Tuesday, 30 November 2021

राप्रपाको एकता महाधिवेशन आज सुरु हुँदै

१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।

यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ ।१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।

कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।

यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अध्यक्षका स्वभाविक दावेदार छन् ।

नेपालगञ्जका मेयरसमेत रहेका डाक्टर धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् ।यसबाहेक उनलाई युवा नेताहरूले पनि साथ दिएका छन् ।

अध्यक्ष थापालाई भने नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेललगायतको साथ रहेको छ ।

अर्का अध्यक्ष पशुपतिशम्शेरले भने आफू अध्यक्षको उम्मेदवार नबन्ने भन्दै एकताको महाधिवेशनको पक्षमा रहेको बताएका छन् । उनले खुलेर कसैलाई समर्थन गरिसकेका छैनन् ।



source https://www.onlinekhabar.com/2021/12/1046544

Monday, 29 November 2021

एमालेको मतदान सकियो

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये  २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । एमाले नेता योगेश भट्टराईले मतदान सकिएको साढे एक दुई घण्टाभित्रमा मतपरिणाम आउने जानकारी दिए ।

मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको जनाएको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर



source https://www.onlinekhabar.com/2021/11/1046135

निर्वाचनको बेला पर्चा बाँड्ने काम रोक्न भीम रावलको माग

१४ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयनका लागि मतदान भइरहेको बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् ।

भीम रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले त्यसलाई रोक्न माग गरेका हुन् ।

पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई याे काम रोक्न आग्रह गरेको जानकारी दिएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

(यसअघि समाचारको शीर्षक भीम रावलले निर्वाचन रोक्न माग गरेको भनेर उल्लेख भएकाले सच्याइएको छ । सं.)



source https://www.onlinekhabar.com/2021/11/1046126

नेमार चोटका कारण ८ साता मैदान बाहिर रहने

१४ मंसिर, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटका कारण २९ वर्षीय ब्राजिलियन फरवार्ड नेमार ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ । पीएसजीका अनुसार नेमारको देब्रे घुँडाको लिगामेन्टमा चोट लागेको छ ।

फ्रेन्च लिग अन्तर्गत सेन्ट इटिएनविरुद्ध ३-१ को जित हात पारेको खेलमा नेमार घाइते भएका थिए ।

नेयमारले अब फ्रेन्च लिग वानका ७ खेल गुमाउने छन् । यस्तै च्याम्पियन्स लिगको एक खेल पनि खेल गुमाउने छन् ।

फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पीएसजीले दोस्रो स्थानको रेन्समाथि १२ अंकको अग्रता बनाएको छ ।

पीएसजीले डिसेम्बर ७ मा च्याम्पियन लिग अन्तर्गत क्लब ब्रगसँग खेल्ने तालिका छ ।



source https://www.onlinekhabar.com/2021/11/1046116

‘राजनीतिको अपराधीकरण भयो’

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएपछि अध्यक्ष केपी शर्मा ओली पक्षबाट भीम रावल पक्षलाई भोट नदिनू भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो । यो पर्चामा अध्यक्ष ओलीले गत आइतबार रातिको बन्दसत्रमा सर्वसम्मतीका लागि गरेको प्रस्ताव भन्दा बाहिरका उम्मेदवारलाई भोट नदिने भनेर उल्लेख गरिएको छ ।

यसलाई ओली पक्षले पार्टीको आधिकारिक प्रस्ताव अनुसारकै पर्चा वितरण भएकाले अनौठो नभएको प्रतिक्रिया दिएको छ । तर रावल पक्षले भने नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको र राजनीतिक अपराधीकरण भएको आरोप लगाएको छ ।

रावल पक्षबाट दलित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नरबहादुर विकले फलानोलाई भोट दिनु र फलानोलाई नदिनू भन्दै पर्चा बाँडिनु पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट प्यानल नबनाउने भनेर गरिएको निर्णयविरुद्ध भएको बताए ।

प्रस्तुत छ विकसँग गरिएको कुराकानी –

नेकपा एमालेले निर्वाचनमा प्यानल नबनाउने भनेको थियो, प्यानल बनेको जस्तो देखियो है ?

स्थायी कमिटी, केन्द्रीय कमिटीको निर्णय गर्दाखेरि पार्टीको प्यानल नबनाउने, व्यक्तिगतरुपमा उम्मेदवारी दिने र कार्यकर्ताहरुले उम्मेदवारहरुले स्वतन्त्ररुपमा आफ्नो नेता छान्न पाउन दिने भन्ने सहमति र निर्णय थियो । तर अहिले आएर त्यो निर्णयको विरुद्धमा व्यापक रुपमा अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरुलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णय विरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।

तपाईं पनि भीम रावलको पक्षमा हो भनेर नाम काटिएको छ ?

