Friday, 1 May 2020

जनकपुरमा पुरानै मोडेलको पीसीआर मेसिन

२० वैशाख, जनकपुरधाम । गलत नतिजा दिने पीसीआर मेसिनलाई थन्काइएपछि प्रदेश २ मा अर्काे मेसिन आइपुगेको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाममा नयाँ मेसिन ल्याइएको हो । नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिकै मोडेलको नयाँ मेसिन पठाएको प्रयोगशालाका प्रमुख रामबिनय साहले जानकारी दिए ।

‘पुनः सोही मोडेलको अर्काे मेसिन आएको छ,’ प्रादेशिक प्रयोगशालाका प्रमुख रामबिनय साहले भने, ‘मेसिन मात्रै अर्काे हो । सबै थोक पहिलाकै जस्तो छ ।’ नयाँ मेसिनबाट पनि पहिलेको जस्तै दैनिक १० जनाको नमूना परीक्षण हुने साहले जानकारी दिए ।

ठूलो मेसिन पठाइदिएको भए परीक्षण गर्न सजिलो हुने भए पनि पुनः त्यही मोडेलको मेसिन पठाइएकाले परीक्षणले गति लिन नसक्ने उनको भनाइ छ ।

यो मेसिनलाई मोटरसाइकलको संज्ञा दिँदै उनले भने ‘जसरी मोटरसाइकलले एक पटकमा एक जनालाई मात्रै बोक्न सक्छ, यो मेसिन पनि यस्तै हो । अहिले हामीलाई मोटरसाइकल होइन, एकसाथ सयौं जनालाई बोक्न सक्ने रेलको आवश्यक्ता छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक पठाइएको मेसिन गत चैत २१ गतेबाट सन्चालनमा आएको थियो । यो मेसिनबाट १ सय २ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यो पनि पढ्नुहोस गलत रिपोर्ट दिने जनकपुरको कोरोना परीक्षण ल्याब बन्द

तर, परीक्षण गरिएकामध्ये रौतहटका दुई जना र सर्लाहीका १ जना बालकको स्वाब पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउँदा पोजेटिभ देखिएको थियो । प्रादेशिक अस्पतालमा गरिएको परीक्षण नेगेटिभ र काठमाडौंमा पोजेटिभ देखिएपछि पीसीआर मेसिन थन्काइएको थियो । उक्त मेसिन थन्काएर परीक्षण बन्द गरिएपछि संकलन गरिएका स्वाबहरु काठमाडौं पठाइँदै आएको छ ।

मेसिन बन्द हुँदा पनि काम जारी

यसअघि संघीय सरकारले पठाएको मेसिनले लगातार नेगेटिभ रिपोर्ट मात्र दिएपछि त्यसलाई बन्द गर्दासमेत काममा लागिपरेको बताउँछन् प्रयोगशाला प्रमुख साह । मेसिन नभए पनि आफूले काम नरोकेको बताउँदै प्रमुख साहले थ्रोट स्वाब संकलन गर्नेदेखि अन्य जिल्लामा नमूना परीक्षण गरी समयमा रिपोर्ट दिँदै आएको बताए ।

‘मेसिन बन्द छ, तर स्वाब संकलन गर्दै समयमै रिपोर्ट दिने काम गर्दै आएका छौं,’ उनले भने । उनले स्वाब परीक्षणका लागि काठमाडौं, हेटौंडा र धरान पठाइरहेको र नयाँ मेसिन सन्चालनमा नआउन्जेलसम्म पठाइरहने बताए ।

‘मेसिन बन्द भएपछि सर्वसाधारणमा नकारात्मक सन्देश जानु स्वाभाविक हो,’ साह भन्छन्, ‘तर यहाँ कुनै किसिमको काम रोकेका छैनौं । समयमै सबै काम गर्दै आएका छौं ।’



source https://www.onlinekhabar.com/2020/05/860193

अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो ।

यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ ।

गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको हो । यो औषधिले मानिसहरु छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरु अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरु औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ ।

यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ । कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता नलागेको र अझै यसको खोप आउन एक वर्षभन्दा लामो समय लाग्न सक्ने बताएकाले अहिले अन्य रोगको लागि बनाइएको औषधिको परीक्षण कोरोना भाइरस नियन्त्रणको लागि भइरहेको छ ।

यसैबीच गिलेडले १५ लाख शिशि औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको छ ।

