Wednesday, 2 March 2022

९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

१९ फागुन, सुरुङ्गा (झापा) । झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ ।

केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो ।

आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ । दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश । सेबुलालले भने, ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो ।’

छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताए ।

यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन् । उनले राम्रो उपचार पाए बालक ठीक हुनसक्ने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका हुन् ।



source https://www.onlinekhabar.com/2022/03/1088207

संघीय कानुन नहुँदा स्थानीय तहले लिन सकेनन् आन्तरिक ऋण

१७, फागुन काठमाडौं । पूर्वी रुकुमको भूमे गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०८९ को लागि ८० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने गरी बजेट ल्यायो । ऋण उठाउन समस्या फुकाउने गरी गाउँपालिकाले आन्तरिक ऋण उठाउने ऐन २०७८ जारी गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठका अनुसार संघ सरकारले आवश्यक कानुन नबनाएकाले ऋण लिन नसक्ने अवस्था आएको छ ।

‘प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहले आन्तरिक आयको १२ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सकिने सीमा तोकेको थियो,’ उनले भने, ‘हामीले १० प्रतिशतको सीमा राखेर ऐन पनि ल्याएका थियौं, तर संघीय कानुन नबनेका कारण ऋण लिन सम्भव नहुने भयो ।’

ऋण उठाएर बनाउने भनेको खानेपानी आयोजनामा अहिले पूर्वतयारीको काम चलिरहेको छ । तर, ऋण उठाउन नसक्दा आयोजना पछि धकेलिने अवस्था आएको श्रेष्ठले बताए ।

निर्वाचनपछिको करिब ५ वर्षसम्म स्थानीय तहहरूसँग विकास निर्माणका लागि पर्याप्त बजेट भएन । क्षमताअनुसार आन्तरिक ऋण लिन पनि पाएका छैनन् । भूमे गाउँपालिकाले जस्तै धेरै स्थानीय तहले बजेटको स्रोतका रुपमा आन्तरिक ऋण पनि राखेका थिए, तर अहिलेसम्म कसैले पनि उठाउन पाएनन् ।

संघीय सरकारले नेपाल राष्ट्र बैंकमार्फत ट्रेजरी बिल, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउँछ । स्थानीय सरकारले आन्तरिक ऋण उठाउने विधि भने अहिलेसम्म तयार भएको छैन ।

पालिकाहरूलाई आन्तरिक ऋण उठाउने अधिकार भएपनि आवश्यक कानुन बनाउन संघ सरकारले पहल गरेन । यसले गर्दा स्रोत अभाव हुँदा पनि स्थानीय सरकारहरूले क्षमताअनुसार ऋण लिन नसक्ने अवस्था छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन नगर र गाउँपालिकाले आन्तरिक ऋण उठाउन नपाउँदा स्रोतको अभाव झेलिरहेको बताउँछन् ।

‘महानगरपालिकाहरूलाई त खासै स्रोतको समस्या छैन’, उनले भने, ‘आन्तरिक आयमा कमजोर स्थानीय सरकारहरूलाई भने उनीहरूको गच्छेअनुसार आन्तरिक ऋण लिन दिनुपर्ने हो, तर संघ सरकारले कानुनी अड्चन नै खुलाइदिएन ।’

केले रोक्यो आन्तरिक ऋण ?

स्थानीय सरकार सञ्चालन ऐन- २०७४ अनुसार स्थानीय तहले आन्तरिक ऋण उठाउन सक्छन् । ऐनको दफा ६८ को उपदफा १ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस सिमाभित्र रहेर सम्बन्धित सभाबाट स्वीकृत गराई उत्पादनशील, रोजगार मुलक, आन्तरिक आयवृद्धि तथा पुँजीगत कार्यको लागि आन्तरिक ऋण लिन सक्ने व्यवस्था छ ।

बढीमा २५ वर्षको लागि ऋण लिएर तोकिएको समयमा सम्बन्धित पालिकाले नतिरे नेपाल सरकारले अनुदान कट्टा गरेर ऋणदातालाई तिर्ने व्यवस्था ऐनमा छ । तर, ‘गाउँपालिका तथा नगरपालिकाले ऋण लिनेसम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुने’ व्यवस्था ऐनको दफा ६८ उपदफा ४ मा छ ।

