Friday, 4 March 2022

रुसमा फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

२१ फागुन, काठमाडौं । रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।

रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो ।

रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।

मिडिया नियामकको वेबसाइटमा पोष्ट गरिएको एक सूचना अनुसार २४ फेब्रुअरीमा सरकारले गरेको निर्णयअनुसार रुसले ट्वीटरमा सीमित पहुँच गरिदिएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि नै आक्रमण सुरु गरेको थियो ।

यसैगरी फेसबुकको मूल कम्पनी मेटाले पनि रुसमा फेसबुक प्रतिबन्धित भएको जनाएको थियो । यद्यपि उसका इन्स्टाग्राम र ह्वाट्स एपले भने रुसमा अझै काम गरिरहेको छ ।



source https://www.onlinekhabar.com/2022/03/1089231

युक्रेनमा ‘भाडाका विदेशी सेना’ रुसको टाउको दुःखाइ बन्दै

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालनी गरेको नौ दिन पुगिसकेको छ । तर रुसी सेना अपेक्षा गरे अनुसार अघि बढ्न सकिरहेको छैन ।

हुन त, खेर्सन जस्तो महत्वपूर्ण बन्दरगाह शहर रुसको पूरै नियन्त्रणमा आएको छ । खार्किभ र मारिउपो जस्ता शहरमा समेत रुसी सेनाले व्यापक घेराबन्दी गरिरहेको छ । राजधानी किएभलाई पनि घेराबन्दी गर्ने प्रयास भइरहेको छ । तर युक्रेनको व्यापक प्रतिरोधका कारण रुसी सेना अघि बढ्न सकेको छैन ।

पूरा तयारी साथ युक्रेन छिरेको रुसी सेनाले युक्रेनबाट अनपेक्षित प्रतिरोधको सामना गरिरहेको छ । युक्रेनी सेना र देशभित्रकै स्वयंसेवक लडाकुहरू रुसी सेनासँग लडिरहेका छन् । उनीहरूलाई भाडाका विदेशी सेनाले पनि साथ दिइरहेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

युक्रेनको पक्षमा लड्न आएका विदेशी लडाकु (मर्सिनरी) रुसको टाउको दुखाइ बनेको टर्कीको आनादोलु समाचार एजेन्सीले जनाएको छ ।

समाचारमा लेखिएअनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तालिम प्राप्त १६ हजार मर्सिनरी आफ्नो पक्षमा लड्न आइरहेको बताइसकेका छन् । ‘युक्रेनले हाम्रो मुलुकमा आएका विदेशी स्वयंसेवकलाई भेट्न थालिसकेको छ’, बिहीबार जेलेन्स्कीले भिडियो सन्देशमा भनेका छन्, ‘सबैभन्दा पहिला आइरहेका १६ हजारले हाम्रो स्वतन्त्रताको रक्षा गर्नेछन् ।’

विदेशी मर्सिनरी रुसी सेनाका लागि कति चुनौतीपूर्ण एवं टाउको दुखाइ बनिरहेका छन् भन्ने कुरा रुसी अधिकारीको भनाइबाट समेत प्रष्ट हुन्छ ।

बिहीबार राष्ट्रिय सुरक्षा परिषद्का सदस्यलाई सम्बोधन गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नवनाजीबाहेक भाडाका विदेशी सेनासँग समेत आफूहरू लडिरहेको प्रसंग कोट्याएका थिए । मध्यपूर्व सहित कैयौं मुलुकबाट आएका भाडाका सेनाले सर्वसाधारणलाई मानव ढाल बनाएको उनको आरोप थियो ।

‘हामीहरू नवनाजीहरूसँग युद्ध गरिरहेका छौं । भिडन्तको क्रममा नै हामीले नवनाजीहरूसँग लडिरहेको तथ्य देखिन्छ’, पुटिनले भने, ‘राष्ट्रवादी एवं नवनाजीको फर्मेसन छ र उनीहरूबीच मध्य पूर्वबाट समेत आएका विदेशी मर्सिनरी छन् जो सर्वसाधारणलाई मानव ढाल बनाएर पछाडि बसिरहेका छन् ।’

यसैबीच, रुसको रक्षा मन्त्रालयले पश्चिमा मुलुकमाथि युक्रेनी सेनाको पक्षमा लड्न भाडाका सेना पठाएको आरोप लगाएको छ । मस्कोमा नियमित बि्रफिङ गर्दै मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोले निजी सैनिक कम्पनीका जागिरेले रुसी सैन्य बाहनमाथि धावा बोलेको, विमानलाई निशाना बनाएको र एन्टिट्यांक एवं विमानभेदी मिसाइल प्रयोग गरिरहेको बताएका छन् ।

खासगरी पश्चिमी मुलुकले पठाएका स्टिङ्गर मिसाइल जस्ता हतियार मर्सिनरीले प्रयोग गरिरहेको कोनाशेन्कोभको भनाइ थियो । उनका अनुसार अमेरिकी खुफिया संस्थाले थप भाडाका विदेशी सेना भर्ती गर्न ठूलै अभियान सुरु गरिसकेको छ ।

बेलायत, डेनमार्क, लात्भिया, पोल्याण्ड र क्रोएसियाले आफ्ना नागरिकलाई युक्रेनको लडाइँमा सहभागी हुन कानुनी रुपमै अनुमति दिइसकेका छन् । फ्रान्सले समेत आफ्नो सेनाको विदेशी पृतनामा रहेका जातीय युक्रेनीलाई परिचालन गर्ने तयारी गरेको पनि कोनाशेन्कोभले बताए ।

‘गत हप्ता क्रोएसियाबाट दुई सय जना सैनिक युक्रेन आएका थिए र उनीहरूलाई एउटा नाजी बटालियनमा सामेल गरिएको छ’, कोनाशेन्कोभले भने ।

तर प्रवक्ता कोनाशेन्कोभले लडाइँमा सहभागी भइरहेका भाडाका विदेशी सेनालाई युद्धबन्दीको हैसियत दिन नसकिने र उनीहरूलाई फौजदारी कानुन अनुसार पक्राउ गरिने चेतावनी समेत दिएका छन् ।



source https://www.onlinekhabar.com/2022/03/1089228

आफ्नै मृत्युको खबर पढेपछि …

कहिलेकाहीं लाग्छ यो अक्षर खेती कहिलेसम्म गर्ने होला । जब समाचार या लेख (अक्षरको सामग्री) मा नाम झुण्डिएर पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशन हुन्छ जवाफ आफैं तयार हुन्छ – यो त जीवनको अन्तिम घडीसम्म चलिरहन्छ । साँच्चै भनेको, आँखाले अक्षर ठम्याउन छोडे पनि, अक्षर कोर्दा हात काम्न थाले पनि अबको पचास वर्षसम्म यसैगरी लेख्ने र नाम झुण्डिएको आफ्ना सामग्री पढ्ने मन छ ।

पत्रकारिता सुरु गरेको झण्डै ३० वर्ष पुग्यो, सयौं समाचार र लेख नाम झुण्डिएर प्रकाशन भएका छन् । फेरि पनि नाम झुण्डिएर प्रकाशित भएको समाचार वा लेखको प्रतीक्षामा हुने उत्साह उस्तै छ ।

दिनभरि स्रोत खोज्यो, सूचना एकट्ठा गर्‍यो, शब्दमा घोत्लियो, त्यसलाई जोडजाम गर्‍यो अनि प्रकाशनको लागि सम्बन्धित मिडियामा संप्रेषण गर्‍यो । यही हो दैनिकी तीस वर्ष अघिदेखिको । नाम झुण्ड्याउने चाह कति धेरै । अक्षर खेती सकेर समाचार वा लेख तयार गरी प्रकाशनको लागि संप्रेषण गरेदेखि उक्त समाचार या लेख प्रकाशन भएर हात नपर्दासम्मको उत्साह, कौतुहल, आशंका, त्रास र तड्पाई खपिनसक्नुको ।

उक्त सामग्री प्रकाशित होला कि नहोला, कुन पेजमा कस्तो ले-आउटसहित प्रकाशित होला, फोटो राख्छन् कि राख्दैनन् होला, नाम झुण्ड्याउलान् कि नझुण्ड्याउलान् (वाईलाइन आउँछ कि आउँदैन), सामग्री प्रकाशनपछिको पाठक प्रतिक्रिया कस्तो होला । यस्तै यस्तै तर्कनाले रातको निंद समेत हराम बनाउने । यसो निदाउन खोज्यो ध्यान त उही आफूले सम्प्रेषण गरेको खुराकतिरै ।

अक्षरको खेती सुरु गरेको २०४८/५० तिर चरिकोटमा पत्रिका पाउनै पनि कठिन । कुवेर थापाहरूले चलाएको कुवेर पानपसल थियो, पहिलो पटक त्यहाँ साप्ताहिक पत्रिकाहरू आउन थाले । त्यसपछि हारती स्टेशनरी खुलेपछि भने दैनिक पत्रिकाहरू समेत आउन थाल्यो । प्रकाशनको लागि आफूले सामग्री पठाएको भोलिपल्ट बिहान ११/१२ बजेसम्म हारती स्टेशनरी सेन्टरमा धर्ना हुन्थ्यो । किनभने पत्रिकामा आफ्नो सामग्री प्रकाशन भयो या भएन, प्रकाशन भएको छ भने आफ्नो नाम झुण्डिएको छ कि छैन हेर्ने कौतुहलले ।

अरनिको बसले पत्रिकाका मुठा झारेपछि एक झुण्ड पत्रकारले त्यसलाई बोकेर पत्रिका दोकानमै पुर्‍याई दिन्थ्यौं । अनि हारतीका नारायण साहुले पोको खोल्न थालेपछि आफू रिपोर्टर भएको पत्रिका हतार-हतार नारायण साहुको हातबाट थुतेर आफूले पठाएको सामग्री प्रकाशित भयो कि भएन भनेर हेर्ने हतारो ।

