Wednesday, 2 February 2022

सुदूरपश्चिममा अपाङ्ग र ज्येष्ठ नागरिक कोरोना खोपको पहुँच बाहिर

२० माघ, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ को बाँसखेडाकी जयन्ती भट्टका छोरा पंकज जन्मजात शारिरीक अपाङ्गता भएका व्यक्ति हुन् । २३ वर्षीय पंकज हिँडडुुल गर्न सक्दैनन् । परिवारका सदस्यले उनलाई बोकेरै भित्र-बाहिर गराउँछन् ।

पंकज मात्र होइन उनका कान्छा भाइ सन्देश पनि जन्मजात अपाङ्ग छन् । दुवै दाजुुभाइको शारिरीक अवस्था प्राय मिल्दोजुुल्दो छ । भाइलाई पनि पंकजको जस्तै बोकेरै भित्रबाहिर गराउनुपर्छ । दुुई भाइको हेरचाहका लागि परीवारको एक जना अनिवार्य रुपमा दिनभर खटिनुुपर्ने हुुन्छ । कहिलेकाहिँ रातिमा बेहोस हुने समस्याले गर्दा झनै समस्या हुने गरेको छ ।

एकातिर शारिरीक अपाङ्गता अर्कोतिर कोरोना महामारी फैलिएपछि छोराहरुलाई संक्रमण हुन्छ की भन्ने भय जयन्तीको मनमा गढेको छ ।

परिवारका अन्य सदस्यले कोरोना भाइरसविरुद्धको खोप लगाइसके पनि दुई छोराहरुलाई खोप केन्द्रसम्म लैजान नसक्दा उनीहरुले खोप लगाउन पाएका थिएनन् । तर मंगलबार भने घरमै पुगेको सरकारी अधिकारीसहितको टोलीले जेठा छोरा पंकजलाई खोप लगाइदिएको छ । कान्छा छोरोको उमेर नपुुगेको भन्दै खोप दिइएन । छोरालाई खोप लगाइसकेपछि खुुसी हुुँदै जयन्तीले भनिन्, ‘छोरालाई खोप केन्द्रसम्म लैजान नसकेकै कारण कोरोनाविरुद्धको खोप लगाउन पाइएको थिएन तर आज घरमै पाएकोमा खुुसी छौं ।’ आफ्नो छोरा जस्तै अपाङ्गता भएका अन्य व्यक्तिहरुलाई पनि घरमै पुगेर खोप लगाइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

०००

भीमदत्त नगरपालिका-१७ कै ८२ वर्षीय शंकरसिंह खड्काले पनि अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएका थिएनन् । कान कम सुन्ने, आँखा कम देख्ने र शारिरीक कमजोरीका कारण धेरै हिँडडुल गर्न नसक्ने भएकाले उनी खोप केन्द्रसम्म जान सकेका थिएनन् ।

‘कोरोना भाइरसले म जस्ता बुढा मानिसलाई छिट्टै थला पार्छ भन्ने सुुनेको थिएँ,’ खड्काले भने, ‘खोप लगाएपछि सुरक्षित भइन्छ भन्ने कुरा पनि नसुनेको होइन तर खोप केन्द्र जान नसकेका कारणले अहिलेसम्म खोप नलगाएको हुुँ ।’ तर मंगलबार आफ्नै घरमा पुगेको टोलीबाट खोप लगाइसकेपछि उनी ढुक्क छन् अब कोरोना भाइरसको संक्रमण भएपनि थला परिंदैन भन्ने आत्मबल बढेको खड्का बताउँछन् ।

