Saturday, 1 August 2020

पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीको परिवारमा पनि संक्रमण

१८ साउन, वीरगञ्ज । पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

महानगर प्रमुख सरावगीको परिवारमा पनि संक्रमण

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तैगरी अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

विर्तामा मात्रै १९ जनामा संक्रमित

वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । संक्रमितहरु पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म छन् ।

यसअघि वीरगञ्ज–६ माईस्थान मीनाबजार क्षेत्रमा गरिएको मास टेष्टिङमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तरकारी, फलफूल र माछामासु पाउने क्षेत्र भएकाले मीनाबजार क्षेत्रमा भिडभाड हुने गर्छ ।

मास टेष्टिङमा बढी जनसम्पर्कमा रहने मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

‘पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिका जस्ता बढी जनसम्पर्कमा आएकाहरुमा कोरोना देखिएको छ,’ ठाकुरले भने, ‘यसअघि माईस्थान मीना बजारमा संक्रमण देखिएका अधिकांश पसल व्यवसाय गर्ने नै थिए ।’ माईस्थान मीना बजारमा २ सय ९ जनाको स्वाब नमूना लिँदा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्रीपुरमा १० जना संक्रमित,

वीरगञ्ज–११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रीपुरका ६२, १८, ५०, ४५,  ३४ र १७ वर्षका पुरुष तथा ५०, ६०, २९ र ४३ वर्षका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मगनुस फर्माका ५ कर्मचारीमा कोरोना

मगनुस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । औषधि फर्मामा काम गर्ने वीरगञ्ज–८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज–८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पेड पीसीआर गराएका वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका ५६ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।



source https://www.onlinekhabar.com/2020/08/886333

इंग्ल्याण्डले एक खेल अगावै जित्यो सिरिज

१८ साउन, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले आयरल्याण्डविरुद्धको ओडिआई सिरिज एक खेल अगावै जितेको छ । आईसीसी विश्वकप सुपर लिगअन्तर्गत भएको पहिलो सिरिजमा इंग्ल्याण्डले लगातार दुई खेल जित्दै तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको हो ।

जोनी बेयर्स्टोवले ८२ रन बनाएपछि इंग्ल्याण्डले दोस्रो ओडिआईमा आयरल्याण्डलाई ४ विकेटले पराजित गर्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । पहिलो ओडिआई इंग्ल्याण्डले ६ विकेटले जितेको थियो ।

साउथह्याम्टनको दी रोस बल स्टेडियममा भएको खेलमा आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २१२ रन बनाएको थियो । आयरल्याण्डका लागि यसै सिरिजमार्फत डेब्यु गरेका कर्टिस काम्परले अर्धशतक प्रहार गर्ने क्रममा ६८ रन बनाए । उनले ८७ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै हेरी हेक्टरले २८, सिमी सिंहले २५ र एन्डी म्याब्रिनेले २४ रन जोडे । इंग्ल्याण्डका लागि एदिल रसिदले ३ तथा डेविड विली र साकिव महमुदले २-२ विकेट लिए ।

२१३ रनको लक्ष्य इंग्ल्याण्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर ज्यासन रोए शुन्यमा बउट भएपनि अर्का ओपनर जोनी बेयर्स्टोवले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्याण्डले खेल जित्यो । बेयर्स्टोले ४१ बल खेल्दै १४ चौका र २ छक्काक मद्दतमा ८२ रन बनाए ।

यस्तै साम बिलिङ्सले नटआउट ४६ रन योगदान गरे । उनले ६१ बल खेल्दै ६ चौका प्रहार गरे । जेम्स भिन्सले १६ र टम बान्टनले १५ रन जोडे । आयरल्याण्डका जोस लिटले ३ र कर्टिस गाम्परले २ विकेट लिए ।



source https://www.onlinekhabar.com/2020/08/886324

अनुभवको रसिलो संस्मरण

गण्डकी क्षेत्रको कुनै गाउँको एक नवयुवक जुँगा नबाक्लिदै बिए पास गरेर शिक्षण पेशा सुरु गर्छ । त्यही क्रममा आईए तहलाई एक पिरियड अंग्रेजी पढाउने ‘केटो सर’ पनि बन्न पुग्छ ।