हो । उम्मेदवार हुने इच्छा सबैको हुन्छ राजनीति गरिसकेपछि । चुन्ने चुनिने अधिकार सबैले राख्दछ । दास बन्नका लागि आएको होइन कोही पनि । जोगी बन्नका लागि आएको होइन, समाजसेवा गर्न आएको हो । तर पनि भीम रावलको विचार अंगाल्यो भन्दैमा समर्थन गर्यो भन्दैमा, भीम रावलको पक्षधर भनेर लिस्टबाट हटाएर जुन किसिमको व्यवहार गरियो, यो सरासर गलत व्यवहार हो भन्ने मलाई लागिरहेको छ ।

केही दिन अगाडि तपाईंहरुले पनि भीम रावलको पर्चा बाँड्नु भएको थियो नि ?

भीम रावलको उम्मेदवारी किन भनेर उहाँले आफ्नो भावना, विचार राख्नु भएको थियो । कार्यकर्ताहरुले भीम रावल किन उम्मेदवार हुँदैछन् भनेर बुझ्न सकुन्, पढुन् भनेर राखेको हो । भीम रावललाई भोट दिनुस् भनेर प्यानल बनाएर बाँडेको होइन । भीम रावलका निजी विचार पढ्न पाउन् स्वतन्त्र रुपमा भन्ने हिसाबले बाँडिएको थियो । तर उहाँहरुले त्यो बाँड्न पाइँदैन भनेर रोक्नुभयो । त्यो प्यानलको कागजपत्र थिएन । त्यो केबल अपिल थियो उहाँको । तर अहिले आएर आफूले प्यानल बनाएर एउटा लिस्ट बाँड्नुभयो खुल्लमखुल्ला । प्रहरी छ यहाँ, प्रशासन छ, पत्रकारहरु छन्, सबले देखिरहेका छन् । त्यसैले यो एकदम पार्टीको निर्णय विरुद्धमा छ भन्ने मलाई लागेको छ । यसले पार्टीलाई सफलता दिंदैन । यसले कार्यकर्ताहरुको भावनामाथि कुठाराघात गर्छ ।

दुई पक्षका उम्मेदवार भएपछि आफ्नो पक्षकाले फलानो फलानोलाई भोट हाल्नु भनेर प्रतिनिधिलाई पर्चा बाँड्नु नौलो कुरा त होइन नि होइन ?

यो नौलो कुरा होइन, ठीक छ । तर त्यो प्यानल बनाउँदाखेरि हो । हाम्रो पार्टीको नवौं महाधिवेशनमा दुईवटा छुट्टै प्यानल बनाएर प्यानल नै उम्मेदवारी घोषणा गरेर गएका थिए । त्यतिबेलाको त्यो पीडाले गर्दाखेरि अहिले पार्टी नेतृत्वकाले के सहमति गरेका थिए भने अब प्यानल बनाएर हामी जाँदैनौं । अब हामी व्यक्तिगत रुपमा उम्मेदवार हुने र कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई चुन्ने, स्वतन्त्र हुनलाई छोड्ने भन्ने सहमति निर्णय थियो । त्यसको विरुद्धमा, त्यो निर्णयलाई कुल्चेर, नमानेर, एउटा प्यानल बनाएर, फलाना फलाना उम्मेदवारलाई भोट दिनु हुँदैन भनेर, कट गरेर जुन बाँडियो, यो सरासर कार्यकर्ताहरुको चरित्रको हत्या गर्ने हो र पार्टीलाई कमजोर बनाउने षडयन्त्र हो ।

तपाईंहरुले पनि फलानालाई भोट नहाल्नु भनेर पर्चा बाँडे भइगो नि ?

हामी त बाँड्दैनौं । हामी त निर्णयको पक्षमा छौं नि । जब पार्टीको स्थायी कमिटीमा, केन्द्रीय कमिटीमा निर्णय भइसक्यो, प्यानल नबनाउने, पर्चा नबनाउने भनिसकेपछि हामीले बाँडेका छैनौं ।

कसले बाँड्यो होला पर्चा ?

पर्चाचाहिं हाम्रो अध्यक्ष कमरेड केपी ओली समूह भनेर । अथवा ३०१ जना जो घोषणा भएका थिए महाधिवेशनमा त्यो ३०१ जना भित्रका मान्छेहरुलाई मात्र मत हाल्ने बाँकीलाई कट गरेर तपाईंहरु ३०१ भित्र हो भनेर सोध्ने ? अनि नभएकालाई तपाईंहरुलाई भोट पाइँदैन भनेर पर्चा बाँडे । यो पार्टीको निर्णयको विरुद्धमा छ ।

तपाईंलाई पनि सोधेका थिए ३०१ भित्र हो भनेर ?

