Thursday, 2 December 2021

भूपेन्द्रजंग कर्णालीमा पौडेल पक्षको निर्विकल्प उम्मेदवार, देउवा समूहले छान्न सकेन

१७ मंसिर, सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने पक्का भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पौडेल समूहले प्रदेशको सभापतिमा युवा नेता भनेर चिनिएका शाहीलाई उम्मेदवार तय गरेको हो । पौडेल समूहले बिहीबार पत्रकार सम्मेलन गरी शाहीलाई प्रदेश सभापतिमा उठाउने जानकारी दिएको छ ।

कालीकोटका शाही नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष र तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका छन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कालीकोटबाट चुनाव लडेका शाही दुवैपटक पराजित भएका थिए ।

आम चुनावमा पराजित शाही पौडेल पक्षबाट सर्वसम्मत उम्मेदवार भएपछि पार्टीको पहिलो प्रदेश सभापतिका लागि भिड्न लागेका हुन् । पत्रकार सम्मेलनमा शाहीले आफूले सभापतिमा जित्ने दाबीसमेत गरेका छन् । आफूले जिते कांग्रेसभित्रको गुट-उपगुट न्यूनिकरण गर्ने उनको भनाइ छ ।

उनले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव समेत पेस गरेका छन् । १४औं महाधिवेशनबाट कांग्रेसमा आमुल रुपान्तरणको खाचो रहेको नेता शाहीले बताए । ‘पार्टी अब पुरानो शैली, गतिहीन र परम्परावादी तरिकाले चल्न सक्दैन’ उनले भने, ‘पार्टी भित्रको गुटबन्दि र चाकडी प्रथाको राजनिति अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हुँनेछ ।’

देउवा समूहमा सहमति जुट्न सकेन

संस्थापन (शेरबहादुर देउवा) पक्षबाट प्रदेश सभापतिमा अझै सहति जुट्न सकेको छैन् । संस्थापन पक्षबाट दुई जना सभापतिका आकांक्षी छन् । जाजरकोटका राजिवविक्रम शाह र जुम्लाका ललितजंग शाही सभापतिको उम्मेदवारका लागि लविङमा छन् ।

दुई जनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेको र शुक्रबार बिहानसम्म टुंगो लाग्ने देउवा पक्षले जनाएको छ ।

शाह र शाही संविधानसभा निर्वाचन २०७० मा निर्वाचित सांसदसमेत हुन् ।

आन्तरिक प्रतिस्पर्धामा यसअघि पौडेल समूहको वर्चश्व रहेको कर्णालीमा यो पटक देउवा समूहले पकट बढाएको छ । १० जिल्लामध्ये ८ जिल्लाका सभापति देउवा समूहका छन् । दैलेख र कालीकोटमा मात्रै पौडेल समूहले सभापति पाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1047426

खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिनँ : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु ।

रग्वीलाई पनि शून्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढछु,’ सदस्य–सचिव घिसिङले भने ।

उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।

‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहिँ कदापी होइन’ उनले भने ।

उनले खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुन्जेल जति लगानी गरेपनि बालुवामा पानी हाले जस्तो मात्र हुने बताउदै यसमा सम्बन्धित संघ र प्रशिक्षकहरुले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

उनले प्रशिक्षकहरूलाई समय सापेक्ष परिस्कृत र स्तरवृद्धि गर्न रिफ्रेस कोर्स अत्ति आवश्यक भएको बताउँदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाउनु पर्न बताए ।

उनले नतिजा मात्र खोज्नुभन्दा पनि कसरी राम्रो नतिजा आउँछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्य–सचिव घिसिङले सरोकारवालसँग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह÷सुझावलाई आत्सात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उक्त अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहालले विगतमा वृहत् राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक संख्यालगायतका बारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।

मुख्य प्रशिक्षकहरुले खेल सामग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षणलगायतका अवस्थाबारे सदस्य-सचिव घिसिङलाई अवगत गराएका थिए ।



source https://www.onlinekhabar.com/2021/12/1047423

सरकारको उल्टो बाटो : अध्यादेश ल्याएर संसद अधिवेशन आह्वान

१८ मंसिर, काठमाडौं । अध्यादेशमार्फत सरकार सञ्चालन गर्न खोजेको आक्षेपसहित एमाले सरकारलाई विस्थापित गरेर बनेको गठबन्धन सरकारले केपी शर्मा ओलीकै पदचाप पछ्याएको छ र, कानुन निर्माणमा अध्यादेशकै साहरा लिएको छ ।

तर अध्यादेश जारी गरेको भोलिपल्ट अधिवेशन बोलाएपछि संसदको गरिमा र सरकारमाथि नै प्रश्न उठेको छ । स्रोतका अनुसार कानुन बनाउन संसद छलेको सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णय लिन अधिवेशन आह्वान गरेको हो । कुनै फेरबदल भएन भने पुस पहिलो सातासम्म संसदले एमसीसी सम्झौताबारे एउटा निर्णय दिनेछ ।

