Wednesday, 1 September 2021

कांग्रेस नेता कार्यकर्तालाई रामचन्द्रको अपील : आत्माको पुकार सुनेर निर्णय गर्नुस्

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गरेका छन् । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनम वडा तहबाटै सबल नेतृत्वको आवश्यकता औंल्याए । ‘ढिलै भएपनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ,’ बिहीबार बिहान नेता पौडेलले भिडियो सन्देशमार्फत् भनेका छन्, ‘हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।’

उनले कांग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई विर्षेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपील गरे । ‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई विर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ पौडेलले भनेका छन् ।

उनले कोरोना महामारी, वर्षाको अवस्थाको विषम अवस्थामा महाधिवेशन प्रक्रिया सुरु भएकाले स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/09/1007494

दाङमा सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकजना घाइते

१७ भदौ, घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही-१४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

विमला र रिताको शव घटनास्थलदेखि तीन किलोमिटर टाढा आज बिहान सवा ६ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/09/1007510

नवीन न्यौपानेका बुबाआमाको उपचारका लागि सन्तोष साहुखलको सहयोग

काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका छन् । नवीनका बुवाआमा क्यान्सरको उपचार गराइरहेका छन् ।

थ्रीस्टार, एपीएफ, मनाङ मर्स्याङ्दी र च्यासल क्लबबाट खेलेका सन्तोष सन् २०१५ यता जापानमै बसोबास गर्छन् । उनले पठाएको उक्त रकम उनका दाइ बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे ।

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षकको रुपमा कार्यरत नवीनले २०६८ सालमा मनाङमा सन्तोषसँगैगै खेलेका थिए । नवीनले २०६४-६५ मा एनआरटीबाट बालगोपालसँग पनि खेलेका थिए ।

‘बाआमाको स्वास्थ्य अहिले राम्रो भइरहेको छ,’ नवीनले भने, ‘यसक्रममा धेरैले सहयोग गरेका छन् । यसले जिन्दगी नै फुटबलमा बिताएर राम्रै गरेछु भन्ने लागिरहेको छ । सन्तोषसहित सबैलाई धन्यवाद ।’

सन्तोषले जापानको गैरसरकारी संस्था रियाले वल्र्ड एनपीओको लागि ‘रोल मोडल’ को रुपमा व्यावसायिक खेलाडी बन्न चाहने बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिनेसँगै गाइड पनि गरिरहेका छन् ।

उनले स्वदेश फर्केर पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासल युवा क्लबबाट खेलेका थिए । त्यसक्रममा उनी ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो भए ।

फोटो : एनएसजेएफ



source https://www.onlinekhabar.com/2021/09/1007506

ईपीएलका लागि चितवन टाइगर्सले सार्वजनिक गर्‍यो टिम

१७ भदौ, काठमाडौं । आगामी असोजमा आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० का लागि चितवन टाइगर्सले टिम सार्वजनिक गरेको छ । जसलाई प्रभु पेले मुख्य प्रायोजन गरेको छ ।

चितवनले बुधबार एक कार्यक्रमका बीच प्रभु पे संग मुख्य प्रायोजन सम्झता गरेको हो । चितवन टाइगर्सका मालिक किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेक्ट्रोनिक्स बलेटको रुपमा रहेको छ । चितवन आइडिएस ग्रुपको स्वामित्वमा रहेको टिम हो ।

इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय मैदानमा आयोजना हादैछ ।

चितवनले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित पाँच विदेशी खेलाडीको नाम पनि बुधबारको कार्यक्रममा सार्वजनिक गरेको छ । जसमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र करिम जन्नत, पाकिस्तानका डानिस अजिज, श्रीलंकाका सेगुके प्रसन्न र मलेसियामा भिरनदिप सिंह छन् ।

अफगानिस्तानका करिम जन्नतलाई भने चितवनले बुधबारै सार्वजनिक गरेको हो ।

यसअघि नै चितवनले विदेशी खेलाडीहरु अनुबन्ध गरिसकेको थियो । बुधबाको कार्यक्रममा उनीहरुको भिडियो सन्देशसहित सार्वजनिक गरिएको हो ।

यसैगरी चितवनले दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहलाई टिम व्यवस्थापक र सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । ४० वर्षीय सिंह आईसीसी लेभल २ प्रशिक्षक हुन् ।

चितवनको मुख्य प्रशिक्षकमा सासन जंग थापा छन् भने टिम मेन्टर र सहायक प्रशिक्षकमा पुरनेन्द्र घोष रहेका छन् ।

कोभिड१९ महामारीले गर्दा अघिल्लो वर्ष तोकिएको समय हुन नसकेको इपीएलमा यस पटक राम्रो नतिजा ल्याउने लक्ष्यसहित चितवनले टिम तयार पारेको टिम मालिक किशोर भट्टराईले बताएका छन् ।

उनले यसअघिका दुई सिजनमा प्रदर्शनबाट सिक्नै यस पटक राम्रो नतिजाका लागि खेल्ने बताए । चितनले यस पटक सोमपाल कामीलाई कप्तान तथा मार्की खेलाडी बनाएको छ । अघिल्लो सिजन काठमाडौं किंग्स ११ बाट खेलेका सोमपालाई चितवनले दीपेन्द्र सिंह ऐरीसंग ट्रेड गर्दै भित्र्याएको हो ।

यस्तै टिमका अन्य खेलाडीमा राष्ट्रिय टिमबाट खेलिसकेका कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, दिलीप नाथ, राजेश पुलामी मगर छन् । यस्तै सागर ढकाल, भिम शार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी छन् ।

