Tuesday, 2 February 2021

अनेसास महिला समितिले कविता प्रतियोगिता गर्दै

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि दुई सय शब्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिलाको जनजीवनमाथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ । कविता मा २० मार्च २०२१ सम्ममा पठाइसक्नु पर्नेछ छ ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने आयोजक समितिले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/02/928491

Monday, 1 February 2021

गुल्मीमा ५०० बढीलाई दिइयो कोरोनाविरुद्धको खोप

२० माघ, गुल्मी । गुल्मीमा पाँच सय बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

जिल्लामा २४ गतेसम्म कुल १८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधि व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् ।

जसको लागि ४ हजार १८० डोज खोप आइसकेको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए ।

अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यक्रताले खोप लगाइदिएका छन् । जिल्लामा माघ १५ गते ७८ जना स्वास्थ्यकर्मी, १९ जना सरसफाइकर्मी र ४ जना एम्बुलेन्स चालक गरी १०१ जनालाई खोप प्रदान गरेर सुरुवात गरिएको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928330

सौगात र सुवर्णको लगानीमा ‘दि सेक्रेट्स अफ राधा’ निर्माण हुने

नायक सौगात मल्ल चलचित्र निर्माणमा अघि सरेका छन् । उनले, निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । उनले, निर्माण गर्न लागेको चलचित्रको नाम ‘दि सेक्रेट्स अफ राधा’ राखिएको छ ।

माघको अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको चलचित्रमा सौगात मल्लकै मुख्य भूमिका रहनेछ । सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरमा यो चलचित्र बन्दैछ । निर्देशक सुवर्ण थापाले सौगातसँग चलचित्र बनाउन लागेको पुष्टी गर्दै चाडै नै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने जानकारी दिए ।

यो चलचित्र यतिबेला धमाधम वर्कशप चलिरहेको छ । सौगात मल्ल र सुवर्णले मिलेर बनाउन लागेको चलचित्रको कथा भने खुलाइएको छैन ।

सुवर्णले निर्देशन गरेका ‘सुनगाभा, फन्को, बाटो मुनिको फूल २’ लगायतले चर्चा पाएका थिए । नेपाली चलचित्रका धेरै नायकहरु चलचित्र निर्माणमा अघि सरिरहेको बेलामा सौगात पनि निर्माणमा अघि आएका छन् ।



source https://www.onlinekhabar.com/2021/02/928333

सुकीलाई रिहा गर्न तरुण दलको माग

२० माघ, काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायतलाई पक्राउ गरी सेनाले शासन सत्ता हातमा लिएको घटनाको नेपाल तरुण दलले निन्दा गरेको छ ।

तरुण दलले प्रजातन्त्रवादी नेतृ सुकीलगायतलाई रिहा गर्न र जनमतको कदर गर्न त्यहाँको सेनालाई आग्रह गरेको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आजको सभ्य मानव समाजलाई नै चुनौतीको रुपमा देखिएको बर्मा (म्यानमार) को सैनिक प्रवृतिलाई जनताको जनमतको कदर गर्न र यसो वा त्यसोको बहाना नबनाई प्रजातन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरी नयाँ संसदको आधिकारीक नतिजालाई स्वीकार गर्न, लोकतन्त्रका धरोहर विश्व समाजवादी नेता आङ सान सुकी लगायत अपदस्त नेताहरुलाई रिहा गर्न र बर्मामा प्रजातन्त्रको प्रक्रियालाई सुचारु गर्न नेपाल तरुण दल केन्द्रीय समिति चेतावनी दिन चाहन्छ ।’