नाम झुण्ड्याएर सामग्री प्रकाशित भएको छ भने त्यो दिन पूरै उत्साहित । २/४ कप बढी चिया पनि घुट्काइदिने । २/४ जनाको अगाडि गुड्डी पनि हाँकिदिने । अझ आफूले भित्री पेजमा प्रकाशन होला भन्ने अपेक्षा गरिरहेको सामग्री प्रथम पेजमै छापिएछ भने त खुशीको सीमाले सगरमाथा नै नाघ्न बेर लाग्दैनथ्यो । सामग्री प्रकाशन भएन वा प्रकाशन भए पनि नाम झुण्डिएको छैन रै’छ भने चाहिं त्यो दिन पूरै निरासमै बित्ने । अनि अर्को सामग्री खोज्ने जाँगर पनि हराउँथ्यो ।

कति आत्मीय यो नाता, अक्षर खेतीबाट उमि्रएको खुराकमा झुण्डिएको नामसँग । त्यो नामले धेरै पटक दुःख पनि दिएको छ । कतिको खप्की खानु पर्‍यो, कतिले धम्की दिन भ्याए, कतिले सुझाव दिए, कतिले हौसला दिए । प्राप्ति जेसुकै होस् अपेक्षा उही नामको, प्रतीक्षा उही नामको ।

पहिलो पटक २०५२ साल माघ महिनामै हुनुपर्छ चरिकोट बजार सम्बन्धी समाचार छापियो आजको समाचारपत्र दैनिक (अहिले नेपाल समाचारपत्र दैनिक) मा । ओहो ! त्यो दिन खुट्टाले पनि भुईं छोएन कि जस्तो भा’को । कति जनासँग कुरा गरियो होला, कतिलाई समाचार देखाइयो होला । सबैले प्रशंसा गरे, उत्साह भरे । अनि थप समाचार लेख्ने हौसला मिल्यो ।

२०५८ सालमा भने नाम झुण्डिएको समाचारले झण्डै समस्यामा पारेन । माओवादी द्वन्द्वको बेला थियो त्यो । नेपालमै पहिलो पटक माओवादीले दोलखाको खरीढुङ्गा तल हलहलेमा पब्लिक बसमा एम्बुस विस्फोट गरायो । एकजना बोचको गुरु हुनुहुन्थ्यो सोही बसमा यात्रा गर्नुभएको । उक्त एम्बुस दुर्घटनामा परेर उहाँको अवस्था अत्यन्तै नाजुक भएको थियो । हामी स्थलगत गयौं, क्षतिग्रस्त बस, मृतक तथा घाइतेको तस्बिर खिच्यांै र चरिकोट फर्किएर समाचार लेख्न थाल्यौं ।

समाचार लेख्दै गर्दा कसैले ती बोचका गुरुको पनि मृत्यु भएको खबर सुनाए । हामी सायद अलिक आलाकाँचै रहेछौं त्यो बेला, मृत्यु जस्तो कुरालाई कतै दोहोरो-तेहेरो रुजु नगरी सम्प्रेषण गरिदियौं । भोलिपल्ट हामीलाई व्यग्र्र प्रतीक्षा थियो पहिलो पेजमा नामसहित झुण्डिएर समाचार प्रकाशित हुन्छ कि हुन्न भन्ने कुराको । भयो पनि त्यसै, हाम्रो अपेक्षा अनुसार पहिलो पृष्ठमा नाम झुण्डिएको समाचार प्रकाशित भएको थियो । तर त्यसले प्रशंसा हैन गाली खुवाउने काम गर्‍यो । किनभने समाचारमा मृत्यु नै नभएको बोचका गुरुलाई मृत्यु भएको भनेर लेखिएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका ती गुरुले अस्पतालको बेडमै आफ्नो मृत्यु भएको खबर पढ्नु पर्दा कस्तो भयो होला हालत । अनि मलाई नाम झुण्डिएको त्यो समाचारले गाली नखुवाएर ताली कसरी खुवाउन सक्थ्यो र ! उनी ठिक भएर घर फर्किएको निकै समयसम्म पनि मलाई उनीसँग धक फुकाएर गफ गर्न असहज भइरहृयो ।

यस्तै अर्को घटना पनि छ । माओवादी द्वन्द्व उत्कर्षमा थियो, मैले एउटा समाचार लेखें एक जना माओवादी कार्यकर्ताको गलत चरित्रको बारेमा । त्यो समाचार नाम झुण्डिएर प्रकाशित भएपछि एकजना कमाण्डरले मलाई फोन गरेर हात काटिदिने धम्की दिए । त्यो धम्कीले मनमा थोरै त्रास भए पनि समाचारको सत्यतामा विश्वस्त भएकोले हिम्मत भने हारिनँ । मलाई त्यतिबेला धम्की दिने ती कमाण्डरसँग अहिले मेरो राम्रो सम्बन्ध छ । उनी माओवादी केन्द्रको जिल्लाको ठूलै नेता बनेका छन् ।

राम्रा त छँदैछन्, अक्षर खेतीमा नामले धेरै दुर्घटना निम्त्यायो । तर नाम झुण्डिएर सामग्री प्रकाशन होस् भन्ने अपेक्षा र गाली तथा तालीको रोमाञ्चक लुकामारीमा उत्साहित अक्षर खेतालाको जाँगर भने कहिल्यै मरेन । फेरि भोलि नाम झुण्डिएको सामग्रीको प्रतीक्षा ! कति न्यानो लाग्ने खेती, अक्षरको खेती ।

००० ०००

अहिले समयमात्र फेरिएको छ । पत्रपत्रिका समयमै हेर्न र पढ्न पाइन्छ । अक्षर खेतीको लागि अनलाइनहरू थपिएका छन् । त्यो उत्साह, कौतुहल, अपेक्षा, आग्रह, खुसी, लगाव उस्तै छ । ३० वर्ष अघिको जस्तै ।

अहिले पनि अक्षर खेतीबाट संग्रहित सामग्रीमा आफ्नो नाम झुण्डिएको हेर्ने चाह अहँ पटक्कै मेटिएको छैन । अक्षरलाई जोडजाम गर्दै शब्द बनाएर एक र अनेक वाक्य, हरफ तथा खण्डहरू सम्याएर कतै सम्प्रेषण गरेपछि अहिले पनि निंद हराम हुन्छ भोलिपल्टको सुखद बिहानीसँग नाम झुण्डिएको आफ्नो सामग्री पढ्ने, पढाउने र सुझावको अपेक्षा गर्ने कुराले ।

अब त फेरिएको समयमा आफ्नो नाम झुण्डिएको सामग्री छ भने त्यसलाई फेसबुक र ट्वीटरमा सेयर गरेर लाइक, कमेन्ट तथा भिओर्सको संख्या गन्दा पनि साह्रै आनन्द लाग्छ ।

किन यस्तो हुन्छ होला, सबैलाई यस्तो हुन्छ होला ? नत्र दैनिक जसो नाम झुण्डिएको सामग्री प्रकाशित त भएकै छन् । अनि एक दिन सामग्री प्रकाशित हुन सकेन भने पनि चिन्ता लाग्ने, नाम झुण्डिएर आएन भने पनि चिन्ता लाग्ने, किन होला ? किनभने यो एउटा अनौठो नशा हो । अक्षर खेती गर्ने नशा, आफ्नो नाम झुण्डिएको सामग्री पढ्ने नशा । यो नशा हरेक लेखकका नसा-नसामा बगिरहेका छन् उत्साह, अपेक्षा, आकांक्षा र हौसला बनेर ।

म मात्र हैन, अक्षरका प्रत्येक खेतालाहरू झुण्डिएको नाम हेर्ने र पढ्ने चाहमा रोमाञ्चक अनुभूतिका आत्मिक बिहानीको प्रतीक्षामा हुने गर्छन् होला । त्यसो हुँदैन भने कोही एक जनाले भनिदिनुहोस्, अक्षर खेतीले उमारेको शाब्दिक अर्थसहितका सामग्रीमा नामको सूत्र मेटाइदिउँ । अब लेखन सिद्धान्तमा बाईलाइनलाई हटाइदिउँ । छ कसैको हिम्मत ? सिद्धान्त मेट्ने र लेख्ने ।
अहँ मचाहिं सक्दिनँ । किनभने मलाई प्रत्येक दिन आफ्नो नाम झुण्डिएको सामग्री पढ्ने उत्सुकता हुन्छ । अघिल्लो दिन मैले बडो मिहिनेतका साथ जोडजाम गरेको अक्षरहरूलाई शब्द र वाक्य बनाउँदै जतनसाथ कतै सम्प्रेषण गरेको हुन्छु । होला त्यो शब्द र वाक्यले कैले खुशी देला, कैलै निराशा । तर म सत्यलाई सम्प्रेषण गरिरहेको हुन्छु ।

अँ मलाई लागेको कुरा, कोही पारिश्रमिकमा हैन पैसामा शब्द साट्छन् भनेचाहिं नाम झुण्डिएको या नझुण्डिएको कुरालाई महत्व दिंदैनन् कि ! समय फेरिएको यो युगमा सम्भावना पनि त फेरिएको छ नि !



source https://www.onlinekhabar.com/2022/03/1089222

युक्रेनका नेपाली फर्काउन भारतसँग सहकार्य

२१ फागुन, काठमाडौं । युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ ।

युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत् स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन केही मन्त्रीहरुसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरुमा स्वदेश फर्किन इच्छुक नेपालीहरुलाई पनि ल्याउने प्रवन्ध मिलाउने प्रयास भइरहेको हो ।