सरकारको उल्टो बाटो

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन, फौजदारी कसुर तथा फौजदारी कार्यविधि, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, तेजाब तथा अन्य घातक पदार्थ नियन्त्रण, सामाजिक सुरक्षा र रेल्वे अध्यादेश जारी गरेकी थिइन् । ओली सरकारले ल्याएका यी छसहित १० वटा अध्यादेश संसदबाट पास हुन नसक्दा भदौ ३० गते स्वतः निष्क्रिय भएका थिए ।

तिनै अध्यादेश जारी गरेको भोलिपल्ट सरकारले संसदको हिउँदे अधिवेशन मंसिर २८ गते आह्वान गरेको छ । यो सरकारले लिएको उल्टो बाटो मात्र होइन, दुईदुई पटक भंग गर्दा पनि संसद जोगाउन आफैंले गरेको आन्दोलनको बर्खिलापमा हो । ५ पुस २०७७ र ७ जेठ २०७८ मा भएको संसद विघटनविरुद्ध अहिले सरकारमा भएका दलहरुले नै आन्दोलन गरेका थिए ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता एवं अधिवक्ता राधेश्याम अधिकारी पनि अध्यादेशमार्फत शासन चलाउन खोज्नुलाई उपयुक्त मान्दैनन् । तर प्रमुख विपक्षी एमालेले संसद चल्न नदिएका कारण अठ्यारो फुकाउन अध्यादेश ल्याएको होला भन्ने तर्क गर्छन् । ‘सैद्धान्तिक रुपमा अध्यादेशबाट शासन चलाउने कुरा कुनै पनि हिसाबले स्वीकार्य हुन्न । तर अघिल्लो अधिवेशनमा पनि एमालेले अबरोध गर्दा विधेयकहरु चाहेर पनि पास हुन सकेनन, अहिले अध्यादेश नल्याउने हो भने अर्बाैं रुपैया खर्च गरेर रेल ल्याइ राख्या छ, विधेयक नभएर चल्न सकेको छैन, यस्तै अप्ठ्याराहरु फुकाउन अध्यादेश ल्याइएको होला,’ अधिकारीले भने, ‘तर संसद छलेर अध्यादेशबाट शासन चलाउने कुरालाई हिजो पनि विरोध गरिएको थियो अहिले पनि गर्नुपर्छ ।’

अधिकारीले भनेको जस्तै प्रमुख विपक्षी एमालेले २३ भदौमा सुरु भएको अधिवेशनमा लगातार नाराबाजी गरेको थियो र, नाराबाजीकै बीचमा बजेट गरेर ११ कात्तिकमा अन्त्य भयो भयो । अहिले पनि एमाले संसद सुचारु गर्न दिने पक्षमा छैन । अध्यादेश जारी गरेरमात्रै संसद बोलाउने सरकारको नियत छर्लङ्ग देखिएको एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘अस्ती सिन्का नभाची संसद अधिवेशन समापन गरे । हामीलाइ सुईकोसम्म दिएनन । त्यसपछि हत्तपत्त (दल विभाजनसम्बन्धी) अध्यादेश ल्याए, जुन अध्यादेशको धुँवाधार बिरोध गर्नुभएको थियो,’ संसदीय दलका उपनेता नेम्वाङले भने, ‘अहिले पनि अध्यादेश ल्याउनुभयो । त्यसको भोलिपल्टै हाउस बोलाउनुभयो ।’

 एक मात्र एजेण्डा एमसीसी

पूर्व निर्धारित कार्यतालिकामा कुनै फेरबदल भएन भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशन २७ मंसिरमा सकिने छ, जसले नयाँ नेतृत्व चुन्ने छ । त्यसको भोलिपल्ट अर्थात २८ गते संसदको अधिवेशन बोलाइएको छ । यो संयोग मात्र नभएको सत्तारुढ दलका नेताहरु बताउँछन् ।

उनीहरुका अनुसार एमसीसीको पछिल्लो पटक थपिएको म्याद यहि मंसिर २८ गते सकिँदैछ । अमेरिका र एमसीसीका अधिकारीहरुले अब अनुदान लिने नलिने निर्णय गर्न दबाव बढाएका छन् । पछिल्लो पटक नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्रीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौताबारे संसदले निर्णय लिने बचन दिएका छन् ।