हो, मलाई सोधेका थिए । सयौं जनाले सोधे । तपाईं ३०१ भित्र भए पाउनुहुन्छ, नभए पाउनु हुन्न, कट गरेको छ तपाईंलाई भनेर भने ।



source https://www.onlinekhabar.com/2021/11/1046121

एनआरएनले विदेशी मुद्राको बचत खाता खोल्न सक्ने

१४ मंसिर, काठमाडौं । गैरआवासीय नेपालीहरूले अब नेपाली बैंकमा विदेशी मुद्रामा नेपालमै खाता खोल्न सक्ने भएका छन् । राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

एनआरएनले न्यूनतम पाँच हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सक्ने राष्ट्र बैंकले बताएको छ ।

गैरआवासी नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकराको सम्बन्धित निकायबाट जारी भएको गैरआवासी नेपाली नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ ।

यस्तो खातामा नगद भने जम्मा नहुने राष्ट्र बैंकले बताएको छ । बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सक्ने राष्ट्र बैंकले बताएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046119

अस्तित्वको संकटमा निजी शिक्षा

कोभिड-१९ का कारण नेपालका एक हजारभन्दा बढी निजी विद्यालय बन्द भएको तथ्यांक छ । सञ्चालन खर्च धान्न नसकेर विद्यालय बन्द गर्नुपरेको निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनले बताएको छ । लकडाउन अवधिमा शुल्क उठ्न नसकेकोले अनि संविधान र सरकारी नीति पनि आफूअनुकूल नभएको भन्दै निजी शिक्षाका लगानीकर्ताहरू यतिखेर शिक्षा क्षेत्रमा लगानी गर्न तर्सिएका छन् । लगानीकर्ता नै तर्सिएपछि महङ्गो शुल्क लिएर गुणस्तरीय शिक्षा दिइरहेका ती विद्यालयहरूको भविष्य र अस्तित्व के हुने हो ? चासोको विषय बनेको छ ।

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । शिक्षा राज्यकै जिम्मेवारीभित्र पर्ने क्षेत्र हो भन्ने कुरा संविधानले नै ग्यारेण्टी गरेको छ । संविधानको यही प्रावधानले विद्यालय शिक्षामा निजी लगानीको आवश्यकता र अस्तित्वमाथि प्रश्न उठेको छ ।

नेपालमा यतिखेर मुख्य गरी दुई प्रकारका शिक्षालयहरू सञ्चालनमा छन् । सरकार र समुदायको साझेदारीमा सञ्चालित सामुदायिक विद्यालय र विशुद्ध निजी लगानीमा सञ्चालित नाफामूलक संस्थागत विद्यालय । सरकारी विद्यालयको गिर्दो गुणस्तर, स्तरीय नतिजाको अभाव, दक्ष जनशक्ति परिपूर्ति हुन नसक्नु जस्ता प्रमुख समस्याले निजी लगानीका विद्यालयहरूप्रति आम अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो छ ।

कम्पनी ऐन-२०५८ ले निजी विद्यालयलाई आन्तरिक राजस्व कार्यालयमा आयकर, मुनाफा कर, सामाजिक सुरक्षा कर, घरभाडा, जग्गा भाडा कर आदि कर असुल गर्न भन्दै संस्थागत विद्यालयका रूपमा परिभाषित गरिदिएपछि सार्वजनिक सामाजिक सेवाभावका त्यस्ता शिक्षालयहरू विशुद्ध व्यावसायिक विद्यालयका रूपमा परिणत भएका हुन् । तर तिनै व्यावसायिक र नाफामूलक भनिएका संस्थागत विद्यालयहरू नै यतिखेर नेपालको शैक्षिक इतिहासलाई गर्विलो र गुणस्तरीय बनाउने सशक्त क्षेत्र भएका छन् ।

वार्षिक रूपमा राज्यको अर्बौंको लगानीमा सञ्चालित सरकारी विद्यालयमाथि आकर्षण र जनविश्वास घट्दै जानु र सरकारको कत्ति पनि लगानी नभएका निजी विद्यालयप्रतिको भरोसा र आकर्षण झन् बढ्दै जानुले सरकारी विद्यालयप्रति अभिभावकहरू अझै पनि ढुक्क छैनन् भन्ने प्रष्ट पार्दछ ।

सरकारले निजी विद्यालयलाई कम्पनी ऐनअन्तर्गत राखेर आन्तरिक राजस्व कार्यालयमा आयकर, मुनाफा कर, सामाजिक सुरक्षा कर, घरभाडा, जग्गा भाडा कर आदि कर असुल गर्दै आएको छ । सरकारले निजी विद्यालयलाई बेलाबेलामा कम्पनी, गुठी, सार्वजनिक गुठी, ग्रामीण शिक्षा विकास कोष जस्ता मूर्त तथा अमूर्त प्रकारका प्रावधानमा परीक्षण गरिरहँदा शैक्षिक लगानीकर्ताहरूमा सुरक्षाको महसूस नभई त्रसित मानसिकता र अन्योलको वातावरण सिर्जना भएको छ ।

