्रह गरिरहेका छौं ।’
मेयर विष्टसँगै सीडीओ कार्यालय पुग्ने बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अक्कल बहादुर रानाले आफूहरुको मागप्रति प्रमुख जिल्ला अधिकारी सकारात्मक भएको बताए ।
‘हामीले निरन्तर प्रमुख जिल्ला अधिकारीलाई भेटेर उद्धार गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘उहाँले एक-दुई दिनमै उद्धार गरिन्छ भन्नुभएको छ ।’
डिलासैनी गाउँपालिका भित्रका १६० जना भन्दा बढी नागरिक त्यहाँ अलपत्र परेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । संघीय सरकारले उद्धारमा चासो नदिएपछि प्रवक्तालाई दार्चुला पठाएको उनले जानकारी दिए । ‘हाम्रा नागरिकहरु भोकभोकै छन् । संघीय सरकारले चासो नदिएपछि दबाव दिन उहाँलाई पठाइएको हो,’ उनले भने ।
पछिल्लो एक महिनादेखि दार्चुलापारि हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र छन् । कैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपाली अलपत्र छन् ।
उद्धारमा ढिलाइ हुँदा उनीहरुको घर परिवारमा निकै समस्या भएपछि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्न पुगेको बैतडी पुर्चाैडी नगरपालिका ४ का अध्यक्ष शैलेन्द्र धानुकले बताए । ‘केन्द्र सरकारले चासो नदिएपछि हामीले पनि चासो नदिने भन्ने हुँदैन त्यसैले हामी यहाँ आएका हौं,’ उनले भने, ‘अलपत्र परेका परिवारमा समस्या बढिरहेको छ ।’
पुर्चाैडी नगरपालिका कार्यपालिका बैठकले उद्धारमा पहल गर्न प्रशासनलाई आग्रह गर्ने निर्णयसमेत गरेको उनले बताए । अध्यक्ष धानुकले तत्काल उद्धार नभए सशक्त रूपमा अघि बढ्ने चेतावनी दिए ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने उनीहरुलाई फर्काउने पहल भइरहेको बताए । ‘हामीले माथि कुरा गरिरहेका छौं,’ उनले भने, ‘गृह मन्त्रालयबाट निर्देशन आएलगत्तै उनीहरुको उद्धार हुन्छ ।’
१८ वैशाख, वीरगञ्ज । नेपाल-भारत दुवैतर्फ लकडाउन भए पनि अत्यावश्यक सामान कलकत्तालगायतका बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहसम्म नियमित आइरहेका छन् ।
रेलमार्गबाट दैनिक ३ देखि ४ र्याक सामान नेपाल भित्रिरहे पनि ती सामान मालबाहक गाडीमा लोड नहुँदा स्थान अभाव मात्रै भएको छैन, कुरेर बसिरहनु पर्दा व्यापारीहरु मर्कामा पनि परेका छन् ।
अहिले सुख्खा बन्दरगाह (ड्राइपोर्ट)मा ४ हजारको हाराहारीमा कन्टेनर थन्किएका छन् । पछिल्ला दिनमा ड्राइपोर्टमा गाडीमा लोड गराउन निकै समस्या भइरहेको गुनासो व्यापारीहरुले गरेका छन् । भन्सार एजेन्टका अनुसार ड्राइपोर्टका सञ्चालक संस्था हिमालयन टर्मिनलले रेलबाट आएका सामान अनलोडलाई मात्र प्राथमिकतामा राखेको छ ।
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास सजिलै हुने गरे पनि ड्राइपोर्टमा गाडी लोड गर्न एक दिन बढी समय लाग्ने गरेको व्यापारीहरु बताउँछन् ।
भन्सार एजेन्ट अनिल पटेल टर्मिनलले रेल अनलोडिङलाई मात्रै प्राथमिकतामा राखेको बताउँछन् । ‘पहिला ट्रेनको काम हुन्छ, ट्रेनको काम नभएपछि मात्रै ट्रक लोड हुन्छ,’ पटेलले भने, ‘त्यहि पनि पछिल्लो दुई दिन त लोड नै हुन सकेन । ट्रक चालक बिस्कुट र पानी खाएर पालो कुरेर बस्न बाध्य छन् ।’
गाडी लोड नहुँदा सुख्खा बन्दरगाह बाहिर गाडीको लामो लाइन लागेको छ । गाडी गएको दिन लोड नभएर भोलिपल्ट मात्रै लोड भइरहेको अर्का एजेन्ट विजय कुमार टिबडेवालले बताए । ‘कोरोना भाइरसको महामारीको बेला पेन डाउन गर्न पनि मिलेन,’ उनले भने, ‘हिमालयन टर्मिनलको बदमासीको कारण सास्ती भोगिरहेका छौं ।’
गाडी लोड गर्न ढिलाइ हुँदा गाडी भाडा बढी लाग्ने, समयमा कन्टेनर खाली गराउन नसक्दा ‘डिटेन्सन र ड्यामरेज’ तिर्नुपर्ने र उद्योग पनि राम्रोसँग चल्न नपाउने अवस्था छ । सुख्खा बन्दरगाहमा हिमालयन टर्मिनलले गाडी लोड नगर्ने मात्रै नभएर अन्य काममा समेत दुःख दिइरहेको एजेन्टको गुनासो छ ।