चितवनले यही टिमबाट राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको हो । इपीएलमा चितवनसँगै विराटनगर वारियर्स, काठमाडौं किंग्स एघार, साविक विजेता ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी चितवन टाइगर्सको माउ संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ । आइडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टका कुसुम लामाले आइडीएस सिल्क स्पोर्टस प्रालिको सुरुवातका लागि संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै आइडीएस ग्रुपले आइडीएस सिल्क स्पोर्ट्स एकेडेमीको सुरुवात गर्ने मुख्य योजना रहेको जनाएको छ । यसको उद्देश्य काठमाडौँ उपत्यकाभित्र सुविधासम्पन्न एकेडेमी निर्माण गर्ने रहेको आइडीएसका प्रमुख किशोर भट्टराईले बताए । एकेडेमीले युवा प्रतिभाको पहिचान गर्दै प्रमुख खेलाडी बनाउने प्रयास गर्ने ग्रुपले जनाएको छ ।

यस वर्ष चितवनको स्वामित्व आइडीएस ग्रुपसंग रहने र अर्को वर्षदेखि आइडीएस सिल्क स्पोर्ट्स प्रालीले चितवनको स्वामित्व लिने भट्टराईले घोषणा गरेका छन् । खेलको विकास गर्नका लागि ग्रुप लाग्ने उनले बताए ।

आइडीएस ग्रुप र सिल्क स्पोर्ट्स मर्ज भएर बनेको आयडीएस सिल्क स्पोर्ट्स प्रालीको प्रमुखमा कुसुम लामा रहने किशोर भट्टराईले घोषणा गरे । यस्तै म्यानेजिङ डिरेक्टरमा भट्टराई स्वयम रहनेछन् भने चितवनको अप्रेसनि डिरेक्टर रहेकी विनिता चौधरी भट्टराई र सिल्क ग्रुपका डिरेक्टर रमेश शेर्पा आइडीएस सिल्क स्पोर्ट्सको डिरेक्टरमा रहनेछन् ।



source https://www.onlinekhabar.com/2021/09/1007503

गठबन्धन सरकारले अघि बढाउला बूढीगण्डकी ?

१७ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा बूढीगण्डकी जलविद्युत आयोजनामा ८ अर्ब बजेट खर्च गर्दैछ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरेको छ । विनियोजित रकम भने निर्माण सुरु गर्न नभएर मुआब्जा तथा पुनर्स्थापना कार्यक्रममै खर्च हुने हो ।

लगानी सहितको निर्माणको लागि चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपसँग सरकारले आवश्यक सहमति गर्न सकेको छैन । मन्त्रिपरिषदले इन्जिनियरिङ, प्रोक्र्योर्मेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्सिङ (ईपीसीएफ) मोडलमा गेजुवालाई दिने मोडालिटी बनाउन ऊर्जा मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । यो मोडलअनुसार आयोजनाको प्राविधिक र आर्थिक पक्ष कम्पनीले हेर्नुपर्छ ।

ईपीसीएफ मोडालिटीअनुसार गेजुवाले जुटाउने सबै लगानी आयोजना निर्माणपछि नेपाल सरकारले निश्चित वर्ष तोकेर किस्ताबन्दीमा सावा र ब्याज तिर्नुपर्ने हुन्छ । यस्तो ऋणको लगानीकर्ता र ब्याजदरका विषयमा दुई पक्षबीच सुरुमै सहमति जुट्नुपर्छ ।

तर, गेजुवासँग अहिलेसम्म ऊर्जा मन्त्रालयले कार्यादेश अनुसार सहमति जुटाउन सकेको छैन । ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्त सकेसम्म सरकारले निर्णय गरेको कम्पनीसँग निर्माणको ढाँचा टुंग्याउन प्रयास गर्ने बताउँछन् । ‘तर कम्पनीसँग टुंगिएन भने अरु कुनै मोडालिटीबाट अघि बढ्न पनि सकिएला,’ उनले भने, ‘यो वर्ष जसरी पनि टुंगिन बाँकी विषयमा निष्कर्षमा पुग्छौं ।’

वार्तामा दुवैतर्फबाट छिट्टै उचित प्रस्ताव ल्याउने सहमति भएको थियो । तर, त्यसपछि गेजुवासँग यसबारे वार्ता भएको छैन । सरकार र गेजुवाबीच अहिले सम्पर्कबिच्छेदको जस्तो अवस्था छ

बूढीगण्डकी जलविद्यत् आयोजना गेजुवा वाटरले नेपाल सरकारसँग लगानीको ढाँचा (मोडालिटी) बारे ०७५ पुस ४ देखि ६ गतेसम्म वार्ता गरेको थियो । फेरि छलफल गर्ने सहमति गरेर गएको चाइना गेजुवा त्यसपछि वार्तामा फर्किएको छैन ।

गेजुवाले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएर बूढीगण्डकी बनाउन दिन माग गरेको थियो । गेजुवासँग छलफल गरेर निर्माणको मोडालिटी र लगानी टंग्याउने भनिए पनि सरकार तीन वर्षदेखि चुक्दै आएको छ ।

निर्माण अघि बढाइहाल्न सकिने अवस्थामा रहेको १२ सय मेगावाटको यो आयोजनाको लागत अनुमान करिब तीन खर्ब छ । तर, निर्माण ढाँचा नै निर्धारण र स्रोत व्यवस्थापन नटुंगिँदा आयोजना अन्योलको भूमरीभित्रै छ ।

०७५ पुसको वार्तामा आयोजनाको क्षमता, लागत, ऋण र ब्याजदरबारे छलफल भए पनि सहमति हुन सकेको थिएन । वार्तामा दुवैतर्फबाट छिट्टै उचित प्रस्ताव ल्याउने सहमति भएको थियो । तर, त्यसपछि गेजुवासँग यसबारे वार्ता भएको छैन । सरकार र गेजुवाबीच अहिले सम्पर्कबिच्छेदको जस्तो अवस्था छ ।

