Saturday, 30 January 2021

पुलको काम २५ प्रतिशत सकिएपछि मुख्यमन्त्रीद्वारा शिलान्यास

१८ माघ, बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् ।

२५ प्रतिशत काम भइसकेको पुल शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको भद्र अवज्ञा र विरोध गरेको छ ।

प्रचण्ड–माधव समूहको विरोधका कारण शनिबारको शिलान्यास कार्यक्रममा नगण्य उपस्थिति हुन पुग्यो । सुरक्षाकर्मीसहित करिब सय जना हाराहारीमा मात्रै ओली पक्षका कार्यकर्ता र स्थानीयको उपस्थिति हुँदा शिलान्याश कार्यक्रम खल्लो भएको स्थानीय पत्रकार मानसिंह विकले बताए ।

‘भ्रम छर्न बेमौसमको नाटक’

नेकपा रोल्पा जिल्ला अध्यक्ष (प्रचण्ड–माधव समूह) सुरेन्द्र घर्तीले दुई वटा पिल्लर तयार भएको र अर्को पिल्लर बनिरहेको अवस्थामा तीन महिना पछि पुलको शिलान्याश गर्नु जनतामा भ्रम छर्ने बेमौसमको नाटकको संज्ञा दिए । ‘अहिले न शिलान्याश न उद्घाटनको समय हो,’ घर्तीले भने, ‘विकास देखाएर जनतामा भ्रम छर्ने ओली गुटको बेमौसमको तमासा र नाटक मात्र हो ।’

रोल्पाको धाङसी खोला पुल

रोल्पा नगरपालिकामा ओली समूहलाई समर्थन गर्ने मान्छे नभएपछि होलेरी र त्रिवेणी गाउँपालिकाबाट बसमा मान्छे ओसारेर शिलान्याश र गुटको भेला गरिएको घर्तीको टिप्पणी छ । प्रदेश सरकारमा एकै ठाउँ भएकाले कार्यक्रमको भद्र अवज्ञा गरिएको उनले बताए । जिल्लाका १० स्थानीय तहमध्ये ७ तहका जनप्रतिनिधि प्रचण्ड–माधव समूहमा भए पनि रोल्पाका मेयर र जिल्ला समन्वय समिति संयोजकलाई मात्रै शिलान्याशमा पठाइएको अध्यक्ष घर्तीले जानकारी दिए ।

पुल शिलान्यासका क्रममा मुख्यमन्त्री पोखरेलले समय नमिलेका कारणले शिलान्यासमा ढिलाइ भएको बताए । ‘यो पुल शिलान्यास पहिलै नै गर्नुपर्ने हो, तर हाम्रो समय मिलेन,’ मुख्यमन्त्रीले भने, ‘प्रदेश सरकारका ठूला आयोजनाको अनिवार्य शिलान्यास गर्नुपर्ने नियम छ, त्यसैले ढिलै भएपनि शिलान्यास गरेको हो ।’ सधैं विद्रोही मानसिकताले गर्दा जिल्लाको विकास पछाडि परेको भन्दै उनले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरे ।

पुल शिलान्यासका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी शुक्रबार साँझ नै रोल्पाको लिवाङ पुगेका थिए ।

सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभी बीच गत असोज २५ गते सम्झौता भई मंसिर ७ गतेदेखि पुल निर्माणको काम शुरु भएको थियो ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख नविनकुमार श्रेष्ठले ६० मिटर लामो पुल निर्माण कार्य तीन महिनादेखि नियमितरुपमा भइरहेको र २ वर्ष अगावै सम्पन्न हुने बताए । पुल निर्माण कम्पनी एसियाटिक/राज जेभीका राजवीर घर्तीले करिव २५ प्रतिशत काम सम्पन्नसँगै १ करोड २३ लाख र सोको भ्याट १५ लाख ९९ हजार भुक्तानी लिएको बताए । पुल निर्माणको लागत भ्याटसहित ५ करोड ६१ लाख हो ।