पढाउने पेशा रुचिले नै छानेको भएपनि युवकलाई त्योभन्दा शिक्षा प्रशासन बढी आकर्षक लाग्छ र तदनुरुप लोकसेवा उत्तीर्ण गरेर विद्यालय निरीक्षकको अवतारमा रुपन्देही झर्छन्, २०५१ सालमा । त्यसरी सरकारी सेवा सुरु गरेका खगराज बराल कालान्तरमा सचिव बनेर शिक्षा मन्त्रालयमा निजामतीको नेतृत्व गरे ।

यो पेशागत सफलतासँगै बरालको लेखक व्यक्तित्व पनि छ । उनी कुशल प्रशासकसँगै राम्रा लेखक पनि हुन् भन्ने गतिलो प्रमाण बनेको छ, २४२ पृष्ठको किताब सिकाइ र सहयोग  । यसको भूमिका अनुसार, यो उनको दोस्रो कृति हो ।

कोरोना भाइरस रोकथामका लागि देशव्यापी बन्दाबन्दी हुनुभन्दा ठिक अगाडि गत चैतमा सार्वजनिक भएको किताबमा २०५१ देखि २०६९ साल (पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक हुँदा) सम्मका भोगाइ, सिकाइ र त्यसबाट सिर्जित अनुभव–अनुभूतिहरु समेटिएका छन् ।

कितावमा विविध क्षेत्र र विषयका २५ वटा संस्मरणात्मक आलेख छन् । शिक्षा, संस्कार, धर्म, आचार–व्यवहार र स्वअनुशासनदेखि अधिकार र लैंगिकतासम्मका कठोर विषयहरुलाई बगेको भाषा र सम्वाद शैलीले सरल–सरस बनाएको छ ।

नेपालीपनको हिमायती बराल साइनो–सम्बोधनको यो सामाजिक अधोमतिप्रति निरपेक्ष रहनसक्ने कुरै भएन । उनले ‘नाता र सम्बोधन : अनुभव र अनुभूति’ शीर्षकको आलेखमा यस्तो विकृत भाषिक–सांस्कृतिक अभ्यासको भुक्तभोगी हुँदाको दृष्यचित्र उतारेका छन्

लेखकले बालअधिकारदेखि बाख्रापालनसम्मका विषय उठाएका छन् । इजिप्टदेखि जापानसम्मका सम्झना समेटेका छन् । प्रवचन पारामा नलागी पाठकलाई सोझै घटनाको साक्षी बनाउने शैलीले लेखहरुलाई पठनीय बनाएको छ । योसँगै लेखकको अवधारणा प्रसार भएको छ ।

साइनो–सम्बन्धमा नेपालीजति धनी संसारमा अरु सायदै होलान् । नेपालीको घर, मावली, ससुराल सबै ठाउँका एक–एक व्यक्तिलाई सम्बोधन गर्ने साइनोका शब्द भण्डारै छ भन्दा फरक पर्दैन । तर, पछिल्लो समय समाजलाई अंकल–आन्टीको फेसनले लपेटेको छ ।

मान्छेको व्यक्तिगत बानी–व्यहोरा र सामाजिक चालचलनमाथि टिप्पणी गर्नु गाह्रो काम हो । तर, लेखकले मानिसहरुको आचार–व्यवहारबारे नाम–ठाम् तोकेरै सीधा टिप्पणी गरेका छन् । अझ ‘सरी, माइण्ड नगर्नुस् है’ नभनी ‘यु सुड माइण्ड’ भनेका छन् । धर्म र सदाचारी परम्पराप्रति गहिरो आस्था जाहेर गरेका छन् ।

खासमा पश्चिमाहरुसँग मामा–माइजू, काका–काकी, फुपू–फुपाजु, बडाबा–बडीआमा आदि आफन्तजन जनाउने साइनो नै नभएर अंकल–आन्टी भनेका हुन् । फेरि, ‘माइजू’ भन्दाको  मिठास, माया, स्नेह र आफ्नोपन आन्टीमा हुँदैन । र पनि, नेपाली मुखबाट माइजूलाई आन्टीले खेदिनै सकेको छ ।

अंग्रेजीमा नभएका साइनोका शब्द नपाउँदा एकथरिले सासू आमा, सालो भाइ, साली बहिनी भन्न थालेका छन् । यो अभ्यास ‘घरतिरको बुबा, माइतीतिरका सहोदर बुबा’सम्म पुगेको देखिन्छ ।

