Friday, 1 May 2020

बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

२० वैशाख कैलाली । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाकी-१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो  । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुवै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए  ।

`१६ गते प्रहरीलाई उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो,´ उनले भने, `कोरोनाको त्रासका कारण दुवैजनालाई परिवारको जिम्मा लगाइएको हो ।´

किशोरी र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्दा दिएपछि दुवै जनालाई पुन: पक्राउ गरी जिल्ला ल्याइएको  उनले बताए। उनीहरुको आइतबार म्याद थप गरिने बस्नेतले जानकारी दिए ।

सोही मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।

जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो।

उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्दा मिलाइदिन्छु भनी  आरोपीसँग घुस माग्दै गर्दा पक्राउ गरिएको थियो ।



source https://www.onlinekhabar.com/2020/05/860175

लकडाउनमा चिडियाखानाको अपिल : माछालाई भिडियो कल गर्नुस्

काठमाडौं । कोरोना भाइरस महामारी रोक्न लकडाउन भैरहेको जापानमा त्यहाँको सरकारले मान्छेको सुखदुःखमा त ध्यान दिइरहेकै छ, माछाको खुसीका लागि पनि अनौठो उपाय अपनाएको छ ।

जापानको टोक्योस्थित एउटा अक्वारियमले त्यहाँ पालिएका इल माछाका लागि भिडियो कल गर्न जनतासँग अपिल गरेको छ ।
लकडाउनका कारण अक्वारियममा पर्यटक नआउँदा निकै अत्यास मानिरहेका ती माछाहरुलाई मान्छे भएको आभास दिलाउन भिडियो कल गर्न अनुरोध गरिएको हो ।

सुमिदा अक्वारियम नामक उक्त अक्वारियम मार्च महिनाको सुरुदेखि नै बन्द छ । जसका कारण त्यहाँ रहेका जनावरहरुले पछिल्लो दुई महिनादेखि बाहिरी मान्छेको अनुहार देख्न पाएका छैनन् ।

मानिसको आवागमन नभएको ठाउँमा लामो समय कैद हुनुपर्दा इल माछामा निकै नकारात्मक असर देखिएको अक्वारियमका अधिकारीहरुले थाहा पाए ।

अन्य बेला आगन्तुक मानिसहरुलाई हेर्नका लागि बालुवा बाहिर टाउको निकालिरहने इलहरु अहिले जतिबेला पनि बालुवाभित्रै टाउको घुसारिरहने गरेका छन् । उनीहरुले मानिसलाई नै भुलिसकेको अनुमान अक्वारियमका अधिकारीहरुले गरे ।

त्यसैले भिडियो कलमार्फत धेरैभन्दा धेरै मानिसहरुको बोली तथा अनुहार अक्वारियममा रहेका इल माछालाई देखाएर उनीहरुको एक्लोपना र डिप्रेसन भगाउने योजना बनाइएको छ । जसअनुसार पहिलो चरणमा तीनदिने अनुहार प्रदर्शन महोत्सव आयोजना गर्दै मानिसहरुलाई भिडियो कल गर्न आह्वान गरिएको छ ।

मानिसहरुले चिडियाखानाले उपलब्ध गराएको नम्बरमा भिडियो कल गरी पाँच मिनेटसम्म इललाई हेर्न र आफ्नो अनुहारसमेत देखाउन पाउनेछन् । एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/05/860170

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा आउ-जाउ बन्द

२० वैशाख, बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ-जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो ।

रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ गर्न बन्द गराइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

संक्रमितलाई लिन भारतीय सीमा क्षेत्रमा लिन गएका उनका दाजुलाई शुक्रबारै क्वारेन्टाइनमा पठाइएको र परिवारका अरु ६ जनालाई पनि शनिबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए । संक्रमित युवक दिल्लीबाट ट्रक चढेर र पैदल हिँडेर रुपन्देहीको मर्चवारस्थित ठोठरी नाका हुँदै घरसम्म आइपुगेका हुन् ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सिलबन्दी गरिएको छ । नेपालगन्जको वडा नंं. ८ स्थित अन्सारी मस्जिद र वडा नं. १ धम्बोजीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

यो पनि पढ्नुहोस रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

संक्रमित ६० वर्षीय पुरुष वडा नंं. ८ को डिएसपी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए । उनी हरेक दिन अन्सारी मस्जिदमा आउने-जाने गर्दथे । उनी आउ-जाउ गर्ने क्रममा थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने अनुमानमा सो क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज धम्बोजीका अर्का एक युवकमा पनि कोरोना संक्रमणको आशंका गरिएपछि धम्बोजीको मस्जिद क्षेत्र पनि सिल गरिएको हो ।

बाँकेको डडुवा गाउँपालिकाका ती युवक केही वर्षदेखि धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । संक्रमित ६० वर्षीय वृद्धसहित उनलाई पनि खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । ६० वर्षीय पुरुष भारतको बहराइचबाट एक महिनाअघि नेपालगन्ज आएका थिए ।

युवकको बिहीबार स्वाब संकलन गरी जाँच गरिए पनि रिपोर्ट आउन बाँकी रहेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/05/860171

कसरी आफैं टालियो ओजोनको प्वाल ?

काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो ।

मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो ।

तर अप्रिल २३ मा एउटा सुखद खबर आयो । कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले एक ट्वीट गर्दै आर्किटकको आकाशमा देखिएको ओजनको प्वाल बन्द भएको घोषणा गर्‍यो ।

उत्तरी ध्रुव माथिको आकाशमा देखिएको ओजनको विशाल प्वाल असामान्य मौसमको नतिजा भएको वैज्ञानिकहरुको ठहर छ ।
ध्रुवीय क्षेत्रको अत्यन्तै ठण्डा हावामा जब तीव्र गतिको हावा फस्दछ त्यसबाट सिर्जना हुने हुण्डरीले वायुमण्डलमा तीव्र दबाब पैदा गर्दछ । वैज्ञानिक भाषामा त्यसलाई पोलार भर्टेक्स भनिन्छ ।

उक्त हावाको दबाब यति तीव्र हुन्छ कि त्यसले समताप मण्डलको ओजन तहमा समेत प्वाल पारिदिन्छ ।

वैज्ञानिकहरुका अनुसार उत्तरी ध्रुवमा देखिएको असामान्य मौसम सामान्यीकरण भएसँगै ओजन तहमा परेको प्वालसमेत आफैं टालिएको हो ।

उत्तरी ध्रुवको आकाशमा देखिएको ओजन प्वाल आफैं टालिनुमा कोरोना महामारीका कारण भैरहेको लकडाउनबाट प्रदूषण घट्नुसँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ । एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/05/860163

कोरोनाका नक्कली बिरामी अस्पतालमा आउँदा…

२० वैशाख, भक्तपुर । शुक्रबार दिउँसो करिब साढे एक बजे साइरन बजाउँदै ६ वटा एम्बुलेन्स भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा आए । पीपीई लगाएका स्वास्थ्यकर्मीहरुको दौडादौड चल्यो ।

पीपीई र मास्क लगाएका स्वास्थ्यकर्मीहरुले एम्बुलेन्सबाट बिरामीहरुलाई निकाल्दै स्ट्रेचर र ह्वील चेयरमा राख्न थाले । डाक्टरहरुले सोधपुछ गर्न थाले । कोही एम्बुलेन्स, स्ट्रेचर, ह्वीलचेयर र वरिपरि स्यानिटाइज (निःसंक्रमण) गर्न थाले । सेना, प्रहरी, सुरक्षा गार्ड र चिकित्सक तथा स्वास्थ्यकर्मीको एक्कासी सुरु भएको दौडधुपले केही त अत्तालिए ।

रेडक्रसले ६ वटा एम्बुलेन्समा आठ जनालाई नक्कली बिरामी बनाएर अस्पतालमा पठाएको थियो । तर, यो सबै अभ्यास मात्र हो भन्ने कुरा अस्पतालका स्टाफहरुलाई थाहा दिइएको थिएन

एक जना बिरामीले आफू उदयपुरबाट आएको भने । अर्का एक जनाले कोरोना पोजेटिभ रिपोर्ट लेखिएको कागज डाक्टरलाई देखाए । त्यसपछि चिकित्सक र नर्सहरु केही आत्तिएको जस्तो देखिए ।

एकछिनपछि थाहा भयो रेडक्रस र मध्यपुर थिमि नगरपालिकाले कोरोनाका बिरामी अस्पतालमा ल्याउँदा गर्नुपर्ने कामको पूर्वअभ्यास पो गराएका रहेछन् । एम्बुलेन्समा कोरोनाका नक्कली बिरामी रहेछन् ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘दुई जना बिरामीले आफूलाई कोरोना देखिएको भनेपछि नर्सहरुले अक्सिजन लगाइदिए अनि रगतको नमूना लिन खोज्दा बल्ल रेडक्रसका साथीहरुले यो पूर्वअभ्यास मात्रै हो, यी कोरोनाका बिरामी होइनन् भनेपछि बल्ल सबैलाई थाहा भयो । बिरामीहरुले राम्रो अभिनय गरे ।’

यो पूर्वअभ्यासको संयोजन जिल्ला रेडक्रस भक्तपुरका परशुराम बस्नेतले गरेका थिए । रेडक्रसले ६ वटा एम्बुलेन्समा आठ जनालाई नक्कली बिरामी बनाएर अस्पतालमा पठाएको थियो । तर, यो सबै अभ्यास मात्र हो भन्ने कुरा अस्पतालका स्टाफहरुलाई थाहा दिइएको थिएन ।