उनले एमसीसी सम्झौतालाई संसदमा निर्णयार्थ पेश गर्न सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहमत पनि गराइसकेका छन् । प्रधानमन्त्री देउवा निकट स्रोत भन्छ, यो पटक संसदको एक मात्र एजेण्डा एमसीसी हो । सकेसम्म छिट्टै पेश होस् भन्न चाहेका छौैं ।’ उनका अनुसार सबै प्रक्रिया पुरा गर्दा ढिलोमा पुस ६÷७ सम्म संसदले एमसीसी सम्झौता अनुमोदन गर्ने कि अस्वीकृत गर्ने भन्ने निर्णय लिइसक्नेछ ।



source https://www.onlinekhabar.com/2021/12/1047421

Wednesday, 1 December 2021

यसैवर्ष बिहे गरेकी सुपुष्पा भन्छिन्- परिवारको साथ छ, फिल्म क्षेत्रलाई निरन्तरता दिन्छु

१६ मंसिर, काठमाडौं । नायिका सुपुष्पा भट्टले वैशाखमा निर्माता रौनकविक्रम कँडेलसँग विवाह गरिन् । उनले दुई वर्षअघि अभिनय गरेको चलचत्रि ‘चपली हाइट ३’ पुस २ गतेदेखि प्रदर्शन हुँदैछ ।

नायिका भट्ट वैवाहिक जीवनमा बाँधिएपनि चलचित्र क्षेत्रलाई भने नछाड्ने बताउँछिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई परिवारको ठूलो साथ छ । यसैले पनि म चलचित्र क्षेत्रलाई नै निरन्तरता दिन्छु ।’

सुपुष्पा विवाहपछि काठमाडौंमा भन्दा चितवनमा धेरै बस्दै आएकी छन् । विवाहपछि जीवन निक्कै सुन्दर भएको भन्दै सुपुष्पाले आफू मोटाउँदै गएकोमा भने चिन्ता व्यक्त गरिन् । ‘बिहेपछिको जिन्दगी आनन्दसँग बितिरहेको छ । तर, पहिले भन्दा म मोटाएकी छु । यसमा भने चिन्ता लागेको छ,’ उनले भनिन् ।

सुपुष्पाले ‘रणवीर’ चलचित्रबाट करिअर शुरु गरेकी हुन् । उनको ‘छ माया छपक्कै’मा केमियो भूमिका थियो । चलचित्र ‘चपली हाइट ३’मा भने आधुनिक युवतीको भूमिकामा देखिएको उनले बताइन् ।



source https://www.onlinekhabar.com/2021/12/1047032

‘बुलबुल’ निर्देशकले ६ करोड लगानीमा ‘रबर सिटी’ बनाउने

१६ मंसिर, काठमाडौं । निर्देशक विनोद पौडेलले नयाँ चलचित्र ‘रबर सिटी’को निर्देशन गर्ने भएका छन् । दुई वर्षअघि उनले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो । यो चलचित्रलाई अविरल थापाले निर्माण गर्नेछन् ।

चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ । यो चलचित्रका लागि करिब ५ लाख डलर लगानी हुने निर्माता थापाले जानकारी दिए ।

यो चलचित्रका लागि निर्माणपक्षले हालसम्म कलाकार सुशांक मैनाली र राधा लम्साललाई फाइनल गरेको छ । बाँकी कलाकार पनि चाँडै तय गरिने निर्देशक पौडेलको भनाइ छ । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो ।

‘रबर सिटी’ चलचित्रले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ । विनोदको नै कथा तथा पटकथा रहेको यो चलचित्रमा अंकित पौडेलको छायांकन रहनेछ ।



source https://www.onlinekhabar.com/2021/12/1047023

युक्रेनमा आक्रामक कदम चाल्ने रुसी योजनाबाट अमेरिका चिन्तित

१६ मंसिर, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युक्रेनविरुद्ध आक्रामक कदम चाल्ने रुसको योजना रहेको बताएका छन् ।

बुधबार लात्भियाको रिगामा सम्पन्न नेटोका विदेशमन्त्रीको बैठकपछि पत्रकारसँग कुरा गर्दै ब्लिङ्केनले युक्रेनविरुद्ध ‘महत्वपूर्ण आक्रमक कदम’ चाल्ने रुसको योजना रहेको बताएका हुन् ।

‘रुसले युक्रेनविरुद्ध महत्वपूर्ण आक्रामक योजना बनाएको प्रमाण भेटिएपछि’ अमेरिका निकै चिन्तित बनेको पनि ब्लिङ्केनको भनाई थियो ।

बिहीबार स्विडेनमा हुने  युरोपेली रक्षा एवं सहयोग संगठन (ओएससीई) को बैठकका क्रममा ब्लिङ्केनले रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभसँग भेट्ने कार्यतालिका छ । ल्याभरोलाई भेट्नुभन्दा एक दिन अगाडि ब्लिङ्केनको अभिव्यक्ति आएको अलजजिराले जनाएको छ ।

पछिल्लो समय अमेरिका र रुसको सम्बन्ध निकै तनावपूर्ण बन्दै गइरहेको छ । रुसले युक्रेनी सीमा नजिकै भारी मात्रामा सैनिक र अत्याधुनिक हतियार तैनाथ गरेपछि तनाव थप चर्किन पुगेको हो ।