नेपालीपनको हिमायती बराल साइनो–सम्बोधनको यो सामाजिक अधोमतिप्रति निरपेक्ष रहनसक्ने कुरै भएन । उनले ‘नाता र सम्बोधन : अनुभव र अनुभूति’ शीर्षकको आलेखमा यस्तो विकृत भाषिक–सांस्कृतिक अभ्यासको भुक्तभोगी हुँदाको दृष्यचित्र उतारेका छन् । पढ्दा रमाइलो लाग्ने यो आलेखले पढिसकेपछि पाठकलाई पक्कै झस्काउँछ ।

‘सिकाउने आफ्नै काइदा’ शीर्षकको लेखमा जाइका (जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी)का एकजना स्वयंसेवी प्रशिक्षकको सिकाउने काइदाको वर्णन छ । मानिस यसकारण शाकाहारी जीव हो भनेर बुझाउन ती प्रशिक्षकले अपनाएको काइदाबाट प्रभावित बरालले यस्तो तौरतरिका विद्यालयमा लागु गरे सिकाइ प्रकृयामा फड्को मार्न सकिने सुझाव दिएका छन् ।

कितावमा भएकामध्ये ‘आनुवंशिकताको प्रभाव’ सबभन्दा लामो आलेख हो । यसले लेखकमा रहेको कृषि र पशुपालप्रतिको गहिरो मोह देखाउनुको साथै पाठकलाई नेपालका पुराना केही फार्मको भ्रमण गराउँछ । त्यसक्रममा सम्बन्धित विषयका देशी–विदेशी विज्ञसँग चाखलाग्दो सम्वाद गराउँछ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक रहँदा बराल कृषि तथा पशु प्रजनन् फार्महरुको अवलोकन भ्रमण गरेर प्राविधिक ज्ञान लिन्छन् । लेखनको सम्वाद शैलीका कारण विशेषज्ञले भनेका कुरा लेखकसँगै पाठकले सुन्दछन् । संस्कृतदेखि सांकेतिक भाषासम्मका विषयमा कलम चलाएका बरालको यो लेखले विशेषतः किसानका लागि महत्वपूर्ण खुराकहरु पस्केको छ ।

दुर्घटनालाई असुलीको अवसर बनाउन तम्सने प्रवृत्तीबारेको लेखमा चौपायालाई ठक्कर दिएको दुईवटा घटनाको चर्चा छ । सडकमा छाडा छाडिएको पाठीलाई गाडीले ठक्कर दिएर मार्दा ‘यो त पहिलो बेतबाटै बोकैबोका पाउने जातको हो’ भन्दै ५० हजार रुपैयाँ दावी गर्ने, चालक विदेशी रहेछ भने त अझ लोकलाजै बिर्सेर उत्पात मचाउने प्रवृत्तीबारे बराल लेख्छन्– … दुर्घटना भए क्षतिपूर्तिबाट आम्दानी खानु समाजको सकारात्मक सन्देश होइन ।

बरालले कितावमा थुप्रै प्रेरक प्रसंग र ज्ञानगुनका सन्दर्भ पेश गरेका छन् । तीसँगै सदाचार पालना गर्दाका दुःखहरु छन् । ‘बानी त कस्तो राम्रो !’ शीर्षकको लेखमा धेरैले लेखकलाई ‘सरको बानी त कस्तो राम्रो !’ भन्छन् । जे देखेर राम्रो भनेका हुन्, त्यसलाई पालना भने गर्दैनन् । बरु, सरलाई नै एकलकाँटे ठान्छन् ।

नेपाली समाजमा फूलेको केशले भाउ पाउँछ । कार्यक्षमताभन्दा ज्येष्ठताको कदर हुन्छ । कर्मचारीवृत्तमा पनि यस्तै छ । कलिलै उमेरमा शिक्षक बन्दा ‘केटो सर’ भएका बरालले सरकारी जागिरको खासगरी सुरुका वर्षहरुमा ‘नयाँ’ हुनुको पीडावोध गरिरहनु पर्छ ।

२०५१ सालको मध्यावधी निर्वाचनमा बराल रुपन्देहीको एउटा  मतदान केन्द्रको अधिकृत तोकिन्छन्, तर कलिलो र नयाँ भएकैले उनका कर्मचारीहरु भागिदिन्छन् (अनुभव र उपयोग) ।