विश्वका कुनै पनि देशमा हुने प्रजातन्त्र एवं जनताको शासन विरोधी गतिविधिको निन्दा र विरोध गर्दै त्यहाँका स्वतन्त्रता प्रेमी जनसमुदायसँग नैतिक साथ, समर्थन र सहयोग निरन्तर रहने पनि तरुण दलले जनाएको छ।



source https://www.onlinekhabar.com/2021/02/928321

जरुरी छ पशुपंक्षीसँग पनि सुमधुर सम्बन्ध

क्यानडामा एक नेपालीले कुकुरलाई कुटेको आरोपमा ९ महिनाको जेल सजाय भुक्तान गर्नुपर्ने भयो । त्यतीमात्र होइन, जीवनभर घरपालुवा जनावर पाल्न समेत उनीमाथि प्रतिवन्ध लगाइयो । यसरी कुकुर कुट्ने कामलाई स्थानिय अदालतले ‘कायर र घृणित कार्य’ भनी निन्दा गरेको छ ।

हामीकहाँ पनि यस्ता मानविय प्रवृत्तिका मानिसहरु छन्, जसले सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरलाई संरक्षण दिन्छन् । उपचार गर्छन् । कतिले त आफ्नो घरभरी यस्ता कुकुर जम्मा गरेर त्यसको स्यहार–सुसार गरिरहेका छन् । तर, धेरैजस्तो मान्छेको व्यवहार भने एकदमै अमानविय हुनेगर्छ । उनीहरु आफ्नो आसपासको पशुपंक्षीलाई लखेट्ने, हिर्काउने, यातना दिने गर्छन् । कतिपयले के सम्म गर्छन् भने, कुकुरलाई विषाक्त खानेकुरा ख्वाउने । बिरालोलाई जिउँदै खाल्डोमा पुर्ने । यतिसम्मका घृणित कार्य गर्नेहरु हाम्रै समाजमा हुन्छन् ।

जसरी हामी पति-पत्नी, आमाबुबा, आफन्त, साथीभाई, छिमेकीसँग मानविय सम्बन्ध कायम राख्न खोज्छौं, के पशुपंक्षीसँग त्यस्तै सम्बन्ध स्थापित गर्न सकिदैन ?

तपाईंलाई उड्दै गरेको कागले आएर ठुग्ने होइन । कुकुर झम्टदै आएर टोक्ने होइन । गाईबस्तुले लखेट्ने होइन । त्यसो भए, ति अबोध पशुपंक्षीलाई तपाईं किन देख्न सक्नुहुन्न ? किन लाठी बजार्नुहुन्छ ? किन ढुंगा प्रहार गर्नुहुन्छ ? के त्यसको बदलामा ति पशुपंक्षीलाई प्रेमपूर्वक व्यवहार गर्न सक्नुहुन्न ?

ध्यानपूर्वक सोच्नुहोस् त, तपाईंको घर आसपासमा पशुपंक्षी पक्कै होलान् । तपाईं हिँड्ने बाटोमा सडक कुकुर होलान् । तपाईंको करेसाबारीमा काग, परेवा, भँगेरा आउँछ होला ।

यी पशुपंक्षीका लागि आफ्नो एक गाँस कटाउँदा तपाईं कुपोषणग्रस्त पक्कै हुनुहुनेछैन । बरु, अहिलेको अवस्थामा ‘ओभरडाइटिङ’को जोखिमबाट बच्नुहुनेछ । तपाईं जब खाना खानुहुन्छ, मात्र एक गाँस यी पशुपंक्षीका लागि छुट्याउन सक्नुहुन्छ ।

घरमा कतिपय खानेकुरा जुठो हुन्छ, बासी हुन्छ । दाल, भात, उब्रिन्छ । त्यसरी उब्रिएको खानेकुरा तपाईं डस्बिनमा मिल्काउनुहुन्छ । त्यो बिस्तारै सड्न, गल्न थाल्छ । ब्याक्टेरिया फैलन्छ । डस्बिनको फोहोरले तपाईंको घर दुर्घन्धित हुन्छ ।

त्यसो हो भने, तपाईं यसरी उब्रिएको खानेकुरा किन पशुपंक्षीलाई दिनुहुन्न ?