ईपीसीएफ मोडलमा आयोजना बनाउने ऐन नभएकाले पनि आयोजना निर्माण प्रक्रिया अघि बढाउन सकस परेको ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् । स्रोतकाअनुसार मन्त्रालयभित्र बूढीगण्डकी बनाउन छुट्टै प्राधिकरण या कम्पनी बनाउनेबारे पनि छलफल भइरहेको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले आफ्नो कार्यकालमा जसरी पनि प्रत्येक प्रदेशमा एउटा जलासययुक्त आयोजना बनाउने योजना अनुसार बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने घोषणा नै गरेकी छिन् । तर, कसरी आयोजना अघि बढ्छ भन्नेबारे उनले केही बोलेकी छैनन् ।

आयोजनामा राजनीति

बूढीगण्डकी आयोजना पटक–पटक राजनीतिक दाउपेचको शिकार बन्दै आएको छ । प्रचण्ड नेतृत्वको सरकारले गेजुवालाई दिएको यो आयोजना शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता लिएको थियो ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रले बूढीगण्डकी गेजुवालाई नै दिने चुनावी एजेन्डा बनाएका थिए । चीनले पनि आयोजना चिनियाँ कम्पनीलाई दिनुपर्ने कूटनीतिक लबिङ गरेको थियो ।

२०७४ को चुनावपछि बनेको केपी ओली नेतृत्वको सरकारले ०७५ असोजमा राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना ईपीसीएफ मोडलमा गेजुवालाई दिने निर्णय गरेको थियो ।

ऊर्जा मन्त्रालयका कतिपय अधिकारी बूढीगण्डकी गेजुवालाई दिने निर्णय प्रक्रियामा अपनाइएको अपारदर्शी शैलीका कारण अनिश्चितता छाएको बताउँछन् । हुन पनि, यो आयोजनाको सम्बन्धमा सरकार परिवर्तनपिच्छे फरक निर्णय भए । भएको निर्णयलाई सुरुमा लुकाउने प्रयास गरियो ।

पहिलो पटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले बूढीगण्डकी गेजुवालाई दिने तयारी थालेका थिए । त्यसबारे सूचना चुहिएपछि संसदको जलस्रोत समितिले प्रक्रिया पूरा गरेरमात्र निर्णय गर्न निर्देशन दिएपछि त्यो तयारी रोकियो ।

आयोजनाले प्रभावित हुने क्षेत्र ।

त्यसपछि बनेको प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जाँदाजाँदै अन्तिम मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी गेजुवालाई दिने निर्णय गर्यो । ०७४ जेठ २१ गते हतार–हतार बालुवाटारमा सम्झौता आदान–प्रदान गरियो । त्यसलाई पनि असोज ९ गते तत्कालीन संसदको कृषि तथा जलस्रोत समितिको बैठकले खारेज गर्न निर्देशन दियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय समितिको निर्देशनकै आधारमा ०७४ कात्तिक २७ मा बूढीगण्डकी गेजुवाको हातबाट खोस्यो । त्यसबेला पनि निर्णय लुकाउन धेरै प्रयास भयो । मिडियाले धमाधम सूचनाहरु सार्वजनिक गर्न थालेपछि मात्र बूढीगण्डकी गेजुवालाई दिने निर्णय खारेज गरेको जानकारी दिइयो ।

त्यसपछि सरकारले बूढीगण्डकी आयोजना स्वदेशी पुँजीमा नै बनाउन राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको सुझाव समिति गठन गर्यो । समितिले बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै पूरा गर्न सकिने र त्यसका लागि सरकारले करिब ९५ करोड रुपैयाँ भायावलिटी ग्याप फन्डिङ गर्नुपर्ने प्रतिवेदन दिएको थियो ।

त्यसकै आधारमा देउवा सरकारले ८ मंसिर ०७४ मा यो आयोजना स्वदेशी लगानीमै बनाउने घोषणा गरेको थियो भने तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने भनी चुनावी भाषण गरे । चुनावपछि बनेको ओली नेतृत्वको सरकारले गेजुवाको पक्षमा निर्णय गर्न ढिलाइ गरेन ।

दोस्रोपटक बूढीगण्डकी निर्माणको जिम्मा लिन गेजुवाले १ भदौ ०७५ मा प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको थियो । प्रधानमन्त्री कार्यालयले गेजुवासँग निर्माण मोडालिटीबारे छलफल अघि बढाउने गरी प्रस्ताव ल्याउन भनेपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले सोही अनुसार मन्त्रिपरिषदमा प्रस्ताव पुर्याएका थिए । त्यसैअनुसार निर्णय भएर छलफल अघि बढे पनि गेजुवालाई निर्माणको जिम्मा दिने गरी सहमति बन्न सकेन ।

अहिले बूढीगण्डकी आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनीका नेपाल एजेन्ट दीपक भट्ट हुन् । उनका दाजु सुशील भट्ट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् तै पनि यो आयोजनामा विदेशी लगानी आउने विषय अन्योलमै छ ।

यसैकारण बूढीगण्डकी अर्को पश्चिम सेती जस्तो बन्ने चिन्ता जलविद्युतका विज्ञहरुलाई छ । गेजुवालाई दिनुभन्दा एक साताअघि लगानी बोर्डले चिनियाँ कम्पनी थ्री गर्जेजलाई पश्चिम सेती जलविद्युत आयोजनाबाट बिदा गरेको थियो । करिब सात वर्ष आयोजना ‘होल्ड’ गरेको थ्री गर्जेजले पश्चिम सेतीको विद्युत् क्षमता ७५० मेगावाटबाट ६०० मेगावाटमा झार्दा पनि बनाएन ।