२०५२ सालतिर पढ्न पाएको ‘अनुभव नालायक गुरु हुन सक्छ’ भन्ने एउटा लेखले उनलाई निकै ढाडस् र लायक बनाउने अनुभव लिन उत्प्रेणा दिन्छ । त्यो लेखको चर्चा बरालले तीन ठाउँमा गरेका छन् ।

कुनै पनि समाजको बिकासमा अनेक व्यक्तिको योगदान छ । त्यस्ता प्रातःस्मरणीय व्यक्तहरु देशका हरेक क्षेत्र र समुदायमा हुन्छन् । बरालले ‘गृहस्थीमा फर्किएका गुरु’ शीर्षक लेखमा आफ्नो क्षेत्रको शैक्षिक–सामाजिक उत्थानमा ठूलो योगदान पुर्याएका चन्द्रकान्त पौडेललाई सम्झिएका छन् ।

त्यस्तै, ‘संस्कृतको वास्तविक महत्व’ शीर्षकमा बरालले विद्यालय तहका नेपाली विषयका आफ्ना गुरु मुक्तिराम पौडेललाई श्रद्धापूर्वक सम्झेका छन् । गुरुले कालोपाटीमा लेखेर कन्ठस्थ पार्न लगाएका संस्कृतका श्लोकहरु पछि आफूलाई निकै उपयोगी बनेको सम्झदै बरालले त्यति बेला कम चासो राखेकोमा पछुताउ गरेका छन् । उनले पुस्तकमा त्यस्ता श्लोकहरु पनि दिएका छन् ।

‘संस्कृत, संस्कार र संस्कृति’ शीर्षकको आलेखमा लेखक बरालले हिन्दु दर्शनका कारण नेपालीहरु संसारमा सबभन्दा खुशी रहेको उल्लेख गरेका छन् । यो दाबी गर्दा उनले अर्थ–समाजशास्त्रीय अध्ययनको पक्षलाई भने बेवास्ता गरेका छन् ।

उनी अझ लेख्छन्– …भाग्यलाई विश्वास गर्ने कारण पूर्वीय दर्शनमा विश्वास गर्नेहरुमा विसंगती छैन । …पश्चिमा दर्शनमा यसको अभाव छ । त्यसले गर्दा पश्चिमाहरु दुःखी छन्, विसंगत छन् ।

हिन्दु धर्म–दर्शनप्रति श्रद्धाको अधिकताका कारण लेखकले अन्य धर्मावलम्बीलाई दुःखी र विसंगत भन्न पुगेको अनुमान गर्न सकिन्छ । यसलाई सन्तुलित लेखकीय अभिमत भन्न चाहिँ सकिन्न ।

पढ्न थालेपछि एकपछि अर्को लेखमा मेलो सर्दै जाने यो कितावको आवरणले भने धेरै पठकलाई तर्साउने खतरा छ । विजुलीको बल्बभित्र रशायनशास्त्र र भूगोलदेखि परमाणु विज्ञानसम्मका संकेत चिह्नले किताबलाई पाठ्यपुस्तक वा गाइड जस्तो देखाएको छ ।

होम भट्टराईले सम्पादन गरेको सिकाइ र सहयोग मा सम्भवतः प्रकाशनको हतारोले हुन सक्छ, अलि अनौठो लाग्ने वाक्यांस निकै परेका छन् । जस्तो– नाक खुम्च्याएको प्रत्यक्ष अवलोकन, चिसो हुने उच्च उचाइमा, …मास, भटमास, मस्याम, पिडालुजस्ता लहरे तरकारी, कुखुराका बुबाआमा, विशेषज्ञ वैज्ञानिक, नवयुवक बालक, भर्खरका युवाहरु आदि ।

‘रातिको समयमा ट्रेकिङमा नजानुहोस् र जोर्नीहरुमा लगाउने पट्टिहरु बोक्नुहोस्’, ‘कुकुरलाई घरभित्र पस्ने अनुमति थिएन’, निम्ता नगर्नु पर्नेको सूची’, ‘तिनमा (तरकारीहरुमा) मानव शरीरका लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वहरु पाइदो रहेछ’, ‘सुन्न नसकेका कारण बोल्न नसक्ने भएकाले उनीहरुको श्रवण शक्ति हुदैन’ जस्ता वाक्यहरु पाठकले सहजै ‘हजम’ गर्न सक्तैनन् ।