बिरामीहरु अस्पताल ल्याउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट हुन सक्ने त्रुटी पत्ता लगाएर सावधानीका साथ उपचारको प्रबन्ध गर्न पूर्वाभ्यास गरिएको मेयर श्रेष्ठले बताए । ‘आगलागी, भूकम्प, बाढी पहिरोको पूर्वाभ्यास हुने गरे पनि कोरोनाको उपचारको पूर्वअभ्यास कसैले गरेको थिएन, हामीले गर्‍यौं,’ मेयर श्रेष्ठले भने, ‘उपचारको क्रममा हुन सक्ने कमजोरी पत्ता लगाउन यो एकदमै फलदायी भयो ।’

अभ्यासको क्रममा कतिपय डाक्टर तथा नर्सहरुले कोरोनाको शंका लागेका वा कोरोना पुष्टि भएकालाई छुट्टै राखेर उपचार गर्नुपर्छ भन्ने बिर्सेर आकस्मिक कक्षमा प्रवेश गराएको भन्दै उनले आगामी दिनमा त्यस्ता त्रुटि सच्याउन यो अभ्यासले सहयोग गर्ने बताए ।

मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गर्दै आएको नेपाल-कोरिया अस्पतालले कोरोना संक्रमितको उपचार गर्न १० शय्याको आइसोलेसन वार्ड, ६ शय्याको भेन्टिलेटर र २० शय्याको क्वारेन्टाइन तयारी अवस्था राखेको छ । पीसीआर मेसिन पनि जडान गरिएको छ । कोरोनालाई लक्षित गरी अहिले अस्पतालमा दुई करोड लगानी गरिएको मेयर श्रेष्ठले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/05/860160

कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सीले २५ लाख दिने

२० वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ ।

मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए ।

विनयी त्रिवेणी गाउँपालिका-४ निवासी २५ वर्षीय मदनदास श्रेष्ठको कारखानामा रहेको त्रिपाल झिक्ने क्रममा दोस्रो तल्लाबाट खसेर मृत्यु भएको थियो ।

मृतक श्रेष्ठको शव भरतपुर अस्पतालमा छ । छतबाट खसेर गम्भीर घाइते भएको श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

उनको शव शनिबार पोष्टमाटर्म गरी आफन्तलाई जिम्मा लगाइने भएको छ ।



source https://www.onlinekhabar.com/2020/05/860157

सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

२० वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।

यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।

सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा धेरै अफवाह फैलिएको थियो । त्यतिबेला त उनलाई सत्ताच्युत गरिएका सामाचारहरु आएका थिए

खासगरी अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेका थिए । तर, दक्षिण कोरियाली नेताहरुले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएका थिए ।

१५ अप्रिलमा हजुरबुवा (उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्ग) को जन्मदिनको समारोहमा उपस्थित नभएपछि किम जोङ्ग उनबारे चासो बढेको थियो । उत्तर कोरियामा किम इल सुङ्गको जन्मदिनमा सबैभन्दा ठूलो समारोह आयोजना गरिन्छ, तर त्यही कार्यक्रममा किम जोङ्ग उनको अनुपस्थितिलाई लिएर अड्कलबाजी सुरु भएको थियो ।

सरकारी मिडियाहरुले १२ अप्रिलमा लडाकु विमानहरुको निरीक्षण गरिरहेको किम जोङ्ग उनको तस्वीर सार्वजनिक गरेका थिए । सोही दिन उनले पार्टीको बैठकको अध्यक्षता गरिरहेको तस्वीर पनि सार्वजनिक भएको थियो । त्यसपछि उनी कतै देखिएका थिएनन् ।

दुई हप्ता अगाडि उत्तर कोरियाली मिडियाहरुले मिसाइल परीक्षण गरेको जानकारी दिए । त्यहाँ पनि किम जोङ्ग उन देखिएनन् । खासगरी उनी यस्ता कार्यक्रमहरुमा जहिले पनि देखिने गर्दथे ।

त्यसपछि अनेक अड्कलबाजीको बीच उनको मुटुको शल्यक्रिया गरेको र गम्भीर बिरामी परेको समाचारहरु सार्वजनिक भएका थिए । कतिपय मिडियाहरुले त गुप्तचर स्रोतलाई उद्धृत गर्दै किम जोङ्ग उनको मृत्यु भइसकेको दाबी गरेका थिए ।

किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा नदेखिएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा धेरै अफवाह फैलिएको थियो । त्यतिबेला त उनलाई सत्ताच्युत गरिएका सामाचारहरु आएका थिए ।

त्यसपछि उनले लठ्ठी हातमा लिएको तस्वीर सार्वजनिक भयो । सरकारी मिडियाले जोर्नी दुख्ने समस्याबाट उनी पीडित भएको समाचार दिएका थिए । तर सत्ताच्युतको समाचारहरुबारे भने खण्डन वा स्पष्टीकरण केही पनि आएको थिएन ।



source https://www.onlinekhabar.com/2020/05/860155

ट्रम्पले भने- चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ

२० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् ।

२८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किएका ट्रम्पले अब सो फार्म हाउसमा एक साता बिताउने बताइएको छ । उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पसँग फार्म हाउस गएका छन् ।