चार वर्षअघि आयोजना निर्माणको जिम्मा गेजुवालाई दिने र नदिने विषयमा दुई धारमा देखिएका कांग्रेस र माओवादी अहिले एउटै गठबन्धन सरकारमा छन् । यसले गर्दा यो आयोजनाबारे वर्तमान सरकारले अब आउने भनेको नयाँ बजेटमा कस्तो व्यवस्था गर्छ भनेर चासोका साथ हेरिएको छ ।

४० अर्बभन्दा बढी खर्च

तत्कालीन विद्युत् विभागले २०४६ सालताका गरेको अध्ययनबाट यो आयोजनाको पहिचान भए पनि सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार पार्न आव २०६९÷७० बाट बजेट विनियोजन थालेको थियो ।

बूढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सहितका पूर्वतयारीमा सरकारले ४० अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

आयोजनाले २०७४ सालदेखि डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण सुरु गरेकामा हालसम्म गोरखा र धादिङतर्फ ४७ हजार ४३९ रोपनी जग्गाको मुआब्जा करिब ३४ अर्ब रुपैयाँ वितरण गरेको छ । आयोजनाका लागि जम्मा ५८ हजार १५३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

आयोजनाले जग्गाको मुआब्जा निर्धारण गरे पनि घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा निर्धारण नै गर्न सकेको छैन । अहिले घर गोठ, संरचनाको मुआब्जामा ह्रासकट्टी गर्ने वा नगर्ने विषयका कारण मुआब्जा निर्धारण हुन सकेको छैन । घर, गोठ, संरचनाको ह्रासकट्टी नगर्न ऊर्जा मन्त्रालयले गरेको प्रस्ताव अर्थमन्त्रालयमा अड्किएको बूढीगण्डकी आयोजनाका अधिकारीहरु बताउँछन् ।

आयोजनामा पुनर्बासका लागि स्थानको पहिचान गर्न र मुआब्जा वितरणमा आएका गुनासो व्यवस्थापन गर्नमा पनि ढिलाइ भएको छ ।

सरकारले आर्थिक वर्ष ०७२/७३ बाट बूढीगण्डकी आयोजनाका लागि भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर संकलन थालेको थियो । अहिले पूर्वाधार करका रुपमा १० रुपैयाँ पुर्याइएको छ । तर यो रकम बूढीगण्डकी आयोजनाका लागि मात्र खर्च गरिएको छैन ।



source https://www.onlinekhabar.com/2021/09/1007488

नेपाल भर्सेस भारत प्रिभ्यु : प्रतिष्ठादेखि साफको तयारीसम्म

१७ भदौ, काठमाडौं । नेपाल र भारतबीच जुनसुकै खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ । धेरै चर्चा पनि हुन्छ । हार र जितले फरक अर्थ राख्छ । अझ विश्वकै चर्चित फुटबल खेल हुँदा चर्चा नहुने कुरै भएन ।

चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अक्टोबरमा माल्दिभ्समा साफ च्याम्पियनसिप हुँदैछ । त्यसैको तयारीमा रहेको नेपाल र भारतले दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

जसमध्ये पहिलो खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालमा हुँदैछ । यस्तै दोस्रो खेल आगामी आइतबार रंगशालमै हुनेछ । मैत्रीपूर्ण खेलका लागि सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय भारतीय टोली नेपाल आएको छ ।

नेपालको भने आधिकारिक टोली घोषणा नभए पनि बन्द प्रशिक्षणमा रहेका २४ जनाकै टोलीबाट मैत्रीपूर्ण खेल खेल्ने सम्भावना छ ।

प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पोखरामा बन्द प्रशिक्षण हुँदा तीन खेलाडी बाहिर राख्दै २५ जनाको टिम बनाएका थिए । त्यसमा रोहित चन्द क्लब ड्युटीका लागि इन्डोनेसिया पुगिसकेका छन् । उनी पर्सिजा जाकार्ताबाट त्यहाँको लिग खेल्छन् । रोहित नहुँदा उनले खेल्दै आएको पोजिसनमा अर्को खेलाडीले खेल्नेछन् ।

घरेलु मैदानमा अलमुताइरीको पहिलो खेल

नेपालका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेलमार्फत घरेलु मैदानमा डेब्यु गर्दैछन् । नेपालमै खेल्न पाउँदा उनी खुशी छन् । दर्शककै अघि खेल्न पाउने भएपछि उनी पक्कै उत्साहित छन् ।

बुधबार प्रिम्याच कन्फ्रेन्स हुँदा सम्म दर्शकलाई प्रवेश दिने निश्चित थिएन । तर पछि अखिल नेपाल फुटबल संघ एन्फाले पाँच हजार १०० दर्शकलाई प्रवेश दिने अनुमति नेपाल सरकार र सीसीएमसीबाट पाएपछि दर्शकले पनि रंगशालमै पुगेर खेल हेर्न पाउने भएका हुन् । ‘घरेलु मैदानमा त्यो पनि भारतविरुद्ध पहिलो खेल खेल्न पाउदा खुशी छु।

गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका अलमुताइरीको प्रशिक्षणमा नेपालले यसअघि चार खेल खेल्दा सबै देशबाहिर थियो । गत जेठमा इराकविरुद्ध मैत्रीपूर्ण उसैको मैदानमा खेलमार्फत उनले डेब्यु गरेका थिए । त्यसपछि नेपालले कुवेतमा नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेलेको थियो ।

अलमुताइरीले नेपाली दर्शकको अगाडि राम्रो प्रदर्शन गर्ने समेत बताएका छन् । ‘नेपालीलाई खुशी बनाउने होइन गर्व गर्न लाएक प्रदर्शन गर्नेछौँ,’ उनले भने ।