किताबमा बनाउनु, चलाउनु, दिनु, हेर्नु, सक्नु, पाउनु, जन्मनु जस्ता कृयापदलाई निषेधै गरिएजस्तो लाग्छ । कितावमा मकै फल्दैन, उत्पादन हुन्छ । खच्चर, पाठो वा सन्तान जन्मदैन, उत्पादन मात्र हुन्छ । सर्प आउन सक्ने प्वाल हेरिदैन, अवलोकन गरिन्छ । तालिम दिइँदैन, कि प्रदान गरिन्छ कि त उपलब्ध गराइन्छ । भाषाको यस्तो प्रयोगले सलल बगेका लेखहरुको मिठो नेपालीमा भाँजो हालेझैं लाग्छ ।

समग्रमा पुस्तक पठनीय र संग्रहणीय पनि छ । सांग्रिला बुक्सले बजारमा ल्याएको सिकाइ र सहयोग  झट्ट हेर्दा विद्यार्थी वर्गको लागि जस्तो देखिए पनि सबैखाले अध्यवसायका पाठकलाई मनपर्ने खालको छ ।



source https://www.onlinekhabar.com/2020/08/886329

सडक भासिएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

१८ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस  सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो ।

मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको डीएसपी पाण्डेले बताए ।

यस्तै सोही स्थानको नजिकै तिनाउ–३ झुम्सामा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको छ । दुई स्थानमा सडक भासिएपछि यो सडक खण्ड भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।

अवरुद्ध सडक खुलाउन आइतबार बिहानदेखि काम शुरु हुने भएकाले केही घण्टा समय लाग्ने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताए ।

सिद्धार्थ राजमार्गको झुम्सादेखि तल्लो सिद्धबाबासम्मको करिब ५ किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिम क्षेत्र मानिन्छ । यो खण्डमा वर्षायाममा दर्जनौं स्थानमा ठूला चट्टानसहितको पहिरो जाने गर्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष धेरै मात्रामा पहिरोले सडक अवरुद्ध भएको छ ।



source https://www.onlinekhabar.com/2020/08/886326

सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८ साउन, जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज. १ म. २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/08/886325

पर्सामा १९ साउनदेखि निषेधाज्ञा, सेना पनि परिचालन हुने

१८ साउन, वीरगञ्ज । पर्सामा १९ साउनदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्सामा साउनमा मात्रै ११ जना संक्रमितको मृत्यु भएको छ । पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश संक्रमितलाई घरमै राखिएको छ । लक्षण सहितका संक्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ । होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाईएको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

के–के गर्न पाइँदैन

अब साउन १९ गते बिहान ५ बजेदेखि पर्सा जिल्ला भरी निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन ।

शान्ति, सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, ड्राईपोर्ट, बैंक (भन्सार, आईसीपी, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग र व्यवसाय बन्द गरिने छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने साधन, अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । छिमेकी देश भारतसँग सिमाना जोडिएका नाकाहरु तथा खुल्ला सिमानाको जुनसुकै स्थानबाट मानिसहरुको आवागमन रोक्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त  स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको पालना नगर्ने काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘कोभिड १९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । यो आम जनताको जीवन रक्षाको लागि हो,’ उनले भने, ‘नागरिकले निषेधाज्ञा पूर्ण पालना गरेको खण्डमा मात्रै कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न सकिन्छ । ’

वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी भएको ६ दिन वितिसकेको छ । नगरबासीले अत्यावश्यक बस्तुको आपूर्ति हुन नसक्दा मर्कामा परेको गुनासो गरिरहेका छन् । अत्यावश्यक वस्तु आपूर्तिका सम्बन्धमा केहिदिन भित्रै निर्णय गर्ने सहायक प्रजिअ बस्नेतले बताए ।

‘निषेधाज्ञाका कारण अत्यावश्यक बस्तुको आपूर्ति बन्द छ । त्यसले आम सर्वसाधारण मर्कामा परेको गुनासो हामीकहाँ पनि आएको छ,’ उनले भने, ‘जनै पूर्णिमा अघि बजार खोल्दा भिडभाड बढी हुने र संक्रमण फैलने जोखिम हुन्छ । त्यसपछि आवश्यक प्रबन्ध मिलाउनुपर्छ भन्ने सोचेका छौं ।’



source https://www.onlinekhabar.com/2020/08/886320

सभामुख सापकोटा, उनको सचिवालय र सुरक्षा टोलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