अमेरिकाले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको दाबी गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठनले पनि चीनको पक्षपोषण गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आएका छन् । यही कारण अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग कटौतीसमेत गरेको छ ।

अमेरिकाले हालै कोरोना संक्रमणबाट प्रभावित अमेरिकाका ४ सय अस्पतालहरुलाई १२ बिलियन डलरको सहयोग राशी घोषणा गरेको छ । ह्वाइट हाउसका प्रवक्ता केली मेक्ननीले दिएको जानकारीअनुसार कोरोना भाइरस संक्रमित १०० बिरामी यो सोभन्दा बढी बिरामी भर्ना भएको अस्पताललाई प्राथमिकता दिएर सहयोग गरिने छ ।



source https://www.onlinekhabar.com/2020/05/860153

ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले

२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।

गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साना–साना आगो निभाउने काम भने आइतबार बिहानसम्म पनि जारी छ ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुँदै आएको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।

यो पनि पढ्नुहोस आगलागी रोक्न ताप्लेजुङ सदरमुकाममा गाउँलेको गस्ती, मैनवत्ती बाल्न रोक

source https://www.onlinekhabar.com/2020/05/860149

दक्षिण कोरियाको निर्यातमा ११ वर्षयताकै ठूलो गिरावट

१९ वैशाख, काठमाडौं । दक्षिण कोरियाको निर्यातमा गत अप्रिल महिनामा ११ वर्षयताकै ठूलो गिरावट आएको छ । दक्षिण कोरियाको व्यापार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिलमा दक्षिण कोरियाको निर्यात व्यापारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ३ प्रतिशतको गिरावट आएको हो । यो गिरावट दक्षिण कोरियाको लागि सन् २००९ को मे महिनायताकै सबैभन्दा उच्च हो ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण दक्षिण कोरियाको निर्यात व्यापारमा ठूलो असर देखिएको हो । अघिल्लो मार्च महिनामा पनि दक्षिण कोरियाको निर्यातमा शून्य दशमलव ७ प्रतिशतको गिरावट आएको थियो ।

कोरोना भाइरस नियन्त्रणको लागि विश्वभर लगाइएको लकडाउनको कारण दक्षिण कोरियाको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको हो । अहिले दक्षिण कोरियाका कारखानाहरुले विश्वव्यापीरुपमा मागमा आएको कमीको सामना गरिरहेका छन् । कोरोना भाइरसको महामारीको कारण अहिले दक्षिण कोरिया मात्र नभई विश्वको सबैजसो मुलुकको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ ।

अप्रिलमा दक्षिण कोरियाको आयातमा पनि १५ दशमलव ९ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो महिनामा दक्षिण कोरियाको आयात शून्य दशमलव ३ प्रतिशतले बढेको थियो ।

स्रोत : रोयटर्स



source https://www.onlinekhabar.com/2020/05/859924

बोर्ड अध्यक्ष बन्न निखिलको तयारी

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नेपाल सरकारले आवेदन खोलेसँगै अहिले केही चलचित्रकर्मीले आन्तरिक तयारी थालेका छन् ।
विकास बोर्ड अध्यक्ष बन्नका लागि दौडधुप गर्नेमा नायक निखिल उप्रेती पनि छन् ।

चलचित्र क्षेत्रमा लामो समय बिताएकी यी नायक बोर्ड अध्यक्षका लागि आन्तरिक लबिङमा जुटेको बुझिएको छ ।

तर, नायक उप्रेतीले भने आफू बोर्ड अध्यक्ष बन्न लागेको खुलेर बताउँदैनन् । तर, राजनीतिक वृत्तमा समेत रामै सम्बन्ध बनाएका निखिलको संभावना बलियो रहेको चलचित्र क्षेत्रमा चर्चा छ ।

विशेषगरि, नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पावर शेयरिङको कुरा अगाडि आएको खण्डमा निखिललाई फाइदा हुने देखिन्छ । यसका लागि निखिल निकट चलचित्रकर्मी र राजनीतिज्ञहरुले समेत लबिङ गरिरहेका छन् ।

निखिल भने आफूलाई अन्य चलचित्रकर्मीले बोर्ड अध्यक्षमा आवेदन दिन भनेकाले पनि यस बिषयमा सोचिरहेको बताउँछन् ।

बोल्नमा सिपालु तथा दार्शनिक कुरा गर्न माहिर मानिने यी नायक बोर्ड अध्यक्ष बनेको खण्डमा चलचित्र क्षेत्रका लागि सुखद नै हुनेछ ।



source https://www.onlinekhabar.com/2020/05/859920

प्रधानमन्त्रीले शनिबारसम्म गरिसक्नुपर्ने गृहकार्य

१९ वैशाख, काठमाडौं । भोलि वैशाख २० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । अध्यादेश प्रकरणपछि उत्पन्न विवादको समाधान खोज्न यो सचिवालय बैठक निर्णायक हुने नेकपा नेताहरुको दाबी छ । र, यो बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ ।

पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा के-कस्तो कार्ययोजना प्रस्तुत गर्लान् भनेर संस्थापन इत्तर पक्षले अपेक्षा गरेको देखिन्छ ।

एकातिर आफूलाई प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव आउला कि भन्ने उपाध्यक्ष बामदेव गौतमको आशा देखिन्छ भने अर्कोतर्फ अध्यक्ष पद आफूलाई हस्तान्तरण होला कि भन्ने माधव नेपाल पक्षको अपेक्षा देखिन्छ ।

कार्यकारी प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले चाहिँ पाउने केही पनि देखिँदैन, छैन । तर, एकजना प्रधानमन्त्री र अर्को राष्ट्रपतिको लालसमा देखिन्छन् भन्ने पार्टीभित्र र बाहिर व्यापक चर्चा छ ।

जटिल परिस्थितिमा बस्न लागेको सचिवालयको बैठकमा सबै नेताले प्रधानमन्त्री ओलीबाटै समाधानको ठोस प्रस्ताव आउनुपर्ने र आउला भन्ने अपेक्षा गरेका छन् । सबैको ध्यान प्रधानमन्त्री केपी ओलीतिरै छ ।

यो अवस्थामा पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीसँग के-कस्ता विकल्पहरु हुन सक्छन् ? यसबारे सामान्य विश्लेषण गरौं :

प्रधानमन्त्री ओलीले शनिबारसम्म गर्नुपर्ने गृहकार्य अथवा वैकल्पिक उपाय यी हुन सक्छन् –

पहिलो विकल्प

अध्यक्ष एवं प्रधानमन्त्रीको पहिलो विकल्प भनेको नेकपा नेताहरुवीच मन माझामाझ, आत्मालोचना र एकता कायम गर्ने नै हो । यसका लागि विवादास्पद अध्यादेश फिर्ता भइसकेको हुनाले त्यसमा कमजोरी स्वीकार गर्दै प्रधानमन्त्रीले आत्मालोचना गर्ने । सरकार सञ्चालन वा पार्टी सञ्चालनका क्रममा भएका कमजोरीप्रति आत्मालोचना गर्ने ।

अबदेखि महत्वपूर्ण निर्णयहरु गर्दा पार्टी नेताहरुसँग छलफल गरेर सामुहिक निर्णयका आधारमा चल्छु भन्ने प्रतिवद्धता जनाउने । पार्टीका कामहरु प्रचण्डले हेर्ने र सरकारको जिम्मा आफूले लिने पुरानो सहमति कार्यान्वयनप्रति प्रधानमन्त्रीले प्रतिवद्धता जनाउने । यसमा अरु नेताहरुलाई विश्वास दिलाउने ।

संस्थापन इत्तर नेताहरुले पनि सरकारलाई असहयोग गर्नुको साटो सहयोगको प्रतिवद्धता जनाउने । सचिवालय एकतावद्ध छ भन्ने सन्देश प्रवाह गर्ने अनि तत्काल स्थायी कमिटीको बैठक बोलाएर त्यहाँ पनि मन माझामाझ गर्ने, आपसी विश्वास आर्जन गर्ने ।

जनताले विश्वास गरेर बहुमत दिएको पार्टीले आफ्नो दायित्व बिर्सियो र आफ्नै किचलोका कारण यसैगरी जग हँसाउने काम मात्र गरिरह्यो भने नेकपाका कुनै एक जना नेताको मात्र होइन, सिंगै पार्टीको लोकपि्रयता रसातलमा मिल्नेतर्फ नेकपा नेताहरुले सोच्न ढीलो भैसकेको छ ।

यो पनि पढ्नुहोस ‘बामदेव कार्ड’ को हदम्याद- वैशाख २० सम्म !

कोरोना महामारीविरुद्ध जुध्नुपर्ने, डुब्न लागेको अर्थतन्त्रलाई जोगाउन नयाँ बजेटबारे छलफल गर्नुपर्ने बेलामा नेकपा नेताहरु आपसी झगडामा रुमलिनु राम्रो होइन । यस्तोबेलामा सबै नेताहरुलाई विश्वासमा लिएर अगाडि बढ्ने जिम्मेवारी प्रधानमन्त्री ओली र नेकपा सचिवालयका शीर्षनेताहरुको सामुहिक दायित्व हो ।

यो पहिलो विकल्पमा नेकपाभित्र सहमति भयो भने सरकारले आफूलाई सुधारेर संस्थागतरुपमा पार्टी एकतावद्ध भई अगाडि बढ्न सक्छ र त्यसबाट दुर्घटना तत्काललाई टरेर जानेछ ।

तर, यसका लागि सरकारमा बस्नेहरुले पार्टीभित्र आत्मालोचना मात्र गरेर पुग्दैन । यसका लागि प्रधानमन्त्रीले केही सुधारात्मक कामहरु पनि गर्नुपर्छ । प्रधानमन्त्रीले आफ्नो संकीर्ण, अपारदर्शी, असहिष्णु कार्यशैली सुधार गर्नुपर्छ । कसैलाई फुटाउने हैन, राष्ट्रिय एकता कायम गर्ने बाटो लिन सक्नुपर्छ । आलोचकहरुमाथिको घृणात्मक अभिव्यक्ति रोक्नुपर्छ ।