रेष्टुरेन्टमा खानेकुरा अर्डर गर्नुभयो । खाएर, केही बाँकी रह्यो । अब त्यसलाई प्याक गर्न लगाउनुहोस् । बाटोमा भेटिने कुकुरलाई दिनुहोस् । वा खुला स्थानमा लगेर छाडिदिनुहोस् । त्यो चराचुरुङ्गीले खान्छ ।

यी अबोध, निरिह पशुपंक्षीको आफ्नो अन्नबाली हुँदैन । खेती हुँदैन । खानेकुराको भण्डारण हुँदैन । एक–एक छाक जुटाएर उनीहरुले जीवन निर्वाह गर्नुपर्ने हुन्छ । ति पशुपंक्षीका खातिर तपाईं त्यती सानो त्याग पनि गर्न सक्नुहुन्न ?

भनिन्छ नि, दिनुमा छुटै आनन्द छ । हो, त्यही आनन्द अनुभूत गर्न सक्नुहुनेछ । पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाएर दिनुहोस्, तपाईंमा उनीहरुप्रति प्रेमभाव पैदा हुन्छ । ति पशुपंक्षी देख्दा तपाईंलाई घृणा वा रिस होइन, प्रेम जाग्छ । करुणा जाग्छ । जब तपाईंले बाँकी रहेको खानेकुरा कुनै सडक कुकुरलाई दिनुहुन्छ र त्यो कुकुर खुसीसाथ खानेकुरा खान थाल्छ । तपाईंमा परम सन्तुष्ट अनुभव हुन्छ । मनभित्र पैदा हुने यी भावहरुले तपाईंलाई मानविय बनाउँछ ।

तपाईं सामाजिक प्राणीको रुपमा आफुलाई विकास गर्न सक्नुहुनेछ । कतै भाषण गरेर, उपदेश दिएर तपाईं देखावटी रुपमा ‘असल÷भद्रभलाद्मी÷समाजसेवी’ देखिनुहोला । तर, तपाईं स्वयम् बद्लिनुभयो भने त्यसले असली रुपमै तपाईंलाई सन्तुष्ट तुल्याउनेछ । यसले तपाईंको क्रोध, रिस, आवेग, घृणा पनि शान्त गर्छ, जो मानसिक विकार हुन् । जब तपाईको मानसिक बिकार हट्छ, शरीरमा धेरै किसिमको रोग लाग्ने संभावना टरेर जान्छ ।

त्यतीमात्र होइन, जब तपाईं पशुपंक्षीलाई माया गर्न थाल्नुहुनेछ, उनीहरु तपाईंसँग झ्याम्मिनेछ । हिजोसम्म सडकमा देख्दा जुन कुकुरसँग तपाईं डराउनुहुन्थ्यो, त्यो कुकुर तपाईंलाई देख्नसाथ खुसीसाथ उफ्रिएर आउनेछ र तपाईंसँग खेल्नेछ । तपाईंलाई कौसीमा देख्नसाथ काग, परेवा वा भँगेरा वरीपरी आउनेछ । के तपाईंलाई यस्तो सम्बन्ध स्थापित गर्न मन लाग्दैन ?



source https://www.onlinekhabar.com/2021/02/928326

प्रेमी थिर कोइरालासँग बिहे गर्दै अञ्जु पन्त

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

अनलाइनखबरसँग कुरा गर्दै थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु ग्लत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको थिरले जानकारी दिए । उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु न्जिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।



source https://www.onlinekhabar.com/2021/02/928323

संवैधानिक परिषदको बैठक स्थगित

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइए पनि स्थगित गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ ।

दुई दिनअघि मात्रै परिषद्को बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरिदिएका थिए ।

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।



source https://www.onlinekhabar.com/2021/02/928322

प्रचण्ड-माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस

२० माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले भने, ‘दाबी प्रस्ताव गर्न दल ऐनको धारामा टेकेका छौं ।’