त्यसैले स्वदेश फर्किन इच्छुक नेपालीलाई नेपाली दूतावास बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरु स्थानान्तरण भई सीमावर्ती मुलुकहरु पोल्याण्ड, स्लोभाकिया, रोमानिया, हंगेरी र मोल्दोभामा प्रवेश गरेका गरेका छन् ।

बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपालीहरु पोल्याण्डमा गएका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको र केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको र त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश र्फकन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली दूतावास बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ । उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको छ ।

बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का आफैं पोल्यान्ड-युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षित प्रस्थानमा सहयोग पुर्‍याउन पोल्याण्डमा खटिएका छन् ।

युक्रेनबाट बाहिरिएका नेपालीहरुलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/03/1089226

माओवादी केन्द्रमा फुटको भय

२० फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै ‘ठूलो संकट’ टरको सन्देश दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६ फागुनमा आफ्नै निवासमा पत्रकार सम्मेलन राखेका थिए । तर त्यही पत्रकार सम्मेलनमा प्रचण्डले दिएको अभिव्यक्ति पार्टीभित्र थप संकट निम्त्याउने कारक बनिदियो ।

त्यसै त, एमसीसी अनुमोदनको पक्षमा माओवादी केन्द्र उभिएपछि पार्टी पंक्तिमा ठूलै असन्तुष्टि थियो । अझ प्रचण्डको अभिव्यक्तिकै कारण नारायणकाजी श्रेष्ठ पार्टीबाट समूह अलग हुनसक्ने संभावना बढायो ।

शुक्रबार राष्ट्रियसभा गृहमा केन्द्रीय कमिटीको बैठक उद्घाटन गरिरहँदा पार्टीभित्र बढेको संकट अध्यक्ष प्रचण्डको मुहारबाट लुकेको थिएन । बैठक उद्घाटनमा प्रचण्डले धेरै नबोल्नु, एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता सुनाउनु र छेउमै बसेका नेता श्रेष्ठलाई फकाउनेतिर लाग्नुले पनि माओवादी केन्द्रभित्रको संकट प्रष्ट हुन्थ्यो ।

नेताहरुका अनुसार, प्रचण्डपछि बोलेका श्रेष्ठले भने व्यवस्थित र लामो सम्बोधन गरे । नेता श्रेष्ठले एमसीसी अनुमोदन भएकोमा जमेर विरोध मात्र गरेनन्, नेतृत्व चुकेको टिप्पणी समेत गरे ।

‘पार्टीमा प्रचण्ड पछिको नेता म हो । मसँग सकिएन भन्ने लागेको भए तपाई र म सल्लाह गरौं न ! हिजो २०५१ सालमा रुँदैरुँदै छुट्टिएका थियौं, अहिले हाँसीहाँसी छुटौंला’, श्रेष्ठले निकै भावुक मन्तव्य राखेको एक नेता बताउँछन् ।

तर श्रेष्ठको यस्तो मन्तव्यपछि भने बल्ल प्रचण्डले केही राहतको सास फेरे । किनकि नारायणकाजीको अभिव्यक्तिमा गुनासो बढी, विद्रोह कम थियो । श्रेष्ठले एमसीसी अनुमोदन भइसकेकाले जनपरिचालन गरेर क्षति न्यूनिकरण गर्ने सम्भावना सुनाएपछि प्रचण्डले त्यसमै सहमति जनाएका छन् ।

‘नारायणकाजी श्रेष्ठले बोलिसकेपछि अध्यक्षले उहाँको लास्टको कुरा ठीक छ, त्यहीँबाट एकता सम्भव छ भन्नुभएको छ । जनपरिचालनको कार्यक्रम सहित व्याख्यात्मक घोषणामा जे भएको छ, त्यसको कार्यान्वयन गर्न जनताको साथ सहयोग लिएर जान सक्छौं । हामी अगाडि जाने ठाउँ आयो भनेर बैठक सक्नुभयो’, एक केन्द्रीय सदस्यले भने ।

माओवादी केन्द्रका नेता देव गुरुङ पनि पार्टीमा एकताको विकल्प नरहेको बताउँछन् । ‘मतभेदहरुमाथि छलफल गरेर व्यवस्थापन गरिनुपर्छ । पार्टी एकताको विकल्प छैन भन्ने कुरा प्रचण्ड कमरेड र नारायणकाजी श्रेष्ठ कमरेडले राख्नुभयो,’ बैठकपछि सञ्चारकर्मीसँग गुरुङले भने, ‘नेताद्वयको भनाइमा  फरम मत भए छलफल हुन्छ । एकतामा शंका नगरे हुन्छ भन्ने संदेश दिएको छ ।’

प्रचण्डले सुनाएको बाध्यता

माओवादी केन्द्रले एमसीसी यथास्थितिमा संसदबाट अनुमोदन नगर्ने मात्र होइन, विपक्षमा मत दिने निर्णय संसदीय दलबाटै गरेको थियो । तर, १५ फागुनमा आइपुग्दा व्याख्यात्मक घोषणासहित अनुमोदन भयो ।

शुक्रबार केन्द्रीय समितिको बैठकमा प्रचण्डले एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता किन आइलाग्यो भनेर सुनाएका छन् । एक केन्द्रीय सदस्यका अनुसार, एमसीसी यथास्थितिमा अनुमोदन नगर्ने मात्र होइन, विरोधमा सडकमा जाउ भनकै हो भनेर प्रचण्डले स्वीकारे । उनले अघि भने, ‘स्थिति हेर्दैजाँदा पहिलाको रुकमाङ्गत कटवाल काण्डजस्तै प्रत्युपादक हुन्छ कि जस्तो लाग्यो ।’

२०६४ को पहिलो संविधानसभामा सबभन्दा ठूलो दल बनेको माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले तत्कालीन सेनापति कटवाललाई हटाउँदा सत्ताच्यूत हुनु परेको थियो । त्यहीबाट माओवादीको अधोगती सुरु भएको कतिपयको विश्लेषण छ । प्रचण्डका अनुसार, एमसीसी अनुमोदनसँग शान्ति प्रक्रिया जोडियो । पार्टीका नेताहरुलाई विदेश जान रोक लगाउनेदेखि पुराना मुद्दाहरु व्यूँताउनेसम्मको तयारी भइरहेको सूचना आफूले पाएको सुनाए ।

एमाले र कांग्रेसबीच गठबन्धन हुने मात्र होइन, सभामुखलाई हटाउने देखेको उनले बताए । दुई तिहाईका लागि अपुग हुने पाँच सांसद समेत म्यानेज भइसकेको सूचना आफूले पाएको प्रचण्डको दाबी छ । कांग्रेस र एमाले मिल्दा आफूहरु थप दमनमा पर्ने र मुलुकलाई दुई पार्टी प्रणालीमा लैजान प्रयत्न हुने विश्लेषण सहित बैठकमा प्रचण्डले भनेका थिए, ‘एमसीसी अनुमोदन गरेर राम्रो भयो भनेको छैन, तर बाध्यात्मक कदम हो । संसदले गरेको व्याख्यात्मक घोषणा समातेर अघि बढ्नुको विकल्प देखिनँ ।’ अब व्याख्यात्मक घोषणाको पक्षमा माहोल बनाएर चुनावतिर केन्द्रीत हुनुपर्ने विकल्पमा प्रचण्डले दिएका छन् ।

नारायणकाजीको कडा प्रतिवाद

नेताहरुका अनुसार, एमसीसी राष्ट्रघाती भएको पुष्टि हुने तथ्यहरु श्रेष्ठले निकै मेहनतका साथ प्रस्तुत गरेका थिए । उनको तर्क थियो–

पहिलो, एमसीसी अमेरिकनहरुको विकासको सहयोग मात्र होइन, सुविचारिक इण्डोप्यासिफिक स्ट्राटेजी अन्तरगतको आर्थिक फण्डा हो ।

दोस्रो, एमसीसी सम्झौताका प्रावधानहरु हानिकरण छन् । एमसीसी गठनदेखि नेपालसँग भएको सम्झौता हेर्दा यो परियोजना राष्ट्रको हितमा विरुद्धमा छ ।

तेस्रो, विधि प्रक्रिया मिलेन । संसदबाट पारित गर्नुअघि नै मन्त्रालय मार्फत् कार्यान्वयनमा गइसकेकाले सार्वभौमिकताको उल्लंघन भएको श्रेष्ठले तर्क गरे । उनले थपे, ‘यसले आर्थिक हित पनि गर्दैन । ट्रान्समिसनलाइन भारततिर केन्द्रित छ । भारतले चीन लगायतको लगानी भएको विजुली किन्दैन भनेको छ ।’

त्यसैकारण एमसीसी अनुमोदन हुनु हुन्न भनेको तर्क श्रेष्ठले गरे । उनका अनुसार राज्य संचालन गरिरहेको पार्टीले फिर्ता लैजाउ भन्नु उपयुक्त नहुने भएकाले मात्र संशोधन भनिएको हो । श्रेष्ठले बैठकमा भनेका छन्, ‘संशोधन भनेको त फिर्ता नै हो । किनकि अमेरिकाले संशोधन गर्दैन ।’

तर, प्रचण्डले पार्टी महाधिवेशनको निर्णय र आमकार्यकर्ताको भावना विपरीत व्याख्यात्मक घोषणाका नाममा अनुमोदनमा सहमति गरेकोमा श्रेष्ठको आपत्ति थियो । प्रचण्डले देखाएको शान्ति प्रक्रिया, सभामुख, सरकार जस्ता कारणले एमसीसी अनुमोदनलाई पुष्टि नगर्ने भन्दै उनले भने, ‘बुर्जुवा संसदीय कोणबाट पार्टी चलाउन खोज्नुभएको हो भने सम्भव छैन । यो आत्मसमर्पणवादी सोंच हो । तपाई चुक्नुभयो ।’

यसले देशभक्तिपूर्ण आन्दोलन र प्रचण्डको व्यक्तित्वमा पनि क्षयीकरण भएको उनको विश्लेषण छ । यद्यपि संसदबाट अनुमोदन भइसकेकाले जनपरिचालन गरेर क्षति न्यूनिकरण गर्न सक्नुपर्ने विकल्प श्रेष्ठले राखे । ‘यसका लागि देशभक्तिपूर्ण आन्दोलनमा लागेकाहरुसँग मोर्चाबन्दी गर्दै अगाडि बढ्न सकिन्छ,’ श्रेष्ठले प्रस्तुत गरे ।

फुटको जोखिम कति ?