यतिले मात्रै पुग्दैन । सांसद सुरेन्द्र यादव प्रकरण, ओम्नी प्रकरण, ७० करोड प्रकरण, यति प्रकरण सबैमा छानविन गरेर जनतामा गुमेको विश्वास आर्जन गर्ने बाटो समाउनैपर्छ । यति भयो भने ओली सरकारमाथि बढिरहेको सवर्त्र आलोचना मथ्थर हुन सक्छ ।

दोस्रो विकल्प

गत सोमबार कोटेश्वरमा आयोजित ओली पक्ष र नेपाल पक्षका नेताहरुको छलफलमा संस्थापन पक्षका नेताहरुले आपसी मन माझामाझको प्रस्ताव राखेका थिए ।

माधव नेपालको चित्त दुखेको भए प्रधानमन्त्रीले आत्मसाथ गर्ने, मन्त्रिमण्डल हेरफेर गरेर नेता नेपालले इच्छाएका केही मन्त्रीहरु थप्ने र केही मुख्यमन्त्रीहरु फेर्न पनि प्रधानमन्त्री तयार रहेको जनाऊ ओली पक्षका नेताहरुले दिएका थिए ।

प्रधानमन्त्री ओलीले सुझाएको यो दोस्रो विकल्प पनि नेकपाभित्रको असन्तोष हल गर्ने एउटा विकल्प हुन सक्छ । तर, यो विषय केपी ओली र माधव नेपालको वीचमा मात्र नभएर ओली-प्रचण्ड-माधव तीनै समूहका वीचमा हुनु राम्रो । तीनमध्ये दुई गुट मिल्ने र अर्को गुटलाई पाखा लगाउने पुरानै तरिका अपनाइयो भने नेकपाभित्र विगतकै जस्तो अविश्वास र समस्या ज्युँदै रहने छ ।

त्यसैले, समस्या समाधानको दोस्रो विकल्पका रुपमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुको हेरफेरसम्बन्धी प्रस्ताव ल्याउन चाहेको हो भने कुनै नेताको निवासमा नभई शनिबारको सचिवालय बैठकमै प्रस्ताव ल्याउनुपर्छ । र, त्यसमा कसलाई मन्त्री बनाउने, कसलाई फिर्ता बोलाउने भन्नेबारे प्रधानमन्त्रीले बैठकलाई ‘ओपन’ छाडिदिनुपर्छ । तर, अन्य नेताले पनि टीम लिडरको नाताले प्रधानमन्त्रीलाई छनोटको सुविधा दिनुपर्छ ।

तीनै पक्षले हाम्रा हैन, राम्रा मान्छेहरुको टीम बनाउनुपर्छ । अहिले सरकारमा रहेका कतिपय मान्छेहरु कार्यक्षमता भन्दा पनि गुटको हिसाबले छानिएका छन् । कतिपय मन्त्रीले त पटक्कै परफरमेन्स दिन सकिरहेका छैनन् ।

जहाँसम्म मुख्यमन्त्री फेर्ने कुरा छ, यसमा पनि नेकपा नेताहरुले गुटको भागवण्डालाई भन्दा कार्य क्षमता र राजनीतिक स्थिरतालाई मुख्य मानक बनाउनुपर्छ । काम गर्न नसक्नेलाई फेर्दा पनि हुन्छ, तर नयाँ आउने मुख्यमन्त्री झनै विवादास्पद वा कमजोर भूमिकाको हुने हो भने फेर्नुको अर्थ हुने छैन ।

यो पनि पढ्नुहोस प्रचण्ड–नेपाल पक्षका नेता भन्छन् : ओलीको क्षेप्यास्त्र खेर जान्छ

अन्य राजनीतिक नियुक्तिहरुमा पनि ओली पक्षले एकलौटी गरेको आरोप संस्थापन इत्तर पक्षले लगाउँदै आएको छ । यसमा नेकपाभित्र मात्र होइन, समग्र राजनीतिक सन्तुलनलाई ध्यान दिनुपर्छ । संवैधानिक परिषदमा विपक्षीलाई समेत सहमतिमा ल्याएर काम गर्नेतर्फ नेकपा सरकारले सोच्नुपर्छ ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यो दोस्रो विकल्पबारे आफूलाई खुल्लारुपमा प्रस्तुत गरे भने यसबाट नेकपाभित्रको संकट टर्न सक्ने सम्भावना छ ।

तर, यसो गर्दा पनि स्थायी कमिटीको बैठकसम्म गएर मन माझामाझ गर्नु उपयुक्त हुन्छ । सरकारले गल्ती सुधार्ने र आफूलाई सच्याउने प्रतिवद्धता जनायो र व्यवहारमै त्यस्तो देखियो भने स्थायी कमिटीले पनि महामारीकै बेला प्रधानमन्त्री ओलीको विकल्प खोज्ने र अस्थिरता निम्त्याउने निर्णय पक्कै नगर्ला ।