संघीय सरकारले अहिलेसम्म त्यसअनुसारको ऐन बनाएको छैन । यसले गर्दा स्थानीय सरकारहरूले कुन विधिबाट कोसँग ऋण लिने भन्ने यकिन छैन । उनहरूले ऋण तिर्ने स्रोत यकीन गर्दा पनि ऋण उठाउन पाएका छैनन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस भएको प्रस्ताव कार्यान्वयन योग्य देखिए नेपाल सरकारले स्थानीय तहलाई ऋणको लागि सहमति दिन सक्ने उल्लेख छ ।

आयोगले स्थानीय तहले लिनसक्ने आन्तरिक ऋणाको सीमा पनि प्रत्येक वर्ष तोक्छ । तर, ऋण लिन विधि र ऋणदाता नै तय नभएपछि स्थानीय सरकारहरू अन्योलमा छन् ।

राष्ट्रिय वित्त आयोगका प्रवक्ता कृष्णबहादुर बोहोरा रिण उठाउने अधिकार भएपनि स्पष्ट कानुन नहुँदा स्थानीय तहहरूले ऋणको लागि पहल नै नगरेको बताउँछन् ।

संघीय कानुनले आन्तरिक ऋण सम्बन्धी अस्पष्टता नहटाएसम्म स्थानीय तहहरूले ऋणको लागि पहल नगर्ने बताउँदै उनले भने, ‘विधि नै नभएपछि प्रक्रिया थाल्ने कुरै आएन ।’

कानुन कसले बनाउने ?

ठूलो खर्च गर्न नसक्ने भएकाले स्थानीय सरकारले आन्तरिक ऋण उठाउनतर्फ धेरै चासो नदिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले बताउँछन् । विगतमा प्रदेश सरकारहरूले बजेटमै आन्तरिक ऋण घोषणा गरेपनि उठाउन नसकेको देखेपछि स्थानीय तहहरू हतोत्साही भएको हुनसक्ने उनको भनाइ छ ।

‘आन्तरिक ऋणको लागि प्रदेश सरकारहरूले सुरुमा बजेट मै राखेर चासो देखाए । तर आन्तरिक ऋण लिन सकेनन्,’ पौडेलले भने,’यसले ऋण लिन चाहने स्थानीय तहहरू पनि नपाइने रहेछ भनेर हात बाँधेर सबे ।’

स्थानीय तहहरूलाई आन्तरिक ऋण चाहिने गरी बजेट नै आवश्यक नपरेको जस्तो देखिएको उनको विश्लेषण छ । तर, सरकारले आन्तरिक ऋणको लागि कानुनी बन्दोबस्त, संस्थागत संरचना र प्रक्रियागत बन्दोबस्त भने छिट्टै गर्नुपर्ने उनको भनाइ छ ।

गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ स्थानीय सरकारले महत्वपूर्ण विकास परियोजनाको लागि पनि आन्तरिक ऋण लिन नपाउने अवस्था रहनु दुःखद भएको बताउँछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक कानुन बनाउन बारम्बार भनेपनि वास्ता नगरेको उनले बताए ।

धेरै गाउँपालिकाले आन्तरिक ऋणमा चासो दिए पनि संघीय कानुन नहुँदा हात बाँधेर बस्नु परेको उनले बताए । आन्तरिक ऋण सम्बन्धी व्यवस्था स्पष्ट गर्न लिखित माग नै पेश गरिसकेको भन्दै अध्यक्ष श्रेष्ठले कानुन निर्माणमा सरकारले चासो नै नदिएको गुनासो गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी भने आन्तरिक ऋण सम्बन्धी कार्यविधि कुन मन्त्रालयले बनाउने भन्ने विषयमा नै द्विविधा रहेको बताउँछन् । ‘अर्थ मन्त्रालय कि सामान्य प्रशासनले बनाउने भनेर जिम्मेवारी टुंगो लागेको छैन,’ उनले भने ।



source https://www.onlinekhabar.com/2022/03/1088200

ग्याल्पो ल्होछारले राष्ट्रिय एकतालाई मजबुत बनाउने उपराष्ट्रपतिको विश्वास   

१९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होछार–२१४९ का अवसरमा आज शुभकामना दिँदै उहाँले ग्याल्पो ल्होछारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले ग्याल्पो ल्होछार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा रहेको बताए ।