यद्यपि यसअघि चीनले गरेको परीक्षणमा भने रेमडेसिभिर कोभिड–१९ को उपचारमा निष्प्रभावी रहेको बताएको थियो ।

स्रोत : अलजजीरा



source https://www.onlinekhabar.com/2020/05/860187

जाजरकोटमा अनुदानको नुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री

२० वैशाख, जाजरकोट ।  जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ ।

जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने आयोडिनयुकत नुन बारेकोट गाउँपालिकामा भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँपालिकाको मुकाममा सडक पुगे पनि लकडाउनका कारण गाडी चलेकोले खच्चडले ढुवानी गरेर लुकिछिपी महँगोमा बिक्री गरिएको हो ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ ।

स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलब्ध नगराएपछि स्थानीय महँगोमा नुन किन्न बाध्य भएका हुन् ।

जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदानका कारण नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् ।

लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ ।

दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० र माथिल्लो भेगतिर ६० मा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ ।

सदरमुकाममा नौ रुपैयाँमा एक पोका पाइने नुन बारेकोटमा सात गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट-५ पाखाका प्रेम शाहीले बताए ।

नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए ।

केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो ।



source https://www.onlinekhabar.com/2020/05/860182

विद्यालयभित्र डोजर चालक मृत भेटिए

२० वैशाख कैलाली । धनगढीमा एक जना डोजर चालकको शव फेला परेको छ । दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नम्वर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्ष बस्नेतले बताए ।

‘बिहान हामिलाई खबर आएको हो,’ उनले भने, ‘उनी सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।’

विद्यालयमै भइरहेको निर्माण कार्यमा उनले डोजर चलाउँदै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख बस्नेतले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/05/860186

निर्णायक भनिएको नेकपा सचिवालय बैठक बस्दै, नेताहरु परामर्शमा व्यस्त

२० वैशाख, काठमाडौं । नेकपा सचिवालयको बैठक शनिबार बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने तय भएको छ ।

शनिबार अपराह्न बस्ने बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा छन् । प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।

अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निणर्ायक हुने अनुमान छ । बैठकले सम्भवतः ‘बामदेव कार्ड’ को छिनोफानोसमेत गर्ने छ ।

यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

प्रचण्ड, माधव नेपाल र बामदेव समूह ओलीविरुद्ध एकजुट भइरहेको बेला यो प्रस्तावले नेकपाको आन्तरिक संघर्षमा नयाँ ट्वीस्ट ल्याएको थियो । त्यसपछि शुक्रबारसम्म प्रचण्ड-नेपाल पक्षबीच र आ-आफ्ना समूहबीच छुट्टै छलफल भएका थिए ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षले पहिले सचिवालय बैठकपछि स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका छन् । उनीहरुले ओलीको एकलौटी कार्यशैलीले सरकार अलोकपि्रय भएको भन्दै बाटो खुल्ला गरिदिन दबाब दिँदै आएका छन् ।

गत बुधबारयता आ-आफ्नो समूहमा छलफल गर्दै आएका उनीहरु शनिबारको सचिवालय बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यसले ओलीको भविष्य निश्चित गर्ने अनुमान गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/05/860185

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२१८ पुग्यो

२० वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १८ पुगेको छ । भारतको स्वास्थ्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

साथै यो अवधिमा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३७ हजार ३३६ पुगेको छ ।

महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ११ हजार पाँच सय ६ पुगेको छ भने चार सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा चार हजार सात सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ३६ जनाको मृत्यु भइसकेको छ । मध्य प्रदेशमा पनि दुई हजार सात सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ४५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा संक्रमित संख्य दुई हजार तीन सय २८ पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म चार सय ७१ जनामा भाइरसको संक्रमण देखिँदा तीनजनाको मृत्यु भइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/05/860151

झरीको रोमाञ्चक पल : बलिउडकर्मीको अनुभव

अक्सर सिनेमा र साहित्यमा झरीलाई बिम्बको रुपमा प्रयोग गरिन्छ । झरी आफैमा आयमिक छ । त्यसैले त यसलाई सर्जकहरुले कहिले दुःखको बिम्ब बनाउँछन्,  त कहिले रोमान्सको । जब सिनेमामा वियोगका दृश्यहरु राख्नुपर्ने हुन्छ, पृष्टभूमीमा झरी परिरहेको देखाइन्छ । बेपत्तासँग परिरहेको झरीले दुःखको त्यस्ता दृश्यलाई अरु उत्कर्षमा पु¥याउँछ ।