पुल शिलान्याश गरेपछि मुख्यमन्त्री पोखरेलसहित ओली समूहका नेताहरु सदरमुकाम लिवाङस्थित रोल्पा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ओली पक्षको कार्यकर्ता भेलामा प्रशिक्षणका लागि सहभागी भएका थिए ।

 



source https://www.onlinekhabar.com/2021/01/927812

एसीसीको अध्यक्षमा भारतका जय शाह, प्याकुरेल डेभलपमेन्ट कमिटीमा

१८ माघ, काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्षमा भारतका जय शाह मनोनित भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव समेत रहेका जय शाह एसीसीको नयाँ अध्यक्ष नियक्त भएको एसीसीले जनाएको छ ।

साथै उनी उक्त पदमा पुग्ने सबैभन्दा कम उमेरका समेत भएको एसीसीले जनाएको छ ।

नेपाल क्रिकेट संघले शाहको सफल कार्यकालको लागि शुभकामना समेत दिएको छ ।

यस्तै क्यानका सचिव अशोकनाथ प्याकुरेल एसीसीको डेभलपमेन्ट कमिटीको सदस्यमा निर्वाचित भएका छन् ।



source https://www.onlinekhabar.com/2021/01/927807

वितरण योग्य मुनाफामा नबिल पहिलो, दोस्रो नम्बरमा उक्लियो एनएमबि

१७ माघ, काठमाडौं । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको हो । दोस्रोमा भने एनएमबि बैंक देखिएको छ ।

नविल बाहेकका सबै बैंकहरलाई पछि पार्दै एनएमबि बैंक वितरण योग्य मूनाफाका आधारमा दोस्रो नम्बरमा पुगेको हो । दोस्रो त्रैमासम्म नविल बैंकको १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ भन्दा धेरै वितरण योग्य मूनाफा देखिएको छ । नविलको अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४५ करोड रुपैयाँमात्रै वितरण योग्य मुनाफा थियो ।

यस अवधीमा दोस्रो बनेको एनएबि बैंकको एक अर्ब ५० करोड ९६ लाख ९० हजार रुपैयाँ वितरण योग्य मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबिको १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । वितरण योग्य मूनाफामा एनआईशी एशिया, ग्लोबल आईएमई बैंक लगायतलाई एनएमबिले उछिनेको छ ।

वितरण योग्य मूनाफा धेरै कमाउने तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक देखिएको छ । खुद मूनाफामा सबै भन्दा अगाडि देखिएको ग्लोबल आइएमई बैंकले वितरण योग्य मूनाफा भने ६ महिनामा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी चौथोमा प्राइम कमर्सीयल बैंक, पाँचौमा प्रभु बैंक र छैठौंमा सानिमा बैंकको वितरण योग्य मूनाफा धेरै देखिएको छ । यि बैंकहरुको क्रमशः १ अर्ब २६ करोड ४२ लाख, ९९ करोड ९८ हजार र ८९ करोड २६ हजार रुपैयाँ वितरण योग्य मूनाफा देखिएको छ ।

खासगरी वितरण योग्य मूनाफा सेयर लगानीकर्ताहरुका लागि महत्वपूर्ण हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल सेयरमा लगानीक गर्नका लागि वितरण योग्य मूनाफाको विशेष अर्थ रहेको बताउछन् ।

यो बढ्दा लगानीकर्तालाई राम्रो हुने र घट्दा लगानीकर्तालाई बेफाइदा हुने उनले बताए । कम्पनीको सेयर किन्न चाहाने वा लगानीकर्ताले अन्य वितरण योग्य मूनाफा कति छ भनेर हेर्नु पर्ने उनको सुझाव छ ।

अब हेरौँ कुन बैंकको वितरण योग्य मूनाफा कति :