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गर्‍यो । तर आयोगले ११ माघमा दुबै पक्षको दाबी मानेन ।

त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् । उनीहरुका अनुसार आयोगले माघ १२ मा जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बसेको नेता राजेन्द्र पाण्डेले बताए । उनका अनुसार बैठकमा २७५ केन्द्रीय सदस्य उपस्थित थिए ।

 



source https://www.onlinekhabar.com/2021/02/928314

जनउत्थानले घोषणा गर्यो सबैभन्दा उच्च लाभांश

२० माघ, काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६÷७७ को मूनाफाबाट लगानीकर्ताहरुलाई बम्पर लाभांश घोषणा गरेको छ । सोमबार अपरान्ह बसेको संस्थाको संञ्चालक समिति बैठकले ५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यो चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने सबै कम्पनीहरु भन्दा धेरै हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले सञ्चालक समितिले बोनस सेयर ४९.४० प्रतिशत र नगद लाभांश (कर प्रयोजनका लागि) २.६० प्रतिशत दिने निर्णय गरेको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएका छन् ।

अब नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर साधारणसभाले पारित गरेपछि मात्रै लाभांश लगानीकर्ताले पाउनेछन् । जनउत्थानले घोषणा गरेको यस वर्षको सबैभन्दा उच्च हो । यस अघि नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928313

निर्वाचन आयोग पुगे प्रचण्ड र माधव नेपाल

२० माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।

ओली पक्षले पनि केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनी रुपमा नेकपा एक रहेको जनाएको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928306

नख्खु जेलमा पुगेर खानेपानीमन्त्रीले भेटे विप्लवका नेता

२० माघ, काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् ।

सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार विहान नख्खु पुगेका थिए ।

२०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् ।

यो पनि पढ्नुहोस संशयका बीच सरकार-विप्लव समूह संवादको प्रयास

source https://www.onlinekhabar.com/2021/02/928299

ओली-दाहाल : गालीको आहाल

२० माघ, काठमाडौं । आफू विपक्षी रहेको मुद्दामा गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

रिट निवेदकका तर्फबाट बहस गरेका एकजना वरिष्ठ अधिवक्तालाई होच्याउँदै ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ (अदालतमा) तमासा देखाउन’ भनेका ओलीले अवहेलना मुद्दा झेलिरहेका छन् ।

आफूलाई मन नपर्ने जो कोहीविरुद्ध प्रधानमन्त्री ओली दिनहुँजस्तो टीकाटिप्पणी गरिरहेका देखिन्छन् । अदालतको अवहेलना मुद्दा चलेकाले मात्रै यो ढतमासा सम्बन्धी) टिप्पणी चर्चामा आएको हो ।

पुस पहिलो साता पार्टी विवाद उत्कर्षमा पुगेयता दुवै समूहका नेताहरू एक अर्काविरुद्ध व्यक्तिगत टिप्पणीमा उत्रेका उदाहरण भने बग्रेल्ती छन् । जस्तो यहाँ केही भनाइहरु हेरौं –

केपी ओली- केपी ओलीका छोराछोरी छैनन् । मेरा त छोरीहरू छन्, ज्वाइँहरू छन्, हेर्नै पर्‍यो । बनाउनै पर्यो । छोरी भएका मान्छेले त मेयर बनाउनै पर्‍यो । बनाउन भोटले पुगेन भने मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँ छन्, के गर्ने अब घर किन्दिनै पर्यो, घडेरी किन्दिनै पर्‍यो । घर किन्दिनै पर्‍यो । पद ओहोदा दिनैपर्यो । केपी ओलीका छैनन्, कल्लाई देओस्, मेरा त छन्, दिन्छु ! गज्जप हो, बहादुर हो । बाबु त यस्तो होस् ! ससुरो त यस्तो होस् ! गज्जप हो !