त्यसो त नेपाल जस्तो गरीब र अल्पविकसित मुलुकको लागि शिक्षामा निजी क्षेत्रको उपस्थिति आफैंमा एक चुनौतीपूर्ण विषय हो । शिक्षा क्षेत्रमा निजी लगानी आवश्यक र उपयुक्त हो वा होइन भन्ने बहस लामो समयदेखि चल्दै आए तापनि साझा र स्पष्ट दृष्टिकोण र अवधारणा भने अझै बन्न सकेको छैन । त्यसैले त शिक्षामा निजी क्षेत्रको संलग्नता अन्योलग्रस्त बनिरहेको छ ।

तथ्यांकमा निजी विद्यालय

नेपालमा हाल झण्डै १० हजार निजी अथवा संस्थागत विद्यालय रहेका छन् । उच्च शिक्षा र मन्टेसरीलाई पृथक् राखेर हेर्ने हो भने हाल निजी विद्यालयमा झण्डै साढे २५ लाख विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (२०१९-२०)को प्रतिवेदन अनुसार नेपालमा प्राथमिक तहदेखि माध्यमिक तहसम्ममा सामुदायिक र संस्थागत गरी कुल ८१ लाख २७ हजार १८३ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये संस्थागत विद्यालयमा २५ लाख ४४ हजार २५ जना (लगभग ३१ प्रतिशत) र सामुदायिक विद्यालयमा ५५ लाख ८३ हजार १५८ जना (लगभग ६९ प्रतिशत) रहेको उल्लेख छ ।

संस्थागत विद्यालयमा करीब २ लाख ५० हजार शिक्षक कर्मचारी कार्यरत छन् । उनीहरूमा आश्रति जनसङ्ख्या करीब १२ लाख रहेको छ । यसैगरी यस्ता विद्यालयहरूमा वार्षिक २० अर्ब खर्च भएको तथ्यांकले देखाउँछ । यो कुल शिक्षामा सरकारले छुट्याएको बजेटको झण्डै २५ प्रतिशत हुन आउँछ ।

कुन तहमा कति विद्यार्थी ?

तह  सामुदायिक संस्थागत  जम्मा   
बालविकास ५५५०७५ ५५०४८६ ११०५५६१
आधारभूत (१-८) ३८०६६३९ १५१२३६५ ५३१९००४
माध्यमिक (९-१२) १२२१४४४ ४८११७४ १७०२६१८
कुल ५५८३१५८ २५४४०२५ ८१२७१८३

स्रोत : शिक्षा तथा मानव स्रोत विकास केन्द्र (२०१९-२०)

हालैको एक केन्द्रीय सर्भेक्षण अनुसार राज्यले सामुदायिक विद्यालयमा गरेको बजेट लगानी अनुसार कुल विद्यार्थीमध्ये प्रति महीना प्रतिविद्यार्थी २ हजार ४०० रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । यता सस्ंथागत विद्यालयमा भने अभिभावकले प्रति विद्यार्थी औसत रूपमा .१ हजार ६४७ रुपैयाँ मात्र शुल्क तिरेको भेटिन्छ । संविधानमा माध्यमिक तहसम्म निःशुल्क र आधारभूत तहसम्म अनिवार्य शिक्षा भनिए तापनि सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषाका नाममा प्रति विद्यार्थीबाट वार्ष्र्िक रूपमा रु.१६ हजारसम्म शुल्क लिने गरेको प्रमाण भेटिन्छ । (यो कक्षा ८ को विद्यार्थीको औसत आधारमा निकालिएको तथ्यांक हो ।)

अर्को एक अध्ययन अनुसार सामुदायिक विद्यालयहरूमा उपलब्ध भौतिक सुविधा तथा शिक्षक दरबन्दी लगायतमा राज्यको सबै लगानीको विश्लेषण गर्ने हो भने सरकारले आजको मूल्यमा प्रति विद्यार्थी प्रति वर्ष ९० हजारभन्दा बढी लगानी गरेको भेटिन्छ । तर निजी विद्यालयमा विद्यार्थीले तिर्ने औसत वार्षिक शुल्क ३२ हजारको हाराहारीमा मात्र देखिन्छ । सरकारी विद्यालयमा सरकारले गरेको सम्पूर्ण खर्चलाई राज्यको धन मान्ने हो भने प्रति विद्यार्थी खर्च हेर्दा संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयहरू २.५ गुणा बढी महँगा सावित भएको प्रमाणित हुन्छ । तर ती सामुदायिक विद्यालयको शैक्षिक प्रतिफल भने अत्यन्तै टिठलाग्दो र दयनीय छ । यो नै विडम्बनाको विषय हो ।

