Monday, 1 February 2021

आङ साङ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्रा

२० माघ, काठमाडौं । म्यानमारमा सोमबार ‘कू’ गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पनि सेनाले हिरासतमा लिएको छ । यससँगै अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाको विरोध गरिरहेका छन् ।

यहाँ उनै प्रजातन्त्रवादी नेतृ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्राबारे वर्णन गरिएको छ –

आङ साङ सुकीको जन्म सन् १९४५ मा म्यानमारको याङ्गोनमा भएको हो । उनको जन्म भएको दुई वर्षपछि सन् १९४७ मा उनका पिताको हत्या भयो । उनी बि्रटिश बर्माका डिफ्याक्टो प्रधानमन्त्री थिए । सन् १९६० मा उनकी आमा खिन की भारतको लागि राजदूत नियुक्त भइन् । सुकीले माध्यमिक तहको पढाइ भारतमा गरिन् । त्यसपछि अक्सफोर्ड युनिभर्सिटीबाट उनले मनोविज्ञान, राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । सन् १९६७ मा उनले ब्याचलरको अध्ययन सकेकी थिइन् ।

उक्त अवधिमा उनको भेट माइकल अरिससँग भयो । उनी भुटानी अध्ययनका विज्ञ थिए । सन् १९७२ मा उनीहरुको विवाह भयो । अहिले उनीहरुका दुई सन्तान छन् । सुकीको परिवारले सन् १९७० र ८० को दशक बेलायत, अमेरिका र भारतमा बिताएको थियो ।

सन् १९८८ मा सुकी अन्तिम अवस्थामा पुगेकी आमाको हेरचाहको लागि म्यानमार फर्किएकी थिइन् । त्यसपछि उनको जीवनमा नाटकीय परिवर्तन आयो । सुकी म्यानमार फर्किँदा मुलुकमा तानाशाही सरकारविरुद्ध आन्दोलन भइरहेको थियो । सन् १९६२ मा ‘कू’ गरेपछि तानाशाह यू ने विनले सन् १९८८ मा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर, अझै पनि नरोकिएको आन्दोलन दबाउन उनले पर्दा पछाडि बसेर हिंसात्मक आक्रमणहरु गर्ने गरेका थिए ।

म्यानमार फर्किएसँगै सुकीले तानाशाही सरकारविरुद्ध सार्वजनिकरुपमा नै आवाज उठाउन थालिन् । साथै उनले प्रजातन्त्र र मानव अधिकारका मुद्दा उठाउन थालिन् ।

त्यसपछि सरकार चलाइरहेको मिलिट्री जन्ता (जसको नाम परिवर्तन गरी युनियन अफ म्यानमार बनाइएको थियो) को आँखामा पर्न उनलाई लामो समय लागेन । सुकीलाई घरमा नै नजरबन्दमा राखियो र उनको बाहिरी विश्वसँगको सम्पर्कमा पूर्णरुपमा प्रतिबन्ध लगाइयो ।

सेनाले सुकीलाई मुलुक छाड्ने भए स्वतन्त्र गरिदिने बताउँदै आए पनि सुकीले मुलुक छाड्न अस्वीकार गर्दै आइन् । उनले राजनीतिक बन्दीलाई रिहा र नागरिकलाई सत्ता नसुम्पेसम्म संघर्ष गरिरहने बताइन् । सन् १९९० मा निर्वाचन भयो र उक्त निर्वाचनमा सुकीको पार्टीले ८० प्रतिशत मत ल्यायो । तर, सेनाले त्यसलाई बेवास्ता गर्यो ।

सन् १९९५ मा सुकीलाई घरमा नै गरिएको नजरबन्द हटाइयो । त्यसको एक वर्षपछि उनी एनएलडी पार्टीको बैठकमा सहभागी बनिन् । त्यसको तीन वर्षपछि उनले मुलुक सञ्चालन गर्ने वैधानिक निकाय भन्दै एक समिति बनाइन् ।

यो पनि पढ्नुहोस के आङ साङ सुकीको लोकप्रियता घटेको हो ?