बाँसखेडाकै ७० वर्षीय मनोरथ पाठक दम्पत्तीले पनि अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । दमको समस्या भएका मनोरथलाई शुरुका दिनमा गाह्रो हुन्छ की भन्ने डरले खोप लगाउन मनले मानेन । ‘मान्छेहरु दमका बिरामीले कोरोनाको खोप लगाउनु हुँदैन भन्ने थालेपछि मलाई डर लाग्यो । त्यसैले अहिलेसम्म खोप लगाएको थिएन,’ मनोरथले अनलाइनखबरसँग भने, ‘पछि राम्रो हुन्छ भन्ने थाहा पाए पनि खोप पाइएन । खोप केन्द्रसम्म जान सक्ने आफ्नो अवस्था भएन ।’

तर जिल्ला स्वास्थ्य कार्यालय र भीमदत्त नगरपालिकासँगको समन्वयमा विभिन्न गैर सरकारी संघसंस्थाले सञ्चालन गरेको घरदैलो अभियान अन्तरगत खोप पाएपछि पाठक खुसी भएका छन् । उनकी ६५ वर्षीया श्रीमती गुरमा पाठकले पनि श्रीमानसँगै घर आँगनमै कोरोनाविरुद्धको खोप लगाएकी छन् ।

भीमदत्त नगरपालिकाकै अर्की स्थानीय ७१ वर्षीया मने भट्टलाई त कोरोनाविरुद्धको खोप लगाएपछि मरिन्छ की भन्ने डर लागेको रहेछ । ‘कोरोनाको सुई लगाएपछि बिरामी भएपछि मरिने त होइन भन्ने सोचेर अहिलेसम्म डरले खोप नलगाएकी हुँ,’ भट्ट भन्छिन्, ‘अरु बिमारीले पनि च्यापेकाले के-के पो हुने हो ? जस्तो लाग्थ्यो ।’ अहिले भने उनलाई त्यो हल्ला बेकारको रहेछ भन्ने थाहा भएको छ । खोप लगाइसकेपछि उनलाई कोरोना संक्रमणकै कारण अब मरिंदैन भन्ने विश्वास बढेको छ ।

०००

माथि उल्लेख गरिएका भीमदत्त नगरपालिका-१७ का यी व्यक्तिहरु अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेका प्रतिनिधिमूलक पात्र मात्र हुन् । जो सरकारी निकायसँगको समन्वयमा सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा अहिलेसम्म खोप नलगाएको अवस्थामा भेटिए ।

तर कञ्चनपुर मात्र नभएर सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत ठूलो संख्यामा शारिरीक अपाङ्गता भएका र ज्येष्ठ नागरिक अझै कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेको अनुमान छ ।

राष्ट्रिय मुक्त हलिया महासंघ नेपालले स्वास्थ्य कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका र विभिन्न संघसंस्थाको समन्वयमा भीमदत्त नगरपालिकामा पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकहरुका लागि कोभिड-१९ घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

खोपको पहुँचबाट टाढा रहेका यी लक्षित समूहका व्यक्तिहरुलाई समेट्ने उद्देश्यले सञ्चालन गरेको अभियान अन्तरगत भीमदत्त नगरपालिका-१९ वटा वडामा घरदैलो अभियान कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

अहिलेसम्म १२ वटा वडामा अभियान सञ्चालन गरिएकोमा पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिक गरेर दुई सय ३० जना कोरोनाविरुद्धको खोपको पहुँच बाहिर रहेको पाइएको अभियानमा सामाजिक परिचालकको रुपमा काम गरिरहेकी लक्ष्मी विक बताउँछिन् ।

‘खोपको पहुँच बाहिर रहेका पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि हामीले भीमदत्त नगरपालिकाका १९ वटै वडामा घरदैलो अभियान सञ्चालन गरिरहेका छौं,’ विकले भनिन्, ‘१२ वडामा मात्र दुई सय ३० जना त्यस्ता मानिस भेटिए । यो आँकडालाई हेर्दा जिल्लाका ९ पालिकामा करीब १५ सय जना अपाङ्गता र ज्येष्ठ नागरिक कोरोनाको खोपको पहुँच बाहिर छन् भन्ने लाग्छ ।’