ग्याल्पो ल्होछारका अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका महायानी बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएको उल्लेख गर्दै उपराष्ट्रपतिले यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व नेपालका गौरवका रूपमा रहेको बताएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देश निर्वाचनमा प्रवेश गरेको भन्दै उनले ग्याल्पो ल्होछारले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैलाई प्रेरित गरोस् भनी कामना गरेका छन् ।

ग्याल्पो ल्होछारमा शुद्ध पानी चढाई देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने र आपसमा शुभकामना आदानप्रदान गरेर मनाइने प्रचलन छ ।



source https://www.onlinekhabar.com/2022/03/1088192

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति   

१९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताए ।

शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएका छन् ।

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होछार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन् ।

ग्याल्बो ल्होछार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले सन्देशमा गरेकी छन् ।

मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्बो ल्होछार मनाइन्छ ।

यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ ।



source https://www.onlinekhabar.com/2022/03/1088188

अल्पसङ्ख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होछार अर्थात् नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

ग्याल्पो ल्होछार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।

उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले सरकार अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले शेर्पा समुदायको नयाँ वर्ष २१४९ ले नेपालीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याइ राष्ट्रिय एकतामा थप बल पुर्‍याउने विश्वास लिएका छन् ।

कोभिड-१९ को महामारी अन्त्य नभइसकेको वर्तमान अवस्थामा सतर्कतापूर्वक स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गर्दै उहाँले ग्याल्पो ल्होसारले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले पनि आजै एक शुभकामना सन्देश जारी गरी यस पर्वले हामीबीच निकटता सम्मान भाव एवं मजबुद राष्ट्रिय एकताका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै मौलिक चाडपर्वहरूले हाम्रा विविधतालाई जीवित बनाइ राख्न मद्दत पुग्ने बताए ।



source https://www.onlinekhabar.com/2022/03/1088184

आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा

१९ फागुन, काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्हछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।

ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

 



source https://www.onlinekhabar.com/2022/03/1088182

Tuesday, 1 March 2022

‘मैले खेलेको सबभन्दा खराब खेल’

१८ फागुन, काठमाडौं । टी-२० विश्वकपमा पुग्न यूएईले १७६ रनको लक्ष्य पेस गरेपछि नै नेपाल दबावमा परिसकेको थियो । पहिलो ओभरमै आसिफ शेख र लोकेश बम लगातार आउट भएपछि अर्को एण्डबाट हेरिरहेका कुशल भुर्तेलको मनमा चिसो पस्यो । किनकि आशिफ र कुशलले ६/७ ओभर टिकेर खेल्ने हो भने १७५ को लक्ष्य पार गर्न सजिलो हुन्छ भन्ने नेपालको बुझाइ थियो । तर आशिफसँगै लोकेश पनि आउट भएपछि कुशलसामु दीपेन्द्र सिंह ऐरीसँग मिलेर नेपालको पारी उकास्ने दायित्व आयो ।

टी-२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ मा तेस्रो भएर नेपाली टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल भन्छन्, लोकेश र आशिफ आउट भएपछि हामी ‘ब्याकफुट’मा पुग्यौं । दीपेन्द्र आएपछि दुई जनाले १५/१६ ओभरसम्म पुर्‍याए जित्न सकिन्छ भन्ने थियो ।’

फिलिपिन्सविरुद्ध शतक र क्यानडाविरुद्ध अविजित रहेका कुशल यूएईसँग तीन ओभर पनि टिक्न सकेनन् । उनी मात्र ७ रनमा आउट भए । १३ ओभरसम्म टिकेका दीपेन्द्रले सर्वाधिक ३८ रन त बनाए, तर नेपाल ६८ रनले पराजित भयो ।

विश्वकपको सम्मुखमै पुगेर एउटा खराब दिन व्यहोरेको नेपाली टोलीका कुनै पनि सदस्य त्यो क्षणलाई सम्झन चाहँदैनन् । तर अहिलेसम्म बिर्सन पनि सकेका छैनन् । कुशल भन्छन्, ‘पूरा प्रतियोगिताभर त्यही एउटा खेल नराम्रो भयो, हामीले पूरै प्रतियोगिता गुमायौं ।’