अलमुताइरीले भारत विरुद्ध जित्नकै लागि खेल्ने बताउँदै दुई खेलमा भारतलाई हराउन सके ७ देखि १० स्थानसम्म फिफा वरीयता सुधार हुने समेत बताए । उनले भारत विरुद्ध नयाँ खेलाडीलाई अवसर दिने संकेत गर्दै केही सरप्राइजसमेत भएको बताएका छन् ।

नेपालका कप्तान किरण चेम्जोङले अलमुताइरीको आगमनपछि नेपाली टिमको मानसिकतामा परिवर्तन भएको र अहिले टिम मानसिक र शारीरीक रुपमा बलियो रहेको बताए ।

नेपालले दुई महिनादेखि तयारी गरिरहेकोले टिम राम्रो लयमा रहेको र भारतसंग खेल्न तयार रहेको अलमुताइरी र चेम्जोङको भनाइ छ ।

नेपालसँगको खेल कठिन

नेपाल र भारतको राइभर्ली अन्तर्राष्ट्रिय फुटबलमा पनि चर्चित नै छ । त्यसैले भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको खेल जहिल्यै कठिन हुने बताए । आफ्नो मावली र पुर्खाको गाउँसमेत नेपालमै रहेकोले उनी भावनात्क रुपमा पनि नेपालसँग जोडिएका छन् । उनी नेपाली मज्जाले बुझ्छन् भने दोहोरो कुरा पनि गर्छन् ।

यसअघि सन् २०१५ मा विश्वकप छनोट अन्तर्गतको खेल खेल्न आएका सुनिल ६ वर्षपछि नेपालमा खेल्न आएका हुन् । त्यसबेला नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । सुनिलसँगै गोलकिपर गुरप्रितमान सिंह सन्धु र प्रितम कोटल मात्र यसअघि नेपाल आएर खेलेका थिए ।

सुनिलले यसअघि पनि नेपालसंगको खेल कठिन रहेकोले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताएका छन् ।

भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाकले अहिले वर्षाको मौसम रहेकोले नेपालसँगको खेललाई लिएर सचेत छन् । उनले पानी नपरेमा खेल राम्रो हुने अपेक्षा राखेका छन् । यस्तै नेपालका युवा खेलाडीहरुले अवसर पाउँदा विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेको भन्दै नेपालले पछिल्लो समय खेलमा सुधार गरेको समेत बताएका थिए ।
नेपालसँग प्रतिस्पर्धात्मक खेल हुने उनले अपेक्षा राखेका छन् ।

साफको तयारी

नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबर १ देखि सुरु हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छन् । नेपाली टोली पोखरामा दुई साताभन्दा बढी समय बन्द प्रशिक्षक सकाएर काठमाडौं फर्केको हो । त्यसअघि टोलीले काठमाडौंमा प्रशिक्षण गरेको थियो ।

भारतविरुद्धको दुई खेलपछि नेपाली टोली थप तयारी गर्न सेप्टेबर १० मा कतार जाँदैछ । नेपाली टिमका प्रशिक्षक अलमुताइरीले कतारमा कम्तीमा एक मैत्रीपूर्ण खेल खेल्नका लागि प्रयास गर्ने बताएका छन् । भारतले भने कोलकातामा प्रशिक्षण क्याम्प गरेर नेपाल आएको हो ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप दुई मैत्रीपूर्ण खेल खेलाउन लागिएको छ । साफ अक्टोबर १ देखि १६ अर्थात असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

भारतीय टिमका प्रशिक्षक स्टिमाक र कप्तान सुनिलले नेपालसँगको दुई खेल साफ च्याम्पियनसिपको लागि राम्रो तयारी हुने बताएका छन् ।

नेपालका प्रशिक्षक अलमुताइरीले पनि भारतविरुद्धको खेल साफ तयारीको लागि महत्वपूर्ण भएको बताएका छन् । उनले आफ्नो लक्ष्य एसिया कप सम्म पुग्ने रहेकोले भारतविरुद्धको खेलमा जस्तो नतिजा आए पनि राम्रो प्रदर्शन गर्ने र जितकै लागि खेल्नेसमेत बताएका छन् ।

यस्तै कप्तान किरण चेम्जोङले साफअघि नेपालको बलियो र कमजोर पक्ष थाहा पाउन भारतविरुद्धको खेलले सहयोग पुग्ने बताए ।

सन् १९९३ मा साफ कपको नामबाट सुरु भएको दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल फाइनल समेत पुगेको छैन ।

सन् २०१३ मा आफैले आयोजना गरेको साफमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल माल्दिभ्ससँग सेमिफाइनलमा पराजित भएको थियो ।

२०१३ र २०१८ मा दुवै पटक नेपाललाई फाइनल पुग्ने अवसर थियो । तर नेपालले अवसरलाई सदुपयोग गर्न सकेन । यसपटक साफमा ५ टिममात्र सहभागी छन् र राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसमा शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनलमा खेल्नेछन् ।

२०१७ पछि पहिलो खेल

सन् २०१७ पछि नेपाल र भारतबीच पहिलो पटक फुटबल खेल हुन लागेको हो । चार वर्षअघि अँधेरी कम्प्लेक्सस्थित मुम्बई फुटबल एरेनामा भएको त्यस खेलमा नेपाल २-० ले पराजित भएको थियो । त्यो बेला सुनिल क्षेत्री खेलेका थिए । त्यसबेला गोल गरेका सन्देश झिंगन र जेजे लालपेखलुआले गोल गरेका थिए । दुवै खेलाडी अहिले नेपाल आएको टिममा भने छैनन् । उक्त खेलमा नेपालका विराज महर्जनले रातो कार्ड पाएका थिए । विराटले अन्तर्राष्ट्रिय पुटबलबाट सन्यास लिइसकेका छन् ।