त्यसो त हिरो–हिरोइनको रोमान्समा पनि झरीको दृश्य काइदाको लाग्छन् । झरीमा बेपर्वाह रुझेर नाचिरहेका बेला होस् वा निथु्रक्क भएर कामुक हाउभाउ देखाइरहेको, त्यो रोमान्टिक पल अरु बेजोड लाग्छ ।

हिन्दी सिनेमाको कुरा गरौं । थुप्रै हिन्दी सिनेमा छन्, जसले झरीलाई बिम्बको रुपमा प्रयोग गरेका छन् । खासगरी प्रेम, रोमन्सको गीतमा झरीको दृश्य समावेश गरिएका छन् ।

त्यसो त कवि–कलाकारदेखि जो–कोहीलाई झरीले फरक अनुभूती गराउँछ । झरीले बेग्लै आनन्द र रोमाञ्चकता पनि पैदा गर्छ । बलिउडकर्मीले झरीका यस्तै अनुभव साझेदार गरेका छन् ।

चिसो हावासँग वहने पानीका कणहरु

यो अनुभव अभिनेत्री विद्या बालनको हो । उनलाई झरीको मौसममा वहने चिसो सिरेटो, त्यसमा मिसिएका पानीका कणहरु औधी मनपर्छ । उनले त्यस्तो क्षणको कल्पना गर्दै भनेकी छिन्, ‘यस्तो मोहक मौसम । तात्तातो चिया अनि पकौडा । पानी परेको बेला यी सबै भए कति आनन्द ?’

रोमन्टिक पानीको थोपा

अभिनेत्री कैटरिना कैफलाई पानीको थोपासँग खेल्न रहर लाग्छ । आकासबाट भूँइमा तप्किने पानीको थोपा हेरेर उनी रोमाञ्चित हुन्छिन् । उनलाई झमझम पानी परेको क्षण आनन्द लाग्छ । खासगरी मुम्बईको झरीले उनलाई लोभ्यएको छ ।

झरीमा माटोको सुवास

अभिनेत्री मल्लिका शेरावतलाई मनसुन निकै प्रिय लाग्छ । उनी भन्छिन्, ‘झमझम पानी परिरहेको बेला समुन्द्री तटमा हिँड्न साह्रै रमाइलो लाग्छ ।’ पानी परेको बखत आउने माटोको सुवास पनि उनले महसुष गरेकी छिन् ।

झरीमा बेपर्वाह भिज्नु

अभिनेता तुषार कपुरले भनेका छन्, ‘विगतमा मलाई झरी त्यती मन पर्दैनथ्यो । तर, अहिले भने मनपर्न थालेको छ ।’ यसरी झरी मन पर्नुमा उनले हुर्काइरहेको छोरा एउटा कारण हुन्, जोसँग पार्कमा वेपर्वाह भिज्दा रमाइलो लाग्छ । तुषार एकल पिता हुन् । अर्थात उनले सेरोगेसीबाट प्राप्त सन्तान हुर्काइरहेका छन् । उनै छोराको आगमनपछि आफुलाई झरी मन पर्न थालेको तुषारले बताएका छन् ।

झरीमा साथीभाईसँग रमाउन

अभिनेता आयुष्मान खुरानालाई मनसुनको सिजन औधी मनपर्छ । यस मौसममा उनी परिवार र साथीभाईसँग रमाइलो गर्न रुचाउँछन् ।

स्रोत–एजेन्सी



source https://www.onlinekhabar.com/2020/05/860180

सेनाले फेला पार्‍यो हिमपहिरोमा पुरिएका सातै जनाको शव

२० वैशाख, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ ।

पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ ।

२०७६ साल माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।

अन्य दुई जनालाई खोज्न पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट टोली परिचालित भएको थियो ।

सो टोलीले वैशाख १९ गते शुक्रबार फेला पारि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्याएको नेपाली सेनाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/05/860179

सगरमाथाको शिखरमा पुग्यो फाइभ जी इन्टरनेट

काठमाडौं । चिनियाँ कम्पनी चाइना मोबाइल र हुवावेले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ जी इन्टरनेट पुर्‍याएका छन् ।