क्यालिफायर ‘ए’ का ८ टोलीलाई दुई समूहमा बाँडेर ओमानमा प्रतियोगिता आयोजना गरिएको थियो । बी समूहमा परेको नेपालले ओमान, फिलिपिन्स र क्यानडालाई हराउन धेरै मिहिनेत गर्नु परेन । तीनै खेलमा नेपालले विपक्षीलाई १०० रनको योगफल कटाउन दिएन । तर एउटै खेल बिग्रियो, जुन जित्नुपर्ने थियो ।

यसले नेपालको विश्वकप यात्रा मात्र रोकिएन, गत वैशाखमा टी-२० डेब्यु गरेका कुशलको प्रदर्शन पनि छायाँमा पर्‍यो । समूह चरणमा ओमानसँग ५ रनमै आउट भएका कुशलले फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए । यससँगै टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बने । क्यानडासँगको तेस्रो खेलमा अविजित ३४ रन बनाए । सेमिफाइनलमा यूएईसँग पराजित भएपछि तेस्रो स्थानका लागि भएको खेलमा ओमानविरुद्ध नै कुशलले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।

वैशाखमा मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय शृंखलाका क्रममा लगातार चार अर्धशतक प्रहार गरेका कुशलको यसपालिको प्रदर्शनले पूर्व कप्तान पारस खड्काको कीर्तिमानलाई उछिनेको छ । कुशलले १ शतक र ५ अर्धशतक पूरा गरेका छन् । टी-२० अन्तर्राष्ट्रियको ११ इनिङ्समा ४९८ रन जोडेका उनको औसत रन ७१ छ । ‘व्यक्तिगत हिसाबले हेर्दा मेरो प्रदर्शन ठीकै छ, तर हाम्रो प्रमुख लक्ष्य भनेको विश्वकप छनोट थियो । विश्वकपमा पुग्न नसक्दा अरु सबै खुसीहरू फिक्का भए’ यसपल्ट विश्वकप छनोटमा ब्याटबाट सबैभन्दा राम्रो प्रदर्शन गरेका उनी विश्वकपको सपना टुटेकोमा विक्षिप्त छन् ।

यदि नेपाल टी-२० विश्वकपमा पुगेको भए आफ्नो प्रदर्शनको मूल्य अर्कै हुन्थ्यो भन्ने लाग्छ । हुन पनि सन् २०१४ मा पहिलोपल्ट टी-२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन असफल छ । यदि यो पटक विश्वकपमा पुग्न सकेको भए कुशलको प्रदर्शनलाई भुल्न सकिन्नथ्यो । ‘नेपाल क्रिकेट टोलीको इतिहासमै सबैभन्दा महत्वपूर्ण खेल थियो त्यो । मैले वा जसले खेलेको भए पनि टिमलाई जित दिलाउन सकेको भए त्यसको रौनक नै बेग्लै हुन्थ्यो’ उनी भन्छन्, ‘त्यही सेमिफाइनलको खेल मैले करियरकै खराब खेलें ।’

ब्याटिङ चलेन, बलिङले इज्जत धान्यो

ओमान टूरमा जानुअघि नेपालको ब्याटिङ सुधारिएको दाबी गरिएको थियो । वैशाखमा घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको प्रदर्शनका आधारमा त्यसो भनिएको हुनसक्छ । विश्वकप छनोटअघि ओमान, युएई र आयरल्याण्ड सहभागी चारदेशीय श्रृंखलाकै क्रममा नेपालको ब्याटिङको परीक्षा भइसकेको थियो । छनोट प्रतियोगिताको कुनै पनि खेलमा ब्याटिङले भर दिलाउन सकेन । बरु ओमानको पिचमा बलिङतर्फ सानदार प्रदर्शन देखियो । युएईविरुद्ध खेलेको समिफाइनलबाहेक सबै खेलमा नेपालको बलिङ आक्रमण प्रभावशाली रह्यो । कुनै पनि खेलमा विपक्षीले १०० रनको योगफल पार गर्न सकेनन् ।