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल कञ्चनपुरमा अध्यक्ष सिबी लुहार भीमदत्त जस्तो पुराना र शहरी क्षेत्र बढी भएको नगरपालिकामै यत्रो ठूलो संख्या खोपको पहुँच बाहिर हुनु आफैंमा दुःखद पक्ष भएको बताउँछन् । दुरदराज र विकटमा बस्ने मानिसको अवस्था झनै कस्तो होला ? भन्ने चित्र यसले देखाउने बताउँदै उनले खोपको पहुँचमा सबै नागरिकलाई समेटनु राज्यको दायित्व भएको बताए ।

तर भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक नरेन्द्रराज जोशी भने कोरोनाविरुद्धको खोप पाउन नसकेका अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुलाई समेट्ने उद्देश्यले घरदैलो अभियान सञ्चालन गरिएको बताउँछन् ।

यसअघि सरकारले निर्धारण गरेका केन्द्रमा भौतिक रुपमा उपस्थित हुन नसकेकै गर्दा उनीहरुले खोप नपाएको बताउँदै जोशीले सोही कारणले नै विभिन्न संघसंस्थासँगको सहकार्यमा नगर क्षेत्रमा अभियान चलाइरहेको बताए ।

‘पहुँच बाहिर भएकालाई खोजी-खोजी खोप’

सुदूरपश्चिम प्रदेश सरकारले पनि विभिन्न कारणले अहिलेसम्म शारिरीक अपाङ्गता र सबै ज्येष्ठ नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन नसकेको कुरालाई स्वीकार गरेको छ । शारिरीक अपाङ्गता र सबै ज्येष्ठ नागरिकहरु खोपको पहुँच बाहिर रहेको कुरा यथार्थ भएको उल्लेख गर्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर तिनीहरुको पहिचान गर्ने काम भइरहेको सुनाए ।

‘महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरेर हामीले खोप लगाउन नपाएका मानिसहरुको विवरण संकलन गर्ने काम गरिरहेको अवस्था पनि छ,’ मन्त्री खड्काले अनलाइनखबरसँग भने, ‘विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुलाई घर-घरमै पुुगेर खोप दिने योजनाअनुसार काम भइरहेको छ । अब कोही पनि खोपको पहुँच बाहिर रहँदैनन् ।’

अभियान सञ्चालन भएका बेला सम्बन्धित स्थानभन्दा बाहिर रहेका मानिसको पहिचान गरेर पनि कोरोनाविरुद्धको खोप लगाइरहेको खड्काको भनाइ थियो ।



source https://www.onlinekhabar.com/2022/02/1073797

अमेरिकाले युरोपमा थप २ हजार सैनिक खटाउने

२० माघ, काठमाडौं । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि नै तैनाथ एक हजार सैनिकलाई रोमानिया तैनाथ गरिने बीबीसीले जनाएको छ ।

युरोप पठाइने अमेरिकी सैनिक युद्धमा सामेल हुने छैनन् । यी सैनिकहरु अमेरिकाको सहयोगी देशको रक्षाका लागि हुन् । यसअघि अमेरिकाले साढे आठ हजार सैनिकलाई उच्च सतर्कताका साथ राख्ने निर्णय गरेको थियो ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै, अमेरिकाले जबरजस्ती युद्धमा धकेल्न खोजेको बताउँदै आएको छ । यद्यपि रुसले युक्रेनको सीमा क्षेत्रमा करीब एक लाख सैनिक तैनाथ गरेको छ । युक्रेनले भने आक्रमणको आतंकले अर्थव्यवस्था चौपट हुनसक्ने भन्दै डर नदेखाउन पश्चिमा देशहरुलाई आग्रह गर्दै आएको छ ।

रुसले युक्रेनको दक्षिणी क्षेत्र क्राइमिया कब्जा गरेको आठ वर्षपछि पछिल्लो संकट सिर्जना भएको छ ।