यससँगै सन् २००० मा उनी पुनः नजरबन्दमा परिन् । उनलाई सन् २००२ मा नजरबन्द मुक्त गरिएको थियो । सन् २००३ मा सरकारपक्ष र विरोधी पक्षबीच झडप भयो ।त्यसपछि उनी पुनः पक्राउ परिन् । उनीलाई घरमा नै नजरबन्दमा राखियो । त्यसपछि उनको नजरबन्द हरेक वर्ष नवीकरण गर्न थालिएको थियो ।

सन् २०१० मा भएको निर्वाचनमा विपक्षी पार्टीले सुकीलाई निर्वाचनमा उठ्न लगाएको प्रतिबन्धपछि बहिष्कारको घोषणा गरेको थियो । त्यसैले सत्तारुढ पार्टीले उक्त निर्वाचनमा जित हात पार्यो । निर्वाचन सकिएको ६ दिनपछि सुकी नजरबन्दबाट रिहा भइन् ।

सन् २०१३ मा सुकी पार्टीको नेतृ बनिन् । त्यसपछि सन् २०१५ मा म्यानमारमा अहिलेसम्मकै खुला मतदान भयो । जसमा सुकी पार्टीको नेतृत्वमा पुनः निर्वाचित भइन् । त्यसको एक साताभन्दा कम समयमा नै मुलुकमा भएको निर्वाचनमा उनको पार्टीले अत्यधिक बहुमतसहितको जित हात पार्‍यो ।

सन् २०१६ मा लामो समयदेखि सुकीको सल्लाहकार रहँदै आएका एचटिन किय म्यानमारको नयाँ राष्ट्रपति बनेका थिए । राष्ट्रपति बन्न सुकीलाई संवैधानिक प्रतिबन्ध रहेकाले राष्ट्रपतिमा कियलाई छनोट गरिएको थियो । सुकीलाई स्टेट काउन्सुलरको जिम्मेवारी दिइएको थियो ।

सन् २०१७ मा म्यानमारको रखाइनमा ठूलो हिंसा भड्किएको थियो । उक्त हिंसापछि सो क्षेत्रका ६ लाखभन्दा धेरै रोहिंग्या मुस्लिमहरु भागेर बंगलादेश पुगेका थिए । यो घटनापछि भने आङ साङ सुकीको छवि धुमिल हुन पुग्यो । उक्त हिंसामा सुकीले सेनाको साथ दिइन् । यो कदमको विश्वभर आलोचना भएको थियो । यो हिंसामा सेनाको साथ दिएपछि उनलाई दिइएको नोबेल शान्ति पुरस्कार पनि फिर्ता गरिएको थियो । उक्त हिंसाबारे उनले हेगमा स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

गत नोभेम्बरमा म्यानमारमा भएको निर्वाचनमा पनि सुकीकै पार्टीले अत्यधिक बहुमत पाएको थियो । तर, यो नतिजाबारे सेनाले भने आपत्ति जनाउँदै आएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको भन्दै नतिजा स्वीकार गर्न मानेको थिएन । यस विषयमा वार्ता चलिरहेको भए पनि निष्कर्ष ननिक्लिएपछि सोमबारबाट नयाँ संसद्ले आफ्नो काम सुरु गर्ने दिन नै सेनाले ‘कू’ गरेको हो ।



source https://www.onlinekhabar.com/2021/02/928297

सेनाको बख्तरबन्द गाडी सडकमा : नियमित अभ्यास कि मनोवैज्ञानिक सन्देश ?

२० माघ, काठमाडौं । सोमबार बिहानै म्यानमारमा सेनाले सत्ता कब्जा गरेको समाचार आयो । यसले धेरैलाई १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको निरङ्कुश कदमको झझल्को दियो ।

संयोग नै मान्नुपर्छ, राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको १६ वर्ष पुगेकै दिन म्यानमारमा सत्ता कब्जा भयो, नेताहरुलाई नियन्त्रण लिइयो, अनि टेलिफोन र विद्युतसमेत काटियो ।

घटना त्यत्तिमा मात्र सीमित रहेन, सोमबार बेलुका अबेर नेपाली सेनाले बख्तरबन्द गाडीबाट काठमाडौंको चक्रपथ परिक्रमा गर्‍यो । सेनाले बुधबार काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्दको अभ्यास गर्दैछ ।

नेपाली सेनाले आइतबार नै यसलाई नियमित अभ्यास भएको भने पनि जनता र वुद्धिजिवी वर्गले यसलाई सहजरुपमा लिन सकेका छैनन् ।