ग्लोबल क्वालिफायर्सका लागि श्रीलंकाली टोलीका धम्मिका प्रसाद बलिङ सल्लाहकारका रुपमा आएका थिए । उनको प्रयासले नेपालको बलिङ अझै खारिएको कुशलको विश्लेषण छ । ‘धम्मिका सर आएर बलिङमा राम्रो सुधार भयो । कहाँ कुन पोजिसनमा कसले बलिङ गर्ने भन्ने कुरा उहाँले सिकाउनुहुन्थ्यो । ब्याटिङका लागि विशेष व्यवस्था थिएन’ कुशलले भने, ‘हुन त प्रमुख प्रशिक्षक (पुबुदु दाशानायके) सर आफै‌ं ब्याटिङ प्रशिक्षक हुनुहुन्छ । तर सबै खालका सल्लाहकार चाहिन्छ, फिटनेस ट्रेनरदेखि हरेक कुरा हुनुपर्छ ।’

ब्याटिङतर्फ ओपनिङमा देखिएको कमजोरीबारे कुशल भन्छन्, ‘आशिफ र मैले जसरी खेलिरहेका थियौं त्यसरी उता गएर खेल्न सकेनौं । प्रधानमन्त्री कप र बन्द प्रशिक्षणमा जति पनि खेल्न सकेनौं । हामीले ६/७ ओभरसम्म लैजानुपर्ने थियो । युएईसँग पनि त्यस्तै भयो । सुरुमै हामी दुवै आउट हुन पुग्यौं ।

कोरोना संक्रमण र इन्जुरी

ओमान जानुअघि त्रिवि क्रिकेट मैदानमा आयोजित प्रधानमन्त्री क्रम राष्ट्रिय टी-२० का दौरान कुशललाई कोरोना संक्रमण भयो । नेपाल पुलिसका लागि सेमिफाइनल र फाइनल खेल्नै सकेनन् । तथापि समूह चरणमा भएको प्रदर्शनका आधारमा उनी उत्कृष्ट ब्याटर चुनिए । कोरोना निको भएपछि बन्द प्रशिक्षणमा फर्किएका कुशल ‘ग्रोइन’ इन्जुरीबाट गुज्रनुपर्‍यो । यही समस्याका कारण कुशलले चारदेशीय शृंखलाका सुरुवाती दुई खेल खेल्न सकेनन् ।

गम्भीर चोट नभए पनि फिल्डिङ र रन लिने क्रममा दौडिन गाह्रो भएको थियो । ‘हारेपछि फिट थिइनँ भन्न त मिल्दैन तर अलिअलि समस्या भए पनि खेल्ने निधो गरेको थिएँ । राष्ट्रिय जर्सी लगाएपछि देशका लागि खेल्नु कर्तव्य पनि हो’ कुशलले थपे, ‘चोटका कारणले नै ठूलो मौका गुमाएको जस्तो त लाग्दैन ।’

टी-२० मा पहिलो शतक

नेपालका तर्फबाट यसअघि पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए । फिलिपिन्सविरुद्ध शतक प्रहार गरी टी-२० मा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका कुशलले राम्रो रनरेटले ब्याटिङ गर्दा शतक बनेको बताए ।

‘शतक बनाउने कुरा हरेक खेलाडीको लक्ष्य हुन्छ । फिलिपिन्सलाई धेरै अन्तरमा हराउने गरी हामीले तयारी गरेका थियौं । किनभने रनरेटको महत्व थियो । जसरी हुन्छ, २०० रनको योगफल कटाउने लक्ष्य राखेका थियौं,’ कुशलले भने ।

‘टिमको एकतामा समस्या छैन’

विश्वकपको सम्मुखमा नेपाली क्रिकेटमा ठूलो ‘भूकम्प’ गयो । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार क्रिकेटरलाई अनुशासनको कारबाही गरेपछि नेपाली टिममै प्रष्ट दुई गुट देखियो । ज्ञानेन्द्रलाई हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइयो । ओमानमा सन्दीपले पहिलोपल्ट राष्ट्रिय टिमको कप्तानी सम्हाले । प्रशिक्षक पनि नयाँ अनुबन्धन गरिए । कुशलका अनुसार त्यो विवाद अहिले इतिहास भइसकेको छ । त्यसलाई लिएर टिममा कुनै समस्या नरहेको उनले बताए ।

‘अहिले टोलीमा समस्या छैन । हामी सबै एकजुट भएर खेलिरहेका छौं’ उनले भने, ‘हामी टुरमा जानुअघि नै सबै सकेर एकजुट भएर वर्ल्डकप खेल्ने लक्ष्य लिएर गएका थियौं । अहिले टोलीमा केही पनि किसिमको गुट उपगुट छैन ।’