प्रचण्ड – आफ्ना हनुमानहरूलाई छोराछोरी भन्दै तिनलाई मात्र पोस्नु सही हो ? म निःसन्तान भइनँ, मेरो दोष हो ?

केपी ओली– अब भेट्नो कुहिएर झरेको दुईवटा फलहरूले रुख मै हुँ भनेर दाबी गर्ने ?

प्रचण्ड– यो लाज, घिन अलिकति मान्छेमा हुनुपर्छ क्या, अलिअलि नैतिक भन्ने हुनुपर्छ नि । निर्घिनी हुन हुन्न क्या । केपी ओलीजी त निर्घिनी, लाजमर्दो ।

केपी ओली- तपाईंहरू (माधव-प्रचण्ड) सहिद भएर गएको भए सम्झिन हुन्थ्यो ।

त्यसो त नेताहरूको प्रहार शीर्ष नेतामा मात्रै सीमित छैन । प्रधानमन्त्री ओलीले पत्रकारलाई पनि छाडेका छैनन् । आफ्नो कमीकमजोरी औंल्याउने पत्रकारलाई उनले नर्क जाने श्राप नै दिए । ओलीले सञ्चारकर्मीलाई भने-स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।

आफ्नै मन्त्रिपरिषद् सदस्य रहिसकेका योगेश भट्टराईलाई लक्षित गर्दै ओलीको टिप्पणी थियो-एउटा केटो थियो मन्त्री बनाएको पुक्क लात हानेर भाग्यो ।

माथिका वाक्यांशहरूको अर्थ हो, हाम्रा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू नै ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ भन्नेमा विश्वास गर्दैनन् । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘दुवै समूहका नेताहरूको गाली क्लाइमेक्समा पुगेजस्तो देखिन्छ ।’

नेता हुनै अयोग्य

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षले अलग-अलग बैठक बोलाएयताको अभिव्यक्ति सुन्दा नेताहरूमा सामान्य सहिष्णुता र मर्यादा समेत नदेखिएको विश्लेषकहरू बताउँछन् ।

समाजशास्त्री अजय यादव राजनीतिक संस्कारको अभावमा नेताहरूले विवेकको सट्टा आवेग ओकल्ने गरेको बताउँछन् । ‘कुनै शीर्ष नेताको पाँच मिनेट भाषण सुन्नुस् उहाँ कुन संस्कारबाट आउनुभएको रहेछ स्पष्ट हुन्छ,’ यादव भन्छन्, ‘पछिल्लो एक महिनाको भाषणको सूक्ष्म मूल्यांकन गर्ने हो भने उहाँहरू राजनेता होइन, एउटा सभ्य नागरिक बन्न पनि योग्य हुनुहुन्न भन्ने देखिन्छ ।’

विश्लेषक श्याम श्रेष्ठ नेताहरूका अभिव्यक्तिले उहाँहरूको नैतिक र सांस्कृतिक स्तर झल्काइरहेको बताउँछन् । उनी भन्छन्, ‘विगतमा पार्टी फुट्दा राजनीतिक तर्क गरेको सुनिन्थ्यो, अहिले तल्लोस्तरमा उत्रेर गालीगलौज नै गरेको सुनिन्छ ।’

न्वारानदेखिको बल लगाएर विपक्षीलाई गाली गर्दा आफ्नो जित भएजस्तो भान पर्न सक्दछ । तर, यो तहको अपशब्दले कसैलाई पनि फाइदा नगरेको विश्लेषकहरू बताउँछन् । श्रेष्ठ भन्छन्, ‘यस्तो गाली सुनिसकेपछि दुबै पक्ष उही ड्याङको मुला रहेछ भन्ने थाहा हुन्छ ।’