यस्तै नेपाल र भारत काठमाडौंमा ६ वर्षपछि खेल्न लागेका हुन् । सन् २०१८ को विश्वकप छनोट अन्तर्गत एसियाली छनोटको पहिलो खेलमा नेपाल र भारतबीच २०१५ मा दशरथ रंगशालमा खेल भएको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक मुम्बईमा खेलेको टिममा अहिले धेरै परिवर्तन भइसकेको छ । त्यो बेला मुम्बई गएका २० मध्ये ९ खेलाडी मात्र अहिले टिममा छन् । गोलकिपर तथा कप्तान किरण चेम्जोङसहित दुई गोलकिपर विकेश कुथु र विशाल श्रेष्ठ अहिले पनि टिममा छन् । यस्तै डिफेन्डरमध्ये अनन्त तामाङ मात्र टिममा छन् भने मिडफिल्डर विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा अनी फरवार्ड नवयुग श्रेष्ठ अहिलेपनि टिममा छन् ।

विमल घर्ती मगर, भरत खवास, रोहित चन्द लगाएका खेलाडी अहिले टिममा छैनन् । यस्तै हेमन गुरुङ र विमल बस्नेत देश छाडेर अष्ट्रेलिया पुगिसकेका छन् ।

विगतमा भारत हाबी

नेपाल र भारतबीचको विगत हेर्दा भारत बलियो देखिन्छ । दक्षिण एसियामा लगभग उस्तै जस्तो देखिए पनि भारतले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा फड्को मार्दै छ । साफ च्याम्पियनसप ७ पटक जितिसकेको भारतले एसिया कप पनि खेलिसकेको छ । जबकि नेपाल साफकै फाइनल पुग्न संघर्षरत छ ।

नेपाल र भारतबीच अहिलेसम्म १९ खेल हादा नेपालले जम्मा दुई खेल मात्र जितेको छ भने ९० मिनेटभित्र एक खेल जितेको छ । सन् १९९३ को साफ गेम्सको फाइनलमा नेपालले भारतलाई ट्राइबेकरमा ४-३ ले हराएको थियो । त्यसपछि सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा समूह चरणमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । जुमानु राई र अनिल गुरुङले नेपालका लागि गोल गरेका थिए ।

भारतले नेपाललाई अहिलेसम्म १३ पटक हराएको छ । ४ खेल भने बराबरीमा सकिएको छ ।

नेपालमा भएको पछिल्लो खेल गोलरहित बराबरीमा सकिएको थियो भने भारतमा भएको पछिल्लो खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

१९ खेलमा भारतले ३३ गोल गर्दा नेपालले ९ गोल मात्र गरेको छ । भारत विरुद्ध १३ खेलमा नेपालले गोल गर्न सकेको छैन ।

नेपालले पछिल्लो पटक सन् २०१५ को साफ च्याम्पियनसपमा भारत विरुद्ध गोल गरेको थियो । ४-१ ले पराजित भएको उक्त खेलमा विमल घर्ती मगरले गोल गरेका थिए ।

नेपाली टिम

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेण्डर : सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, राजन गुरुङ

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, आयुष घलान, सुनिल बल, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी

फरवार्ड : मनिष डाँगी, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

भारतीय टिम :

गोलकिपर : अमरिन्दर सिंह, धिरज सिंह मोइराङ्गथेम, गुरप्रित सिंह सन्धु

रक्षक : प्रितम कोटल, चिङ्गलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज

मिडफिल्डर : लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम,

जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी



source https://www.onlinekhabar.com/2021/09/1007487

कश्मीरका चर्चित नेता गिलानीको निधन, को हुन् गिलानी ?

१७ भदौ, काठमाडौं । कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको बुधबार राति निधन भएको छ । ९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए ।

पीडीपीका नेता महबुबा मुफ्तीले सामाजिक सञ्जालमा गिलानीको निधन भएको जानकारी दिएका छन् । गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको कश्मीरका आईजीपी विजय कुमारले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

मुफ्तीले लेखेका छन्, ‘गिलानी साहेबको निधनको खबरले दुःखी छु । हामीबीच धेरै मुद्दामा सहमति थिएन तर तीव्र निर्णय गर्न सक्ने र आफ्नो विश्वासमा टिकिरहन सक्ने क्षमताका लागि उनलाई सम्मान गर्दछु । अल्लाहले उनलाई स्वर्गमा ठाउँ दिउन् । उनको परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

गिलानी कश्मिरमा सक्रिय पृथकतावादी नेता हुन् । २९ सेप्टेम्बर १९२९ मा जन्मिएका उनी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्छन् ।

उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।

उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए । उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए ।

भारतीय संस्थापनले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । उनीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो । भारत सरकारले उनको पासपोर्ट पनि खोसेको थियो ।



source https://www.onlinekhabar.com/2021/09/1007490

Tuesday, 31 August 2021

तालिबानलाई प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्छ : कतार

१६ भदौ, काठमाडौं । कतारका विदेशमन्त्रीले तालिबानलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्ने चेतावनी दिएका छन् ।

मंगलबार दोहामा बोल्दै विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलराहमान अल थानीले अफगानिस्तानको सुरक्षा र सामाजिक आर्थिक मुद्दामा तालिबानसँग जोडिन सबैलाई आग्रह गरेका छन् ।

जर्मनीका विदेशमन्त्री हेइको माससँग बोल्दै उनले तालिबानमाथि प्रतिबन्ध लगाउँदै ऊसँगको सम्पर्क विच्छेद गर्ने हो भने यसले अर्को समस्या सिर्जना गर्ने बताएका हुन् । कतार तालिबानको लागि अन्तर्राष्ट्रिय समुदायसँग पुग्ने एउटा माध्यम बनेको छ । उसले सन् २०१३ मा कतारमा आफ्नो राजनीतिक कार्यालय खोलेको थियो ।