बैठकमा नारायणकाजीको समग्र विश्लेषणले पार्टीमा एकता कायम राख्ने आधार कम देखाएको नेताहरु बताउँछन् । तर जसरी उनले आफ्नो सम्बोधन टुंग्याएका छन्, त्यसले भने आशावादी बनाएको छ ।

नेताहरुका अनुसार, पार्टीमा बसिरहन नारायणकाजी र उनको समूहलाई जति गाह्रो छ, फुटेर जान पनि त्यही नै गाह्रो छ ।

एमसीसी अनुमोदनप्रति असन्तुष्टि भएपनि पार्टी विभाजन हुँदा माओवादी पृष्ठभूमिबाट आएकाहरु जाने सम्भावना कम हुन्छ । हिजो एकता केन्द्रमार्फत माओवादीमा आएका कतिपय एमालेतिर लागे भने आहुती, घनश्याम पौडेलहरु माओवादीमा छैनन् । लिलामणि पौडेल, शशी श्रेष्ठ लगायतले नारायणकाजीलाई साथ दिने अवस्था न्यून छ ।

प्रचण्ड समूहका नेताहरु पनि चुनाव नजिकिएकाले पार्टी नफुटोस् भन्ने नै चाहन्छन् । उनीहरुका अनुसार, नारायणकाजी समूह फुट्दा पार्टीलाई संगठनात्मक भन्दा बढी राजनीतिक क्षति पुग्छ । एक नेता भन्छन्, ‘१३/१४ वर्षमा पार्टीको तल्लो तहसम्म घुलमिल भइसक्यो, नाराणकाजी श्रेष्ठ हाम्रो पार्टीमा देखिएको फेस समेत हो । चुनावको बेलामा विभाजित भएर गयो भने संगठनात्मक भन्दा राजनीतिक मूल्य महंगो पर्छ भन्ने डर छ ।’

तर नारायणकाजी समूहलाई माओवादी केन्द्रमा बसिरहन पनि सजिलो छैन । पार्टी एकता गरेको १४ वर्षसम्म पनि यो समूहले पार्टीमा पाउनुपर्ने पनि ओनरसिप पाएको छैन । स्वयंम प्रचण्ड र नारायणकाजीकै सम्बन्धमा शंका, उतारचढाव र उपयोग हावी छ । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेयताका केही वर्षमा मात्र दुई नेताबीच निकै नजिक भएका हुन् । यो अवधिलाई छाड्ने हो भने दुई नेताको सम्बन्ध उतारचढावले नै भरिएको छ ।

दुबै नेताको एकअर्काबारे बुझाई त्यस्तै छ । नारायणकाजीले गर्ने कतिपय तर्क प्रचण्डलाई मन पर्दैन, सौदाबाजी गरेका हुन् भन्ने ठान्छन् । नारायणकाजीलाई पनि प्रचण्ड स्थिर, निर्णयमा दृढतापूर्वक अडिने नेता होइन भन्ने लाग्छ ।

नेताहरुका अनुसार, प्रचण्डलाई नारायणकाजीबारे झस्का पसेको चाहिँ २०६८ साउनमा धोबीघाट गठबन्धनकै बेला हो । पार्टीका नेताहरु मोहन बैद्य, डा. बाबुराम भट्टराई लगायतले गठबन्धन बनाउन खोज्दा प्रचण्डले आफूसँग नारायणकाजी रहेको सन्देश दिन चाहे । तर उनी पनि बैद्य र भट्टराईसँग मिलेपछि प्रचण्डले नारायणकाजी पनि ठीक छैनन् भन्ने गरेका थिए । धोबीघाट गठबन्धनमा सामेल अरु नेताहरु अहिले प्रचण्डसँग छैनन्, बाँकी रहेका नारायणकाजीलाई पनि उनले एमसीसी अनुमोदनको विरोध गरेको विषयलाई लिएर पार्टी छाडे हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएका छन् ।

त्यसैपनि नारायणकाजी समूहमा विद्रोह गर्नुपर्ने आवाज चर्को छ । एक नेता भन्छन्, ‘उहाँहरुमा मंसिरको महाधिवेशन अगाडि पनि फुट्नुपर्छ कि भन्ने थियो । अहिले एमसीसी प्वाइन्ट अफ डिपार्चर भयो भने आमजनतामा दीर्घकालीन प्रभाव पर्छ भन्ने लागेको हुनसक्छ ।’

तर नारायणकाजी स्वयंम भने पार्टी फुटाउने कि सरकार, संगठन सबैतिर स्पेश बनाउँदै अर्को महाधिवेशनमा नेतृत्व दाबी गर्ने गरी अघि बढ्ने भन्ने निर्णयमा पुगिनसकेको उनी निकट नेताहरु बताउँछन् । एक नेता भन्छन्, ‘त्यहीकारण शुक्रबार केन्द्रीय समितिको सम्बोधन टुंग्याउँदा केही ठाउँ राखेका हुन् ।’

 



source https://www.onlinekhabar.com/2022/03/1089211

Thursday, 3 March 2022

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक तीन दिनसम्म चल्न सक्ने छ । यो अवधिमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।

केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ । गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनLत गर्न बाँकी छ ।

महाधिवेशनको म्याण्डेट विपरीत अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णयका कारण माओवादीभित्र विवाद छ ।

एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुको विमति छ । यद्यपि आजको केन्द्रीय समिति बैठकमा उपस्थित हुने र आफ्ना कुराहरू राख्ने श्रेष्ठ पक्षका नेता गिरिराजमणि पोखरेलले बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/03/1088731

राष्ट्रिय सभाका २० सदस्यको पदावधि समाप्त, होटलबाट बिदाइ

२० फागुन, काठमाडौं । राष्ट्रिय सभामा गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि आजदेखि समाप्त भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज सिंहदरबार नजिकको एक होटलबाट ती सांसदहरुलाई विदाइ गर्दैछन् ।

नेकपा एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एक जना गरी २० सदस्यहरुको पदावधि आज सकिन लागेको हो ।

एमालेका पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।

यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ ।

माओवादी केन्द्रका दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवरको कार्यकाल सकिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि आजैबाट समाप्त भएको छ ।

२० सदस्यको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गरिएको थियो । नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण शनिबार ११ बजे संघीय संसद सचिवालयमा आयोजना गरिएको छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।



source https://www.onlinekhabar.com/2022/03/1088723

‘स्थानीय तहले नयाँ पुस्तालाई पहिचान दिइरहेको छ’

धेरै ठूलो परिवर्तन गरेर आएकाले २०७४ मा चुनाव हुँदै गर्दा तीनवटै सरकारसँग नागरिकका धेरै अपेक्षा थिए । गणतन्त्र आएको छ, केन्द्रीकृत शासन व्यवस्थाबाट संघीयतामा गएका छौं । समानुपातिक समावेशी व्यवस्थाले सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको छ । चुनाव भएर सरकार बनेपछि फटाफट कानुन बन्लान्, पारदर्शिता होला, देखिने गरी कामहरू होलान्, देशभित्रै रोजगारीको अवसर पाइएला, खाडीमा मान्छेहरू जाने क्रम रोकिएला र देशभित्रै सबै खाले अवसर होला भन्ने अपेक्षा थियो ।

सुशासन कायम होला, संवैधानिक आयोगहरू फटाफट बन्लान्, राज्यको संरचना एकदमै गतिशील र क्रियाशील होला भन्ने थियो । तीनवटै सरकारबीचको सम्बन्ध एकदमै राम्रो होला र अन्तर प्रदेश परिषद्लगायत अन्य संयन्त्रहरूका बैठक बस्लान् भन्ने थियो । म कतिपय सन्दर्भमा नीति-निर्माणको काममा पनि जोडिने अवसर पाएँ । स्थानीय निकायको एकदम नजिक बसेर हेरेको छु । स्थानीय विकास मन्त्रालयमा रहेको स्थानीय विकास वित्तीय आयोगमा रहेर पनि काम गरें । प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगका कार्यालय पनि हेरें । यो अनुभवमा नयाँ संविधान र त्यस अनुसार भएको निर्वाचन र स्पष्ट दुई तिहाइको सरकार बनेपछि एकदमै राम्रो काम होला भन्ने आशा थियो । अनुभवको आधारमा सरकारले चाहृयो भने गर्न सक्छ भन्ने मेरो बुझाइ अद्यापि छ ।

स्थानीय सरकार र प्रदेश सरकारलाई पनि काम गर्नमा कुनै अप्ठ्यारो नहोला भन्ने मेरो अपेक्षामा तुषारापात भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको काम गर्ने शैली र प्रवृत्तिले यस्तो भयो । उहाँको काम गर्ने शैलीका कारण एक वर्षपछि नै तत्कालीन सरकारले सही ट्रयाक लिएको छैन भन्नेमा पुगिएको थियो ।