१८ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

शनिबार राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक एक प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।



source https://www.onlinekhabar.com/2020/08/886319

एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि

१८ साउन, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । २८औं मिनेटमा ओबामेयाङले आर्सनलका लागि बराबरी गोल फर्काए ।

चेल्सीका कप्तान सेजार एजप्लिकुएटाले ओबामेयाङलाई पेनाल्टी एरियामा फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो र ओबाम्याङले सहजै गोल गरे । पहिलो हाफमा १-१ को बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा एक गोल गर्दै खेल जितेको हो । ६७औं मिनेटमा ओबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा आर्सनलले जित हात पारेको हो ।

आर्सनलका पूर्व कप्तान समेत मिकेच आर्टेटाले प्रशिक्षकको रुपमा पहिलो ट्रफी जितका छन् । उनले सन २०१४ मा खेलाडीको रुपमा एफए कप जितेका थिए ।

आर्सनलले सर्वाधिक १४औं पटक एफए कपको उपाधि जितेको हो । म्यानचेष्टर युनाइटेडले १२ र चेल्सीले ८ पटक एफए कप जितेको छ ।



source https://www.onlinekhabar.com/2020/08/886322

आदिवासीलाई होच्याए बापतको जरिवाना : ८ वटा भैँसी र बाजा

काठमाडौं । मलेसियाको बोर्नियो टापुमा बस्ने आदिवासी समुदायलाई अपमान गर्नु एकजना पाकिस्तानी नागरिकका लागि महंगो मात्र परेन जीवनभर बिर्सनै नसक्ने घटना बनेको छ ।

बोर्नियोका आदिवासीलाई अपमान गरेको आरोपमा मलेसियाको एक अदालतले एकजना पाकिस्तानी नागरिकमाथि ८ वटा भैँसी र ८ वटा बाजा जरिवाना गरेको छ ।

सबाह राज्यस्थित एक स्थानीय अदालतले आमिर अली खान नवटाईले ८ वटा भैँसी र ८ वटा गोंग्स भनिने बाजा तिर्नुपर्ने फैसला गरेको हो ।

गत मे र जुन महिनामा उनले बोर्नियोका आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी गरेका थिए । आफूले गरेको गल्ती उनले स्विकार गरेको बताइएको छ ।

उक्त राज्यमा व्यवसाय गरिरहेका ५० वर्षीय आमिरविरुद्धको मुद्दा मंगलबार बाइन्तिन एडुन जिल्लाका प्रमुख कोटा मारुडुको इजलासमा सुनुवाई भएको थियो ।

अरु मानिसहरुले पनि आगामी दिनमा आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी गर्नबाट हच्किउन् भनेर त्यस्तो सजायँ सुनाइएको उनले बताएका छन् ।

मलेसियामा स्थायी रुपमा बसोबास गरिरहेका ती पाकिस्तानीले आदिवासी समुदायप्रति के टिप्पणी गरेका थिए भन्नेचाहिँ उनले खुलाएका छैनन् ।

आमिरले एक महिना भित्रमा भैँसी र बाजाको जरिवाना तिर्नुपर्नेछ । अन्यथा उनलाई थप ४ हजार रिंगिट जरिवाना तथा १६ महिनाको जेल सजायँ हुनसक्नेछ ।

स्मरण रहोस् भैँसी र गोंग्स बाजालाई सबाह प्रान्तमा बस्ने आदिवासी समुदायले निकै मूल्यवान सामानको रुपमा लिन्छन् । ती आदिवासी समुदायमा दाइजोका रुपमा समेत भैँसी दिने चलन छ ।

बहुजातीय मुलुक मलेसियामा जातीय मुद्दा निकै संवेदनशील विषयको रुपमा रहेको छ । सबाह प्रान्त सबैभन्दा विविधताले भरिपूर्ण प्रान्त हो जहाँ कैयौँ आदिवासी समुदायको बसोबास छ ।

बोर्नियो टापु मलेसिया, इण्डोनेसिया र ब्रुनाई गरी ती नवटा देशमा फैलिएको छ । जुन वन्यजन्तु, वनस्पती मात्र नभै मानव जातीको विविधताले पनि भरिपूर्ण छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/08/886318