सगरमाथाको तिब्बतर्फको पाखोमा पर्ने ६ हजार ५ सय मिटरको उचाइमा चाइना मोबाइल र हुवावे कम्पनीले फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका हुन् । जुन विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन हो ।

६ हजार ५ सय मिटरको उचाइमा गिगाबिट अप्टिकल फाइबर नेटवर्क पुर्‍याएसँगै अब चाइना मोबाइलले सगरमाथासम्मै आफ्नो डुअल गिगाबिट नेटवर्क सञ्चालन गर्न सक्ने हुवावेले जनाएको छ ।

चाइना मोबाइलको डुअल गिगाबिट नेटवर्कको आधार स्टेसन ५ हजार ३ सय मिटरको उचाइमा अवस्थित आधारशिविर क्षेत्रमा छ । त्यस्तै ट्रान्जिसन क्याम्प ५ हजार ८ सय मिटरको उचाइमा छ ।

सगरमाथाको उचाइमा पुर्‍याइएको फाइभ जी नेटवर्कको निर्माण तथा सञ्चालनमा दर्जनौं नेटवर्क विज्ञहरु खटिएको र यसले चौबीसै घण्टा अनवरत रुपमा नेटवर्क उपलब्ध हुने हुवावेले जनाएको छ ।

आधार शिविर क्षेत्रमा फाइभ जी नेटवर्कको डाउनलोड स्पिड १.६६ गिगाबिट्स प्रतिसेकेण्ड र अपलोड स्पिड २१५ मेगाबिट्स प्रतिसेकेण्ड रहेको हुवावेले जनाएको छ ।

उत्तरी मोहोडाबाट पहिलोपटक सगरमाथा आरोहण भएको ६० वर्ष पुगेको अवसरमा चीनले सगरमाथाको शिखरमा फाइभ जी इन्टरनेट पुर्‍याएको हो ।

सगरमाथामा फाइभ जी नेटवर्क उपलब्ध हुँदा यसले सगरमाथाको उचाइको सही मापनमा समेत सहयोग पुग्ने हुवावेको भनाइ छ । एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/05/860177

बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

२० वैशाख कैलाली । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाकी-१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो  । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुवै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए  ।

`१६ गते प्रहरीलाई उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो,´ उनले भने, `कोरोनाको त्रासका कारण दुवैजनालाई परिवारको जिम्मा लगाइएको हो ।´

किशोरी र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्दा दिएपछि दुवै जनालाई पुन: पक्राउ गरी जिल्ला ल्याइएको  उनले बताए। उनीहरुको आइतबार म्याद थप गरिने बस्नेतले जानकारी दिए ।

सोही मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।

जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो।

उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्दा मिलाइदिन्छु भनी  आरोपीसँग घुस माग्दै गर्दा पक्राउ गरिएको थियो ।



source https://www.onlinekhabar.com/2020/05/860175

लकडाउनमा चिडियाखानाको अपिल : माछालाई भिडियो कल गर्नुस्

काठमाडौं । कोरोना भाइरस महामारी रोक्न लकडाउन भैरहेको जापानमा त्यहाँको सरकारले मान्छेको सुखदुःखमा त ध्यान दिइरहेकै छ, माछाको खुसीका लागि पनि अनौठो उपाय अपनाएको छ ।

जापानको टोक्योस्थित एउटा अक्वारियमले त्यहाँ पालिएका इल माछाका लागि भिडियो कल गर्न जनतासँग अपिल गरेको छ ।
लकडाउनका कारण अक्वारियममा पर्यटक नआउँदा निकै अत्यास मानिरहेका ती माछाहरुलाई मान्छे भएको आभास दिलाउन भिडियो कल गर्न अनुरोध गरिएको हो ।

सुमिदा अक्वारियम नामक उक्त अक्वारियम मार्च महिनाको सुरुदेखि नै बन्द छ । जसका कारण त्यहाँ रहेका जनावरहरुले पछिल्लो दुई महिनादेखि बाहिरी मान्छेको अनुहार देख्न पाएका छैनन् ।

मानिसको आवागमन नभएको ठाउँमा लामो समय कैद हुनुपर्दा इल माछामा निकै नकारात्मक असर देखिएको अक्वारियमका अधिकारीहरुले थाहा पाए ।