विश्लेषक हरि शर्मा नेताहरूको अभिव्यक्तिले देश हाँक्न चाहिने हृदयको विशालता छैन भन्ने पुष्टि गरेको बताउँछन् । ‘प्रधानमन्त्रीज्युको भाषा हेर्नुस् त । प्रजातन्त्रका लागि वर्षौं जेल बसेको, तानाशाहको विरुद्ध लडेको नेताको भाषा त्यस्तो हुन्छ ?’ शर्मा भन्छन्, ‘ओहो, त्यस्तो छुद्रता ? भाषामा सहिष्णुता छैन, प्रेम छैन । यसको अर्थ हो, हृदय ठूलो छैन ।’

पराजित मनोदशा

प्रधानमन्त्री ओलीले पटक-पटक ‘मलाई सरकार सञ्चालनमा पार्टीबाटै असहयोग भयो’ भनिरहेका छन् । तर, कहिले कसले के असहयोग गर्यो भनेर विवरण दिन सकेका छैनन् । प्रचण्ड-माधव नेपाल पक्षले पार्टीको निर्देशन मानेन, त्यसकारण ओली निरंकुश भन्ने गरेको सुनिन्छ । तर, पार्टीले दिएको कुन-कुन निर्देशन मानेन भनेर व्याख्या गर्न सकेका छैनन् ।

जब आफू र आफ्नो पक्ष ठीक हो भनेर देखाउन केही बाँकी हुँदैन, तब मात्रै मान्छेले अर्को पक्षको कमजोरी उराल्छ । आफ्नो विपक्षी आफूभन्दा शक्तिशाली हुँदा पनि स्वर चर्को हुँदै जान्छ ।

‘विपक्षी बलियो छ भन्ने डरले गर्दा पनि हो र भित्री रुपमा बलियो नभएर पनि हो,’ समाजशास्त्री यादव भन्छन्, ‘म ठीक छु भन्ने आफैंलाई विश्वास नहुँदा नेताहरूले अन्धकारमा तुच्छ शब्दको तीर हानीरहेका छन् ।’

पार्टी एकतापछि पनि सामाजिक राजनीतिक, आर्थिक, राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्दैनथे । कहिले मदन भण्डारीको सपना, कहिले कसको सपनाका लागि पार्टी एक बनाएको भाषण सुनिन्थ्यो ।

‘फरक के थियो भने, विभाजनअघि एक अर्काको चाहिनेभन्दा बढी प्रशंसा गर्थे, अहिले आवश्यकताभन्दा बढी गालीगलौज गरिरहेका छन्’, प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘मुद्दाविनाको विभाजन भएकाले आफ्नो औचित्य स्थापित गर्न अर्को पक्षलाई नानाभाँती गाली गरेको हो ।’

असभ्यताको पराकाष्ठा

भनिन्छ, राजनीति सबै नीतिहरू भन्दा ठूलो नीति हो । त्यही भएर सफल राजनीतिकर्मी राजनेता कहलाउँछन् । तर, नेताहरूको भाषण सुन्दा भने सामान्य मर्यादासमेत पालना भएको देखिँदैन ।

नेताबाट कार्यकर्ता र कार्यकर्ताबाट जनताले सिक्ने हो । शीर्ष नेताकै लहैलहैमा लागेर नेकपाका युवा नेताहरू पनि गालीगलौजमै उत्रेको देखिन्छ । अर्थात् शीर्ष नेताहरूले भावी नेतृत्वलाई पनि गाली पुराण सिकाइरहेका छन् । यदाकदा यसको प्रतिविम्व देखिएको पनि छ ।

समाजशास्त्री यादव भने मूल नेतृत्वमै राजनीतिक संस्कार बोधको अभाव देख्छन् । उनी भन्छन्, ‘यो त असभ्यताको पनि पराकाष्ठा भयो ।’

प्रचण्ड-माधव पक्षले गाउँ-गाउँबाट सर्वसाधारण ल्याएर आमसभा गरिरहेको छ । नेकपा ओली पक्षले पनि २३ माघमा नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ ।