 



source https://www.onlinekhabar.com/2021/01/927809

दुवै मिलान क्लब विजयी, युभेन्ट्स तेस्रो स्थानमा उक्लियो

१८ माघ, काठमाडौं । इटालियन सिरी ए मा ठूला क्लबहरु एसी मिलान, इन्टर मिलान र युभेन्ट्स विजयी भएका छन् ।

लिग लिडर एसी मिलानले बोलोग्नालाई उसैको मैदानमा २-१ ले हरायो । एन्टे रेबिकको गोलमा एसी मिलानले पहिलो हाफमै अग्रता लिएको थियो ।  खेलको २६औं मिनेटमा प्राप्त पेनाल्टीमा ज्लाटन इब्राहिमोभिचको प्रहार गोलकिपर लुका सोप्स्कीले बचाए पनि पूर्ण क्लियर गर्न नसकेको बलमा रेबिकले गोल गरे ।

५५औं मिनेटमा अर्को पेनाल्टी पाउँदा फ्रांक केसीले गोल गर्दा मिलानको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा आन्द्रे पोलीले बोलोग्नाका लागि सान्त्वना गोल फर्काए । जितपछि मिलानले २० खेलबाट ४६ अंक जोडेको छ ।

यस्तै रोमेलु लुकाकको दुई गोल मद्दतमा दोस्रो स्थानमा रहेको इन्टरले बेनेभन्टोलाई ४-० ले पराजित गर्‍यो । लुकाकुले ६७औं र ७९ मिनेटमा गोल गरे । यस्तै लाउटारो मार्टिनेजले ५७औं मिनेटमा गोल गरे । बेभेनभेन्टोका रिकार्डो एमप्रोटाले एक आत्मघाती गोल उपहार दिए ।

जितपछि इन्टरको २० खेलबाट ४४ अंक छ ।

साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । युभेन्ट्का लागि २०औं मिनटमा फेडेरिको चिएसा र इन्जुरी टाइममा आन राम्सेले गोल गरे ।

जितपछि १९ खेलबाट ३९ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको एसी मिलानभन्दा युभेन्ट्स अझै ७ अंकले पछि छ तर एक खेल कम खेलेको छ ।



source https://www.onlinekhabar.com/2021/01/927803

प्रतिगमनको मतियार नबन्न भन्दै स्थानीय सरकारलाई ज्ञापनपत्र

१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् ।

प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अनेरास्ववियूले स्थानीय तहमा बुझाउन तयार पारिएको ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली  आयोजना गर्न थालेको छ । यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं ।’

अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्न र जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न पनि अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको छ ।

स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको छ ।

अनेरास्ववियूको प्रचण्ड–माधव समूह संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनमा छ । यस चरणमा उसले बालुवाटारमा धर्ना दिने, सरकारी गाडी चल्न दिने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

अनेरास्ववियूले स्थानीय तहमा बुझाएको ज्ञापन पत्र



source https://www.onlinekhabar.com/2021/01/927801

रियल मड्रिड घरेलु मैदानमै लेभान्टेसँग पराजित, एट्लेटिकोलाई फाइदा

१८ माघ, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । खेलको नवौं मिनेटमै दश खेलाडीमा समेटिएको रियल  घरेलु मैदानमै २-१ ले पराजित भएको हो ।

एक खेलाडि कम हुनका बाबजुद पनि रियलले सुरुवाती अग्रता लिएको थियो तर जोगाउन सकेन । लेभान्टेले भने पुनरागमन गर्दै जित हात पार्‍यो ।

नवौं मिनेटमा रियलका एडर मिलिटाओ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । तर १३औं मिनेटमा मार्को असेस्नियोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा जोस लुइस मोरालेसले लेभान्टेका लागि बराबरी गोल फर्काए ।

६४औं मिनेटमा लेभान्टेले अग्रता बनाउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । रोजरको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्तवाले बचाए ।