शिक्षामा निजी क्षेत्रको ६ खर्ब लगानी

निजी शैक्षिक सञ्चालकहरूले विद्यालय शिक्षामा हालसम्म करीब ६ खर्बभन्दा बढी रुपैयाँ लगानी गरेको दावी छ । मुलुकभरि निजी लगानीका करीब १० हजार शिक्षण संस्था छन् । उनीहरूले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा ६ खर्बभन्दा बढी रुपैयाँ लगानी गरेका हुन् । निजी विद्यालयहरूको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क) करीब दुई खर्ब रुपैयाँ पुगेको बताइन्छ । करीब दुई लाख पचास हजार जनालाई रोजगारी दिएको निजी क्षेत्रसँग कुल विद्यार्थी संख्याको करीब ३१ प्रतिशत अर्थात् करीब २५ लाख विद्यार्थी अध्ययनरत छन् ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शैक्षिक क्षेत्रको योगदान हाल ७.२३ प्रतिशत देखिन्छ । जीडीपीमा शिक्षाको योगदान बढ्दो क्रममा छ । २०७३ र ७४ मा ६.८३ प्रतिशत रहेको शिक्षाको योगदान हाल ७.२३ प्रतिशतमा पुगेको पाइन्छ । यस आधारमा पनि निजी शैक्षिक क्षेत्रमा आर्थिक गतिविधि बढ्दो छ ।

एक तथ्यांक अनुसार कुल बजेटको ७.२३ प्रतिशत कर निजी क्षेत्रले राज्यलाई बुझाएको भेटिन्छ । यता नेपालको शिक्षामा निजी क्षेत्रको दायित्व २३ प्रतिशत रहेको पाइन्छ । भौतिक अवस्था, व्यवस्थापकीय पक्ष र शैक्षिक गुणस्तर लगायत सबै दृष्टिकोणले सरकारले सञ्चालन गरेका समग्र सामुदायिक विद्यालयभन्दा निजी क्षेत्रले सञ्चालन गरेका संस्थागत विद्यालय स्तरीय, अब्बल र उच्च रहेको देखिन्छ । त्यसैले त सरकारी वा सामुदायिक विद्यालयको गुणस्तरमा सधैं प्रश्न उठ्ने गरेको छ ।

पछिल्लो १० वर्षको एसएलसी वा एसईई परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत हेर्ने हो भने सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ३० प्रतिशतको हाराहारीमा मात्र देखिन्छ भने निजी विद्यालयको उत्तीर्ण प्रतिशत लगभग ९० प्रतिशतको हाराहारीमा रहेको छ । निजी विद्यालय विद्यार्थीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता सबैमा सदैव आफूलाई अब्बल साबित गर्दै आएका छन् । निजी विद्यालयकोे विगत र वर्तमानको मूल्याङ्कन गर्ने हो भने शिक्षाको सवालमा राज्यको साख र प्रतिष्ठा नै निजी विद्यालयले बचाएको पाइन्छ ।

राज्यद्वारा प्रदान गरिने ४५ प्रतिशत र ५५ प्रतिशतको आरक्षण तथा खुल्ला छात्रवृत्तिको सवालमा विभेद गरेर सरकारले निजीका विद्यार्थीलाई सौतेलो व्यवहार गरेको आरोप निजी क्षेत्रले लगाइरहेको छ । सरकारले आफ्ना विद्यालयमा गुणस्तर सुधार्न नसक्ने अनि गुणस्तरीय शिक्षा हासिल गरेका निजीका विद्यार्थीलाई अवसरमा विभेद गरिनु संवैधानिक रूपमा मौलिक अधिकार विरुद्धको कुरा हो ।

के होला निजी विद्यालयको भविष्य ?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदाले निजी लगानीका विद्यालयहरू गैरनाफामूलक बनाउने प्रतिवेदन पेश गरेको छ । प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन भए आगामी सात वर्षभित्र देशभरिका १० हजारभन्दा बढी निजी स्कूल बन्द हुने अवस्था देखिंदैछ । या त ती स्कूल नाफा नलिने गरी गुठीका रूपमा सञ्चालन हुनुपर्नेछ । या त सक्दिनँ भनेर हात उठाउनेलाई सरकारले क्षतिपूर्ति दिएर आफ्नो स्वामित्वमा लिनुपर्नेछ । यिनै विषयले निजी शिक्षा मात्रै होइन, सार्वजनिक शिक्षा समेत बेलाबेलामा तरङ्गित र अन्योलग्रस्त बनिरहेका छन् ।

शिक्षा ऐनको आठौं संशोधनले २०७२ सालपछि कम्पनीका रूपमा स्कूल खोल्न रोक लगाएको हो । आयोगको सिफारिशले जन्माएको सबभन्दा ठूलो त्रास यही हो । सबै निजी स्कूल गुठी वा सामुदायिक संरचनामा गए त्यसपछि ती स्कूलको गुणस्तरको जिम्मा कसको हुने ? एकातिर सार्वजनिक स्कूल नउक्सिने, अर्कातिर निजी धरासायी हुने हो भने विद्यार्थीको भविष्य के होला ? निजी नरहने र सार्वजनिक स्कूल पनि सुधार नहुने हो भने हाम्रो शिक्षा क्षेत्र झन् ध्वस्त हुने त होइन ? प्रश्नै प्रश्न उठेका छन् ।