म्यानमारको घटना १९ माघमै हुनुलाई संयोगको रुपमा लिन सकिएला तर सेनाले आफ्नो नियमित अभ्यासका लागि माघ १९ नै किन छनौट गर्‍यो ? १९ माघको वर्षगाँठलाई दृष्टिगत गरेर उसले यसलाई केही दिन अघि-पछि सार्न पनि त सक्थ्यो ।

प्रजातान्त्रिक व्यवस्था र सामान्य अवस्थामा सेना ड्रेससहित सडकमा आउनुलाई पनि समाजमा निकै संशयका साथ हेरिन्छ । तर बख्तरबन्द गाडी नै सडकमा योजनावद्ध ढंगले निकालिएको घटनालाई नेपाली समाजले त्यति सहजरुपमा लिन सक्दैन । यति मात्र होइन, यतिबेला देशको राजनीति एकदमै तरल रहेको छ ।

आफूले भने अनुसारको फैसला आएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकालीन अवस्था घोषणा गरी सेना परिचालन गर्ने आशंका पनि राजनीतिक वृत्तमा बढिरहेका बेला सेनाको पछिल्लो अभ्यासले थप संशय पैदा गरेको छ ।

सामरिक मामिला विज्ञ गेजा शर्मा वाग्ले नेपाली सेनाले नियमित अभ्यास भनी स्पष्टीकरण दिए पनि म्यानमारको घटना, प्रतिनिधि सभा विघटनपछिको तरल राजनीतिक अवस्था र १९ माघको इतिहासले बख्तरबन्द सडकमा ल्याउनुलाई संयोगमात्र मान्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘प्रतिनिधि सभा विघटन गरेपछि संकटकालीन अवस्थासमेत घोषणा र नेपाली सेना परिचालन हुनसक्ने चर्चा र आशंका भइरहेको घडीमा सेनाले उपत्यका लगायत देशैभरी गर्न लागेको अभ्यासले अर्थपूर्ण मनोवैज्ञानिक सन्देश दिन चाहेको देखिन्छ ।’

उनले व्यवसायिक र राष्ट्रिय सेनाले नियमित अभ्यास गर्दा जुन तहको आशंका सिर्जना भएको छ यसले सेनाको व्यवसायिक छविप्रति जनता र वौद्धिक समुदाय विश्वस्त हुन नसकेको देखिने बताए । वाग्लेले भने, ‘विकसित राजनीतिक घटनाक्रममा सेनाले मनोवैज्ञानिक सांकेतिक सन्देश दिन चाहेको देखिन्छ, जुन अर्थपूर्ण छ ।’



source https://www.onlinekhabar.com/2021/02/928292

प्रचण्ड-माधव समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाँदै

२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली पक्षले पनि केन्द्रीय कमिटी विस्तार गरेको थियो ।

दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928289

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो ।

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।



source https://www.onlinekhabar.com/2021/02/928288

माघमै २ कम्पनीको आईपीओ निष्कासन हुँदै, कतिसम्म दिने आवेदन ?

२० माघ, काठमाडौं । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । एउटा जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन हुने भएको हो ।

आगामी शुक्रबारदेखि नै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ ।
ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।

उक्त सेयर निष्कासन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर-एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ ।

यस साधारण सेयर निष्कासन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो । आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्यसहित २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ ।

साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ ।

उक्त कम्पनीले सामूहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाँट भइसकेको छ । रु. २ अर्ब ५० करोड अधिकृत पुँजी रहेको उक्त कम्पनीको यस निष्कासन पश्चात् चुक्ता पुँजी रु. १ अर्ब ८० करोड रहनेछ ।

हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ । यसले गर्दा इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकिएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सकिनेछ ।

त्यसपछि भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

दुवै कम्पनीको न्युनतम १० कित्तादेखि आवेदन दिन सकिने छ । पछिल्लो समय आईपीओ आवेदन दिनेहरुको संख्या निकै बढेकाले १० कित्ता भागमा पर्न पनि गोला प्रथाकै भर पर्नु पर्ने पक्का छ ।



source https://www.onlinekhabar.com/2021/02/928287

सेनाका बख्तरबन्ध भोलि पनि सडकमा निस्किने, काठमाडौंबाट पाँचखालसम्म पुग्ने

२० माघ, काठमाडौं । माघ १९ को राति बख्तरबन्ध गाडीले चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्ध गाडीको अभ्यास गर्ने भएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ । यसैक्रममा बुधबार दिउँसो काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्ध गाडीको अभ्यास हुने उनले बताए ।

सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो ।

नेपाली सेनाले लामो समयदेखि बख्तरबन्ध गाडी सडकमा निकालेको थिएन । तर एक्कासी माघ १९ गतेको राति काठमाडौंको चक्रपथमा बख्तरबन्ध गाडीको लस्कर देखेपछि चासो र चर्चा सुरु भएको छ ।

नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भनेका छन् । तर कतिपयले भने प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्ध गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको बताएका छन् ।



source https://www.onlinekhabar.com/2021/02/928285

मेलम्चीको सुरुङ परीक्षण अझै टुङ्गो लागेन

२० माघ, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन ।

सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ ।

आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ ।

आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ-छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए । उनले भने, ‘समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।’

इटालियन कम्पनीले छिट्टै अन्तिम प्रतिवेदन बुझाउने भनेकाले लामो समय नलाग्ने सूचना अधिकारी पन्तले बताए । कम्पनीले यसअघि दिएको प्रतिवेदनमा साना-तिना सुधार गर्नुपर्ने भए पनि ठूलो समस्या नभएको जनाएको थियो ।

साना किसिमका समस्या देखिएमा त्यसलाई सुधारेर पुनःपरीक्षणमा जान समय नलाग्ने उनको भनाइ छ । उनले भने, ‘अरु सबै किसिमको तयारी भइसकेकाले यही महिनामा नै परीक्षण गर्न सकिनेछ ।’

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरेको थियो ।

सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गरेको हो । पहिले परीक्षण हुँदा पनि इटालियनविज्ञ प्रतिनिधि ल्याइएकामा पुनः परीक्षण पहिले पनि परीक्षणका लागि पनि पुनः अर्को टोली आएको छ ।

सुरुङमा पानी परीक्षणका लागि पठाउनु पहिले चार द्वारमा सुधार गरिएको आयोजनाले जनाएको छ । द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो ।

फ्रेमलाई कङ्क्रिट राखेर केही दिनसम्म हेरिएको सूचना अधिकारी पन्तले बताए । सुरुङ परीक्षणका लागि पानी भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ ।

सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए/नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ । सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायीरूपमा पानी पठाइन्छ । उनले भने, ‘दुई महिना यो प्रक्रियाका लागि लाग्छ ।’

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण  सुरु हुनेछ । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयले जनाएको छ ।

यसअघि सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दबाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

सो दुर्घटनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतिश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी द्वार निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरूले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो ।

आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।

केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक-पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक गत असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले समय धकेलिएको छ ।



source https://www.onlinekhabar.com/2021/02/928283

बिहीबारदेखि ३ दिन वर्षा र हिमपात, त्यसपछि गर्मी सुरु हुने

२० माघ, काठमाडौं । आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ ।

मौसमविद शान्ति कँडेलले भनिन्, ‘मौसम हो अपडेट भइराख्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ ।’

‘तराईको हुस्सु कुहिरो पनि हट्छ’

मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन् । यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । ‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन् ।

घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/02/928282

न्यू होराइजनकी सुम्निमाको जीपीए ४

२० माघ, बुटवल । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् ।

देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।

सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताए ।

जीपीए ४ अंक हासिल भएकाले उनी नेपाल प्रथम भएको विद्यालयको दाबी छ । उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् ।

विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका खनालले बताए ।



source https://www.onlinekhabar.com/2021/02/928276

म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् ।

म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकाल घोषणा गरेको छ ।

म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् ।

म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।



source https://www.onlinekhabar.com/2021/02/928275

बेँसीशहर-चामे सडक आजदेखि ३ दिन बन्द हुने

१९ माघ, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर-चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ ।

लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज मङ्गलबार बिहान १० :०० बजेदेखि बिहीबार राति १० : ०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका- ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।