कुनै मन्त्री ठीक छ भने त्यो मन्त्रालयको ७० देखि ८० प्रतिशत काम हुन्छ । भ्रष्टाचार पनि कम हुन्छ । मुलुकको प्रधानमन्त्री ठीक भयो भने मन्त्रालयहरू ठीक हुन्छन् । मन्त्री ठीक भए सचिव आउने नत्र नआउने जस्ता अभ्यास पनि छन् ।

केन्द्रकै नियन्त्रणमा स्थानीय तह

हामीले पहिले भन्ने गरेको स्थानीय निकाय नै स्थानीय तह हो भन्ने बुझाइ छ कतिपयको । पहिलेको स्थानीय निकाय भनेको विकेन्द्रीकृत अधिकार प्रयोग गर्ने निकाय हो । नेपाल सरकारले कानुन बनाइदिएर कानुनको तजबिजको आधारमा सीमित अधिकार दिइन्थ्यो । अहिलेको स्थानीय तहले संवैधानिक अधिकार प्रयोग गरेको छ । यो ठूलो कुरा हो । गणतन्त्रको आन्दोलन, संविधानसभा सँगसँगै स्थानीय तहलाई राज्य शक्तिसहितको अधिकार दिने माग उठ्यो र त्यसैलाई संविधानमा लिपिबद्ध गरियो । अहिले त्यही व्यवस्था कार्यान्वयनमा छ ।

कतिपयले प्रश्न गर्छन्- स्थानीय तह र नेपाल सरकार हुँदाहुँदै प्रदेश सरकार किन चाहियो ? हिजो स्थानीय निकाय र नेपाल सरकार हुँदाहुँदै मुलुक द्वन्द्वमा गएकोे बिर्सनुहुँदैन । माओवादी आन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन र २०६२/६३ को जनआन्दोलन किन भयो ? समस्याको समाधान हुन्थ्यो, मुलुकले निकास पाउँथ्यो भने हिजोकै स्थानीय निकाय काफी थियो । किन भएन ? करिब १५/१६ वर्ष त चुनावै भएन । यहाँबाट हामीले बहस सुरु गर्नुपर्छ ।

२०७४ सालमा स्थानीय तहको चुनाव तीन चरणमा भयो । चुनाव हुने बित्तिकै कसरी काम गर्ने ? संविधानले यो संविधान बमोजिम बन्ने संघीय कानुन अनुसार भन्छ । शासन चलाउने कानुनले हो, लहडले होइन । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य भएर पछि काम गर्न कानुन चाहियो । संविधान त मूल कानुन न हो ।

कानुन बनाउन सबैले केन्द्रको मुख ताक्ने भए । चलन यही छ । जतिसुकै तल अधिकार दिए पनि तलकाले माथि हेर्ने चलन अझै पनि छ । र, हाम्रो संविधानले पनि यही भनेको छ । स्थानीय तहलाई कहीं न कहीं अलिकति केन्द्रले नियन्त्रण गर्न खोजेकै छ । नेपाल सरकारको सन्दर्भमा राज्यको शक्ति, कार्यकारिणी शक्ति केमा रहन्छ ? संघीय कानुन बमोजिम मन्त्रिपरिषद्मा निहित हुने भनेको छ ।

प्रदेशको सन्दर्भमा पनि कार्यकारिणी अधिकार संविधान बमोजिम र प्रदेश कानुन बमोजिम प्रदेश मन्त्रिपरिषदमा हुने भनेको छ । स्थानीय सन्दर्भमा यो संविधान र संघीय कानुन बमोजिम स्थानीय पालिकामा कार्यकारिणी अधिकार हुने भनेको छ । यहाँ स्थानीय कानुन बमोजिम भनेको छैन ।

स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था अनुसूची ८ मा २२ वटा व्यवस्था छ । अनुसूची ९ मा १५ वटा अधिकार छ । शिक्षामा कक्षा १२ सम्मको अधिकार छ । सहकारी र स्वास्थ्यको अधिकार छ । यति हुँदाहुँदै पनि स्थानीय तहलाई संविधानले नै कहीं न कहीं अंकुश लगाउन खोजेको छ । यो कुरा कतिले बुझेका छन्, कतिले अझै बुझेका छैनन् ।

२०७४ मा चुनाव भइसकेपछि स्थानीय तहलाई काम गर्न सुरुमा कानुन भइदिएन । चुनाव जितेर आएका स्थानीय तहका जनप्रतिनिधिहरूसँग जनताको अपेक्षा हुनु स्वाभाविक हो । मलाई नै पनि संघीय सांसद हुने बित्तिकै के के न होला भन्ने थियो, तर मैले बोल्नै पाइनँ । संसद नै राम्रोसँग चलेन । सुरुमा अलि अलि बोल्न दिए पनि त्यसपछि बोल्न मलाई पनि मुख बन्द गरे ।

कोरोना महामारी न्यूनीकरणमा स्थानीय तहले खेलेको भूमिका अनुकरणीय थियो । स्थानीय तहले आफ्ना अलपत्र नागरिकलाई घर लगे । पहिले यस्तो अभ्यास थिएन । नजिकको सरकार भनेको यही हो । जन्मिंदा, बसाइँसराइ, विवाह, मर्दा-पर्दा, हरेक समस्यामा यही नजिकको सरकार चाहिन्छ । अहिले नागरिकको समस्याको गाँठो फुकाउन घरघरमा स्थानीय सरकार हाजिर छ

स्थानीय तहका जनप्रतिनिधिहरू त प्रत्यक्ष नागरिकसँग जोडिन्छन् । त्यसकारण धेरै काम गर्नुपर्ने प्रेसर हुन्छ । तर, त्यसका लागि सुरुमा कानुन नै थिएन । न कर्मचारी छ, न बस्ने ठाउँ नै । कार्यालयहरू व्यवस्थित भइसकेको थिएन । यसले सुरुमा काम गर्नमा द्विविधा र अप्ठ्यारो भयो । त्यो बेलामा परिपत्र पठाउने, आदेश पठाउने काम केन्द्रबाट भयो । स्थानीय तहका जनप्रतिनिधिहरूलाई भने हामीलाई आदेश दिने ? निर्देशन दिने ? भन्ने पनि भयो ।

राज्यशक्ति र सिंहदरबारको अधिकार दिइएकोले हामी अर्को सिंहदरबार हौं भन्ने उहाँहरूमा पर्‍यो । हामीले पनि गाउँ-गाउँमा सिंहदरबार भन्यौं तर, अधिकार र दायित्वको कुरा सिकाएनौं । हाम्रो कमजोरी रहृयो ।

संघीयतालाई कमजोर पार्दै कर्मचारीतन्त्र

सुरुमा कर्मचारीलाई कानुन बमोजिम समायोजन गर्ने भनियो । मलाई लाग्छ, संघीयतालाई कमजोर पार्न कर्मचारीतन्त्रको उच्च भूमिका रहृयो । मन्त्रीको वरिपरि घुम्ने सचिव सहसचिवहरूले भन्न थाले, ‘हैन हजुर, वनको अधिकार कहाँ तल स्थानीय तह वा प्रदेशमा दिन हुन्छ ? हामीले माथि नै राख्नुपर्छ । कहाँ हजुर मास्टरको सरुवा यताउता स्थानीय तहलाई दिने हो ? हुन्न नि ! यसरी उनीहरूले मन्त्री भड्काउन थाले ।

संविधानले स्थानीय सडकको काम स्थानीय तहलाई नै दिएको छ । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेर सडक उद्घाटन गर्नुभयो रिमोटबाट । भ्यूटावर, खानेपानीको काम संघबाटै गर्ने भनेपछि कहाँबाट सबै ‘फङ्सन’ हुन्छ त ? हाम्रो संविधानले स्थानीय तहमा हुने भौतिक पूर्वाधार निर्माण र सेवा प्रवाहको अधिकांश काम स्थानीय तहले नै गर्ने भन्छ । तर, हाम्रो अभ्यासमा दोहोरोपन धेरै भयो । तर, संविधानले ‘डुब्लिकेशन’ होइन, स्थानीय तहलाई एकल अधिकार दिएको छ । तर, संघले एकल अधिकारमा पनि स्थानीय तहलाई खुम्च्याउन खोज्यो । साझा अधिकार सहकार्यमा आधारित हो । यस्तोमा ध्यान पुग्न सकेन । यसरी, स्थानीय तहको पहिलो कार्यकाल अधिकार के हो र होइन भन्ने द्विविधामै बित्यो ।

स्थानीय कर, संवैधानिक अधिकार

पहिले एकात्मक व्यवस्थामा पनि मेयर भएकाहरू अहिले पनि दोहोरिए । उनीहरू साँच्चै खुसी छन् । किनभने पहिलेको स्थानीय पालिका र अहिलेको स्थानीय तहका बीचमा कल्पनै गर्न सकिंदैन । त्यति ठूलो अधिकार स्थानीय तहलाई दिइएको छ । हिजोको निकायले, गाविसले १० लाख पनि प्रयोग गर्न नपाउने अवस्था थियो अहिले दशौं करोड पैसा गएको छ, अर्बौं गएको छ । भौतिक स्थानान्तरण नै गरिएको छ । स्रोत कति छ कति । कुल बजेटको २२ प्रतिशत स्थानीय तहमै गएको छ ।