तेस्रो विकल्प

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गर्न सक्ने तेस्रो विकल्प भनेको ‘एक व्यक्ति एक पद’ को अवधारणामा जाने प्रतिवद्धता हो । यसो गर्दा उनले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष हस्तान्तरण गर्ने र आफूले प्रधानमन्त्रीको जिम्मेवारीमा बढी ध्यान दिने सहमति गर्न सक्छन् । प्रचण्ड र माधव नेपाललाई पार्टीको जिम्मा, ओलीलाई सरकारको जिम्मा हुने गरी त्रिपक्षीय कार्यविभाजन हुन सक्छ । यसबाट पार्टीभित्र विश्वासको वातावरण बन्न सक्छ ।

चौथो विकल्प

नेकपाको बैठकमा आउन सक्ने चौथो वैकल्प भनेको प्रधानमन्त्रीको हेराफेरी सम्बन्धी प्रस्ताव हो ।

नेकपाका कतिपय नेताहरुले के बताउने गरेका छन् भने अहिले नै छाड्दा कारवाहीमा परेजस्तो देखिने भएकाले कोरोना महामारीपछि प्रधानमन्त्री पद छाड्ने केपी ओलीको भित्री ईच्छा छ ।

मंगलबारको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले ‘छाड्नुपरे वामदेवलाई छाड्ने तर कोरोनापछि’ भन्ने अभिव्यक्ति दिएको देख्दा उनी प्रधानमन्त्री छाड्न तयार भएका हुन् कि जस्तो देखिन्छ ।

अर्का अध्यक्ष प्रचण्डले वीचैमा प्रधानमन्त्री फेर्दा राजनीतिक अस्थिरताजस्तो देखिने भएकाले आफूले प्रधानमन्त्री दाबी नगर्ने र पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री रहने यसअघि नै बताइसकेका थिए । तर, अहिले आएर ओलीले कोरोनापछि छाड्नुपर्ने किन पर्‍यो ? यसको जवाफ सिंगै नेकपाले दिनुपर्ने हुन्छ ।

हुन त प्रधानमन्त्री ओलीले चाहे भने उनले जुनसुकै बेला राजीनामा दिन सक्छन् । वा उनलाई पार्टीले फिर्ता बोलाउन पनि सक्छ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले तेस्रो विकल्पका रुपमा आफूले प्रधानमन्त्री पद त्याग गर्ने (तत्कालै वा कोरानेापछि) प्रस्ताव पनि ल्याउन सक्लान् ।

यो पनि पढ्नुहोस ‘लोकप्रियता जाँच्ने हो भने जनताको बीचमा जाउँ न त’

तर, यसो गर्नु अहिलेको समय सुहाउँदो विकल्प हो कि होइन ? यसको चित्तबुझ्दो जवाफ दिने काम सत्तारुढ नेकपाको हो ।
अहिले बजेटबारे छलफल गर्नुपर्ने बेला घर्कनै लागेको छ । महामारीविरुद्ध लड्नु छ । सबैले एकतावद्ध भएर आर्थिक मन्दीविरुद्ध जुध्नुपर्ने बेला छ । यस्तो बेलामा नेकपाका शीर्षनेताहरु प्रधानमन्त्री फेर्ने कार्यमा लागे भने यो बेमौसमको बाँसुरी बजाएजस्तै हुन सक्छ ।

त्यसर्थ, शनिबारको बैठकमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने एजेन्डा नै उपयुक्त देखिँदैन । अझ चुनाव हारेका वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आयो भने त त्यसमा हस्ताक्षर गर्ने नेताहरुलाई इतिहासले अलोकतान्त्रिक पात्रका रुपमा सम्झिइरहन बाध्य हुनेछ ।

जनादेश र इतिहास दुबैले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दायाँ-वायाँ नसोची मुलुकको नेतृत्व गर्नु पर्ने दायित्व सुम्पिएको छ । इतिहासले सुम्पेको यो जिम्मेवारीबाट भाग्न वा बेमौसमी बाजा बजाएर मुख्य समस्यालाई विषयान्तर गर्न ओलीलाई छुट छैन ।

शनिबारको बैठकमा केपी ओलीबाहेक अन्य नेताहरुले गर्नुपर्ने गृहकार्य पनि छन् । जस्तो-

यही प्रतिनिधिसभा रहुञ्जेल म प्रधानमन्त्री बन्दिनँ भनेर प्रचण्डले जनतासमक्ष प्रतिवद्धता जनाउनु उनको हितमा हुने देखिन्छ । सरकार ढाल्न षडयन्त्र गरेको भन्ने आरोप  प्रचण्डले पखाल्नैपर्छ ।