तनाव चर्किँदै गएपछि दुवै मुलुकले एकअर्काका कुटनीतिज्ञलाई देश छोड्न भनेका छन् ।

बुधबार रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभाले विगत तीन वर्षदेखि मस्कोस्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीलाई देश निकाला गरिने बताएकी थिइन् । अमेरिकाले २७ जना रुसी कुटनीतिज्ञलाई देश छोड्न भनेपछि रुसले पछिल्लो कदम चालेको हो ।



source https://www.onlinekhabar.com/2021/12/1047021

कर्णाली प्रदेश सभा अधिवेशन अन्त्य

१६ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

दुईवटा बैठक बसेर अन्त्य गरिएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन् ।



source https://www.onlinekhabar.com/2021/12/1047019

अमेरिकामा खोप लगाएका व्यक्‍तिमा पनि ओमिक्रोन संक्रमण

१६ मंसिर, काठमाडौं । अमेरिकामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो ।

अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

संक्रमण पुष्टि भएका व्यक्ति यात्रा प्रतिबन्ध लगाउनुपूर्व नै अर्थात् नोभेम्बर २२ गते अमेरिका आएको र एक हप्तापछि उनमा संक्रमण फेला परेको डा. फाउचीको भनाइ थियो । ती व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेको तर उनको सम्पर्कमा आएका मानिसमा भने कोरोना नेगेटिभ देखिएको फाउचीले बताए ।

फाउचीका अनुसार कोरोना खोपको पूर्ण डोज लगाएका व्यक्ति ओमिक्रोनबाट संक्रमित भएको र ‘माइल्ड लक्षण’ देखिएका उनको स्वास्थ्यमा हाल सुधार भइरहेको फाउचीको भनाइ थियो । सान फ्रान्सिस्कोका जनस्वास्थ्य निर्देशक डा. ग्रान्ट कोलफ्याक्सले संक्रमित व्यक्तिले बुस्टर डोज भने नलगाएको बताए ।

यसै हप्ता विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट विश्वभर जोखिम बढेको बताएको थियो । संगठनका अनुसार हालसम्म २३ वटा मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ ।
तर सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्ट ‘चिन्ताको विषय भए पनि डराइहाल्नु पर्ने कारण’ नभएको बताएका थिए ।

नयाँ ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता के-कति छ, यसबाट मानिसहरू गम्भीर रुपले संक्रमति हुने वा नहुने र हालका खोपले काम गर्ने वा नगर्ने भनेर स्पष्ट भइसकेको छैन ।



source https://www.onlinekhabar.com/2021/12/1047015

कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र, तीन ठाउँमा मतदान केन्द्र

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् ।

केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान छ ।

त्यसैले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ ।

‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।

२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046986

पूँजीपति वर्ग कम्युनिष्ट पार्टीभित्रै छ !

माओले भन्नुभएको छ- ‘समाजवादी क्रान्तिसँगै तिनीहरू आफैं आत्मालोचित बन्छन् । तपाईं समाजवादी क्रान्ति गर्दै हुनुहुन्छ, र तपाईंलाई अझै थाहा छैन कि पूँजीपति कहाँ छ ? यो ठीक कम्युनिष्ट पार्टीभित्रै छ, ती सत्तामा रहेर पूँजीवादी बाटो समात्नेहरू हुन् ।’

यो भनाइले पार्टीभित्रका पूँजीवादपन्थीहरूको पूँजीवादी सारतत्व उदाङ्ग बनाउँछ । समाजवादको ऐतिहासिक अवधिका निम्ति क्रान्तिकारी संघर्षको मुख्य निशानालाई अझ बढी निश्चित गर्छ । साथै वर्गसंघर्ष तथा सर्वहारा अधिनायकत्वको महान् मार्क्सवादी-लेनिनवादी सिद्धान्तको प्रतिरक्षा र विकास गर्छ ।

जनवादी क्रान्तिको अवधिमा हाम्रो समाजमा प्रधान अन्तरविरोध एकातिर सर्वहारा वर्ग र जनसमुदाय तथा अर्कातिर साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवाद रहेर बनेको अन्तरविरोध थियो । त्यसबेला पनि पार्टीभित्र अवसरवादी, संशोधनवादी कार्यदिशाका नाइकेहरू थिए । तिनीहरू पार्टीमा पूँजीपति वर्ग र अन्य शोषक वर्गहरूका एजेन्ट थिए । तर सम्पूर्ण पूँजीपति वर्गका निम्ति तिनीहरू केवल पूरक थिए । त्यसबेला सरकारको लगाम जमीनदार वर्ग र दलाल पूँजीपति वर्गको हातमा हुँदा पूँजीपति वर्गको केन्द्रीय र मुख्य शक्ति, यसको मुख्यालय र यसका प्रमुख राजनीतिक प्रतिनिधिहरू पार्टीभित्र होइन, बाहिर थिए ।