अहिले त स्थानीय करको अधिकार पनि स्थानीय तहमै छ । यो संवैधानिक अधिकार हो । पहिलेको निकायमा स्रोत कम थियो, आश्रति केन्द्रसँगै हुनुपर्दथ्यो । यसको अलावा राजस्व बाँडफाँटबाट भ्याट र अन्तःशुल्कको पनि १५/१५ प्रतिशत ठूलो फिगर जान्छ । नेपाल सरकारले संकलन गर्ने ३०/३२ र कहिले २८/२९ प्रतिशत राजस्व संकलन गर्छ, त्यो त भ्याटबाटै संकलन हुन्छ । त्यसको पनि १५ प्रतिशत सीधै स्थानीय तहमा र १५ प्रतिशत प्रदेशमा जान्छ । यो ठूलो हिस्सा हो । वित्तीय समानीकरण अनुदानको पनि ठूलो फिगर छ । सशर्त अनुदान जथाभावी पठाइएको छ । त्यहाँ अलिकति व्यवस्थित गर्नुपर्नेछ ।

संस्थागत संरचना र नेतृत्व विकास

सुरुमा संविधान, कानुन, विधि, पद्धति सिक्नै समय लाग्यो । संस्थागत संरचना निर्माण गर्दै हामीले एउटा चक्र पूरा गर्दैछौं । विभिन्न तहका संरचना, कानुन र जनशक्तिको संस्थागत स्थापना गर्न समय बित्यो ।

संविधानमा स्थानीय तहको अधिकार र दायित्वभित्र पर्ने संस्थाहरू ६ महिनाभित्र हस्तान्तरण गर भनिएको छ । त्यो पनि गरिएन । स्थानीय तहको अधिकारसँग समानान्तर हुने गरी कृषि ज्ञान केन्द्रलगायतका संरचना माथिबाटै बनाइए ।

तथापि, पहिलो पाँच वर्षमा संस्थागत सेटअप भयो । मान्छेहरू सुसूचित भए । पहिचान खोजेका थिए, त्यसको अनुभूत गर्न पाए । पहिले अधिकारका लागि सदरमुकाम, काठमाडौं धाउनुपर्ने थियो । अधिकार खोज्दै माथि आउने वर्ग अहिले आफैं अधिकार दिने ठाउँमा पुगे । ७५३ स्थानीय तहमा ३५ हजार ४१ जना चुनाव जितेर आएका छन् । ४१ प्रतिशत त महिला छन् भने दलित महिला मात्रै पनि २० प्रतिशत छन् । दलितको प्रतिशत करिब करिब २२ प्रतिशत छ । संसारको कहीं पनि पाइँदैन यति ठूलो सहभागिता पाइँदैन ।

यो पहिलेका केन्द्रीकृत शासन व्यवस्थामा सीधै हेपिएको, पछाडि पारिएको वर्ग हो । राज्यबाट विमुख भएका आदिवासी, जनजाति, महिला लगायतको यो समुदाय र वर्ग अहिले मूल प्रवाहमा आएको छ । उनीहरूको आवाज सशक्त भएको छ । बोल्न सक्ने भएका छन् । बाराको करैयामैया गाउँपालिकामा ४२ जना चुनाव जितेर आएकामध्ये २१ जना महिला छन् । उनीहरू मधेश प्रदेश होइन, संविधान चलाउनुपर्छ भन्छन् । यही संविधानले आधा महिलालाई शासनसत्तामा पुर्‍यायो । हिजो अधिकार, अधिकार भन्नेहरू अहिले आफैं अधिकार दिने ठाउँमा छन् ।

पुस्तान्तरणको असली अभ्यास

नेतृत्वको पुस्तान्तरण हुनुपर्छ भन्ने बहसका बीच संविधान आएको हो । संविधान अनुसार स्थानीय तहको निर्वाचन भएर पाँच वर्ष बित्न लाग्यो । रामेछाप, रसुवा, नुवाकोटतिर २०/२२ वर्षका उपाध्यक्ष छन् । यो हो नि त नेतृत्व विकास र पुस्तान्तरणको लागि हुने असल अभ्यास ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बनाएको प्रदेशले हो । प्रदेशले नै मोदीको पहिचान दियो । यसरी, अहिलेका स्थानीय तहका उपाध्यक्ष वा उपमेयरहरू मेयरका दावेदार हुन् । त्यसपछि प्रदेश सांसदको दावा गर्न सक्छन्, संघीय सांसदको दावा गर्न सक्छन् । स्थानीय तहले नयाँ पुस्तालाई यसरी पहिचान दिइरहेको छ ।

कम्तीमा मेरो स्थानीय तहको विकास मैले गर्नुपर्छ, मेरो जवाफदेहिता र उत्तरदायित्व नागरिक, संविधान र कानुनप्रति हो भन्ने भावना र सोचको विकास भएको छ । उनीहरू अधिकारका लागि खबरदारी गरिरहेका छन् । उद्घाटन गर्ने बेलामा उपाध्यक्ष, उपमेयरले मेयरसँग खै मेरो नाम ? भनेर प्रश्न गरेको पनि देखियो ।

करको भार र यथार्थ

स्थानीय तहले लिने करका विषयलाई अलि बढी उचालिएको छ । यो मुलुक जनताले तिरेको करबाट चल्ने हो । वैदेशिक सहयोग थोरै मात्र आउँछ । मकवानपुरको थाहा नगरपालिकामा पहिले रूपचन्द्र विष्टले नेतृत्व गर्दा गाउँ पञ्चायतले आलुमा कर लिन थालेको थियो । उत्पादनको थोरै प्रतिशत राज्य, स्थानीय तहलाई दिएन भने उसले कसरी सेवा दिन सक्छ ? हरेक समस्या स्थानीय तहमा ठोकिन्छ । त्यसका लागि स्रोत चाहियो । कार्यालय र कर्मचारी चलाउँदा र दौडधुप गर्दा स्रोत चाहिन्छ । यसकारण कर त चाहिन्छ नै । कर तिरे प्रश्न पनि गर्न सकिन्छ । त्यसकारण यस विषयमा अलि धेरै उचाल्ने काम भयो ।

कतिपय ठाउँमा भने विधि र पद्धति अनुरूप नभएकै हो । किनकि, कर त कानुन बनाएर लिने हो । शासन कानुनले चल्छ, लहडले होइन । कानुनहरू गाउँसभाबाट, नगरसभाबाट पास गर्दै आर्थिक कार्यविधि र ऐन बनाएर काम गर्नुपर्छ । कतिपय ठाउँमा तजबिजको आधारमा कर संकलन गरिंदा विवाद भयो ।

घरसम्म सडक, खानेपानी, खेतबारीमा सिंचाइ, टोलमा विद्यालयको माग हुन्छ । काम गर्न स्रोत त चाहियो नै । त्यसो त, गाउँपालिका र नगरपालिकाले कर मात्रै लिएका छैनन् । उनीहरूले विकासका साथसाथै उत्पादनमा पनि जोड दिएका छन् । उद्यमी र किसानलाई प्रोत्साहन पनि गरिरहेका छन् ।

अर्घाखाँचीको एउटा गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिएको छ । किसानलाई दूधमा ५ रुपैयाँसम्म अनुदान दिएको छ । पशुपालनमा पनि अनुदान दिएका छन् । कतिपय ठाउँमा ट्याक्टर र बीउबिजन पनि दिएका छन् । स्थानीय तहले केही न केही त गरेको छ । यसलाई छायाँमा पार्ने गरी केवल कर, कर भनेर उराल्नु उचित हुँदैन ।

कर चाहिन्छ । बरु आफूले तिरेको कर कहाँ प्रयोग भएको छ ? कहाँ कसरी खर्च भएको छ ? भनेर माग्न सकिन्छ । बरु कर केन्द्रले उठाए पनि वडागत रूपमा अधिकार दिएर न्यायोचित र पारदर्शी तरिकाले तीनवटै तहमा बाँड्नुपर्छ ।

कतिपयले कुरा नबुझेर पनि दोहोरो, तेहेरो कर लिएको भन्छन् । त्यस्तो होइन । पूर्वाधार कर लिन पाइन्छ । सडक बनाइसकेपछि त्यो सडक प्रयोग गरेबापत्त सवारी कर लिन पाइन्छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा एकल कर प्रशासन छ । त्यो भनेको यदि स्थानीय र प्रदेशको कर अधिकार एउटै छ भने एउटै बिन्दुबाट संकलन गर र बाँड भनेको हो । यो हामीले बुझाउन सकेका छैनौं । सिकाइ बाँकी छ ।

जताततै कर भनिएको छ, भ्रष्टाचार भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर हेर्ने हो भने सबैभन्दा बढी उजुरी छन् । यहाँ बुझ्नुपर्ने कुरा स्थानीय तहका विरुद्ध मुद्दा पर्नु स्वाभाविक हो । किनभने स्थानीय तह नजिकको सरकार हो । हिजो चप्पल लगाएर हिंड्नेहरू आज सुटेडबुटेड भएर हिंडेपछि पैसा कहाँबाट आयो ? भनेर सोधखोज हुन्छ । नजिकबाट देखेकोले स्थानीयले खबरदार भन्छन् । सबै मुद्दा बदमासी भएरै परेका हुँदैनन् । यही भएर सिंहदरबारको अधिकार गाउँसम्म पुर्‍याउनुपर्छ भनिएको हो ।

सिंहदरबारमा छैनन् र ? विभिन्न मन्त्रालयका जिल्ला जिल्लामा युनिटहरू विरुद्ध खोइ मुद्दा परेको ? किनभने नजिक छैन त्यो । नजिक नहुँदा के के भएको छ जनतालाई थाहै हुँदैन । जनताको उठबस नै नहुने कार्यालयको बारेमा जानकारी हुने भएन, उजुरी परेन । यसो भन्दै गर्दा स्थानीय तह पारदर्शी हुनैपर्छ । यो ग्याप छ भने सिकाउनुपर्छ ।