उनले भने, ‘डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयबाट प्रशासनलाई उक्त सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाएर निर्माण कार्य अगाडि बढाउन र सहज बनाउन अनुरोध गरेसँगै निर्माण कार्यलाई मध्यनजर गर्दै उक्त समय बन्द गर्न लागेका हौं ।’

डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयका इन्जिनीयर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पीसीसी) कार्य गरिने भएको छ । नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै विसं २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928274

चौदण्डीगढीको पोष्टमा एपीएफको २२ गोल, सावित्रा एक्लैले गरिन् १२ गोल

२० माघ,काठमाडौं । विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० ले पराजित गरेको छ । सावित्रा भण्डारी एक्लैले १२ गोल गरेपछि एपीएफले फराकिलो जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् ।

यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुले एक एक गोल गरिन् ।

एपीएफले पहिलो हाफमा १२ र दोस्रो हाफमा १० गोल गरेको थियो । यस लिगमा यो अहिलेसम्मको सर्वाधिक गोल र फराकिलो जित अन्तर भएको खेल हो ।

डबल राउण्ड रोविन लिगमा सिंगल लिगका ६ वटै खेल खेलिसकेको लिग लिडर एपीएफले लगातार ६ खेल जित जित्दै १८ अंक जोडेको छ ।

उता चौदण्डीगढीको भने यो लगातार पाँचौ हार हो र अंकविहीन हुँदै पुछारमा छ ।

लिग अन्तर्गत सोमबारै भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको छ ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै विमला चौधरीले दुई, रश्मी घिसिङ र विमला बिकले एक-एक गोल गरिन् ।

विराटनगरविरुद्ध आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो ।

जितपछि ५ खेलबाट १० अंक जोड्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट ७ अंक रहेको विराटनगर चौथो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/02/928268

Sunday, 31 January 2021

चीन भन्छ- चिनियाँ एपमाथिको प्रतिबन्ध विश्व व्यापार संगठनको उल्लंघन

काठमाडौं । विभिन्न चिनियाँ एपहरु माथि स्थायी प्रतिबन्ध लगाउने भारतको कदम विश्व व्यापार संगठनका सिद्धान्त तथा बजार अर्थतन्त्रका मान्यताको उल्लंघन रहेको चीनले बताएको छ ।

नयाँदिल्लीस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले बुधबार एक विज्ञप्ती जारी गर्दै भारतीय कदमको आलोचना गरेका छन् ।

भारतले गत जुन महिनामा ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । गत सेप्टेम्बरमा थप १ सय १८ वटा चिनियाँ एप भारतले ब्लक गरेको थियो ।

जुन महिनामा प्रतिबन्ध लगाएका चिनियाँ एपहरुमाथिको प्रतिबन्धलाई स्थायी रुपमा लागू गर्ने निर्णय भारतले हालै गरेको छ ।

सञ्चार माध्यमको प्रश्नमा एक विज्ञप्ती जारी गर्दै चिनियाँ राजदूतावासका प्रवक्ता जी रोंगले भनेका छन्, ‘यी कदमहरु विश्व व्यापार संगठनको अविभेदी सिद्धान्त तथा बजार अर्थतन्त्रको स्वच्छ प्रतिस्पर्धाका सिद्धान्त विपरीत रहेका छन् । यस्ता कदमले चिनियाँ कम्पनीहरुको वैध अधिकार तथा हितमा गम्भीर आघात पुराउँदछ । चीन सरकारले यो कदमको दृढ रुपमा विरोध गर्दछ ।’

प्रवक्ता जी तथा चीन सरकारले चिनियाँ कम्पनीहरुलाई अन्तराष्ट्रिय स्तरमा व्यवसाय सञ्चालन गर्दा अन्तर्राष्ट्रिय कानून तथा स्थानीय नीति नियमहरुको पालना गर्न आग्रह गर्दै आएको छ ।

चिनियाँ एपहरुका गतिविधि भारतको सार्वभौमसत्ता र अखण्डताको विरुद्धमा रहेको ठहर गर्दै भारत सरकारले प्रतिबन्ध लगाएको हो ।

यद्यपि भारतीय सैनिकहरुको ज्यान जाने गरी लद्दाखमा भएको चिनिया र भारतीय सैनिकबीचको झडपपछि भारतले चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2021/02/928062

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More