नयाँ जनवादी क्रान्तिमा महान् विजय हासिल भएपछि साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवादको शासन पराजित भयो । सत्ता कब्जा गर्ने क्रममा सर्वहारा वर्गले देशका सम्पूर्ण जनताको नेतृत्व गर्‍यो । त्यसबेलादेखि चीन समाजवादी क्रान्तिको ऐतिहासिक अवधिमा प्रवेश गरेको छ र सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको अन्तरविरोध समाजको प्रधान अन्तरविरोध बनेको छ । हाम्रो पार्टी शासक पार्टी बनेदेखि अध्यक्ष माओको सर्वहारावादी क्रान्तिकारी कार्यदिशा र पूँजीवादी तथा संशोधनवादी कार्यदिशाबीचको संघर्षले हाम्रो पार्टीको चरित्र मात्र होइन कि बरु हाम्रो सिंगो देशकै चरित्र र परिस्थितिको समेत निर्धारण गर्दछ ।

त्यसबेलादेखि पार्टीभित्र र बाहिरका पूँजीपति वर्ग विरुद्धको हाम्रो संघर्ष सबै क्षेत्रमा गहिराइपूर्वक निरन्तर विकास भइरहेको छ । यो समाजवादी क्रान्ति सम्पन्न गर्ने कि नगर्ने भन्ने आधारभूत प्रश्नमा केन्द्रित छ । सान फान र उफान आन्दोलनहरू सन् १९५१ को डिसेम्बर र १९५२ को जूनका बीचमा सम्पन्न भएका थिए । अघिल्लो चाहिं कम्युनिष्ट पार्टी र सरकारका अंगहरूभित्र भएका भ्रष्टाचार, बर्बादी र नोकरशाही जस्ता खराबी र पछिल्लो चाहिं सरकारी कर्मचारीहरूको विश्वासघात, करछली, राज्यको सम्पत्ति चोरी, सरकारी ठेक्कामा ठगी र निजी व्यापारका निम्ति सरकारी स्रोतहरूबाट आर्थिक सूचनाहरूको चोरी जस्ता खराबी विरुद्ध थियो ।

उत्पादनका साधनहरूको स्वामित्वको समाजवादी रुपान्तरण र दक्षिणपन्थ विरोधी संघर्ष यसले १९५७ मा पूँजीवादी दक्षिणपन्थीहरू, जसले सर्वहारा वर्गमाथि जंगली आक्रमण गर्न हाम्रो पार्टीको सुदृढीकरण अभियानबाट फाइदा लिएका थिए ।

नयाँ चीनको स्थापनादेखिका सर्वहारा र पूँजीपति वर्गबीचका प्रमुख संघर्षहरू थिए । यी संघर्षहरूमा पार्टी बाहिरका पूँजीपति वर्गसँग अझै सर्वहारा वर्गसँगको शक्ति परीक्षणमा प्रयोग गर्ने तागत थियो र तिनीहरू अझै आफ्ना प्रतिनिधिहरू नियुक्त गर्न सक्षम थिए, तर त्यसपछि एउटा जटिल परिस्थितिको विकास भयो, जसमा पार्टीभित्र र बाहिर दुवै ठाउँका पूँजीपति वर्गले एकआपसमा गोप्य सम्झौताहरू गरे ।

उनीहरूको पार्टीमाथिको अनियन्त्रित आक्रमणमा पार्टी बाहिरका पूँजीपति वर्ग र अरु शोषक वर्गले पार्टीभित्रको दुईलाइन संघर्षद्वारा पार्टीभित्रका पूँजीपति वर्गले समाजवादी क्रान्तिविरुद्ध गरेका गतिविधिहरूलाई हामीले प्रकाशमा ल्यायौं र यसको संशोधनवादी कार्यदिशाको आलोचना गर्‍यौं । यसरी हामीले समाजवादी रुपान्तरणका विभिन्न प्रमुख अभियानहरूको विजयलाई सुनिश्चित गर्यौं ।

समाजवादी क्रान्ति सञ्चालन गर्दा हामीले पार्टीमा रहेका पुरानो पूँजीपति वर्ग र यसका बुद्धिजीवीहरू अस्तित्वमा रहिरहेका हुन्छन् तथा ठूलो संख्यामा निम्न पूँजीपति वर्ग पनि आफ्नो विचार निर्माण गर्ने क्रममा पार्टीमा रहिरहेको हुन्छ भन्ने मात्र बुझ्ने होइन कि हामी विशेषगरी पार्टीभित्र लुकेर रहेको पूँजीपति वर्गसत्तामा रहेर पूँजीवादी बाटो समातेका पार्टीका नेताहरूसँग पनि सतर्क रहनैपर्छ

 