अत्यधिक छन् असल अभ्यास

गाउँपालिकाले राम्रा राम्रा काम पनि गरेका छन् । बाजुराको एउटा गाउँपालिकाले मदिरा कार्ड बनायो । सुदूरपश्चिमको पनि पछाडि परेको पहाडी जिल्लामा सामाजिक घरेलु हिंसा व्यापक छ । म धनगढी गएको थिएँ । मदिरा कार्ड बनाइसकेपछि आएका परिवर्तनबारे बुझें । निश्चित पसलमा मात्रै मदिरा बिक्री गर्न दिने गर्दा घरेलु हिंसा न्यून भएको पाएँ । विद्यालय नजाने विद्यार्थीमा परिवर्तन आएको छ । पैसा, खाजा र लुगा दिएर विद्यालयप्रतिको आकर्षण बढाएका छन् ।

अहिले लेबर, रोजगार र श्रम बैंकहरू राखेका छन् । म दैलेखको भगवतीमाई गाउँपालिकामा गएको थिएँ । माओवादीले हिले परेड खेलाएको जस्तो के बनाएको यो ? भनेर सोधें । लेबर बैंक बनाएको भने । श्रम बैंक, रोजगार बैंक बनाएका रहेछन् । उपभोक्ता समितिहरू सबै भ्रष्टाचारमा लिप्त, ठेक्कापट्टामा पनि त्यस्तै भएपछि हरेक वडामा जति बजेट आउँछ बाँडिदिने अभ्यास सुरु भयो । रोजगार नपाएको विपन्नलाई श्रम बैंकमा राखेर काम लगाउने अभ्यास छ । यस्तो धेरै ठाउँमा पाइन्छ ।

हामीकहाँ अझै छोरा, छोरा पाउने भन्ने छ । तर, कतिपय स्थानीय तहले छोरी मात्रै जन्माएर परिवार नियोजन गरेमा पुरस्कृत गर्ने, सम्मान गर्ने गरेका छन् । २० वर्षपछि छोरीको बिहे गरिदियो भने बैंकमा पैसा राखिदिने अभ्यास सुरु भएको छ । मधेश प्रदेशमा छोरीहरूलाई साइकल किनिदिएको छ । दलित विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ । छोरी बचाउनुपर्छ भनेर अभियान चलाएको छ ।

अर्घाखाँचीको एउटा गाउँपालिकाले अष्ट्रेलियादेखि उच्च प्रजातिको बोकाहरू ल्याएर उन्नत खालको बाख्रापालनका लागि किसानलाई प्रोत्साहन गरेका छन् । काभ्रेको पनौतीमा भैंसी पाल्नेहरूलाई अनुदान दिइएको छ । कतिपय स्थानीय तहले सामुदायिक शिक्षालाई राम्रो बनाएका छन् । बोर्डिङ स्कुलमा भन्दा सरकारी स्कुलमा राम्रो पढाइ हुन थालेको छ ।

गाउँ गाउँमा बाटो बनेको छ । स्वास्थ्य चौकीहरू बनेका छन् । हेल्थपोष्टहरू छन् । स्टाफहरू छन् । कर्मचारी नभए सम्बन्धित गाउँपालिकाले व्यवस्थ्ाा गर्छ । पहिले सदरमुकाम नै धाउनुपर्ने हुन्थ्यो । त्यो विस्तारै हटेको छ ।

कृषिका प्राविधिकहरू स्थानीय तहमा पाउन सकिन्छ । यो हेर्दा परिवर्तन भएको छैन त ? परिवर्तन भएको छ । दाङको पहाडलाई रूख रोपेर हरियाली बनाइएको छ । गुल्मी, अर्घाखाँचीको नाङ्गो पहाडमा अमि्रसो रोपेर हरियाली बनाइएको छ ।

कोरोना महामारी न्यूनीकरणमा स्थानीय तहले खेलेको भूमिका अनुकरणीय थियो । स्थानीय तहले आफ्ना अलपत्र नागरिकलाई घर लगे । पहिले यस्तो अभ्यास थिएन । नजिकको सरकार भनेको यही हो । जन्मिंदा, बसाइँसराइ, विवाह, मर्दा-पर्दा, हरेक समस्यामा यही नजिकको सरकार चाहिन्छ । अहिले नागरिकको समस्याको गाँठो फुकाउन घरघरमा स्थानीय सरकार हाजिर छ ।

समस्या समाधान गरिदिने निकाय नहुँदा द्वन्द्वका बेला तीव्र बसाइँसराइ भयो । शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा मानिस सहर पसे । अब मानिस गाउँघर फर्किने क्रम चलेको छ । यो संविधान र नयाँ व्यवस्थाको उपलब्धि हो ।

मूल समस्या- संघीयता विरोधी संघीय नेतृत्व

जो संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताप्रति प्रतिबद्ध थिएन, छैन उही संघीय सरकारको नेतृत्वमा पुग्यो, जो समानुपातिक, समावेशिता, सहभागितामूलक व्यवस्थाप्रति प्रतिबद्ध छैन, त्यस्ता मानिसको हातमा शासन गयो । यो हाम्रो लागि दुर्भाग्यपूर्ण अवस्था बन्यो ।

हामी सबैको मानसिकता र सोच केन्द्रीकृत छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय पनि सरकार हो ? भन्नुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बनायौं । कतिपयले स्थानीय सरकार भनी ऐनको नाम किन राखिएको पनि भने ।

हिजोको द्वन्द्वबाट शान्तिमा आएका छौं । सानो कामका लागि पनि नागरिकलाई सदरमुकाम जानुपर्ने स्थितिको अन्त्य भएको छ । अहिले ६० प्रतिशत काम स्थानीय तहमै हुन्छ । स्थानीय तहलाई नै एफएमको अनुमति दिनेे अधिकार दिएको छ । सहकारी तथा विद्यालय सञ्चालनका लागि स्वीकृत अधिकार तल नै दिइएको छ । यी सबै अधिकार संघीयतासँग जोडिएर आएको हो ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका कर्मचारी प्रदेश लोकसेवा अनुसार भनी उल्लेख गर्‍यौं । संघीय लोकसेवालेे मापदण्ड बनाएर पठाए अनुसार प्रदेश लोकसेवाले काम गर्ने भनियो । एक वर्षसम्म संघले मापदण्ड पठाएन । प्रदेशका लोकसेवा आयोग बल्ल बल्ल बने । निजामती कर्मचारी विधेयक राज्यव्यवस्था समितिमा दुई वर्षसम्म थन्कियो । समितिबाट पारित गरियो, तर सरकारले पास नै गर्दैन । सबै शासन चाहिं अध्यादेशबाट चलाउने प्रवृत्ति छ ।

२४ मंसिर २०७५ मा अन्तरप्रदेश परिषद बैठक बसेको थियो । संघीयता भएका हरेक देशमा त्यसको गतिशीलताका लागि अन्तर प्रदेश समन्वयकारी संस्थाहरू क्रियाशील हुनुपर्छ भनिन्छ । त्यो भनेको गाडी कुदाउनलाई तेल हालेजस्तो हो । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद बैठक बस्ने संविधानमा लेख्यौं । मुख्यमन्त्रीहरूले बल गरेर बैठक तोकियो । त्यहाँ हामीले २९ बुँदे संघीयताको मोडेल भनेर बनायौं । निजामती विधेयक २०७५ को फागुनसम्म टुंग्याउने भनी हामीले निर्णय गर्‍यौं । एकल वा साझा अधिकारलगायत २०७५ चैतसम्म टुंग्याउने भनिएको थियो ।

केपी शर्मा ओलीले त्यस्ता तीन फागुन कटाउनुभयो । विधेयक बनाउने प्रयास नै गर्नुभएन । स्थानीयले काम गर्न सकेन भन्नुअघि संघले कानुन बनाइदिनुपर्छ कि पर्दैन ? स्थानीय तहमा गएर सबै कुरा ठोकिन्छ । स्थानीयले एउटा कर्मचारी राख्न नपाउने ? संघले अधिकार नदिने, अप्ठ्यारो फुकाइदिने काम त संघको हो नि ! संघीयताप्रति जुन अपेक्षा थियो, त्यस अनुसार काम भएन । अन्तरप्रदेश परिषद बैठकले गरेका निर्णय कार्यान्वयन गर भनी संकल्प प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था आयो र संकल्प प्रस्ताव पेश गर्‍यौं । चाहेको भए धेरै हुनसक्ने थियो । स्थानीय तहले छलाङ नै मार्ने थियो ।

तर, स्थानीय तहको चुनाव हुने बित्तिकै कर्मचारीहरूको समस्या रहृयो । सरकारलेे समायोजन त गर्‍यो तर ढिलो गर्‍यो । कर्मचारी अपुग भएपछि लोकसेवामार्फत माग्ने भन्ने भयो । १० हजार अधिकृतको माग स्थानीय तहले गर्‍यो । समावेशिताको कुराले राज्यव्यवस्था समितिमा विवाद पनि भएको थियो ।

दुर्गमका स्थानीय तहले कर्मचारी मागेका थिए । त्यहाँ भएका कर्मचारी नै सुगम पठाउने काम संघले गर्‍यो । प्रदेश लोकसेवा आयोगलाई कर्मचारी छनोटको अधिकार दिएको छ । संघीय निजामती ऐन नै नबनेकाले प्रदेशले बनाउन सकेका छैनन् । अनि, स्थानीय कर्मचारीको ग्याप कसले पूरा गर्ने ? त्यसपछि केन्द्रमा आएर कर्मचारी पठाइदिनु भन्न परेन ? त्यसकारण प्रदेशलाई अधिकार दिनुपर्‍यो ।