विश्लेषक श्रेष्ठ त्यस्ता सभाहरू गर्दा एउटा पक्षले गाली नगर्ने हो भने मात्रै पनि अर्को पक्षलाई जवाफी गाली गर्न गाह्रो हुने बताउँछन् । उनी भन्छन्, ‘त्यसरी मान्छे जम्मा गरेर राजनीतिक, वैचारिक मतभिन्नता धारणा नराखेर मुखमा आए जति गाली गर्दा कसैको भलो हुँदैन ।’



source https://www.onlinekhabar.com/2021/02/928301

आङ साङ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्रा

२० माघ, काठमाडौं । म्यानमारमा सोमबार ‘कू’ गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पनि सेनाले हिरासतमा लिएको छ । यससँगै अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाको विरोध गरिरहेका छन् ।

यहाँ उनै प्रजातन्त्रवादी नेतृ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्राबारे वर्णन गरिएको छ –

आङ साङ सुकीको जन्म सन् १९४५ मा म्यानमारको याङ्गोनमा भएको हो । उनको जन्म भएको दुई वर्षपछि सन् १९४७ मा उनका पिताको हत्या भयो । उनी बि्रटिश बर्माका डिफ्याक्टो प्रधानमन्त्री थिए । सन् १९६० मा उनकी आमा खिन की भारतको लागि राजदूत नियुक्त भइन् । सुकीले माध्यमिक तहको पढाइ भारतमा गरिन् । त्यसपछि अक्सफोर्ड युनिभर्सिटीबाट उनले मनोविज्ञान, राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । सन् १९६७ मा उनले ब्याचलरको अध्ययन सकेकी थिइन् ।

उक्त अवधिमा उनको भेट माइकल अरिससँग भयो । उनी भुटानी अध्ययनका विज्ञ थिए । सन् १९७२ मा उनीहरुको विवाह भयो । अहिले उनीहरुका दुई सन्तान छन् । सुकीको परिवारले सन् १९७० र ८० को दशक बेलायत, अमेरिका र भारतमा बिताएको थियो ।

सन् १९८८ मा सुकी अन्तिम अवस्थामा पुगेकी आमाको हेरचाहको लागि म्यानमार फर्किएकी थिइन् । त्यसपछि उनको जीवनमा नाटकीय परिवर्तन आयो । सुकी म्यानमार फर्किँदा मुलुकमा तानाशाही सरकारविरुद्ध आन्दोलन भइरहेको थियो । सन् १९६२ मा ‘कू’ गरेपछि तानाशाह यू ने विनले सन् १९८८ मा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर, अझै पनि नरोकिएको आन्दोलन दबाउन उनले पर्दा पछाडि बसेर हिंसात्मक आक्रमणहरु गर्ने गरेका थिए ।

म्यानमार फर्किएसँगै सुकीले तानाशाही सरकारविरुद्ध सार्वजनिकरुपमा नै आवाज उठाउन थालिन् । साथै उनले प्रजातन्त्र र मानव अधिकारका मुद्दा उठाउन थालिन् ।

त्यसपछि सरकार चलाइरहेको मिलिट्री जन्ता (जसको नाम परिवर्तन गरी युनियन अफ म्यानमार बनाइएको थियो) को आँखामा पर्न उनलाई लामो समय लागेन । सुकीलाई घरमा नै नजरबन्दमा राखियो र उनको बाहिरी विश्वसँगको सम्पर्कमा पूर्णरुपमा प्रतिबन्ध लगाइयो ।

सेनाले सुकीलाई मुलुक छाड्ने भए स्वतन्त्र गरिदिने बताउँदै आए पनि सुकीले मुलुक छाड्न अस्वीकार गर्दै आइन् । उनले राजनीतिक बन्दीलाई रिहा र नागरिकलाई सत्ता नसुम्पेसम्म संघर्ष गरिरहने बताइन् । सन् १९९० मा निर्वाचन भयो र उक्त निर्वाचनमा सुकीको पार्टीले ८० प्रतिशत मत ल्यायो । तर, सेनाले त्यसलाई बेवास्ता गर्यो ।

सन् १९९५ मा सुकीलाई घरमा नै गरिएको नजरबन्द हटाइयो । त्यसको एक वर्षपछि उनी एनएलडी पार्टीको बैठकमा सहभागी बनिन् । त्यसको तीन वर्षपछि उनले मुलुक सञ्चालन गर्ने वैधानिक निकाय भन्दै एक समिति बनाइन् ।

यो पनि पढ्नुहोस के आङ साङ सुकीको लोकप्रियता घटेको हो ?