‘काठमाडौंको माल कन्टेनरमा जान सक्दैन, ट्रकमा लोड गर्न मजदुर छैन भन्छन्, मजदुरको व्यवस्था गर्छु भन्दा बाहिरका मजदुर भित्र आउन मिल्दैन रे,’ अग्रवालले भने, ‘हिमालयन टर्मिनलले बन्दरगाहमा मनपरी गरिरहेको छ । सक्नेजति दुःख दिइरहेको छ ।’
वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल पनि सुख्खा बन्दरगाहमा सामान लोड गर्न समस्या देखिएको गुनासो आएको बताउँछन् । ‘ड्राइपोर्टमा लोड गर्ने स्टेकरको समस्या पहिलेदेखिकै हो । पुरानो मेसिन प्रयोग गर्दा छिटो-छिटो विग्रने गरेको छ,’ उनले भने, ‘हिमालयन टर्मिनलले समस्याको दिगो समाधानमा बेवास्ता गरेको अनुभव हामीले गरेका छौं ।’ समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइसकेको उनी बताउँछन् ।
कन्टेनर निकाल्न बढी समय लाग्छ : टर्मिनल
सुख्खा बन्दरगाहमा ६/७ सयको हाराहारीमा एक दुई महिना पहिले आएका पुराना कन्टेनर पनि रोकिएका छन् । नयाँ कन्टेनर आउँदा ठाउँ अभावका कारण पहिले राखिएका कन्टेनरलाई ब्लक गरिदिन्छ । त्यसमाथि पुराना मेसिन भएका कारण समय समयमा बिगि्ररहन्छ ।
पुरानो कन्टेनर डेलिभरी गर्न मेसिन र जनशक्ति दुवै बढी खर्च भइरहेको हिमालयन टर्मिनलले जानकारी दिएको छ । चार वटा लोड गर्ने मेसिन रहेकामा अहिले तीन वटा सञ्चालनमा छन् । दुई दिनअघि दुईवटा मात्रै मेशिन सञ्चालनमा थियो ।
‘चार घण्टामा गर्न सकिने काममा ६ घण्टा लागेको हो तर आएका ग्राहकलाई सेवा दिएका छौं । मेशिनमा पनि समय समयमा खराबी आएकाले लोडिङमा केही ढिलाइ भइरहेको छ,’ टर्मिनलका एक अधिकारीले भने ।
हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरी ड्राइ पोर्टमा कन्टेनर बढी जम्मा भएकाले सामान्य अवस्थाभन्दा बढी समय लाग्नु स्वाभाविक भएको बताउँछन् । ‘३५ दिनको लकडाउनमा ९३ र्याक समान आइसकेको छ । समान आउनु खुशीको कुरा भए पनि माल भण्डारणमा विपरीत अवस्था देखिएको छ । १४८६ ट्युज क्षमता हो तर चार हजार कन्टेनर थुपि्रसकेको छ,’ उनले भने, ‘एक कन्टेनर समान निकाल्न ७/८ वटा कन्टेनर हटाउनुपर्छ । त्यसले गर्दा मेसिन पटक-पटक बिग्रिरहेको छ ।’
चौधरीका अनुसार मेसिन मर्मतका लागि नेपालमा पार्टपुर्जा नपाउने हुँदा भारतका कलकत्ता, मुम्बई, दिल्ली लगायतका स्थानबाट मगाउनुपर्छ । लकडाउनले गर्दा त्यहाँ पनि पसल बन्द छ । समान ल्याउन निकै समस्या छ ।
ब्रेक बल्क, आइरन स्टिल २० र्याक आएको लेबरबाटै खाली गराएको चौधरीले बताए । सबै सरोकारवालाले ड्राइपोर्ट सञ्चालनका लागि हातेमालो गर्नुपर्ने तर्क उनी गर्छन् । उनले भने, ‘पुराना कन्टेनर पार्टीको हिसाबले नै राखिदिएका छौं । उनीहरुले ती कन्टेनर उठाइदिए केही हदसम्म सहज हुने थियो ।’
राजश्व संकलनमा गिरावट
हिमालयन टर्मिनलले मालबाहक गाडी लोड नगरिदिँदा त्यसको असर राजश्वमा पनि देखिएको छ । रेलमार्गबाट नियमित समान आइरहेको भए पनि गाडी लोड गर्न ढिलाइ हुँदा भन्सार जाँचपासमा भने गिरावट आएको छ ।
सिर्सिया भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले लकडाउनपछि भन्सार जाँचपासमा कमी आएको जानकारी दिए । ‘लकडाउन अघि १२ करोडको हाराहारीमा राजश्व संकलन हुन्थ्यो, लकडाउन शुरु भएपछि केही दिन कारोबार नै भएन,’ श्रेष्ठले भने, ‘पछिल्ला दिनमा कम भन्सार लाग्ने औद्योगिक कच्चा पदार्थको मात्रै जाँच पास भइरहेको छ । ३ करोडको हाराहारीमा राजश्व संकलन भइरहेको छ । ‘
फलामजन्य कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरु नचलेको, सिपिङ लाइन, इन्टरमोडल लगायतका निकायले छुट सुविधा दिएको कारण पनि जाँचपास कम भएको हुन सक्ने उनी बताउँछन् ।