साउदी तेल कम्पनीलाई पछि पार्दै एप्पल बन्यो विश्वकै ठूलो कम्पनी

काठमाडौं । अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ ।

एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भयो । कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलको शेयरमा उछाल आएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको मागमा भारी गिरावट आएको छ र त्यसको असर साउदी अरबको सरकारी तेल कम्पनी अराममा पनि परेको छ ।

कोरोना भाइरस महामारीका कारण तेलको मागमा भएको गिरावट र एप्पलको शेयर मूल्यमा आएको बढोत्तरीका कारण अन्ततः एप्पल अरामलाई पछि पादैै विश्वकै नम्बर वान कम्पनी बनेको हो ।

शुक्रबार बजार खुल्नेबित्तिकै एप्पलको शेयरको मूल्य ४ सय १२ अमेरिकी डलर पुगेको थियो । जस अनुसार एप्पल कम्पनीको बजार मूल्य १.७६५ ट्रिलियन डलर पुग्यो ।

जबकी गत वर्ष मात्र सार्वजनिक कम्पनी भएको साउदी कम्पनी अरामको बजार मूल्य शुक्रबार १.७५९ ट्रिलियन डलर थियो ।

स्मरण रहोस् गत जून महिनामा एप्पलको बजार मूल्य पहिलोपटक १.५ ट्रिलियन डलर पुगेको थियो । शेयर मूल्यमा आएको पछिल्लो उछालसँगै एप्पलको बजार मूल्य १.७८६ ट्रिलियन डलर भएसँगै अरामलाई पछि पारेको हो ।

एप्पल कम्पनीको हालै सार्वजनिक रिपोर्ट अनुसार सन् २०२० को तेश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ११ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७० करोड डलर पुगेको छ । त्यसमध्ये कम्पनीको मुनाफा मात्रै ११ अर्ब २५ करोड डलर रहेको छ ।

विश्वमा कोरोना भाइरस महामारी चलिरहेको बेला एप्पलका सबै सामानहरुको बिक्रीमा गिरावट विज्ञहरुको प्रक्षेपण विपरीत यस अवधिमा आइप्याड तथा म्याकको बिक्री ह्वात्तै बढेको छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/08/886316

नयाँ कम्पनी थपिएपछि बीमा बजारमा बढ्यो प्रतिष्पर्धा

१७ साउन, काठमाडौं । नेपाली बीमा इतिहास ७ दशक लामो भए पनि बीमाको पहुँच भने अझै पनि धेरै नागरिकमा पुगन सकेको छैन । पछिल्लो समय भने बीमाको दायरा विस्तार हुँदै गएको बीमा क्षेत्रको नियामक निकाय बीमा समिति बताउँछ ।

२ वर्ष अघिसम्म बीमाको पहुँच ७ प्रतिशत नागरिकमा मात्रै सीमित थियो । अहिले २७ प्रतिशत नागरिक (वैदेशिक रोजगार समेत) बीमाको दायरामा आएको समितिले बताउँछ । बीमाको पहुँच यसरी विस्तार हुनुमा नयाँ बीमा कम्पनीहरुको पनि राम्रो योगदान देखिएको छ ।

वर्षौदेखि बीमा बजारमा राज गरिरहेका बीमा कम्पनीहरुलाई डेढ वर्षअघि स्थापना भएका कम्पनीहरुले टक्कर दिएका छन् । चिरञ्जीवि चापागाईं बीमा समितिको अध्यक्षमा नियुक्त भएपछि १० वटा नयाँ बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएका थिए ।

आवश्यकता नभए पछि लाइसेन्स बाँडेको भन्दै अध्यक्ष चापागाईंको आलोचना समेत भएको थियो । तर, सञ्चालनको २ वर्ष नपुग्र्दै नयाँ बीमा कम्पनीहरुको ‘परफरमेन्स’ धेरै राम्रो देखिएको छ ।

वर्षौंदेखि सञ्चालनमा रहेका केहि कम्पनीलाई पनि कतिपय नयाँ कम्पनीहरुले बीमा शुल्क आर्जनमा टपेका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा १९ बीमा कम्पनीहरुले ९४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यसमा नयाँ थपिएका बीमा कम्पनीहरुको योगदान १५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । उता सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमक संघका अध्यक्ष भन्छन्- कडा प्रतिष्पर्धा

जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे अहिले कम्पनीहरुबीच संगिन प्रतिष्पर्धा चलेको बताउँछन् ।

अध्यक्ष पाण्डेले नयाँ बीमा कम्पनी थपिएपछि प्रतिपर्धा पनि बढाएको बताए । उनले नयाँ कम्पनीका कारण पुराना कम्पनीहरुमा चुनौतीहरु पनि थपिएको बताए । समग्रमा भने यसले राम्रै प्रभाव परेको उनले बताए ।

‘दायरा पनि बढेको छ, गाउँ-गाउँमा बीमाको पहुँच पुगेको छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘संख्या थपिएपछि प्रतिष्पर्धा त हुने नै भयो पहुँच पनि बढेकाले समग्रमा राम्रै छ ।’ कोभिड-१९को त्रासका बिच अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले व्यवसाय बढेको भन्दै उनले खुसी व्यक्त गरे ।

‘लकडाउनले गर्दा ३ महिना तनावपूर्ण रहृयो, समग्र अर्थतन्त्रमा प्रभाव परेकोले यसलाई स्वभाविक मान्नु परो, बीमा पनि अर्थतन्त्रकै पाटो भयो’ उनले भने, ‘नयाँ बिजनेस राम्रो देखियो, ३० प्रतिशत हाराहारीमा वृद्धि हुनु राम्रो कुरा हो ।’

नियामक निकाय खुसी

बीमा कम्पनीहरुको प्रगति देखेर नियामक भने खुसी छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले पछिल्लो समय बीमा कम्पनीहरुले गाउँ-गाउँमा पुगेर सेवा दिएको कारण राम्रो नतिजा आएको भन्दै खसी व्यक्त गरे ।

उनले बीमामा भारत र चीनकै हाराहारीमा पुगेको भन्दै बीमा कम्पनीहरुका सीईओ र कर्मचारीहरुलाई धन्यवाद दिए । ‘नयाँ कम्पनीलाई धेरै चुनौती थियो, ंअहिले धेरै राम्रो भएको छ भने हामी चीन र भारतको लेभलमा पुग्यौं’ अध्यक्ष चापागाईंले भने, ‘कुल ग्राहस्थ उत्पादनमा हाम्रो योगदान ३.५ प्रतिशत पुगेको छ, भारतमा पनि ३.५ छ चीनको ४.५ छ, कभरेजको हिसाबले पनि करिब उस्तै उस्तै छ ।’

नयाँ कम्पनीहरुलाई लाइसेन्स दिनु अद्धि पुँजी पनि सानो भएको र कम्पनी पनि विश्वास कम हुनुका साथै कम्पनीहरु सहर केन्दि्रत रहेको उनले बताए । आफू अध्यक्ष भएपछि पुँजी वृद्धि र लाइसेन्स दिने निर्णयसँगै भएका कारण यसको राम्रो प्रभाव परेको उनले बताए ।

बीमाको पहुँच राम्रो बढ्नुको परिणाम भने नियामक निकाय र कम्पनीहरुको सक्रियता भएको उनले बताए । अहिले गाउँ-गाउँमा पुगेको भन्दै उनले रेमिट्यान्सको पनि बीमामा सदुपयोग भएको अध्यक्ष चापागाईंको बुझाई छ ।

‘रेमिट्यान्स घरघरमा आउँथ्यो, तर यो बीमामा पुगेको थिएन, हामीले स्थानीय सरकारसँग बीमा समिति भनेर अभियान नै चलायौं’ उनले भने, ‘अर्को भनेको अभिकर्ताहरु आन्दोलनमा थिए । हामीले त्यो विवाद समाधान गर्यौं, त्यसपछि बीमा अभिकर्ता प्रोत्साहित भएर गाउँ-गाउँ पुगे, यसको नतिजा राम्रो देखियो ।’



source https://www.onlinekhabar.com/2020/08/886257

सभामुखको अगुवा गाडीका चालक प्रहरीमा कोरोना संक्रमण

१७ असार, काठमाडौं । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।



source https://www.onlinekhabar.com/2020/08/886255

Friday, 31 July 2020

अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने पक्राउ

१७ साउन, तनहुँ । प्रहरीको साइबर ब्यूरोले अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/08/886252

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More