यससँगै सन् २००० मा उनी पुनः नजरबन्दमा परिन् । उनलाई सन् २००२ मा नजरबन्द मुक्त गरिएको थियो । सन् २००३ मा सरकारपक्ष र विरोधी पक्षबीच झडप भयो ।त्यसपछि उनी पुनः पक्राउ परिन् । उनीलाई घरमा नै नजरबन्दमा राखियो । त्यसपछि उनको नजरबन्द हरेक वर्ष नवीकरण गर्न थालिएको थियो ।

सन् २०१० मा भएको निर्वाचनमा विपक्षी पार्टीले सुकीलाई निर्वाचनमा उठ्न लगाएको प्रतिबन्धपछि बहिष्कारको घोषणा गरेको थियो । त्यसैले सत्तारुढ पार्टीले उक्त निर्वाचनमा जित हात पार्यो । निर्वाचन सकिएको ६ दिनपछि सुकी नजरबन्दबाट रिहा भइन् ।

सन् २०१३ मा सुकी पार्टीको नेतृ बनिन् । त्यसपछि सन् २०१५ मा म्यानमारमा अहिलेसम्मकै खुला मतदान भयो । जसमा सुकी पार्टीको नेतृत्वमा पुनः निर्वाचित भइन् । त्यसको एक साताभन्दा कम समयमा नै मुलुकमा भएको निर्वाचनमा उनको पार्टीले अत्यधिक बहुमतसहितको जित हात पार्‍यो ।

सन् २०१६ मा लामो समयदेखि सुकीको सल्लाहकार रहँदै आएका एचटिन किय म्यानमारको नयाँ राष्ट्रपति बनेका थिए । राष्ट्रपति बन्न सुकीलाई संवैधानिक प्रतिबन्ध रहेकाले राष्ट्रपतिमा कियलाई छनोट गरिएको थियो । सुकीलाई स्टेट काउन्सुलरको जिम्मेवारी दिइएको थियो ।

सन् २०१७ मा म्यानमारको रखाइनमा ठूलो हिंसा भड्किएको थियो । उक्त हिंसापछि सो क्षेत्रका ६ लाखभन्दा धेरै रोहिंग्या मुस्लिमहरु भागेर बंगलादेश पुगेका थिए । यो घटनापछि भने आङ साङ सुकीको छवि धुमिल हुन पुग्यो । उक्त हिंसामा सुकीले सेनाको साथ दिइन् । यो कदमको विश्वभर आलोचना भएको थियो । यो हिंसामा सेनाको साथ दिएपछि उनलाई दिइएको नोबेल शान्ति पुरस्कार पनि फिर्ता गरिएको थियो । उक्त हिंसाबारे उनले हेगमा स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

गत नोभेम्बरमा म्यानमारमा भएको निर्वाचनमा पनि सुकीकै पार्टीले अत्यधिक बहुमत पाएको थियो । तर, यो नतिजाबारे सेनाले भने आपत्ति जनाउँदै आएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको भन्दै नतिजा स्वीकार गर्न मानेको थिएन । यस विषयमा वार्ता चलिरहेको भए पनि निष्कर्ष ननिक्लिएपछि सोमबारबाट नयाँ संसद्ले आफ्नो काम सुरु गर्ने दिन नै सेनाले ‘कू’ गरेको हो ।



source https://www.onlinekhabar.com/2021/02/928297

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More