तर उनै रोजरले ७८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा लेभान्टेले ३ अंक जोड्यो । जितपछि २० खेलबाट २६ अंक जोड्दै लेभान्टे नवौं स्थानमा उक्लेको छ ।

उता रियल पराजित हुँदा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी कम पार्ने अवसर गुमायो । यसले लिग लिडर एट्लेटिकोलाई फाइदा पुगेको छ । एट्लेटिकोले अहिले ७ अंकको अग्रता बनाइरहको छ र अझै रियलभन्दा २ खेल कम खेलेको छ । १८ खेलबाट एट्लेटिकोको ४७ अंक छ भने २० खेल खेलिसकेको रियलको ४० अंक छ ।

१९ खेल खेलेको बार्सिलोना ३७ अंकसहित चौथो स्थानमा छ र आज राति एथ्लेटिक बिल्वाओलाई पराजित गरे रियलसँग अंक बराबरी गर्ने अवसर छ ।

उता आइबरलाई २-० ले पराजित गर्दै सेभिया तेस्रो स्थानमा उक्लेको छ । २० खेलबाट सेभियाको ३९ अंक छ ।



source https://www.onlinekhabar.com/2021/01/927799

नक्कली नेपाली नोटसहित २ जना पक्राउ

१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।

यसअघि गत मंसिरमा कञ्चनपुरबाटै नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस नक्कली नोट कसरी चिन्ने ? यस्तो छ राष्ट्र बैंकको टिप्स

source https://www.onlinekhabar.com/2021/01/927794

म्यानचेष्टर सिटी विजयी, युनाइटेड र आर्सनलले अंक बाँडे

१८ माघ काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले जित हात पार्दा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । युनाइटेडले आर्सनलसँग बराबरी खेलेपछि सिटीले ३ अंकको अग्रता समेत बनाएको छ ।

शनिबार भएको खेलमा सिटीले सिटीले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्‍यो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रिएल जेससले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

अर्को खेलमा युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

सिटी २० खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा छ । २१ खेल खेलेको युनाइटेड ४१ अंकसहित दोस्रो स्थानमा छ । २१ खेलबाट ३१ अंक जोडेको आर्सनल चेल्सीलाई पछि पार्द नवौं स्थानमा उक्लेको छ ।

उता सातौं स्थानको एभरटन घरेलु मैदानमै न्युकासलसँग २-० ले पराजित भएको छ । एभरटनको १९ खेलबाट ३३ अंक छ । जितपछि २२ अंक जोडेको न्यूकासल १६औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/01/927795

काठमाडौंका दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

१८ माघ, काठमाडौं । काठमाडौंका दुई स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकमा र नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।

हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । बरालको ट्रमा सेन्टरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किएको थियो । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुनमायाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई गोंगबु प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927793

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८ माघ, धनगढी । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् ।

म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927792

मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकको सुझाव

१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।

बर्डफ्लुको संक्रमण भएमा निमोनिया/रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ ।

यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927791

टिम गेम खेल्दा उपाधि सम्भव भयो : विनोद भण्डारी

१८ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अघि एपीएफ अपराजित थियो । अर्कोतर्फ आर्मी समूह चरणमा एपीएफसँग मात्र हारेको थियो ।

यसअघिको दुई संस्करणमा आर्मी फाइनल पुग्दै पराजित भएको थियो । आर्मीले त्यही एपीएफलाई फाइनलमा हराउँदै चौथो संस्करणको उपाधि त जित्यो नै  आर्मीले एपीएफसँग यसअघिको फाइनलको हार र यस पटकको समूह चरणको हारको बदला समेत लियो ।

पहिलो पटक एकल रुपमा ट्रफी उचाल्न पाउँदा आर्मीका कप्तान विनोद भण्डारी खुशी देखिन्थे । सोमपाल कामी, करण केसी र कुशल मल्ल गरी तीन खेलाडी नहुँदा समेत आर्मीले उपाधि जित्न सफल भएकोमा विनोद दंग थिए ।