यसै विषयमा उठिरहेको बहसमा तरंगित भइरहँदा संविधानकै धारा २५ को उपधारा १, २, ३, ४ मा उल्लेख गरिए अनुसार सम्पत्तिको हकलाई हेर्ने हो भने निजी क्षेत्रबाट शिक्षामा भएको लगानीको सुरक्षाको ग्यारेन्टी पनि राज्यले नै गर्नुपर्ने देखिन्छ । कम्पनी ऐनअन्तर्गत दर्ता भएका निजी लगानीका ती करीब १० हजारको सङ्ख्याका नाफामूलक विद्यालयलाई अब के गर्ने ? सरकारीकरण गर्ने वा यसैगरी चल्न दिइरहने ? एउटा टुङ्गोमा पुग्नु जरूरी छ ।

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् ।)



source https://www.onlinekhabar.com/2021/11/1046117

नयाँ वर्षका लागि भारतीय पर्यटकबाट होटेलमा अग्रिम बुकिङ उत्साहजनक

१३ मंसिर, काठमाडौं । नजिकिएको अंग्रेजी नयाँ वर्ष २०२२ लाई लक्षित गरी आतिथ्य सेवामा उत्साहजनक अग्रिम बुकिङ आउन सुरु गरेको छ ।

अघिल्लो दुई वर्ष २०२० र २०२१ त्रास र आशमा बिताएका होटेल व्यवसायीलाई यो वर्षको बुकिङ ट्रेण्डले भने उत्साहित बनाइरहेको होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठले जानकारी दिए । ‘नेपालमा न्यू इयरका मूख्य पाहुना चिनियाँ र भारतीय पर्यटक हुन्’ उनी भन्छन्, ‘यो वर्ष भारतबाट प्रशस्त मात्रामा बुकिङ आइरहेको छ ।’

उनका अनुसार यूरोप र अमेरिकी मुलुकबाट आगामी पर्वतारोहण तथा पदयात्रा सिजनमा बढी पर्यटक आउने अपेक्षा व्यवसायीले गरेका छन् । ‘कोरोना महामारीकै बीचमा पनि पर्वतारोहणमा अघिल्लो सिजन रेकर्ड ब्रेक भयो’ उनले भने, ‘आगामी सिजन पक्कै राम्रो हुने छ ।’

अंग्रेजी नयाँ वर्ष आउन ठ्याक्कै एक महीना छ । तर, पछिल्लो समय अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टले भने त्रास बढाएको उनले बताए ।

यसकारण बढ्दैछन् भारतीयसहित दक्षिण एसियाली पर्यटक

सन् २०१९ डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको महाकारीका कारण भारतसहितका मुलुकबाट भ्रमणका लागि तेस्रो मुलुकमा जान सहज छैन । कोभिड महामारी पनि कम भएको र यात्रा समेत सहज भएका कारण दक्षिण एसियाली मुलुकबाट पर्यटक क्रमशः बढ्दै गएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यम खड्का । ‘नेपालले एक त धेरै मानिसमा खोप लगाइसकेको छ, अर्कोतर्फ विकसित मुलुकको तुलनामा यहाँ यात्रा सहज पारिएको छ’ उनले भने, ‘यसले नयाँ वर्षमा पर्यटक आगमन बढ्ने देखिएको हो ।’

उता, भारत सरकारले समेत १५ डिसेम्बरबाट लागू हुने गरी अधिकांश मुलुकका लागि एयर बबल स्किम हटाउने निर्णय लिइसकेको छ । यो नियम कार्यान्वयन भएमा नेपालबाट नयाँ दिल्लीसहित अन्य सहरमा समेत सिधा उडान हुनेछ । यसले समेत भारतीय सहरबाट न्यू इयरमा पर्यटक आगमन बढ्ने व्यवसायीहरुको अपेक्षा छ ।

कोभिडको नयाँ भेरियन्ट अफ्रिकामै सीमित भए नेपाली पर्यटनमा प्रभाव पर्दैन

सरकारले सबै अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको आवागमन रोकेको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखा परेको यो महामारी दक्षिण एसियाली र नेपालबाट सिधा उडान हुने मुलुकमा नदेखिएमा पर्यटन क्षेत्रमा तत्काल ठूलो असर नपर्ने अपेक्षा समेत व्यवसायीको छ । ‘अफ्रिकाबाट नेपाल भ्रमणमै आउने मानिस निकै कम हुन्छन्’ हानका सदस्य श्रेष्ठले भने, ‘नयाँ भेरियन्टको फैलावटमा पर्यटनको भविष्य निर्भर हुनेछ ।’