समाजवादी क्रान्ति गहिरिंदै जाँदा पार्टीबाहिर रहेको शासित पूँजीपति वर्गले आर्थिक रूपले उत्पादनका साधनहरू गुमाएको छ । राजनैतिक र वैचारिक मोर्चामा पनि एक अर्को हारका सामना गर्नुपरेको छ । फलस्वरूप यसको तागत विस्तारै कमजोर हुँदै गएको छ । पार्टीमाथिको पूँजीवादी अधिकारको आक्रमणको बेला तिनीहरूसँगको कथित ‘चाङ्लो गठबन्धन’ले कमाण्डरको भूमिका खेलेको थियो, त्यसपछि दक्षिणपन्थ विरोधी संघर्षपछि पार्टी बाहिरको पूँजीपति वर्गको निम्ति सर्वहारा वर्गविरुद्ध चौतर्फी संघर्ष सञ्चालन गर्न सर्वहारा अधिनायकत्वलाई ध्वस्त पार्न र पूँजीवाद पुन:स्थापना गर्न खुल्ला रूपमा आफ्नो शक्ति एकत्रित गर्न ज्यादै कठिन भएको छ ।

समाजवादको समग्र ऐतिहासिक अवधिमा सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको अन्तरविरोध नै प्रधान हो । परिवर्तित अवस्थामा वर्ग शक्तिहरूको परिवर्तित सन्तुलन सहित सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको वर्गसंघर्ष अत्यन्त गहिरो र तिखो रूपमा पार्टीभित्रै अभिव्यक्त हुने गरेको छ । यसरी पूँजीवादपन्थीहरू पार्टीमा पूँजीपति वर्गको संगठित शक्तिको रूपमा जन्मिन्छन् र सर्वहारा अधिनायकत्वलाई ध्वस्त पार्न र पूँजीवाद पुनर्स्थापना गर्न मुख्य खतराको रूपमा आउँछन् ।

समाजवादी क्रान्ति सञ्चालन गर्दा हामीले पार्टीमा रहेका पुरानो पूँजीपति वर्ग र यसका बुद्धिजीवीहरू अस्तित्वमा रहिरहेका हुन्छन् तथा ठूलो संख्यामा निम्न पूँजीपति वर्ग पनि आफ्नो विचार निर्माण गर्ने क्रममा पार्टीमा रहिरहेको हुन्छ भन्ने मात्र बुझ्ने होइन कि हामी विशेषगरी पार्टीभित्र लुकेर रहेको पूँजीपति वर्ग सत्तामा रहेर पूँजीवादी बाटो समातेका पार्टीका नेताहरूसँग पनि सतर्क रहनैपर्छ ।

ल्युशाओची, लिन पियाओ र तेङ शियाओ पिङ जस्ता पार्टीभित्रका पूँजीवादपन्थीहरू विरुद्ध दृढ संघर्ष चलाएर र हाम्रो क्रान्तिलाई पार्टीभित्रका यस्तै पूँजीपति वर्गविरुद्ध सोझ्याएर मात्र समाजमा ठूलो संख्यामा रहेको पूँजीपति वर्ग र पूँजीवादी शक्तिहरूविरुद्ध विजयलाई सुनिश्चित गर्न सकिन्छ । यसरी मात्र भन्न सकिन्छ कि, समाजवादी क्रान्तिको मुख्य निशाना साँच्चै नै ग्रहण गरिएको छ । पूँजीपति वर्ग ठीक कम्युनिष्ट पार्टीभित्रै छ भन्ने तथ्यलाई बुझ्न जो असफल हुन्छ, त्यो तीक्ष्ण बुद्धि भएको सर्वहारा क्रान्तिकारी होइन ।

पेरिस कम्युनका ऐतिहासिक अनुभवहरूको संश्लेषण गरेर एंगेल्सले भन्नुभएको छ कि सर्वहारा अधिनायकत्वको स्थापनापछि ‘राज्य र राज्यका अंगहरूलाई समाजको नोकरबाट समाजको मालिकमा गरिने यो रुपान्तरण’ ‘उनीहरूको आफ्नै विशेष स्वार्थ पछ्याउँदा हुने रुपान्तरण’लाई रोक्न एकदमै आवश्यक हुन्छ ।

पूँजीवादीहरूको वर्ग चरित्र

आफ्नो ‘चिनियाँ समाजमा वर्गहरूको विश्लेषण’मा अध्यक्ष माओले औंल्याउनुभएको छ, ‘सच्चा दुश्मनबाट सच्चा मित्रलाई छुट्याउन हामीले चिनियाँ समाजमा विभिन्न वर्गहरूको आर्थिक अवस्था र क्रान्तिप्रतिको तिनीहरूको धारणाको आम विश्लेषण गर्नैपर्छ ।’

त्यसकारण हाम्रा निम्ति पूँजीवादपन्थीहरूको पूँजीवादी चरित्रलाई राजनीतिक र आर्थिक दुवै रूपले नङ्ग्याउन मार्क्सवादी वैज्ञानिक तरिका प्रयोग गर्नु आवश्यक छ । ताकि हामीले स्पष्टसँग देख्न सक्छौं कि पूँजीपति वर्ग ठीक कम्युनिष्ट पार्टीभित्रै छ ।