तर त्यसका लागि आर्मीले मेहनत भने गरेको थियो । उनै विनोदले सबै खेलाडीले राम्रो खेलेको र टिम इफोर्टले गर्दा नै उपाधि सम्भव भएको बताए । उनले यस पटक कुनै एक खेलाडीमा निर्भर भएर नखेलेको बताए ।

‘जित्न पाएपछि ट्रफी उठाउँदा जो पनि खुशी हुन्छ । भित्र के भयो कसैले सोचेको छैन । जित भनेपछि सबैले त्यसैमा खुशी मनाइरहेका छन्,’ विनोदले ट्रफी उचालेपछि भने ।

‘पहिलादेखि हेर्ने हो भने बेस्ट बलर, ब्याट्सम्यान म्यान अफ दि सिरिज हाम्रो टिमको हुन्थ्यो । अहिले छैन किनकी टिमले काम गरिराछ । कोही एकमा भर परेको छैन त्यसले गर्दा पनि सलिजो भाको हो,’ विनोदले भने, ‘तीन जना भाको भए यस्तो सोच्नु पर्थेन हामी ढुक्क भएर खेल्थ्यौँ ।’

उनले तीन खेलाडी नहुँदा शंका भने भइरहेको बताए । ‘फस्टमा ब्याटिङ गर्दा प्रेसर थियो । तीन जना मुख्य खेलाडी थिएन हामीसँग । त्यसले गर्दा टिम कतिखेर पस्छ भन्ने हामीलाई शंका थियो,’ विनोदले भने, ‘त्यसले गर्दा भारीलाई विकेट नदिए पनि टिकेर बस भनेर पठाएको थियँ । लगभग उसले आफ्नो काम गर्‍यो त्यसपछि लगातार विकेट जाँदा फेरि प्रेसर आइसकेको थियो । अनि हरीले एक साइडबाट खेलेपछि सजिलो भयो । पछि फिनिस खासै सोचेजस्तो भएन ।  २४० रन बन्छ कि जस्तो लाथ्यो,’ विनोदले खेलबारे भने ।

उनले एपीएफको पनि विकेट जाने पार्टनरसिप बन्ने जस्तो भइरहेको अवस्थामा रन बन्न गाह्रो हुने थाहा भएर त्यही अनुसार खेलेको बताए ।

‘एपीएफको २ विकेट चाँडै गएपछि पार्टनरसिप भयो । हामीलाई थाहा थियो रन बन्न गाह्रो छ । त्यसैले जतिसक्दो राम्रो बलिङ गर्ने सोचेका थियौँ  । १०-१५ रन बनाउन नि गाह्रो हुन्छ भन्ने थाहा थियो । हामी आज फाइनल हो भन्दै बोल्दै कराउ खेलिराथ्यौँ । जोराको विकेटले सहयोग भयो । जोराको विकेट पाएपछि हामीमाथि भयौँ ।’

फाइनलमा आर्मीले राम्रो खेलेर जितेको की एपीएफले नराम्रो खेलेको भन्ने प्रश्नमा विनोदले दुवैले नराम्रो खेलेको तर गल्ती कम गर्नेले जितेको जवाफ दिए ।

उनले भने, ‘हेर्ने हो भने दुवैले नराम्रो खेलेको हो । कसले बढी मिस्टेक गर्‍यो र हार्यो भन्ने हो । कम मिस्टेक गर्नेले जित्यो । राम्रो खेलेको होइन हामीहरुले । २४० भन्दा मथि रन बन्ने सोचिराथ्यौँ । तर २१२ को टार्गेट हुँदा पनि पाइट गर्नुपर्छ भनेर सोचिराथ्यौँ ।’