अन्य बेला आगन्तुक मानिसहरुलाई हेर्नका लागि बालुवा बाहिर टाउको निकालिरहने इलहरु अहिले जतिबेला पनि बालुवाभित्रै टाउको घुसारिरहने गरेका छन् । उनीहरुले मानिसलाई नै भुलिसकेको अनुमान अक्वारियमका अधिकारीहरुले गरे ।

त्यसैले भिडियो कलमार्फत धेरैभन्दा धेरै मानिसहरुको बोली तथा अनुहार अक्वारियममा रहेका इल माछालाई देखाएर उनीहरुको एक्लोपना र डिप्रेसन भगाउने योजना बनाइएको छ । जसअनुसार पहिलो चरणमा तीनदिने अनुहार प्रदर्शन महोत्सव आयोजना गर्दै मानिसहरुलाई भिडियो कल गर्न आह्वान गरिएको छ ।

मानिसहरुले चिडियाखानाले उपलब्ध गराएको नम्बरमा भिडियो कल गरी पाँच मिनेटसम्म इललाई हेर्न र आफ्नो अनुहारसमेत देखाउन पाउनेछन् । एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/05/860170

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा आउ-जाउ बन्द

२० वैशाख, बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ-जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो ।

रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ गर्न बन्द गराइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

संक्रमितलाई लिन भारतीय सीमा क्षेत्रमा लिन गएका उनका दाजुलाई शुक्रबारै क्वारेन्टाइनमा पठाइएको र परिवारका अरु ६ जनालाई पनि शनिबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए । संक्रमित युवक दिल्लीबाट ट्रक चढेर र पैदल हिँडेर रुपन्देहीको मर्चवारस्थित ठोठरी नाका हुँदै घरसम्म आइपुगेका हुन् ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सिलबन्दी गरिएको छ । नेपालगन्जको वडा नंं. ८ स्थित अन्सारी मस्जिद र वडा नं. १ धम्बोजीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

यो पनि पढ्नुहोस रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

संक्रमित ६० वर्षीय पुरुष वडा नंं. ८ को डिएसपी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए । उनी हरेक दिन अन्सारी मस्जिदमा आउने-जाने गर्दथे । उनी आउ-जाउ गर्ने क्रममा थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने अनुमानमा सो क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज धम्बोजीका अर्का एक युवकमा पनि कोरोना संक्रमणको आशंका गरिएपछि धम्बोजीको मस्जिद क्षेत्र पनि सिल गरिएको हो ।

बाँकेको डडुवा गाउँपालिकाका ती युवक केही वर्षदेखि धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । संक्रमित ६० वर्षीय वृद्धसहित उनलाई पनि खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । ६० वर्षीय पुरुष भारतको बहराइचबाट एक महिनाअघि नेपालगन्ज आएका थिए ।

युवकको बिहीबार स्वाब संकलन गरी जाँच गरिए पनि रिपोर्ट आउन बाँकी रहेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/05/860171

कसरी आफैं टालियो ओजोनको प्वाल ?

काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो ।

मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो ।

तर अप्रिल २३ मा एउटा सुखद खबर आयो । कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले एक ट्वीट गर्दै आर्किटकको आकाशमा देखिएको ओजनको प्वाल बन्द भएको घोषणा गर्‍यो ।

उत्तरी ध्रुव माथिको आकाशमा देखिएको ओजनको विशाल प्वाल असामान्य मौसमको नतिजा भएको वैज्ञानिकहरुको ठहर छ ।
ध्रुवीय क्षेत्रको अत्यन्तै ठण्डा हावामा जब तीव्र गतिको हावा फस्दछ त्यसबाट सिर्जना हुने हुण्डरीले वायुमण्डलमा तीव्र दबाब पैदा गर्दछ । वैज्ञानिक भाषामा त्यसलाई पोलार भर्टेक्स भनिन्छ ।

उक्त हावाको दबाब यति तीव्र हुन्छ कि त्यसले समताप मण्डलको ओजन तहमा समेत प्वाल पारिदिन्छ ।

वैज्ञानिकहरुका अनुसार उत्तरी ध्रुवमा देखिएको असामान्य मौसम सामान्यीकरण भएसँगै ओजन तहमा परेको प्वालसमेत आफैं टालिएको हो ।

उत्तरी ध्रुवको आकाशमा देखिएको ओजन प्वाल आफैं टालिनुमा कोरोना महामारीका कारण भैरहेको लकडाउनबाट प्रदूषण घट्नुसँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ । एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/05/860163

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More