पार्टीभित्रका पूँजीवादपन्थीहरूको सारभूत राजनीतिक चरित्र यो रहेको हुन्छ कि तिनीहरू संशोधनवादी कार्यदिशा अगाडि सार्छन् र पूँजीवादी बाटोमा टाँस्सिरहन्छन् । तिनीहरूको विश्लेषण गर्दा सबैभन्दा पहिले हामीले यो चरित्रलाई पत्ता लगाउनुपर्छ र राजनीतिक कार्यदिशाको कोणबाट तिनीहरूको सारतत्वको स्पष्ट समझदारी बनाउनुपर्छ । संशोधनवादी कार्यदिशालाई अगाडि बढाउने साझा प्रयासको आधारमा पूँजीवादपन्थीहरूले पूँजीवाद पुनर्स्थापनाको व्यर्थको प्रयासमा पार्टीमा राजनीतिक फुट ल्याउँछन् र संशोधनवादी कार्यदिशाका नाइकेहरू, जो हिजो विभिन्न अवसरमा पैदा भएका थिए । सबै यो कार्यदिशाका आम प्रतिनिधि थिए ।

ल्युशाओची, लिन पियाओ र तेङ शियाओ पिङ भगौडा र गद्दारहरू भर्ती गर्ने स्थितिमा रहे, आफ्ना मतलबी स्वार्थहरूलाई पछ्याउने गिरोह बनाए र पूँजीवादी मुख्यालयहरू निर्माण गरे । सर्वहारा अधिनायकत्वका औजारहरूलाई पूँजीवादी अधिनायकत्वको औजारमा बदले र साँचो परिस्थितिको जानकारी नभएका र उच्चस्तरको चेतना नभएका केही मानिसहरूलाई केही समयका निम्ति आफ्नो संशोधनवादी कार्यदिशालाई समर्थन गर्न लगाएर बटारे ।

पूँजीवादको पुनर्स्थापना गर्न कस्सिएका तिनीहरू पार्टी बाहिरका पूँजीपति वर्गभन्दा बढी निर्दयी र खतरनाक देखिए । पार्टीभित्रका पूँजीवादपन्थीहरूले अगाडि सारेको संशोधनवादी कार्यदिशाले नयाँ र पुराना पूँजीपति वर्ग र सबै प्रकारका शोषक वर्गहरूका स्वार्थहरूको बढी केन्द्रित तरीकाले प्रतिनिधित्व गर्छ र यसले पूँजीवादी चरित्रलाई निर्धारित समेत गर्दछ ।

(पेकिङ रिभ्यू, अंक २५, सन् १९७६ १८ जूनमा प्रकाशित । खोपबहादुर कँडेलले अनुवाद गरेको रेमण्ड लोट्टाको विश्वप्रसिद्ध पुस्तक ‘माओको अन्तिम महालडाइँ‘को अंश)   



source https://www.onlinekhabar.com/2021/12/1046982

गण्डकीमा कांग्रेस संस्थापनको निर्विकल्प उम्मेदवार, पौडेल-कोइरालालाई सकस

१६ मंसिर, पोखरा । नेपाली कांग्रेस प्रदेश महाधिवेशन सुरु हुनै लाग्दा गण्डकीमा सभापति शेरबहादुर देउवा समूहले एकल उम्मेदवार उभ्याउँदा संस्थापनइतरलाई भने उम्मेदवार छान्नै सकस परेको छ ।

संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी एकल उम्मेदवारका रुपमा देखिएका छन् । संस्थापन इतरबाट पाँच जना आकांक्षी बन्दा बुधबारदेखि उम्मेदवार छान्न सुरु भएको छलफल अहिलेसम्म टुंगोमा पुगेको छैन ।

संस्थापन इतरबाट कास्कीका मात्र तीन जना आकांक्षी छन् भने तनहुँ र नवलपुरका एक/एक जनाले दाबी गरिरहेका छन् । कास्कीबाट पूर्व सांसद शुक्रराज शर्मा, यज्ञबहादुर थापा र नेता देवराज चालिसेले दाबी गरिरहेका छन् । तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसी प्रदेशको पहिलो सभापति बन्ने होडमा छन् ।