‘हामीले पाँचौ बलर धेरै प्रयोग गरेनौँ जम्मा ४ ओभर मात्र गरेनौँ । पाँचौ प्रयोग गर्ने कि के गर्ने भइराथ्यो त्यसले गर्दा विकेट आइराथ्यो, के गर्ने के गर्ने भइराथ्यो खासमा हामीले बीचमा धेरै छलफल गरिरहेका थियौँ,’ विनोदले भने ।

फाइनलको जित रिभेन्ज हो भन्ने प्रश्नमा विनोदले भने, ‘विभागबाट खेल्दा सबैमा सोचाइ हुन्छ राम्रो खेल्ने । तर सबैसँगै खेलिराको खेलाडी हो । एकातर्फ हाँसिमजाक भइराको हुन्छ । अर्को तर्फ जित्नुपर्छ भन्ने हुन्छ । तर लिगमा हारेर सेमिफाइनल फाइनलमा खासै केही हुन्न ।’

राम्रो ब्याटिङ गरिरहेको आसिफको विकेट गएपछि एपीएफलाई प्रेसर भएको बताए । ‘आसिफ राम्रो खेलिरहेको थियो । विकेट गएपछि प्रेसर बन्यो । उसको विकेट आइपछि सजिलो पनि भयो ।’

आर्मीले राम्रो खेल्यो : भेषावकर

उता फाइनलमा पराजित भएपछि निराश देखिएका एपीएफका कप्तान शरद भेषावकरले आर्मीले राम्रो खेलेकाले जितको हकदार रहेको बताए । ‘हाम्रो गेम राम्रो भएन आज । सोचेजस्तो खेल्न सकेनौँ । ५० ओभर खेल्न सकेनौँ,’ शरदले भने, ‘सेमिफाइनका मिस्टेकहरु दोहोरियो । उनीहरुले २०-३० रन धेरै बनाएको पनि हो ।’

शरदले गेम हातमा हुँदा अनि अनुभवको कमी देखिएकाले गुमाउन पुगेको बताए । ‘अलिकति अनुभवको कमी देखियो । ५० ओभर खेल्या भए गेम हातमै थियो । सेट ब्याट्सम्यान आउट हुन पुग्यो । त्यो पनि ब्याडलक भयो,’ उनले भने ।

शरदले आर्मीले राम्रो खेलेको बताए । ‘उनीहरु जित्न लायक टिम थियो । मिस्टेक पनि कम गर्‍यो । ब्याटिङमा पनि राम्रो गर्‍यो किनकी बिहान ब्याटिङ गर्न गाह्रो थियो । क्रेडिट उनीहरुलाई जान्छ,’ शरदले भने ।

शरदले धेरै समयपछि क्रिकेट खेल्न पाएको र ओभरअल राम्रो भएको बताए । ‘क्यानलाई पनि धन्यवाद कोभिडको बेलामा पनि टुर्नामेन्ट खेल्न पायौँ र धेरै पछि नयाँ खेलाडीहरु आए, ‘ शरदले भने, ‘सबै खेलाडीहरु खुशी छन् । ट्राई सिरिजअघि यो राम्रो भएको छ ।’

यस्तै विनोदले प्रतियोगिता हुँदा नयाँ खेलाडी आउने बताए । ‘खेल हुनु भनेको खेलाडी आउनु हो,’ भण्डारीले भने, ‘काठमाडौंमा देखिँदैन । तर हरेक क्रिकेट खेलाडीले आफ्नो ठाउँमा मेहनत गरिरहेको छ । खेल नहुँदा कता देखाउने भन्ने हुन्छ । खेल हुँदा मौका पाउने हो । अहिले त्यही भएको हो ।’ उनले नयाँ खेलाडीको आगमनले पुराना खेलाडीलाई समेत मेहनेत गर्न प्रेरित गर्ने बताए ।



source https://www.onlinekhabar.com/2021/01/927783

युएईले विदेशी नागरिकलाई नागरिकता दिने

१८ माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।

युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने छ । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् ।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमले बताएका छन् ।

अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसार यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् ।

युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने बीबीसीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927781

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More