महाधिवेशन र आन्तरिक पर्यटकले जगाएको आशा

होटेल तथा पर्यटनमा पछिल्लो समय दलहरूको महाधिवेशन र आन्तरिक पर्यटकले भने आशा जगाएको छ । गत शुक्रबारबाट सौराहाका होटेलहरूका कोठा पूर्ण क्षमतामा बिक्री भए । एमालेको महाधिवेशन लम्बिएसँगै होटेल व्यवसायीको व्यापारमा पनि वृद्धि भइरहेको छ । ‘सौराहामा चटपटे पसलदेखि नाङ्लो पसलसम्मले राम्रो व्यापार पाएका छन्, हानका सदस्य श्रेष्ठ भन्छन्, यो त एक प्रकारको नसोचेको व्यापार हो ।’

उनका अनुसार काठमाडौंमा नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि समेत साना तथा मझौला होटेलहरूमा सोधखोज सुरु भइसकेको छ ।

यस्तो इन्भेटका दौरान ठूला होटेलमा समेत मनग्य व्यापार हुने उनले बताए । काठमाडौं आसपासका अधिकांश होटेल र रिर्सोटलाई संघ/संस्था र कम्पनीहरूले आयोजना गर्ने विभिन्न कार्यक्रमले पर्याप्त विजनेश दिइरहेको छ । पोखरा, धुलिखेलसहितका क्षेत्रमा हनिमुन प्याकेजमा समेत पर्याप्त विजनेश भइरहेको व्यवसायीले बताएका छन् । अहिले नेपालमा लगनको सिजन चलिरहेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046108

शंकर पोखरेल भन्छन्- भोट नदिनू भन्दै पर्चा बाँडिनु अनौठो होइन

१४ मंसिर, चितवन । नेकपा एमालेको महासचिवमा निर्विरोधि निर्वाचित भएका नेता शंकर पोखरेलले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनू भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको बताएका छन् । उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन् ।

महाधिवेशन स्थलमा मंगलबार पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ । कुनै अनौठो कुरा होइन ।’

उनले नेतृत्व चुन्न भइरहेको मतदानलाई रस्साकस्सीको प्रक्रिया नभएकोसमेत बताए ।



source https://www.onlinekhabar.com/2021/11/1046104

कांग्रेसको भक्तपुर सभापतिमा दुर्लभ थापा विजयी

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गरेका हुन् ।

पार्टीमा संस्थापन निकट थापाले ५५५ मत प्राप्त गरे भने कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । थापा यसअघि पनि जिल्ला सभापति नै थिए । १३ औं महाधिवेशनमा पनि जिल्ला सभापति पदमा थापा र कवेबीच नै प्रतिस्पर्धा भएको थियो । कवे संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

निर्वाचन समिति अनुसार उपसभापतिमा विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् भने सचिवमा सुशील बस्नेत र राजेश खड्का विजयी भएका छन् । सहसचिव पदमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने विजयी भएका हुन् ।

पदाधिकारीमा विजयी सबै सभापति थापा समूहकै रहेको समितिले जनाएको । कोषाध्यक्ष पदमा भने कार्यसमितिले मनोनित गर्ने कांग्रेस विधानको व्यवस्था छ ।



source https://www.onlinekhabar.com/2021/11/1046101

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै, एमाले सहभागी नहुने

१४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।
सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् । प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । तर सत्तारुढ गठबन्धनसँग २३ मत रहेका छ । माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन् ।

एमाले सहभागी नहुने

आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ ।सबै सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा चितवन भएकोले बैठकमा सहभागी हुन् नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

‘हामी सबै माननियहरू चितवनमा छौं, यहाँ मतदान चलिरहेको अवस्था छ । भोट हालेर पनि सहभागी हुने स्थिति छैन्,’ प्रमुख सचेतक शाहले भने ।

एमाले अनुपस्थित भए पनि संसद् बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए । ‘एमालेले बैठकमा सहभागी नहुने आधिकारीक जानकारी त गराएको छैन् तर मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले एमाले सहभागी नभए पनि बैठक चल्छ,’ सभामुख शाहीले भने ।

विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि मात्रै मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने भएका छन् । मन्त्रालयको भागबन्डा नमिल्दा २८ दिनसम्म पनि कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन ।

आज विश्वसको मत पाएपछि सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए । हाल प्रदेशको मन्त्रिपरिषद्मा मुख्यमन्त्री र एक जना मन्त्री मात्र छन् ।

कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले कात्तिक ३० गते एक जना मन्त्री नियुक्त गरेका थिए । नेकपा (एकीकृत समाजवादी) सांसद चन्द्रबहादुर शाहीलाई उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।

आठ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन, माओवादीले चार र सामाजवादीले तीन मन्त्रालयको दाबी कायम राखेका छन् । यसैले गर्दा मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046098