सन् २०१६ मा यू-१९ विश्वकप खेलेका कुशल, सन्दीप, आरिफ शेख र दीपेन्द्र सिंह ऐरी अहिले सिनियर टोलीको प्रमुख सदस्य छन् । तीमध्ये सन्दीपले यसपालिदेखि कप्तानी पाएका छन् । ‘सन्दीप नयाँ कप्तान थियो, तर अनुभवी खेलाडी ज्ञानेन्द्र दाइ, शरद दाइ र दीपेन्द्रले मिलेर उसलाई अनुभव तथा जानेको कुरा सिकाइरहनुभएको थियो । उसलाई पनि गाह्रो भने भएन होला !’ कुशलले भने, ‘अग्रजको साथ थियो । पुबुदु सरले पनि खासै भार पर्न दिनुभएको थिएन ।’ कप्तानी जसले गरे पनि टोलीमा सबैले आफ्नो शतप्रतिशत दिएको उनले बताए ।

अहिले नेपालले एकदिवसीय सिरिजका लागि तयारी गरि रहेको छ । विश्व क्रिकेट लिग टूमा राम्रो प्रदर्शन गरी एकदिवसीय मान्यता कायम राख्ने नेपालको लक्ष्य छ । यसबारे कुशल भन्छन्, ‘२०२४ को अर्को टी-२० विश्वकपअघि २०२३ को एकदिवसीय मान्यता कायम राखी अझ उच्च बनाउने सोचका साथ मेहनत गरिरहेका छौं । यो एकदिवसीय वर्ल्डकप खेल्ने रहर छ । एकदिवसीय मान्यता बचाएर अंक तालिका पनि माथि उठाउने लक्ष्य छ ।’

तस्वीर/भिडियो : विकास श्रेष्ठ



source https://www.onlinekhabar.com/2022/03/1087661

कांग्रेस कैलाली सभापतिको पुनः मतदान सर्‍यो

१८ फागुन, धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि बुधबार तोकिएको पुनःमतदान सरेको छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धी प्रकाश बम र नारायणदत्त भट्टको आपसी सहमतिमा मतदान कार्यक्रम बिहीबार सारिएको जानकारी दिए ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार बिहीबार बिहान सवा ८ बजेदेखि पुुनःमतदान हुनेछ ।

गत आइतबार भएको मतदानको मत परिणाम अनुसार सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मतदान दोस्रो चरणमा गएको हो ।

पहिरो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रकाश बम (११६९) र अर्का उम्मेदवार नारायणदत्त भट्ट (१०७२)बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

अर्का उम्मेदवार रामबहादुर कलेल (१९७) भने पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कलेलले शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका थिए । बम र भट्ट भने संस्थापन पक्षका उम्मेदवार हुन् ।

दोस्रो चरणमा भने कलेल नै निर्णायक बनेका छन् अब उनले सघाउने उम्मेदवार विजयी हुनेछन् ।

 



source https://www.onlinekhabar.com/2022/03/1087637

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसी पर्व   

१८ फागुन, सिन्धुपाल्चोक । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।

सिन्धुपाल्चोकका माझीहरूले कोसीपर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोसीपर्व मनाउँदै आएका छन् ।

माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोसीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो ।



source https://www.onlinekhabar.com/2022/03/1087634

 युक्रेनलाई कसैले भंग गर्न सक्दैन : जेलेन्स्की

१८ फागुन, ब्रसेल्स । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् ।

उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताए ।

यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ । उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई स्वतन्त्ररूपमा पुष्टि गर्न कठिनाई भइरहेको समाचारमा जनाएको छ ।

मङ्गलबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा केहीको मृत्यु भएको हुनसक्ने र २० जना घाइते भएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिनुभएको छ ।



source https://www.onlinekhabar.com/2022/03/1087633

 आज संसद बैठक बस्दै

१८ फागुन, काठमाडौं । प्रतिनिध सभा (संसद)बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठब बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।



source https://www.onlinekhabar.com/2022/03/1087630

Monday, 28 February 2022

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी विजयी

१७ फागुन, धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । प्रतिद्धन्द्धी मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।

कुल खसेको २१० मध्ये चौधरीले ११४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले ९३ मत पाए ।

प्रदेश सम्मेलनबाट चयन भएका प्रदेश कमिटीका सदस्यहरूले मतदान प्रक्रियामार्फत माओवादी केन्द्रको नेतृत्वको टुङ्गो लगाएका हुन् ।