त्यसैगरी वामदेव गौतमले अर्को चुनाव नआएसम्म संसदमा जान्न भन्नु उनको हितमा छ । सत्ताका लागि नाजायज बाटो समाउने आरोपबाट वामदेवले जोगिनुपर्छ ।

र, झलनाथ खनालले यही संसद रहुञ्जेल राष्ट्रपति बन्दिनँ भनिदिने हो भने नेकपामा त्यागको राजनीति यहीँबाट सुरु हुनेछ ।
अहिले प्रधानमन्त्री वा राष्ट्रपतिको लोभ नगरी बसेका माधव नेपाललाई चाहिँ भैपरी आउँदाका बखत पार्टी कमिटी वा केपी ओलीले नै इच्छाएको अवस्थामा प्रधानमन्त्री बनाउने सकिने गरी जगेडामा राखिराख्नु नेकपाको दुरदर्शिता ठहरिने देखिन्छ ।

स्वयं प्रचण्डले नै केपी ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न दिने भनिसकेको अवस्थामा अहिले प्रधानमन्त्री हटाउने/नहटाउने विषय झिकेर बेमौसमी झगडा गर्नु नेकपाका लागि त आत्मघाती कदम हो नै, नेकपा नेताहरुको यस्तो दुर्बुद्धिले सिंगै देशले दुःख पाइरहेको छ । जनताले दुःख पाएका छन् ।

अब शनिबार बस्ने भनिएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कुन विकल्प ल्याउलान् ? भोलि नै थाहा हुनेछ ।



source https://www.onlinekhabar.com/2020/05/859919

Thursday, 30 April 2020

पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

१९ वैशाख, काठमाडौं । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी सुरु भएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले कोरोनाले संसारभर नै पर्यटन क्षेत्रलाई समस्यामा पारेको सन्दर्भमा नेपालमा भने के कस्तो प्रयास गर्न सकिन्छ भन्ने बारेमा नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन अफ नेपाल (हान) र ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)सँग छलफल गरेको हो ।

श्रव्य दृश्य माध्यमबाट भएको छलफलमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि तत्कालै २० अर्ब बराबरको राहत प्याकेज जरुरी रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए ।

पर्यटन क्षेत्रको ठूलो लगानी र त्यससँग आश्रित हजारौको रोजगारी समेत संकटमा परेको भन्दै उकास्नका लागि सरकार, निजी क्षेत्रको साझा प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीका लागि एक वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र तीन वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनुपर्नेमा जोड दिए ।

सरकारले एकमुष्ठ प्याकेज ल्याउनुपर्ने बताउँदै आगामी आर्थिक वर्षको बजेटबाट त्यससम्बन्धी विषयमा आवश्यक सम्बोधन हुने उनले विश्वास व्यक्त गरे ।

बोर्ड लकडाउन खुले लगत्तै झण्डै एक हजार ८०० कामदारलाई रोजगारी दिने तयारीमा लागेको उनको भनाइ छ । एक संयुक्त राष्ट्रसङ्घीय निकायले कूल एक हजार र बोर्ड आफैले हिमाल सरसफाइ एवं नदी संरक्षणलगायतका काममा ८०० जनालाई रोजगारी दिन सकिने उल्लेख गरे ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोनाको प्रभाव कम गर्न आन्तरिक पर्यटनको अभिवृद्धिका लागि समेत योजना बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले कर्मचारीलाई तलबी बिदा दिने कार्यक्रम ल्याउनुपर्छ, त्यसका अलावा नेपालबाट विदेश जाने पर्यटकलाई समेत अब आन्तरिक पर्यटनमा आकर्षित गर्नुपर्छ ।’

कोरोनाका कारण पर्यटन क्षेत्रसँग जोडिएका झण्डै २० लाख मानिस प्रभावित भएको उनले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।कूल पाँच लाख मानिस प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा जोडिएका थिए भने अप्रत्यक्ष रुपमा १५ लाख बढी मानिस जोडिएको तथ्याङ्क पेस गर्दै उनले अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्रमा परेको प्रभाव कम गर्न सबैको सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिए ।

हानका अध्यक्ष सिर्जना राणाले कोरोनाका कारण होटल क्षेत्रमा समेत ठूलो प्रभाव परेको जानकारी दिँदै बैंक तथा वित्तीय संस्थाले ब्याजमा सहुलियत दिनुपर्ने बताए । विपद्का कारण ठूलो सङ्ख्यामा रोजगारीको कटौती भएको र त्यसले समग्र अर्थतन्त्रमा समेत प्रभाव पारेकाले स्पष्ट राहत प्याकेजको जरुरी रहेको उनको भनाइ छ ।

टानका अध्यक्ष खुम सुवेदीले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव कम गर्न स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । नाफिजले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावका बारेमा निरन्तर छलफल चलाउँदै आएको छ ।

यसअघि नाफिजले शेयर बजार, बीमा क्षेत्रमा कोरोनाले पारेको असरका विषयमा छलफल गरेको थियो ।



source https://www.onlinekhabar.com/2020/05/859910

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More