नेतृत्व चयनमा धाँधली भयो : नरबहादुर बिक

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताएका छन् ।

प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताए । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर धाँधली हो,’ उनले भने ।

अध्यक्षका उम्मेदवार भीम रावल पक्षका नेता नरबहादुरले केपी ओली पक्षले खुलमखुल्ला प्यानल बनाएर भीम रावल र उनका मान्छेलाई भोट नदिनू भनेर मतदाताको स्वतन्त्र  निर्णय गर्ने अधिकारमै बन्देज गरी राजनीतिक अपराधीकरण गरेको आरोपसमेत लगाए ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरूलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णयविरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।’



source https://www.onlinekhabar.com/2021/11/1046092

कोरोनापछि फस्टाए तयारी पोशाक उद्योग, वर्षमा १६ अर्बको कारोबार

१४ मंसिर, काठमाडौं । नेपालमा तयारी पोशाक उत्पादन गर्ने उद्योगहरुको वार्षिक कारोबार १६ अर्ब रुपैयाँ नाघेको छ । कोरोना महामारीको समयमा विदेशबाट तयारी पोशाक नआएका बेला फस्टाएका यी उद्योगको कारोबार बढ्दै गएको नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघले जनाएको छ ।

स्वदेशी मागको ठूलो हिस्सा नेपाली तयारी पोशाकले नै धानेको संघका अध्यक्ष किशोर नेपालले बताए । नेपाली ब्राण्डका तयारी पोशाक उत्पादन गर्ने करिब चार सय उद्योग सञ्चालनमा रहेको उनले बताए । यस्ता उद्योगमा एक करोडदेखि अर्बसम्म लगानी भएको संघको दावी छ ।

‘तीन वर्ष अघिसम्म हात मुख जोड्न धौ धौ पर्ने उद्योगहरु अहिले कर्मचारी थपेर क्षमता विस्तारमा लागेका छन्, समग्र यस क्षेत्रका उद्योगहरुको वार्षिक कारोबार १६ अर्ब नाघेको छ,’ अध्यक्ष नेपालले भने । नेपाली तयारी पोशाक उत्पादकले कच्चा पदार्थ भने विदेशबाटै ल्याउने गरेका छन् ।

एउटा उद्योगको सरदर ४ करोडको कारोबार

पछिल्लो एक वर्षमा एउटा उद्योगले औसतमा ४ करोड रुपैयाँको कारोबार गरेको अध्यक्ष नेपालले बताए ।

२०७६ चैतमा कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन ग¥यो र सीमा नाकाहरु पनि बन्द गर्‍यो । यातायातका साधन नचलेको र सीमा नाका बन्द भएको कारण चीन, भारत, बंगलादेश, थाइल्याण्डबाट तयारी पोशाक आयात रोकिएको थियो ।

त्यही बेला स्वदेशी तयारी पोशाकको उत्पादनले बजार पाएको हो । पहिले गर्मीयाम र विवाह समारोहका लागि लक्षित गरी तयारी पोशाक उत्पादन गर्ने नेपाली उद्योगले यो दुई वर्षमा भने सबै सिजनका लागि आवश्यक कपडा उत्पादन गरेका छन् ।

काठमाडौंमा जग्गा खोज्दै उद्योगी

देशभर चार सयको संख्यामा रहेको तयारी पोशाक उद्योगको ८० प्रतिशत काठमाडौं उपत्यकामै छन् । सुरुमा जीविकोपार्जनका लागि सानो लगानीमा सुरु भएका यस्ता उद्योग अहिले फैलिन चाहेको तर काठमाडौंमा जग्गा पाउन मुश्किल भएको संघले बताएको छ ।

घर, फ्याल्ट र सटर भाडामा लिएर सञ्चालन भएका स्वदेशी तयारी पोशाकलाई अहिले ठूलो क्षेत्र चाहिएको अध्यक्ष नेपाल बताउँछन् । उद्योगीहरुले काठमाडौं नजिक विशेष औद्योगिक क्षेत्र उपलब्ध गराइदिन सरकारसंग मागसमेत गरेका छन् ।

काठमाडौंमा घर भाडा महँगो भएको र कपडा बुन्ने थान राख्नसमेत ठाउँ अभाव भएपछि सरकारसँग जग्गा उपलब्ध गराइदिन माग गरेको संघका अध्यक्ष किशोर नेपालले बताए ।

‘काठमाडौंमा साँघुरा घर र महँगो भाडाका साथै जमिनसमेत अभाव भएको गुनासो अर्थमन्त्री र अर्थसचिवलाई राखेका छौं, हामीलाई यो अति जरुरी भइसकेको छ’ उनले भने ।

काठमाडौं नजिक कतै विशेष औद्योगिक क्षेत्रको विकास गरेर तयारी पोशाक उद्योग सञचालन र कच्चा पदार्थ आयातमा भन्सार छुट गरिदिन संघले सरकारसँग आग्रह गरेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1045948

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More