अहिलेसम्म विश्वका कुनै पनि मुलुकले तालिबानलाई अफगानिस्तानको सरकार मानेका छैनन् । पश्चिमा मुलुकले यो संगठनलाई मानव अधिकारको सम्मान गर्दै समावेशी सरकार बनाउन आग्रह गर्दै आएका छन् ।

कतारी विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाँदा आतंकवाद बढ्न सक्ने जोखिम रहेको भन्दै समावेशी सरकारको लागि आग्रह गरेका छन् । उनले तालिबानसँगको कुराकानीमा अहिलेसम्म सकारात्मक तथा नकारात्मक कुनै पनि प्रतिक्रिया नआएको बताएका छन् ।

जर्मनीका विदेशमन्त्री मासले अहिले आफूहरु तालिबानलाई आधिकारिकता दिने वा नदिने भन्दा पनि अहिले देखिएको समस्या समाधानको लागि प्रयासरत रहेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा



source https://www.onlinekhabar.com/2021/09/1007034

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१६ भदौ, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1007031

गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न निर्देशन

१६ भदौं, काठमाडौं । गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो ।

कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी गरेका थिए । उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण सभा रोक्न फाइनान्सलाई पत्राचार गरेको छ ।

यो पनि पढ्नुहोस गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै उजुरी

२५ जना भन्दा बढी सहभागी भएर कुनै पनि सभा समारोह जस्ता कार्यक्रम गर्न निषेध गरिएको भन्दै अर्को निर्देशन नहुँदासम्म साधारणसभा स्थगित गर्न प्रशासनले भनेको छ ।

कम्पनीले आगामी भदौ २३ गतेका लागि काठमाडौंको सोल्टिमोडस्थित एक होटलमा साधारण सभा आह्वान गरेको थियो । सभा सम्मेलन गर्न अहिले पनि नपाइने सरकारी नीति विपरीत संञ्चालकहरुले आफूखुसी निर्णय गर्न साधारण सभा बोलाइएको भन्दै शेयरधनीहरुले विरोध गर्दै आएका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1007035

किन उमेरभन्दा चाडै बढ्दैछन् बालबच्चा ?

हिजोआज बच्चाहरुमा समयभन्दा अघि नै परिपक्व हुने क्रम बढ्दो छ । सामान्यतया १३ वर्षदेखि किशोरावस्था सुरु हुने भनिए पनि समयअघि नै परिपक्व हुने परिपाटीका कारण यो क्रम बढेको पाइन्छ  । अहिले बच्चाहरु शारीरिक हिसाबले उमेरभन्दा चाडै परिपक्क हुँदा यसले फाइदामात्रै होइन घाटा पनि निम्त्यिाएको छ । हामीले मनोविज्ञ गोपाल ढकाललाई समयअघि नै बच्चाहरु परिपक्व हुनुको कारण, यसको समस्या र निवारणको उपाय के-के हुन सक्छ ?

हिजोआजका बच्चाहरुमा परिपक्व हुने उमेर घटेर गएको छ । पहिले १३ वर्षमा सुरु हुने किशोरावस्था अहिले ८-९ वर्षदेखि नै सुरु हुन थालिसकेको छ । यसको पछि विभिन्न कारणहरु छन् । जस्तो, खानपानमा आएको परिवर्तन, सूचना प्रविधिले ज्ञानको क्षेत्रमा गरेको विस्तार जस्ता कारणले पनि बच्चाहरु समयअघि नै परिपक्व बन्ने गरेका छन् । सबैभन्दा ठूलो कारण भनेको खानपानको कारणले शरीरमा ल्याएको परिवर्तन र सूचना प्रविधिका कारणले बुझाइ वा मानसिक र स्वास्थ्य चेतनामा ल्याएको प्रभावका कारण नै बच्चाहरु छिट्टै परिपक्व बन्न थालेका हुन् ।

छिटो परिपक्व हुँदाको घाटा

धेरैलाई लाग्न सक्छ बच्चाहरु त छिटो परिपक्व हुनु आफैँमा अभिभावकको लागि खुसीको कुरा हो । तर यसको पछि छुट्टै नकारात्मक पक्षहरु छन् । बालापनको समय भनेको चञ्चल समय हो । यो समयमा बिस्तारै मान्छेको शारीरिक र मानसिक विकास हुँदै जान दिनुपर्छ । यो समयमा बच्चाहरुलाई कुनै पनि जिम्मेवारीबोध र थप दबाब दिनुहुँदैन । तर चाँडै परिपक्व हुँदा मान्छेले अनावश्यक जिम्मेवारीको चिन्ताले बालापनमा उसले जुन खालको स्वतन्त्रता र मनोरञ्जनात्मक रुपमा विकास हुने चरण हुन्छ । त्यो चरण बदलिन्छ । त्यसैले चाँडो परिपक्व हुनु पनि घाटाको कुरा हो ।

मनोविद् गोपाल ढकाल 

सानै उमेरमा यौनिक परिपक्वताको समस्या

शारीरिक र मानसिक परिपक्वतासँगै बच्चाहरुमा चाँडै नै यौनिक परिपक्वता पनि हुन्छ । जुन एक समस्या हो । चाँडो परिपक्व हुनु र ढिलो परिपक्व हुनुमा हामी बोइलर कुखुरा र लोकल कुखुराको भेदलाई तुलना गर्न सक्छौं । ढिलो परिपक्व हुनुको अर्थ शारीरिक र मानसिक रुपमा बिस्तारै विकास हुँदै जाँदा यसले पछिसम्म शरीर सुदृश बनाउँछ । अन्यथा बुढेशकालको उमेरमा पनि मान्छेले बच्चाको जस्तो व्यवहार गर्छ । जुन उपयुक्त होइन ।