रुसले युक्रेनमाथि पूर्वमा शान्ति कायम गर्न भएको अन्तर्राष्ट्रिय सम्झौता लागू गर्न विफल भएको आरोप लगाउँदै आएको छ ।

अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोमा युक्रेन सहभागी नहोस् भन्ने रुस चाहन्छ । रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सक्रिय सरकार विरोधी समूहलाई साथ पनि दिंदै आएको छ ।

रुस समर्थित विद्रोही समूहको युक्रेनको पूर्वी क्षेत्रमा वर्चस्व छ । सन् २०१४ देखि हालसम्म त्यहाँ भएको आक्रमणबाट करीब १४ हजार जनाको ज्यान गइसकेको छ ।



source https://www.onlinekhabar.com/2022/02/1073793

बलिउड अभिनेता रमेश देवको निधन

२० माघ, काठमाडौं । भारतका चर्चित अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

अमिताभ बच्चन, राजेश खन्ना लगायतका चर्चित कलाकारहरुसँगै अभिनय गरेका मराठी र बलिउड फिल्मका प्रसिद्ध अभिनेता रमेश देवको मुम्बईको धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो । चार दिनअघि मात्रै उनले आफ्नो ९३ औं जन्मदिन मनाएका थिए ।

उनले मराठी र हिन्दी फिल्महरुमा अभिनय गरेका छन् । ‘आरती’बाट हिन्दी फिल्ममा अभिनय यात्रा सुरु गरेका उनले धेरै फिल्महरुमा यादगार अभिनय गरेका छन् । सरस्वतीचन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानीयाँ, पतीता, अन्धा मागता एक दोला (मराठी) लगायत फिल्म उनले अभिनय गरेका सम्झनलायक फिल्म हुन् ।

उनकी पत्नी सीमा देव पनि अभिनेत्री हुन् । उनका छोराहरू अजिंक्य देव र अभिनय देव पनि बलिउडमा अभिनेता र फिल्म निर्देशक छन् ।



source https://www.onlinekhabar.com/2022/02/1073790

घान्द्रुक यात्रा सुरक्षित बनाउने उद्देश्यले कला भिरमा बनाइयो रेलिङ

२० माघ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भिरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ ।

सो स्थानमा गत असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि घान्द्रुक यात्राबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनले जनाएको छ ।

घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू र देश विदेशमा रहेका दाताहरुको १ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । साथै घुम्तीहरुमा पाँच वटा ऐना पनि राखिएको उनले बताए ।

रेलिङ निर्माण समितिका संयोजक याम बहादुर गुरुङले रेलिङ निकै बलियो हुने गरी गाडेको भन्दै यसले सवारी साधनलाई बाटोबाट तल भिरमा खस्नबाट रोक्ने विश्वास व्यक्त गरे ।



source https://www.onlinekhabar.com/2022/02/1073787

थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै ललितपुर महानगर

२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो ।

बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त हुने उनले बताए । करिब ९ करोड बत्ती जडानको गर्न लागिएको महानगरले जानकारी दिएको छ ।

यसअघि ललितपुरको मुख्य शहरी क्षेत्रमा जडान भएका ६६९ वटा बत्तीले रातको समयमा शहरमा प्रभावकारी भएकाले अन्य क्षेत्रमा पनि जडानको काम अघि बढाउन लागिएको उनले बताए । महत्वपूर्ण चोकमा १४ वटा हाइमास्ट स्मार्ट सडक बत्ती पनि जोड्न लागिएको उनले बताए । यसले मुख्य चोकहरू रातको समयमा अँध्यारोमुक्त हुने मेयर महर्जनको दाबी छ ।

दोस्रो चरणमा ११ सय स्मार्ट सडक बत्ती जोडेपछि तेस्रो चरणमा चक्रपथको ललितपुरभित्र पर्ने ७.९ किलोमिटर खण्डमा पनि बत्ती जोड्न टेन्डर हुने र त्यसका लागि पूर्वतयारीको काम भइरहेको उनले जानकारी दिए ।