प्रदेशमा अहिले मन्त्रालय विभाजन गरिएका छन् । केन्द्रले कति कर्मचारी राख्नुपर्ने हो, आफैं राख् भन्नुपर्ने होइन ? भन्नुपर्छ । समायोजन भएका कर्मचारी संघले सरुवा गर्न खोजेर कहाँ हुन्छ ? यसकारण यो संघीयताको सबलीकरणका लागि अन्तरतह समन्वयकारी संस्थाबीचको सम्बन्ध प्रभावकारी हुनुपर्छ । अन्तर प्रदेश परिषदको बैठक निरन्तर बस्ने, बैठकका निर्णयहरू कार्यान्वयन गर्ने हुनुपर्छ ।

वित्तीय सम्बन्धी समस्या समाधानका लागि अर्थमन्त्रीको अध्यक्षतामा अन्तर सरकारी वित्त परिषद भन्ने छ । त्यो परिषदमा सात वटै प्रदेशका अर्थमन्त्री सदस्य हुन्छन् । त्यहाँ छलफल गर्नुपर्छ । अन्य विषयगत समितिहरू छन् । शिक्षा, कृषि, स्वास्थ्य जस्ता हरेक विषयका बीचमा छलफल गर्न विषयगत समितिहरू छन् । तर, क्रियाशील भएका छैनन् । तर, यसतर्फ केन्द्रीय नेतृत्वको ध्यान पुगेन ।

बरु संघीयताको मर्म विपरीतका गतिविधिमा ध्यान गयो । प्रदेशमा गृहमन्त्री भनिएको छ । तर, उनीहरू सिडिओ भन्दा कमजोर भयौं भनिरहे । संविधानको एकल अधिकारको अनूसूचीमा प्रदेश प्रहरी प्रशासन, शान्ति सुरक्षाको काम एकल अधिकारको रूपमा प्रदेशमा दिइएको छ । तर, प्रहरी समायोजन नै अहिलेसम्म भएको छैन । यो कसले नगरेको ? केपी ओली नेतृत्वको सरकारले होइन ? जसलाई संघीयता, यस्ता कुरा मन परेको थिएन किन गर्दथ्यो समायोजन Û जो संघीय नेतृत्वमा बसेर संघीयतालाई प्रभावकारी भूमिका खेल्नुपर्ने हो ऊ आफैं संघीयताप्रति प्रतिबद्ध भएनन् समस्या यही भयो ।

ओली सरकारको नीतिगत भ्रष्टाचार

संघीयतालाई प्रभावकारी बनाउन पार्टी संरचनालाई पनि प्रभावकारी बनाउनुपर्ने हुन्थ्यो । सबैभन्दा ठूलो दल एमाले हो । एमालेले पार्टी संरचनालाई पनि संघीयता अनुसार क्रियाशील गराउनुपर्ने थियो । त्यसो नगर्दा छाडा भयो । त्यही छाडापनमा डोर किन्ने, नजिकका आफन्तलाई ठेक्का दिने जस्ता प्रवृत्ति स्थानीय तहका जनप्रतिनिधिहरूमा देखापर्‍यो । त्यसकारण तत्कालीन संघीय सरकारले चाहेको भए, इच्छाशक्ति भएको भए तीनवटै सरकार मज्जाले कुद्न सक्दथ्यो । नसोचेको छलाङ मार्न सक्थ्यो ।

जस्तै, झापाको गिरिबन्धु टी-स्टेटलगायतका सन्दर्भमा ओली नेतृत्व सरकारको पालामा सबै नीतिगत भ्रष्टाचारको काम भयो । कालीगण्डकी डाइभर्सनका विषयमा निर्णय भएर बजेटमा आयो । निर्णय गर्दा गण्डकी प्रदेश सरकारसँग कुनै राय सल्लाह भएन । बजेटमा तत्कालीन केपी ओली सरकारले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने भनेर ल्यायो । सम्बन्धित प्रदेशहरूसँग कुनै राय-सल्लाह छैन ।

स्विट्जरल्याण्डमा संघीय सरकारले विदेश नीति बनाउँदा समेत त्यहाँको क्यान्टोनहरूलाई बोलाउँछ । हाम्रोमा न प्रदेशलाई गनियो न निर्णय प्रक्रियामा सोधियो । सबै मेरो मातहत हो भने झैं गरी व्यवहार र अभ्यास गरियो । केन्द्रीकृत सोच र मानसिकता हावी भयो । प्रदेश र स्थानीय तह पनि सरकार हुन्, संवैध्ाानिक अधिकार प्रयोग गर्छन् भनेर हेरिएन । जननिर्वाचित भएर आएर स्थानीय तह र प्रदेश सरकार चलाइरहेका छन् भन्ने मानसिकता तत्कालीन ओली सरकारले बुझेन । संघीयता कार्यान्वयनका लागि बनेको पहिलो सरकार नै ओली नेतृत्वको भएकोले भनिएको हो । त्यसकारण मूल समस्या संघीयता विरोधी संघीय नेतृत्व रहनु भयो । अब यसलाई ख्याल गरेर जानुपर्ने शिक्षा स्थानीय तहको यो पहिलो कार्यकालमा मिलेको छ ।

(राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटासँग गरिएको कुराकानीको सम्पादित अंश)



source https://www.onlinekhabar.com/2022/03/1088722

स्थानीय तह निर्वाचन : मतदाता नामावलीमा दाबी विरोध आह्वान

२० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त समयसीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न पनि निवेदन दिन पाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।

स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनउपर आयोगले जाँचबुझ गरिरहेको आयोगका प्रवक्ता पौडेलले बताए । आयोगले तोकेको ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएका थिए ।

हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको आयोगले जनाएको छ । छानबिन फागुन २३ गतेभित्र टुंग्याउने आयोगको कार्यतालिका छ । त्यसपछि प्रक्रिया पुर्‍याएका दलहरुको नामावली राजपत्रमा प्रकाशित हुने र राजपत्रमा प्रकाशित भएका दलहरुले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने आयोगले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/03/1088720

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा गोलाबारी

२० फागुन, काठमाडौं । युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ ।

केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ ।

मेयर ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र रुसी सेनाबीच भिडन्त भएको बताएका थिए ।

ट्याङ्कसहित सहरमा प्रवेश गरी रुसी सेनाले प्लान्ट कब्जा गर्ने प्रयास गरेका थिए तर बुधवार प्लान्ट र यसको वरपरका सडकहरूमा बासिन्दा र कामदारहरू भेला भएका थिए ।

युक्रेनमा जापोरिज्जियासहित चारवटा सक्रिय परमाणु केन्द्रहरू रहेका छन् ।



source https://www.onlinekhabar.com/2022/03/1088715

रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता सकियो, मानवीय सहायताको व्यवस्था गर्ने सहमति

२० फागुन, काठमाडौं । रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो ।

युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए । ‘दोस्रो चरणको वार्ता सकिएको छ तर युक्रेनले खोजेको नतिजा अझै प्राप्त भएको छैन’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा लेखेका छन्, ‘मावनीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने निर्णय मात्रै भएको छ ।‘

रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति’ भनेका छन् । यही आधारमा युद्ध विराम गर्न सकिने पनि उनको भनाइ थियो ।

पुटिन भन्छन्- सैन्य कारबाही योजना अनुसार अघि बढ्छ

यसैबीच, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी ‘सैन्य कारबाही’ योजना अनुसार अघि बढ्ने बताएका छन् । उनले रुसको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै सैन्य कारबाही योजना अनुसार अघि बढ्ने बताएका हुन् ।

‘विशेष सैन्य कारबाही योजना र कार्यतालिका अनुसार नै अघि बढ्ने कुरा बताउन चाहन्छु’ पुटिनले भने, ‘हामीले नवनाजीहरूसँग युद्ध गरिरहेका छौं । रुसी र युक्रेनीहरू एउटै मानव हुन् भन्ने आफ्नो धारणा कहिल्यै त्याग्ने छैन ।‘  पुटिनले रुसी सैनिकलाई ‘नायक’ भन्दै प्रशंसासमेत गरेका छन् ।

त्यस्तै, रुसी सेनाले युक्रेनमा युद्ध भइरहेका स्थान छोड्नका लागि सर्वसाधारणलाई सुरक्षित मार्ग उपलब्ध गराउने समेत पुटिनको भनाइ थियो । उनले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसँग भिडियोमा कुरा गर्दै युक्रेनका राष्ट्रवादीले सर्वसाधारणलाई सुरक्षित स्थान जान नदिएको समेत बताए। राष्ट्रवादीले सर्वसाधारणलाई मानव ढाल बनाएको पनि उनको आरोप थियो ।



source https://www.onlinekhabar.com/2022/03/1088712

अमेरिकामा एक वर्षमा सवारी दुर्घटनामा परी ४६ हजारको मृत्यु

२० फागुन, वासिङ्टन । सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमै ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो ।

परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेको देखाएको छ ।

त्यसैगरी सन् २०१९ मा भने ३९ हजार १०७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ ।

‘वार्षिक तथ्याङ्क हेर्दा हामी नराम्रो अवस्थातिर गइरहेको देखिएको छ, त्यसैले सडक सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको छ,’ परिषद्द्वारा जारी वक्तव्यमा लेखिएको छ ।



source https://www.onlinekhabar.com/2022/03/1088708

Wednesday, 2 March 2022

९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

१९ फागुन, सुरुङ्गा (झापा) । झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ ।

केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो ।

आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ । दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश । सेबुलालले भने, ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो ।’

छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताए ।

यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन् । उनले राम्रो उपचार पाए बालक ठीक हुनसक्ने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका हुन् ।



source https://www.onlinekhabar.com/2022/03/1088207

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More