छिटो परिपक्व हुने बच्चामा अभिभावकको व्यवहार

छिटो परिपक्व हुने बच्चाहरुमा अभिभावकले सामान्य बच्चालाई जस्तो व्यवहार नगर्न सक्छन् । कतिपय त्यस्ता विषयहरु पनि आइरहेका छन् । कुनै कुरामा बच्चाले ठूलाको जस्तो व्यवहार ग¥यो भने अभिभावकले आफूसँग तुलना गरेर हेर्छन् । जुन व्यवहारले बच्चाहरुमा अनावश्यक दबाब(टर्चर) महसुस गर्न सक्छन् । त्यसैले समयभन्दा छिटो परिपक्व हुनुको फाइदासँगै नोक्सानी पनि उस्तै हुन्छ ।

अभिभावक र बच्चाको बीचको असमझदारीको खाडल कसरी पुर्ने ?

अभिभावक र बच्चाहरुमा जेनेरेसन ग्यापले गर्दा केही असमझदारी हुन सक्छन् । हिजोआजका धेरै बालबालिकाहरु छिटो परिपक्व हुने भएकोले पनि ढिलो परिपक्व हुने अभिभावक र छिटो परिपक्व हुने बालबालिकाको बीचमा कुनै न कुनै असमझदारी हुन सक्छ । त्यसको लागि बालबालिकाकाको विकासको क्रमको प्रक्रियाबारे अभिभावकहरुलाई ज्ञान गराउनु नै सबैभन्दा ठूलो उपाय हो । पहिले अभिभावकहरु यसमा जानकार भए भने मात्रै बच्चाहरुलाई पनि सौहार्दपूर्ण रुपमा आवश्यक ज्ञान दिन सक्छन् । त्यसैले अभिभावकहरुले नै बच्चाको स्वभावको आधारमा यसबारे ज्ञान लिनु जरुरी छ ।



source https://www.onlinekhabar.com/2021/09/1007019

म्युजिक भिडियोमा बारम्बार किन चुक्दैछन् राजेश हमाल ?

नायक राजेश हमाललाई केही संस्थाले ‘महानायक’को उपाधि दिएका छन् । राजेश हमाल चलचित्र क्षेत्रको ‘महानायक’ हुन् या होइनन् भन्ने बहस बेला–बेलामा हुने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्दै दिएको एक अभिव्यक्तिले ठूलो विवाद खडा गर्यो । दीपाले यो बिषयमा बारम्बार माफी पनि मागिन् । राजेशले पनि घुमाउरो शैलीमा आफू नै ‘महानायक’ भएको दाबी प्रस्तुत नगरेका होइनन् ।

तर, राजेश हमालले चलचित्र क्षेत्रमा लामो समय बिताइरहँदा उनले गरेका केही कामहरुको भने बेला–बेलामा टिप्पणी र आलोचना हुने गरेको छ । अझ, लकडाउनपछि बनेका म्युजिक भिडियोमा हमालले गरेको कामको टिप्पणी सामाजिक संजालमा पनि हुन थालेको छ ।

हालै मात्र, राजेशले मोडलिङ गरेको ‘नाचन कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा राजेश हमाललाई नयाँ गेटअपमा त प्रस्तुत गरिएको छ ।

केही हट मोडलहरुको साथमा स्विमिङ पूलमा रमाउँदै गरेका राजेश हमालको अवतार भने उनकै फ्यानहरुलाई पनि चित्त वुझेको छैन । यसैले, सामाजिक संजालमा राजेश हमालको चर्को आलोचना भैरहेको छ । यो गीतको भिडियोमा काम गरेर राजेश हमालले आफू ‘महानायक’ हुँ भन्ने नै विर्सिएको धेरैको तर्क छ । युटुबमा पनि राजेश हमालले गीत रोज्दा धेरै ध्यान दिनुपर्ने र आफ्नो पोजिसन ख्याल गर्नुपर्ने भन्दै आलोचना भैरहेको छ ।

उसो त, राजेश हमालले लकडाउनपछि काम गरेका अधिकांश गीतले खासै चर्चा पाउन सकेनन् । गीतमा हमाल राख्दा पनि मेकरले गतिलो भ्यूज पाउन सकेका छैनन् । यसैले, पनि राजेशले भिडियोमा काम गर्दा कमसेकम गीतको अडियो र मेकिङको बारेमा राम्रोसँग अध्ययन गरेर मात्र काम गर्नुपर्ने धेरैको तर्क छ ।



source https://www.onlinekhabar.com/2021/09/1007024

राजदूत अधिकारी र पाकिस्तान एकेडेमी अफ लेट्र्सका अध्यक्षको भेट

१६ भदौ, काठमाडौं । पाकिस्तानमा लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेट्र्सका अध्यक्ष युसुफ खुस्कसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा दुई देशको बीचमा साहित्यको क्षेत्रमा कसरी सहकार्य गर्न सकिन्छ भनी धारणाको आदान प्रदान भएको इस्लामावादस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

भेटमा राजदूत अधिकारीले नेपाली साहित्यलाई उर्दु र पाकिस्तानमा अन्य भाषामा अनुवाद गर्न अनुरोध गरेका थिए । यसो गर्न सकिएमा नेपाली साहित्यलाई पाकिस्तानी जनताको बिचमा लैजान सकिने राजदूत अधिकारीको धारणा थियो ।

भेटमा राजदूत अधिकारीले सरदार रुद्रराज पाण्डेको उर्दु भाषामा अनुवाद गरिएको ‘रुपमति’ पुस्तक हस्तान्तरण गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1006998

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More