रातको समयमा सर्वसाधारणको आवत-जावत सहज र सुरक्षित बनाउन स्मार्ट लाइट जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका मेयर महर्जनको भनाइ छ । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक तवरले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको महानगरपालिकाले जनाएको छ ।

ललितपुरको स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत प्राधिकरणमै राखिएको छ । कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रुपमा बल्ने र निभ्ने हुन्छ । यो प्रणालीबाट विद्युत खपत पनि कम हुन्छ ।

सडकमा सोलार वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिन्छ । मध्यरातमा सडकमा मान्छे र सवारीको आवतजावत कम हुँदा लाइनमा रहेका ४ मध्ये एउटा मात्रै लाइट बल्छ ।

यो लाइट साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् । यो बत्ती बेलुकी पुरै क्षमता ६० वाटमा बल्छ । तर, राति १० बजेदेखि विहान ४ बजेसम्म यो लाइटले ४० प्रतिशत कम भोल्टेज खपत गर्नेगरी ३० वाटमा बल्छ । यो बत्तीको बिल पनि खपतका आधारमा स्वचालित रुपमा सिस्टमले नै तयार गर्छ ।

अनुभव नभएको भन्दै स्मार्ट बत्तीमा प्राधिकरणले अनुसन्धान पनि गरिरहेकाले महानगरपालिकाले प्राधिकरणसँग सहकार्य गरेको हो ।



source https://www.onlinekhabar.com/2022/02/1073785

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने   

२० माघ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिएको छ । आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ ।

प्राप्त आवेदनमध्येबाट उत्कृष्ठ उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सुदुपयोग गर्न राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्तिमा न्यूनीकरण गर्न सरकारले स्वदेश फर्की सफल उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

यसप्रकारका सम्मानबाट उनीहरुलाई आयमुलक तथा रोजगारमुलक कार्यमा लाग्न थप प्रेरणा मिल्ने मन्त्रालयको विश्वास छ । प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिने छ ।

छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा छ सदस्यीय सिफारिश समितिको गठन गरिएको छ ।

सातै प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ । आवेदकमध्ये एक जनाले रु एक लाख ५० हजारसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले रु ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।



source https://www.onlinekhabar.com/2022/02/1073783

Tuesday, 1 February 2022

लेजरबाट मिसाइल ध्वस्त पार्ने प्रतिरक्षा प्रणाली विकास गर्दै इजरायल

१९ माघ, काठमाडौं । इजरायलका प्रधानमन्त्री नफताली बेनेटले मिसाइल रोक्ने नयाँ प्रविधिसहित आफ्नो मुलुक एक वर्षभित्र ‘लेजरसहितको रक्षाकवच’बाट सुसज्जित हुने बताएका छन् ।

मंगलबार तेल अभिभस्थित इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिजमा बोल्दै प्रधानमन्त्री बेनेटले मिसाइल रोक्ने नयाँ प्रविधिसहित एक वर्षभित्र लेजरसहितको रक्षाकवचबाट इजरायल सुसज्जित हुने बताएका हुन् ।

इजरायली सेनाले आगामी वर्षदेखि दक्षिणी क्षेत्रमा सुरुमा परीक्षण स्वरुप र पछि नियमित रुपमा लेजरबाट मिसाइल ध्वस्त पार्ने प्रतिरक्षा प्रणाली प्रयोग गर्न लागेको जेरुसलेम पोष्टले जनाएको छ । ‘यसले हामीलाई पछिसम्म मिसाइल, रकेट, ड्रोन तथा अन्य खतराबाट इजरायललाई बचाउने एवं हामीविरुद्ध हाम्रा दुश्मनसँग भएका सबै तुरुप ध्वस्त पार्ने लेजरको घेराभित्र रहन सघाउने छ’, बेनेटलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