संस्थापन इतरबाट उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जीवन परियार, धनराज गुरुङ र कमला पन्त बुधबारदेखि नै पोखरामा भेला भएर छलफलमा जुटेका छन् । तर, उम्मेदवार टसमस नहुँदा कुनै टुंगो लाग्न सकेको छैन । ‘हिजोदेखि नै उम्मेदवारको टुंगो लगाउन केन्द्रीय नेताहरुसहित पोखरामा छलफल गरिरहेका छौं । तर, अहिलेसम्म निश्कर्षमा पुग्न सकिएको छैन,’ उम्मेदवार टुंगो लगाउने जिम्मा पाएको टोलीका सदस्य जीवन परियारले भने, ‘दिउँसो १ बजेभित्र सबै टुंगो लगाउने गरी छलफल जारी राखेका छौं ।’ बुधबार पोखरा लेकसाइडको एक रिसोर्टमा छलफल भएको थियो भने बिहीबार पनि बिहानैदेखि नेताहरु गृहकार्यमा जुटेका छन् ।

संस्थापन पक्षले प्रभाव बढाउँदै

गण्डकी प्रदेशलाई कांग्रेसको संस्थापन इतर समूहको गढ मानिन्छ । तर, देउवा समूहले प्रभाव जमाउँदै गइरहेको छ । पौडेलकै गृह जिल्ला तनहुँमा संस्थापनबाट सभापति चुनिएका छन् ।

सधैं पौडेल समूहले जित्ने जिल्ला लमजुङमा पनि यसपटक संस्थापन समूहले नै जिल्ला सभापतिमा जीत हासिल गरेको छ । पौडेल समूहकै रजगज मानिएको कास्कीमा पनि संस्थापनबाटै सभापति जितेका छन् । बागलुङ र पर्वतमा पनि संस्थापन समूहले नै जीत हासिल गरेको छ ।

वरिष्ठ नेता पौडेल तथा महामन्त्री कोइरालाको गृहजिल्ला रहेको गण्डकी प्रदेशमा संस्थापन पक्षले प्रभाव बढाइरहेको छ । त्यसका बाबजुद पनि धेरै आकांक्षी हुँदा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासहितको टोली पोखरा आएर गृहकार्य गरिरहेको छ । तर, एउटा उम्मेदवार छान्दा अन्य उम्मेदवार बिच्कन सक्ने सम्भावना पनि उत्तिकै देखिएको एक नेता बताउँछन् ।

यही हुन् पौडेल समूहका आकांक्षी

संस्थापनबाट जोशी सभापतिको एकल उम्मेदवार हुँदा उपसभापतिमा मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत आकांक्षी छन् । महामन्त्रीमा कास्कीका कुमार खड्काले पनि दाबी गरिरहेका छन् । सहमहामन्त्रीमा गोरखाका राजन पन्त र तनहुँका झुलबहादुर रानाको नाम चर्चामा छ ।

संस्थापन इतरबाट उपसभापतिमा किरणबाबु श्रेष्ठ, बागलुङका हरिकुमार श्रेष्ठ आकांक्षी छन् । महामन्त्रीमा कास्कीका कृष्ण केसी र नवलपुरका विष्णु लामिछानेले दाबी गरिरहेका छन् ।

सहमहामन्त्रीमा नवलपुरकी ओमकला गौतम, तनहुँकी सरिता गुरुङ, कल्पना तिवारीको आकांक्षा छ ।

संस्थापन इतरबाट कास्कीका प्रदेश सभापतिमा ३ आकांक्षीमध्ये कास्कीको १ जनाले सभापतिको उम्मेदवार पाउन सक्ने १ जनाले बताए । नवलपुरका जिसीले पछि हट्न सक्ने संकेत गरिसकेका छन् भने तनहुँका रघुनाथ पौडेललाई कांग्रेस वृतमा बलियो उम्मेदवारका रुपमा हेरिएको छैन ।

कास्कीका आकांक्षीमध्ये पाका नेता शुक्रराजलाई संस्थापनइतर समूहले विश्वास गर्न नसकिरहेको एक नेताको भनाइ छ । आकांक्षी थापा र चालिसेले वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालालाई विश्वासमा लिने प्रयत्न गरिरहेको स्रोतको दाबी छ ।

आजबाट देशैभरि सुरु हुने कांग्रेस प्रदेश महाधिवेशनमा गण्डकीमा १२ बजे पोखरामा उद्घाटन कार्यक्रम तय भएको कास्की कांग्रेसका नेता कृष्ण केसीले जानकारी दिए ।

अधिवेशन गराउन गोपालमान श्रेष्ठको नेतृत्वमा टोली खटिएको छ । देश संघीयतामा गएपछि कांग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेको हो ।



source https://www.onlinekhabar.com/2021/12/1046983

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

१६ मङ्सिर, सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो ।

हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ ।

चिसो मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ ।

चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने गर्छ ।

सिमकोटस्थित पसलमा बाक्लो कपडाको बिक्रीसमेत बढेको छ । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात सुरु भएको छ । हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ । अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046972

संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु : सभामुख सापकोटा

१६ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् ।

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए ।

सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु ।’

उनले अगाडि भने, ‘सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई थिए । सोही प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं पनि थिए ।



source https://www.onlinekhabar.com/2021/12/1046970

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More