पदाधिकारीतर्फ उपाध्यक्षमा रणबहादुर कुँवर (१०१ मत), अक्कलबहादुर रावल (१०० मत) र मानसिंह माल (१२४), सचिवमा जंगबहादुर बुढा (१६४मत), सहसचिवमा नन्दबहादुर साउँद (१५७), रामबहादुर देवकर (१४६), र अन्जिता श्रेष्ठ (१०८) र कोषाध्यक्षमा कमलकुमारी शाह (११३) विजयी भएका छन् ।

गतमंसिरमा धनगढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन भएको थियो । तीन दिनसम्म सर्वसम्मतको प्रयास गर्दा पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति नजुुटेपछि २२३ सदस्य कमिटी चयन गर्दै सम्मेलन सम्पन्न गरिएको थियो । तर सहमतिको प्रयास असफल भएपछि करिब तीन महिनापछि सोमबार भने मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो।



source https://www.onlinekhabar.com/2022/03/1087051

प्रदेश विश्वविद्यालय बाँकेबाट सार्ने तयारी

१६ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्वविद्यालय जिल्ला बाहिर लैजाने तयारी भएको छ ।

विश्वविद्यालयलाई दाङ वा कपिलवस्तुमा सार्ने तयारी योजना आयोगले गरेपछि बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य र खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरुले विरोध जनाएका छन् ।

बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय शंकर पोखरेल नेतृत्वको पूर्ववर्ती सरकारको मन्त्रिपरिषदले गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रममार्फत नै बाँकेको खजुरामा प्रदेश विश्वबिद्यालय स्थापना गर्ने घोषणा गर्दै पहिलो वर्ष ३ करोड र पछिल्लो वर्ष ७ करोड बजेट बिनियोजन गरिएको थियो । तर विश्व विद्यालय ऐनको अभावमा सो बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा पनि प्रदेश विश्वविद्यालयका लागि १० करोड बजेट छुट्याइएको छ । विश्वविद्यालय स्थापनाका लागि खजुरा गाउँपालिकाबाट एक सय बिगाहा जग्गा कित्ताकाट गरी विश्वविद्यालयका लागि सिफारिस समेत गरिसकेको थियो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले भने खजुरामा विश्वविद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगञ्जमा राख्ने गरी तयारी गरिएको बताए ।

आयोगको यस्तो तयारीपछि खजुरा गाउँपालिका र बाँकेका प्रदेश सभा सदस्यहरुले आपत्ति जनाएका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले जग्गा हस्तान्तरणका लागि गाउँसभाबाट समेत अनुमोदन भइसकेको र सरकारले पूर्वाधारको सम्भाव्यता अध्ययन गरिसकेको स्थानलाई अनुपयुक्त भन्नु आपत्तिजनक र गलत भएको बताए ।

‘विश्वविद्यालय अन्यत्र सारिए खजुरावासीले आन्दोलनको आधिबेहरी सिर्जना गर्छौं,’ कक्षपतिले भने । आन्दोलनबाट निम्तिने क्षतिको जवाफदेही आयोग नै हुनुपर्ने चेतावनी पनि उनले दिए ।

माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रप्रसाद खरेल (आईपी)ले प्रदेशको स्थायी राजधानी दाङ तोक्ने सन्दर्भमा आफूहरु समेत सहभागी पूर्ववर्ती सरकारले प्रदेश विश्वविद्यालय बाँकेमा राख्ने गरी प्याकेजमा सहमति गरिएको स्मरण गर्दै अन्यत्र सार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘अघिल्लो सरकारले सबै दलको सहमतिमा गरेको निर्णयलाई योजना आयोग त के सरकारले पनि फेर्न मिल्दैन,’ खरेलले भने, ‘योजना आयोगले कुन स्वार्थले अन्यत्र सार्न खोजेको हो, त्यो आपत्तिजनक र निन्दनीय छ, हामी पूरा हुन्न दिन्नौं ।’

माओवादी केन्द्रकै बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसीले पनि प्रदेशसभाबाट पारित भइसकेको कार्यक्रमलाई योजना आयोगले परिवर्तन गर्न नमिल्ने बताइन् ।



source https://www.onlinekhabar.com/2022/03/1087047

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More