इजरायलले इरान र उसका सहयोगीबाट खतरा झेलिरहेका क्षेत्रीय मुलुकलाई लेजर प्रविधि उपलब्ध गराउने पनि बेनेटले बताएका थिए ।

जुन महिनामा नै इजरायलको रक्षा मन्त्रालयले सानो आकारको हवाइ जहाजमा जडित शक्तिशाली लेजर प्रणालीबाट ड्रोन ध्वस्त पारेको थियो । उक्त प्रणालीले १ किलोमिटर परबाटै कैयौं ड्रोन ध्वस्त पार्न सफल भएको थियो ।

हाल त्यहाँको मन्त्रालयले २० किलोमिटरसम्म निशाना बनाउन सक्ने सय किलोवाट क्षमताको लेजर प्रविधि विकास गर्न लागेको समाचारमा उल्लेख छ ।

 



source https://www.onlinekhabar.com/2022/02/1073378

आत्मनिर्भर अर्थतन्त्रको लागि देशभक्ति भावना जागृत गराउन प्रचण्डको आह्वान

१९ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गरेका छन् ।

समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न खबरदारी आवश्यक रहेको उनको जोड छ ।

तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ ।’

परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना पनि प्रचण्डले गरेका छन् ।

विभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरुले नेपालीहरु बीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यवद्धतामा सघाउ पुर्याउने प्रचण्डको विश्वास छ ।

अध्यक्ष प्रचण्डले कूल पूजा, प्रकृति पूजा गर्दै मिठो मसिनो खाएर रमाइलो गर्दै तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउने गरेको स्मरण पनि गरेका छन् ।

सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र अन्य राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।



source https://www.onlinekhabar.com/2022/02/1073370

मौलिक चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व : सभामुख

१९ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै उनले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको आफ्नै विशेषता र महत्व रहेको तथा चन्द्र पात्रोमा आधारित यो नयाँ वर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको छ ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकाले चाड पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा अपिल गरेका छन् । उनले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।



source https://www.onlinekhabar.com/2022/02/1073367

स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होछार मनाऔं : प्रधानमन्त्री

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

‘सोनाम ल्होछार’ अर्थात् तामाङ समुदायले मनाउने मौलिक नयाँ वर्षको अवसरमा तामाङ समुदायलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जोगिने उपाय अपनाउँदै पर्व मनाउन आह्वान गरेका हुन् ।   ।

शुभकामना सन्देशमा उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।

उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।



source https://www.onlinekhabar.com/2022/02/1073362

भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध : उपराष्ट्रपति

१९ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका छन् ।

सोनाम ल्होछार–२८५८ को अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरणसमेत गरेका छन् । तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको संगीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

सोनाम ल्होछारले सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

ल्होछार पर्व मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर ल्होछार मनाइने गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले ल्होछारलाई आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन् ।

उनले विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्णपालना गरेर पर्व मनाउन सबैमा अपिल पनि गरेका छन् ।

उनले देश–विदेशमा रहेका तामाङ दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

ल्होछारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।



source https://www.onlinekhabar.com/2022/02/1073360

सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

१९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार बाघ वर्ष सुरु भएको खुसियालीमा सोनाम ल्होछार पर्व मनाउँदै आएको पाइन्छ ।

यो पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । ल्होछारको अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।



source https://www.onlinekhabar.com/2022/02/1073358

आज सोनाम ल्होछार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

१९ माघ, काठमाडौं । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

बाघ वर्ष सुरु

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका बताउँछन् ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष ओमिक्रोन भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन । समितिका कार्यकारी निर्देशक वसन्त लामाले यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होछार मनाउन लागिएको बताए ।

विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने गरिएको थियो । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको जनाइएको छ ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होछार मनाइने बताइएको छ ।



source https://www.onlinekhabar.com/2022/02/1073354

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More